आफ्नो अधिकारका साथै अरू महिलाहरूको अधिकारका लागि काम गर्ने र बोल्ने महिलाहरूको संस्था हो, ‘महिला मानवअधिकार रक्षक सञ्जाल’ । यसको राष्ट्रिय सन्जालका साथै सबै जिल्लाहरूमा महिला मानवअधिकार जिल्ला सञ्जालहरू छन् । महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष हुनुहुन्छ, श्याम साह ।
सिराहा जिल्लामा घर भएकी साह आफू छोरी भएकै कारण सानैदेखि घरमा परिवारले गरेको विभेदविरुद्ध उहाँले बोल्दै आउनुभयो । घरमा दाजु, काका, बुबाहरूले काम नगरे पनि हुन्थ्यो तर उहाँले ६/७ वर्षकै उमेरदेखि घरको सबै काम गर्नैपर्ने हुन्थ्यो । छोरी भएकै कारण पटक पटक उहाँलाई पढाइ छोड्न भनियो, ट्युसन पढ्न जान पनि दिइएन । पढ्न नदिने भनेर किताबहरू बाकसभित्र लुकाइन्थ्यो । बाल्यकालका यस्ता कैयौँ तीता भोगाइहरू अहिले पनि उहाँले बिर्सिन सक्नुभएको छैन । मनमा लागेको कुरा बोलिहाल्ने स्वभाव भएकी उहाँले ‘म पढ्छु’ भन्दै विद्यालय जान भने छोड्नुभएन । १३ वर्षमा उहाँको बिहे गरिदिने भनेर परिवारले निर्णय गरेको थियो । ‘किन अहिले नै बिहे गर्दिन लागेको ?’ भनेर उहाँले विरोधस्वरूप प्रश्न गरेपछि बिहे रोकियो । यस्ता थुप्रै नमिठा अनुभवहरू उहाँसँग छन् । साहले आफूलाई जस्तै अरूलाई पनि विभेद हुने गरेको देख्नुभयो । आफूले जसरी सबैले बोल्न नसकेको देखेपछि विभेदविरुद्ध मुख खोल्नुपर्छ भनेर उहाँ अधिकारकर्मी हुन पुग्नुभयो । यो २५ वर्ष अगाडिको कुरा हो । त्यसबेला हुने विभेद अहिले छ कि छैन त भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “छोरीलाई पनि पढाउनुपर्छ भन्ने सोचमा परिवर्तन आयो तर त्यसबाहेक सबै उस्तै छ, बरु विभेदका स्वरूपहरू बढ्दो छ ।” उहाँका अनुसार, यो समाजले महिलालाई अझै मानव ठान्दैन ।
श्याम साहसँग हामीले उहाँको व्यक्तिगत जीवन भोगाइ, कामको अनुभवका साथै महिला मानवअधिकार रक्षकहरूले भोग्नुपरेका समस्या र चुनौतीलगायत विषयमा कुराकानी गरेका छौँ । उहाँसँग महिलामाथि हुने हिंसा र विभेदको अन्त्यका लागि गर्नुपर्ने उपायका बारेमा पनि कुराकानी गरेका छौँ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :
भिडियो हेर्नुहोला