Home Stories पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास

पालको लम्बिँदो बसाइमा यौनहिंसाको त्रास


भूकम्पमा घर भत्किएपछि पालमा बस्दै आएकी जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ की २१ वर्षीया युवतीमाथि बलात्कार भयो । सो घटना २०८० कात्तिक २६ गते भएको थियो । सो दिन बेलुका ८ बजेतिर शौचालय जान निस्केकी युवतीलाई बलात्कार गरेका २१ वर्षीय गोपाल वादीको अहिले थुनामा बास छ । गोपाललाई जिल्ला अदालत जाजरकोटले मङ्सिर १७ गते पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जाजरकोटमा २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएर घर भत्किएदेखि ती युवतीको बसाइँ पालमुनि सरेको थियो । जाजरकोटमा पालमुनि बसिरहेकाहरूको कुल सङ्ख्या ९० हजार छ । त्यसमध्ये ४८ हजार महिला, १२ बालबालिका र ६ हजार ज्येष्ठ नागरिक छन् । पुसको बढ्दो चिसोमा पालमुनिको बसाइ सबैलाई जति कष्टकर छ, त्योभन्दा पनि बढी प्रजनन उमेरका महिलालाई यौनहिंसाको त्रासले पिरोल्ने गरेको छ ।

पालमुनि बसिरहेका प्रजनन उमेरका किशोरी र महिलाहरूको कुल सङ्ख्या करिब ४५ हजार रहेको छ । उनीहरू राति ढुक्कले निदाउनदेखि शौचालय जान समेत डराउने गरेका छन् । जानकारका अनुसार, ढोका नै नभएको ठाउँमा ओत लिएर सुत्नुपर्दा र शौचालय निस्कँदा पनि बलात्कारमा पर्नुपर्ने जोखिमले गर्दा महिलाहरूमा यौनहिंसाको त्रास थपिएको हो । सबैका लागि अस्थायी टहरा पनि छिट्टै बन्ने सम्भावना नभएका ठाउँमा रहेका महिलाहरूको त्रास पनि लम्बिँदो छ । त्यसमाथि परिवारजनमा रहेको चिन्ता पनि बल्झिँदै गएको छ ।

पूर्णिमा भन्नुहुन्छ, “सानो बच्चा राति रुन्छ । बच्चा रोएको सुनेर बाहिरबाट कोही पुरुष आएर इज्जत लुट्ने हो कि भन्ने लाग्छ । डरले रातभर राम्रो निद्रा लाग्दैन ।”

स्थानीयका अनुसार, भूकम्पपछि नै नलगाड र भेरी नगरपालिकाहरू तथा कुसे गाउँपालिकामा यौनहिंसाका पाँच वटा घटना प्रहरीसम्म पुगेका छन् । यस्ता कतिपय घटनाहरू प्रहरीसम्म नपुगेका पनि हुन सक्ने र सबै घटनाका अभियुक्तलाई कारबाही नहुन पनि सक्ने कुरा थाहा पाएपछि पालमुनि रात गुजार्न बाध्य महिला, किशोरी, बालिका र तिनका परिवारजन तथा अभिभावकहरू त्रसित र चिन्तित भएका हुन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ कालेगाउँकी पूर्णिमा विकका श्रीमान् वैदेशिक रोजगारीको लागि मलेसियामा हुनुहुन्छ । पूर्णिमा पाँच र एक वर्षका दुई छोराका साथमा पालमुनि बस्दै आउनुभएको छ । पालमुनिको बसाइको बारेमा कुरा उठाउँदा उहाँका आँखा आँसुले भरिए । उहाँले नलगाडमा युवतीमाथि बलात्कार भएको घटना सुन्नुभएको रहेछ । पूर्णिमा भन्नुहुन्छ, “सानो बच्चा राति रुन्छ । बच्चा रोएको सुनेर बाहिरबाट कोही पुरुष आएर इज्जत लुट्ने हो कि भन्ने लाग्छ । डरले रातभर राम्रो निद्रा लाग्दैन ।”

पूर्णिमाका अनुसार, बाहिर सानो आवाज आए पनि कसैले पाल खोलेको हो कि भनेर डरले मुटु धड्किन्छ । भन्नुहुन्छ, “हामी गरिबको समस्या पनि कति हो कति ? घरको समस्या टार्नकै लागि श्रीमान् परदेश गएको एक वर्ष भयो । परदेश जाँदाको ऋण तिर्न एक वर्ष लाग्यो । ऋण तिरेर सक्दानसक्दै ओत लाग्ने झुपडी भूकम्पले भत्काइदियो ।”

पूर्णिमा डराएको भएर श्रीमान्‌ले मलेसियाबाट ‘अब घरै फर्किम् त ?’ भनी सोध्नुहुँदो रहेछ । आफूले के जवाफ दिने भन्दै पूर्णिमा भन्नुहुन्छ, “आउनू भन्नलाई यहाँ कमाइखाने बाटो छैन, नआउनू भन्नलाई डरैडरमा रात बिताउनुपरेको छ ।”

भूबनोटका हिसाबले पहाडी जिल्ला हो, जाजरकोट । यातायात लगायतका भौतिक सरसुविधाका हिसाबले विकट पनि छ यो ठाउँ । प्रायः छरपस्ट घर भएका पातला बस्ती छन् । एक घरदेखि अर्को घर पुग्नै घण्टौँ पनि लाग्न सक्छ । कतै कतै त अनकन्टार जङ्गलको बिचमा एक–दुई वटा मात्र घर पनि भेटिन्छन् ।

जिल्ला सदरमुकामबाट दुर्गम मानिन्छ, नलगाड नगरपालिका । यसै नगरपालिका वडा नम्बर १ दमाराकी सीता पुनको एक्लो पाल जङ्गलको बिचमा टाँगिएको छ । सदरमुकाम खलङ्गाबाट गाडीमा करिब छ किलोमिटरसम्म मात्र गाडी जान्छ । गाडीपछि एक घण्टा हिँडेपछि मात्र उहाँको घर भएको ठाउँमा पुगिन्छ । १० वर्ष पनि नपुगेका दुई छोरी र दुई छोरालाई लिएर उहाँले पालमुनि बस्न थालेको अहिले दुई महिना नाघिसकेको छ ।

नलगाड नगरपालिका १ की सीता पुनलाई लाग्छ, अस्थायी टहरा छिटो बनेको भए अरू केही नभए पनि ढोकामा चुकुल लगाएर आनन्दले निदाउन त पाइन्थ्यो !

सीताका श्रीमान् विदेशमा त होइन तर कामको खोजीमा यताउता हिँड्ने भएकाले परिवारका साथमा रहन पाउनुहुन्न । त्यसमाथि एकलासको ठाउँ छ । यसैले सीतालाई आफूहरू पनि कतै हिंसामा पो परिने हो कि भनेर निकै डर लाग्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “बदमास केटामान्छे आउँछन् कि भन्ने डर एकातिर छ, अर्कोतिर केही आपत् परेर गुहार मागे पनि सुन्ने कोही छैन ।” सीतालाई लाग्छ, अस्थायी टहरा छिटो बनेको भए अरू केही नभए पनि ढोकामा चुकुल लगाएर आनन्दले निदाउन त पाइन्थ्यो !

सरकारले भूकम्पपीडितका लागि गएको मङ्सिर महिनाभित्रै अस्थायी टहरा निर्माण गरिसक्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार काम भएन । हुन सकेन । अहिलेसम्म करिब एक चौथाइ घरपरिवारका लागि मात्रै अस्थायी टहरा बनेका छन् । जिल्ला प्रशासन कार्यालयले जाजरकोटमा भूकम्पका कारण ३५ हजार १४० वटा घर अस्थायी टहरा बनाउनुपर्ने गरी लाभग्राही सङ्ख्या कायम गरेको छ । त्यसमध्ये अहिलेसम्म जम्मा नौ हजार ६३८ वटा मात्र अस्थायी आवास बनेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

सीतालाई लाग्छ, दुर्गम स्थानमा राहत ढिला पुगे जस्तै अस्थायी टहरा निर्माण पनि ढिलै हुने होला । त्यो पनि कहिलेसम्ममा बनिसक्ने हो यसै भन्न सकिँदैन । बाक्लो बस्ती भएको ठाउँमा भूकम्पमा भत्किएका घरको भग्नावशेषबाट छरछिमेक, स्वयंसेवक भएर काठ, अन्नपात निकाले पनि सीताको घरबाट केही निकालिएको छैन । “निकाल्नै सकिएको छैन,” उहाँ भन्नुहुन्छ, “छरछिमेक छैनन्, टाढाबाट को आउने ? चार वटा सान्साना बच्चा र अरू कामले म भ्याउँदिनँ । श्रीमान् कामको खोजीमा, कसले गर्दिने र ?”

जाजरकोट जिल्लाका झन्डै ५० प्रतिशत नागरिकलाई घर नछोडी काम गरेर हुने आम्दानीले दुइछाक टार्न र घरको सामान्य खर्च पनि चलाउन पुग्दैन । यसैले हरेक वर्ष मङ्सिरदेखि वैशाख महिनासम्म यहाँका प्रायः सबै घरका पुरुष सदस्य घर छोडेर बाहिरफेर कमाउन जाने गर्छन् । यस वर्ष भने भूकम्पकै कारण छोराछोरी र श्रीमतीलाई पालको असुरक्षित बासस्थलमा छोडेर जान नसकेकाहरू गाउँमै भेटिए । एकातिर भूकम्पले घरभित्रका सबै सामान पुरिदिएको छ, अर्कोतिर कमाउन जान पाइएको छैन भन्ने पिरलो उनीहरूमा पाइन्छ । त्यसमाथि यौनहिंसा जस्ता आपराधिक घटनाका कारण सामाजिक असुरक्षा बढेको छ । यस खालको असुरक्षाले आफूहरूको परिवारलाई आर्थिक सङ्कटको पनि मारमा पार्ने चिन्ता भूकम्पपीडित परिवारमा थपिएको पाइन्छ ।

भूकम्पपछि पालको बसाइकै क्रममा नलगाड, भेरी र कुसे पालिकाहरूमा भएको यौनहिंसाका पाँच वटा घटना प्रहरीसम्म पुगेको बताइन्छ । तर, एक युवतीको बलात्कार बाहेक अरूको घटना भूकम्पकै कारण भएको भन्न नमिल्ने प्रहरीको दाबी छ ।

भेरी नगरपालिका वडा नम्बर १ रावतगाउँकी रीता रावतको परिवार पनि यस्तै चिन्तामा रहेको भेटियो । पहिले अस्थायी आवास बनाएर मात्र भारततिर कमाउन जाने सल्लाह रीता र उहाँका श्रीमान्‌ले गर्नुभएको रहेछ । रीता भन्नुहुन्छ, “पालमुनि कसरी छोडेर जानू भनेर श्रीमान् बाहिर जानुभएको छैन । सडक छेउमै हाम्रो पाल छ । राहत र सहयोगका लागि भन्दै कहाँ–कहाँका को–को मान्छे आउँछन्, दिनमा सबै दुःख सुने जस्तो गरेर राती तिनैबाट इज्जतदेखि भएका धनमाल लुटिने डर छ ।” अहिले भूकम्प भएको दुई महिना बितिसक्दा पनि अस्थायी आवास बनेको छैन । उहाँ थप्नुहुन्छ, “कमाउन जाने मान्छे पनि परिवार छोडेर हिँड्न नपाउँदा पालमुनि पनि भोकोपेटमै बस्नुपर्ने बेला भइसक्यो ।”

सबै तस्विरहरू टिका विश्वकर्मा

जाजरकोटमा भूकम्पबाट बढी प्रभावित नलगाड र भेरी नगरपालिका हुन् । यी दुई पालिकाका अधिकांश घरहरू बस्न नमिल्ने अवस्थाका भए । पालमा बस्न बाध्य त्रसित नागरिकको बारेमा प्रश्न गर्दा प्रहरीले सुरक्षाको पाटो बलियो बनाएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष रोकाया भन्नुहुन्छ, “अस्थायी प्रहरी चौकीबाट प्रहरीहरूले आफ्नो पायक पर्ने ठाउँहरूमा सुरक्षा दिने गरेको छ तर महिला प्रहरी खटाउन भने जनशक्ति नै पुग्दैन । भूकम्पको लागि भनेर थप जनशक्ति नखटाइएकाले संभव भएन ।”

प्रहरीले भने जस्तो सजिलो भने छैन गाउँठाउँको अवस्था । गाउँका कतिपय महिलाहरूले त आफूलाई पुरुष प्रहरीदेखि नै डर लाग्ने गरेको अनुभव पनि सुनाएका छन् । भूकम्पपछि पालको बसाइकै क्रममा नलगाड, भेरी र कुसे पालिकाहरूमा भएको यौनहिंसाका पाँच वटा घटना प्रहरीसम्म पुगेको बताइन्छ । तर, एक युवतीको बलात्कार बाहेक अरूको घटना भूकम्पकै कारण भएको भन्न नमिल्ने प्रहरीको दाबी छ ।

भूकम्प लगायत हरेक प्राकृतिक विपद् तथा मानवसिर्जित लैङ्गिक अपराधका घटनाहरूमा महिला बढी प्रभावित हुने गरेका छन् । सुत्केरी, गर्भवती, ससाना बालबालिका, ज्येष्ठ नागरिक र अशक्त अवस्थामा रहेकाहरूको समस्या एकथरिको छ भने किशोरी, युवती तथा किशोरावस्थाका छोरी भएका अभिभावकमा थपिएको चिन्ता अर्कोथरिको छ ।

यी सबैका समस्या र चिन्ता भूकम्पपछिको पालमुनिको असुरक्षित बास लम्बिँदै गएकाले थपिएका हुन् । विपद्को बेला राज्यले तत्काल आफूहरूतिर सम्पूर्ण ध्यान दिइदिएको भए अस्थायी टहराकै लागि यस्तो विलम्ब त पक्कै पनि हुने थिएन भन्ठान्नेहरू पनि गाउँठाउँमा भेटिन्छन् ।

सन्धान, प्रकाशन मिति : २०८० माघ ४ गते, बिहीबार

यो पनि पढ्नुहोला