Home Stories छोराको बिहेमा जन्त गएका आमाहरू

छोराको बिहेमा जन्त गएका आमाहरू

2542
0

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानैपर्ने चलन छ । यस्तो भए पनि नेपालकै अधिकांश समुदायका आमाहरूलाई ‘चलन नभएको’ मान्यताले छोराको बिहेमा जन्त जानबाट रोकेको पाइन्छ । त्यस्तो मान्यताको पछाडि चित्तबुझ्दो कुनै आधार भने भेटिएको छैन । यसैले केही आमाहरू रोकटोकको मान्यतालाई चुनौती दिँदै पारिवारिक समझदारी र तारतम्य मिलाएर छोराको बिहेमा जन्त जान थाले । हामीले गएको महिना अगस्त २८ मा फोटो स्टोरी शृङ्खला अन्तर्गत ‘छोराको बिहेमा जन्ती गएँ, बुहारी लिएर फर्कें’, शीर्षकमा जयन्ता पोखरेलको अनुभव राखेका थियौँ ।

उक्त अनुभवको प्रकाशनपछि धेरैले मन पराएर सामाजिक सञ्जालमा ‘शेयर’ गरेको पनि पाइयो । त्यसपछि हामीलाई धेरै किसिमका प्रतिक्रियाहरू पनि प्राप्त भएका थिए । धेरैको मत सकारात्मक रह्यो । आमाले पनि छोराको बिहेमा जन्ती बनेर जान पाउनुपर्ने, आफूले पनि जन्त जान चाहेको तर नपाएको, समाज परिवर्तन नै यसरी गर्ने हो भन्ने खालका प्रतिक्रियाका साथमा यसबारे धेरैलाई थप चासो भएको पनि पाइयो । यसैलाई ध्यानमा राखेर ‘सन्धान’ का तर्फबाट सुजाता ढुङ्गानाले थप खोजी गर्नुभयो । प्रस्तुत छ, छोराको बिहेमा जन्ती बनेर गएका र नगएका आमाहरूसँगको कुराकानीका आधारमा तयार गरिएको सामग्री ।

नेपालका केही समुदायमा आमाले छोराको बिहेमा जन्त जानुपर्ने चलन भए पनि अधिकांश समुदायमा जाँदैनन् । कतिपय आमाले चाहेर पनि छोराको बिहेमा जन्त जान नपाएको अवस्था पनि छ । पछिल्ला केही वर्षयता भने यहाँको परम्परागत सामाजिक र पारिवारिक मान्यतालाई फरक फरक तरिकाले चुनौती दिएर केही आमाहरू छोराको बिहेमा जन्त गएका उदाहरण भेटिन्छन् । यस्ता घटनाहरू महिला अधिकार, लैङ्गिक समानता र सामाजिक परिवर्तनका कोणबाट सार्वजनिक हुन थालेका पनि छन् । यसबारे खोजीपस्दा समाजमा धेरै खालका घटना र पात्रहरू भेटिने रहेछन् ।

पछिल्लो समय यस्ता केही आमाहरू ‘सन्धान’ को सम्पर्कमा पनि आएका छन् । उनीहरूसितको कुराकानीबाट थाहा हुन्छ, छोराको बिहेमा चाहेर जन्त जान पाएका आमाहरूका लागि त्यो समयको परम्परागत भूमिका निर्वाह गर्न भने त्यति सजिलो थिएन, छैन । आफ्नो घरमा गर्नुपर्ने सम्पूर्ण वरव्यवहार र तालमेल मिलाएर मात्रै बेहुलाकी आमाले बेहुली पक्षकोमा गएर विवाह उत्सवमा सहभागी हुन पाएको देखिन्छ ।

गाउँघरका धेरै आमाहरूका लागि भने अझै पनि छोराको बिहेमा आफू पनि जन्त गएर हेर्ने रहर कल्पनामा पनि नआउने रहेछ । पछिल्लो समय सहर बजारका केही आमाहरूका लागि भने केही खुकुलो व्यवहार र सुविधा प्राप्त भएको देखिन्छ । छोराको बिहेवारीका लागि सहरमा आएका ग्रामीण भेगका केही आमाहरू छोराकै रहरमा भए पनि जन्त गएका छन् । त्यसरी जाँदा जग्गेको काम भने हेर्न हुँदैन भन्ने ठानी आफैँले नहेरेको बताउने आमा पनि छन् । यसबाट बुझिन्छ, गाउँका अधिकांश आमाले छोराको बिहेमा जन्त जाने कल्पनासमेत गर्न सक्दैनन् ।

गाउँबाट सहरमा बिहे गर्ने छोराको रहरले जन्त गइदिएका आमाले जग्गेमा हेर्न नसकेको घटनाको एउटा कुनामा पसेर हेर्दा लाग्छ, गाउँमा बसेर गाउँमै बिहे गर्ने छोराका आमाहरूका जायज चाहनाले पनि स्वाभाविक रूपमा फुल्न र फक्रनका लागि उपयुक्त स्थान पाएका हुँदैनन् । यसैले छोराको बिहेमा जन्त जाने उनीहरूको रहर सपनामा सीमित हुने गरेको छ । त्यसो त अकल्पनीय र आकस्मिक भइदिँदा विपनालाई पनि उनीहरूले सपना जसरी लिने रहेछन् ।

जन्त गए पनि छिटै फर्किएको

डा. नन्दिता शर्मा (दायाँबाट तेस्राे) छोराको बिहे समारोहमा परिवारका सदस्यहरूका साथमा ।

काठमाडौँ बाफलकी प्रा.डा. नन्दिता शर्मा पेसाले त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग प्रमुख हुनुहुन्छ । २०७९ साल मङ्सिरमा उहाँको छोरा सुशोभितको बिहे थियो । बिहेको सबै तयारी हुँदै गर्दा उहाँलाई आफ्नो छोराको बिहेमा आफू पनि जन्त जाने रहर जाग्यो ।

पहिलो पटक परिवारमा आफूले जन्ती भएर जाने कुरा गर्दा सुरुमा त नन्दिताको परिवारले अलि अप्ठ्यारो माने जस्तो गरेको थियो । उहाँले चार वर्षअघि नै छोरीको बिहेमा सम्धिनी जन्ती भएर आएको घटना सम्झाएपछि भने नन्दिताको रहरमा बाधा अड्चन भएन । सम्धिनी आएको घटनाले नजिरको काम गर्‍यो र परिवारले उहाँ पनि जन्त जाने निर्णय गर्‍यो । यसमा परिवार अलि शिक्षित भएकाले आफूले परिवारलाई मनाउन खासै गाह्रो नभएको नन्दिताको ठम्याइ छ । यसमा खासगरी आफ्नी छोरीको ठुलो सहयोग र साथ रहेको उहाँले बिर्सनुभएको छैन ।

जन्ती बाफलबाट महाराजगन्जसम्म गएर फर्किनुपर्ने थियो । नन्दिता पनि साथमा फुपूहरू र हजुरआमालाई लिएर छोराको जन्त जानुभयो । बेहुला छोरालाई लिएर जन्त गए पनि उहाँ बेहुली पक्षकोमा पूरै समय भने रहनु भएन । केही समय मात्रै हेरेर हतारिँदै उहाँ घर फर्किनुभयो । यस्तो किन त ? उहाँ भन्नुहुन्छ, “मैले घरको कामको व्यवस्थापन गर्नुपर्ने थियो । यसैले केही बेर बिहे हेरेपछि म घर फर्किएँ ।”

निकै सङ्घर्षपछि मात्र जन्त जान सफल

पूर्व प्रदेश सभा सदस्य तथा अधिकारकर्मी विजया श्रेष्ठ केसी (बायाँबाट तेस्राे) विवाह समारोहमा आफ्नो परिवारको साथमा ।

बागमती प्रदेशकी पूर्व प्रदेश सभा सदस्य तथा अधिकारकर्मी विजया श्रेष्ठ केसी पनि छोराको बिहेमा जन्त जानुभएको रहेछ । २०७४ मङ्सिर १२ गते उहाँको छोराको बिहे थियो । उहाँलाई छोराको जन्ती भएर आफू पनि जान मन थियो । विजया भन्नुहुन्छ, “परिवारमा आफू पनि जन्ती जाने इच्छा जाहेर गरेँ । मलाई त परिवारका सबै सदस्यले आमा जन्ती जान मिल्दैन भनिदिनुभयो ।”

आफ्नो छोराको बिहेमा जन्त जानका लागि परिवारमा आफूले निकै ठुलो विद्रोह गर्नुपरेको विजयाको भनाइ छ । “मेरो जिद्दी स्वभाव, संविधान, वेद र धर्मशास्त्रका कुन पुस्तकमा आमा जन्ती जान हुँदैन भनेर लेखिएको छ ? देखाउन धर्मगुरु र परिवारका सदस्यलाई नै अनुरोध गरेँ ।” त्यसपछि परिवारले रोक्न सक्ने त्यस्तो कुनै आधार र ठाउँ पाएन । “मलाई थाहा थियो त्यो कतै लेखिएकै थिएन । मेरो जिद्दीको अगाडि उहाँहरूको केही लागेन,” विजया भन्नुहुन्छ, “म छोराको बिहेमा जन्ती गएरै छोडेँ ।”

विजयाको विचारमा आफूहरूलाई रोक लगाउने चालचलनका बारेमा महिलाहरूले “किन हुँदैन ?” भन्ने प्रश्न गर्न नछोड्ने हो भने ढिलै भए पनि परिवारले साथ दिन्छन् । श्रेष्ठ परिवारकी विजयाले केसी परिवारमा अन्तरजातीय विवाह गरेर जाँदा बरु यत्तिको पारिवारिक हस्तक्षेप खप्नुपरेको रहेनछ । त्यसरी जातपातका सम्बन्धमा उदार चित्त बनाइसकेको परिवारले पनि उहाँलाई छोराको बिहेमा जन्ती बनेर जानबाट भने हरतरहले रोक्न खोजेको रहेछ । यसैले विजया भन्नुहुन्छ, “छोराको बिहेमा जन्ती जान मैले निकै ठुलो सङ्घर्ष गर्नुपर्‍यो ।”

जानै नमिल्ने केही छैन

सुनसरीस्थित धरानकी शकुन्तला खनाल थापालाई आफ्नो छोरा, त्यसमाथि पनि एक्लो सन्तानको बिहेमा जसरी पनि जन्ती भएर जान मन रहेछ । त्यसैले पनि उहाँ आफन्त र साथीहरूलाई भन्ने गर्नुहुन्थ्यो, “छोराको बिहेमा नाच्दै गइन्छ, बुहारी ल्याइन्छ ।”

बुहारीको मेहन्दी कार्यक्रममा शकुन्तला खनाल थापा (दायाँ)आफ्नो परिवारका साथमा ।

बेलाबेलामा शकुन्तलाका साथीहरूले ‘तँ छोराको बिहेमा जन्ती जाने हैन ?’ भनेर सम्झाउँथे । कहिले कसो त जिस्क्याउँथे पनि । यस्तैमा २०७९ असारमा शकुन्तलाका छोरा असीमले विदेशमा बिहे गर्ने हुनुभयोे । शकुन्तला भन्नुहुन्छ, “छोराको बिहेका लागि नेपालबाट हामी बुढाबुढी नै अस्ट्रेलिया पुगिउँ । बुहारीको मेहन्दीमा सहभागी भयौँ । छोराको बिहेको साइपाटा बोकेर जन्ती नै गएँ ।”

शकुन्तलालाई नेपालमा भएको भए छोराको बिहेमा आफू जन्त जान पाउने नपाउनेमा शङ्का नै लाग्थ्यो । अहिले पनि देशबाहिरको बिहे भएकाले यो सहजै सम्भव भएको हो भन्ने उहाँलाई लाग्छ । त्यसो त उहाँ नेपाल फर्किएपछि जेठाजुको छोराको बिहे भयो । त्यसमा जेठानी दिदी पनि ‘आमाले जन्ती बनेर जान मिल्छ’ भन्दै छोराको जन्त जानुभएको पनि जानकारी दिनुहुन्छ । उहाँका अनुसार, आमाहरूका लागि सन्तानको बिहे घर नजिकै हुने हो र समय व्यवस्थापन गर्न सकिने भयो भने जन्ती बनेर जान नहुने र नमिल्ने भन्ने केही छैन ।

जन्त गएर सम्धिनी भेट मात्रै

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ मूलघर भएकी शान्ता बस्नेत २०७५ सालमा छोराको बिहेको तयारीका लागि काठमाडौँ आउनुभएको थियो । त्यतिबेला आफू जन्त गएको कुरा शान्ता यसरी भन्नुहुन्छ, “काठमाडौँबाटै बिहे हुने भएपछि ग्रह शान्तिको काम र किनमेलमा आमा नभई नहुने भन्दै छोराले ढिपी गर्‍यो ।” मङ्सिरको महिना थियो । यसैले मूलघर श्रीमान् होमबहादुरलाई जिम्मा लगाएर उहाँ मात्रै काठमाडौँ आउनुभएको रहेछ ।

शान्ताका अनुसार, उहाँको छोरा रमेशको बिहेमा जन्ती लिएर काठमाडौँको काँडाघारीबाट माछापोखरी जानुपर्ने थियो । छोराकै आग्रहमा जन्तीसँगै शान्ता पनि माछापोखरी जानुभयो । यसरी छोराको जन्त गए पनि आफूले स्वयंवर र जग्गेको कर्म भने नहेरेको उहाँको भनाइ छ ।

स्वयंवर र जग्गेको कर्म नहेर्नाको कारण खुलाउँदै शान्ता भन्नुहुन्छ, “पुरोहित र आफन्तले छोराको बिहे हेर्न हुँदैन भनेका थिए ।” त्यसमाथि सम्धिनी भेट नगरी सम्धिनीको मुख हेर्ने कुरा नै भएन भन्ने पनि उहाँलाई लागेको रहेछ । यसैले जन्तीमा सहभागी भएर पनि उहाँ स्वाभाविक रूपमा खुल्न सक्नु भएन । जग्गेतिर पनि नहेरी खुम्चिएरै बस्नुभयो । उहाँ भन्नुहुन्छ, “दिनभर पार्टी भएको ठाउँमै बसेर बुहारी अन्माउने बेला सम्धिनी भेटका लागि मात्रै जग्गेमा पुगेको हो ।”

आमा पनि जन्त जान्छन् र ?

उदयपुरको गाईघाटकी गोमा भट्टराईका छभाइ छोरा छन् । तीमध्ये पाँचभाइ छोराहरूको बिहे भइसक्यो । उहाँलाई छोराहरूको बिहेमा न कसैले जन्ती जाने हो कि भनेर प्रश्न गरे न उहाँले त्यस्तो इच्छा नै राख्नुभयो । कसैले जन्ती जाने खै खबर नै नगरेपछि यत्तिकै जाने कुरा पनि भएन । गोमाको जस्तै अनुभव छ, झापाको अर्जुनधाराकी ओमकुमारी खतिवडाको पनि । ओमकुमारीलाई आफ्नो देवरको छोराको बिहेमा जन्ती जाने रहर रहेछ । वरपरकाले आमाहरूले जन्ती जान हुँदैन भनिदिएछन् । त्यसपछि छोराको बिहेमा जन्त जाने उहाँको रहर पूरा भएन । रहरमै सीमित हुन पुग्यो । उहाँ भन्नुहुन्छ, “देवरको छोराको बिहेमै जान नपाएको जन्ती, आफ्नो छोराको बिहेमा जान्छु भनेर त कल्पनासमेत गरिएन ।”

यस्तै, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ५ फुल्पाकी मक्करमाया परियारको छोरा रुपेशको यही २०८० वैशाखमा बिहे भयो । उहाँलाई रुपेशले आफ्नो बिहेमा ‘आमा जन्ती जाने हैन ?’ भनेर प्रश्न गर्नुभएछ । छोराको त्यो प्रश्न नै मक्करमायालाई अचम्मको लाग्यो । आफ्नोतिर आमाहरू छोराको बिहेमा बुहारी लिन जन्त जाने चलन नै नभएको उहाँको बुझाइ छ ।

“आमाहरू पनि जन्ती जान्छन् र ? मैले त कोही गएको देखेकै छैनँ,” मक्करमायाले बुहारी बबितालाई बिहेघरको चालचलन र वरव्यवहार बुझाउँदै प्रश्न गर्नुभयो, “तिमीहरूको बिहेमा म नै जन्ती गए अरू घरधन्दा र पाउनालाई कसले ख्याल गर्ने ?” घरमा तालाचाबी नै लगाएर आमाले छोराको बिहेमा जन्त जान नहुने उहाँको तर्क छ ।

शास्त्रमा छैन उल्लेख

“कतै पनि आमाहरू जन्ती जान हुँदैन भनेर उल्लेख गरिएको भेटिनँ,” वेद वेदाङ्ग संस्कृत पाठशाला शङ्कराचार्य पीठ, साधुटार झापाका प्रमुख लक्ष्मीप्रसाद खतिवडा भन्नुहुन्छ, “त्यो धार्मिक पाटोभन्दा पनि व्यावहारिक पाटो हो ।”

“घरको काममा आमाहरूलाई सहजीकरण गरिदिने मान्छे भेटिने हो भने आमाहरू अरू जन्ती समान छोराको बिहेमा जन्त जान मिल्छ,” पीठ प्रमुख लक्ष्मीप्रसाद भन्नुहुन्छ । यद्यपि घरको कामको जिम्मेवारी र समय व्यवस्थापनको अभावमा धरैजसो आमाहरूले छोराको बिहेमा जन्ती जाने मन र आँट दुबै गर्दैनन् भन्ने उहाँलाई लाग्छ ।

संस्कृतमा आचार्यसम्मको पढाइ पूरा गरेका लक्ष्मीप्रसादको विचारमा समर्थन जनाउने अन्य गुरु/पुराेहितहरू पनि भेटिन्छन् । पुराेहित भानु खतिवडा भन्नुहुन्छ, “घरको कामको व्यस्तताले आमाहरू पहिले जन्त जानुहुन्न थियो, तर अहिले त्यस्तो छैन ।” घरको काममा सहयोग गर्ने मान्छे भेटिँदा आमाले छोराको बिहेमा जन्त जान हुन्छ भन्ने उहाँको ठम्याइ छ ।

साथै, छोराको बिहेमा जन्त जान खोज्ने आमाहरूलाई रोक्न खोज्नु र गएमा अशुभ हुन्छ भन्नु गलत भएको पुराेहित भानुको विचार छ । साथै, इन्टरनेटको जमानामा आइपुगेर पनि सम्धिनी भेटको बहाना बनाएर आमाहरूलाई सन्तानको शुभ कार्य हेर्न र त्यसमा सहभागी हुनबाट टाढा राख्न नमिल्ने तर्क उहाँको छ । उहाँका अनुसार, सम्धिनी भेट वर/वधुका आमाहरूबिच चिना–परिचय होस् भनेर गरिँदै आएको एउटा अभ्यास हो ।

भनिन्छ, शास्त्रले कतै पनि कसको बिहेमा को जन्त जान हुने र को जान नहुने भनेर छेकबार लगाएको छैन । परिवार र समाजको व्यवहारले भने बेहुलाकी आमाले जन्त जानै नमिल्ने गरी बेहुलाघरकै कामकाजमा व्यस्त रहनुपर्ने बनाएको छ । सहरमा घरभन्दा बाहिर पार्टी प्यालेस र होटलहरूमा गएर बिहेको कार्यक्रम गरिने भएकाले बेहुलाका आमाहरू अहिले फाट्टफुट्ट जन्त जाने गरेको देख्न पाइन्छ ।

रोकटोकको व्यावहारिक रहस्य

परम्परागत रूपमा भने आमाहरूलाई घरभित्रकै काम, परिवार र आफन्तको रेखदेखमा समय बिताउने गरी बोझिलो तर मूल्यहीन कर्तव्यको भूमिका तोकिएको छ । यस्ता कर्तव्यलाई राज्यले अझै कामको दर्जा नै दिएको छैन । श्रम मूल्याङ्कनको दायरामा समेट्न पनि सकेको छैन ।

यसरी आर्थिक दृष्टिले ‘फाल्तु’ जस्तै ठहरिने परम्परागत कामको बोझले थिचिएका आमाहरू कहिल्यै पनि स्वेच्छाले बाहिरफेर हिँडडुल गर्न पाउँदैनन् । यही कुरालाई जन्त जाने सन्दर्भसँग जोडेर अधिकारकर्मी सबिता पोखरेल भन्नुहुन्छ, “जुन कामलाई समाजले काम मानेको छैन, त्यही काम आमा घरमा नभए कसले गर्छ भनेर आमाहरूलाई घरभित्रै राख्न खोज्नु विडम्बना हो ।”

अधिकारकर्मी सबिताका अनुसार, चाडपर्व र उत्सवहरूमा घरभित्रको कामको चाप अरू समयमा भन्दा चौबर हुन्छ । घरभित्रको काम सदियौँदेखि महिलाहरूको पोल्टामा छ, जसलाई चिरेर महिलाहरू घरका उत्सव र पर्वहरूमा खुलेर रमाउन सक्दैनन् ।

जानकारका अनुसार, पहिले पहिले त छोराकी आमा मात्र होइन, कुनै पनि छोरीमान्छे जन्त जाने चलन थिएन । यसको कारण दिँदै गुरु भानु भन्नुहुन्छ, “टाढाको बाटो, रातिको बिहे, छोरीहरू रातबिरात हिँड्न हुँदैन भनिन्थ्यो ।” तर अहिले समय फेरिएको र यातायात साधन प्रशस्त भएकाले को जन्ती जाने, को नजाने भनेर बहस गर्नु जरुरी नै नभएको उहाँ ठान्नुहुन्छ ।

बिहेमा बालिएको जोर बत्ती निभ्दा अशुभ हुन्छ भन्ने भयलाई मानिसका मनमा परम्परा बनाएर गाडिएको छ । यसलाई रोक्नु आमाकै जिम्मेवारी हो भनी तोकिएका कारण कतिपय आमाहरू यत्तिकै हच्किने गरेको पाइन्छ ।

कतिपय आमाहरू सन्तानको जीवनमा हुन सक्ने अशुभलाई आफूले रोक्न सक्ने भ्रममा बाँचिरहेका हुन्छन् । यस्तो भ्रमबाट मुक्त भएका र हुनुहुनामीलाई कसैले पनि टार्न सक्दैन भनी बुझेका आमाहरू भने छोराको बिहेमा जसरी पनि जन्त जान चाहन्छन् । जन्ती भएर रमाउन पनि खोज्छन् । यस्तो आँट गरेकाहरूलाई विभिन्न बहाना बनाएर रोक्ने छेक्ने प्रवृत्ति समाज मनोविज्ञानमा तैरिरहेको पाइन्छ ।

जानकार तथा अधिकारकर्मीका विचारमा बत्ती निभ्छ भन्ने त एउटा बहाना मात्रै हो, खासमा घरमा आउने आफन्तहरूको सेवा सत्कारका लागि नै दुलाहाकी आमा र महिलाहरूलाई जन्त जान नदिएर घरमै रहन भनिन्छ । अहिलेको समाजमा यस्ता कुरालाई महिलाले पनि बुझ्दै गएको अवस्था छ । यस खालको बुझाइले समाजमा सकारात्मक परिवर्तन ल्याउनसके राम्रो ।

झापाका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० भदाै ३१ गते, आइतवार


Previous articleदलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी
Next articleहिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया