लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान
लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । अभियानको अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । अभियानका लागि मन्त्रालयले ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने नारा तय गरेको छ ।
लैङ्गिक हिंसाविरुद्धकोे सोह्रदिने अन्तर्राष्ट्रिय अभियान नेपालमा २०५४ सालमा देशव्यापी रूपमा मनाउन सुरु गरियो । नेपाल सरकारको मन्त्रीपरिषद्को मिति २०७५ मङ्सिर २ गतेको बैठकले हरेक वर्ष मङ्सिर ९ गतेलाई महिला हिंसाविरुद्धको अभियान दिवसको रूपमा मनाउने निर्णय पनि गरेको थियो ।
सोह्रदिने अभियानको सुरुआत सन् १९९१ मा महिलामाथिकोे हिंसा अन्त्यका लागि वुमन्स ग्लोबल लिडरसिप इन्स्टिच्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरूले गरेका थिए । यस अभियानको पृष्ठभूमि सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन गणतन्त्रमा भएको तीन साहसी दिदीबहिनीको हत्याको घटना जोडिएको छ । सो दिन मिरावेल परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या भएको थियो । तत्कालीन तानाशाही ट्रिजुलो सरकारविरुद्ध आवाज उठाएकै कारण ती दिदीबहिनीको बीभत्स हत्या गरिएको थियो । तिनै मिरावेल दिदीबहिनीहरूको साहसलाई सम्मान गर्दै अभियानको पहिलो दिनलाई महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो । नोभेम्बर २५ मा शुरु हुने यो अभियान अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्बर १० मा सम्पन्न हुन्छ ।
विश्वमा सन् १९९१ मा मनाउन सुरु गरिएको यो अभियान थालिएको ३१ वर्ष भएको छ । सन् १९९१ मा थालिएको महिला हिंसाविरुद्धको यो अभियान अहिले विश्वका १८७ मुलुकमा फैलिसकेको छ ।
अभियानको पहिलो दिन आज ओरेक नेपालले प्रकाशित गरेको महिलामाथि हुने हिंसा सम्बन्धी अध्ययन प्रतिवेदन ‘अन्वेषी २०७९’ पनि सार्वजनिक भएको छ । अन्वेषीका अनुसार महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको देखिएको छ । ओरेकमा आर्थिक वर्ष २०७७र७८ मा १,७७२ महिला हिंसाका घटना अभिलेख भएकोमा यस आर्थिक वर्षमा ४१ घटना वृद्धि भई १,८१३ जना महिला तथा बालबालिकामाथि भएका हिंसाका घटना अभिलेख गरेको अन्वेषीमा उल्लेख छ ।
त्यस्तै नेपाल प्रहरीमा आर्थिक वर्ष २०७७/७८ मा महिला तथा बालिकामाथि भएका कूल १८,८७९ वटा हिंसाका घटना दर्ता भएको थियो भने आर्थिक वर्ष २०७८र०७९ मा २,५७२ घटना वृद्धि भई कूल २१,४५१ पुगेको छ ।
भिडियाे पनि हेर्नुहाेला
याे पनि पढ्नुहाेस्
- बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु
सन्धान, प्रकाशन मिति २०७९ मंसिर ९ गते शुक्रवार