Home Vision लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

926
0

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान आज सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा यो अभियान विविध कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ । संसारभर लैङ्गिक हिंसाले विभिन्न रूपमा जरो गाडेको छ । यसबाट महिलाहरू पीडित र प्रताडित हुन पुगेका छन् । उनीहरूको मानव अधिकार कुण्ठित हुनपुगेको छ । यसैले सन् १९९१ मा थालिएको महिला हिंसाविरुद्धको यो अभियान अहिले विश्वका १८७ मुलुकमा फैलिसकेको छ ।

यस अभियानका लागि यस वर्षको अन्तर्राष्ट्रिय नारा हो, “UNITE! Activism to End Violence against women & girls!” यसै सन्दर्भमा नेपालले राष्ट्रिय नारा पनि तय गरेको छ । ‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको अभियान’ । यही राष्ट्रिय नाराका साथ नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।

के हो लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय सोह्रदिने अभियान ?

सोह्रदिने अभियान महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नोभेम्बर २५ देखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्बर १० सम्म हरेक वर्ष चल्छ । यो अभियान लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान हो । सन् १९९१ मा यो अभियान मनाउन सुरु गरिएको थियो । यो अभियान थालिएको ३१ वर्ष भएको छ । महिलामाथि हुने हिंसालाई मानवअधिकारको गम्भीर उल्लङ्घनको रूपमा लिँदै यस अभियानको अवधिमा यस प्रकारको हिंसा अन्त्यका लागि आवाज उठाउने गरिन्छ । साथै, महिलाको अधिकार मानव अधिकार हो भन्ने विषयमा जानकारी गराउने, सम्बोधन गर्ने र यस विषयमा व्यापक रूपमा विश्वभर बहस तथा छलफल गर्ने गरिन्छ ।

अभियान सुरुआतको इतिहास

सोह्रदिने अभियानको सुरुआत सन् १९९१ मा महिलामाथिकोे हिंसा अन्त्यका लागि वुमन्स ग्लोबल लिडरसिप इन्स्टिच्युटमा सहभागी भएका महिला अधिकारकर्मीहरूले गरेका थिए । यसको पृष्ठभूमिमा सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन गणतन्त्रमा भएको तीन साहसी दिदीबहिनीको हत्याको घटना जोडिएको छ । सो दिन मिरावेल परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या भएको थियो । तत्कालीन तानाशाही ट्रिजुलो सरकारविरुद्ध आवाज उठाएकै कारण ती दिदीबहिनीको बीभत्स हत्या गरिएको थियो । तिनै मिरावेल दिदीबहिनीहरूको साहसलाई सम्मान गर्दै यस अभियानको पहिलो दिनलाई महिलामाथि हुनै सबै प्रकारको हिंसा अन्त्य गर्ने दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो ।

सन् १९९१ मा नै क्यानडाका युवाले ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिनँ र हिंसा देखेमा प्रतिकार गर्छु’ भनी सेतो रिबन बाँधेर यो अभियान चलाएका थिए । सोही समयदेखि नै सेतो रिबनलाई लैङ्गिक हिंसाविरुद्ध प्रतिबद्धताको प्रतीकका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ ।

अभियान थालिएको नौ वर्ष लागेपछि १९९९ मा संयुक्त राष्ट्रसंघले पनि यसलाई मान्यता दियो । त्यसपछि संसारभर नै नोभेम्बर २५ को दिनलाई महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।

नेपालमा अभियानको सुरुआत

लैङ्गिक हिंसाविरुद्धकोे सोह्रदिने अन्तर्राष्ट्रिय अभियान नेपालमा २०५४ सालमा देशव्यापी रूपमा मनाउन सुरु गरियो । यस अभियानमा नेपाल सरकार तथा महिला सवालमा काम गर्ने संघसंस्थाहरूले महिलामाथि हुने हिंसाविरुद्धका सवालमा सचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छन् ।

नेपाल सरकारको मन्त्रीपरिषद्को मिति २०७५ मङ्सिर २ गतेको बैठकले हरेक वर्ष मङ्सिर ९ गतेलाई महिला हिंसाविरुद्धको अभियान दिवसको रूपमा मनाउने निर्णय पनि गरेको थियो । त्यसयता यो अभियानको अवधिभर सामाजिक सचेतनासहित मनाउनका लागि नेपाल सरकार, प्रदेश तथा सबै पालिकाहरूमा कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ ।

साथै, सबै प्रकारका हिंसा, विभेद, कुरीति र अन्धविश्वास तथा बहिष्करण र वञ्चितीकरणमा परेका व्यक्तिहरूमाथि हुने विभेद र असमानता हटाउने उद्देश्यसहित यो अभियान देशभरि सञ्चालन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

मन्त्री रेग्मीको प्रतिबद्धता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि भइरहेको हिंसा अन्त्यका लागि विगतभन्दा फरक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि हरेक अभियान र सचेतनामूलक कार्यक्रमहरूमा महिला र पुरुषहरूको समान सहभागिता गराउने योजना अनुसार काम गर्न थालेको उहाँ बताउनु हुन्छ । ‘सन्धान’ सँगको कुराकानीमा उहाँ भन्नुहुन्छ, “अब महिला–महिलाबिच मात्रै कुरा गरेर हिंसा अन्त्य हुँदैन, अधिकांश हिंसा पुरुषबाट हुने गरेको तथ्याङ्कहरूले देखाएकाले पीडक र पीडित दुवै पक्षलाई सचेत गराउनुपर्छ ।” हरेक जिल्लामा महिला तथा बालबालिका समन्वय इकाई स्थापनाका लागि पनि मन्त्रालयले काम गरिरहेको मन्त्री रेग्मीको भनाइ छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँगकाे कुराकानीकाे अडियाे

याे पनि पढ्नुहाेस्

सन्धान, प्रकाशन मिति २०७९ मंसिर ९ गते शुक्रवार


Previous articleलाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल
Next articleलैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडिया‍े/फोटो फिचर)