मधुमाला मण्डल २८ वर्षदेखि मिथिला कलाकारको रूपमा सक्रिय हुनुहुन्छ । धनुषा जिल्लाको साविक जनकपुरधाम उप–नगरपालिका वडा नम्बर १२ कुवामा जन्मेकी उहाँले सानो छँदा आमाबाट चित्रकला सिक्नुभयो । त्यही सिपले उहाँ अहिले मिथिला कलाकार भनेर चिनिन सफल हुनुभएको छ । उहाँ चित्रकारी (पेन्टिङ) को काम गर्दै विभिन्न जिल्लामा तालिम दिन पनि जाने गर्नु हुन्छ । कुनै बेला घुम्टोभित्रै जीवन बिताउन बाध्य उहाँले कलाकारकै रूपमा देशविदेशको भ्रमण पनि गरिसक्नुभएको छ । ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गरेको कुराकानीमा आधारित मण्डलको अनुभव र जीवनभोगाइ :
बाल्यकाल
मेरो घर धनुषाको जनकपुर १२ कुवामा हो । म ४८ वर्षकी भएँ । मेरा दाजुभाइ विद्यालय जान्थे । मलाई पढ्न जान दिइएन । म पनि स्कुल जान्छु भन्थेँ तर छोरीले घरको काम गर्नुपर्छ भनेर पठाउनुभएन । बाध्य भएर घरमै बस्थेँ । आमासँगै काम गर्थें । आमाले सिकाएको कुरा सिक्दै अघि बढेँ । आमाले कसरी घर आँगन लिप्ने, कसरी ओदान मिलाएर लिप्ने, बिहेपछि श्रीमान्को घरपरिवारका सदस्यहरूलाई कसरी सत्कार गर्ने, सासू, ससुरा र श्रीमान्लाई कसरी खुसी बनाउने भनेर पनि सिकाउनु हुन्थ्यो । सबै काम जान्नुपर्छ, नत्र तिम्रो माइतीमा केही सिकाएनछ भन्छन् भनेर आमाले भन्नुहुन्थ्यो ।
आमाले चित्र पनि बनाउनु हुन्थ्यो । त्यही हेरेर मैले पनि चित्र बनाउन सिकेँ । पहिलो पटक मैले फूल बनाएको याद छ । साहै्रै खुसी लागेको थियो । त्यसपछि घोडाको, हात्तीको र अरू विभिन्न चित्रहरू बनाएँ । आमाले चित्र बनाउन चुना र रङहरू ल्याइदिनु हुन्थ्यो । मैले बनाएको चित्र देखेर सबैले ‘मेरो घरमा पनि बनाइदिनु’ भन्थे । म चित्र बनाइदिन अरूको घरमा पनि जान्थेँ। चित्र बनाएर र घरको काम गरेरै बित्यो मेरो १३ वर्ष ।
माइतीमा हुँदा सुरुवाल र ब्लाउज लगाउने गरेकी थिएँ । बिहेपछि कपडा पनि सारी मात्रै लगाउनुपर्ने । टाउकोबाट घुँघट निकाल्नै नहुने । मलाई भने त्यो घुँघटको भारले थिचे जस्तो लाग्थ्यो ।
बिहेपछिका दिन
मेरो बिहे १३ वर्षको उमेरमा भयो । उमेर सानो भए पनि बिहेपछि घरमा धेरै काम गर्नुपर्थ्यो । बिहेको चौथो दिन ‘छथियार’ को दिनमा मलाई घरको सबै जिम्मेवारी दिइयो । चुलो छुवाइयो । यसो गरेपछि घरभित्रका कामको सबै जिम्मेवारी ममा आएको भन्ने हुन्थ्यो ।
माइतीमा हुँदा सुरुवाल र ब्लाउज लगाउने गरेकी थिएँ । बिहेपछि कपडा पनि सारी मात्रै लगाउनुपर्ने । टाउकोबाट घुँघट निकाल्नै नहुने रहेछ । मलाई भने त्यो घुँघटको भारले थिचेको जस्तो लाग्थ्यो । सारी र घुँघटको पीडाले म आत्तिन्थेँ । कति पटक त एक्लै बसेर रोएकी पनि थिएँ ।
