सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
तेत्तिसौँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर विविध प्रकारका कार्यक्रम गरी यो अभियान सञ्चालन गरिन्छ । यसका लागि यो वर्षको अन्तर्राष्ट्रिय नारा ‘टुवार्ड्स् थर्टी इयर्स अफ बेइजिङ डिक्लेरेसन एन्ड प्लाटफर्म फर एक्सन स् युनाइट टु इन्ड भ्वाइलेन्स अगेन्स्ट विमिन’ (Towards 30 Years of the Beijing Declaration and Platform for Action : UNITE to End Violence Against Women) रहेको छ । नेपालमा २०५४ सालदेखि हरेक वर्ष यो अभियान मनाइँदै आएको छ । यस वर्षका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘हामी सबैको प्रतिबद्धता स् लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । लैङ्गिक आधारमा महिलामाथि हुने हिंसालाई मानवअधिकारको गम्भीर उल्लङ्घनको रूपमा लिइँदै आए पनि महिलामाथि हुने गरेका लैङ्गिक हिंसामा कमी हुन सकेको छैन । समयसँगै हिंसाका नयाँ रूप पनि देखिने गरेका छन् । यही सन्दर्भमा ‘सन्धान’ ले नेपाली महिलाहरूको विविधतालाई समेत ध्यानमा राखेर पछिल्लो अवस्था के कस्तो रहेको छ भनी खोजी गर्दै आइरहेको छ । यसैक्रममा नेपाली समाजका महिलाभित्रका पनि विविध अवस्थाका महिलाहरूले भोगिरहेका लैङ्गिक हिंसा र विभेदलाई उठाउने प्रयास गरिएको छ । यसक्रममा अपाङ्गताभित्रका पनि विविध प्रकारका नेपाली महिलाहरूले देखेको र भोगेको हिंसा र विभेदको अवस्थालाई खोजिएको छ ।
नेपालमा १० प्रकारका अपाङ्गतालाई पहिचान गरिएको पाइन्छ । त्यसमा मुख्यतः शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव ९हेमोफिलिया० सम्बन्धी अपाङ्गता, अटिज्मसम्बन्धी अपाङ्गता र बहुअपाङ्गता पर्दछन् । अपाङ्गताभित्र पनि महिलाले महिला भएकै कारण घर र समाजबाट थप हिंसा, विभेद र दुर्व्यवहार भोग्नुपरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यसमा पनि शारीरिक तथा मानसिक अवस्थाका कारण अपाङ्गता भएका कतिपय बालिका, किशोरी, महिलाहरू घरैदेखि हिंसाको थप जोखिममा रहेको पाइन्छ । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानको सन्दर्भमा तिनै जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा अधिकारका बारेमा केही व्यक्तिसँग २०८१ मङ्सिरमा कुराकानी गरिएको थियो । कुराकानी गरिएका मध्ये आज प्रस्तुत छ, हेलु बलामीको अनुभव । उहाँ अटिजम भएकी छोरीकी आमा हुनुहुन्छ । उहाँसँग यसप्रकारका बालबालिका त्यसमा पनि छोरी सन्तानलाई हुर्काउँदा आइपर्ने चुनौती र यो चुनौती आउन नदिन राज्य र समाजको भूमिका बारेमा कुराकानी गरिएको छ । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीमा आधारित स्वकथन :
म अटिजम भएकी छोरीकी आमा हुँ । मेरो पहिलो सन्तानमा अटिजम देखियो । अटिजमको अवस्थामा भएका बच्चाहरूलाई हुर्काउन साह्रै समस्या पर्छ । ‘भोक लाग्यो’ भनेर खाना माग्न सक्दैनन्, ‘तिर्खा लाग्यो’ भन्न सक्दैनन् । घरभित्र राखिरहेको भएर होला मेरो नानी समाजमा भिज्न सकेकी छैन । उसको सामाजिकीकरण भएको छैन । छोरीसँगै बस्नुपर्दा म पनि पारिवारिक सामाजिक रूपमा हुने कार्यक्रमहरूमा जान सक्दिनँ । आफू नजाने मात्रै होइन अब त बोलाउनेले पनि बोलाउन छोडिसके । उसको त यस्तो बच्चा छ, उसलाई नभनौँ भन्ने लाग्दोरहेछ सबैलाई । आफन्तहरू पनि हामीसँग टाढिन्छन्, कतिले त ‘नानी देखेर डर लाग्छ’ पनि भन्छन् । छोरीको जन्मदिन मनाउँदा पनि ‘छोरी त्यस्तो छ, के केक काट्नुपरेको होला’ भन्ने गर्छन् । सबैजना हामीसँग सम्पर्कमा बस्न चाहँदैनन् ।
अटिजमको अवस्थामा बच्चा/व्यक्तिको कुरा गर्नुपर्दा कोही आफ्ना सामान्य काम आफैँ गर्ने पनि हुन्छन् । तर, कतिपयलाई के गर्ने के नगर्ने थाहा हुँदैन । कोही लुगा खोलेर जहाँ पनि बसिदिन सक्छन् । कोही लुगा लगाउनै नमान्ने पनि हुन्छन् । दिसापिसाब कहाँ गर्ने, कहाँ नगर्ने थाहा हुँदैन ।
अझ यस्तो अवस्थाका छोरी भएका आमालाई झन् अप्ठ्यारो हुन्छ । महिनावारी हुँदा राखिएको प्याड निकालेर फाल्दिने, रगत सबैतिर लाग्ने हुन्छ, त्यस्तो हुँदा सफा गर्ने, धोइदिने मैले नै गर्नुपर्छ । यो भन्दा पनि कठिन अवस्था भोगिरहेको छु मैले । हामी आमा भएपछि दिनमा रेस्ट पनि पाउँदैनौँ, रातमा सुत्न पनि पाउँदैनौँ । किनकी बच्चा रातमा धेरैजसो सुत्दैन । हामी अभिभावक छाया जस्तै सधैँ सँगै हुनुपर्छ । देख्नेहरूले हाम्रा अटिजम सन्तान देख्दा कस्तो खालको मान्छे रहेछ भन्छन् । कतिले त ‘कस्तो लाज नभएको ? अहिलेसम्म पनि ओछ्यानमा पिसाब फेर्ने रहेछ’ भन्छन् । यस्तो कुरा गरेर तनाव दिनु त झन् ठुलो हिंसा हुन्छ ।
हाम्रो १०–१२ जनाको परिवारमा अहिले यही छोरी, छोरा र म तीन जना मात्र छौँ । मलाई जे बहाना गरे पनि यही बच्चाकै कारण परिवार टाढिएका हुन् जस्तो लाग्छ । परिवारमा बच्चाले काम बिगारिदिँदा, गाह्रोसाह्रो पर्दा म आमालाई दोष लगाउनु त सामान्य भइहाल्यो ।
अटिजम अवस्थामा भएकाहरू अबोध हुन्छन् । त्यही भएर अटिजम अवस्थाका छोरी सधैँ जोखिममा हुन्छन् । सबैभन्दा बढी जोखिममा छोरी नै हुन्छन् । बाहिर लिएर जाउँ भने पनि यो खालको अवस्थाका बच्चाहरूलाई केही थाहा हुँदैन । उनीहरूलाई एक्लै छोड्न मिलेन । हराइहालेमा आफ्नो घर चिनेर, फर्केर आउन पनि सक्दैनन् ।
शरीरको कुन पार्टमा छुन मिल्छ कि मिल्दैन, छुने व्यक्तिले कस्तो नियतले छोएको हो भन्ने पनि बुझ्दैनन् उनीहरू । उनीहरूलाई कसैले छोयो कि माया गगर्यो भन्ने मात्र ठान्छन् । एकदम ‘इन्नोसेन्ट’ वा अबोध हुने भएको कारणले अटिजम भएका विशेष गरी छोरीहरू सबैभन्दा बढी हिंसाको जोखिममा हुन्छन् । त्यसैले यस्ता बालबालिकाका लागि राज्यले नै स्कुल अथवा डे–केयर सेन्टरहरू बनाइदिए हुन्थ्यो । त्यो भए उनीहरूले पनि बाहिर केही देख्न र बुझ्न पाउँथे, हामी आमा तथा अभिभावकले पनि केही काम गर्न पाउँथ्यौँ ।
प्रकाशन मिति : २०८१ मंसिर १२ गते, बुधवार
याे पनि पढ्नुहाेस्
- रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
- बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु
- राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)
- हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडियाे/फोटो फिचर)