सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानको आज एघारौँ दिन हो । अहिले पनि हिंसाको मुख्य जड घरभित्रै भेटिन्छ । एकैघरको छानामुनि रहे पनि महिला र पुरुषको संरचनागत संस्कार र संसार भिन्न हुन्छ ।
भिन्नताको थालनी जन्मँदैदेखि लिङ्गलाई आधार मानी मुख्यतः छोरी र छोराका बारेमा राखिने सोच र गरिने व्यवहारबाट हुन्छ । त्यसपछि हुर्काइका विभिन्न चरण र तरिका हुँदै मृत्युपछिसम्म पनि लैङ्गिक विभेद थपिने क्रम चलिरहन्छ । यसबाट महिलामाथि एकपछि अर्को गर्दै गरिने असमान व्यवहारको बोझ पनि चाङ लाग्दै जान्छ ।
सामाजिक संरचनाको कुरा गर्ने हो भने जन्मघरमा विभेदमा पर्दै हुर्किएका छोरीहरू बिहेपछि कर्मघरमा पुग्छन् । त्यहाँ उनीहरूले बुहारीमा परिणत भएर झन् ठुलो विभेदमा पर्नुपर्छ । आमाबुबाको काख छोडेर जन्मघरबाट कर्मघरमा जानुपर्दा त्यहाँ जन्मीहुर्की गरेको नयाँ पुरुषसँग श्रीमतीको नातामा बाँधिनुपर्ने रीति छ ।
रीतिले लैङ्गिक समानताको परिकल्पना नै गरेको छैन । यसैले नवविवाहित श्रीमतीका लागि घर मात्र होइन, नातासम्बन्धहरू, चालचलन र भूमिका नयाँ हुन्छ । त्यो घर ‘परायाघर’ को नामले पनि परिचित छ । त्यहाँ महिलामाथि थपिने विभेदकारी व्यवहार चर्को पनि हुने गर्छ । सन्तान जन्माउने प्राकृतिक विशेषता र भूमिकालाई पनि कमजोरी ठानिन्छ । यस्ता विभेदजन्य विविध प्रसङ्गले महिलामा कुनै न कुनै नकारात्मक असर परिरहेको हुन्छ ।
हाम्रो देशमा शारीरिक, मानसिक र व्यावहारिक तहमा छोरीमान्छेमाथि विभेद गर्ने चालचलन र अभ्यास वर्षौंदेखि कायम छ । राजनीतिक हिसाबले व्यवस्था परिवर्तनका चरणबद्ध अभ्यास भए पनि यहाँ लैङ्गिक समानता र न्यायका लागि व्यवहार परिवर्तन भइरहेको छैन । असमानता र विभेदले घरदेखि समाज, संस्था र राज्यस्तरमा समेत विभिन्न रूप र हर्कतमा स्थान जमाइरहेकै छ ।
लैङ्गिक समानताको अभ्यासमा जोड नहुनाको ‘मिटरब्याजी मूल्य’ महिलाले नै चुकाउन परिरहेको छ । यो विभेद विश्वव्यापी मानव अधिकारको मर्म र भावनाविरुद्ध पनि छ । अहिलेको अत्याधुनिक, विकसित र सुविधासम्पन्न मानिएको संसारमा पनि यस्तो भइरहनु कुनै कोणबाट पनि उचित छैन । यसैले पनि समानताका सवालमा ‘सन्धान’ ले विभिन्न तह, तप्का र स्थानमा रहेका व्यक्तिहरूसँग सोधखोज गरी ज्ञाननिर्माण प्रक्रियालाई जोड दिँदै आइरहेको हो ।
ज्ञाननिर्माणको यस प्रक्रियामा विभिन्न तह, तप्का, स्थान र पृष्ठभूमिका व्यक्ति, समूह, समुदाय आदिका लैङ्गिक सरोकारका सामग्री समेटिने गरेका छन् । ‘सन्धान’ ले नियमित र सन्दर्भगत दुवै तरिकाले त्यस्ता सामग्रीहरूको प्रकाशन/प्रसारण गर्दै आएको यहाँलाई थाहै छ । यस वर्षको सोह्रदिने अभियानका सन्दर्भमा पनि हामीले विभिन्न किसिमका सामग्रीलाई समेट्ने प्रयास गरेका छौँ । यस्ता सामग्रीहरू मानवताका विरुद्ध गइरहेका र भइरहेका विभेदपूर्ण व्यवहारलाई हटाउन र लैङ्गिक समानता तथा सहअस्तित्वको भावना विस्तारमा उपयोगी हुने विश्वासका साथ निर्माण गरिएका हुन् ।
लैङ्गिक समानताको यात्रामा संविधान, ऐन, नियमले मात्र पनि पुग्दो रहेनछ । सही र दिगो तरिकाले अघि बढ्नका लागि समानता र विभेदबारेको व्यक्तिगत बुझाइ र प्रतिबद्ध अभ्यासको खाँचो पर्दछ । हामीकहाँ समानता र विभेदको मर्मलाई बुझेर व्यक्तिगत र संस्थागत हिसाबले अभ्याससमेत गर्दै आइरहेका व्यक्तिहरू ज्ञाननिर्माणका लागि तयार पनि हुुनुहुन्छ । त्यस्ता केही व्यक्तित्वहरूसँग ‘लैङ्गिक समानता र समानताको अभ्यास’ का बारेमा विशेष चिन्तन र अनुकरणीय अनुभव रहेको पाइएको छ ।
आजको ‘सन्धान’ मा त्यस्ता केही चिन्तन र अनुभवलाई सङ्कलन गरी तयार गरिएको ‘सामूहिक आवाज’ प्रस्तुत गर्दैछौँ । यसमा सहभागी व्यक्तित्वहरू हुनुहुन्छ, लेखक तथा खाद्य अन्वेषक केदार शर्मा, पूर्वउपसचिव महेश्वरी विष्ट, अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफ) की सदस्य एवं गैरसरकारी संस्था टेवाकी पूर्वअध्यक्ष छिङ लमु शेर्पा, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की र मानवशास्त्र विभाग, पाटन संयुक्त क्याम्पसका अध्यापक होम याम्फू ।
समानताको बाटामा पाइला चाल्दा
– केदार शर्मा, लेखक तथा अन्वेषक
मलाई संविधानले नागरिकताको विषयमा महिलाहरूलाई गरेको भेदभाव सबैभन्दा ननिको लाग्छ । हाम्रा छोरा र छोरीलाई जहिलेसम्म संविधानले फरक व्यवहार गर्छ, तहिलेसम्म हाम्रा स–साना प्रयत्नहरूले थोरै मात्र प्रभाव पर्ने हुन् । तर, राज्यले भेदभाव गरेको छ भनेर चुप लाग्नुको साटो हामीले आफ्ना ससाना प्रयत्नहरूलाई अझ घनीभूत बनाउनुपर्छ ।
मलाई लाग्छ, समानताको पहिलो सर्त आदर हो । आदर मन, वचन, कर्म तीनै तहबाट हुनुपर्छ र आदर गर्ने हो भने मान्छेको शरीर, मन र बुद्धि तीनै कुरालाई आदर गर्न सिक्नुपर्छ र सक्नुपर्छ । म महिलाहरूलाई घरमा मात्र होइन, अन्यत्र पनि आफूले जानेसम्मको आदर गर्ने गर्छु । हामीले आफ्ना छोरा र छोरीलाई सानैदेखि शारीरिक, मानसिक र व्यावहारिक सबै हिसाबले यथोचित आदर गरेर नै हुर्कायौँ । कहीँ झुक्किएर गलत व्यवहार भइहाल्यो भने सच्चिन र माफी माग्न सक्छु ।
हामी दुवै जना घर व्यवहार र छोराछोरीको कुरा गर्दा ‘मेरो’ नभनेर ‘हाम्रो’ भन्छौँ । ‘मेरो’ भनिहालियो भने पनि नमिलेको अनुभव भइहाल्छ । अरूले पनि घर व्यवहारको कुरामा ‘हाम्रो’ नभनेर ‘मेरो’ भनेको सुन्दा अमिल्दो नै लाग्छ ।
भाषा व्यवहारको अनुहार हो । हामी कस्तो भाषा बोल्छौँ भन्ने कुराले हाम्रो व्यवहार झल्काइरहेको हुन्छ । समाजमा अहिले पनि ‘बुढीलाई यो किन्दिएँ’, वा ‘यति पैसा दिएँ’, वा ‘श्रीमतीलाई भान्साको काममा सघाएँ’ भन्ने जस्ता वाक्य र शब्दहरू अनौठो नमानी प्रयोग भइरहेको सुनिन्छ । भन्ने बेलामा ‘महिला र पुरुष एउटा रथका दुइटा पाङ्ग्रा’ भन्ने । व्यवहारमा चाहिँ ‘म अघिअघि अर्को पाङ्ग्रो पछिपछि’ जस्तो गर्न नछाडी समानताको बाटामा पाइलै चल्दैन ।
