Home Opinion न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

779
0

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा फेरि धर्ना सुरू गरेका छन् । महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष तथा अभियन्ता रुबी खान नेतृत्वको टोली अहिले माइतीघर मण्डलमा धर्ना बसेको छ ।

अपरहण, शरीर बन्धक र हत्या घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन नभएको तथा घटनाका आरोपी बादशाह कुर्मीलाई अनुसन्धानको दायरामा ल्याउनुको साटो नेपाली कांगे्रसले सांसद बनाएको भन्दै उनीहरूले अहिले तेस्रो चरणको आन्दोलन गरेका हुन् ।

यसअघि निर्मला कुर्मीको न्यायको लागि रुबी खान नेतृत्वकै टोलीले २०७८ असोजमा बाँकेदेखि काठमाडौँसम्म पैदल यात्रा गरेको थियो । त्यसपछि गृह मन्त्रालयले गृह मन्त्रालयकै सहसचिव हीरालाल रेग्मीको नेतृत्वमा कात्तिक २ गते छानबिन समिति गठन गरेको थियो । समितिले बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो ।

सोही प्रतिवेदनको आधारमा बादशाहसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको छ । छानबिन समितिले अनुसन्धान गर्नुपर्ने भनेको व्यक्ति बादशाह हुन् । उनलाई नेपाली कांग्रेसले प्रकारान्तरले उन्मुक्ति दिन खोजेको देखियो । समितिले अनुसन्धान गर्नुपर्ने भनिसकेपछि तिनै बादशाहलाई २०७९ साल मङ्सिरमा भएको निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार बनाइयो । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट उनी निर्वाचित पनि भए । रुबी खान नेतृत्वको टोलीले बादशाहलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेदेखि नै विरोध जनाइरहेका थिए । अहिले फेरि अर्को चरणको आन्दोलन गरिरहेका छन् । समितिको प्रतिवेदन कार्यान्वयन गर्नुको सट्टा जघन्य अपराधमा अनुसन्धान गर्नुपर्ने भनिएकै व्यक्तिलाई उम्मेदवार बनाइएको बेलादेखि नै खबरदारी गर्दागर्दै पनि बेवास्ता गरिएकाले स्थिति जटिल बन्दै गएको छ । यसैले आफूहरू फेरि तेस्रो चरणको आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।

तेस्रो चरणको आन्दोलनस्वरूप पुस १४ गतेदेखि माइतीघर मण्डलमा धर्ना कार्यक्रम चलिरहेको छ । धर्नामा बाँकेबाट दुई पुरुष र १२ जना महिला सहभागी छन् । यसमा रुबी खान, मोहम्मद शेर बागवान, राहुल शेष, आबदा खातुन दर्जी, लकै चमार, सुजरानी चमार, बानी चमार, माकरुन निशा दर्जी, कबी खान, सकिना तेली गुर्गी कोरी रहेका छन् । मोहम्मद शेर बागवान आन्दोलनकारीको तर्फबाट सरकारी छानबिन समितिका सदस्य पनि हुन् ।

आन्दोलन तथा धर्नाकारीहरूले निर्मला पन्त घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गरिनुपर्ने, न्यायिक आयोगमार्फत निर्मलाको तमसुकमा भएको सही ९हस्ताक्षर० को जाँच गरिनुपर्ने, यस घटनाको मुद्दालाई अदालतमा पुर्‍याइनुपर्ने, आन्दोलनकारीहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने तथा बादशाह र उनी जस्ता महिला हिंसाका पीडकहरूलाई पार्टीले पनि कारबाही गर्नुपर्ने लगायत माग राखेका छन् ।

धर्नामा बसेकाहरूलाई काठमाडौँमा खान र बस्नसमेत समस्या परेको सहभागीहरूले बताएका छन् । “एकछाक खाएर आन्दोलन गरिरहेका छौँ,” रुबी खान थप्नुहुन्छ “माइतीघर नजिकै बास बस्न पैसा नपुग्ने भएर कलंकीको एक गेष्टहाउसमा बास बस्छौँ । हरेक बिहान कलंकीदेखि माइतीघर धर्नास्थलसम्म हिँडेर आइरहेका छौँ ।” चिसोले धर्नामा बसेकाहरूको स्वास्थ्यमा समस्या देखिन थालेको पनि उनीहरूले बताएका छन् ।

त्यसो त माइतीघर मण्डलमा जारी धर्नाले विभिन्न अभियन्ता/अधिकारकमीहरूको पनि ध्यान तानेको छ । उनीहरूले आन्दोलनप्रति एक्येबद्धता पनि जनाउँदै आएका छन् । धर्नामा बसेकाहरूले आन्दोलनको लागि आर्थिक सहयोग गर्न र आन्दोलनप्रति ऐक्यबद्धता जनाउनका लागि सबैलाई आग्रह पनि गरेका छन् ।

भिडियो पनि हेर्नुहोला

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ पुस २१ गते, बिहीवार