Home Stories ‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी

475
0

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । छोरीलाई नै दुर्व्यवहार गर्न थालेपछि भने आमालाई असह्य हुन्छ । त्यसपछि बिहे भएदेखि नै आफूले सहँदै आएको यौन यातनाको गोप्यता भङ्ग गर्ने साहस जुट्छ । त्यसलाई पर्दाफास गर्ने नैतिक बल मिल्छ । पहिले जस्तो श्रीमान्‌को यौन बर्बरतालाई सहेरै बस्नुपर्ने चौतर्फी दबाब पनि त झेल्नुपर्दैन अहिले ।

अहिले समय केही बदलिएको छ । विवाह संस्थामा समानता र जीवनसाथीत्वको अभाव हुनसक्ने तथ्यलाई पनि स्वीकार गर्न थालिएको छ । वैवाहिक जोडीबिच समान अस्तित्व, अधिकार, हैसियत र व्यवहार खोज्न थालिएको छ । यस्तो चेतना विश्वव्यापी भएर फैलिइसकेको छ । चेतनाकै फल मान्नुपर्छ, हामीकहाँ वैवाहिक बलात्कारविरुद्धका कानुन पनि बनिसकेको छ । मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख छ : “वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।”

यसमाथि बाबु भन्ने नाताको पवित्र आवरणभित्र लुकेर छोरीलाई दुर्व्यवहार गर्ने कुराको नेपाली समाजमा परिकल्पना पनि गर्न सकिँदैन । यस्तो छुट कुनै पनि बाबुलाई कहिल्यै पनि थिएन र अहिले पनि हुन सक्दैन । कानुनले नाबालिका करणीसम्बन्धी कसुरलाई झनै कडा मानेको छ । परिस्थिति, महिलाको उमेर र हाडनातामा जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ ।

भएका कानुनलाई कार्यान्वयनमा ल्याउन नदिन भने अनेकौँ वाधा तेर्स्याइने गरेको पाइन्छ । त्यस्ता वाधाहरूलाई चिर्नका लागि सुरुआती पहल पीडित पक्षबाटै हुनुपर्छ । कटुसत्यलाई बाहिर ल्याउन श्रीमती, आमा र छोरीले नै सत्यनिष्ठ भएर मुख खोल्नुपर्छ । परिवार, आफन्त र समाजले पनि महिलालाई अनुचित दबाब दिन छाड्नुपर्छ । पुरुषको यौन मनोविज्ञानलाई रोगी र विकृत बन्नबाट परिवार, आफन्त र समाजले समयमै रोक्न सक्नुपर्छ । ‘सन्धान’ ले यौनहिंसाविरुद्धका घटनालाई दस्तावेजीकरण पनि गर्दछ । यसै क्रममा प्रस्तुत छ, श्रीमान्‌ले आफूमाथि गर्दै आएको र छोरीलाई समेत नछाडेको अनैतिक, बर्बर र हिंस्रक यौन व्यवहारको खुलासा भुक्तभोगी श्रीमतीकै भनाइमा ।

बिहे भएको एक वर्षमा गर्भवती भएँ । श्रीमान्‌को कुटपिटको कारणले होला चार महिनाको गर्भको बच्चा खेर गयो । त्यसपछि फेरि गर्भवती भएँ । गर्भवती भएको कारणले मलाई गाह्रो छ भन्दा पनि शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरिहाल्थे ।

मेरो बिहे २०६१ सालमा भएको हो । त्यतिबेला म १४ वर्षको थिएँ । हाम्रो परिवार गरिब थियो । छोराछोरी पनि धेरै भएकाले आमाबुबाले हामीलाई स्कुल पठाउनु भएन । विवाहको बारेमा मलाई केही थाहा नहुँदै आफन्तले जबरजस्ती केटाको घरमा लगिदिए । त्यसपछि म केटाको घरमा बस्न बाध्य हुन पर्‍यो । केटा मभन्दा १० वर्ष जेठो रहेछ । त्यो कुरा पछि थाहा भयो ।

म सानी थिएँ । पहिलो पटकको महिनावारी पनि भएको थिएन । श्रीमान्‌को अगाडि बोल्न डर लाग्थ्यो । श्रीमान्‌ले दिनहुँ रक्सी खान्थे र मलाई पिट्थे । मभन्दा पहिले पनि तीन वटा श्रीमती ल्याइसकेका रहेछन् । त्यो कुरा पनि पछि मात्रै थाहा पाएँ । श्रीमान्‌ले कमाउने काम केही गर्दैनथे । दिनभर तास खेल्ने, गाउँ डुल्ने र बेलुकी रक्सी खाएर आएर मलाई पिट्ने अनि जबरजस्ती शारीरिक सम्बन्ध राख्ने गर्न थाले । म भने दिनभरि मेलापातको काममा जान्थेँ । बेलुकी थकाइ लागेको हुन्थ्यो तर श्रीमान्‌ले यातना दिएर सुत्न दिँदैनथे ।

बिहे भएको एक वर्षमा गर्भवती भएँ । श्रीमान्‌को कुटपिटको कारणले होला चार महिनाको गर्भको बच्चा खेर गयो । त्यसपछि फेरि गर्भवती भएँ । गर्भवती भएको कारणले मलाई गाह्रो छ भन्दा पनि शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरिहाल्थे । केही बोल्यो भने र मानेन भने पिटिहाल्थे । यस्तै भएर नै होला, दोस्रो गर्भ आठ महिनाको हुँदा पेटमै बच्चा मरेछ । पेटमा बच्चा मरेको ४२ दिनपछि सुत्केरी भएँ र मरेको बच्चा जन्माएँ । त्यसपछि एक महिनासम्म रगत बग्यो । श्रीमान्‌ले उपचार गर्न त लगेनन् नै, रगताम्य हुँदासमेत शारीरिक सम्बन्ध राख्न छोडेनन् ।

उनको पिटाइले नै म कैयौँ पटक बेहोस भएँ । मुखबाट, योनीबाट रगत बग्यो । उनले उपचार गराएनन्, बरु झन् पिट्थे । बिहे भएदेखि नै मैले यौन यातना नपाएको र पिटाइ नखाएको त दिन नै छैन ।

कुटपिट र शारीरिक यातना त कति हो कति ? लात्तीले त कति हाने, कैयौँ पटक चक्कुले पनि हाने । दाउराको चिर्पट र लौरोले पनि हान्थे । त्यसरी हानेपछि म बेहोस हुन्थेँ । मेरो माइती पनि निकै गरिब । आमाबुबा बुढाबुढी भएकाले श्रीमान्‌ले दिएको त्यस्तो यातनाको बारेमा कहिल्यै भन्न सकिनँ । दिदीबहिनी र साथीहरूलाई पनि भन्न सकिनँ ।

दुई तीन वर्षयता झन् बढी यौन यातना दिन थाले । बिहान दिउँसो पनि नभन्ने । छोराछोरीको अगाडि नै शारीरिक सम्बन्ध राख्न दबाब दिन थाले । गुदद्वारबाट पनि गर्ने, मुखमा पनि गर्ने (लिङ्ग हाल्दिने) गर्न थाले । पिँढी, आँगन, अँगेनाको छेउ पनि नभन्ने । मैले नमाने मेरो छातीमा लात्ताले हान्ने । योनीमा लात्ताले हान्ने । योनीमा हात हालेर तान्ने पनि गर्न थाले । कहिले पाइपले तिघ्रामा पिट्थे । उनको पिटाइले नै म कैयौँ पटक बेहोस भएँ । मुखबाट, योनीबाट रगत बग्यो । उनले उपचार गराएनन्, बरु झन् पिट्थे । बिहे भएदेखि नै मैले यौन यातना नपाएको र पिटाइ नखाएको त दिन नै छैन ।

रक्सी खाएर जतिबेला घर आउँछन्, त्यतिबेला मैले यौन सम्बन्धको लागि तयार हुनुपर्ने । मेलापात, कामतिर जाँदा पनि ‘कोसँग कहाँ गइस् ?’ भनेर पिटिहाल्ने । घरमा आफ्नै बुबा, दाजुभाइ, देवरजेठाजु जो आए पनि ‘किन बोलाइस् ?’ भनेर पिटिहाल्थे । ममाथि भएको यातनाको बारेमा अहिलेसम्म आफन्त र साथीहरू कसैलाई पनि भन्न सकेको थिइनँ । यस्तो कुरा कसलाई भन्नु ?

मैले २०७९ असार ८ गते श्रीमान्‌को विरुद्धमा वैवाहिक बलात्कारमा उजुरी दर्ता गराएँ । तर, प्रहरीले यस्तो उजुरी लिन सजिलै नमान्ने रहेछ । संस्थाको दिदीहरूले पनि सहयोग गरेपछि मात्रै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता भयो ।

श्रीमान्‌ले गरेको व्यवहार सहनै नसक्ने भएपछि कुटपिट गरेको भनेर प्रहरी चौकीमा त गएको थिएँ । गएर पाँच पटक जति निवेदन दिएँ । पुलिसले श्रीमान्‌लाई बोलाएर छलफल गथ्र्यो । तर, कहिले एकरात थुनेर त कहिले मिलापत्र गराएर पठाउँथ्यो । दुईचार दिन उनको व्यवहार बदलिन्थ्यो । त्यसपछि फेरि उस्तै ।

अहिले म ३१ वर्षकी भएँ । एक छोरा र एक छोरी छन् । छोरा सानो हो, छोरी १३ वर्ष भई । डेढदुई वर्ष जति अगाडि थाहा पाएँ, छोरीलाई पनि दुर्व्यवहार गर्न थालेका रहेछन् । मैले त जसोतसो सहेकै थिएँ । म नभएका बेला छोरीको छाती समाउने, अपशब्द बोल्ने र शारीरिक सम्बन्ध राख्न प्रस्ताव राख्ने गर्न थालेछन् । छोरीलाई दुर्व्यवहार गरेको देखेपछि किन यस्तो गरेको भन्दा ‘तँ र तेरो छोरीलाई एकैचोटि सुताउँछु’ भन्थे ।

यस्तो भएपछि अब कुनै दिन छोरीलाई बलात्कार गर्छन् भन्ने लाग्यो र मैले यस्तो घटना सहेर नबस्ने निर्णय गरेँ । मलाई मात्र यातना दिँदा त उनकै यातनाले मरे पनि मर्छु, पिटाइले मरे पनि मर्छु भन्ने लागेको थियो । तर, छोरीमाथि नै दुर्व्यवहार हुन थालेको थाहा पाएपछि म चुप लागेर बस्न सकिनँ । अब सहेर बस्नुहुँदैन भन्ने पनि लाग्यो ।

मैले २०७९ असार ८ गते श्रीमान्‌काे विरुद्धमा वैवाहिक बलात्कारमा उजुरी दर्ता गराएँ । तर, प्रहरीले यस्तो उजुरी लिन सजिलै नमान्ने रहेछ । संस्थाको दिदीहरूले पनि सहयोग गरेपछि मात्रै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दर्ता भयो । श्रीमान्‌काे विरुद्धमा उजुरी गर्दा माइती, घरपरिवार, आफन्त, गाउँले कसैले पनि मलाई सहयोग गर्दैनन् भन्ने पनि सोचेँ । तर, जे परे पनि सहन्छु भन्ने हिम्मत लिएर उजुरी गर्न प्रहरीकहाँ पुगेँ । त्यही बेलादेखि श्रीमान् थुनामा छन् । उजुरी दर्ता गरेपछि दुई छोराछोरी लिएर म घरमै बसेको छु । श्रीमान्बाट त शान्ति पाएँ तर अर्को पीडा थपिएको छ ।

झन्डै १८ वर्षसम्म मैले श्रीमान्‌काे कुटाइ, पिटाइ खाएँ । यौन यातना भोगेर बसेको थिएँ । उनले पिटेकै कारण गर्भ तुहियो, बच्चा मर्‍यो । कैयौँ पटक म मरेँ अनि बाँचेँ । श्रीमान्‌विरूद्ध उजुरी गरेर थुनाएको दिनदेखि बल्ल मैले शान्तिको सास फेर्न पाएको छु

घटना दर्ता भएदेखि आफन्त कोही पनि बोल्दैनन् । आफन्तले ‘लोग्नेलाई थुनाएर लोग्नेकै घरजग्गामा बस्न पाउँदिनस्’ भन्छन् । गाउँलेहरूले पनि ‘लोग्नेलाई जेल हालेर ठुलो काम गरिस्’ भन्दै गाली गर्छन् । माइतीतिरकाले पनि ‘लोग्नेलाई उजुर गरेर के पाइस् ? अब कोसँग पोइल जान्छेस् ?’ भनेर मलाई नै गाली गर्छन् ।

पहिले मेलापातमा बोलाउने गाउँलेहरूले अहिले काममा पनि बोलाउँदैनन् । गाउँघरतिर गाउँलेले मेलापातमा नबोलाए केही काम हुँदैन । अचेल काम नपाएर आर्थिक समस्या हुन थालेको छ । उनलाई थुनाएपछि यौन यातना र कुटपिटबाट त मुक्त भएँ तर अर्को दुःख आइलाग्यो । घरसमाजमा श्रम गरेर खान पनि नपाउने अवस्था भयो ।

बिहे भएदेखि झन्डै १८ वर्षसम्म मैले श्रीमान्‌को कुटाइ, पिटाइ खाएँ । यौन यातना भोगेर बसेको थिएँ । उनले पिटेकै कारण गर्भ तुहियो, बच्चा मर्‍यो । कैयौँ पटक म मरेँ अनि बाँचेँ । श्रीमान्‌विरूद्ध उजुरी गरेर थुनाएको दिनदेखि बल्ल मैले शान्तिको सास फेर्न पाएको छु तर माइती, आफन्त, गाउँले सबैले ‘श्रीमान्‌लाई जेलबाट छुटाउनू’ भन्दै दबाब दिन्छन् ।

श्रीमान्‌ले थुनाबाटै फोन गरेर ‘निस्किनेबित्तिकै तेरो आमाछोरीलाई मार्छु’ भन्छन् । कुनै दिन उनी निस्के भने के गर्ने ? यही घरमा बसूँ भने मारिहाल्लान्, नबसूँ भने कहाँ जानू ? मेरो दुःखको दिन अझै सकिएको रहेनछ जस्तो लाग्छ ।

(पत्रकार तथा हिंसापीडित महिलाहरूका लागि सहयोग र पैरवी गर्दै आएकी गायत्री खतिवडासँग भुक्तभोगी महिलाले गरेको कुराकानीमा आधारित ।)

याे पनि पढ्नुहाेला

सन्धान, प्रकाशन मिति २०७९ फागुन ६ गते शनिवार