हाम्रो समाजमा छोराको बिहेमा आमा जन्ती जान हुँदैन भन्ने चलन छ । छोराको बिहेमा आमा गए ‘अशुभ’ हुन्छ भन्ने चलन हराएको छैन । तर, भदौ १ गते (अगस्त १८) जयन्ता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा दुईटा तस्बिरसँगै स्टाटसमा लेख्नुभयो, “दङ्ग परेकी रछु म त, कान्छा छोराको बिहेमा जन्ती जाँदा । बिहे घरको कामलाई राम्रो व्यवस्थापन गरेर छोराको बिहेमा आमाले पनि जन्ती जान मिल्छ है साथीहरू ।”
छोराको बिहे भएको करिब तीन महिनापछि उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको रहेछ । यो देखेपछि हामीले त्यो तस्बिर र स्टाटसलाई सन्दर्भ बनाएर ‘सन्धान फोटो स्टोरी’ शृङ्खलाका लागि उहाँसँग थप कुराकानी गर्यौँ। प्रस्तुत छ, ‘सन्धान’ का लागि पत्रकार सुजाता ढुंगानाले जयन्ता पोखरेलसँग गरेको कुराकानीको आधारमा तयार पारिएको कथन :
मलाई साहित्य मन पर्छ । म प्रायः कविताहरू लेख्छु । लेख्नुभन्दा अगाडि त पढ्नुपर्छ । आफ्नो ज्ञानको दायरा फराकिलो बनाउनुपर्छ भन्ने लाग्छ । कहिले महिलावादका कुरा पढ्छु, कहिले लैङ्गिक असमानताका विषयमा लेखिएका लगायत विभिन्न खालका र विभिन्न लेखकका पुस्तकहरू पढ्छु ।
अहिले म ५३ वर्षको भएँ । अहिले म स्नातकोत्तर तह तेस्रो सेमेस्टर अध्ययनरत छु । मैले मेरा दुई छोराहरूलाई पढाइसकेपछि काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा राजनीतिशास्त्र विषय लिएर स्नातक तह पढ्न थालेँँ । नियमित पास भएर स्नातक तह सकेँ र अहिले राजनीतिशास्त्र विषयमै स्नातकोत्तर तह अध्ययनरत छु । त्यही भएर अहिले त कोर्सका किताबहरू पनि पढ्नुपर्छ । यसले गर्दा मेरो आफ्नो ज्ञानको भण्डार अझ बलियो र फराकिलो भएको महसुस गरेको छु ।
मैले कान्छोको बिहेमा म पनि जाउँ कि क्या हो भनेर घरमा आउने पाहुनाहरूसँग सोधे झैँ गरेँ । यही कुरा जेठाजुलाई पनि भनेँ । उहाँले सुरुमा आमाले छोराको विवाह हेर्नु हुँदैन भन्दै विवाह संस्कारमा त्यस्तो चलन नभएको बताउनुभयो र गुरु (ब्राह्मण/पुरेत) सँग सोध्न भन्नुभयो ।
गएको वर्ष मेरो ठुलो छोराको विवाह भयो । त्यतिबेला घरका सबै लोग्नेमान्छेहरू जन्ती गएका थिए । आफू जान नपाएकोमा मेरो मन बेचैन जस्तो भयो तर त्यतिबेला कसैलाई भन्न सकिनँ । मलाई पनि मेरी बुहारी लिन जान मन थियो तर गइनँ । वर्षौंदेखि आमाहरूले गर्दै आएको काम मैले पनि गरेँ । छोराको विवाहमा आउने पाहुनालाई स्वागतसत्कार गरेँ । खानेकुरा खुवाएँ, बुढाबुढीको ख्याल गरेँ । मूल दियो ननिभोस् भनेर हरतरहले प्रयास गरेँ । तर अहँ, मलाई खुसी मिलेन । मनमा ठुलो पश्चाताप भइरह्यो । हत्तेरी आफ्नो छोराको सबैभन्दा खुसीको दिनमा पनि म उसँगै हुन सकिनँ । त्यतिबेलै मैले मनमनै अठोट गरेँ, कान्छो छोरा (आभाष घिमिरे) को बिहेमा म पक्कै जन्ती जान्छु ।
कान्छो छोराको बिहेको मिति २०८० साल जेठ ७ गते गर्ने भनी तय भयो । घरमा पाहुना आउने क्रम सुरु भइसकेको थियो । जेठो छोराको बिहेमा जन्त जान नपाउँदा म दुःखी भएको कुरा श्रीमान् (हेम घिमिरे) लाई थाहा थियो । त्यही भएर उहाँले मलाई कान्छोको बिहेमा जन्ती जाने हैन ? भन्दै जिस्काउन थाल्नुभएको थियो । तर, उहाँले जिस्क्याएको भन्दा पनि घरमा कुरा गर्न मलाई सजिलो बनाइदिनुभएको थियो ।
विवाहको दिन घरको मूल दियो निभ्यो भने ‘अशुभ’ हुन्छ भन्ने चलन छ । त्यही भएर मैले विवाहका लागि भनेर ठुलो दियो किनेँ । त्यसैमा भरितेल हालेँ अनि बत्ती जलाएँ । हावाले नभेट्ने ठाउँमा दियो राखेँ । त्यसपछि निभ्ने डर भएन । विवाहको लागि घरमा सहयोग गर्न केही सहयोगी पनि खोजेको थिएँ । उहाँहरूलाई बत्ती हेरिदिन पनि भनिराखेँ । र, म जन्ती गएँ ।
कसार बटार्ने दिन सुरु भएपछि मैले कान्छोको बिहेमा म पनि जाउँ कि क्या हो भनेर घरमा आउने पाहुनाहरूसँग सोधे झैँ गरेँ । यही कुरा जेठाजुलाई पनि भनेँ । उहाँले सुरुमा आमाले छोराको विवाह हेर्नु हुँदैन भन्दै विवाह संस्कारमा त्यस्तो चलन नभएको बताउनुभयो र गुरु (ब्राह्मण/पुरेत) सँग सोध्न भन्नुभयो । मैले गुरुहरूलाई सोधेँ । त्यतिबेला थाहा भयो, गुरुहरू पनि दुई खालका हुँदा रहेछन् । एउटा पुरानै चलन मान्ने । अर्को पुरानो चलनहरू परिमार्जन गर्नुपर्छ भन्ने खालको । र, एक जना गुरु भानु खतिवडाले ‘जन्ती जाँदा केही फरक पर्दैन, जाँदा हुन्छ’ भन्नुभयो । त्यसपछि मैले घरमा सबैलाई त्यही कुरा भनेँ र मनाएँ ।
कुरा रह्यो ‘मूल दियो’ को । विवाहको दिन घरको मूल दियो निभ्यो भने ‘अशुभ’ हुन्छ भन्ने चलन छ । त्यही भएर मैले विवाहका लागि भनेर ठुलो दियो किनेँ । त्यसैमा भरितेल हालेँ अनि बत्ती जलाएँ । हावाले नभेट्ने ठाउँमा दियो राखेँ । त्यसपछि निभ्ने डर भएन । विवाहको लागि घरमा सहयोग गर्न केही सहयोगी पनि खोजेको थिएँ । उहाँहरूलाई बत्ती हेरिदिन पनि भनिराखेँ । र, म जन्ती गएँ । मलाई देखेर धेरै आफन्तहरू तरङ्गित हुनुभयो । ‘इन्गेजमेन्ट’ मा जानु, सहरमा आजभोलि सामान्य भयो तर विवाहमै त नगएको भए हुन्थ्यो भन्नेहरूको पनि कमी थिएन । तर, म विवाहमा जन्ती पनि गएँ ।
मैले दुलही (जिवाश्मी) को घरमा पनि भन्न लगाएको थिएँ । मेरी बुहारीको परिवार आधुनिक संस्कारकै भएकाले उताबाट पनि हुन्छ भन्ने जवाफ आयो । उनको घरमा त थाहा थियो तर बिहेमा आएका दुलहीका केही आफन्तहरू बिहेमा मलाई देखेर/चिनेर सुरुमा त अलि अचम्ममा परे जस्तो गर्नुभएको थियो । तर, बिस्तारै त्यो सामान्य भयो ।
भक्तपुरको सूर्यविनायकबाट हामी ललितपुरको टिकाथली जन्ती गएका हौँ । आफ्नो घरबाट जन्ती जाने घर नजिकै भएकाले पनि अलि सजिलो भयो । घरमा केही आफन्त र बिहेका लागि बोलाएको सहयोगीहरू भएकाले बुहारी भित्र्याउँदा चाहिने सबै सामग्री उहाँहरूले ठिक पारिदिनुभएको थियो । म दिनभरि छोराको बिहे हेरेर बुहारी लिएर घर फर्कें ।
दुलाहाको गाडी हाँक्ने ‘भाउजू साथी’
