Home Stories चालिस वर्षअघिदेखि श्रीमान्‌बाट निरन्तर यातना

चालिस वर्षअघिदेखि श्रीमान्‌बाट निरन्तर यातना

617
0

उमेरले ६० टेक्न अब एक वर्ष मात्रै बाँकी छ । यो उमेरमा श्रीमान् विरुद्ध कसरी उजुरी गर्न जाऊँ ? अब नातिनातिनाको बिहे गर्ने बेला भएको छ । यस्तो उमेरमा मभन्दा छ महिना मात्रै जेठो मेरो श्रीमान् भनाउँदाले अर्को लिएर हिँडेका छन् रे भन्ने सुनेको छु । एक मनले त मलाई आनन्द भएको छ, उनी घरमा छैनन् । कतिबेला लात्तीले हानेर उछिट्ट्याएर मारिदिने हो भन्ने डर अहिले छैन ।

श्रीमतीलाई श्रीमान् घरबाट निस्केर हिँडेपछि साँझ फर्केर नआउँदा, खबर नगर्दा किन आएनन् भनेर पीर लाग्नुपर्ने हो । तर, मलाई खै किन हो उनी नआउँदा ढुक्क लाग्छ । आज त आनन्दले निदाउन पाउने भएँ भन्ने लाग्छ । उनी घरबाट निस्केर हिँडेको अहिले सात महिना जति भयो । अर्कै लिएर हिँडेका छन् रे भन्ने सुनेको, प्रमाण पुर्‍याउन त कागजपत्र चाहिन्छ । मलाई यो बुढेसकालमा प्रमाण बटुल्दै हिँड्न मन छैन । शान्तसँग बाँच्न पाए पुग्छ, आनन्दले निदाउन पाए हुन्छ ।

भनौँ भने ओछ्यानको कुरा, बुढाबुढीका बिचको कुरा भन्ने झैँ लाग्ला तपाईंलाई । मेरो त्यतिबेला महिनावारी सुकिसकेको थियो । सायद २०७४ सालतिरको कुरा होला । चार महिनाभन्दा बढी भएको थियो महिनावारी हराएको । श्रीमान् विदेशमा थिए, पाँच वर्षपछि उनी आए । त्यसपछि यति दुःख दिए कि यस्तो भयो भनेर शब्दमा म अहिले भन्नै सक्दिनँ । म उभिनै नसक्ने अवस्थामा थिएँ । कोठामा एक्लै पर्नै हुँदैन थियो । उनको यौन यातना सुरु भइहाल्थ्यो । मैले मानिनँ भने कुटपिट गर्न थालिहाल्थे । छोराबुहारी घरमै हुँदैन थिए, काममा जान्थे । उनीहरू काममा गएपछि म कि डोको नाम्लो लिएर घाँस काट्न निस्कन्थेँ कि छिमेकीका घरतिर गफ गर्न जान्थेँ । घरमा बस्न नसक्नाको कारण श्रीमान्‌ले दिने यातनाको डर थियो ।

बिर्तामोडमा डाक्टरले मेरो पाठेघर निकालेर फाल्नुपर्छ भन्नुभयो र पाठेघर फाल्दिनुभयो । पाठेघर नै नभएपछि त अलि सुबिस्ता पाइएला कि भन्ने थियो तर भएन । उपचार गरेर केही दिनमा अस्पतालबाट घर फर्कियौँ । त्यस्तो बेलामा त मैले आराम गर्नुपर्ने, श्रीमान्‌ले मेरो रेखदेख गर्नुपर्ने हो तर त्यस्तो भएन ।

हुन त विदेश जानुअघि पनि उनले मलाई यस्तो दुःख नदिएका हैनन् । विदेशमा हुँदा एक पैसा पठाएनन् । फोन गर्दा ‘किन फोन गर्छेस् ?’ भन्थे । त्यही भएर मैले उनलाई फोन पनि गर्न छोडेको थिएँ । घर आएपछि पनि बोलेको थिइनँ । मैले त घरमै नराखौँ भनेको तर मेरा माइती, छोरीज्वाइँ सबैले कर गरेपछि मैले एक्लै अड्डी कस्न सकिनँ । छोराछोरीलाई चित्त दुःख्ला भनेर बिस्तारै उनीसँग बोल्न पनि थालेँ । अनि फेरि सुरु भयो उनको ममाथिको यातना । अतिबाट अत्याचार नै हुन थाल्यो यातना । मैले पाठेघर नै फाल्नुपर्‍यो ।

हराएको महिनावारी श्रीमान् विदेशबाट आएपछि फेरि भयो जस्तो लाग्यो । उनको मनलाग्दी व्यवहारले रगत त खलखली जान थाल्यो । महिना दिनभन्दा बढी रगत नरोकिएपछि मैले छोराछोरीलाई भनेँ । त्यत्रो वर्ष कसैलाई नभनेको कुरा त्यतिबेला भन्नुपर्‍यो । अनि मलाई छोराछोरीले अस्पताल लगे । अस्पतालमा ‘बायोप्सी’ गर्नुपर्छ भने । त्यसको रिपोर्ट आएपछि बिर्तामोडमा डाक्टरले मेरो पाठेघर निकालेर फाल्नुपर्छ भन्नुभयो र पाठेघर फाल्दिनुभयो । पाठेघर नै नभएपछि त अलि सुबिस्ता पाइएला कि भन्ने थियो तर भएन । उपचार गरेर केही दिनमा अस्पतालबाट घर फर्कियौँ । त्यस्तो बेलामा त मैले आराम गर्नुपर्ने, श्रीमान्‌ले मेरो रेखदेख गर्नुपर्ने हो तर त्यस्तो भएन । किन पो उनलाई मेरो स्वास्थ्यको पीर हुन्थ्यो र ? फेरि उस्तै, मलाई त एक्लै कोठामा देख्नै नहुने भयो । मैले उनकै पो ख्याल गर्नुप¥यो । छोरा, बुहारी, कि छोरी, नभए ज्वाइँ भए पनि एक जना ढुक्कै मेरो साथमा बस्नुपर्ने अवस्था आयो । नभए त श्रीमान्‌ले मलाई झम्टिहाल्थे ।

मन लाग्दा घर आउने नभए बाहिर बाहिरै हिँड्ने । घर आएपछि भने मैले सुबिस्तै नपाउने । काम पनि त्यस्तो केही गर्ने हैनन् । सबै घरधन्दा मैले नै भ्याउथेँ । छोराछोरीको विवाह पनि मैले नै टारेँ । खै के मन लाग्यो, छोराछोरी सबैको बिहे भइसकेपछि उनी विदेश गए ।

तपाईंलाई म अर्को पनि कुरा भन्छु । म सुत्केरी भएको बेला थियो । घरको काम पनि सघाउने, नानी पनि हेर्न हुन्छ भनेर माइतीबाट आमाबुबाले मेरो एक जना बहिनीलाई मकहाँ पठाइदिनुभएको थियो । म सुत्केरी भएकाले अलि धर्मको डरले पनि होला मलाई छुन अलि डर मान्थे । एक दिन खेतमा काम गर्न गएकी ती बहिनीलाई नै पो झम्टिन खोजेछन् । बहिनी रुँदै घर आएर सुनाई । आफ्नो सुत्केरी ज्यान ! माइतीमा रुँदै खबर गरेँ । बहिनीलाई फिर्ता लग्नुभयो । मैले त्योभन्दा अगाडि माइतीमा पीर हुन्छ भनेर श्रीमान्‌ले आफूलाई दिएको दुःखको कुरा कहिल्यै भनिनँ ।

भनेको भए पनि आमाहरूले ‘छोरी भनेको धर्ती हो, सहनुपर्छ’ भन्नुहुन्थ्यो होला । त्यही भएर मैले सहेरै बसेको थिएँ । त्यो बहिनीलाई उनले त्यस्तो गरेको दिनदेखि माइतीमा मेरो इज्जत रहेन जस्तो लाग्यो ।

