वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन र जीवनभर टिकाउन आपसमा समानता र जीवनसाथीत्वको भावसहितको दोहोरो व्यवहार चाहिन्छ । त्यसमाथि जीवनसाथीको सवालमा यौनहिंसा अत्यन्त संवेदनशील विषय, अपारदर्शी घटना र महत्त्वपूर्ण मुद्दा हुन आउँछ । यसमा राज्यका जिम्मेवार निकायहरूबाट महिलामैत्री व्यवहारको अपेक्षा पनि गरिएको हुन्छ ।
असल परिवार र सभ्य समाजमा वैवाहिक सम्बन्धले कुनै पनि जोडीलाई आपसमा यौनहिंसा गर्ने इजाजत दिँदैन । यसलाई कानुनले नै रोक्छ । नेपालमा पनि वैवाहिक बलात्कारविरुद्धको कानुन छ । मुलुकी अपराध संहिता, २०७४ मा यो समेटिएको छ । त्यसमा उल्लेख छ : “वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ ।”
यस्तै, सम्बन्धविच्छेद गर्नुपर्ने स्थितिमा महिलाले सम्पत्तिको हक पाउने सन्दर्भ पनि जोडिएको छ । कानुनलाई कार्यान्वयनमा ल्याउन भने अनेकौँ बाधाहरू झेल्नुपर्ने अनुभव भुक्तभोगीहरूको छ । राज्यले नै कानुनी प्रक्रियालाई सहज, सम्मानजनक र द्रुत बनाउनुपर्ने अवस्था छ । ‘सन्धान’ ले यौनहिंसाविरुद्धका विभिन्न खालका घटनालाई दस्तावेजीकरण गर्ने गरेको छ । यसै क्रममा प्रस्तुत छ, श्रीमान्ले गरेको असामान्य र असह्य यौन व्यवहारको विरुद्धमा उजुरी गरी सम्बन्धविच्छेद गर्ने प्रक्रियामा रहेकी युवतीको खुलासा ।
गएको भदौ २३ गतेको रात सम्झिँदा पनि मलाई अत्यास लाग्छ । लोग्नेले पिट्छन्, रुन नपाइने ! मलाई कहिलेकाहीँ लाग्थ्यो, कोठाभित्र महिलाहरू कसरी असुरक्षित हुन सक्लान् ? आफ्नै घरमा जस्तो सुरक्षा अन्त कहाँ पाइएला ? बिहे नगरुन्जेल आमा, बुबा अनि दाइको मायाले होला घर नै प्रेम पाउने सुन्दर ठाउँ हो जस्तो लग्थ्यो ।
महिला घरभन्दा बढी असुरक्षित त सार्वजनिक ठाउँमा पनि नहुने रहेछन् । २३ भदौ २०७९ को त्यो रात सम्झिँदा मलाई यस्तै लाग्छ । बाहिर त बरु वरपरकाले देख्छन् र क्रूर काम हुनबाट रोक्छन् । समाजका सबै त अपराधी कहाँ होलान् र ?
तर, कोठा त हामी एक्लै वा आफ्नो मान्छेसँग सुन्दर समय बिताउने ठाउँ हो नि ! त्यहाँ मैले श्रीमान्बाट पाएको यौन यातना सम्झिँदा लाग्छ, मैले उजुरी दिएर अलग्गिने निर्णय गरेपछि ‘अर्को जुनी’ पाएँ !
