– शर्मिला विश्वकर्मा
एक्काइस वर्षअघि २०६० सालमा पोखराबाट पहिलो पटक काठमाडौँ आएँ । मेरो लागि काठमाडौँ बिल्कुलै नयाँ थियो । साउने सङ्क्रान्तिको दिनमा म पहिलो चोटि काठमाडौँको भृकुटीमण्डपमा रहेको अपाङ्ग सहायता कोष (हालको राष्ट्रिय अपाङ्ग काेष) मा पुगेँ । काठमाडौँ बाहिरबाट आएका अपाङ्गता भएका महिलाहरू निरु विक, राधिका श्रेष्ठ, मलगायत पाँच जनालाई कोषमै बस्ने व्यवस्था मिलाइएको थियो । हामी छमहिने निःशुल्क सिलाइ कटाइ तालिमका लागि त्यहाँ पुगेका थियौँ । निःशुल्क खान, बस्न र सिप सिक्न पाएकामा हामी दङ्ग थियौँ ।
साथीहरूले साँझतिर नजिकैको पुतलीसडक, भद्रकाली, बागबजार घुमाउँथे । एकै ठाउँमा गुजमुज्ज भएका ठुल्ठुला घरहरू, सडकै ढाक्ने गरी गाडी र साँझको झिलमिल बत्तीहरू देखेर म दङ्ग पर्दै हिँड्थेँ । बेलुका कोठामा आएर खाना खाएर एकापसमा कुराहरू साटासाट गर्थ्याैं । घर परिवारका कुरा गर्थ्याैं । यस्तै गर्दागर्दै हामी सबै साथीहरूबिच घनिष्ठता भयो ।
म पोखरामा हुँदा एफएम रेडियो सुन्थेँ । धेरैजसो कार्यक्रमको नियमित श्रोता थिएँ म । ती कार्यक्रमहरूमा साथीहरूको लागि भनेर गीत बजाइदिन अनुरोध गर्थें । त्यहीँबाट मेरा धेरै पत्रमित्र बने । पत्रमित्रहरू उत्तिकै नजिकका पनि लाग्थे । म छ महिना काठमाडौँ बस्ने भएपछि ‘म काठमाडौँ छु है’ भनेर पनि एफएममा चिठी पठाएँ । यता काठमाडौँमा हाम्रो एकैनासको दिनचर्या चलिरह्यो– दिनभरि तालिम लियो, साँझ बिहान पकायो खायो, केही समय निकालेर घुम्यो अनि सुत्यो ।
पत्रमित्रसँगको भेट
जाडो याम । पुस महिनाको एक दिन तालिम सकिएपछि एक जना केटामान्छे मलाई भेट्न आएको कुरा साथीहरूले सुनाए । म झसङ्ग भएँ । काठमाडौँको ठाउँमा मलाई भेट्न को आयो होला त ? त्यही पनि केटा मान्छे ? मनमा कौतूहल बोकेर बाहिर निस्केँ । मैले देखेँ, पातलो शरीर, अग्लो कद, कालो पछ्यौरी ओढेको मान्छे । मलाई देख्नासाथ ‘तपाईं शर्मिला हो ?’ उसले भन्यो । ‘हो, तपाईं को हो नि ?’, मैले भन्न नै नपाई उसले हतारिँदै आफ्नो परियच दियो, ‘म लमजुङको हरि श्रेष्ठ ‘विरही’ ।’ रेडियोमार्फत कागजको पानामा भावना साटासाट गर्ने मान्छेमध्येका हामी दुईको प्रत्यक्ष भेटले खुसी छायो । साँझको समय भएकाले एकैछिन कुराकानी गर्यौँ। शनिवार जावलाखेलमा भएको चिडियाखाना घुम्न जाने योजना बनाएर हामी छुट्टियौँ । त्यो बिरानो सहरमा मलाई आफ्नो ठानेर भेट्न आउँदा म ज्यादै खुसी भएँ । हामी चिडियाखानामा घुम्न पनि गयौँ । स्कुलको पाठ्यपुस्तकमा पढेको र चित्रमा देखेका जीवजन्तुहरू प्रत्यक्ष देख्न पाउँदा चिडियाखाना घुमघाम रमाइलो भयो । ऊसँग मलाई कुनै सङ्कोच लागेन ।
घुमफिर, यताउता गर्दागर्दै काठमाडौँको छमहिने सिलाइ कटाइ तालिम सकियो । त्यो बेला साथीहरूसँगको सम्झनालाई सुरक्षित गर्नको लागि अटो भर्ने चलन थियो । छुट्टिने बेलामा साथीहरूको मायारूपी अटो भर्थ्याैं । म घर फर्किंदा मसँगै दुई जना साथी पनि पोखरा घुम्न जाने भए– राधिका र हरि । मलाई अप्ठ्यारो पर्यो । घर लैजाऊँ भनेँ केटा लिएर आई भन्छन् । नलैजाऊँ भने साथीहरूको मन दुख्ला भन्ने चिन्ता ! जे होला होला भन्ने सोचेर हामी तीन जना पोखरातिर लाग्यौँ । घर पुग्दा आमा, बुबा, भाइहरू सबै जना धेरै खुसी हुनुभयो । मेरी हजुरआमाको त झन् खुसीको सीमा नै थिएन । घरका सबैले मेरा साथीहरूलाई राम्रोसँग स्वागत गरे । उनीहरू केटा र केटी भएकाले गाउँलेले आफ्नै बुझाइमा ‘जोडी हुन् कि’ भन्ने पनि ठाने । १० दिन मकहाँ बसेर हामी तीनै जना सँगै पोखरा घुमेपछि उनीहरू फर्किए ।
आफन्तको पराई शब्द
