Home Insight वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा

वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा

1673
0

घटना १ : विभेद र अपमानको अनुभव

विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्‌ले पाहुनाकै अगाडि उनीमाथि थप्पड हाने । त्यतिबेला उनी चुप रहिन् तर उनको मनमा हलचलको उभार आइरहेको थियो । त्यहीँबाट उनको वैवाहिक जीवनको आन्तरिक द्वन्द्वले अर्को चरणमा प्रवेश गर्‍यो । उनका अनुसार, यो उनले भोगेको दोस्रो चरणको विभेद थियो । साथमा उदेकलाग्दो अपमान पनि उनले भोगिरहनुपर्‍यो । विवाहकै कारण श्रीमान् र घरपरिवारका सदस्यहरूबाट पटक पटक आफू विभेदित र अपमानित हुनुपरेको उनको ठम्याइ छ ।

बिहेको घुम्टोभित्रै उनले पहिलो चरणको विभेद भोगेकी रहिछन् । श्रीमती हुनाको भूमिका निर्वाह गर्नका लागि उनलाई बेहुलाकी दिदीको खुट्टा माड्न लगाइएको थियो । दिदीको खुट्टा दुखेको भन्दै श्रीमान्‌ले नै उनलाई खुट्टा मिचिदिन आदेश दिएका थिए । घुम्टोभित्र रहेकै बेला नै आफूलाई भाइबुहारीको भूमिका त्यसरी निभाउन बाध्य बनाइएको उनी बताउँछिन् ।

“विवाह महिलाका लागि डर र उत्साहको दिन हुँदो रहेछ । डर र उत्साह दुबै बोकेर अन्योलमा घर पुगेकी मलाई बुहारी भएका कारण नै विभेद भोग्नुपर्दा सुरुमा नै अचम्ममा परेँ” उनी भन्छिन् । वैवाहिक सम्बन्ध जोडिएका कारण उनले श्रीमान्‌बाट कहिले सार्वजनिक स्थानमा कुटाइ खानुपर्‍यो त कहिले अपमानित भएको महसुस गर्नुपर्‍यो ।

यसरी पटक पटक अपमानित र विभेदित भएर त कति दिन सँगै बस्न सकिन्छ र ? विवाह संस्कार त महिलालाई विभेद र अपमान गर्ने इजाजत दिनका लागि नै खडा गरिएको पारिवारिक र सामाजिक अनुष्ठान रहेछ । यस्तो उनलाई लाग्न थाल्यो र सहनुको हद पार भयो । फलतः उनी आफ्नो वैवाहिक सम्बन्धलाई नै टुङ्ग्याउने निर्णयमा पुगिन् । उनी अहिले नयाँ जीवन सुरु गर्ने बाटोमा छिन् ।

घटना २ : चिसा कपडाको थुप्रो सन्दर्भ

जीवनका रङ्गीन सपना सजाउने आन्तरिक धुनका साथ श्रीमान्‌काे घर सम्हाल्न पुगेकी अर्की महिलालाई श्रीमान्‌का भित्री वस्त्रहरू सम्हाल्नुपर्दा असहज अनुभव भयो । विवाहकै भोलिपल्टदेखि नै श्रीमान्‌ले नुहाएर भिजाएका भित्री वस्त्रहरू बाथरुममै थुप्रो लगाएर छाड्न थाले । उनले ती लुगा तिमीले धुनुपर्दछ त भनेनन् तर श्रीमतीलाई दासीसरह त्यो दायित्व सम्हाल्न बाध्य पार्ने क्रियाकलाप गरिरहे । हरेक दिन अघोषित रूपमा निर्देशन दिइरहे । केही दिनसम्म त उनले श्रीमान्‌ले छाडेका चिसा कपडाहरू आफूले धुनै सकिनन् । श्रीमान्‌ले नै धोलान् भन्ठानेकी थिइन् । श्रीमान्‌ले भने ती वस्त्रहरू धोएनन् बरू नयाँ नयाँ किन्दै, लगाउँदै, भिजाउँदै र छाड्दै पो गर्न थाले । यो कुरा उनले आफ्नी आमालाई भनिन् । आमाले त झन् यो उनको सामान्य व्यवहार हो, महिलाले गर्नुपर्दछ भनेर पो सिकाइन् ।

विवाहअघि आफैँले धुने गरेका लुगा विवाहपछि धुनलाई किन श्रीमान्‌काे हात भाँचिए झैँ भयो ? सुरुमा ती महिलालाई यस्तै लाग्थ्यो । यस मामिलामा श्रीमान्‌काे हरामी व्यवहार भने सुध्रिएन । नचाहेरै पनि उनले श्रीमान्‌का भित्री वस्त्रहरू धुन थालेको अहिले पाँच वर्ष पुगिसकेको छ । उनी भन्छिन्, “विवाहपश्चात् पुरुषहरूले ‘पेन्टी’ समेत महिलालाई धुवाउने रहेछन्, योभन्दा अपमान त अरू के हुनसक्छ र ?”

घटना ३ : स्वतन्त्रता नै बिर्सिसकेकी पत्नी र आमा

वैवाहिक जीवनको पाँच वर्ष गुजारिसकेकी एक महिलाले स्वतन्त्रता के हो भन्ने कुरा नै आफूले बिर्सिसकेको बताइन् । उनका अनुसार, बाहिर निस्कन पाउनु त परको कुरा कतै आफन्तकोमा निम्तो मान्न जानुपर्दा पनि उनले श्रीमान्‌काे अनुमति लिनुपर्छ । घरमै काम गर्ने उनी श्रीमान्‌काे अनुमतिविना घरको केही पनि गर्न पाउँदिनन् । घरमा पकाउने खानादेखि आफूले लगाउने लुगा र सरसामानको छनोटमा श्रीमान्‌कै इच्छाबमोजिम चल्नुपर्ने उनले बताइन् । उनी भन्छिन्, “आफ्नो रहर र इच्छा खोज्न थाले श्रीमान्‌ले घरबाट निस्कन निर्देशन दिन्छन् ।”

दुई छोराछोरीकी आमा भइसकेकी उनी सम्बन्ध टिकाउनका लागि आफ्नो सबै इच्छा र चाहना मारेर आफूले जिम्मेवारी निभाइरहेको बताउँछिन् । आफ्ना लागि विवाह साँच्चिकै बन्धनको रूपमा आइपरेको उनको भोगाइ र ठम्याइ छ ।

इच्छालाई दबाउन बाध्य छन् महिला

विवाह भइसकेपछि धेरै महिलाहरूले आफ्ना इच्छा र चाहना मार्न बाध्य भएको तथ्य विभिन्न सर्वेक्षणले देखाएका छन् । एक अध्ययन अनुसार १० मध्ये नौ महिलाले आफ्ना इच्छा भन्न वा इच्छा अनुुसारको काम गर्नबाट आफूलाई रोक्छन् । मनोविद् गोपाल ढकालका अनुसार, श्रीमान्‌ले आफ्नो रुचि, इच्छा खुलेर प्रकट गर्छन् तर महिलाहरू आफ्ना इच्छाहरू दबाउन बाध्य छन् । हरेक निर्णयमा पुरुषहरू हाबी हुने भएकाले महिलाहरूले आफूलाई कमजोर सोच्दछन् । त्यही कारणले महिलाहरूमा डर उत्पन्न हुने गरेको छ ।

मनोविद् गोपालका अनुसार, महिलाहरू पुरुषमा आश्रित हुने भएकाले उनीहरूले हरेक कुरामा पुरुषकै निर्णयलाई स्विकार्दै आएका पनि छन् । समाजमा छोरीलाई अर्काको घर खानुपर्दछ, घर रिझाएर बस्नुपर्दछ भन्ने हीनग्रन्थी जगाउने संस्कार दिइने भएकाले पनि उनीहरूले विवाहपश्चात् आफ्ना भावनालाई दबाएर राख्ने गरेका छन् । यही धारणाको कारण महिलाहरू पुरुषमा निर्भर हुन्छन् । महिलाहरूलाई आर्थिक रूपमा सक्षम बन्न दिनेभन्दा पनि उनीहरूलाई घर, बच्चा, श्रीमान्‌लाई कसरी सम्हाल्ने भन्ने कुरामा बढी जोड दिएर सम्झाउने गरिएको उनी बताउँछन् ।

सबै प्रकारका विभेदको मोडल

विवाह संस्कारले पुरुषलाई माथि बनाएको छ र विवाहको तराजु पुरुषतर्फ बढी ढल्किने गरी संस्कार बनाइएको छ । जानकारहरूको यही र यस्तै धारणा रहेको पाइन्छ । यसैले विवाह संस्कार लामो समयदेखि नारीवादीहरूको आलोचनाको विषय बन्दै आएको छ । विवाह महिलाहरूका लागि दमनकारी नातासम्बन्धको कडी हो । यसलाई दमनकै विकसित संस्थाको रूपमा नारीवादीहरूले हेरेका छन् र यसरी नै परिभाषित गर्दै आइरहेका छन् । राजनीतिक दर्शनका प्राध्यापक क्लेयर चेम्बर्सले विवाह महिलाको घरेलु श्रम शोषणसँग जोडिएको र यो घरेलु श्रमको करार मात्रै हो भनी उल्लेख गर्नुभएको छ । सन् २०२२ को ‘फेमिनिस्ट थिअरी’ जर्नलमा प्रकाशित ‘फेमिनिज्म, लिबरलिज्म एन्ड म्यारिज’ लेखमा क्लेयरले विवाहलाई सधैँभरि महिलालाई पुरुषको अधीनस्थ राखिरहने संस्थाको रूपमा परिभाषित गर्नुभएको छ । नारीवादी सिद्धान्त, समकालीन उदारवादी सिद्धान्त, सामाजिक न्यायको सिद्धान्त, सामाजिक निर्माणको सिद्धान्त र जैवनैतिकता क्षेत्रका विशेषज्ञका रूपमा परिचित क्लेयरले “वैवाहिक कानुनको कुनै पनि सुधारले महिलाको अधीनतामा काम गर्दैन” भन्ने पनि उल्लेख गर्नु भएको छ । सन् १९७१ मा प्रकाशित ‘नोट्स फ्रम द थर्ड इयर : वुमेन्स लिबरेसन’ कृतिमा प्रकाशित ‘म्यारिज’ शीर्षक लेखमा नारीवादी शीला क्रोनानले पनि विवाहलाई सबै प्रकारका विभेदको मोडल भनी उल्लेख गर्नुभएको छ ।

प्रश्न उठ्छ, समता र सहयात्राको कडी हुनुपर्ने विवाह संस्कार किन विभेदको मोडल हुन गयो ? घर र समाजमा महिलाले नै किन पुरुषको अधीनस्थ हुने गरी संस्कारित हुनुपर्ने अवस्था सिर्जना भयो ? घरेलु श्रमको करार मात्रै हुने र कानुनले पनि सुधार्न नसक्ने त्यस्तो के छ यो विवाह संस्कारमा ? अहिलेको बदलिँदो समाजमा आफू र आफ्नाहरूको वैवाहिक जीवनलाई सहज र सफल बनाउन सघाउने अभिप्रायले पनि यस्ता प्रश्नहरूको जवाफ खोज्नु जरुरी छ । विवाह संस्कारमा अन्तर्निहित शक्ति सम्बन्धको अन्तर्य बुझ्नु जरुरी छ ।

विवाह संस्कारमा महिलाभन्दा पुरुष अब्बल हुनुपर्ने मान्यताले महिलाहरू कमजोर बन्न पुगेको समाजशास्त्री मीना उप्रेती बताउनुहुन्छ । उहाँका अनुसार, महिलाहरूले आफूभन्दा अब्बल पुरुष रोज्ने कारणले पनि महिलाहरूमाथि वैवाहिक विभेद हुने गरेको छ । परम्परागत तरिकाको विवाहमा त झन् महिलाहरूको अस्तित्व नै नरहेको उहाँको भनाइ छ । परम्परागत विवाहमा महिलाहरूलाई घरमा बुहारी चाहिएर बच्चा जन्माउनका लागि भित्र्याइन्छ । पुरुषको यौन सन्तुष्टिका लागि होस् या उनीहरूको वंश धान्नका लागि होस्, त्यस्तो विवाहको चलन चल्दै आएको हो । महिलाहरूका लागि विवाह संस्कार कहिल्यै पनि सहयोगी भएको छैन । उहाँका अनुसार, विवाहपश्चात् प्रायः महिला स्वतन्त्रताका कुरा हराउन थालेका हुन्छन् । विवाहले बहुसङ्ख्यक महिलाहरूलाई खुसी दिन सकेको पाइँदैन । विवाहपश्चात् धेरै महिलाहरूको पढाइ, जागिर, करिअर रोकिएको पनि छ ।

विवाह संस्कार महिलाको पक्षमा नभए पनि पछिल्लो समय पुँजीवादी विवाहमा केही परिवर्तन आउन थालेको उहाँको ठम्याइ छ । शिक्षित महिलाहरू बढ्दै गएको र शिक्षित महिलाहरूले विवाहपछि आफ्नो अस्तित्व खोज्न अग्रसर हुन थालेको पनि उहाँको ठम्याइ छ । उहाँ भन्नुहुन्छ, “अबका महिलाहरूले परिवारको खुसीभन्दा पनि आफ्नो खुसीलाई प्राथमिकतामा राख्न थालेका छन् । महिलाहरूमा पनि ‘बार्गेनिङ पावर’ बढ्न थालेको छ ।”

विवाहको विश्वव्यापी पृष्ठभूमि

इतिहासदेखि नै विवाह संस्कार विभिन्न चरणमा विकसित र परिवर्तित हुँदै आएको पाइन्छ । आदिम युगमा हाडनाताभित्र यौन सम्बन्ध हुने गरेको, त्यसपछि घुमन्ते जीवनबाट उत्पादनमुखी कार्यमा विकसित हुँदै जाँदा हाडनातासम्बन्धी विवाहलाई छोडेर ‘पुनालुवा’ विवाहको प्रचलन विकास भएको थियो । तेस्रो चरणमा यौन सम्बन्धलाई अझ सीमित गर्दै केही पुरुष र स्त्रीबिच मात्र कायम रहने गरी युगल विवाहको सुरुवात भयो । चौथो चरणमा पितृसत्तात्मक समाजको विकास भयो र यस्तो समाजमा एउटा पुरुषले धेरै स्त्रीसँग विवाह गर्ने चलन चल्न थाल्यो । त्यसपछि आधुनिक युगमा आइसकेपछि मात्र एक महिला र एक पुरुषबिच विवाह हुने गरी एकल विवाहको प्रचलन र विकास भएको हो ।

अमेरिकी मानवशास्त्री लेविस हेनरी मोर्गानको ‘एन्सन्ट सोसाइटी’ कृतिमा चरणबद्ध रूपमा भएको विवाहको उत्पत्ति र विकासक्रमलाई उल्लेख गरिएको छ । सन् १८७७ मा प्रकाशित उक्त कृतिमा समाज विकासको पहिलो चरणमा एउटै बाबुआमाका सन्तान अर्थात् दाजुभाइ तथा दिदीबहिनीका बिच हुने हाडनाता विवाह प्रचलनमा रहेको उल्लेख छ । दोस्रो चरणमा गोत्र बाहिरका दाजुभाइ र दिदीबहिनीहरूका बिच सामूहिक विवाह हुने चलनको सुरुवात भयो । तेस्रो चरणमा युगल विवाह गर्ने प्रचलन विकास भयो । यसमा एक पुरुषले एउटै स्त्रीसँग मात्र विवाह गर्ने तर स्त्रीका सम्पूर्ण दिदीबहिनीसँग शारीरिक सम्पर्क राख्न पाउने प्रचलन थियो । त्यसपछि चौथो चरणमा एउटा पुरुषले धेरै महिलाहरूसँग विवाह गर्न पाउने पितृसत्तात्मक विवाहको विकास भयो । अन्त्यमा एउटा पुरुषले एउटै महिलासँग विवाह गर्ने र तिनीहरूबाट जन्मेका सन्तानले सम्पत्तिको उत्तराधिकारी हुने किसिमको एकल विवाहको विकास भएको हो, जुन आजको समाजमा पनि विद्यमान छ ।

इतिहासका कालखण्डलाई नियालेर हेर्दा नेपाली समाजमा मुख्यतः मागीविवाह, प्रेमविवाह, विधवा र विधुरविवाह, जारीविवाह, बालविवाह, बहुविवाह, एकविवाह प्रचलनमा रहेको पाइन्छ । नेपाली समाजमा विभिन्न जातजाति, धर्म, संस्कारअनुसार विवाह गर्ने चलन छ । विवाहमा पहाडी भेगमा हिन्दुधर्म मान्नेहरूले केटी माग्ने चलन थियो । यस्तै, साटो प्रथाको चलन चलेको पाइन्छ । ‘साटो प्रथा’ भन्नाले आफ्नो छोरी दिने र केटा पक्षबाट पनि बुहारी ल्याउने परम्परा थियो । परिमार्जित र परिष्कृत मुलुकी ऐन २०२० सालमा लागु भएपछि पनि बालविवाह जारी रह्यो । यसमा सानी केटीलाई अन्माएर पठाउने र १६ दिनसम्म घरमा राखी दुलन फर्काउने चलन थियो । विवाह भएको एक वर्षसम्म माइतमा नै राख्ने र अर्को वर्ष विभिन्न कोसेलीका साथ भरिया लगाएर मैतालु फर्काउने चलन थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाल लघु विश्वकोश’ मा नेपालमा मागी विवाह, चोरीविवाह, प्रेमविवाह, जारीविवाह, फुपूचेली–मामाचेला विवाह, बालविवाह, बेलविवाह, विधवाविवाह, बहुपतिविवाह, बहुपत्नीविवाह, अन्तरजातीय विवाह, जुहारीविवाह, सुपारीविवाह, तानीविवाह, दर्ताविवाह, लुटीविवाह जस्ता चलनहरू रहेको उल्लेख छ ।

विवाह र परिवारको संरचना तथा स्वरूपमा परिवर्तन हुँदै आएको छ । पहिलाको समयमा जात, गोत्र जस्ता कुराहरूलाई विवाहमा महत्त्वपूर्ण मानेर हेरिने गरिन्थ्यो भने अहिले संस्कारमा पनि परिवर्तन हुँदै आएको छ । कुल, गोत्र, भातृत्व, वंशानुक्रम, उत्तराधिकार जस्ता कुरा प्रभावित भई परम्परागत नाता सम्बन्धको महत्त्व र भूमिका घट्न गएको छ । यसअनुसार व्यक्तिवादिता, राष्ट्रिय भाव, सहयोग जस्ता कुराले सम्पत्ति उत्तराधिकारको नियममा परिवर्तन हुँदै आएको देखिन्छ ।

मार्क्सवाद र विवाह

मार्क्सवादी दृष्टिकोणको प्रमुख मान्यता भनेको सामाजिक संस्था र प्रक्रियाहरूलाई ऐतिहासिक विशिष्टताका आधारमा व्याख्या विश्लेषण गर्नु हो । यसमा विगतदेखि वर्तमानसम्मका वातावरणलाई अध्ययन गर्दा विभिन्न किसिमका वैवाहिक पद्धतिहरू देखापरेका छन् । माक्र्सवादी दृष्टिकोणमा खास गरेर मागीविवाह, प्रेमविवाह र समाजवादी विवाह भनेर वर्गीकरण गरिन्छ । मागीविवाह सामन्तवादसँग जोडिएको छ । यस विवाह पद्धतिमा समान तहका सामन्त, कुल घराना, जातजाति आदिमा वैवाहिक सम्बन्ध स्थापित हुने गर्दथ्यो । विवाहमा बेहुला बेहुलीको प्रमुख भूमिका नभएर कुलका प्रमुख व्यक्ति र मुलीहरूको भूमिका प्रबल हुने गर्दथ्यो । पुँजीवादको उदयसँगै यस्तो सामन्तीविवाह वा मागीविवाहको प्रचलन घटेर प्रेमविवाहको प्रचलन बढेको देखिन्छ ।

पुँजीवादी व्यवस्थाले सिर्जना गरेको औद्योगिक विकासले गर्दा मानिसहरूमा गतिशीलता बढेर शिक्षा, स्वास्थ्य, रोजगार आदिमा बाहिरी इलाकामा जाँदा व्यक्तिगत स्वतन्त्रताले प्राथमिकता पाएको हुनाले प्रेमविवाह फस्टाउन पुगेको हो । केही समाजमा हालका वर्षहरूमा कम खर्चमा, थोरै मानिस मात्र जम्मा भएर विवाह गर्ने प्रचलन पनि रहेको देखिन्छ । यसलाई प्रगतिशील वा समाजवादी विवाह भनिन्छ । यसलाई मागीविवाह र प्रेमविवाहभन्दा एक कदम माथि लगेर समाजवादीविवाह नामकरण गरी समाजवादसँग सामीप्यता देखाउन खोजेको पाइन्छ ।

आधुनिक समाजमा पनि शिक्षाको विकास, एकल परिवारको चाहना, यौन सम्पर्कप्रतिको मान्यतामा आएको परिवर्तनका कारण २० वर्ष पुगेपछि विवाह गर्ने प्रचलनको विकास भएको देखिन्छ ।

विवाहको उमेरमा परिवर्तन

पहिलाको समयमा रजस्वला हुनुअघि नै बालिकाको विवाह गर्ने चलन थियो । सानो उमेरमा नै विवाह गर्ने र परिपक्व भएपछि दुलहाको घर पठाउने चलन थियो । समयको विकास र शिक्षाका कारणले पछिल्लो समय शारीरिक र मानसिक रूपमा सक्षम भएपछि मात्र विवाह गर्नु राम्रो मानिन थाल्यो । अहिले पनि कतिपय स्थान र अवस्थामा बालविवाह भइरहेको पाइन्छ । तराई र दुर्गम भेगमा बालविवाह अझै पनि रोकिएको छैन । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनेर परिभाषित गरिएको छ । मुलुकी अपराध संहिता २०७४ का अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनी उल्लेख छ । त्योभन्दा फरक पर्न गएमा कानुनले दण्डनीय मानेको छ । आधुनिक समाजमा पनि शिक्षाको विकास, एकल परिवारको चाहना, यौन सम्पर्कप्रतिको मान्यतामा आएको परिवर्तनका कारण २० वर्ष पुगेपछि विवाह गर्ने प्रचलनको विकास भएको देखिन्छ ।

जीवनसाथी रोजाइको अवधारणा

पहिलाको समयमा अभिभावकले खोजेको र रोजेको व्यक्तिसँग नै वैवाहिक सम्बन्ध कायम हुन्थ्यो । अधिकांश मागीविवाह अभिभावककै रोजाइमा हुन्थ्यो । एकअर्कालाई देख्दै नदेखी पनि विवाहमण्डपमा बस्ने चलन थियो । अहिले त्यस्तो छैन । समयसँगै धेरै कुरा बदलिएको छ । महिलाले परम्परागत पत्नीले जस्तो विवाह बन्धनमा बाँधिएर घरभित्र दबिएर र खुम्चिएर बस्ने होइन, आफूसँगै समान तहमा रहेर सहयात्री हुनसक्ने जीवनसाथी बन्ने र रोज्ने कुरामा विचार गर्न थालेका छन् । जीवनसाथीको छवि पनि बदलिएको छ । आफ्नो विचार, क्षमता, समझसँग मेल खाने जीवनसाथी रोज्ने चलन बढ्दै गइरहेको छ । अहिलेका महिलाले स्वतन्त्र रूपले आफ्नो जीवनसाथी आफैँ खोज्ने र रोज्ने हैसियत राख्छन् । छोराछोरीले रोजेको साथीलाई नै अभिभावकले जीवनसाथीको मान्यता दिन थालेका पनि छन् । जीवनसाथी रोजाइको क्रममा अन्तरजातीय विवाहको चलन पनि बढ्दै गइरहेको छ । यसमा दुवैतिरका परिवारले स्वीकार गर्ने चलन पनि बढ्न थालेको पाइन्छ ।

विवाहको खुसी र आर्थिक स्थिति

विवाह कुनै दुई जनाको जोडी मिल्ने कुरा मात्र होइन । यो परिवार संस्थासँग जोडिएको छ । यसका पछाडि कुनै न कुनै धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहेको हुन्छ । विवाहका लागि निश्चित केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसका लागि आर्थिक भार थपिने गर्दछ । विवाहमा दुलहादुलही हेर्ने, स्वयम्बर पार्टी गर्ने, ‘हल्दी रसम’ गर्ने, ‘ब्याचलर पार्टी’ दिने जस्ता प्रक्रियाहरू आर्थिक पक्षसँग बलियो गरी जोडिएको हुन्छ । छिमेकी देशदेखि पश्चिमा प्रभाव, बहुसंस्कृति र आधुनिकता अपनाउने होडबाजीमा विवाह खर्चिलो बन्दै गइरहेको देखिन्छ । पछिल्लो समय विवाह संस्कारलाई सामाजिक हैसियत देखाउने माध्यम पनि बनाउन थालिएको छ । घरआँगनमै सम्पन्न हुने विवाह बढ्दो सहरीकरणका कारण अहिले ‘पार्टी प्यालेस’ हुँदै तारे होटेलसम्म पुग्न थालेको छ ।

नेपालको कानुनले विवाहमा लेनदेन हुने दाइजोलाई वर्जित गरेको छ । मुलुकी देवानी संहिता, २०७४ ले दाइजो पेवाको प्रावधान रहेको मुलुकी ऐन २०२० लाई खारेज गरेको छ । त्यस्तै, सामाजिक व्यवहार सुधार ऐनअनुसार दाइजो लिएमा वा दिएमा १२ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । समाजमा अझै पनि दाइजो परम्परा भने यथावत नै रहेको पाइन्छ । विशेषगरी तराई क्षेत्रमा वैवाहिक सम्बन्ध जोड्दै गर्दा पुरुषको पढाइका आधारमा महिलाको परिवारसँग दाइजोको माग गर्ने चलन छ ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश आदि देशहरूमा दाइजो व्याप्त रहेको पाइन्छ । दाइजोका कारण महिलाहरूले हिंसाको सिकार हुुनुपर्नेदेखि ज्यान गुमाउनसमेत बाध्य हुने अवस्था छ । भारतको राष्ट्रीय अपराध रिकार्ड ब्यूरोको तथ्याङ्कअनुसार, सन् २०२१ मा दाइजोका कारण छ हजार ७५३ जनाले ज्यान गुमाउन पर्‍यो । सो तथ्याङ्कले प्रतिदिन १८ जनाभन्दा बढीले ज्यान गुमाएको देखाउँछ । नेपालमा पनि दाइजोका कारण महिलामाथि हत्या र हिंसा बढिरहेको पाइन्छ । नेपाल प्रहरीमा २०७४/७५ देखि २०७८ असोजसम्ममा दाइजोसँग सम्बन्धित १९१ उजुरी दर्ता भएका थिए । सबैभन्दा बढी मधेस प्रदेशमा १४१ र सबभन्दा कम लुम्बिनी प्रदेशमा ३० उजुरी दर्ता भए ।

संस्कृतिविद् प्राध्यापक आमोद आचार्य विवाहमा दाइजो लिनेदिने प्रथा संस्कृतिसँग जोडिएको बताउनुहुन्छ । उहाँका अनुसार, छोरालाई अंश र छोरीलाई दाइजो दिने प्रचलन परम्परादेखि नै चल्दै आएको हो । आफ्नो क्षमता र दक्षताअनुसार छोरीलाई विवाहमा उपहार दिने गरिन्छ, यो दाइजो परम्परा हो । तर पछिल्लो समय व्यक्तिहरूको आडम्बर र देखावटीपनले दाइजो एक विकृतिको रूपमा बढ्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “संस्कार धर्म र जीवनपद्धतिलाई बुझ्न नसकेको समाजले विवाहमा दाइजोलाई ‘बार्गेनिङ’ को रूपमा अघि सारेको छ ।”

हुनेखानेका लागि विवाह सहज भए पनि हुँदाखानेका लागि दाइजो र महँगीले विवाह संस्कार भारी बन्दै गएको देखिन्छ । आर्थिक अवस्था कमजोर भएका वर्गको विवाह खर्च गाउँपालिकाले व्यहोरेका उदारहणहरू पनि समाचारमा आउने गरेका छन् । सन् २०१९ मा बीबीसीमा प्रकाशित एक समाचार अनुसार, सुनसरीको कोशी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका व्यक्तिलाई सामूहिक विवाह गराइदिने निर्णय गरेको थियो । विवाह खर्चका लागि गाउँपालिकाले १५ लाख रुपियाँ बजेटसमेत छुट्याएको थियो ।

मान्यताको खोजीमा समलिङ्गी विवाह

महिला र पुरुषबिच मात्रै हुने ठानिएको विवाह संस्कारमा अहिले समलिङ्गी विवाह एक चुनौतीको रूपमा खडा भएको छ । विवाह भन्नाले महिला र पुरुषबिचको मात्र सम्बन्ध हो भनेर बुझ्नु आधुनिक समाजमा गाह्रो हुन थालेको छ । समाजशास्त्रीहरूले विवाहबारे नयाँ सोच जगाउन आवश्यक रहेको बताउँदै आएका छन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरूले पनि महिला र पुरुषबिच मात्रै विवाह हुनुपर्ने मान्यता हटाउनुपर्ने बताउँदै आएका छन् ।

नेपालको कानुनमा समलिङ्गी जोडीको विवाह सन्दर्भमा उल्लेख गरिएको छैन । सर्वोच्च अदालतले २०६४ पुस ६ गते यस विषयमा एउटा महत्त्वपूर्ण निर्णय गरेको भने पाइन्छ । सर्वोच्चका न्यायाधीशद्वय बलराम के.सी. र पवन कुमार ओझाको संयुक्त इजलासको फैसलामा उल्लेख छ– समलिङ्गी विवाहलाई सम्बन्धित व्यक्तिहरूको हक अधिकार र सामाजिक पारिवारिक दृष्टि सबै पक्षबाट हेरिनुपर्दछ । अन्य राष्ट्रको यससम्बन्धी प्रचलन एवं कानुनी व्यवस्थासमेत हेरी महिला तथा पुरुष समलिङ्गी विवाहको सम्बन्धमा अध्ययन गरी निष्कर्षमा पुग्न उचित हुने देखिन्छ । कतिपय राष्ट्रहरूले यसलाई मान्यतासमेत प्रदान गरेका छन् भने कतिपय राष्ट्रमा मान्यता दिई नसकेको पनि देखिन्छ । तसर्थ मानव अधिकारसम्बन्धी दस्तावेजहरू, विश्वमा विकास भएका यससम्बन्धी नवीन मान्यताहरू, समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्ने देशहरूको अनुभव र त्यसले समाजमा पार्ने प्रभावका बारेमा बृहत् अध्ययन र विश्लेषण गरिनु आवश्यक छ ।

फैसलामा यससम्बन्धी समग्र विषयमा अध्ययन गर्न नेपाल सरकारलाई एक समिति गठन गर्न निर्देशन दिइएको पाइन्छ । निर्देशनमा समितिले समान लिङ्गका व्यक्तिहरूबिचको विवाह र समग्र वैवाहिक अवस्थाका सम्बन्धमा सम्भव भए अन्य राष्ट्रका कानुनी व्यवस्थासमेत अध्ययन गरी समितिले दिएको राय सुझावको आधारमा सरकारले आवश्यक निर्णय गरी कानुनी व्यवस्था गर्न पनि भनिएको छ ।

ऐनमा त्यसअनुरूप ‘मान्छे र मान्छेबिच विवाह हुने’ प्रावधान राख्न प्रस्ताव गरिएको थियो । २०७३ मङ्सिरमा उक्त वाक्यांश हटाएर ‘महिला र पुरुषबिच विवाह हुने’ प्रावधान राखियो । यस कानुनी प्रावधानले समलिङ्गी विवाहलाई प्रकारान्तरले वञ्चित गरिदिएको छ । यसरी मुलुकी देवानी संहितामा महिला र पुरुषलाई मात्रै समेटिएको छ । संहितामा “कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह गरेको मानिनेछ’ भनी उल्लेख गरिएको छ ।

कानुनी मान्यता नपाए पनि थुप्रै समलिङ्गी जोडीहरू समाजमा वैवाहिक जोडीकै रूपमा स्थापित हुन थालिसकेका छन् । नील हिरा समाज (ब्लु डाइमण्ड सोसायटी) की अध्यक्ष पिंकी गुरुङ भन्नुहुन्छ, “समलिङ्गी विवाह समाजमा चुनौतीको रूपमा खडा भएको छ, महिला र पुरुषमा मात्रै विवाह सम्बन्ध कायम हुन्छ भन्ने भ्रम यस विवाहले तोड्दै आइरहेको छ ।” समलिङ्गी विवाहलाई कानुनले सम्बोधन गर्न नसकेका कारण यस समुदायका व्यक्तिहरू विवाहबाट एकआपसमा प्राप्त हुनसक्ने विविध खालका फाइदाबाट वञ्चित हुन पुगेको पिंकीको भनाइ छ ।

विवाह र सम्बन्धलाई समाजदेखि कानुनसम्मले समेट्न नसकेका कारण समलिङ्गी जोडीहरूले आत्महत्या गर्ने ‘ट्रेण्ड’ समेत बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछन् । ३० महिनामा ३८ जनाले आत्महत्या गरिसकेको पिंकीको भनाइ छ । आत्महत्या बढ्नाको मुख्य कारण सामाजिक रूपमा बहिष्कार गरिनु र वैवाहिक सम्बन्धले कानुनी मान्यता पाउन नसक्नु रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनसके मात्र पनि थुप्रै समलिङ्गी जोडीहरू सुरक्षित हुन सक्छन् ।”

अन्त्यमा, अहिलेको संसारमा विवाहपछि अर्काको घरमा विभेदित, अपमानित, नियन्त्रित, दासवत भएर बाँच्नुपर्ने देखिसकेपछि कसैले पनि त्यस्तो नातासम्बन्धलाई टिकाइराख्नुपर्छ भन्ने छैन । कुनै पनि मानिसले आफ्नै जोडी भनिएको मानिसको अधीनस्थ भएर जीवन गुजार्ला भन्ने लाग्छ भने त्यो भ्रम हुन पनि सक्छ । घरेलु श्रमको करार मात्रै हुने र कानुनले पनि सुधार्न नसक्ने अवस्था घर र समाजमा रहिरहने हो भने विवाह संस्कारले अब कसैको घर बसाउन सक्दैन । परिवार सिर्जना गर्न र वैवाहिक नातासम्बन्ध जोगाउन पनि सक्दैन । विवाह संस्कारमा अन्तर्निहित शक्ति सम्बन्धको अन्तर्यलाई समता र सहयात्राको कडीको रूपमा बदल्न ढिला भइसकेको छ ।

अहिलेको बदलिँदो समाजमा आफू र आफ्नाहरूको वैवाहिक जीवनलाई कसरी सहज र सफल बनाउन सघाउने भन्ने अभिप्रायले पनि ठुलो अर्थ राख्छ । विवाहका विरुद्धमा जनमत बढ्दै जानुअघि नै विवाह संस्कारलाई विभेदको मोडलका रूपमा उभ्याउन छाडेर समतावादी व्यवहारमा बदल्नु बुद्धिमानी हुनेछ । राज्यले पनि उदारतापूर्वक आवश्यक कानुनको तर्जुमा गर्न र भएका कानुनको कार्यान्वयनमा कडाइ गर्न सक्नुपर्छ ।

‘वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२२’ कार्यक्रम अन्तर्गत प्रकृति दाहालले तयार गर्नुभएको हो ।

सन्धान फेलोसिप २०२२ अन्तर्गतका थप स्टाेरीहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र १ गते, बुधवार