Home Stories मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

685
0

सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको सचिवालय संस्था मानिएको ‘राष्ट्रिय महिला अधिकार मञ्च नेपाल’ मा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

सकिनाको स्थायी घर बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ कालिकापुर हो । २०४४ सालमा जन्मिएकी सकिना पहाडिया दलित समुदायकी छोरी हुुनुहुन्छ भने १७ वर्षको उमेरदेखि मुस्लिम समुदायकी बुहारी पनि हुनुहुन्छ । उहाँले दलित र मुस्लिम दुबै समुदायलाई भित्रैबाट बुझ्ने मौका पाउनुभएको छ । समाजमा पीडित÷प्रभावित महिलाको न्यायका लागि दिलोज्यान दिएर लाग्दै आउनुभएको पनि छ ।

सकिना पुसको दोस्रो सातादेखि काठमाडौंको माइतीघर मण्डलमा भइरहेको धर्ना कार्यक्रममा पनि संलग्न हुनुहुन्छ । बाँकेकी निर्मला कुर्मीको हत्या भएपछि कुर्मीको न्यायका लागि सो धर्ना दिइएको हो । कुर्मीको न्यायका लागि आन्दोलनरत रुबी खान नेतृत्वको टोलीकी एकजना सक्रिय सदस्य पनि हुनुहुन्छ, सकिना । पीडित महिलाहरूको लागि समुदाय तहमा पुगेर काम गर्ने, परिआएमा राजधानीमै ज्यानको बाजी थापेर अनसनमा बस्ने, प्रहरी प्रशासनसँग भिड्नेसम्मको आँट सकिनामा देखिन्छ । यसैले उहाँसँग व्यक्तिगत सङ्घर्ष र महिलाको अधिकार तथा न्यायका लागि काम गर्दा आइपर्ने चुनौतीलगायतका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले हालै गरेको कुराकानीमा आधारित सकिना तेलीको जीवनभोगाइ, चुनौती र अनुभवका कुरा उहाँकै शब्दमा :

फरक बाल्यकाल

हामी सानै हुँदा मेरो आमाले हामीलाई छोडेर अर्काे बिहे गरेर जानुभयो । हामी तीन दिदीबहिनीमा म जेठी छोरी हुँ । बुबाले धवल शम्शेर राणा (हाल राप्रपाका प्रवक्ता) को घरमा मिल चलाउने काम गर्नु हुन्थ्यो । हाम्रो जीविकोपार्जनको बाटो त्यही थियो । म साढे सात वर्षको थिएँ । धवल शम्शेरका बुबाले मलाई मेरो बुबासँग ‘तेरो छोरी हाम्रो घरमा बस्छे, यहीँ पढ्छे’ भनेपछि म पनि त्यहीँ बसेर काम गर्दै पढ्न थालेँ । घरको सानोतिनो काममा सघाउने गर्थेँ ।

हामी दलित समुदायको भए पनि त्यो बेलामा पनि जातीय छुवाछुत भन्ने केही भएन । मलाई छुवाछुत र विभेद भएको महसुस भएन । घरमै बसेको भए पढ्न पनि पाइँदैनथ्यो । घरको आर्थिक अवस्था (बलियो) थिएन । काम गर्न बसेको भए पनि राम्रो परिवारमा बस्ने अवसर पाएकाले मैले पढ्न पाएँ ।

मेरो कान्छी बहिनी मेरो फुपूको घरमा बसेर पढ्न पाई । माइली बहिनी अमृता बाँकेकै गुप्ताल गाउँकी राधा खड्काले लगेर छोरीको बच्चा हेर्ने काममा लगाइदिनु भएको थियो । ती छोरी दिल्ली बस्थिन् । बहिनी सात वर्षको हुँदा नै दिल्ली लगेर गए । चार वर्षपछि उनीहरू नेपाल फर्किए । ‘तपाईंको छोरी उतैबाट कता भागेर गई’ भनेर बुबालाई भन्न आए । ‘हामीलाई केही पनि नभनी हराई’ भने । त्यसपछि बुबा दिल्लीमा उनीहरूले भनेको ठाउँमा खोज्न जानुभयो तर हराएकी बहिनी अहिलेसम्म भेटिएकी छैन ।

म धवल शम्शेरको घरमा १० वर्ष बसेँ । खजुरा गाउँपालिकाको शुक्र माध्यमिक विद्यालयबाट २०५८ सालमा मैले एसएलसी पास गरेँ । मलाई पढेर डाक्टर बन्ने इच्छा थियो, तर रहर भएर मात्र के गर्नु ? आर्थिक अवस्था थिएन । काम गर्न बसे पनि त्यो घरले मलाई धेरै अवसर दियो । अहिले म जहाँ छु, जे छु, त्यो श्रेय त्यही घरलाई जान्छ ।

मुस्लिमसँग बिहे, परिवारको विश्वास

मेरो बिहे २०६१ सालमा भयो । त्यति बेला म १७ वर्षकी थिएँ । मेरो श्रीमान् पनि धवल शम्शेर राणाको घरमा काम गर्न आउनु हुन्थ्यो । घरमा गर्नुपर्ने सबै काम गर्नु हुन्थ्यो । हाम्रो चिनजान त्यहीँ भयो, मायाप्रेम बस्यो अनि बिहे भयो । उहाँ मुस्लिम समुदायको हो, म पहाडी दलित । बिहे गरेर श्रीमान्‌को घर जाँदा सुरुसुरुमा धेरै गाह्रो भयो । भाषा पनि नबुझ्ने । कसैले केही ठुलो स्वरले बोल्यो भने पनि मलाई गाली गरेको हो कि जस्तो लाग्थ्यो । काम पनि धेरै गर्नुपर्थ्यो । घाममा काम गर्न सक्दिनथेँ । त्यही भएर म घाम लाग्यो भने रुन्थेँ । सानो (अलि होचो कदको) भएकाले खेत रोप्न जाँदा मेरो घाँटीसम्मको भाग हिलोमा डुब्थ्यो । सुरुमा दुःख भए पनि जात, धर्म नमिले पनि मेरो सासूससुराले मलाई धेरै सहयोग गर्नुभयो । म यहाँसम्म आउन पाउनुमा उहाँहरूको महत्त्वपूर्ण भूमिका छ । कामको दुःख भए पनि घरमा सबैको साथ पाएँ ।

मधेशी र मुस्लिम समुदायका महिलाहरूलाई घरबाट बाहिर पनि निस्कन दिँदैनन् । तर मलाई कुनै छेकबार भएन । अरू मुस्लिम महिलाहरूको जस्तो अवस्था मेरो भएन । अरू महिलालाई घरबाट ननिस्किनु भन्छन् । मेरो श्रीमान्‌ले मलाई आफू बचेर अरूलाई पनि बचाउने काम गर भनेर सुरुदेखि नै त्यही भन्नुभयो । आज निर्मला कुर्मीमाथि भएको अन्याय, भोलि हामी र हाम्रा छोरीचेली माथि पनि हुन सक्छ, अन्यायका विरुद्धमा लाग्नुपर्छ भनेर हौसला दिनुहुन्छ ।

मेरो सासूको नाम जइबुल निशा तेली हो । ७० वर्ष हुनुभयो । उहाँ आफू मुस्लिम समुदायको र गृहिणी भए पनि उहाँमा फरक खालको सोच थियो । (अहिले पनि छ ।) मैले गरेको काम र अभियानमा साथ दिनुहुन्छ । मैले जे गरे पनि ठिक गर्छु भन्ने विश्वास गर्नुहुन्छ । अहिले आन्दोलनकै लागि घर छोडेर काठमाडौँ आएको एक महिना दिन भैसक्यो । घर उहाँहरूले नै त सम्हाल्नु भएको छ । मेरा दुई छोरा र एक छोरी छिन् । अब त उनीहरू पनि ठुलो भए । मलाई मेरो परिवारको पूरा साथ छ ।

कामको खोजी

श्रीमान्‌को घरको अवस्था एकदमै नाजुक थियो । अरूकै घरमा बसे पनि बिहे हुुनुअघि मलाई त्यति दुःख थिएन । बिहेपछि श्रीमान्‌ले रिक्सा चलाउन थाल्नुभयो । म घरमै बस्थेँ । म १८ वर्षको हुँदा जेठो छोरा जन्मियो । आर्थिक अवस्था कमजोर भएका कारण काम पाए, गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यही बेला फिलमाया बिक भन्ने गाउँको एकजना आन्टीले प्रौढ कक्षा पढाउँछौ (?) भनेर सोध्नुभयो । काम खोजिरहेको मैले दायाँबायाँ नसोची ‘हुन्छ’ भनेँ । त्यति बेला मेरो छोरा दुई महिनाको मात्र थियो । पढाउनका लागि पहिला पाँच दिनको तालिम लिनुपर्ने थियो । म भर्खरको सुत्केरी भए पनि रातको ३ बजे उठेर खाना पकाउने लगायत घरको सबै काम सक्थेँ र ८ बजे नेपालगञ्ज पुगेर तालिममा सहभागी हुन्थेँ । तालिमपछि प्रौढ शिक्षा पढाउन थालेँ । जानकी गाउँपालिका वडा नम्बर २ वनकटुवामा फिल्ड हुन्थ्यो । दुई महिनादेखि छोडेको बच्चालाई सासूले गाईको दुध खुवाएर हेरचाह गर्नुभयो । मैले (प्रौढ शिक्षा) ९ महिना पढाएँ । त्यसपछि फेरि खाली भएँ । अब के गर्ने भन्ने भयो । बिचमा ज्यालामजदुरी पनि गर्थेँ ।

जागिर खोज्दा रुबीसँग भेट

एकदिन रामानन्द तमालीसँग भेट भयो । उहाँ समाजसेवी र अपाङ्ग संघ बाँकेको अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँसँग मैले आफूलाई काम चाहिएको कुरा भनेँ । उहाँले रुबी खानलाई फोन गरिदिन्छु, तिमी गएर उहाँलाई भेट्नु भन्नुभयो । म रुबी खानलाई भेट्न गएँ र आफ्नो कुरा भनेँ । जे काम पाए पनि गर्ने सोच थियो । रुबीजीले मलाई नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा सहजकर्ताका रूपमा काम गर्न भन्नुभयो । सन् २०१० को ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ मा मैले सहजकर्ताको काम सुरू गर्दा साढे सात सय रूपैयाँ तलब थियो । सहजकर्ता हुँदा समाजमा विशेष गरी महिलाहरूलाई पर्ने समस्या कसरी समाधान गर्ने भनेर काम गर्थेँ । आफ्नो नाम पनि लेख्न नजान्ने महिलाहरूलाई नाम लेख्नदेखि महिलाको अधिकार के के छ भनेर सिकाउथेँ । त्यो बेला सुरू गरेको कामले अहिले म यहाँ (माइतीघर) छु । म सन्तुष्ट छु ।

समुदायमा गलत विश्वास हट्दै

मुस्लिम समुदायमा छोरीका लागि धेरै बार र चुनौती छन् । मुस्लिम समुदायको बुहारी भएकै कारण धेरै कुरा बुझ्ने अवसर पाएँ । मुस्लिम महिलाहरू घर बाहिर निस्कन नमिल्ने, अधिकार जति सबै पुरुषमै निहित हुन्छ । घरमा अरू कोही पुरुष आएको बेला त्यो पुरुष नगएसम्म भित्रै बस्नुपर्ने चलन अझै छ । कहीँ गयो भने आफ्नो श्रीमान्लाई अघि लगाएर हिँड्नुपर्छ । परपुरुषलाई सीधा हेर्न हुँदैन भन्ने अन्धविश्वास थियो । अझै पनि त्यस्तो विश्वास कायम नै छ । केही हदसम्म कम हुँदैछ । यसमा केही हदसम्म म र म जस्तै अभियन्ताहरूको भूमिका छ भनेर खुसी लाग्छ । अहिले मुस्लिम महिलाहरू थोरै भए पनि बोल्न सक्ने भएका छन् । पहिलेका महिलाहरू पढ्नबाट वञ्चित थिए । पछिल्लो पिँढीमा भने मदरसा र अरू नै विद्यालयमा पनि पढाउने चलन सुरु भएको छ । छोरीहरूलाई सानैमा बिहे गरिदिने, मदरसामा जति पढ्यो, त्यसले पुग्छ भन्ने बुझाइमा केही कम हुँदैछ ।

पहिले मुस्लिम समुदाय धेरै कुरामा अन्धविश्वासमा थिए । स्वस्थ हुनका लागि बच्चाहरूलाई पोलियो थोपा खुवाउन एकदमै आवश्यक हुन्छ । तर, मुस्लिम समुदायले बच्चाहरूलाई पोलियो थोपा पनि खुवाउँदैन थिए । पोलियो थोपा खुवायो भने पछि सन्तान दिन सक्दैन भन्ने अन्धविश्वास थियो । तर अहिले यो कुरामा पनि परिवर्तन आएको छ । अन्य समुदायमा १६ वर्ष पुग्ने बित्तिकै छोरीलाई नागरिकता बनाइदिन्छन् तर मुस्लिम समुदायमा छोरीलाई नागरिकता बनाइदिँदैनन् । नागरिकता बनाइदियो भने माइतीको सम्पत्तिमा हक जमाउँछ भन्ने सोच हटिसकेको छैन । आमाबुबाले नागरिकता नबनाइदिँदा छोरीहरूलाई धेरै समस्या हुने गरेको छ । दाइजो वा सम्पत्ति धेरै दिन सकेन भने डिभोर्स (तलाख) दिने समस्या धेरै हुने थियो । महिला तथा छोरीमाथि धेरै प्रकारका हिंसाका स्वरूप देखेको छु । केही भोगेको पनि छु । विभिन्न बहानामा हुने महिला हिंसा अन्त्य गर्नु एकैपटक असम्भव छ तर पनि न्यूनीकरणका बाटाहरू छन् । परिवर्तनका संवाहकहरू पनि बिस्तारै बढ्दैछन् ।

भत्ता खान्छ भन्छन्

काम गर्ने क्रममा धेरैको धेरैथरि भनाइ खानुपर्छ । चेतनामूलक कार्यक्रम गर्दा सबैलाई बोलाइन्छ । तर, त्यस्तो कार्यक्रममा गयो, समूहमा बस्यो भने महिलाहरू बिग्रिन्छन्, नराम्रो कुरा सिकाउँछन् भन्छन् । त्यही भएर परिवारले आउन नदिएको भनेर दिदीबहिनीहरू भन्नुहुन्छ । यस्ता छलफलमा नआउने दिदीबहिनीको घरमै गएर उहाँको श्रीमान्, सासूससुरालाई नै सम्झाउने गर्थ्यौँ ।

मलाई पनि यस्तो काम गरेर तिमीले भत्ता खान्छौ, धेरै पैसा कमाउँछौ, हामीले के पाउँछौँ (?) भनेर सोध्छन् । के के कुरा सिकाएर छोरीबुहारी बिगारी पनि भन्छन् । तर, यस्ता कुरा हार नखाइ सुन्नुपर्छ । महिला दिदीबहिनी र उनीहरूका परिवारलाई सिकाउनुपथ्र्यो । धेरै पटक भनेपछि बल्ल महिलाहरूले कुराहरू सुन्न थाल्नुभयो । कतिपय ठाउँमा भनाइ खाए पनि राम्रो काम गर्‍यो भनेर आशिर्वाद दिनेहरू पनि छन् । बाँकेकै जानकी गाउँपालिका–४ की मुस्लिम समुदायकी ८५ वर्षकी एकजना आमालाई नागरिकता बनाउन सहयोग गरेँ । उहाँले नागरिकता पाएपछि वृद्धभत्ता पाउनुभयो । उहाँले सधैँ आशिर्वाद दिनुहुन्छ । कतिको परिवारलाई सम्झाइबुझाइ गरेर बच्चाबच्चीलाई पढ्न पठाउन लगाउछौँ । हामीले गरेको कामको रिजल्ट बुझ्न समय लाग्छ । विस्तारै भए पनि बुझेको देख्दा खुसी लाग्छ । काम गर्न झन् आँट र साहस बढ्छ ।

ज्यान मार्ने धम्की

हामीले काम गर्ने क्रममा जस्तोसुकै मुद्दाको उठान गरे पनि आफ्नो आत्मविश्वास र मनोबल गुम्न दिनु हुँदैन भन्ने आँट मनमा छ । जस्तोसुकै मुद्दा उठान गर्दा पनि सरोकारवाला निकायसँग समन्वय गर्नुपर्छ तर भर पर्नु हुँदैन भन्ने सिकाइ भएको छ । आगामी दिनमा यो काममा निरन्तर रहन चाहन्छु । दबिएर रहेको तथा दबाइएको आवाजलाई बुलन्द पार्नका लागि माध्यम बन्ने प्रयास जारी नै छ । कुनै पनि काम कसैका लागि पनि सजिलो हुँदैन । अप्ठ्याराहरू आउँछन् भन्ने मनमा राखेर चुनौती फेस गर्दै काम गर्ने गर्छु । अरू महिलाका मुद्दाहरू उठाउँदा कति ठाउँमा आफैँ असुरक्षित भएको महसुस हुन्छ । समाज र राज्यबाटै दबाब आउँछ । राजनीतिक दलको दबाब र हस्तक्षेप त्यत्तिकै हुन्छ ।

बाँके जिल्ला महिला अधिकार मञ्च, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र संस्था, शेर बागवान, रुबी खान तथा घरपरिवारका सबै सदस्यहरूको साथ सहयोगले गर्दा नै म पीडित महिलाको न्यायका लागि आवाज उठाउने ठाउँमा छु । अझै पनि महिलाका मुद्दालाई स्थानीयदेखि केन्द्रिय स्तरसम्म पुर्‍याउने र दबिएर रहेका आवाजलाई ठाउँसम्म पुर्‍याउने काम छोड्दिनँ । हाम्रो संस्थाको उद्देश्य पनि महिला तथा बालबालिकाको हकका लागि लडेर अघि बढ्ने हो । यो (हाम्रो) संस्थाको लक्ष्य हो ।

निर्मला कुर्मीकै केसमा हामी निरन्तर लागिरहेका छौँ । बाँकेदेखि काठमाडौँसम्म उहाँको न्यायका लागि हिँडेरै आयौँ । दबाबस्वरूप विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । त्यही कुरामा पनि घरमै आएर ‘तेरा छोराछोरीलाई नोक्सान पुर्‍याइ दिन्छौँ, पछि पछुताउनुभन्दा मिली हाल्नुहोस्’ भन्ने खालको धम्कीहरू पनि आयो । तर पनि म न्यायको लागि कहिले पनि ढग्मगाइनँ । बरू हामी सचेत भएर हिँड्छौँ । हामी अचेल एक्लै हिँड्दैनौँ ।

नडराई काम गरे पनि आफ्नो होइन, परिवार र छोराछोरीलाई केही गर्दिएला कि भन्ने चिन्ता हुने रहेछ । हामी जस्तो अभियन्ता मध्यरात, साँझ, बिहान जति बेला जहाँ पनि पुग्नुपर्छ । निर्मलाकै केस उठाइरहँदा मलाई भनेर नभएपछि (मान्छेहरू) मेरो घरमै पुगे । ‘तेरो श्रीमती, बुहारीलाई सम्झाऊ’ भन्दै मान्छेहरू (मेरो घरमै) गएछन् । ती मान्छेहरूसँग श्रीमान्, सासू र ससूराले उसले गरेको काम राम्रो हो भनेर भन्दिनु भएछ । मलाई भने सुरक्षित भएर, ध्यान पुर्‍याएर आफू बचेर हिँड भन्नुहुन्छ । श्रीमान्ले (मलाई) ‘म बाहिर काम गर्न जान्छु, तिमीलाई कसैले केही गर्ला भन्ने पीर लाग्छ भन्नुहुन्छ ।’

बाँकेदेखि पैदलै माइतीघर मण्डलसम्म

निर्मला कुर्मीको घर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा हो । २०६२ सालमा श्रीमान्‌को मृत्यु भएपछि उनी दुई छोरासँग बस्दै आएकी थिइन् । निर्मलाका दुई छोराको २०६६ सालमा दुई हप्ताको अन्तरमा मृत्यु भयो । उनले छोराहरूको पोस्टमार्टम गरिदिन प्रशासनमा आग्रह गरिन् तर सुनिएन ।

निर्मलाले २०६६ माघ १८ गते महिला अधिकार मञ्चमा गएर छिमेकी पर्ने बादशाह कुर्मीले आफूमाथि एकल महिला भनेर हिंसा गरेको बताएकी थिइन् । निर्मलाको अपहरण गरेको भन्दै पीडित पक्षले २०७७ साल मङ्सिर १४ गते उजुरी दियो । उजुरी दिएको एक महिना नपुग्दै उनको मृत्यु (हत्या) भयो । यो मुद्दा दुई वर्षदेखि जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानकै क्रममा छ ।

निर्मलाको न्यायको लागि तेस्रो चरणको आन्दोलन काठमाडौँमा ३०औँ दिन पनि जारी छ । दुई वर्षसम्म प्रहरीले अनुसन्धानका नाममा प्रमाण नष्ट गरेपछि अहिलेसम्म अनुसन्धान भइरहेको भन्दै प्रशासनले टार्दै आएको छ । २०७७ सालदेखि निरन्तर सडकमा आन्दोलन चलिरहेको छ । २०७८ भदौ १३ गते बाँके जिल्ला प्रशासनको गेटमा हामी ३०-३५ जना महिलाले समूह सहित धर्ना बसेका थियौँ । त्यहाँ १९ दिनसम्म धर्ना बस्दा पनि न्याय पाइएन । त्यसपछि २०७८ साल असोज १ गतेदेखि २० दिन लगाएर नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेर आयौँ र माइतीघरमा धर्ना बस्यौँ ।

सोही घटनाको छानविन समितिको प्रतिवेदन पनि कार्यान्वयन भएन । त्यसपछि दोस्रो चरणमा ४१ दिन माइतीघरमा धर्ना बस्यौँ । आरोपीलाई कारबाही गर्ने आश्वासन पाएपछि घर फर्केका थियौँ । तर एकवर्षसम्म पनि अनुसन्धान भएन । उल्टै हामीले दोषी भनेको व्यक्तिलाई सांसद बनाइयो । त्यसपछि हामी पुनः १४ गतेदेखि (माइतीघर मण्डलमा) धर्ना सुरु गरेका हौँ । आरोपी बादशाह कुर्मी नेपाली कांग्रेसका नेता हुन् । उनलाई गत मङ्सिरमा चुनाव हुँदा कांग्रेसले उम्मेदवार बनायो । उनी बाँके निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘ख’ बाट निर्वाचित भए ।

(धर्नामा) यहाँ बस्दा हामीलाई खान र चिसोमा लगाउने कपडाकै समस्या परिरहेको छ । हामीलाई एकजनाले खाना खुवाउने गर्नुभएको छ । उहाँको परिवार नै २०७२ सालको भूकम्पमा परेर मृत्यु भएको रहेछ । त्यसपछि सामाजिक कार्यमा लागेका ती व्यक्तिले सहयोग गरिरहनु भएको छ । कलङ्कीको एक होटेलमा उधारोमा बास बसिरहेका छौँ ।

रुबी खानसँगको सहकार्य

म झन्डै एक दशकदेखि रुबीजीसँगै भएर विभिन्न अभियान र आन्दोलनमा क्रियाशील भइरहेको छु । काम खोज्ने क्रममा भेट भएको रुबीजीसँगको यात्रामा सँगै छु । अभियान र पीडित महिलाको न्यायको लागि उहाँको त्याग, समर्पणबाट धेरै सिकेको छु । म अहिले राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय सदस्य भएर पनि काम गरिरहेको छु । यसको शाखा ७७ वटै जिल्लामा छ । यस्तो संस्थामा रहेर कति दिदीबहिनीहरूलाई न्याय दिलाउने अभियानमा संलग्न हुन पाउँदा, पीडित महिलाहरूको अभियानमा जोडिरहन पाउँदा गर्व महसुस गरेको छु ।

यो पनि पढ्नुहोला

सन्धान प्रकाशन मिति : २०७९ माध १३ गते, शुक्रवार