मन लाग्दा घर आउने नभए बाहिर बाहिरै हिँड्ने । घर आएपछि भने मैले सुबिस्तै नपाउने । काम पनि त्यस्तो केही गर्ने हैनन् । सबै घरधन्दा मैले नै भ्याउथेँ । छोराछोरीको विवाह पनि मैले नै टारेँ । खै के मन लाग्यो, छोराछोरी सबैको बिहे भइसकेपछि उनी विदेश गए । विदेशमा पाँच वर्ष बसेर आए । त्यसपछि त उधुमै गरे । उतै पनि बिहे गरेका रे भन्ने सुनेको तर ‘आँखाले नदेखेको कुरा के पत्याउनु ?’ भन्ने भयो । नेपाल आएपछि धेरै समय हामीसँग बसेनन् । म त्यस्तो अप्रेशन गरी पाठेघर फालेको बिरामी, त्यसमाथि मलाई कुर्ने कोही न कोही आफन्त मेरा साथमा भएकाले होला, उनी बाहिर बाहिरै हिँड्ने गरे ।

अदालतको पत्र

एक्कासि २०७६ सालमा अदालतबाट पत्र आयो । मैले खान लगाउन नदिएर घरबाट निकालेँ भनेर श्रीमान्‌ले सम्बन्ध विच्छेदको मुद्दा हालेछन् । मैले त्यतिबेला ‘डिभोर्स’ दिन चाहिनँ । यत्रा सन्तान भएको मान्छे, सम्बन्ध तोडिन्छ । ‘आफूले गल्ती गरेको छैन, किन दिनु ?’ भन्ने लाग्यो । हाम्रो गल्ती भएको भए, आफूले खुट्टा झिकेको भए दिन पनि हुन्थ्यो । मैले डिभोर्स किन दिनु भनेर नदिने निर्णयमा पुगेँ । वकिल कविता शर्मासँग सल्लाह गरेर मैले तारेख खेपेँ । त्यतिबेला लकडाउन थियो । मैले अदालतबाट मुद्दा जितेँ । श्रीमान्‌ले हारे । त्यो हारपछि उनले यहीँ बस्ने जिद्दी कसे । गाउँघरमा डुल्ने, रुने, म यहीँ बस्छु भन्ने गर्न थाले । एक दिन हैन, दुई दिन हैन फेरि सबैले मलाई ‘अब मिलेर बस्नू’ भने । मैले एकचोटि फुटेको हाँडी जोडिन्न भनेर अड्डी कसेँ । तर हामी यही समाजमा बस्ने मान्छे, गाउँसमाजको कुरा पनि सुन्नै पर्ने रहेछ । होला त नि भनेँ तर घुस्रिन बानी भएको मान्छे किन पो छोड्थे र ?

उनले मलाई शारीरिक रूपमा ४० वर्ष यातना दिए । बिचका पाँच वर्ष उनी विदेश गएकाले मैले शारीरिक यातना खप्न परेन । तर, मानसिक यातना त सधैँ खेपेँ । अब म यहाँभन्दा खप्न सक्दिनँ ।

लकडाउनकै बेला उनलाई एकपटक चाहिँ पुलिसमा थुनाउन पाए सुध्रन्छन् कि भन्ने लाग्यो । मैले मलाई सहयोग गरिराख्नुभएको वकिलसँग सल्लाह गरेँ । उहाँले ‘जाऊँ न त प्रहरीमा’ भनेर लिएर जानुभयो । तर प्रहरीले दुईचार महिना थुनाएर के गर्नुहुन्छ ? फेरि फर्किएर घरै आउने हुन् भन्दै उजुरी नगर्न भने । हुन त हो पनि, प्रहरीले सधैँ राख्दैन, आउने त घरै त हुन् भन्ने लाग्यो । फेरि उजुरी गरिनँ । तर अहिले किन त्यतिबेला गरिनँ होला भन्ने पनि लाग्छ ।

