Home Stories ‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज

‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज

715
0

जीवनसाथीबाट ‘ओछ्यान’ मै यौनहिंसा हुन सक्छ भन्ने तथ्य सार्वजनिक हुन धेरै गाह्रो छ । श्रीमान्‌बाट श्रीमती बढी प्रताडित भएका भेटिन्छन् । त्यसो त पितृसत्ताको बर्कोमा बेरिएको महिला मस्तिष्कले वैवाहिक जोडीबाट हुने गरेको यौनहिंसाको दर्दनाक भोगाइलाई लामो समयसम्म शयनकक्षबाट बाहिर ल्याउनै सकेन । असह्य भएपछि नजिकका व्यक्तिसँग यसो कुरा गरिहाले पनि श्रीमान्‌को यौन बर्बरतालाई सहेरै बस्नुपर्ने चौतर्फी दबाब सिर्जना हुन्थ्यो ।

अहिले त्यस्तो छैन, समय बदलिएको छ । विवाह संस्थामा समानता र जीवनसाथीत्वको अभाव रहेको बुझ्न थालिएको छ । वैवाहिक जोडीबिच समान अस्तित्व, अधिकार, हैसियत र व्यवहार खोज्न थालिएको छ । यस्तो चेतना विश्वव्यापी भएर फैलिइसकेको छ । चेतनाकै फल मान्नुपर्छ, हामीकहाँ वैवाहिक बलात्कारविरुद्धको कानुन पनि बनिसकेको छ । मुलुकी अपराध संहिता, २०७४ मा उल्लेख छ : “वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ ।”

कानुनलाई कार्यान्वयनमा ल्याउन नदिन भने अनेकौँ वाधा तेर्स्याइने गरेको पाइन्छ । त्यस्ता वाधाहरूलाई चिर्नका लागि सुरुआती पहल पीडित पक्षबाटै हुनुपर्छ । कटुसत्यलाई बाहिर ल्याउन श्रीमतीले नै मुख खोल्नुपर्छ । ‘सन्धान’ ले यौनहिंसाविरुद्धका घटनालाई दस्तावेजीकरण पनि गर्दछ । यसै क्रममा प्रस्तुत छ, श्रीमान्‌ले गर्ने गरेको अत्यन्त बर्बर र हिंस्रक यौन व्यवहारको खुलासा श्रीमतीकै भनाइमा ।

म २१ वर्षको भएँ । विवाह गरेको पाँच वर्ष भयो । मेरो श्रीमान् गाडी चलाउँछन् तर काम नियमित छैन । मन लागेका बेला चलाउँछन् हैन भने यत्तिकै डुली हिँड्छन् । विवाह गर्दा म कक्षा ७ मा मात्रै पढ्थेँ । मेरो साथीमार्फत उनलाई चिनेँ । पहिले हाम्रो कुराकानी फोनमा मात्रै हुन्थ्यो । बुबाको फोनबाट लुकेर एकदिन दुईदिन गरेर कुरा गर्दागर्दै म उनीसँग नजिक भएँ । शारीरिक सम्पर्क पनि भयो । त्यसपछि त विवाह गर्नुपर्छ भन्ने लाग्यो मलाई । बुबाआमाले मान्नुभएको थिएन । त्यति सानै उमेरमा कसको बाउआमा पो विवाह गरिदिन मान्छन् र ?

मलाई चाहिँ सबै कुरा (शारीरिक सम्पर्क) भएपछि के घर फर्किनु जस्तो लाग्यो । एकपटक बिहे गर्नैपर्छ भन्ने पनि लाग्यो । म उनीसँग भागेर बिहे गर्न तयार भएँ ।

बिहे गरेपछि रै’छ केटामान्छेको बानी व्यवहार थाहा हुने । कहिल्यै महिनावारी भन्न पाइनँ । मलाई मात्रै पो यस्तो भएको हो कि ? हाम्रो चार वर्षकी छोरी छ । अहिले फेरि गर्भमा पनि सात महिनाको बच्चा छ । तर, मैले कुटाइ र श्रीमान्‌को ज्यादती सहेर बस्नुपरेको छ । अहिले गर्भवती पनि भन्न पाएकी छैनँ ।

श्रीमान्‌ले चाहेको र खोजेको जसरी शारीरिक सम्पर्क गर्न मानिनँ भनेँ सधैँ कुटाइ खान तयार हुनुपर्छ । दिनमा एकपटक मात्रै सम्बन्ध राखे त बरु चुपचाप सहन्थेँ होला । तर, उनले मलाई कहिल्यै माया गरेनन् । न त दया नै राख्छन् । छोरी पेटमा हुँदा पनि उनलाई सुत्नै पर्थ्यो । दिनमा चारपटकसम्म तयार भइदिन पर्ने । माथिबाट भएन भने मलद्वारबाट पनि गर्ने । सहन नसकेर गाह्रो भयो भनेपछि उल्टै कुट्ने । त्यति मात्रै कहाँ हो र ? तैँले नदिए बाहिर अरूकहाँ जान्छु भनेर थर्काउने ।

साह्रै गाह्रो भएपछि छोरी सानै हुँदा नफर्किने निर्णय गरेर माइत गएँ । बाबुआमाले पनि ‘त्यहाँ मार्न छोरी पठाएको होइनौँ । आफ्नो छोरी स्वीकार गर्छौँ, पाल्छौँ, त्यहाँ नबस’ भन्नुभयो ।

एक/दुई महिना माइत बसेको थिएँ, श्रीमान् माइती नै पुगे । माया गर्छु भनेर फकाए । लोग्ने हो, मन पलायो होला भन्ठानेँ अनि उनीसँगै आएँ । बाबुआमाले त ‘नजा त्यसले मार्छ’ भन्नुभएको थियो । ‘लोग्ने त हो’ भनेर, बुबाआमाले भनेको नमानेर आएँ । यसैले ऐलेसम्म बुबाआमा राम्रोसँग बोल्नुहुन्न ।

म चाहिँ जसको लागि आएँ उसले चाहिँ मलाई सधैँ कुट्छ । अहिले पनि उस्तै छ । मन लागेको दिन घर आउँछन् । अरू बेला कहाँ जान्छन् थाहा छैन । अहिले मेरो पेटमा सात महिनाको बच्चा छ । तर, उनलाई सुत्नै (शारीरिक सम्पर्क राख्नै) पर्छ । घरमा बसेको दिन त रक्सी खाने अनि दिउँसै पनि सुत्न खोज्ने ।

भदौ ९ गते ९२०७९० कृष्ण जन्माष्टमीको दिन थियो । छोरी बिरामी थिई । तीन दिनदेखि लगातार ज्वरो घटेको थिएन । श्रीमान् तीन दिनदेखि घरमा थिएनन् । धान गोड्ने चटारो पनि थियो त्यो बेला । म गर्भवती भएको दुई महिना लागेको थियो । खेतबालीको बेला आराम लिने कुरा आएन । छोरीलाई ज्वरो नघटेपछि स्वास्थ्य चौकी लगेर घर फर्किएँ । अनि छिमेकीलाई औषधि खुवाइदिन अनुरोध गरेर खेतमा गएँ ।

श्रीमान् तेस्रो दिन बेलुका घर आइपुगे । मन लागेको बेला गाडी चलाउन जाने र हप्तौँसम्म घरबाहिर रहने भएकोले उनको आउजाउको खासै मतलब लाग्दैन । त्यो दिन सासू घरमा हुनुहुन्नथ्यो । नन्द चाहिँ घरै हुनुहुन्थ्यो । हामी सासू, नन्द र हाम्रो परिवार एउटै घरमा बस्छौँ ।

बेलुका घर फर्किएर भातभान्छा गरी खाना खाएर घरधन्दा सकिसकेकी थिएँ । छोरी दिउँसैदेखि सुतेकी थिई । गाह्रो भएर होला रोइरहेकी पनि थिई । दुध चुस्न मागेर रोएको रोयै गरिरा’थी । म छोरीलाई औषधि खुवाएर उतिरै फर्केर पल्टेको थिएँ । श्रीमान् आएर कोट्याए । आफूतिर फर्की भने । मैले ‘पख छोरी सुतोस्’ भनेँ । एकछिन रोकिए । तर, छोरी बिरामी भएकोले रोएको रोयै थिई । दुध चुस्न छोडेको नै थिइन । म श्रीमान्‌तिर फर्किन पाइनँ ।

म चाहिँ पेटमा दुई महिनाको बच्चा पनि लिएर बसेको छु । श्रीमान्‌ले सुत्न नपाएपछि ‘रण्डी दिनभर कसलाई दिइस्, मलाई के दिन्थिस् ?’ भने । ‘मेरो जिन्दगी कुफुत गराइदिइस्’ भने ।

यस्तै कारणले पहिले पनि कुट्ने भएकोले मैले त्यो दिन श्रीमान्‌को बोली रेकर्ड गरिरहेको थिएँ । शारीरिक सम्पर्क गर्न नपाएको झोँकमा मलाई घाँटी अठ्याए । नन्द घरमै थिइन् । उनले पनि उल्टै ‘मेरो दाइसँग झगडा गर्ने ?’ भनेर मलाई गाली गरिन् । श्रीमान्‌ले मलाई लछारपछार गरे । मैले पनि हल्लाखल्ला गरेँ । अनि उनले मलाई लछारपछार गर्न छोडे ।

कुटपिट र जबरजस्ती त श्रीमान् घरमा भएको हरेक दिनै जस्तो हुन्छ । मैले अहिलेसम्म श्रीमान्‌ले जबरजस्ती शारीरिक सम्पर्क राख्न भन्यो भनेर पुलिसमा उजुरी गरेको छैनँ । बरु छोरी मात्रै छे । छोरा जन्मियो भने अन्ततिर लाग्दैनन् अनि मलाई पनि कुटपिट गर्दैनन् कि भन्ने आशा राखेर फेरि गर्भ राख्न तयार भएँ । तर, कुटपिट रोकिएन ।

कुटपिट गरेको भनेर अहिलेसम्म तीनपटक प्रहरी चौकी गएँ । गएको भदौको ९ गतेको कुटपिटपछि १० गते माडी प्रहरीकहाँ गएको थिएँ । प्रहरीकै रोहवरमा पुलिसमा मिलापत्र पनि भएको छ । श्रीमान्‌कै घरमा बसे पनि साह्रै कुटपिट गर्ने भएकोले पेटमा भएको बच्चा, छोरी र मलाई गरेर तीन भाग अंश हामीलाई दिने र श्रीमान्‌ले एक भाग लिने सहमति भएको हो । माडी–३ का वडाध्यक्ष पुरन महतो नै बसेर सहमति गराइदिनुभएको हो । तर, अहिलेसम्म जमिन पास गरिदिएका छैनन् । गरिदेलान् भन्ने आशामा नै उनैको घरमा बसिरा’को छु ।

पत्रकार प्रतिमा सिलवालले गर्नुभएको कुराकानीमा आधारित ।

याे पनि पढ्नुहाेला