Home Stories आँखाले हैन, चेतनाले संसार देख्ने नीरा

आँखाले हैन, चेतनाले संसार देख्ने नीरा

976
0

नीरा अधिकारीले सात वर्षको हुँदासम्म आँखा देख्नुहुन्थ्यो । २०४२ सालमा ज्वरो आएर उहाँ सिकिस्त बिरामी पर्नुभयो । चिकित्सकको भनाइअनुसार, उहाँलाई टाइफाइड भएको थियो । त्यही टाइफाइडको कारणले उहाँको आँखाको दृष्टि गयो । त्यतिबेला उहाँ कक्षा ३ मा पढ्दै हुनुहुन्थ्यो । उपचारका लागि उहाँलाई २२ दिनसम्म अस्पताल बस्न पर्‍यो । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उहाँका दुवै आँखाको अप्रेसन भयो । उहाँलाई बच्चा बेलाको सबै कुराको याद त छैन तर बेलाबेलामा उहाँ आफैँलाई प्रश्न गर्नुहुन्छ– दुवै आँखाको अप्रेसन डाक्टरले किन एकैचोटि गरेका होलान् ?

बुझ्ने भएदेखि नीरालाई लाग्न थालेको छ, सुरुमा एउटा आँखाको मात्र अप्रेसन गरेर जाँच गरेको भए ठीक हुने नहुने थाहा हुन्थ्यो होला । एउटा आँखा बिग्रे पनि अर्कोले अलिअलि भए पनि देख्थेँ कि भन्ने उहाँलाई लाग्छ । अप्रेसन गर्नुअगाडि उहाँ अँध्यारो उज्यालो छुट्ट्याउन सक्नुहुन्थ्यो तर अप्रेसनपश्चात् ठप्पै भयो । आँखाको उपचार गर्दागर्दै लगभग दुई वर्ष बित्यो । जति उपचार गरे पनि उहाँको आँखाको दृष्टि फिर्ता आएन । त्यसबेलादेखि नै उहाँ दृष्टिविहीन हुनुहुन्छ ।

“आँखा नदेख्नु मेरो लागि अवसर पनि भयो । परिवारले अरूलाई भन्दा बढी माया गरे । मैले आँखा देख्थेँ भने सबै अरू दिदीबहिनीहरूको जस्तै चाँडो विवाह हुन्थ्यो होला, जसले गर्दा मेरो प्रगतिमा अवरोध पुग्थ्यो होला ।”

यद्यपि उहाँको शिक्षा, जीवन, रोजगार कतै पनि आँखाको दृष्टिको अभाव भएको देखिँदैन । उहाँले २०५३ सालमा एसएलसी पास गर्नुभयो । उहाँले शिक्षाशास्त्रतर्फ अङ्ग्रेजी विषयमा स्नातक र समाजशास्त्रमा ‘पोस्ट ग्राजुएसन’ सेन्ट जेभियर्स कलेज काठमाडौँबाट गर्नुभयो । उहाँले जनप्रशासन विषयमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल विद्यावारिधि गर्दै हुनुहुन्छ । अध्ययनमा उहाँ असफल हुनुभएको ‘रेकर्ड’ हालसम्म छैन । दृष्टिविहीन भएर पनि उहाँ प्रेरणादायी हुनुहुन्छ । निजामती सेवामा उहाँ उपसचिव हुनुहुन्छ । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विभागको निर्देशक हुनुहुन्छ ।

जन्म र परिवारको सहयोग

नीराको जन्म २०३५ भदौ २० गते ललितपुर जिल्लाको गोटीखेल गाविस वडा नम्बर ४, धामीखोला टोलमा भएको हो । उहाँको स्थायी घर ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर ३ हो । उहाँ हाल गोदावरी नगरपालिका वडा नम्बर ३ मा अस्थायी बसोवास गर्दै आउनुभएको छ । अरिमाया र यज्ञबहादुर अधिकारीका एक छोरा र छ छोरीमध्ये नीरा काहिँली छोरी हुनुहुन्छ । उहाँ अहिले पनि संयुक्त परिवारमा नै बस्दै आउनुभएको छ ।

आँखा नदेखेकै कारणले उहाँको पढाइमा दुई वर्ष विराम नै लागेको थियो । त्यसपछि उहाँले अध्ययनलाई निरन्तरता दिनुभयो । बुबाले लगनखेलस्थित नमुना मच्छिन्द्र आवासीय माध्यमिक विद्यालयको छात्रावासमा बस्न मिल्ने गरी भर्ना गरिदिएपछि उहाँले कक्षा ४ बाट फेरि पढ्न सुरु गर्नुभयो ।

नीराले मिठो मसिनो खान र राम्रो लाउन दसैँ र कुनै चाडबाड पर्खिन पर्दैनथ्यो । उहाँका बुबा यज्ञबहादुर शिक्षक हुनुहुन्थ्यो । यसैले पनि होला छोरी भएर पनि नीराले सानै उमेरमा स्कुल जान पाउनुभयो । परिवारको माया, साथ, सहयोग पनि धेरै पाउनुभयो । उहाँलाई हजुरआमा र हजुरबुबाले अझ धेरै माया गर्नुहुन्थ्यो । अचेल नीरालाई लाग्छ– “आँखा नदेख्नु मेरो लागि अवसर पनि भयो । परिवारले अरूलाई भन्दा बढी माया गरे । मैले आँखा देख्थेँ भने सबै अरू दिदीबहिनीहरूको जस्तै चाँडो विवाह हुन्थ्यो होला, जसले गर्दा मेरो प्रगतिमा अवरोध पुग्थ्यो होला ।” त्यस स्थितिमा अहिले भएको ठाउँमा पुग्न सक्दिनथेँ कि भन्ने उहाँलाई लाग्छ ।

निर्मला अधिकारी (बायाँ) कालोकोटमा साथीहरूसँग । तस्विर सौजन्यः निर्मला अधिकारीको फेसबुक

शिक्षामा बाधक बनेन दृष्टि

उहाँसँग दृष्टि हुँदा र दृष्टि नहुँदाको दुवै अनुभव छ । यसैले उहाँलाई ती अवस्थाहरूको तुलना गर्दा आकास–पातालको फरक लाग्छ । दृष्टि गुमेपछि सुरु सुरुमा एक्लै हुँदा उहाँलाई धेरै डर लाग्थ्यो । आँखा नदेखेकै कारणले उहाँको पढाइमा दुई वर्ष विराम नै लागेको थियो । त्यसपछि उहाँले अध्ययनलाई निरन्तरता दिनुभयो । बुबाले लगनखेलस्थित नमुना मच्छिन्द्र आवासीय माध्यमिक विद्यालयको छात्रावासमा बस्न मिल्ने गरी भर्ना गरिदिएपछि उहाँले कक्षा ४ बाट फेरि पढ्न सुरु गर्नुभयो । सानैदेखि उहाँको पढाइ राम्रो थियो । विद्यालयमा नयाँ साथीहरूसँग खेल्ने, पढ्ने, कथा–कविता भन्ने र सुन्ने गरेको याद नीरालाई अहिले पनि ताजै छ ।

नीराले कक्षामा शिक्षकले बोलेर पढाएको कुरा सुनेको भरमा पढ्नुपर्थ्यो । त्यतिबेला ब्रेल लिपि जान्ने शिक्षकहरू जम्मा दुई जना हुनुहुन्थ्यो । विद्यालयमा ब्रेल लिपिका किताबहरू भने थिएनन् । नीराले छात्रावासमा रहेका देख्ने विद्यार्थीहरूको सहयोगले गृहकार्य गर्नुहुन्थ्यो । कक्षागत कार्य पनि कक्षाका साथीकै सहयोगमा गर्नुहुन्थ्यो । पछि उहाँले ब्रेल लिपि सिक्न थाल्नुभयो, शिक्षकको आवाज सुनेर पढ्न सिक्नुभयो । बिस्तारै एक्लै हुँदा पनि डर लाग्न छोड्यो । उहाँले पढाइमा राम्रो प्रगति गर्दै जानुभयो । राम्रो पढ्ने विद्यार्थी भएको हुँदा उहाँलाई साथीहरूले पनि सहयोग गर्थे । परिवारका सदस्यहरूदेखि विद्यालयमा शिक्षकहरू र साथीहरू सबैको माया, प्रेरणा र हौसला पाउन थाल्नुभयो । यसैले कहिले पनि आत्मग्लानि र हीनताबोध महसुस गर्नु परेन । उहाँको लोभलाग्दो शैक्षिक उपलब्धिले आँखामा ज्योति भएर पनि विभिन्न बहानामा नपढ्नेलाई गिज्याएको महसुस हुन्छ ।

हिँड्न अप्ठ्यारो

घर काठमाडौँसँगैको जिल्ला ललितपुर भए पनि त्यतिबेला गाडीको सुविधा नभएकाले बिदामा घर जाँदा आठ–नौ घण्टा हिँडेर जानुपर्थ्यो । बिदामा बुबा लिन आउनुहुन्थ्यो भने कहिलेकाहीँ आमा र दाइदिदी पनि लिन आउनुहुन्थ्यो । त्यति लामो बाटोमा हिँड्न सहज हुँदैनथ्यो । कति बेला घर पुगिएला र मिठामिठा खाने कुराहरू खान पाइएला भन्ने नीरालाई हुन्थ्यो । त्यसमाथि हजुरआमा र हजुरबुबाको माया ! राति आमाले खुट्टा मिचिदिनुहुन्थ्यो । तर, विद्यालय फर्केपछि भने धेरै दिनसम्म त्यो थकाइ मर्दैनथ्यो। । नीराको खुट्टा पनि अलि कमजोर छन्, मेजर अप्रेसन भएको छ । अहिले पनि समय समयमा खुट्टामा समस्या हुन्छ र डाक्टरकहाँ गइरहनुपर्छ ।

सरकारी रोजगारीको रहर

नीराले दृष्टिविहीनहरूको अधिकारका लागि काम गर्ने विभिन्न सङ्घसंस्थामा रहेर लामो समयदेखि काम गर्दै आउनुभएको छ । उहाँमा सानैदेखि सरकारी कार्यालयमा स्थायी जागिर खाने रहर थियो । त्यो रहरलाई मिहिनेत र परिवारको साथ र सहयोगले गर्दा सफलतासाथ पूरा गरेरै छोड्नुभयो । २०६६ साल भदौमा उहाँले प्रशासन सेवातर्फ शाखा अधिकृतमा नाम निकालेर सरकारी जागिर खाने धोकोको पहिलो खुड्किलो टेक्नुभयो । बढुवा हुँदै उहाँ अहिले उपसचिव हुनुहुन्छ ।

लोकसेवा आयोगको तयारी गर्नुअघि नीराले अस्थायी राहत कोटामा माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्थ्यो । एकातिर काम, अर्कोतिर आफ्नो शैक्षिक योग्यता बढाउँदै उहाँले लोकसेवाको तयारी गरेर सफलता पनि प्राप्त गर्नुभयो ।

दृष्टिसम्बन्धी अपाङ्गताका चुनौती

दृष्टिसम्बन्धी अपाङ्गता भएकै कारण धेरै नै समस्या र चुनौतीहरूको सामना गर्नुपरेको अनुभव नीरासँग छ । परिवारमा भने छोरा र छोरी भनेर विभेद थिएन । अपाङ्गता भएकै कारण परिवारमा विभेद भोग्नु परेन । बरु अझ बढी माया, प्रेरणा र हौसला पाउनुभयो । कहिलेकाहीँ भने घरमा सबै आ–आफ्नो काममा व्यस्त हुँदा आफूलाई जान मन लागेको ठाउँमा लगिदिने मान्छे हुँदैनथे । त्यसरी जान नपाउँदा भने मन खिन्न हुन्थ्यो । कति कार्यक्रमहरू त्यसरी जान नपाएर छुट्यो ।

समाजले ‘बिचरा’ बनाए पनि

सामाजिक रूपमा छिमेकी आफन्तहरूबाट भने केही तीता वचन, घृणा, तिरस्कार भोग्नुपरेको अनुभव नीरासँग छ । समाजले ‘बिचरा’ को पात्र बनाउँथ्यो । सामाजिक कार्यमा नबोलाउने र नकारात्मक टीकाटिप्पणी गर्ने गरिन्थ्यो । ‘अब यसले के गरी खान्छे ?’, ‘कसले पाल्छ ?’, ‘बिहे पनि हुँदैन’, ‘पढ्न पनि सक्दिन’, ‘पढाएर पनि काम छैन’, ‘काम गर्न सक्दिन’, ‘कमाउन सक्दिन’ भन्ने जस्ता कुरा सुन्नुपर्दा उहाँलाई आफ्नो स्वाभिमान गुमेको जस्तो हुन्थ्यो । अपाङ्गताको अधिकारको आन्दोलनमा जोडिएपछि भने उहाँमा कसैले केही नराम्रो भने पनि सजिलै पचाउनसक्ने क्षमताको विकास भयो ।

अधिकारको आन्दोलनमा संलग्नता

नीरा अपाङ्गता वर्गभित्र पनि दृष्टिविहीनको लागि अधिकारको पक्षमा वकालत गर्ने सस्थासँग जोडिएर अपाङ्गता अधिकारको आन्दोलनमा लाग्नुभयो । उहाँले २०५३ सालमा नेपाल नेत्रहीन संघमा १६ वर्षको उमेरमा प्रवेश गरेर साधारण सदस्यता प्राप्त गर्नुभएको थियो । नेपाल नेत्रहीन संघ नै उहाँको लागि सामाजिक क्षेत्रमा काम गर्ने पहिलो सिँढी बन्यो । कामप्रतिको निरन्तरता र लगनले नै होला २०५३ सालमा नै उहाँले नेपाल नेत्रहीन संघको तेस्रो शाखा, ललितपुर जिल्लाको नेत्रहीन संघमा अध्यक्षको भूमिका पाउनुभयो । त्यसैगरी २०५४ सालमा नेत्रहीन संघको केन्द्रीय समितिले महिला समिति बनाउँदा उहाँ सदस्य बन्नुभयो । २०५५ सालमा नेपाल नेत्रहीन संघको कार्यसमितिको सदस्यमा रहेर अझ धेरै योगदान गर्नुभयो र संस्थाको महिला समितिमा २०६० सालमा अध्यक्ष भएर काम गर्नुभयो ।

नीराले नेपाल नेत्रहीन संघ, ललितपुर शाखाको स्थापनाकालदेखि लगातार तीन पटक अध्यक्ष भएर जिम्मेवारी सम्हाल्ने मौका पाउनुभयो । अपाङ्गता अधिकारको आन्दोलनमा रहेर काम गर्ने विशेष इच्छा भएकैले उहाँ आज आफू जस्ता कैयौँ दृष्टिविहीन महिलाहरूलाई सङ्घसंस्थाहरूमा सङ्गठित गर्दै हक अधिकार दिलाउने कार्यमा सहयोग गर्न सफल हुनुभएको छ । सामाजिक अभियानकर्मीको भूमिकामा अपाङ्गता क्षेत्रमा काम गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा, उनीहरूको अधिकारको पक्षमा वकालत, परिवार, समाज र राज्यलाई योगदान गर्ने उहाँको धोको नेपाल नेत्रहीन सङ्घबाट पूरा भएको छ ।

यसैगरी, नीराले २०६७ सालमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको कार्यसमिति सदस्य र महिला विभागको संयोजक भएर अपाङ्गता भएका व्यक्ति तथा महिलाको हक, हित र अधिकारका लागि समग्रमा काम गर्नुभयो । २०६७ सालमा नै नेत्रहीन महिला संघ, नेपालको संस्थापक अध्यक्षको रूपमा रहेर विधिवत् संस्था स्थापना गर्न पनि उहाँ सफल हुनुभयो ।

आज पनि यो संस्थामा देशभरका धेरै दृष्टिविहीन महिलाहरू आबद्ध भएर विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेका छन् । हाल संस्था देशव्यापी रूपमा शाखा विस्तार हुने क्रममा छ । हाल नीरा उक्त संस्थाको सल्लाहकार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबैलाई आत्मनिर्भर बन्न प्रेरित गर्न सहयोग गर्ने र जागिरबाट बचेको समयलाई अपाङ्गता क्षेत्रको सामाजिक कार्यमा खर्चिने गरेको छु । अरूका लागि प्रेरणा मिल्ने खालको काम गर्नुपर्छ भन्ने सानैदेखिको चाहना थियो ।”

नीतिगत काममा संलग्नता

दृष्टिविहीन महिलाको हक अधिकारका लागि नीति निर्माण गर्न पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । अपाङ्गता अधिकारसम्बन्धी ऐन बनाउने क्रममा आन्तरिक रूपमा कर्मचारीको भूमिकामा रहेर पनि उहाँले धेरै सुझाव दिनुभएको थियो । उहाँले महिला तथा बालबालिका विभागमा सामाजिक सुरक्षा शाखामा बसेर काम गर्दा अपाङ्गता भएका महिलाहरूको सवाल पहिचानका लागि देशका सबै जिल्लालाई समावेश गरी कार्यक्रम बनाउन प्रेरित गर्नुभयो ।

अपाङ्गतामैत्री शौचालय बनाउन बजेट विनियोजन गराउन पहल गर्नुभयो ।, विभागको आफ्नै भवनमा अपाङ्गतामैत्री शौचालय बनाउने काम उहाँकै नेतृत्वमा भएको थियो । समुदायमा आधारित पुनर्स्थापना (सिबिआर) र ज्येष्ठ नागरिक सेवा केन्द्रको अध्ययन गरी नयाँ कार्यक्रम बनाउँदा बनाउँदै देश सङ्घीयतामा गयो र धेरै काम अधुरो रह्यो ।

नीराले निजामती सेवा ऐन संशोधन हुँदा अपाङ्गता भएका कर्मचारीलाई गर्नुपर्ने व्यवस्था तथा प्रोत्साहनका लागि सल्लाह र सुझाव दिइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “स्थायी सरकारी जागिरमा माथिल्लो पदसम्म पदोन्नति भई जानसक्ने प्रणाली भएर पनि मलाई मन परेको हो । त्यसमा पनि अलिकति नीतिगत काम पनि गर्न सकिन्छ कि भन्ने थियो तर सोचे जस्तो त्यति सजिलो रहेन छ । भनसुन गर्ने मान्छे, कोही नहुनेले भनेको ठाउँ नपाउने र मेरो क्षमता, आवाजलाई कसैले बुझ्ने कोसिस पनि नगरेको महसुस हुन्छ ।”

बहुपक्षीय विभेदका कुरा

नीराको अनुभवमा महिला भएकै कारणले लैङ्गिक विभेद भोग्नुपर्ने अवस्था छ । अझ अपाङ्गता र दृष्टिविहीन हुनाको पीडा झन् धेरै र बेग्लै छ । अपाङ्गताभित्र पनि गरिबीको कारण र हिंसाको जोखिममा पर्नुपरेको अवस्थाले गर्दा अपाङ्गता भएका महिलाहरू बहुपक्षीय विभेदको सिकार भएर बाँच्न विवश छन् ।

विवाह गर्ने अधिकार सबैलाई भएको भनिए पनि नेपाली समाज विवाहको मामिलामा विभेदपूर्ण रहेको नीराको धारणा छ । विवाहका सम्बन्धमा उहाँ भन्नुहुन्छ, “आफ्नो जोडी आफैँ छान्न पाउने, कोसँग कहिले बिहे गर्ने भन्ने निर्णय गर्न पाउने अधिकार त हुनुपर्छ तर अपाङ्गता भएकै कारणले अरू सबै नागरिकको जस्तो विवाह मर्यादित छैन ।”

“मलाई पनि प्रस्तावहरू त नआएका होइनन् तर मेरा धेरै दिदीबहिनीहरूको विवाहपछि तत्काल सुख कसैलाई भएन । आमाको चाहना पनि मैले विवाह नगरी बसे हुने थियो भन्ने थियो । यस्तै यस्तै कारणले गर्दा विवाह गर्नलाई आँट गर्न सकिनँ,” उहाँ भन्नुहुन्छ ।

अर्को, स्नातक तह सकेपछि उहाँको गोडामा समस्या आएर ‘मेजर अप्रेसन’ नै गर्न पर्‍यो । त्यसले विवाहको सोचाइलाई अझ पर पु¥यायो । यद्यपि ‘विवाह बन्धन’ मा बाँधिनुभन्दा एकल जीवन नै स्वतन्त्र लागेको उहाँ बताउनुहुन्छ ।

सबै महिलाहरूले आफू आर्थिक रूपमा सक्षम हुने बाटो खोज्नुपर्ने उहाँको धारणा छ । उहाँका अनुसार, आर्थिक परनिर्भरतासँगै स्वतन्त्रता हराउने गर्छ । शिक्षा नै रोजगार र मर्यादित जीवन बाँच्नको लागि आधारशिला हो । उहाँ स्पष्ट पार्दै भन्नुहुन्छ, “केही प्राप्त गर्नु छ भने मेहनत गरौँ, समय खेर नफालौँ । हिजोआज परिवार र समाजले महिलालाई, अपाङ्गता भएका व्यक्तिलाई, त्यसभित्र पनि अपाङ्गता भएका महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन त आएको छ तर सबै ठाउँमा भने समान स्थिति छैन । यो पनि ठाउँविशेष र चेतनाविशेषमा फरक छ ।”

तराईमा आज पनि अपाङ्गता भएका महिलाहरूले सरकारले उपलब्ध गराएको सेवा सुविधा लिनसकेका छैनन् । साथै, शिक्षाको अधिकार पाउनसकेका छैनन् । कति घरमा बढेकी छोरीलाई एक्लै बाहिर पठाइँदैन । एक्लै हिँडेको देखेमा समाजले परिवारलाई गाली गर्छ । तर, सहरी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले बाटामा हिँड्दा प्राप्त गर्ने सहयोगमा भने राम्रो परिवर्तन आएको छ ।

अपाङ्गता आन्दोलन

नेपाल नेत्रहीन संघले २०५३ सालमा सरकारसमक्ष रोजगारीको माग राखेर आन्दोलन गरेका थियो, सफल पनि भयो । धेरै दृष्टिविहीनले त्यही बेलामा राहत र सट्टा कोटामा शिक्षकको जागिर पाए । २०६२–६३ सालको जनआन्दोलनको समयमा नीराकै साथी महिला प्रहरीले उहाँहरूलाई पक्रन आइन् । प्रहरी साथीले ‘तिमी पनि यो आन्दोलनमा ?’ भनेर सोधिन् । उहाँहरूलाई पक्रेर लगेपछि साथी प्रहरी कता गइन्, उहाँले थाहा पाउनु भएन । अपाङ्गता क्षेत्रमा पहिला जस्तो ऐक्यबद्ध भई अधिकारका लागि वकालत गर्ने आन्दोलन हुनछोडेको उहाँलाई महसुस हुन्छ ।

अपाङ्गताभित्र पनि तेरा मान्छे र मेरा मान्छे भन्ने, एउटाले गरेको प्रगतिमा अर्कोले खुट्टा तान्ने, गुट, उपगुट, जातिगत र वर्गगत विभेद छ । यस्तो कुराले मुद्दा तथा सवालहरू कमजोर हुँदै जान्छन् । एउटा अपाङ्गताको नेताले अर्को अपाङ्गताको नेतालाई स्वीकार नगर्ने प्रवृत्तिले अपाङ्गता क्षेत्रमा पनि ‘सिन्डिकेट’ ले प्रवेश पाउन थालेको हो कि जस्तो लाग्छ उहाँलाई । भन्नुहुन्छ, “यो राम्रो होइन ।”

तालिम, भ्रमण र पुरस्कार

नीराले काम गर्दै जाने क्रममा विभिन्न समयमा अन्तर्राष्ट्रिय स्तरको भ्रमण पनि गर्नुभएको छ । उहाँले भारतमा तीन महिने कार्यालय नेतृत्व विकाससम्बन्धी तालिम लिनुभएको छ । वर्ल्ड ब्लाइन्ड युनियनको कार्यक्रममा अमेरिका र एसियन ब्लाइन्ड युनियनको कार्यक्रममा जापान तथा थाइल्यान्ड पुग्नुभएको छ । साथै, उहाँले युरोपका विभिन्न देशहरूको भ्रमण गर्नुभएको छ । नीराले २०७३ सालमा निजामती सेवा उत्कृष्ट पुरस्कार पाउनुभयो ।

समग्रमा नीरा

नीरा कम्प्युटरमा आवाजयुक्त सफ्टवेयर वा प्रोग्रामिङ राखेर अब्बल तरिकाले कार्यालयको काम आफैँ गर्नुहुन्छ । एक पटक पुगेको जुनसुकै ठाउँमा पनि सेतो छडीको सहाराले एक्लै यात्रा गर्न सक्नुहुन्छ । उहाँ तीब्र इच्छाशक्ति भएको, काममा निपुण, क्षमतावान् र त्यति नै प्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ । उहाँले अरूको सहयोगविना नै आफ्नो व्यक्तिगत दैनिकी र कार्यालयको काम सम्पन्न गर्नुहुन्छ ।

नीराले सामान्य मानिसभन्दा पनि माथि उठेर आफ्नो पदीय जिम्मेवारी उच्च र उत्कृष्ट तरिकाले सम्हाल्दै आउनुभएको छ । उहाँको बारेमा नसुन्ने सामान्य मानिसहरूले उहाँलाई झट्ट देख्दा र उहाँका बारेमा सुन्दा अचम्म मान्छन् । उहाँमा आँखाको दृष्टि नभएर पनि संसार नियाल्ने तागत छ । भित्री आँखाले देख्नुहुन्छ, जुन तागत सामान्य मानिसमा छैन । उहाँमा यस्तो क्षमता कसरी सम्भव भयो होला ? वाहऽऽ भनेर एकछिन त मानिसहरू जिल्ल पर्छन् ।

नीरा प्रखर–प्रेरणादायी वक्ता, तालिम प्रशिक्षक र स्रस्टा पनि हुनुहुन्छ । उहाँ समसामयिक विषयमा गीत, कविता, गजल, लेख आदि सिर्जना गर्न मन पराउनुहुन्छ । उहाँ पाककलामा पनि निपुण हुनुहुन्छ । सामान्यतया चिया, चाउचाउ, दालभात, तरकारी, अचार बनाउनुहुन्छ । कहिलेकाहीँ फुर्सदमा आफूलाई मन परेको खानेकुरा आफैँ बनाएर परिवारका सदस्यहरूलाई पनि खुवाउने गर्नुहुन्छ । उहाँको जीवन उच्च सम्मानसाथ अर्थपूर्ण र उत्कृष्ट तरीकाले चलिरहेको छ । उहाँ दृष्टिसम्बन्धी अपाङ्गता भएको महिला भएर पनि समाजमा सबैको लागि प्रेरणाको स्रोत र उदाहरणीय व्यक्तित्व हुनुहुन्छ ।

(विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूबाट प्रकाशित प्रसारित महिलाहरूको जीवनकथालाई ‘सन्धान सहकार्य’ अन्तर्गत हामीले साभार गरी प्रकाशन प्रसारण गर्दै आएका छौँ । यसै क्रममा मोतीदेवी स्मृति केन्द्रद्वारा प्रकाशित ‘प्रेरणादायी महिलाहरू’ पुस्तक (२०७९ मा प्रकाशित सातौँ संस्करण) मा निर्मला धितालले ‘आँखाले हैन, चेतनाले संसार देख्ने नीरा’ शीर्षकमा लेख्नुभएको नीरा अधिकारीको कथालाई सामान्य सम्पादनसहित साभार गरिएको हो ।)

प्रेरणादायी महिलाहरू पुस्तकका थप सामग्रीहरू