पुस्तौँदेखिको सोच र संरचनात्मक असमानताका कारण अझसम्म बाँकी रहेका खाल्डा र चिराहरूलाई यही पुस्ताले साँघु हाल्ने, पुर्ने प्रयास गर्नुपर्छ । सिङ्गै समाज गलत भएको ठाउँमा आफू सही हुन अतिरिक्त प्रयास पनि गर्नुपर्छ । त्यो तपाईं भाग्यमानी भए समानताको पाठ र मिठास चाँडै बुझ्नुहुन्छ, नभए अलिक पछि जान्ने हो, नजानेर त धरै छैन ।
कसैलाई कतै पनि विभेद गरिनँ
– महेश्वरी विष्ट, पूर्वउपसचिव
मेरो लागि समानता भनेको मानव समाजको आर्थिक, सामाजिक र सभ्यता विकासको लागि नभई नहुने पहिलो सर्त हो । समानताको अवस्था महसुस गर्न घर, समाज, संस्था र राज्य कुनै पनि संरचनामा अवसर, अधिकार, जिम्मेवारी, एकापसमा गरिने सम्मान, स्रोतसाधन सबैमा बराबरी पहुँच भएको हुनुपर्दछ ।
मेरो विचारमा ‘समानताको अभ्यास’ भनेको हामी जहाँ छौँ, त्यहीँ गर्ने हो । मलाई याद छ, विवाहको सुरुका दिनहरूमा मेरो श्रीमान्ले भान्छामा पसेर समय फाल्नुहुन्न भनेर मलाई भान्सामा जान दिनु भएन । अहिले श्रीमान् र वयस्क भइसकेका हाम्रा दुवै छोराहरू मैलेभन्दा मिठो र स्वस्थ खाना बनाउने भएका छन् । घरमा सबैले आ–आफ्नो कोठा र सामानको उचित व्यवस्थापन र सरसफाइ गर्छौं । छोराहरूले पनि सानैदेखि आफैँ गर्दै आएका हुन् ।
म मकवानपुर जिल्लाको हेटौँडामा जन्मेँ र सुदूरपश्चिमको बुहारी भएँ । जेठाजु र बुहारी नजिक पर्नै नहुने भन्ने हुँदो रहेछ । मलाई फरक लाग्यो । त्यसैले म यो रीति तोड्नुपर्छ भनेर लागिपरेँ । उहाँ श्रीमान्काे दाइ भनेपछि मैले आदर, सम्मान गर्नुपर्ने व्यक्ति । त्यस्तो व्यक्तिले मलाई दसैँमा टीका पनि लगाइदिन नहुने भन्ने थियो ।
मैले त्यो रीति कसरी चल्यो होला भनेर खुट्ट्याउँदै पटकपटक जेठाजुसँग कुराकानी गरेँ । अन्ततः उहाँ पनि मेरो कुरामा सहमत हुनुभयो । विगत तीन वर्षदेखि उहाँबाट फागुपूर्णिमामा अबिर र दसैँमा टीकासहित आशीर्वाद पाउन थालेकी छु ।
दलित समुदायप्रति भेदभाव गर्ने समाजमै जन्मीहुर्की गरेको मैले विभेदपूर्ण व्यवहार देखेँ । त्यही भएर ‘म विभेद गर्दिनँ’ भन्ने सानैदेखि लाग्थ्यो । २०५२/५३ सालतिर म महिला विकास अधिकृत भएर डडेलधुरा जिल्लामा गएँ । भान्छामा मैले त्यहाँ दलित समुदायकै व्यक्तिबाट सहयोग लिन्थेँ । मेरो सानो बच्चा पनि थिए, थप सहयोग चाहिन्थ्यो । त्यसका लागि पनि मैले ती भाइलाई नै सहयोगी बनाएँ । त्यसो गर्न सजिलो भने थिएन । ती युवा भाइले नै मलाई ‘समाजले थाहा पाए मार्छन्’ भन्थे ।
मेरो जागिर हेटौँडा सरुवा भएपछि २०५५/५६ सालतिर पनि दलित समुदायकै व्यक्तिलाई भान्साको काममा सहयोगी बनाएँ । त्यो बेलाको समाजको अगाडि यसो गर्नु पनि मेरो विचारमा समानताको अभ्यास नै हो ।
हामी सबै घरबाहिरको काम गर्ने भएकाले घरमा कोही न कोही सहयोगीलाई उचित पारिश्रमिकसहित नै राख्नुपर्ने अवस्था थियो । २०७४ सालमा पनि हामीलाई सहयोग गर्ने एक जना बहिनी दलित समुदायकै थिइन् । उनी दिउँसो पढ्न जान्थिन्, बिहान बेलुका भान्सामा हामीलाई सघाउँथिन् । पूजाआजा पनि कहिले उनी गर्थिन्, कहिले हामी गर्थ्याैं।
पछिपछि घरमा सहयोगकै लागि अरू महिला दिदीबहिनी आउनुहुन्थ्यो । उहाँहरू ‘महिनावारी भएका बेला के गर्नु ?’ भनी सोध्नुहुन्थ्यो । ‘आराम चाहिए आराम गर्नू नत्र हाम्रो लागि भनिरहनु नै पर्दैन’ भन्थ्यौँ । घरमा र कार्यालयमा त्यस्तै काम गर्नेलाई प्रायः ‘तँ’, ‘तिमी’ भनेर सम्बोधन गरेको देखिन्छ । म भने उनीहरूलाई सधैँ ‘तपाईं’ नै भन्थेँ ।
घरमा आलोपालो र संस्थामा सुधार ल्याएँ
– छिङ लमु शेर्पा, सदस्य, अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफ)
मेरो बुझाइमा समानता भनेको सबैको कुरा सुन्नु, खाना र काम दुवैमा सबैलाई उत्तिकै सहभागी गराउनु हो । सबैप्रति समान सोच राख्नु र समान व्यवहार गर्नु हो । यसैले मैले घरमा भाइबैनीहरूबिच एकले पकाउने, अर्कोले भाँडा माझ्ने, लुगा धुँदा पनि आलोपालो गर्ने ‘कल्चर’ बसालेको थिएँ ।
म बाहिर पढ्न गएपछि भने बैनी र भदैहरूले मात्र भाँडा माझ्न थालेछन् । उनीहरूले ‘दाजुभाइ, मामाहरूले भाँडा माझ्न छोडिसके’ भने । घर फर्किएर आएपछि मैले ‘त्यसरी हुँदैन’ भनेर पुरानै आलोपालो अभ्यास दोहोर्याउन लगाएँ ।
संस्थागत कुरा गर्ने हो भने म शेर्पा एसोसियसनमा जिल्लाको प्रतिनिधि थिएँ । बोर्डका सबै सदस्य (महिला, पुरुषहरू) समान भए पनि चिया ल्याउँदा पुरुषहरू डेग नचल्ने तर महिलाहरू खुर्र कुदेर चिया लिन जाने गर्थे । त्यो देख्दा मलाई गाह्रो अनुभव भयो ।
मैले ‘महिलाहरू घरमा पनि चिया दिने, बाहिर पनि दिने, यस्तो हुँदैन’ भनेँ । ‘म महिला भएकै कारणले उठेर दिनेवाला छैन, तपाईंहरू आ–आफैँ उठेर चिया खानुस्’ पनि भन्थेँ । मैले यसो भन्दा पहिले त सबैजना उठेर गलल्ल हाँस्थे । तर, बिस्तारै व्यवहार परिवर्तन पनि गर्नुभयो ।
अफिसमा एउटै ट्वाइलेट थियो । पुरुष पसेपछि ट्वाइलेट फोहोर पारेर निस्किन्थे । अनि मैले भन्थेँ, ‘तपाईं पुरुषहरू उभिएर पिसाब गर्नुहुन्छ, हामी महिलाले बसेर गर्नुपर्छ ।’ फरक हुने भएकैले सिकाउँदै ‘अलिकति सेन्सिटिभ भएर प्यान उचालेर गर्नुपर्यो’ भनेर पनि भन्थेँ । पहिला नसुनिए पनि पछिपछि यसमा पनि सुधार भयो ।
आफैँ अघि सरेर ‘यसरी गर्नुपर्छ’ भनेर देखाइदिएपछि ‘चेन्ज’ हुँदो रहेछ जस्तो लाग्छ मलाई । संस्थाहरूमा केही हदसम्म लैङ्गिक समानता भएको देख्न सकिन्छ, घरमा भएको छैन । घरमा काम जति महिलाले गर्नुपर्ने बाध्यता छ ।
मेरै घरमा भात पकाउने काम पुरुषले गरे भने भाँडा छरपस्टै पार्छन् । त्यो देखेर आफैँ होमिन मन लाग्छ । तर, एक जनाले भात पकाएमा अर्कोले भाँडा माझ्ने सिद्धान्त हुनुपर्छ । यो ‘कल्चर’ छोरा/छोरी होस् या श्रीमान्/श्रीमती जो सुकैले अभ्यास गरे भने बल्ल घरभित्र पनि केही हदसम्म समानता हुन्छ ।
घरदेखि कार्यस्थलसम्मै गर्छु समानताको अभ्यास
– मेहले पार्की, सदस्य, राष्ट्रिय दलित आयोग
मैले सम्पूर्ण अधिकार, सुविधा, स्वतन्त्रता, समानरूपमा उपयोग र कर्तव्यको समान जिम्मेवारी भएको अवस्थालाई समानता हो भन्ने बुझेको छु । सबैले पढ्न पाउने, समानरूपमा रोजगारीको अवसर मिल्नु पनि समानता हो । घर, परिवार, समाज र कार्यस्थलमा अधिकारलाई बराबर ढङ्गले प्रयोग गर्न पाउनु पनि हो ।
मैले गर्ने समानताको अभ्यास घर, परिवार, समाज र कार्यस्थलसम्म गर्दै आएको छु भन्ने लाग्छ । घरको कुरा गर्ने हो भने छोराछोरीले समानरूपमा शिक्षा पाएका छन् । उनीहरूले पाउनुपर्ने अवसरहरूलाई पनि ‘यो छोरा हो’, ‘यो छोरी हो’ नभनीकन समानरूपमा नै दिने गरेका छौँ । परिवारभित्र कार्यविभाजनका कुरामा पनि हामी सबैले सबै क्षेत्रमा बराबर ढङ्गले आफ्नो जिम्मेवारी पूरा गर्ने गरेका छौँ ।
हाम्रो परिवारका सदस्यहरू क्षमताअनुसारको पेसा, व्यवसायमा समान ढङ्गले कार्यरत छौँ । आफ्नो घर, परिवारबाटै समानताको अभ्यास गरेर समाजमा देखाउन सकियो भने समाजका लागि सिकाइ हुन्छ भन्ने कुरामा विश्वास राख्छु । हाम्रो घरका विभिन्न काम जस्तै भान्साकै कुरा गर्दा पनि समानता छ । हामी मिलीजुली घरको काम गर्छौं । छोरा, बुहारी दुवैले खाना पकाउँछन् । छोराले नगर्ने र गर्न हुँदैन भन्ने छैन । मैले पनि भान्साको काम गर्दै आएँ । पहिलेदेखि नै तरकारी केलाउने, पकाउने, भाँडा माझ्नेदेखि कपडा धुने जस्ता कामहरू म पनि गर्छु । मेरो परिवारमा अरूले पनि गर्छन् । यसलाई नै घरभित्र समानताको अभ्यास भएको भन्न चाहन्छु ।
मैले समाजमा हुने विभेद, हिंसाका विरुद्ध पनि आवाज उठाउँदै आएको छु । हरेक फोरमहरूमा पनि बोल्छु । मैले असमानता र विभेदका बारेमा लेखहरू लेखेको छु, अन्तर्वार्ताहरू पनि दिएको छु ।
कार्यस्थलमा कर्मचारी साथीहरू, माननीयहरू हामी एक आपसमा समानताको अभ्यास गरिरहेका छौँ । समानतामा हामी अभ्यस्त छौँ र ऐक्यबद्धता पनि छ । हामी लामो समयदेखि न्याय, समानता र मुक्तिका लागि लड्दै आएको भएर पनि म आफूले जानेसम्म समानताको अभ्यास गर्ने ठाउँमा गर्छु, बोल्ने ठाउँमा बोल्छु ।
महिलाका ज्ञानलाई समेट्ने गरेको छु
– होम याम्फू, अध्यापक, मानवशास्त्र विभाग, पाटन संयुक्त क्याम्पस
लैङ्गिक समानताको कुरा गर्दा, सबैभन्दा पहिला लैङ्गिकता कसरी निर्माण भएको हुन्छ भनेर बुझ्नुपर्छ । सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक पृष्ठभूमि भएका मानिसहरूको आ–आफ्नै तरिकाबाट लैङ्गिकता निर्माण हुन्छ । यसरी लैङ्गिकता निर्माण भएपछि विभिन्न क्षेत्रमा असमान शक्तिसम्बन्ध हुँदै जान्छ ।
महिलामाथि पुरुष लैङ्गिकता हाबी हुने हिसाबले समाजका सामाजिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यताहरू स्थापित भएको छ । त्यसैले समानता भनेको काटेर मिलाएको जस्तो कुरा नभई एकआपसको सहअस्तित्व हो भनेर बुझ्नुपर्छ । फरक लैङ्गिकता भएको व्यक्तिको दर्शन, भावना, विचार, ज्ञान र अस्तित्वलाई स्वीकार गर्नुपर्छ ।
महिला एउटा लैङ्गिकता हो । महिलाले कसरी सोच्छन्, ‘महिला’ भन्ने सोच कसरी निर्माण हुन्छ ? महिलाहरूको ज्ञानपद्धति (एपिस्टेमोलोजी) भन्छ, फेमिनिस्ट ज्ञानपद्धतिहरूलाई समान स्थान दिनुपर्यो । ज्ञाननिर्माणको क्षेत्रमा होस् या सामाजिक मूल्यमान्यता निर्माणमा महिलाको दर्शन, महिलाका ज्ञानहरूलाई सीमान्तकृत गरिएको छ ।
हाम्रा विश्वविद्यालयहरूमा नै ज्ञाननिर्माणको क्षेत्रमा महिला कम छन्, जति छन् उनीहरूको ज्ञानलाई पनि ज्ञान मानिएको छैन । यसरी हरेक ठाउँमा महिलाको ज्ञानलाई सीमान्तकृत गरिएपछि महिलाहरू सीमान्तकृत भएका हुन् ।
चार जनाको ठाउँमा दुई जना महिला राख्दैमा समानता आउँदैन । महिलाहरूको सोच र भावनाको पनि प्रतिनिधित्व हुनुपर्छ । ‘समानता’ हुनलाई वैचारिक, दार्शनिक, सोच, मूल्य मान्यता सबैमा समानता हुनुपर्छ भन्ने मेरो बुझाइ हो ।
महिलाभित्र पनि ‘इन्टरसेक्सनालिटी’ (विविधता) छ । त्यसकारण दलित महिला, आदिवासी महिला अथवा मधेसी महिला, मुस्लिम महिला तथा सीमान्तकृत महिला छन् । ती सबैले फरक फरक तरिकाले सोचेका हुन्छन् । ती विविध सोच, ज्ञान र विचारलाई हामीले समानरूपमा सँगै लैजान सक्यौँ भने मात्रै समानता हुने हो ।
मैले विद्यार्थीलाई पढाउँदा लैङ्गिक समानता भनेको एउटा आत्मसम्मानको विषय हो भन्ने गरेको छु । महिला एउटा भावना भएको, ज्ञान भएको वर्ग हो भनेर स्वीकार गर्न सकियो भने लैङ्गिक समानता हुन्छ भनेर विश्वव्यापी महिला आन्दोलनलाई जोडेर पढाउने गरेको छुु । काठमाडौँ विश्वविद्यालयमा पनि ‘आदिवासी महिलावाद’ को बारेमा पढाउँछु । मैले गर्ने अध्ययन, अनुसन्धानहरूमा पनि महिला र पुरुषको सहभागिता गराउने, महिलाको दृष्टिकोण र ज्ञानलाई अध्ययनहरूमा समेट्ने गरेको छु ।
घरपरिवारमा मेरो समानताको अभ्यास भनेको श्रीमती, छोराछोरी, दिदीबहिनीको सबैको विचार सुन्ने र छलफल गर्ने हो । भान्साको काम पनि कसले भ्याउँछौँ, उसैले गर्ने हो । भान्साको काम ‘मैले गर्न हुँदैन’ अथवा ‘छोराले गर्न हुँदैन’, ‘महिलाले नै गर्नुपर्छ’ भन्ने हाम्रो घरमा कहिल्यै भएको छैन र हुँदैन ।
प्रकाशन मिति : २०८१ मंसिर २१ गते, शुक्रवार
याे पनि पढ्नुहाेस्
- हामी राज्यका लागि ‘भार’ होइनौँ भत्ताभन्दा बढी कर तिर्न सक्छौँ (भिडियाे सहित)
- रोग सार्ने श्रीमान् तर दोष पाउने श्रीमती
- राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाउन माग (फोटो फिचर)
- हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्ने
- अटिजम अवस्थाकी छोरीका आमालाई बढी पिर
- रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
- बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु
- राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)
- हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडियाे/फोटो फिचर)