आमाले सासू, ससुरा, देवर सबैलाई सत्कार गर्नुपर्छ भनेर सुनाइराख्नु हुन्थ्यो । सकिनसकी, जानिनजानी आमाले भनेको कुरा सम्झिँदै काम गर्थें । घरमा ठुलो काम नगरेकी मैले ससुरालमा ढिकीमा धान कुट्नुपर्थ्यो । घरमा गर्नुपर्ने काम धेरै गाह्रो भएर गर्नै नसक्ने भएँ । श्रीमान्को पनि केही कमाइ थिएन । यी सबै कुरा माइतीमा आमा र दाजुभाइलाई भनेँ । त्यो घरमा काम गरेर बस्न नसक्ने कुरा पनि सुनाएँ ।
मेरो कुरा आमाले मान्नुभयो । म चार वर्षसम्म माइतीमै बसेँ । त्यो बसाइले मलाई चित्र बनाउन थप सहयोग पुग्यो । त्यसबिचमा भाइलाई स्याहार गर्ने, आँगनहरूमा लिपेर सुगा, मयुर, घोडा, हात्ती जस्ता जनावर तथा चराहरूको चित्र बनाउने गर्थें । अहिले सम्झिँदा त्यो चित्र बनाउन नजानेको भए झन् धेरै दुःख पाउँथे जस्तो लाग्छ ।
एक साल दीपावलीमा सासुआमाले चित्र बनाउन भन्नुभयो तर सामान ल्याउन मलाई बाहिर जान दिइएन । तिम्रो बुहारी कस्तो सबैलाई अनुहार देखाउँछ भनेर अरुले भन्छन् भनी सासूले नै चित्र बनाउने सामान ल्याइदिनुभयो ।
जागिर खान परिवारसँग सङ्घर्ष
चार वर्षपछि श्रीमान्को परिवारका सदस्य आएर मलाई घर लैजानुभयो । म पनि अलि ठुली भइसकेकी थिएँ । घरको काम पनि धेरै सिकिसकेकी थिएँ । म घरबाट बाहिर कतै पनि निस्किन्नँथेँ । घुँघटमा नै बस्ने र घरको काम गर्ने । एक साल दीपावलीको बेला थियो । आँगनमा चित्र बनाउन चुनालगायतका सामानहरू ल्याइदिन सासूआमालाई भनेँ । सामान ल्याउन मलाई बाहिर जान दिइँदैनथ्यो । बाहिर गयो भने सबैले देख्छन्, तिम्रो बुहारी कस्तो सबैलाई अनुहार देखाउँछ भनेर भन्छन् भनी सासूले नै चित्र बनाउन चाहिने सामान ल्याइदिनुभयो ।
मध्यरातमा आँगनमा चित्र बनाएँ
चित्र बनाउन सासूले रङहरू त ल्याइदिनु हुन्थ्यो तर दिउँसो चाहिँ चित्र बनाउन दिनुभएन । अरूले देख्ने गरेर चित्र बनाउनु हुँदैन भन्नुहुन्थ्यो । यस्तो सुन्दा सारै दुःख लाग्थ्यो । तर, मलाई चित्र बनाउन मन लाग्ने भएकाले राति पनि बनाउँथे । मैले धेरै चित्रहरू मध्यरातमा बनाएको छु । सबै जना सुतेको समय पारेर चित्र बनाउँथेँ । भोलिपल्ट बिहान चित्र देखेर वल्लोपल्लो घरका छिमेकीहरूले सासूलाई सोध्थे । उहाँले मेरो बुहारीले बनाएको भन्नुहुन्थ्यो ।
दीपावलीको केही दिनपछि हाम्रो घरमा एक जना अमेरिकी महिला आउनुभयो । मेरो चित्र देखेर ‘कसले बनाएको हो ?’ भनेर सोध्नुभयो । मेरी सासूले ‘बुहारीले बनाएको’ भनेपछि ती अमेरिकीले गाउँमा नारी विकास केन्द्र भएको जानकारी दिनुभयो । त्यहाँ पेन्टिङ गर्ने, चित्र बनाउनेको खोजी भइरहेको जानकारी दिएर तपाईंको बुहारीलाई त्यहाँ कामका लागि पठाउनु हुन्छ ? भनेर सासूलाई सोध्नुभयो ।
सासूलाई भने त्यो कुरा मन परेन । उहाँ रिसाउँदै मेरो बुहारी कहीँ पनि जाँदैन, बुहारीले अफिसमा कामसाम गर्दैन, अरूले देख्छ भन्दै कराउनुभयो । मलाई भने काम गर्न जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । मैले श्रीमान्लाई त्यो कुरा भनेँ । त्यस पटक भने श्रीमान्ले मलाई साथ दिनुभयो । उहाँले भनेपछि सासूबाट पनि ‘हुन्छ’ भन्ने कुरा आयो । अब अफिसमा काम गर्न जान पाउने भएँ भनेर धेरै खुसी भएँ ।
कलाकारकै काम, पैसा र खुसी पाएँ
पहिलो पटक २०५१ सालमा म जनकपुर नारी विकास केन्द्रको अफिसमा पुगेँ । त्यहाँ एक जना चौकिदारलाई भेटेर ‘यहाँ पेन्टिङ गर्ने मान्छे खोज्नुभएको हो ?’ भनेर सोधेँ । उहाँले ‘तिमीलाई काम आउँछ भने अन्तर्वार्ता दिन आउनू’ भन्नुभयो । तर सासूससुराले काम गर्न जान नदिन फेरि बहानाबाजी गर्न थाल्नुभयो । त्यस्तो ठाउँमा काम गर्न पढेलेखेका, धेरै बोल्न जान्ने हुनुपर्छ । तिमी नपढेको मान्छे, सक्दैनौ नजाऊसम्म भन्नुभयो ।
मैले श्रीमान्सँग कुरा गरेँ । श्रीमान्ले सासूससुरासँग ‘अहिलेका लागि जान दिउँ । अन्तर्वार्तामा पास भए ठिकै छ, नभए घरमै आउने हो’ भनेपछि सासूले पनि ‘हुन्छ’ भन्नुभयो । मैले अन्तर्वार्तामा जान पाएँ ।
चित्र बनाएर पहिलो पटक काम गरेको पारिश्रमिक चार सय रुपैयाँ पाएँ । त्यो पैसा हातमा पर्दाको खुसी बयान गर्नै सक्दिनँ ।
अन्तर्वार्ताअघि जसले सबैभन्दा छिटो र राम्रो पेन्टिङ बनाउन सक्छ, उसले काम पाउँछ भनियो । अनि पेन्टिङका लागि सबै सामानहरू हामीलाई दिइयो । मैले पेन्टिङ बनाउन सुरु गरेँ । बिग्रियो भने मेटाउने कुरा (इरेजर) दिएको रहेनछ ! पछि थाहा भयो, हामी कत्तिको चलाख छौँ भनेर बुझ्न खानेकुरा जस्तो आकारको मेटाउनी सामान दिइएको रहेछ । मैले त ‘पछि खान्छु’ भन्ने सोच्दै राखेको थिएँ । त्यो कुरा सम्झिँदा अहिले पनि हाँसो लाग्छ । त्यस्तो अलमल भए पनि मैले समयमै पेन्टिङ बनाएँ ।
पेन्टिङ बनाएपछि अन्तर्वार्ता भयो । मैले छानिएर काम पाएँ । अब म कलाकार हुने भएँ भन्ने सोचेँ । कलाकारसँगै केही पैसा पनि कमाउन सक्ने भएँ भन्ने सोचेर धेरै खुसी भएँ । मेरो त्यस्तो खुसीमा परिवारका सदस्यको भने खुसी मिसिएन । त्यही पनि मैले घरको काम सकेर पेन्टिङको काम गर्न थालेँ । त्यसरी चित्र बनाएर पहिलो पटक काम गरेको पारिश्रमिक चार सय रुपैयाँ पाएँ । त्यो पैसा हातमा पर्दाको खुसी बयान गर्नै सक्दिनँ ।
पेटमा बच्चा, घरको काम र पेन्टिङ जब
म पहिलो पटक २० वर्षको उमेरमा गर्भवती भएँ । अफिसमा पेन्टिङको काम त छँदै थियो । घरको काम पनि पूरै मेरै जिम्मामा हुन्थ्यो । खेतबारीको काम पनि गर्नुपर्ने । मैले धेरै सङ्घर्ष गरेर यो पेन्टिङको कार्यलाई निरन्तरता दिएको हुँ । श्रीमान्को जागिर थिएन तर पनि कहिल्यै घरको काममा नसघाउने । हाम्रो आफ्नो जग्गा पनि थिएन । अरूको खेतमा काम गर्थ्यौं । दिउँसोभरि पेन्टिङको काम अनि साँझबिहान घर र खेतबारीको काम । त्यो पनि अधियाँमा । त्यति गर्दा पनि खानलाउन धौधौ हुन्थ्यो ।
पेटमा बच्चा बोकेर घर र पेन्टिङको काम गर्थें । पछि छोरा जन्मियो । छोरा बोकेरै ती सारा काम गरेँ । धेरै गाह्रो हुँदा माइतीमा गएर आमालाई मलाई किन नपढाएको भनेर धेरै पटक सोधेँ । पढ्न नपाएकोमा मलाई अहिलेसम्म पनि पछुतो छ । आमाले पनि छोरी पढाउन नपाएकोमा धेरै पछुतो लागेको छ भन्नुहुन्थ्यो । आफूले पढ्न नपाएको भएर होला, छोरी जन्मी भने समाजसँग लडेर भए पनि छोरीलाई पढाउँछु भन्ने लाग्थ्यो ।
पहिलो बच्चा दुई वर्षको हुँदा मेरो फेरि पेटमा बच्चा बस्यो । अब त झन् एउटा पेटमा र अर्को पछाडि बोकेर सबै काम भ्याउनु मेरो दैनिकी भयो । यस्तै सङ्घर्षसँगै दोस्रो छोरा जन्मियो ।
तलब पनि चार सयबाट पाँच सय रुपैयाँ भयो । तलब थोरै भए पनि बढिरहेको थियो । जीवनमा थोरै भए पनि हल्का महसुस भएको थियो ।
पछि छोराहरू पनि पढ्न जाने भए । आफ्नै पैसाले पढाएँ, रामपुर स्कुलमा । छोराहरू पढ्न जाने भएपछि घरव्यवहार र घरखर्च सबै आफैँले गर्नुपर्थ्यो । श्रीमान्लाई ‘तपाईं पनि काम गर्नूस् बच्चाहरू पढाउन, घरखर्च चलाउन मेरो मात्रै कमाइले गाह्रो भयो’ भनेँ । त्यसपछि श्रीमान्ले पनि पाएको काम गर्न थाल्नुभयो ।
एकदिन आफ्नै जीवनका कथा पनि पेन्टिङमा उतार्न पर्यो भनेर सोचेँ र उतारेँ । पेटमा बच्चा, काखमा पनि बच्चा, टाउकोमा धानको भारी, अफिसको काम यस्तै सबै कुरालाई समेटेर पेन्टिङ बनाएको छु ।
श्रीमान्ले पनि अलिअलि कमाउन थालेपछि केही पैसा जम्मा भयो । अरू केही सापटी गरेर पान पसल खोल्नुभयो । पछि फेरि एक छोरी र अर्को छोरा जन्मिए । पसलबाट पनि केही पैसा आम्दानी हुन थाल्यो । म पनि महिनामा पाँच सय कमाउँथे । अब अलि सुखको सास फेर्न सकियो ।
पछि तलब नौ सय रुपैयाँ पुग्यो । त्यसपछि हजार, बाह्र सय हुँदै तेह्र सय रुपैयाँमा धेरै वर्ष काम गरेँ । बुढाको पनि कमाइ अनि आफ्नो पनि केही तलब बढेपछि मनमा केही शान्ति मिल्यो । श्रीमान् र आफ्नो कमाइले पहिलेभन्दा हाम्रो दिनचर्या राम्रैसँग फेरिएको छ ।
यसबिचमा सन्तोष साह मेनेजर भएर आउनुभयो । उहाँको पालोमा तलब बढेर महिनामा तीन हजार रुपैयाँ भयो । त्यसपछि मनमा झन् हौसला थपियो । अझै धेरै मेहनत गर्न थालेँ । पेन्टिङका लागि नयाँ आइडियाहरू निकाल्न बाहिरतिर जान्थेँ ।
आफ्नै जीवनकथा पनि पेन्टिङमा
मैले गाडी चालक, सहचालक अनि मानिसहरू कसरी गाडीमा चढ्छन् र ओर्लिन्छन् भनेर सबै हेरेर पेन्टिङमा उतार्थें । एकदिन आफ्नै जीवनका कथा पनि पेन्टिङमा उतार्न पर्यो भनेर सोचेँ र उतारेँ । पेटमा बच्चा, काखमा पनि बच्चा, टाउकोमा धानको भारी, अफिसको काम यस्तै सबै कुरालाई समेटेर पेन्टिङ बनाएँ । बच्चाहरूलाई स्याहारसुसार गरेर स्कुल पठाएको जस्ता विभिन्न गतिविधिलाई पेन्टिङमा उतारेको छु ।
२०५९ सालमा माओवादीले १६ वर्षको माहिलो छोरा मनोजलाई बेपत्ता पारिदियो । अहिलेसम्म पनि छोराको अवस्थाबारे केही थाहा छैन । यो कुराले अहिले पनि चयनको सास फेर्न सकेको छैन ।
सशस्त्र द्वन्द्वमा छोरा बेपत्ता
सबै ठिकै चलिरहेको थियो । सशस्त्र द्वन्द्वका बेला २०५९ सालमा माओवादीले माहिलो छोरा मनोज मण्डललाई बेपत्ता पारिदियो । म एउटा काम परेर बाहिर गएको थिएँ, घरमा आउँदा छोरा छैन । धेरै खोज्यौँ तर भेटिएन । बेपत्ता हुँदा छोरा १६ वर्षको थियो । अहिलेसम्म पनि छोराको अवस्थाबारे केही थाहा छैन । यो कुराले अहिले पनि चयनको सास फेर्न सकेको छैन । छोरा हराएपछि त पानीमा डुबेर मरुँ कि के गरेर मरुँ जस्तो लाग्थ्यो । आफन्त र दिदीबहिनीहरूले सम्झाउनु हुन्थ्यो । भएका दुई छोरा र एक छोरीका लागि केही गर्नुपर्छ भन्नु हुन्थ्यो । उहाँहरूको कुरा पनि हो जस्तो लाग्यो र अहिले ज्युँदो छु । सायद अफिस जाने भएर पनि होला, मलाई पनि भुल्ने ठाउँ भयो । अफिस नभएको भए त म उहिले नै मरिसक्थेँ होला भन्ने लाग्छ । काममा भुलेँ अनि मलाई धेरै जनाले सम्झाउनुभयो । छोरा बेपत्ता भएको २० वर्ष भयो । फर्केर आउँछ कि भनेर अझै आश लाग्छ ।
कलाकार बनेरै छोराछोरी पढाएँ
जेठो छोरालाई बिए पढाएँ, अहिले मास्टर छ, अरूलाई पढाउँछ । छोरीलाई पनि बिएसम्म पढाएँ । उसलाई मिथिला चित्रकला पनि सिकाएको छु । पहिले आमाले मलाई चित्र बनाउन सिकाउनुभयो । अहिले मैले छोरीलाई सिकाएको छु । हाम्रो समुदायमा छोरीलाई पढाइभन्दा पनि बिहे भएपछिको घरमा कसरी काम गर्ने भन्ने सिकाउनुपर्छ भन्ने चलन छ तर मैले छोरीलाई पढ्न पठाएँ । छोरीलाई पढ्न पठायो भनेर अरूले थरिथरिका कुरा गरे । छोरी पढाएर अब बिगार्ने भयो समेत भन्थे । मैले त्यस्ता कुरामा वास्ता गरिनँ ।
अहिले मलाई कान्छो छोराको चिन्ता छ । उसको पिठ्यूँको तल स्पाइनल ट्युमर भएको छ । केही आफूसँगको, केही ऋण सापटी गरेर पटनामा गएर अप्रेशन गरायौँ तर पनि छोराको अवस्था सुध्रिएको छैन । श्रीमान्ले पान पसल गर्दै आउनुभएको थियो । एक दिन चोरले सबै सामानहरू लगेपछि पसल छोड्नुभयो । पछि रोजगारीको लागि विदेश जानुभयो । आएर फेरि बेपत्ता छोरा खोज्नका लागि धेरै प्रयास गर्नुभयो तर अहिलेसम्म भेटिएको छैन ।
धेरै दुःख सङ्घर्ष गर्दै आएँ । अहिले जीवनले थोरै कोल्टे फेरेको छ । मेरो तलब पनि १० हजार छ । श्रीमान्ले पनि कमाउनु हुन्छ । एउटा छोरालाई पनि मास्टर बनाएँ । यस्तो हेर्दा त धेरै खुसी लाग्छ । सबैभन्दा बढी त छोरीलाई पढाउन पाउँदा खुसी छु ।
म घुँघटमै अल्झिएको भए आकाशमा उड्न पाउने थिइनँ । म जस्तै बाहिर आउनूस् । आफ्नो जीवनमा केही न केही गर्नुपर्छ भनेर सबैलाई भन्न चाहन्छु ।
धेरै कुरा दिएको छ कलाकारिताले
म कलाकार भएकै कारण विभिन्न देशमा घुम्ने अवसर पाएको छु । धेरै जिल्लाहरूमा तालिम दिनका लागि जाने गरेको छु । पहिले घुँघटबाट बाहिर निस्कने सपना देखेको थिएँ । अहिले म देशविदेश घुम्न पाउँदा धेरै खुसी छु । गत सालको असारमा अमेरिका गएँ ।
तालिम दिएबापत पनि पैसा पाउँछु । छिमेकीहरूले हामीलाई पनि चित्रकला सिकाइदेऊ भन्छन् । यी सब कुराले आफूले राम्रो काम गरेछु भन्ने लाग्छ । गाउँघरमा छिमेकीले यसको श्रीमती, यसको बुहारी अमेरिका पुग्यो भनेको सुन्न पाउँदा मनमा आनन्द लाग्छ । पहिले काम गर्न जान्छु भन्दा रिसाउने, कराउने सासू पनि अहिले त दङ्ग हुनुहुन्छ । मेरो बुहारी यस्तो भयो, धेरै राम्रो गरेको छ भन्नुहुन्छ ।
मेरो काम देखेर छोराछोरी पनि खुसी छन् । घर चलाउनेदेखि हामीलाई पढाउने, देशविदेश पनि घुम्ने हुनुभयो भन्छन् । अहिले म पढाइसँगै आफ्नो कला सिपलाई पनि सँगसँगै अगाडि लैजानुपर्छ भनेर सिकाउँछु । पहिले पढाइ सकेर सिप सिक्ने भन्नुभन्दा पनि पढाइसँगै सिप पनि अघि बढाउनुपर्छ भन्ने लाग्छ । मिथिला कलालाई पनि अझ विस्तार गर्दै लैजानुपर्छ । यसलाई नयाँ पुस्ताले पनि जोगाउनुपर्छ । मपछि मेरा छोरीबुहारीले पनि गर्नुपर्छ । हामी जानेकाहरूले उनीहरूलाई पनि सिकाउनुपर्छ ।
पढ्नेहरूलाई पढाइसँगै आफ्नो कला, संस्कृतिलाई पनि बचाउँदै लैजानुपर्छ भन्ने सुझाव नयाँ पुस्तालाई दिन चाहन्छु । घुँघटमै अल्झिएको भए आकाशमा उड्न पाउने थिइनँ । नबोलेको भए, सङ्घर्ष नगरेको भए म कलाकार भनेर पनि चिनिने थिइनँ । यसरी घर बाहिरको संसार देख्न पनि पाउने थिइनँ । त्यसैले आफ्नो जीवनमा केही न केही गर्नुपर्छ ।
अझै पनि तराई मधेशका पढेलेखेकै महिलाहरू पनि घुँघटमा बस्छन् । त्यस्ता महिलाहरूलाई पनि म जस्तै बाहिर आउनूस्, आफ्नो जिन्दगीलाई घरभित्र सीमित नगर्नूस् भन्न चाहन्छु ।
मधेशका थप कथाहरू
- ७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)
- काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)
- ‘कुमारी नागरिकता’ भए विवाह दर्ता प्रमाणपत्र पनि बोक्नुपर्ने – सुनिता कुमारी (भिडियाे सहित)
- मैले देखेको विभेदकारी जितिया
सन्धान प्रकाशन मिति : २०७९ असाेज २६ गते, बुधवार