फेरि सम्झन्छु, मैले मेरो श्रीमान्‌लाई मुद्दा हालेँ भने त मलाई गाउँभरि आफ्नै बुढालाई पनि मुद्दा हाली भन्थे होला ! अहिले त म रोगी भइसकेँ । गएको वर्ष मेरो ठुला ठुला तीन वटा शल्यक्रिया भयो । पाठेघर त पहिला नै फालिसकेको । पछि पित्तथैली, पित्तथैलीको नली र सातपत्रे हुँदो रहेछ त्यो सबै फालेको । नौ घण्टा लाग्यो रे अप्रेशन गर्न पनि । काठमाडौँमा अप्रेशन गरेको ।

अहिले म धेरै रोगी भएको छु । अप्रेसन नै अप्रेशनले मेरो जीवन धानेको छ । धन्न छोरा, बुहारी, छोरी, ज्वाइँले राम्रो गर्छन् । यिनीहरूकै सहारा छ । बुढेसकालमा बुढाबुढी एक अर्काको साहारा बन्नुपर्ने हो, तर उनी मेरो साहारा हैन, आशा पनि बन्न सकेनन् । उनले मलाई शारीरिक रूपमा ४० वर्ष यातना दिए । बिचका पाँच वर्ष उनी विदेश गएकाले मैले शारीरिक यातना खप्न परेन । तर, मानसिक यातना त सधैँ खेपेँ । अब म यहाँभन्दा खप्न सक्दिनँ ।

अब त सहनको पनि त एउटा ठाउँ हुँदो रहेछ, कतिसम्म सहनु ? यो उमेरमा सम्बन्ध तोडौँ, उनैसँग जोडिएका सम्बन्धहरूको घेरा छ । अब यिनको म वास्तै गर्दिनँ भन्छु, फेरि दुईचार दिनपछि आएर घुस्रन थाल्छन् ।

एक मनले म रोगी भएर उनले अन्त चहार्दै हिँडेका हुन् कि भन्ने लाग्छ तर फेरि सोच्छु, म रोगी त उनकै यातनाले भएको हो नि ! दिनरात केही नभन्ने लोग्नेमान्छे, मेरो श्रीमान् कसरी हुन्छ ? उनको ‘मान’ मैले मात्रै कसरी राख्न सक्छु र ? उनले पनि ‘मान’ पाउन लायक व्यवहार गर्नुपर्छ नि ! उनैले मलाई अहिले यो हालतमा पुर्‍याए ।

नाति भर्खर जन्मिएको थियो । मलाई त्यतिबेला न दिन भने न रात, आफ्नै घरबाट भाग्नुपर्ने अवस्था बनाए । भागेर कहाँ साध्य हुन्थ्यो ? रातमा त कोठा एउटै हो । छोरा, बुहारीका अगाडि तिमीहरूको बाउलाई छुट्टै ओछ्यान लाइदेओ भन्न पनि गाह्रो । त्यही गाह्रो मानेरै, ‘सहन्छु नि त’ भनेर अहिले यो अवस्थामा आइपुगेँ ।

अब त सहनको पनि त एउटा ठाउँ हुँदो रहेछ, कतिसम्म सहनु ? यो उमेरमा सम्बन्ध तोडौँ, उनैसँग जोडिएका सम्बन्धहरूको घेरा छ । छोरा छन्, छोरी छन्, बुहारी, ज्वाइँ, नातिनातिना । अदालतमा गएर तोडिने एउटासँगको सम्बन्धले यत्रो सम्बन्धका हाँगाबिँगासँगको सम्बन्ध तोड्न सक्दैैन । अब यिनको म वास्तै गर्दिनँ भन्छु, फेरि दुईचार दिनपछि आएर घुस्रन थाल्छन् । गाउँमा रोइकराई गर्छन् । फेरि गाउँसमाज, आफन्त छरछिमेक सबैले मलाई ‘बुढाबुढीको झगडा परालको आगो हो, मिल्नुपर्छ’ भन्छन्, मिल्नु भनेको खै कति मिल्नु हो ? सहनु भनेको कतिसम्म सहनु हो ? श्रीमान् र समाजले भनेको मान्दै जाँदा, पीडा खप्दै जाँदा म मरेँ भने … … … ?

(भुक्तभोगीसँग पत्रकार सुजाता ढुङ्गानाले गरेको कुराकानीमा आधारित ।)

याे पनि पढ्नुहाेला