मेरा साथीहरू फर्किएपछि अब काम गर्नुपर्छ भनेर सिलाइ पसलहरूमा काम पाइन्छ कि भनेर खोजेँ तर पाइनँ । आफैँले पसल थाप्ने आर्थिक क्षमता थिएन । पोखराको औद्योगिक क्षेत्रमा रहेको मिठाई कम्पनीमा काम खोज्न गएँ, विश्वकर्मा भनेपछि काममा राखेनन् । पाँच महिनासम्म काम खोजिरहेँ, अहँ पाइनँ । खेतीपाती र मेलापात, ज्यालादारी गर्नु मेरो शारीरिक अवस्थाले धान्ने कुरै भएन । म शारीरिक अपाङ्गता भएको व्यक्ति हुँ । केही आफन्तले ‘काठमाडौँ गएर आई मात्रै, उपलब्धि केही भएन’ भने । केही नातागोताले त मेरो शारीरिक अवस्थालाई औँल्याउँदै ‘आमा बुबालाई भार मात्रै भई’ पनि भने । त्यस्तो सुन्दा साह्रै चित्त दुख्थ्यो । मलाई घरपरिवार र आफन्तका माझ बस्नै मन लाग्न छाड्यो ।
घरमा सल्लाह गरेर म काम खोज्न फेरि काठमाडौँ जान्छु भनेँ तर बुबाले मान्नु भएन । हजुरआमासँग जान्छु भनेर जिद्दी गरेँ, रोएँ । बल्लबल्ल हजुरआमा सहमत हुनुभयो । बाख्रा बेचेर मलाई गाडी भाडा दिनुभयो । बुबालाई सम्झाउँदा सकिनँ । अन्ततः झुटो बोलेँ ‘काठमाडौँमा सिलाइ सिकेको संस्थाले निःशुल्क जुत्ता दिने रे लिएर आइहाल्छु’ भनेर ! छुट्टिनुअघि हजुरआमा र म निकै रोयौँ– असारे झरी जस्तै । यसरी २०६१ असारको पहिलो साता म फेरि कामको खोजीमा काठमाडौँ छिरेँ ।
मलाई राखिएको संस्थामा अरू ३० जना अपाङ्गता भएकै बालबालिका रहेछन् । म पनि थपिएँ तर मलाई भोलिपल्टदेखि नै ती सबै जनाको लागि खाना पकाएर खुवाउनुपर्छ भनियो ।
दोस्रो पटक काठमाडौँ आइसकेपछि केही काम गरेरै छाड्ने अठोट लिएर खट्न थालेँ । काठमाडौँ आएपछि पत्रमित्र हरिसँगको भेट टुट्यो । अहिले जस्तो सजिलै फोन पनि थिएन त्याे समयमा । त्यसपछि हरिसँग कुनै सम्पर्क भएन । विभिन्न माध्यमबाट खोज्ने प्रयास गरेँ तर आजसम्म भेट भएको छैन । ऊ जहाँ छ, कुशलमङ्गल रहोस् भन्ने कामना गर्छु ।
साथीको घर खोज्दै जाँदा
दोस्रो पटकको काठमाडौँ बसाइ सुरु भएपछि ममा आत्मविश्वास पलाएको थियो । तर एक्लै छु । त्यसैले पहिला सँगै सिलाइ सिकेका साथीहरूलाई खोज्न थालेँ । मेरो घर पुगेकी साथी राधिकाको घर भक्तपुरको सूर्यविनायकको गुण्डु भन्ने ठाउँमा हो भन्ने थाहा थियो । उसैकोमा जान्छु भनेर गाडी चढेँ । गाडीबाट सूर्यविनायकमा झरेर हिँड्दै गुण्डु पुग्दा रात पर्यो । म आउँछु भनेर खबर गर्न त्यो बेला मसँग फोन थिएन । घर नपुग्दै अँध्यारो भइसकेको थियो । राधिकाको घरमा पनि फोन थिएन । छिमेकीको नम्बर त लिएको थिएँ तर सजिलै फोन गर्न सकिनँ । राति भइसक्यो, खोल्साको बाटो पार गर्नुपर्थ्यो । अलि डर लागेकाले बाटोमा एउटा पसलमा फोन देखेर उसको छिमेकीको नम्बरमा फोन गरेँ । राधिकासँग कुरा भयो ।
राधिका र आमा मलाई तलसम्म लिन आए । राधिकाको परिवारसँग भेट भयो । सबै खुसी भयौँ । एक हप्ता राधिकाको घरमा बसेर ऊ र म काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानहरूमा काम खोज्दै हिँड्यौँ । सबैभन्दा पहिले कति पढेको छ भनेर सोध्थे । म एसएलसी चाहिँ फेल भएकी थिएँ । त्यही भएर मलाई कहीँ कतै काम मिलेन । राधिकाले ‘काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग संघमा भएको खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क पढाउँछ, फेरि नौ कक्षादेखि पढ’ भनिन् । पढ्नुपर्छ भन्ने लागेर उक्त विद्यालय पुग्यौँ । विद्यालयका प्रधानाध्यापक पशुपति पराजुलीसँग भेट भयो । उहाँले ‘कक्षा भर्ना भएर पढ, म एउटा अपाङ्गता भएका बालबालिकालाई राख्ने संस्थामा निःशुल्क खानेबस्ने व्यवस्था मिलाइदिन्छु’ भन्नुभयो । मसँग अरू उपाय पनि थिएन । त्यसैले उहाँको कुरामा सहमत भएँ । पशुपति सरको बाचा अनुसार चुच्चेपाटीमा रहेको अपाङ्गतासम्बन्धी काम गर्ने एउटा संस्थामा निःशुल्क खानेबस्ने व्यवस्था मिल्यो । राधिकाको आमाले मेरो अभिभावकको भूमिका निर्वाह गर्दै मलाई उक्त संस्थामा जिम्मा लगाउनुभयो । स्कुलमा भर्ना गर्न आमा पनि मसँगै जानुभएको थियो । म नाै कक्षामा भर्ना गर्न गएको तर विद्यालयकाे एकजना सरले कक्षा ९ मा भर्ना लिन मान्नु भएन । ८ कक्षामै भर्ना हुनुपर्छ भन्नुभयाे र मेराे इच्छा विपरित कक्षा ८ मै भर्ना गरियाे । संस्थामा निःशुल्क बास र गाँस पनि पाएँ । अब काठमाडौँको बसाइ र पढाइको व्यवस्थाले आफ्नो भविष्य राम्रो होला भन्ने सोचेँ र पढ्न थालेँ ।
हामी बसेको संस्थाका अध्यक्ष र उनकी श्रीमती पनि हामी बस्ने संस्थामा नै बस्दा रहेछन् । श्रीमती पनि शारीरिक रूपमा अपाङ्गता भएकी थिइन् । बेलुकी भएपछि दुवै जनाले रक्सी खान्थे । मलाई रक्सी ल्याउन भन्थे । एक दिन मैले अटेर गरे झैँ गरेँ । त्यसो गर्नासाथ ती मेडमले झपार्दै भनिन्, “तँ दलित होस्, हामीले आश्रय दिएर राखेका छौँ । तेरो हातको खान्नँ, तँ पनि यहाँ नबस्, निस्केर जा ।”
मलाई राखिएको संस्थामा अरू ३० जना अपाङ्गता भएकै बालबालिका रहेछन् । म पनि थपिएँ । तर मलाई भोलिपल्टदेखि नै खाना पकाउने कर्मचारीले हामीलाई खाना पकाउन लगाइन् । म र अर्को एक जना अलि ठूला थियाैँ । त्यही भएर हाेला उनी खाना पकाउन नै आइनन् । त्यति धेरै बालबालिकालाई खाना पकाएर खुवाउनुपर्ने जिम्मेवारी तोकियो । अर्को साथी पनि म जस्तै विद्यार्थी हो, उमेरले मभन्दा अलि ठुलो । हामीले त खानपिनको काम सकाएर मात्रै स्कुल जान पाउँथ्यौँ । लेखपढ त गर्नै नभ्याउने ! ती कर्मचारी भने कहिले भन्दै नभनी नआइदिने, आए पनि समयमा नआउने गर्थिन् । त्यस्तो बेलामा सबै बच्चाको लागि खाना पकाउनेदेखि लुगा धुने, उनीहरूको स्याहारसुसार, सरसरफाइ जस्ता सबै काम हामीले गर्नुपर्थ्याे । पढ्ने, गृहकार्य (होमवर्क) गर्ने समय नै हुँदैनथ्यो । होमवर्क नगरेपछि कक्षामा शिक्षकको गाली खानुपर्दा असाध्यै नरमाइलो लाग्थ्यो ।
हामी बसेको संस्थाका अध्यक्ष र उनकी श्रीमती पनि हामी बस्ने संस्थामा नै बस्दा रहेछन् । श्रीमान् श्रीमती दुवै शारीरिक रूपमा अपाङ्गता थिए । बेलुकी भएपछि दुवै जनाले रक्सी खान्थे । श्रीमतीले मलाई रक्सी ल्याउन भन्थिन् । एक दिन मैले अटेर गरे झैँ गरेँ । त्यसो गर्नासाथ ती मेडमले झपार्दै भनिन्, “तँ दलित होस्, हामीले आश्रय दिएर राखेका छौँ । तेरो हातको खान्नँ, तँ पनि यहाँ नबस्, निस्केर जा ।” उनी क्षेत्री थरकी थिइन् ।
म अब बास र गाँसविहीन हुने भएँ भनेर रातभरि रोएँ । त्यसपछि मैले अटेर गरिनँ । उनीहरूलाई रक्सी ल्याउने काम पनि गर्दिन थालेँ । त्यति गरेपछि मैले निस्किहाल्नु त परेन तर त्यहाँ बसेर पढ्ने वातावरण फिटिक्कै थिएन । काम र मानसिक तनाव दुवै अति हुन्थ्यो । स्कुलमा गयो, शिक्षकहरूको नानाथरिको गाली सुन्नुपर्थ्यो । घरपरिवारकाे सहमतिविना काठमाडौँ आएकी मलाई बास र गाँसको जोहो गरिदिने संस्थामा बसेर पढ्न खोज्दा गाउँसमाजमा भन्दा धेरै अपहेलित भएको महसुस हुन थाल्यो ।
त्यहाँ राखिएका स–साना बालबालिकालाई बजारमा बोरा लिएर चामल, तरकारी माग्न पठाइन्थ्यो । अलि ठुला बालबालिका र खाना पकाउने भान्से महिलाहरूलाई पनि कालीमाटीमा तरकारी माग्न पठाइन्थ्यो । मलाई पनि हुर्केकी र कक्षा ९ मा पढ्दै गरेकी भनेर कालीमाटीमा तरकारी माग्ने टोलीमा पठाइयो ।
मलाई त्यो संस्थामा गरिएको व्यवहार सहन गाह्रो भएपछि राधिकालाई फोन गरेर यस संस्थाबाट निकालिदिन अनुरोध गरेँ । उनी नै मेरो एक मात्रै सहारा थिइन् काठमाडौँमा । पहिला त उनले त्यहीँ बस पढ भन्दै निकाल्न मानिनन् । म धेरै राेएपछि बल्ल त्यहाँबाट निकालिन् । त्यहाँबाट निस्केपछि ‘नर्क’बाट मुक्ति त पाएँ तर जाने कहाँ ?
मलाई घर फर्केर जानु पनि थिएन । मेरो यस्तो अवस्था देखेपछि त्यही संस्थाकी एक जना मनकारी बिनु केसीले मलाई आफ्नो कोठामा आश्रय दिइन् । उनलाई मैले पहिले नै एक संस्थामा चिनेको थिएँ । केही दिन उनकैमा बसेर स्कुल गएँ । उनी आफ्ना आमाबुबाका साथ चार जनाको परिवारमा बस्थिन् । श्रमजीवी वर्गको परिवारमा म पनि थपिँदा सबैलाई असहज भएको महसुस भयो । उनी कोटेश्वर बस्ने भएकाले मलाई स्कुल पुग्न पनि टाढा भयो । खानाको टुङ्गो भएन । त्यस बेला घरमा आमा, हजुरआमालाई घुर्क्याएर भात नखाई हिँडेको याद आउँथ्यो । अनि एकान्तमा गएर रुन्थेँ ।
संस्था चलाउनेको गलत नियत
मैले आफ्नो बास र गाँसको बन्दोबस्त गर्नु नै थियो । खोज्दै गर्दा एउटा संस्था र आवासगृह चलाउने दिदी (जसले सार्वजनिक हुन चाहनु भएन) सँग भेट भयो । उहाँले छिट्टै होस्टेल खोल्ने र मलाई उहाँसँगै बस्ने कुरा गर्नुभयो । केही आशावादी भएर छुट्टिएको केही दिन बितेपछि उहाँले मलाई आफूसँगै बस्न बोलाउनुभयो । केही दिनसँगै बसेपछि उहाँले मलाई अर्को ठाउँ जोरपाटीको बेशीगाउँमा रहेको अर्को एक संस्थामा बस्ने व्यवस्था मिलाइदिनुभयो । त्यो संस्था पनि बाहिर भनिए झैँ बालबालिकाको हेरचाह र उनीहरूको पढाइको लागि राम्ररी काम गर्ने गरेको पाइनँ । त्यहाँ धेरै बालबालिका थिए । ती दिदीले मलाई दलित आयोगले सहयोग गर्छ भनेर राख्न लगाइदिनुभएको थियो ।
केही समय संस्थामा राखेपछि मलाई लिएर त्याे संस्थाकी अध्यक्ष राष्ट्रिय दलित आयोगमा सहयोग माग्न पुगिन् । दलित आयोगले सहयोग गर्न नसक्ने कुरा राख्यो । त्यसपछि त्यो संस्थामा पनि मेरा लागि नराम्रा दिनहरू सुरु भए । त्यहाँ राखिएका स–साना बालबालिकालाई बजारमा बोरा लिएर चामल, तरकारी माग्न पठाइन्थ्यो । अलि ठुला बालबालिका र खाना पकाउने भान्से महिलाहरूलाई पनि कालीमाटीमा तरकारी माग्न पठाइन्थ्यो । मलाई पनि हुर्केकी र कक्षा ९ मा पढ्दै गरेकी भनेर कालीमाटीमा तरकारी माग्ने टोलीमा पठाइयो । घरमा हुँदा डोको, डालो बोकेर बजार जान लजाउने म काठमाडौँको मुटुमा म बोरा बोकेर तरकारी माग्ने भएँ । जति मागेर ल्याए पनि मलाई पेटभरि भात खान दिइँदैनथ्यो । चामलमा तरकारी राखेर जाउलो बनाएर एक एक कचौरा दिन्थे हामी सबैलाई । मैले जिन्दगीमा त्यही संस्थामा गएपछि जाउलो खान थालेँ । त्यो पनि खाली सास धान्नलाई मात्र पुग्थ्यो । पेट अघाउँदैनथ्यो । मभन्दा सानाहरूले ‘दिदी म त अघाइनँ’ भन्थे । उनीहरूको त्यो वाक्यले मलाई मन कटक्क खान्थ्याे र आफ्नो कचौराको जाउलो आफू नखाई उनीहरूलाई दिन मन लाग्थ्यो र बाँडिदिन्थेँ । त्यो रात भोकले निद्रै पर्थेन । मसँगैका कति बालबालिकाहरू भोकले छटपटिँदै रोएको सुन्थेँ, देख्थेँ । म पनि उनीहरूसँगै रुनबाहेक केही गर्न सक्दिनथेँ ।
कहिलेकाहीँ त्यही संस्थाकै खाना पकाउने एकजना मीना दिदीले कसैले नदेख्ने गरी आफ्नाे काेठामा लगेर भात खान दिनुहुन्थ्याे । मीना दिदीले मायाले दिएको भात खाँदा आँसु नै झर्थ्याे । भातसँगै आँसु खाएर स्कुल जान्थेँ । त्याे संस्थामा खाना मात्रै होइन, सरसफाइको अवस्था पनि दयनीय थियो । त्यही भएर होला त्यहाँका सबै बच्चा र मेरो शरीरभरि घाउखटिराहरू आउन थाल्यो । सरसफाइसँगै खाना र पोषणको अभावले हुने त्यस्तै हो । खानै नपाउने ठाउँमा उपचार हुने कुरै भएन । त्यसपछि मैले बुद्धि विश्वकर्मा दाइलाई फोन गरेर सबै कुरा सुनाएँ । उहाँलाई मैले सिलाइ सिक्दा चिनेको थिएँ । त्यो सुनेर दाइ आउनुभयो र मलाई कीर्तिपुरमा रहेको उहाँको कोठामा लिएर जानुभयो । त्यहाँ पुगेर पेटभरि खाना खाएँ । बालमाया विश्वकर्मा दिदी र मनोज चौधरी दाजु पनि उहाँसँगै बस्नुहुँदो रहेछ । म बालमाया दिदीसँग सुतेँ । मलाई पेटभरि खाना खाएर घरमा हजुरआमासँग सुते जस्तै भयो । महिनौँको भोक र अनिद्रा त्यही रात पूरा भयो ।
त्यहाँ बस्न मासिक १२ सय रुपैयाँ तिर्नुपर्ने । मेरो अवस्था थाहा भएपछि मलाई आठ सय रुपैयाँ तिरे हुने गरी मिलाइदिनुभयो । छुट गरेबापत मैले छात्रावासका केही काममा सहयोग गर्नुपर्ने हुन्थ्यो ।
भोलिपल्ट बिहानदेखि सबै जना आ–आफ्नै काममा व्यस्त भए । बालमाया दिदी दलित सवालमा काम गर्ने एउटा संस्थामा काम गर्नुहुन्थ्यो । बुद्धि दाइ एचबिसी एफएममा कार्यक्रम सञ्चालन गर्ने र मनोज दाइ बिहान कलेज पढ्ने, दिउँसो स्टेशनरी पसलमा काम गर्ने । म चाहिँ स्कुल जाने । यसैगरी दिनहरू बित्दै गए । उहाँहरूले मेरा निम्ति धेरै सहयाेग गर्नुभयो । कीर्तिपुरबाट जोरपाटी आउजाउ गर्न टाढा भयो भनेर स्कुल नजिकतिर होस्टेल खोज्नुभयो तर पाइएन । होस्टेल नपाएपछि म उहाँहरूसँगै बसेर पढेँ । राम्रो अङ्क ल्याएर कक्षा ९ पास गरेँ ।
छात्रवृत्ति पाएपछि केही सहज
नेपाल अपाङ्ग महिला संघद्वारा अपाङ्गता भएका महिलाका लागि चाबहिलको सरस्वती नगरमा छात्रावास सञ्चालन गरिएको बुद्धि दाइले थाहा पाउनु भएछ । त्यहाँ बस्न मासिक १२ सय रुपैयाँ तिर्नुपर्ने । मेरो अवस्था थाहा भएपछि अपाङ्ग महिला संघका दिदीहरूले मलाई आठ सय रुपैयाँ मात्रै तिरे हुने गरी मिलाइदिनुभयो । चारसय छुट गरेबापत मैले छात्रावासका केही काममा सहयोग गर्नुपर्ने हुन्थ्यो । बुद्धि दाइले करिब ७–८ महिनासम्म छात्रावासको खर्च तिरिदिनु भयो । त्यसपछि मलाई एन्वाइओएफ् (NYOF) भन्ने संस्थाले छात्रवृत्ति दिन थाल्यो । पछि त्यो संस्थाको नाम ‘असहाय नानीहरूको साथी’ (FNC) भन्ने भएको थियो । अहिले त्यो संस्था छ कि छैन थाहा छैन ।) यो छात्रवृत्तिपछि दाइ र मलाई केही सहज भयो ।
छात्रावासकी वार्डेन कमला बुढाथोकी मेरा लागि असाध्यै माया गर्ने एक अभिभावक हुनुहुन्छ । उहाँले मलाई आफ्नो सन्तानलाई जस्तै माया दिनुहुन्थ्यो । उहाँको माया पाएर होला म त्यहाँ भएका हरेक नकारात्मक कुरालाई बिर्सिन्थेँ । उहाँले मलाई मायाले ‘काली’ भनेर बोलाउन थाल्नुभयो । त्यो सम्बोधन मलाई अति प्रिय लाग्थ्यो ।
छात्रावासमा विभिन्न जिल्लाका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरू बस्थे । कोही स्कुल पढ्थे, कोही क्याम्पस पढ्थे । दृष्टिविहीन महिलाहरू कहीँ जानुपर्दा छात्रावासदेखि गाडी चढ्ने ठाउँसम्म पुर्याएर गाडीमा चढाइदिने, उनीहरूको पाठ्यपुस्तक वाचन गरेर क्यासेटमा रेकर्ड गरिदिने, कसैका लुगा धोइदिने र खाना खाइसकेपछि भाँडा सफा गर्ने काम पनि गर्थें । हामी एउटै परिवार जस्तो भएर बसेको हुँदा रमाइलोसँगै केही तीता पलहरू पनि हुन्थे । छात्रावासमा हामी पाँच जना दलित समुदायका थियौँ । ब्राह्मण समुदायका केही महिलाले, व्रत बस्ने बहानामा कहिलेकाहीँ हामीले छोएको खाँदैनथे । त्यसलाई झगडाको बिउ नबनाउँ भनेर हामी चुपै लागेर बस्थ्यौँ ।
छात्रावासकी वार्डेन कमला बुढाथोकी मेरा लागि असाध्यै माया गर्ने एक अभिभावक हुनुहुन्छ । उहाँले मलाई आफ्नो सन्तानलाई जस्तै माया दिनुहुन्थ्यो । उहाँको माया पाएर होला म त्यहाँ भएका हरेक नकारात्मक कुरालाई बिर्सिन्थेँ । उहाँले मलाई मायाले ‘काली’ भनेर बोलाउनु हुन्थ्याे । त्यो सम्बोधन मलाई अति प्रिय लाग्थ्यो । मेरो जीवनमा मलाई प्रेमले ‘काली’ सम्बोधन गर्ने अरू पनि दुई जना अभिभावक पाएकी छु । मेरो आपतकालको सहारा बुद्धि दाइ र रेडियो सगरमाथाकी स्टेसन म्यानेजर उर्वशी बस्न्यात हुनुहुन्छ । कालाे वर्णकी मलाई उहाँहरूले मायाले गर्ने ‘काली’ सम्बाेधन आत्मीय लाग्छ ।
जसोतसो दिनहरू अघि बढ्दै गए । २०६३ सालमा मैले एसएलसी दिएँ । छात्रावासमै बसेर एसएलसी पास गरेँ । लामो समय कोही एकै व्यक्ति छात्रावासमा बस्न पाउने व्यवस्था थिएन । त्यसैले एसएलसीपछि मैले छात्रावास छोड्नुपर्ने भयो । छात्रावास बसेर मसँगै निस्केकी पोखराकै दृष्टिविहीन साथी लक्ष्मी परियारसँग मिलेर बस्ने सल्लाह भयो । बौद्ध टुसालको कुमारी बोर्डिङ स्कुलमा कक्षा ११ मा पत्रकारिता विषयमा भर्ना भएँ । निःशुल्क पढ्न पाएँ । कम्प्युटर कोर्स पनि सिक्न थालेँ ।
जात नबुझ्ने काठमाडौँ
कम्प्युटर सिक्दै गर्दा एक दिन भृकुटीमण्डपमा सिलाइ कटाइ तालिम लिँदाको साथी गौरी आचार्यलाई सार्वजनिक बसमा भेटेँ । त्यो भेटले मलाई केही दिनलाई भए पनि डेरा सर्ने मौका जुरायो । म गौरीसँगै नयाँ बसपार्क सरेँ । नयाँ बसपार्कबाट बौद्ध टुसालमा पढ्न आउन खर्चिलो भयो । धेरै दिन धान्न सकिनँ । पढ्न पायक पर्ने गरी चाबहिलको सरस्वती नगरमा एउटा कोठा पाएँ । महिनाको एक हजार भाडा तिर्नुपर्थ्याे । गौरीले मलाई एक सेट ओढ्ने, ओछ्याउने, पानी भर्ने भाँडा दिएर कोठा सर्न मद्दत गरिन् । स्कुले सखी सरस्वती चौलागाईंले थाल, कालो सिलोटको डेक्ची, केही चम्चा, कचौरा, पानी भर्नका लागि पाँच लिटरको ग्यालिन दिइन् । कम्प्युटर र पहिले तालिमका बेला मैले पाएको यातायात खर्च जोगाएर राखेकी थिएँ । त्यसले एक सेट खाना पकाउने भाँडा, दुई लिटरको स्टोभ र चारखुट्टे एउटा सानो खाट किनेँ ।
हामी दलित समुदायका । दुवै जना अपाङ्गता भएका । मेरो शारीरिक अपाङ्गता र मेरी साथीको दृष्टिविहीन अपाङ्गता । जात र अपाङ्गता भएको अवस्थालाई काठमाडौँका घरधनीहरूले कहाँ बुझ्न सक्थे र ? कसैले आँखा नदेख्ने रै’छ भने, कसैले दलित भनेर कोठा दिएनन् । त्यस्तो भएपछि हामीले जात ढाँटेर क्षेत्री भन्ने निर्णय गर्यौँ ।
चाबहिल सरस्वती नगरमा फेरि कोठा पाइयो । छात्रावासमै घनिष्ठ भएकी बागलुङकी दृष्टिविहीन साथी कश्मिरा हरिजन र म कोठामा सँगै बस्न थाल्यौँ । कोठाबाट आधा घण्टा हिँडेपछि क्याम्पस पुगिन्थ्यो । महिना दिन यसरी नै बित्यो । पुस महिनाको चिसो मौसम थियो । खाना खाएर म छतमा घाम ताप्न निस्किएँ । घरबेटी हजुरआमाले ढाडमा तेल लगाइदिन भनिन् । मैले आफ्नो हजुरआमा सम्झेर ढाडमा तेल लगाएर मालिस गरिदिनँ थालेँ । कुरा गर्दै जाँदा जातको कुरा आयो । मैले विश्वकर्मा हुँ भनेँ । त्यसो भन्नेबित्तिकै हजुरआमाले ‘ए तिमीहरू त कामी पो हौ ?’ भन्दै ‘एक महिनादेखि यो घर अछूत भएको रैछ । अहिलेसम्मको भाडा दिएर यहाँबाट अहिले नै निस्किहाल्’ भनिन् । म जुरुक्कै उठेर तल झरेँ । कोठामा पसेर कश्मिरालाई त्यही कुरा सुनाउन मात्रै लागेको थिएँ, उनी त चिच्याउँदै कोठामै आइपुगिन् । तत्कालै ‘हामी कोठा खोजेर आउँछौँ’ भनेर निस्कियौँ ।
क्षेत्री भनेर कोठा खोज्दा
हामी दलित समुदायका । दुवै जना अपाङ्गता भएका । मेरो शारीरिक अपाङ्गता र मेरी साथीको दृष्टिविहीन अपाङ्गता । दलित र अपाङ्गता भएको अवस्थालाई काठमाडौँका घरधनीहरूले कहाँ बुझ्न सक्थे र ? कसैले आँखा नदेख्ने रै’छ भने, कसैले दलित भनेर कोठा दिएनन् । त्यस्तो भएपछि हामीले जात ढाँटेर क्षेत्री भन्ने निर्णय गर्यौँ । कपन मिलन चोकमा कोठा भेट्यौँ । ‘साइनोमा हामी मामा र फुपूका सन्तान हौँ’ भनेर पाएको कोठामा सर्यौँ ।
हामी दोस्रो तलामा बस्थ्यौँ । भुइँतलामा खाली भएको कोठामा बस्दा हामी दलितभन्दा मुनि बस्नुपर्छ भन्ने सोचेर उनीहरूले हामीलाई निकाल्ने सोच बनाएका रहेछन् । त्यस्तो थाहा पाएपछि हामीले पनि सर्न मानेनौँ । पछि उनीहरू नै भुइँतलामा बस्न थाले ।
कोठा त पायौँ तर कोठा भाडा समयमै तिर्न हामीलाई धौधौ पर्थ्याे । दृष्टिविहीनहरूले विभिन्न सार्वजनिक ठाउँमा गएर गीत गाउँथे र पैसा जम्मा गर्थे । कश्मिरा पनि ती समूहमा गीत गाउन जान्थिन् र केही पैसा लिएर आउँथिन् । मलाई मेरो बुबाले प्रत्येक महिना तीन हजार रुपैयाँ पठाइदिनु हुन्थ्यो । त्यही पैसाले हामी आफ्नो खर्च टार्थ्याैं । तरकारीमा हाल्ने तेलकाे सट्टा २०-२५ रुपैयाँमा बाेसाे किनेर ल्याउँथ्याैँ र तरकारी पकाउँथ्याैँ । यसरी खर्च त जसोतसो जुटाउँथ्यौँ तर जात कहिलेसम्म ढाँट्नु ? गरिबी, बेरोजगारीसँगै जात ढाँटेर कहिलेसम्म अर्काको घरमा बस्नु ?
जात नढाँटी एउटै घरमा १२ वर्ष
छ महिनापछि हामी फेरि जाेरपाटीकाे नारायणटारमा काेठा सर्यौँ । दोस्रो दिन घरकी बुढीआमैले जात सोधिन् । मैले साँचो बताएँ । उनले केही प्रतिक्रिया दिइनन् । तर केही दिन पछि उनका नातिनातिनाले राती हामी बस्ने कोठाको ढोकामा हान्ने, हामीलाई दुःख दिन अनेकथरी गर्ने गर्न थाले । मैले उनीहरूलाई कराएर लखेट्थेँ । पाँचौँ दिनमा बुढीआमैकी बुहारी आएर ‘कोठा सर्नू’ भनिन् । बस्न पाएको छैन सर्न भनेपछि मलाई रिस उठ्यो । रिसाउँदै सर्न भन्नुको कारण पनि सोधेँ । उनीहरू भट्टराई थरका थिए । उनीहरूले घर बेचेका रहेछन् ।
घरको सबैभन्दा माथि घर किन्ने नयाँ घरधनी बस्ने भए । दोस्रो तलामा उनीहरू बस्ने योजना बनाएका रहेछन् । हामी दोस्रो तलामा बस्थ्यौँ । भुइँतलामा खाली भएको कोठामा बस्दा हामी दलितभन्दा मुनि बस्नुपर्छ भन्ने सोचेर उनीहरूले हामीलाई निकाल्ने सोच बनाएका रहेछन् । त्यस्तो थाहा पाएपछि हामीले पनि सर्न मानेनौँ । पछि उनीहरू नै भुइँतलामा बस्न थाले । नयाँ घरबेटीबाट चाहिँ हामीले राम्रो व्यवहार पायौँ । त्यही भएर २०६५ देखि २०७७ सालसम्म १२ वर्ष त्यही घरमा बस्यौँ । मैले दुई दशकअघि भोगेको डेरा पाउने समस्या अहिले पनि लगभग उस्तै छ जस्तो लाग्छ ।
पढाइ र पत्रकारिता सँगसँगै
काम खोज्दै जाँदा २०६५ साउनमा मैले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रमा रिपोर्टरको काम पाएँ । त्यहाँ ‘अपाङ्ग आवाज’ भन्ने मासिक पत्रिका र साप्ताहिक ‘अपाङ्ग आवाज’ रेडियो कार्यक्रमका लागि काम गर्नुपर्थ्याे । त्यसपछि मेरो आर्थिक अवस्थामा केही सुधार हुन थाल्यो । जागिर गर्दै गर्दा रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक तहको अध्ययन पनि सकेँ । साथी कश्मिरा हरिजनले पनि बागलुङमा आफैँले अध्ययन गरेको विद्यालयमा निमावि तहको जागिर पाइन् र उतै गइन् । म सञ्चार संयोजक र कार्यक्रम प्रस्तोता हुँदै ‘अपाङ्ग आवाज’ मासिक पत्रिकाको सम्पादक बनेँ ।
पत्रकार भएकाले विभिन्न कार्यक्रममा जाने, विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिने गर्दा धेरै व्यक्तिलाई चिन्ने मौका पाएँ । रेडियो कार्यक्रममा साताका गतिविधिहरू पनि पढ्न थालेँ, रेडियो नेपाल र रेडियो कान्तिपुरमा ‘अपाङ्ग आवाज’ कार्यक्रम बज्न थाल्यो । म रिपाेर्टर, सञ्चार संयाेजक र कार्यक्रम प्रस्ताेता हुँदै ‘अपाङ्ग आवाज’ मासिक पत्रिकाको सम्पादक भएँ । राष्ट्रिय पत्रपत्रिकाहरूमा अपाङ्गतासम्बन्धी लेखरचनाहरू प्रकाशित पनि हुन थालेपछि अपाङ्गता क्षेत्रमा पत्रकारको रूपमा म चिनिँदै गएँ । पहिले मलाई विद्यालयमा भर्न गर्न नमान्ने, अपाङ्गता भएकी भनेर र जातको आधारमा विभेद गर्ने स्कुलका केही शिक्षकहरूले पनि कार्यक्रममा गएका बेलामा हाम्रो विद्यार्थी भनेर गर्वका साथ चिनाउन थाले ।
बिस्तारै मेरो पहिचान फराकिलो हुँदै गयो । कतिपयले कान्तिपुर एफएमको ‘अपाङ्ग आवाज’ रेडियो कार्यक्रम सुनेर मलाई चिने । मेरो कामको प्रशंसा हुन थाल्यो । जसका कारण वरिष्ठ सञ्चारकर्मी आरती चटौत, अनिता विन्दु, रेडियो सगरमाथाको स्टेसन म्यानेजर उर्वशी बस्न्यात, गोरखापत्र राष्ट्रिय दैनिकका पत्रकारहरू कविता थापा र शिवा तामाङ, साहित्यकार मनीषा गौचन, नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकै सञ्चार संयोजक रमा महर्जन आदिको साथ, सहयोग र माया पाइरहेको छु ।
इमानदारी र प्रतिरोधले खारिएपछि
अहिले म घरमा जाँदा पहिले ‘यो अपाङ्गले केही गर्न सक्दिन’ भनेर अपशब्द बोल्ने मेरा आफन्तहरू मसँग विशेष भेटघाटको अपेक्षा राख्छन् । मेरी हजुरआमा र आमालाई काठमाडौँ घुमाउन पाएँ । मलाई हुर्काउने माया गर्ने हजुरआमाको ८४ वर्षमा गरिने ‘८४ पूजा’ मा मैले आफ्नै कमाइबाट खर्च गर्ने अवसर पाएँ । म अहिले पत्रकारिता विषयमा स्नातकोत्तर तहमा अध्ययनरत पनि छु । २०७९ साउनदेखि रेडियो सगरमाथामा हरेक साताको शुक्रवार बिहान ८ देखि ८ः३० बजेसम्म ‘अपाङ्गताका सवाल’ रेडियो कार्यक्रम सञ्चालन गर्दै आएकी छु । त्यसबाहेक विभिन्न अनलाइन तथा राष्ट्रिय पत्रपत्रिकामा लेखेर आफ्नो दैनिकी र सार्वजनिक छविलाई धान्दै आइरहेकी छु ।
विगतमा आफ्नो यात्राका क्रममा पाइलापाइलामा दुःख खेपे पनि आज मेरो इमानदारी र प्रतिरोधका कदमहरू खेर गएनन् भन्ने लाग्छ । कतिपय अप्ठ्यारा घटना र दुर्व्यवहारले त अझै मलाई सशक्त बनाए जस्तो लाग्छ । जहाँ अप्ठ्यारा दिनहरू थिए, त्यही बेला सहयोग गर्ने हातहरू पनि साथसाथै पाएँ । ती सङ्घर्ष र चुनौतीसँगै हजुरआमा, आमाबुबा र विभिन्न सहयोगी हातहरूका कारण म आज यहाँ उभिन सकेँ र यो समाजले पनि चिन्न थाल्यो ।
कामले पाएको सम्मान
अपाङ्गताका सवाल र अधिकारका क्षेत्रमा काम गरेबापत सरकारी तथा गैरसरकारी क्षेत्रबाट केही पुरस्कार र सम्मानहरू पाएको छु । २०७५ सालमा युवा तथा खेलकुद मन्त्रालयले एक लाख रुपैयाँको राशिसहितको राष्ट्रिय युवा प्रतिभा सम्मान गरेको थियो । त्यस्तै, गैरसरकारी सङ्घसंस्थाहरूको कुरा गर्दा २०६८ सालमा मुनीश्वर स्मृति समाजद्वारा अपाङ्गता पत्रकारिता पुरस्कार पाएँ । २०७० सालमा युवा अपाङ्ग सङ्गठनबाट अर्को सम्मान पनि पाएँ । २०७२ सालमा राष्ट्रिय अपाङ्ग कोषबाट हेमगंगा शारीरिक अपाङ्ग प्रतिभा पुरस्कार पाएँ । २०८० मा बालसचेतना केन्द्र नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाबाट युवा पत्रकार सम्मान प्राप्त गरेँ । कुनै बेला तिरस्कृत र बहिष्कृत म पछिल्लो समय सशक्त भएर आफ्नो समुदायको अधिकारको आवाज बोल्न थालेँ । मैले गरेका कामबाट पुरस्कृत हुँदै गर्दा जीवन जिउन, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदायकाे अधिकारकाे सवालमा काम गर्न अझै उत्प्रेरणा मिलिरहेको छ ।
प्रकाशन मिति : २०८१ साउन ९ गते, बुधवार
याे पनि पढ्नुहाेला
- अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
- बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)
- आँखाले हैन, चेतनाले संसार देख्ने नीरा
- बाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)
- अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
- म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)
- नेपालमा अटिजमको अवस्था र असर
- अपाङ्गतामैत्री भौतिक संरचना र सेवामा पहुँच
- ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू