Home Stories ७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)

७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)

726
0

कला साहित्यमा मिथिला कलाको महत्त्वपूर्ण स्थान छ । मैथिली भाषा बोलिने मधेश प्रदेशको विभिन्न जिल्लाका गाउँ र सहरमा प्रचलनमा रहेको मिथिला चित्रकलाको इतिहास पाँच हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । मिथिला कला अर्थात् ‘मिथिला आर्ट’ को मौलिकता, विशेषता र महत्त्व छुट्टै किसिमको छ । जन्मदेखिका संस्कार र संस्कृतिहरूमा मिथिला कला आवश्यक पर्छ । मिथिला कलालाई मानिसको जीवनशैलीकै नमुना पनि मानिन्छ ।

मिथिला कलाको अर्को महत्त्वपूर्ण पाटो मैथिल कलाकारहरू हुन् । कलाकारमा मुख्यतः महिलाहरू छन् । शिक्षाका लागि विद्यालय जान र कलाको क्षेत्रमा पनि केही पढ्न, बुझ्न मौका नपाए पनि धेरै महिलाहरूले आमा र हजुरआमाबाट मिथिला चित्रकलाको सिप सिकेर त्यसलाई निरन्तरता दिइरहेका छन् । ‘छोरीलाई पढाउने चलन थिएन । दाजुभाइ स्कुल जान्थे । आमाले चित्र बनाएको हेर्दाहेर्दै आउँथ्यो,’ अलि पाका उमेरका मैथिल कलाकारहरूको यो साझा अनुभव हो । तिनैमध्ये कतिपय महिलाले घरबाहिर निस्किने आँट गरेर यो सिपलाई व्यावसायिक बनाइरहेका छन् ।

मिथिला कलाको सिपलाई व्यावसायिक बनाउनेमध्येकी एक हुनुहुन्छ, मन्जुला ठाकुर । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ की उहाँ अहिले ६१ वर्ष हुनुभयो । २०४८ सालदेखि उहाँको दैनिकी नारी विकास केन्द्रमा दिनभरि पेन्टिङ गर्नु रहेको छ । उहाँ ६/७ वर्षको हुँदादेखि नै आमाबाट यो सिप सिकेको स्मरण गर्नुहुन्छ ।

मन्जुलाको १२ वर्षको उमेरमै बिहे भयो । त्यसपछिका २० वर्ष उहाँले सन्तान जन्माउँदै, हुर्काउँदै र बुहारीको भूमिकामा घुँघटभित्रै बसेर बिताउनुभयो, चित्र कोर्न पाउनुभएन । सन्तान हुर्किंदै गएपछि भने घरमा बस्दा चित्र कोर्न थाल्नुभयो । त्यसरी बनाएको उहाँको एउटा ‘पेन्टिङ’ २०४३ सालमा एक विदेशी नागरिकले ७० रुपैयाँमा किनेर लगे । त्यो चित्रको बिक्रीले उहाँको जीवनमा नयाँ मोड ल्यायो । आफ्नो कलाबाट ७० रुपैयाँ हातमा परेको दिन सम्झिँदा अहिले पनि उहाँलाई गर्व लाग्छ, घरभित्रको जीवनबाट निस्किएर संसार नै पुग्ने दिन सुरु भएको भन्ने पनि लाग्छ । उहाँमा ससुराको हौसलाले थप चित्र कोर्न र चित्रकारिताकै लागि विभिन्न ठाउँमा जाने आँट पनि आयो । उहाँले श्रीमान् र सासूको सहयोग भने पाउनुभएन । सुरुका दिनमा मात्रै होइन, श्रीमान् बाँचुन्जेल आफूले सहयोग र हौसलाको सट्टा दुःख र पीडा मात्रै पाएको दुःखद अनुभूति उहाँसँग छ । तर, ससुराको कारण उहाँले २० वर्षको घुँघटभित्रको बुहार्तनको भूमिकाबाट मुक्त भएर चित्रकलाबारे थप शिक्षा लिन विभिन्न ठाउँमा जान पाउनुभयो । देशमा मात्रै होइन, विश्वका ठुला देशहरूमा पनि धेरै पटक पुग्ने अवसर पाउनुभयो । आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनुभयो ।

मञ्जुला अचेल धनुषाकै पुराना महिला कलाकारहरूले नै सुरु गरेको नारी विकास केन्द्रमा दिनदिनै पुग्नु हुन्छ । थरिथरिका चित्र कोर्नु हुन्छ र घर फर्किनु हुन्छ । केन्द्रको स्थापनादेखि नै त्यसमा आबद्ध हुनुभएका उहाँले संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । झन्डै चार दशकदेखि चित्रकारिता गर्दै आउनुभएकी उहाँको अनुभवमा अहिले मिथिला चित्रकलाले व्यावसायिक रूप त पाएको छ तर अझै पनि सरकारी स्तरबाट सहयोग भएको छैन ।

केही दिनअघि मात्रै जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित नारी विकास केन्द्र पुगेर ‘सन्धान’ टोलीले उहाँसँग भेट्यो । उहाँको जीवन भोगाइ र चित्रकलाको बारेमा नजिकबाट बुझ्न खोज्यो । प्रस्तुत छ, मिथिला कलाका सर्जक मन्जुला ठाकुरसँग लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानी :

प्रकाशन मिति : २०७९ भदाै १, बुधवार ।


Previous articleपच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद
Next articleबिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)