दुलाहाको गाडी चलाइदिन मैले भाउजू साथी (भावना पौड्याल) लाई अनुरोध गरेँ । म उहाँलाई भाउजू साथी भन्छु, उहाँले मलाई नन्द साथी भन्नुहुन्छ । हामी दुई जना मिल्ने साथी र आफन्त पनि हौँ । प्रायः दुलाहाको गाडी हाँक्ने पुरुष हुन्छन्, त्यही भएर मैले चाहिँ उहाँलाई हाँक्न भनेको हुँ । मेरो प्रस्तावले उहाँ पनि खुसी हुनुभयो । जेठो छोराको बिहेमा पनि उहाँले नै गाडी चलाइदिनुभएको थियो । भाउजूले गाडी चलाएको देखेर कतिपयले त दुलाहाको गाडीमा दुई जना बेहुली रछ, हेर ! हेर ! भनेका थिए रे । यो पटक पनि त्यही दोहोरियो । जे होस्, हामी दुवै जना बेहुली लिएर फर्किंदा खुबै हाँस्यौँ ।
छोरा पनि खुसी, ससुराबुबा पनि खुसी
म जन्ती जाने भएपछि बेहुला छोरा पनि एकदमै खुसी भयो । उसले पहिल्यैदेखि मेरो बिहेमा हजुर जन्ती जानुपर्छ नि भनेर जिस्क्याए जसरी भनिराख्थ्यो । जेठाे छाेरा (आयुष) र बुहारी (स्मारिका) ले पनि जानुपर्छ भने । नभन्दै म जन्ती गएँ । दुलाहा लगायत मेराे परिवार र धेरै जना खुसी भए । हामीले हाँस्दै, नाच्दै छोराको बिहे गर्यौँ।
मेरा ससुराबुबा ९५ वर्षको हुनुहुन्छ । म बिहेमा गएर आएपछि उहाँलाई ‘कस्तो लाग्यो बुबालाई ? हामी त सासू र बुहारी नै नयाँ दुलही लिन गयाैँ’ भन्दा उहाँले खुसी हुँदै ‘अब त जमाना पनि राम्रो आएछ, दुलही पनि नरोई, नाच्दै घर आउने, तिमीहरूले पनि छोराको बिहे हेर्न पायौ, पुरानो चलन त बदल्दै पो जानुपर्छ’ भन्नुभयो । मलाई असाध्यै खुसी लाग्यो ।
फेरियो समय, तोडियो पुरानो नियम
आमाले विवाहमा जान हुँदैन भन्ने कुरा घरको कामसँग जोडिएको छ । बिहेको दिन घरमा भएका पाहुनाहरूलाई खुवाउने काम कसले गर्छ भनेर आमालाई नै थुपारिदिएको जिम्मेवारी मात्रै हो । दियो निभ्छ वा अरू विभिन्न बहाना बनाएर भए पनि महिला त्यसमा पनि दुलाहाकी आमा घरमै बसेको राम्रो भनिएको हो । अर्को कुरा, पहिले पहिले जन्ती लिएर टाढा पुग्नुपथ्र्यो । राति बिहे भएर भोलिपल्ट वा तेस्रो दिन मात्रै घर फर्किंदाको अवस्थालाई लिएर बनाइएको नियम हो त्यो भन्ने लाग्छ ।
अहिले त समय फेरियो । सहर वा यातायातको सुविधा भएको ठाउँमा त एकैदिनमा दुलही भित्र्याउने चलन नै बढी छ । त्यसैले मन लाग्दा आमाहरूले पनि जन्ती जान पाउनुपर्छ । घरको कामको व्यवस्थापन पनि परिवारका सबै जना भएर गर्नुपर्छ । अहिले त दिउँसोको बिहे हुन्छ । पुरानो अवस्थाकै चलनलाई ल्याएर आमालाई जन्त जान बन्देज लगाउनुभन्दा पनि कामको व्यवस्थापन गर्ने उपाय झिकेर आमा÷महिलाको रहर बुझ्ने परिवार हुनु आवश्यक हुन्छ ।
जेठो छोराको बिहेमा जान नपाए पनि कान्छो छोराको बिहेमा मैले जन्ती जाने सपना पूरा गरेँ ।
झापाका थप कथाहरू
- ऐतिहासिक झापा आन्दोलनका सहभागी महिलाहरू दमक भेटघाटमा
- मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)
- व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)
- झापा विद्रोहमा लागेका महिला : जानकारी नै अब कहाँ पाइएला र ? (भिडियो सहित) – राधाकृष्ण मैनाली
- जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला
- झापा आन्दोलनमा महिला सहभागिता, नेतृत्व र योगदान
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
सन्धान प्रकाशन मिति : २०८० भदाै ११ गते, साेमवार