मैले ‘पिटिई’ पढेर अस्ट्रेलिया जाने तयारी गर्ने योजना थियो । त्यो दिन दिउँसो हामी (श्रीमान् र म) पासपोर्ट (राहदानी) र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय चितवन गएका थियौँ ।
दिउँसो काम बनेन । साँझपख घर फर्कियौँ । सासू, ससुरा घरमा थिएनन् । उनको मामाघरको हजुरआमा र हामी दुई जना मात्रै थियौँ घरमा । बाहिर खाजा खाएर आ’को भएर मलाई भोक थिएन । उनले घर आएपछि चाउचाउ र अण्डा बनाए । बिहानको खाना पनि रै’छ । मलाई भोक नभएकोले खाना खान्नँ भनेँ । तर, उनले बिहानको भात खान दबाब दिए ।
मैले ‘भोक छैन’ मात्रै भनेको थिएँ, त्यति मात्रै कुराले ‘तातो डाडुले हानिदिउँला’ भने । ‘रफ वर्ड’ (नराम्रो शब्द) बोले । ‘बढी बोल्छेस् ?’ भनेर थर्काए । अनि रुँदैरुँदै खाना खाएँ । कामहरू सकेँ । मलाई खाने कुरामा पनि जबरजस्ती गरेको भएर रिस उठेको थियो । म बोलिनँ । उनी कोठामा गए । म हल कोठामै बसिरा’को थिएँ । कोठाबाट ‘आइज’ भनेर म्यासेज गरे । मैले म्यासेजमै ‘आउँदिन’ भनेँ ।
‘तँलाई त पिटे मात्रै हुने रैछ । अब मैले दिनदिनै पिट्नुपर्ने भयो । आँशुको थोपा खसालिस् भने ढाड भाँचिदिन्छु’ भन्दै फेरि कुटे । ‘यही कुरा माइत भन्ने होला, कालो मुख मात्रै लगा न भोलि के गर्छु’ भने । म चुप लागेँ ।
‘आइज, आइएम रेडी’ भने । काठमाडौँबाट अघिल्लो दिन मात्रै घर गएको । खाना, पानी नमिलेर होला, मलाई पिसाब पोल्ने, दुख्ने भइरहेको थियो । ‘म आउँदिन तँलाई जतिबेला नै त्यही चाहिन्छ’ भनेर रिप्लाइ दिएँ । केही बेर गइनँ । उनी निदाएपछि जानुपर्ला भन्ने लाग्यो ।
हलमै बसेँ । अलि बेरपछि निदाए होलान् भनेर गएँ । उनी निदा’को रैनछन् । शारीरिक सम्बन्धको लागि फकाउन खोजे । जिस्काए, म उनीतिर फर्किइनँ । अर्कोतिर फर्किएर रोएँ ।
अनि त एक्कासि एक झापड हाने । सुतेको थिएँ । उठ् भने । तँ यस्ती, उस्ती केटी होस् भनेर चरित्रमा दोष देखाए । अनि ‘तैँले मसँग भाउ खोज्ने ?’ भने । त्यसपछि त झन् धम्क्याउन थाले । ‘तँ दुनियाँसँग हिँड्ने केटी होस्, मैले स्विकारेँ’ भन्दै कुटे । ‘भोलिबाट मलाई तिमी भनिस्, म बिग्रेको केटी हैन भनिस् र मुख मात्रै बिगारिस् भने दुई टुक्रा बनाइदिन्छु’ भने ।
त्यसपछि ‘तँलाई कारबाही गर्छु’ भनेर भुईंमा टुसुक्क बस्न लगाए । पिसाब पोलिरा’को थियो, पिसाब गर्न जान’नि पाइनँ । आडेस लगाउन पनि भएन । मानिनस् भने ढाड दुई टुक्रा बनाइदिन्छु भनेर उनी मस्त सुते । मलाई आजै मर्छु जस्तै भयो ।
त्यति मात्रै होइन ‘म’नि मर्छु, तँलाई ‘नि मार्छु’ भने । अब जालिस् नि विदेश भनेर त्यहीँ टेबलमा भएको नागरिकता समातेर च्यात्न तम्सिए ।
मध्यरातको समय म कहाँ जानु ? यतिबेला गुहार मागेर आउने कोही थिएन । ‘मेरो नागरिकता केही नगर, भनेको मान्छु’ भनेर हात जोडेँ । त्यो दिन उनी होसमै थिए, रक्सी खाएको पनि होइन । सबै अवस्था ‘नर्मल’ थियो तर ‘एब्नर्मल’ व्यवहार देखाउन थाले ।
‘तँलाई त पिटे मात्रै हुने रैछ । अब मैले दिनदिनै पिट्नुपर्ने भयो । आँशुको थोपा खसालिस् भने ढाड भाँचिदिन्छु’ भन्दै फेरि कुटे । ‘यही कुरा माइत भन्ने होला, कालो मुख मात्रै लगा न भोलि के गर्छु’ भने । म चुप लागेँ ।
त्यसपछि ‘तँलाई कारबाही गर्छु’ भनेर भुईंमा टुसुक्क बस्न लगाए । पिसाब पोलिरा’को थियो, पिसाब गर्न जान’नि पाइनँ । आडेस लगाउन पनि भएन । मानिनस् भने ढाड दुई टुक्रा बनाइदिन्छु भनेर उनी मस्त सुते । मलाई आजै मर्छु जस्तै भयो । एक घण्टापछि कोट्ट्याएँ । ‘पिसाबले मर्न लागेँ, जान्छु नि प्लिज’ भनेँ । १५ मिनेटपछि बल्ल ट्वाइलेट जान दिए ।
अब सुत् भने । ओच्छ्यानमा आएँ । मैले त्यस्तो यातना पाएपछि कसरी शारीरिक सम्पर्क राख्न सक्थेँ ? तर, उनलाई आफ्नो भोक मेटाउनै प¥यो । सेक्स गरे, सुते । म निदाउनै सकिनँ । बिहानपख निदाउन लागेको रैछु, बिहान ४ बजेतिर उठाए । फेरि सेक्स गरे । आफू पीडाले छट्पटिएँ । तर, उनलाई मेरो इच्छा वा समस्याको कुनै मतलब भएन । उनी हस्पिटलको ल्याबमा काम गर्थे । आफ्नो इच्छा पूरा गरे र ड्युटी गए ।
पाँच वर्षको प्रेमपछि भएको विवाह
चिनजान भएको ५ वर्षअघि हो । विवाह चाहिँ २०७८ साल असार ४ गते चितवनकै मन्दिरमा भयो । बिहेअघि कहिलेकाहीँ भेटघाट, फेसबुक, म्यासेज र फोनबाट कुराकानी हुन्थ्यो । त्यो बेला यस्तो होलान् भन्ने भेउ नै पाइनँ ।
बाबाममीसँग म काठमाडौँ बस्थेँ । उनी चितवन आफ्नै परिवारसँग बस्थे । नजिक पनि नभएर होला, आफैँले उनको बानी राम्रोसँग बुझ्न सकिनँ । सुरुमा त बुबाले विवाह स्वीकार गर्नुभएको थिएन । पछि चिनजानका मानिसहरूले पनि ठिकै छ भने अनि स्वीकृति दिनुभयो । राम्रै तरिकाले बिहे पनि भयो ।
म स्नातक छैठौँ सेमेस्टर पढ्दै भएकोले काठमाडौँमै बस्नुपर्ने भयो । बिहे असारमा भयो । साउन र भदौ महिना म घर बसेँ । असोजमा काठमाडौँ गएँ । त्यसपछि कात्तिकमा चितवन आएँ । कात्तिकमा आएर मङ्सिरमा फर्किएँ । त्यसपछि उनको परिवारले मलाई अर्कै खाले व्यवहार गर्न थाले ।
बिहेलगत्तै त सम्बन्ध राम्रै थियो । बिस्तारै उनी रक्सी खाँदै घर आउने गर्न थाले । रक्सी एकदमै खानुपर्ने बानी रहेछ । मलाई पहिले थाहा भएन । पहिलोपटक साउनको अन्तिमतिर रक्सी खाएर पिटे । त्यो पनि उनलाई मन नपरेको मेरो केटीसाथीसँग बोलेको निहुँमा कुटेका थिए ।
मेरो कलेजको फी तिर्नुपर्ने थियो । चितवनबाट सासूआमा जानुभयो । उहाँले खै किन मेरो विश्वास नगरी आफैँ कलेज जानुभयो । मेरो बाबाममी काठमाडौँ भएर पनि कहिल्यै पैसा तिर्न कलेज जानुहुन्नथ्यो । त्यही विषयमा म र सासूको भनाभन भयो । अनि ‘तेरो बुढीले मलाई गाली गरी’ भनेर उनलाई कुरा लगाउनुभएछ । त्यसपछि उनीसँग मेरो झगडा बढी हुन थालेको हो ।
त्यसपछि म ६ महिनापछि मात्रै चितवन घर आएको थिएँ । अनि साउनसम्म बसेर फर्किएको हो । म घर नआएको बिचमा एक दुई दिन रक्सी खाएर काठमाडौँ आउँथे । मेरो घरमा पनि आउँदैनथे । बाहिर होटलमा बोलाउँथे । अनि एक रात बिताएर चितवन नै फर्किन्थे ।
बिहेलगत्तै त सम्बन्ध राम्रै थियो । बिस्तारै उनी रक्सी खाँदै घर आउने गर्न थाले । रक्सी एकदमै खानुपर्ने बानी रहेछ । मलाई पहिले थाहा भएन । पहिलोपटक साउनको अन्तिमतिर रक्सी खाएर पिटे । त्यो पनि उनलाई मन नपरेको मेरो केटीसाथीसँग बोलेको निहुँमा कुटेका थिए ।
पहिलो कुटाइपछि नै म त्यो घरमा बस्दिनँ भनेको थिएँ । ससुराले ‘मलाई हेरेर बस’ भन्नुभयो । सासूले चाहिँ ‘महिला धर्ती हो, सहनुपर्छ’ भन्नुभयो । केही दिन बसेँ । त्यही बिचमा पार्टीबाट फर्किने क्रममा रक्सी खाएर एउटा ग्रुप आएर उनलाई कुट्यो । म पनि सँगै थिएँ । त्यसको केस प्रहरीमा पनि आएको थियो । २०७८ को तीजभन्दा अलि अगाडिको घटना थियो । आफैँले प्रहरीमा गएर मिलाएँ ।
घरबाट सल्लाहमा नै पढ्न काठमाडौँ आए पनि उनले मलाई पढ्ने खर्च नियमित कहिल्यै पठाएनन् । एकपल्ट बुझाउन जाँदा भनिहालेँ, विश्वास नगरेर उनकै आमा मेरो कलेज जानुभयो ।
त्यसपछि पटक पटक मसँग झगडा गर्ने, सोसल साइटहरूबाट ब्लक गर्ने गर्थे । आफूलाई मन लाग्दा रक्सी खाएर काठमाडौँ आउँथे । एकपल्ट त ‘तँलाई केही सम्पत्ति दिन्नँ, डिभोर्स गरौँ’ पनि भनेका थिए । बिचमा फेरि काठमाडौँ घरमै आए । तर, बुबाहरूसँग फेस नै गरेनन् ।
बिहे गरेको एक वर्षमै यस्तो गरेपछि म उनीसँग जीवन कसरी कटाउन सक्छु ? त्यही भनेर म असोज २५ गते बुबाको सल्लाहमा काठमाडौँ आएँ । घरबाट रोक्न उनको परिवारले निकै प्रयास गरे । म बल्ल २२ वर्षको भएँ । यस्तो यातना सहेर कसरी बस्न सक्छु र ? त्यसैले प्रहरीमा बलात्कारको जाहेरी दिएँ । तर, प्रहरीले मलाई राम्रोसँग व्यवहार नै गरेन ।
काठमाडौँमा हाम्रो पसल छ । बुबा पसल जाँदा घर आउने गरे । मलाई पढ भन्ने कुरामा ममीले ‘कहिल्यै पढ भन्न परेको छैन’ भन्नुभएको थियो । घरमा गएर चाहिने नचाहिने कुरा लगाएछन् । फेरि झगडा गरे ।
मलाई अनेक आरोप लगाउने गर्थे । म ममीबाबालाई छोडेर कहिल्यै बाहिर जाने गरेको छैनँ । उनको यस्तै व्यवहारले बुबाले मलाई ‘चितवन नजा’ भन्नुभएको थियो । उनको अस्ट्रेलियाको भिसा रिजेक्ट भएकोले मलाई ‘एप्लाइ गर’ भने । कहिलेकाहीँ झगडा पर्छ यस्तै हो भनेर म चितवन आएँ । तर, आएपछि पटक पटक मलाई यौन यातना दिए ।
बिहे गरेको एक वर्षमै यस्तो गरेपछि म उनीसँग जीवन कसरी कटाउन सक्छु ? त्यही भनेर म असोज २५ गते बुबाको सल्लाहमा काठमाडौँ आएँ । घरबाट रोक्न उनको परिवारले निकै प्रयास गरे । म बल्ल २२ वर्षको भएँ । यस्तो यातना सहेर कसरी बस्न सक्छु र ? त्यसैले प्रहरीमा बलात्कारको जाहेरी दिएँ । तर, प्रहरीले मलाई राम्रोसँग व्यवहार नै गरेन ।
सरकारी वकिलले पनि हामीलाई थाहा नदिई अर्को वकिललाई बहसमा पठाएछन् । मैले असोज ६ गते मुद्दा दर्ता गरेको हो । प्रहरीले नै बलात्कार नै भएको हो भने यति ढिलो किन मुद्दा ल्याएको समेत भने । मलाई पहिले ‘लोग्नेले पनि बलात्कार गर्छ र ?’ जस्तो लाग्थ्यो । तर, पछि जबरजस्ती शारीरिक सम्बन्ध राख्ने, यातना दिएर शारीरिक सम्पर्क राख्ने बलात्कार हो भन्ने थाहा पाएँ । त्यसपछि उनीविरुद्ध मुद्दा दिएको हुँ । उनी कात्तिक २ गते धरौटीमा छुटिसकेका छन् ।
कात्तिकको २० गते मैले जिल्ला अदालत चितवनमा सम्बन्धविच्छेद र अंशमुद्दा पनि दिएको छु । मैले आफू गलत नहुँदा पनि पाएको यातनाविरुद्ध मेरो परिवार र आफन्तले सहयोग गर्नुभएको छ । तर, प्रहरी, वकिल र न्यायिक प्रक्रियामा रहने मानिसहरूलाई लोग्नेले गरेको बलात्कार सामान्य लाग्ने रहेछ । उनीहरू ‘त्यस्तो पनि बलात्कार हुन्छ र?’ भनेर मैमाथि प्रश्न गर्छन् ।
(युवतीले पत्रकार प्रतिमा सिलवालसँग चितवनमा हालै गरेको कुराकानीमा आधारित ।)
याे पनि पढ्नुहाेला
- ‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज
- ‘ओछ्यान’ मै यौनहिंसाको यो रूप: आमाछोरी नै जोखिममा भएपछि उजुरी
- महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता
- यौनहिंसा तथा जबरजस्ती करणीको मुद्दामा हदम्याद तोक्नै हुँदैन (भिडियोसहित) –मीरा ढुङ्गाना, अधिवक्ता
- लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)