सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान
मकवानपुरकी एक महिला २९ वर्षको उमेरमा एचआइभी सङ्क्रमित हुनुभयो । सङ्क्रमणका कारक उहाँका श्रीमान् हुनुहुँदो रहेछ । आफू सङ्क्रमित भएको २०६५ सालमा थाहा पाउनुभयो । एचआइभी सङ्क्रमित श्रीमान्काे मृत्यु भएपछि उहाँलाई पनि एचआइभी परीक्षण गर्न लगाइयो । त्यति बेला उहाँहरूबाट एक सन्तानको जन्म पनि भइसकेको थियो । परीक्षण गर्दै जाँदा उहाँ र सन्तान दुवैलाई एचआइभी सङ्क्रमण भइसकेको देखियो ।
एचआइभी सङ्क्रमित तिनै एकल महिलाका अनुसार, बिहे गर्नुअघि त्यसबारे सोधखोज हुने कुरै थिएन, शङ्का पनि भएन । बिहे गरेपछि मात्रै आफूले श्रीमान् एचआइभी सङ्क्रमित भएको थाहा पाएको उहाँले बताउनुभयो । त्यति बेलासम्म आफू जोगिनका लागि ढिला भइसकेको उहाँले पछि मात्र चाल पाउनुभयो ।
एकातिर श्रीमान्काे मृत्यु र अर्कोतिर श्रीमान्बाटै आफू र आफूबाट सन्तानमा एचआइभी भाइरस सरिसकेको चाल पाउनु एकैपटक भयो । त्यसपछि उहाँमाथि अरू खालका हिंसा र दुर्व्यवहार थपिए । एचआइभी सङ्क्रमित एकल महिलाले परिवार र समाजमा भोग्नुपर्ने हिंसा र दुर्व्यवहारको सिकार र साक्षी हुुनुभयो । उहाँ र सन्तानले परिवारका सदस्यहरू, आफन्त, साथीभाइ सबैको छिः छिः र दुरदुर सहनुपर्यो ।
रोग सार्ने श्रीमान् तर दोष पाउने आफू भएपछि उहाँमा शारीरिक र मानसिक असरहरू पर्दै गए । सन्तानको जिम्मेवारी उहाँकै एकल काँधमा थियो । परिवारले पैतृक सम्पत्ति पनि नदिने भइसकेपछि गुजारा चलाउनै गाह्रो भयो । त्यसपछि उहाँ एचआइभी सङ्क्रमितहरूको अधिकारका लागि काम गर्ने सङ्घसंस्थाको नजिकमा जानुभयो ।
कुरा २०६७. सालको हो । उहाँको सङ्क्रमित जीवनले नयाँ मोड लियो । उहाँ आफू जस्ता एकल महिला र तिनका एचआइभी सङ्क्रमित सन्तानका लागि काम गर्दै आएको एउटा संस्थामा सचेततापूर्वक काम गर्न पुग्नुभयो । हालै उहाँ सङ्क्रमितको क्षेत्रमा काम गर्ने संस्थामा आबद्ध भएर सङ्क्रमित महिलाहरूको अधिकारका लागि काम गरिरहेको अवस्थामा ‘सन्धान’ को सम्पर्कमा पनि आउनुभएको थियो । महिला हिंसाका विविध रूप, पक्ष र पाटाहरूलाई खोतल्ने क्रममा उहाँको जीवनभोगाइ र अरू सङ्क्रमित महिलाहरूको अवस्थाका बारेमा उहाँको अवलोकन र जानकारी के छ भनी बुझ्न २०८१ मङ्सिरको दोस्रो साता टेलिफोनमार्फत उहाँसँग कुराकानी गरिएको थियो । प्रस्तुत छ, श्रीमान्बाटै एचआइभी सङ्क्रमित एकल महिला तथा कार्यरत संस्थाका सचिवसँग ‘सन्धान’ का तर्फबाट प्रणेताले गर्नुभएको सोही कुराकानीको अंश :
तपाईं र तपाईंले गर्ने कामको बारेमा बताइदिनुस् न !
म आफैँ पनि एचआइभी सङ्क्रमित हुँ । म जस्तै अरू दिदीबहिनीहरूको सशक्तीकरणको विविध पाटोमा काम गर्ने एउटा संस्थामा सचिव छु । व्यक्तिगत एवं पारिवारिक कुरा गर्ने हो भने मेरो श्रीमान् र म दुवै जना अनि हाम्रो एक जना सन्तानसमेत एचआइभी सङ्क्रमित हौँ ।
यो (एचआइभी सङ्क्रमणका) विषयमा कुरा गर्नुपर्दा, म १७/१८ वर्ष अगाडिको माहोल सम्झिन्छु । मलाई श्रीमान्बाट एचआइभी सरेको हो । बिहे गरेपछि मात्रै मैले उहाँ सङ्क्रमित हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ । मसँग ढाँटेर उहाँले बिहे गर्नुभएको रहेछ ।
सङ्क्रमित भइसकेपछि आफन्त, परिवारको व्यवहार कस्तो भयो ?
सबैबाट धेरै फरक व्यवहार हुँदोरहेछ । आफन्तहरू नै डराए । स्वास्थ्यको हिसाबले आफू बिरामी भइराख्ने, मानसिक तनाव हुने भयो । हाम्रो बच्चा पनि थियो । उसलाई पनि नछुने । उसलाई काखमा लिँदा पनि डराउने । छिः छिः र दुरदुरको अवस्था हुन्थ्यो । हामीलाई पैतृक सम्पत्ति दिनु भएन । ‘सङ्क्रमित छ, ऊ मरिहाल्छ, किन चाहियो र ?’ भन्थे । म मात्रै बाँचिरहेँ भने ‘अर्को बिहे गरिहाल्छ, हाम्रो सम्पत्ति कसले खान्छ कसले’ भन्थे । पैतृक सम्पत्ति पाउनसमेत श्रीमान् र मैले विभिन्न समस्या भोग्न पर्यो । लाञ्छनाहरू लगाइयो । त्यसमाथि एकल भइसकेपछिको त कुरै नगरम् ।
समाजको व्यवहार कस्तो हुँदो रहेछ ?
आफन्तहरूले भोजभतेर हुँदा नबोलाउने, साथीहरूले पनि नबोलाउने । कसैबाट पनि (एचआइभी) सङ्क्रमित भनेर भोजभतेरमा सामेल नगराउने । ‘तँलाई बोलाए एड्स सर्छ’ भनेर एक्ल्याइन्छ । कार्यस्थलमा पनि एचआइभी सङ्क्रमित भन्ने थाहा पाएपछि एक्ल्याइन्छ ।
हाम्रो संस्थाको एक जना सदस्य साथी एक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । उहाँको वास्तविक अवस्था थाहा नपाउन्जेलसम्म सबै जना साथी हुने भए, डाक्टर नर्सले पनि तपाईंले ल्याएको खाजा एकदम मिठो हुन्छ दिदी भन्दै खान्थे तर जब पछि सङ्क्रमित हो भन्ने थाहा पाए, त्यसपछि खाजा खान नभेट्ने मात्रै होइन विभिन्न बहाना बनाएर टाढिए । यस्तो व्यवहार निरन्तर भएपछि ती साथी कामबाट निक्लिन बाध्य हुनुभयो ।
एक्ल्याउने व्यवहारले सङ्क्रमितमा कस्तो असर पर्दो रहेछ ?
सबैतिरबाट अपमानित र एक्लो हुनुपर्दा सङ्क्रमितलाई सधैँ मानसिक हिंसा भइरहन्छ । एचआइभीको सङ्क्रमणभन्दा सबै जनाको अपमानपूर्ण व्यवहारले बढी आत्मग्लानि हुन्छ ।
यसबारे तपाईंले देखेभोगेका कुरा भन्न चाहनुहुन्छ ?
हामीले संस्थामार्फत काम गर्दा धेरै थरिका समस्या भोग्नुभएका दिदीबहिनी भेटिनुहुन्छ । श्रीमान्लाई एचआइभी छ तर श्रीमतीलाई छैन भने श्रीमतीले जसरी भए पनि सहनै पर्ने, स्विकार्नै पर्ने परिस्थिति हुन्छ ।
सासूससुराले छोरालाई एचआइभी छ भन्ने थाहा भइसकेर होला, श्रीमान्कै परिवारबाट चाहिँ मैले त्यत्ति धेरै हिंसा भोग्नु परेन । प्रायः परिवारमा छोराको गल्ती देखिँदैन । तर, सासूससुराले चाहिँ छोराकै गल्ती छ भन्ने स्विकारेको अवस्था थियो ।
तर, बिरामी पर्दासमेत हामीलाई आफन्तले छुँदै नछुने, अस्पताल नलग्ने, उपचार नगर्दिने भयो । त्यस्तो गरेकाले सङ्घसंस्थामा जानुपर्ने खालको अवस्था बन्यो । यसरी हामीले विगतदेखि नै विभिन्न खालका हिंसाहरू भोगिरहेका छौँ ।
तपाईंले संस्थामार्फत एचआइभी सङ्क्रमित महिलाहरूसँग काम गर्दा धेरैलाई भेट्नुहुँदो रहेछ, उहाँहरूले के कस्ता हिंसा भोग्नुपरेको रहेछ ?
सङ्क्रमित महिलाहरूले विभिन्न खालको हिंसा भोग्नुभएको हुन्छ । श्रीमान्–श्रीमती दुवै जना सङ्क्रमित भए पनि महिलामाथि श्रीमान्, उसको परिवार र आफन्तबाट बढी हिंसा हुन्छ । त्यस्तै, दुवै जना सङ्क्रमित भएको दम्पतीमा यौनसम्बन्धको विषयमा पनि कुरा नमिल्ने र श्रीमान्ले श्रीमतीलाई शारीरिक, मानसिक यातना दिएका हुन्छन् । शारीरिक सम्पर्कका बेला पनि भाइरसको सङ्ख्या एकको अर्कामा सरेर बढ्छ । यसैले ‘कन्डम प्रयोग गरेर सुरक्षित होऔँ’ भन्दा श्रीमान्ले नमान्ने गरेको पीडा धेरैले सुनाउनुहुन्छ । त्यस्तै, यौनसम्बन्ध राख्दा श्रीमान्ले आफूले भने जस्तो भएन भनेर श्रीमतीलाई पिट्ने गरेको, यौनहिंसा र यातना दिने गरेको र महिलाले त्यस्तो भोगेको पनि सुनिन्छ । कतिले ‘तैँले धेरै जनासँग यौनसम्पर्क राखेर यस्तो भयो’ भनेर श्रीमतीलाई आरोप लगाउने, पिट्ने पनि गर्छन् । श्रीमान्बाटै श्रीमती सङ्क्रमित भए पनि परिवार र समाजमा उल्टै श्रीमतीलाई लाञ्छना लगाउने परिपाटी पनि छ ।
मकवानपुरमा एचआइभी सङ्क्रमित एकल महिलाहरू मेरो सम्पर्कमा हुनुहुन्छ । उहाँहरूले आफूलाई खासगरी परिवारबाट खान लाउन नदिने, एक्लै राखिदिने, अंश नदिने जस्ता हिंसा र विभेद खेप्नुपरिरहेको छ । श्रीमान्श्रीमती दुवै जना सङ्क्रमित भएकाको सङ्ख्या थोरै छ । श्रीमान्हरू सँगै हुँदा पनि मादक पदार्थ अधिक सेवन गर्ने, घरको वास्ता नगर्ने, श्रीमतीलाई मानसिक ‘टर्चर’ दिने गरेको पाइन्छ । सबै जिम्मेवारी लिएर सङ्क्रमितका श्रीमतीले घरपरिवार सम्हाल्नुपर्ने अवस्था पनि छ । श्रीमान् हुने एक–दुई जना सङ्क्रमित महिलाहरू हुनुहुन्छ । उहाँहरूले श्रीमान्बाट हिंसा खेप्नुभएको छ ।
सङ्क्रमित महिलामाथि हिंसा हुन नदिनका लागि कसले के गर्नुपर्ला ?
सन् २००२ देखि अहिले २०२४ सम्म आइपुग्दा दातृ निकायहरूमा एचआइभी सङ्क्रमितहरूका लागि बजेट छँदै छैन वा अति न्यून छ भन्दा हुन्छ । सन् २०३० सम्म पाँच प्रतिशत सङ्क्रमितहरूले एआरटी (एन्टिरेट्रोभाइरल थेरापीका औषधिहरू) खाएको हुनुपर्ने, उनीहरूको भाइरस परीक्षण र लुकेर बसेका पाँच प्रतिशत सङ्क्रमितहरूलाई उपचारको दायरामा ल्याउने भनिएको छ । तर, बजेट भने एकदमै कटौती भएको छ ।
पहिले जति जनचेतनाका कार्यक्रमहरू पनि अहिले छैनन् । यस्ता कार्यक्रमहरू सरकार पक्षबाट अझै बाक्लोसँग गरिनुपर्छ । दातृ निकाय, नागरिक समाजलगायत सङ्घसंस्थामा आबद्धहरूले पनि जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्यो । हामी जुन समाजका बसेका छौँ, त्यहाँ एचआइभीको जोखिम र यसबाट बच्ने तथा सङ्क्रमित भइसकेकाप्रति गरिने व्यवहार र सोच बदल्ने कार्यक्रमहरू ल्याउनुपर्छ ।
श्रीमान्बाटै सङ्क्रमित भए पनि श्रीमतीलाई दोष लगाउने क्रम रोक्नका लागि कसले के गर्न सक्छन् होला ?
पारिवारिकरूपमा हुने हिंसा कम गर्न पनि जनचेतनाकै आवश्यक पर्छ । मलाई समाजमा बस्नै गाह्रो भएको बेलामा हाम्रो संस्थाले अघिल्लो वर्ष मेरो बसोबास क्षेत्र आसपासमै पुगेर दुई–चार जना साथीहरूलाई ‘एचआइभी कसरी सर्छ ? यसको कानुनी व्यवस्थाहरू कस्तो छ ?’ भनेर कार्यक्रम गरेपछि मलाई समाजमा बस्नका लागि सहज भएको थियो । हाम्रा अन्य साथीहरूलाई पनि जुन जुन ठाउँमा हिंसा भएको छ, त्यहाँ गएर टोलछिमेक, परिवारै राखेर जनचेतनाको कार्यक्रमहरू गर्दा हिंसा र भेदभावको अवस्थामा कमी आएको थियो । नागरिक समाज र राज्यले पनि एचआइभी सङ्क्रमित पनि एउटा नागरिक हो भनेर बुझ्न सक्नुपर्छ ।
प्रकाशन मिति : २०८१ मंसिर १६ गते, आइतवार
याे पनि पढ्नुहाेस्
- राजनीतिमा अपाङ्गता भएका महिलाहरूको पहुँच बढाउन माग (फोटो फिचर)
- हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्ने
- अटिजम अवस्थाकी छोरीका आमालाई बढी पिर
- रोकौँ अपाङ्गता भएका महिलामाथिका हिंसा र जोखिम
- बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु
- राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)
- हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)
- लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडियाे/फोटो फिचर)