Home Stories अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी

अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी

487
0

आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर पाउन थाल्नुभयो । उहाँले गीत गाएको कुरा परिवारलाई भने मन परेको थिएन । गाउँघरमा गीत गाएर हिँड्नेहरूका बारेमा नकारात्मक टिप्पणी गरिन्थ्यो । उहाँले परिवारको गाली खाएरै भए पनि गीत गाउन छोड्नुभएन । बिस्तारै गाउँघरबाट जिल्ला बाहिरका मेला–महोत्सवमा समेत गएर दोहोरी गाउन थाल्नुभयो । गीत गाएरै टेलिभिजनमा देखिने रहरले उहाँ राजधानी पनि छिर्नुभयो ।

राजधानीमा उहाँको गायनयात्रा ‘दोहोरी साँझ’ बाट सुरु भयो । दोहोरी साँझमा हुने दुःखसुख, श्रमशोषण र हिंसाहरू देख्दै जानुभयो । मनोरञ्जन क्षेत्र भनिने दोहोरी साँझ जस्ता कर्मक्षेत्र र पेसामा महिलामाथि हुने हिंसा, दुव्र्यवहार, विभेद, श्रमशोषणका विरुद्ध उहाँले आवाज उठाउन पनि थाल्नुभयो । अहिले उहाँ महिलाको निम्ति महिला मञ्च नेपाल नामक संस्थाको कार्यकारी अध्यक्ष हुनुहुन्छ । २०६४ सालदेखि यसोदा यस संस्थामा आबद्ध हुनुहुन्छ । उहाँसँग ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले हालै भेटेर कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, यसोदा केसीको अभिव्यक्तिमा आधारित जीवन सङ्घर्ष, भोगाइ र मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरूको अवस्था झल्काउने सामग्री :

बाल्यकाल र शिक्षा

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० डाँडाखुटीमा २०३७ सालमा मेरो जन्म भयो । गाउँघर, त्यसमा पनि त्यो बेलाको समयमा छोरीलाई पढाउन हुन्न भन्ने मान्यता थियो तर मलाई भने पढ्नमा रुचि । हाम्रो दुई दाजुभाइ र पाँच दिदीबहिनीमा म माइली छोरी हुँ ।

हामी सामान्य किसान परिवारमा हुर्कियौँ । वर्षभरि काम गर्दा पनि खान पुग्नै गाह्रो पर्थ्यो । पाँच वर्षको उमेरमा बुबाले मलाई पनि दाइसँगै विद्यालय पठाउनुभयो । तर अरू दिदीबहिनीले पढ्न पाएनन् । बुबालाई गाउँका मानिसहरूले छोरी पढाएर काम छैन भन्थे । तर पनि बुबाले कसैको कुरा सुन्नुभएन । केही समय पढेँ तर विद्यालय टाढा भएकाले मैले विद्यालय जान छाडेँ ।

गाउँमा एकजना हजुरआमा हुनुहुन्थ्यो, महिनावारी भएकाहरूले छोएपछि उहाँ काँप्नुहुन्छ भन्थे । संयोगवश एकजना फुपूले मलाई हजुरआमालाई खाना खुवाउने जिम्मा दिनुभयो । थालमा खाना हालेर लगिदिएँ । हजुरआमाले खानुभयो तर काँप्नुभएन । त्यो भएपछि महिनावारी हुँदा यसो गर्न हुन्छ वा यसो गर्न हुँदैन भन्ने व्यर्थका कुरा रहेछन् भन्ने लाग्यो

विद्यालय जान छोडेपछि गोठालो जाने र घरको अन्य काममा सघाउँथेँ । पछि फेरि चार कक्षामा नाम लेखाएँ र पढ्न थालेँ । चार कक्षाको परीक्षामा म पहिलो भएँ । त्यसो भएपछि मैले राम्रो पढ्छु भन्ने भयो । यसलाई पढाउनुपर्छ भन्ने आमाबुबालाई पनि लागेछ । मैले पाँच कक्षा पनि पढ्न पाएँ । विद्यालय टाढा थियो । त्यहाँ पुग्न घरबाट एक घण्टाको बाटो लाग्थ्यो । त्यहाँ पाँच कक्षासम्म मात्र थियो ।

