अहिले नागरिकता विधेयक र त्यसमा भएका विविध प्रावधानका बारेमा बहस भइरहेको छ । विधेयकमा कुनै व्यवस्था नभएको तर विशेष गरी तराई र तराईमा पनि मधेस प्रदेशमा रहेको ‘कुमारी नागरिकता’ को अभ्यास र त्यसले महिलाहरूलाई पारिरहेका व्यावहारिक अप्ठ्याराबारे आज हामीले कुराकानी गरेका छौँ ।
महोत्तरी जिल्लाको गौशालाकी सुनिता महतोको नागरिकताको नाम सुनिता कुमारी हो । बिहे हुनुअघि २०५५ सालमा नागरिकता प्रमाणपत्र बनाइएको हो । त्यसैले नागरिकता प्रमाणपत्रमा नामको पछाडि थर नराखी कुमारी राख्ने चलनअनुसार सुनिता कुमारी राखियो । सुनिताका अनुसार, कतिपयले अहिले पनि यस्तै अभ्यास कायम राखेका छन् । यस्तो नागरिकतालाई ‘कुमारी नागरिकता’ भन्ने गरिन्छ । यसरी बिहेअघि नागरिकता प्रमाणपत्र बनाउँदा नामको पछाडि कुमारी राखिएका महिलाहरूले बिहे गरेपछि कुमारीको ठाउँमा देवी राखेर वा श्रीमान्को थर थपेर अर्को नागरिकता लिने गर्दछन् । सुनिता भने यसको अपवादमा पर्नु हुन्छ ।
सुनिताले बिहेपछि नागरिकता प्रमाणपत्रमा देवी राख्ने वा श्रीमान्को थर राखेर नागरिकता प्रमाणपत्र परिवर्तन गर्नुभएन । त्यसो गर्न चाहनु पनि भएन । बाबुआमाले बनाइदिएको नागरिकता प्रमाणपत्र नै प्रयोग गर्ने चाहना राख्नुभयो । त्यही कारणले गर्दा प्रशासनिक कामका सिलसिलामा अनपेक्षित दुःख र हैरानी व्यहोर्दै आउनुपरेको उहाँको अनुभव छ ।
महोत्तरी जिल्लामै एफएम रेडियो सञ्चालन गर्दै आउनुभएकी सुनिता जिल्लाकै एक विद्यालयमा राहत कोटाको शिक्षक पनि हुनुहुन्छ । केही वर्षअघि उहाँले स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा दिएर लिखितमा नाम निकाल्नुभएको थियो ।
अन्तर्वार्ताका लागि उहाँ सर्लाही जिल्लास्थित तोकिएको परीक्षा केन्द्रमा पुग्नुभयो । उहाँले पोते लगाउनुभएको देखेर अन्तर्वार्ता लिन बसेकाहरूले विवाहिताको नागरिकतामा कुमारी कसरी भन्दै प्रश्न उठाए । ‘पहिलेकै नागरिकता हो, बिहे गरेपछि परिवर्तन गरिनँ’ भन्ने सुनिताको सटिक जवाफले पितृसत्ताका पृष्ठपोषकहरूलाई चित्त बुझेन । उनीहरूले त्यसैमा विवाद झिकी बखेडा गर्न थाले । अन्तर्वार्तामा पनि विषयवस्तुभन्दा बाहिरको प्रश्न सोधेकै कारण आफू परीक्षामा पास नभएको सुनिताको भनाइ छ । त्यो घटनापछि स्थायी शिक्षकका लागि कहिल्यै पनि फाराम भर्न मन नलागेको उहाँले बताउनुभयो ।
‘सन्धान’ ले यस पटक तराईमा भन्ने गरिएको ‘कुमारी नागरिकता’, यस्तो नागरिकता प्रमाणपत्र दिने अभ्यास र यसबाट विवाहित महिलाहरूले भोग्नुपरिरहेको विभेदपूर्ण व्यवहार र त्यसबाट सिर्जित हैरानीका बारेमा सुनिता कुमारी अर्थात् सुनिता महतोसँग कुराकानी गरेको छ । प्रस्तुत छ, केही दिनअघि ‘सन्धान टीम’ महोत्तरीको जलेश्वर पुगेको बेला उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेस्
- ७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)
- काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)
सन्धान प्रकाशन मिति : २०७९ भदाै २१ गते, मंगलवार