पाँच कक्षापछि फेरि विद्यालय परिवर्तन गर्नुपर्ने भयो । त्यहाँ पनि विद्यालय नै टाढा थियो । बाटामा ठुला ठुला खोलाहरू तरेर जानुपर्थ्यो । किताबकापी बोक्न झोला पनि थिएन । कहिलेकाहीँ बर्खामासमा कापी, किताबसँगै मान्छेलाई ’नि खोलाले बगाउँथ्यो । डरमर्दो अवस्था थियो ।

महिनावारी भएको कसैलाई भनिनँ

पहिलो पटक महिनावारी हुँदा घरभन्दा छुट्टै गोठहरूमा लुकाउने चलन थियो । कक्षा सातमा पढ्दै गर्दा पहिलो पटक मेरो महिनावारी भयो । एक्लै गोठमा सुत्नुपर्ने डरले महिनावारी भएको कुरा भनौँ कि नभनौँ भयो । मैले भनिनँ । त्यही दिन मेरो मिल्ने साथीको बिहे थियो । त्यतिबेला सेनेटरी प्याड हुँदैन थियो । आमाको धोती च्यातेर प्याडको रूपमा प्रयोग गरेँ र बिहेमा गएँ । बिहे घरमा त्यहाँका सबै काम गरेँ ।

बिहेमा रोचक त के भयो भने, गाउँमा एकजना हजुरआमा हुनुहुन्थ्यो, महिनावारी भएकाहरूले छोएपछि उहाँ काँप्नुहुन्छ भन्थे । संयोगवश एकजना फुपूले मलाई हजुरआमालाई खाना खुवाउने जिम्मा दिनुभयो । थालमा खाना हालेर लगिदिएँ । हजुरआमाले खानुभयो तर काँप्नुभएन । त्यो भएपछि महिनावारी हुँदा यसो गर्न हुन्छ वा यसो गर्न हुँदैन भन्ने व्यर्थका कुरा रहेछन् भन्ने लाग्यो र झन् आत्मबल बढ्यो । त्यसपछि त झन् महिनावारी भएको कुरा अरूलाई किन भन्नु र भन्ने लागेर कसैलाई भनिनँ । बाहिर सरेको कुरा अरूलाई भन्नुपर्छ नै भन्ने लागेन । गाउँमा आफूसँगका सबै साथीहरू महिनावारी भए । परिवारको नजरमा म मात्र बाँकी भएँ । त्यसपछि मलाई पनि शङ्का गर्न थाले । त्यसपछि बल्ल पहिल्यै महिनावारी भइसकेको कुरा सुनाएँ ।

गायिका बन्ने चाहना

सानैदेखि गीत गाउँथेँ । त्यही भएर ‘गायिका नै बन्छु’ भन्थेँ । घरमा दाइहरूले ‘कोमल वली नै बन्छेस् होला नि’ भनेर गाली गर्थे । दाङकै कोमल वलीका गीतहरूको त्यो बेला बढी चर्चा हुन्थ्यो । २०५६/५७ सालतिर गाउँघरका मेला–महोत्सवमा गाउन जान्थेँ । परिवारमा कसैलाई पनि मैले गाएको मन पर्दैन थियो । गाउन नजानु भन्दाभन्दै पनि म गाउन जान्थेँ । कति ठाउँमा भागेर पनि गएँ । पोखरा, चितवन, महेन्द्रनगर, काठमाडौँसम्म पनि पुगेँ । हाम्रो टिम थियो । हामीलाई गीत गाउन सबै सिकाउने प्रेमप्रकाश मल्ल हुनुहुन्थ्यो । म उहाँलाई दाइ भन्थेँ । मसँग गाउँकी गीता रेउले पनि थिइन् । हामी तीन जनाको टीम थियो । जति टाढा भए पनि जाने बेलामा घरबाट भागेर जान्थेँ । मसँग पैसा पनि हुँदैनथ्यो ।

काठमाडौँ आएको केही समयपछि म घर गएँ । पैसा र कपडा पनि लगेको थिएँ । सबै जना खुसी हुनुभयो । पहिले गाउन हिँड्दा बिग्रिन्छे भन्नेले पनि टेलिभिजनमा गीत गाएको देखेपछि ‘गायिका बनिछ’ भन्न थालेछन् ।

सडक नाटकमा २०५५/५६ सालतिर वनजङ्गललाई बचाउनुपर्छ भन्ने सन्देशमूलक नाटक गरेका थियौँ । दाङ जिल्लाका धेरै ठाउँमा सडक नाटकहरू देखाएका थियौँ । पछि ‘आँखीझ्याल’ भन्ने भिडियो कार्यक्रमबाट पनि हाम्रो नाटक प्रसारण भयो । छोरी बाहिर गाउन हिँडेकाले घरमा छुट्टै पिरलो ! गाउँका मानिसहरूले ‘तेरो छोरी गाउने, हिँड्ने, दुनियाँ डुल्ने भई, कसको पेट बोकेर आउँछे’ सम्म भन्न थालेछन् । केटाहरू हेर्न भनी आउँथे तर मलाई बिहे गर्न मन थिएन । मलाई त गायिका बन्ने र काठमाडौँ कसरी जाने होला भन्ने मात्र थियो ।

पोखरामा २०५९ वैशाखमा नगरपालिकास्तरीय प्रतियोगिता थियो । तुलसीपुर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै दुई टीम बनाएर पोखरा गयौँ । एउटै टिमको लिड गरेर गीता रेउलेले गाउने भनेर गएका थियौँ तर उनले टिम छुटाएर ‘तैँले लिड गरेर गाए गा नगाए नगा’ भन्न थालिन् । एक हिसाबले भन्दा उनले त्यसरी हामीलाई धोका दिइन् । मैले पनि गाउँछु भनेर गएपछि गाउनु त पर्‍यो । जसरी पनि आफैँले नेतृत्व गरेँ । दुई राउन्ड मैले जितेर क्वाटर फाइनलमा जाँदा राजु परियारसँग पनि राम्रै गाएँ । राम्रो गाएको भन्दै चन्द्र शर्मा र सृजना विरहीले ‘राम्रो गाउँछौ, हिँड काठमाडौँ’ भन्नुभयो । म उहाँहरूलाई क्रमशः दाइ र दिदी भन्छु । त्यो मेरो लागि अवसर हो भन्ने लाग्यो र म जाने त भएँ तर आफूसँग पैसा थिएन । काठमाडौँ जानलाई टिमसँग बिदा मागेँ । ‘तपाईं घर गएपछि मेरो घरमा काठमाडौँ गाउन गएको’ भनी खबर पुर्‍याइदिन भनेँ । म काठमाडौँ जाने भनेपछि चन्द्र दाइले ‘काठमाडौँमा कसरी बस्छौ ? कोसँग बस्छौ ? कसैको फन्दामा पर्‍यौ भने के गर्छौ ?’ पनि भन्नुभयो तर मैले जिद्दी गरेर ‘दिदीसँगै बस्छु’ भनेर गएँ ।

जिद्दी गरेर सिर्जना विरही दिदीसँगै काठमाडौँ आएँ । २३ दिनसम्म उहाँसँगै बसेँ । उहाँले लानुभएको ठाउँमा गीत गाउन जान्थेँ । धेरै दोहोरी साँझहरूमा गाउन गएँ । सुरुमा दरबारमार्गमा रहेको एउटा दोहोरी साँझमा गएको थिएँ । काठमाडौँ आएर गाउनका लागि पहिलो पाइला टेकेको ठाउँ हो त्यो । मलाई तलब दिँदैनथे । टिप्स दिन्थे । टिप्स पनि पूरै मैले पाउँदिन थिएँ । २३ दिनमा दुई हजार चारसय जम्मा गरेको थिएँ ।

पछि माने भञ्ज्याङ भन्ने दोहोरी साँझमा काम पाएँ । महिनाको ४५ सय तलब दियो । त्यसपछि केही पैसा सरसापट गर्दै सामानहरू जम्मा गरेर छुट्टै कोठा लिएर सरेँ । एउटा खाट थियो । सबै सामान खाटमुनि राख्थेँ । त्यसो गर्दा कोठामा खाट मात्र देखिन्थ्यो । पछि भोजपुरको एकजना दीपा राई भन्ने दिदीसँग चिनजान भयो । उहाँ पनि गायिका हो । उहाँको पनि कोठामा समस्या रहेछ । त्यसपछि हामी सँगै बस्न थाल्याैँ ।

टेलिभिजनमा गीत बज्दा

केही समय काम गरेपछि दोहोरीहरू अलि चल्न छाडे । अरू कार्यक्रमका निमन्त्रणा भने आउन थालेका थिए । ठुलाठुला कार्यक्रमका लागि पोखरा, जनकपुर जान्थेँ । राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा पनि पहिलो, दोस्रो र तेस्रो हुन थालेँ । त्यसपछि नेपाल टेलिभिजनमा गीत गाउन गएँ । टेलिभिजनबाट पनि मेरो गीत बज्न थाल्यो । टेलिभिजनमा देखिन थालेको खबर पठाउँथेँ । अहिले जस्तो मोबाइल थिएन । मेरो काठमाडौँको दुःख सङ्घर्षबारे बुबाआमा अनभिज्ञ हुनुहुन्थ्यो ।

काठमाडौँ आएको केही समयपछि म घर गएँ । पैसा र कपडा पनि लगेको थिएँ । सबै जना खुसी हुनुभयो । पहिले गाउन हिँड्दा बिग्रिन्छे भन्नेले पनि टेलिभिजनमा गीत गाएको देखेपछि ‘गायिका बनिछ’ भन्न थालेछन् । त्यतिबेला हाम्रो घरमा टेलिभिजन थिएन । टेलिभिजन भएका छिमेकीले बुबाआमालाई ‘हेर्न आउ’ भनेर बोलाउँदा रहेछन् । सुरुसुरुमा गीत गाएको भनेर नराम्रो मान्ने मेरो परिवारले पनि मलाई राम्रो मान्न थाल्यो । सबैले माया गर्न थाले ।

सङ्घसंस्थाको साथ सहयोग पाएपछि ममा पनि आत्मबल बढ्यो । यसबाट निस्केर म जस्ता महिलाहरूलाई पनि हिंसामुक्त बनाउनुपर्छ भन्ने सोचले संस्थाको काममा लागि परेँ ।

मैले २०५८ सालमा रीमा रेकर्डिङ स्टुडियोबाट आफ्नै स्वरमा पहिलो एल्बम निकालेको थिएँ । गीत रेकर्डिङको बेलामा जुनसुकै ठाउँमा अगाडि बढ्न पनि कला प्रतिभाभन्दा साथ र सहयोगको बढी आवश्यकता पर्दाे रहेछ भन्ने मलाई महसुस भयो । एल्बम निस्कियो तर स्टुडियोहरूले बजारीकरण नगरिदिने अवस्था रहेछ । अनि केही त कलाकारहरूले नै दबाउन खोजेको हो कि जस्तो पनि लाग्यो । त्यसपछि मैले कला क्षेत्रमा आफूमाथि श्रम शोषणका साथै धेरै प्रकारका शोषण भइरहेको महसुस गरेँ ।

रातिको कामले बिरामी

दोहोरी साँझमा रातिसम्म काम गर्नुपर्थ्यो । समयमा खाने सुत्ने समयको टुङ्गो हुँदैनथ्यो । भोक र निद्राकै कारण होला, अनुहारभरि डण्डिफोर आएर दाग नै दाग बस्यो । मलाई ग्यास्ट्रिक मात्र भएन, मुटुमा समस्या देखिएर एक वर्षसम्म मैले मुटुरोगको औषधी समेत खानुपर्‍यो । निद्रा नलाग्ने, मन आत्तिने, बरबराउने जस्ता समस्या पनि देखियो । यस्तो भएपछि गायनको काम छोडेर मैले आफ्नो उपचारलाई प्राथमिकतामा राखेँ । गायनमा पहिलाकै जस्तो सक्रिय हुन सकिनँ । त्यही समयमा एकजना चिनेको मान्छेमार्फत भेट भएको व्यक्तिसँग २०६२ सालमा विवाह गरेँ ।

सृजना पुनसँगको भेट

सृजना पुन दाङकै भएकाले उहाँसँग चिनजान थियो । उहाँलाई पनि म दिदी भन्छु । उहाँहरूको छहारी भन्ने संस्था रहेछ, जुन ओरेक नेपालमार्फत चल्थ्यो । अहिले भएको महिलाको निम्ति महिला मञ्चको नाम त्यो बेला छहारी थियो । त्यो संस्थामा म पनि जानेआउने गर्न थालेँ । यो संस्थाले दोहोरी साँझ, डान्सबार, खाजाघर र पार्लर जस्ता मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला तथा किशोरीहरूका लागि काम गर्छ ।

संस्थामा गएपछि मेरा साथीहरू भए । बिस्तारै यस्तै क्षेत्रमा काम गर्ने महिलाहरूलाई सदस्य बनाउने, संस्थाको बारेमा जानकारी दिने, कार्यस्थलहरूमा गएर आफूमार्फत साथीहरू बनाउने गरियो । आफूमाथि हुने श्रम शोषण, यौन शोषण, हिंसाहरू जस्ता कुराबारे थाहा भयो । हिंसा भनेको के हो ? श्रम शोषण भनेको के हो ? भन्ने कुरालाई बुझाउँछौँ । म अहिले संस्थाको अध्यक्ष भएको छु । संस्थाबाट आफू कसरी सुरक्षित हुनेबारे पनि तालिमहरू दिन्थ्यौँ । मैले ब्युटिपार्लर तालिम पनि त्यहीँबाट सिकेको थिएँ । पछि संस्थाले दुई लाख रुपियाँ अनुदान दिएपछि ब्युटीपार्लर पनि खोलेँ । त्यसपछि दिनभरी पार्लरमा काम गर्थें । राति १२ बजेसम्म दोहोरीमा काम गर्थें । पाँच लाख सेयर लगाएर दोहोरी साँझ खोलेँ तर राम्रो नचलेपछि छोड्नुपर्‍यो ।

काठमाडौँकै मनोरञ्जन क्षेत्रहरू महिलाका लागि जोखिमपूर्ण छन् । ग्राहकहरूबाट धेरै हिंसा भइरहेको हुन्छ । रक्सी जाँड खाएर संवेदनशील अङ्गमा छुने, अश्लील शब्दहरू बोल्ने जस्ता कार्य हुने गरेको पाइएको छ ।

सृजना दिदीमार्फत नै संस्थामा जोडिन पाएँ । सङ्घसंस्थाको साथ सहयोग पाएपछि ममा पनि आत्मबल बढ्यो । यसबाट निस्केर म जस्ता महिलाहरूलाई पनि हिंसामुक्त बनाउनुपर्छ भन्ने सोचले संस्थाको काममा लागि परेँ । काम गर्ने वातावरण पनि रमाइलो लाग्न थाल्यो । संस्थाको सदस्यता लिएँ । कार्यसमितिमा बसेर पनि काम गर्न थालेँ । उपाध्यक्ष पनि भएँ । त्यसपछि अध्यक्ष भएँ र अहिले अध्यक्ष नै भएर दोस्रो कार्यकालमा काम गरिरहेको छु ।

मनोरञ्जन क्षेत्रमा हुने हिंसा

संस्थामा म अध्यक्ष भएपछि थुप्रै कामहरू भइरहेका छन् । महिलाको निम्ति महिला मञ्च नेपाल पहिले काठमाडौँमा मात्र थियो । अहिले इटहरी, चितवन, बुटवल र पोखरामा पनि गठन गरिएको छ । जिल्लाहरूले पनि कार्यक्षेत्रमै खटिएर काम गरिरहेका छन् । धेरै महिलाहरूले आफूमाथि भएका, हिंसा र शोषणलाई कसरी न्यूनीकरण गर्ने, कसरी हामी सङ्गठित हुने, किन सङ्गठित हुने भन्ने जस्ता कुरा थाहा पाउनुभएको छ । हिंसा र शोषणका घटना काठमाडौँ बाहिरभन्दा केन्द्रमा नै बढी हुने गरेको पाइन्छ ।

काठमाडौँकै मनोरञ्जन क्षेत्रहरू महिलाका लागि जोखिमपूर्ण छन् । ग्राहकहरूबाट धेरै हिंसा भइरहेको हुन्छ । रक्सी जाँड खाएर संवेदनशील अङ्गमा छुने, अश्लील शब्दहरू बोल्ने जस्ता कार्य हुने गरेको पाइएको छ । आर्थिक रूपमा पनि शोषण हुन्छ । काम गरेपछि समयमा तलब नपाउने, कुनै दिन गएन भने पैसा कटाउने, कागजमा कुनै किसिमको सम्झौताहरू नगर्ने जस्ता थुप्रै कुराहरू छन् । मनोरञ्जन क्षेत्रलाई सिस्टममा ल्याइएको छैन ।

मनोरञ्जनका क्षेत्रमा काम गर्ने भनेर खुलेका सङ्घसंस्थाहरू थुप्रै छन् तर यो संस्था चाहिँ त्यही क्षेत्रमै काम गरेका महिलाहरूले खोलेको संस्था हो । यही भएकाले हामी सबैले यो क्षेत्र र यस क्षेत्रमा काम गर्ने मुद्दा बुझेका छौँ ।

यो पनि पढ्नुहोला

सन्धान प्रकाशन मिति : २०८० जेष्ठ २६ गते, शुक्रवार


Previous articleम बाबु, म आमा
Next articleकर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच