Home Stories लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार

लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार

181
0

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा पारलैङ्गिक व्यक्तिहरू पनि पछिल्ला दशकहरूमा आ–आफ्नो समूहमा यौनिकता (सेक्सुआलिटी) का बारेमा खुल्न थालेका हुन् । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान खुलाएर बाँच्न पाउने अधिकारका लागि आन्दोलित हुन थालेको तीन दशक नाघिसकेको छ ।

२०५८ असोजमा ब्लु डायमन्ड सोसाइटी (नील हिरा समाज) नामक संस्था विधिवत् दर्ता भएपछि यस समुदायका मानिसहरू खुल्ने वातावरण बन्यो । सन् २००५ (२०६१–६२ साल) मा मितिनी नेपाल नामक अर्को संस्था पनि स्थापना भयो । त्यसपछि यस समुदायका मानिसले आफ्नो यौनिकताका बारेमा बुझ्ने र आफ्नो लैङ्गिक पहिचान गर्ने थप वातावरण पाए । कतिपय खुलेर आउन थाले, कति खुल्दै छन्, कति भने अझै पनि खुल्न सकेका छैनन् ।

ब्लु डायमन्ड सोसाइटी, ललितपुर जिल्लाको ‘परिचय समाज’ को कार्यक्रम संयोजक मनोरञ्जनकुमार वैद्य पारलैङ्गिक महिला (ट्रान्स वुमन) हुनुहुन्छ । युवा अवस्थामा पुगेपछि उहाँले आफ्नो लैङ्गिकताका बारेमा थाहा पाउनुभयो र परिस्थिति मिलेपछि खुल्नु भयो । खुलेकै कारण जीवनमा फरक व्यवहार भोग्नुपरे पनि अहिले ६५ वर्षका उहाँ सकारात्मक परिवर्तनको अनुभव गर्दै हुनुहुन्छ । ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले उहाँसँग जीवन अनुभव, अवस्था, चुनौती र परिवर्तनका बारेमा २०८० असार १८ गते कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, मनोरञ्जनकुमार वैद्यको स्वकथन:

म काठमाडौँको असनमा २०१५ सालमा जन्मिएँ । म १८ वर्षको हुँदासम्म पनि मैले आफ्नो लैङ्गिकताको बारेमा थाहा पाएको थिइनँ । तर, अलमलमा थिएँ । म केटा हुँ तर मलाई केटा नै मन पथ्र्यो । यस्तो हुँदा मलाई किन यस्तो भएको होला भन्ने लाग्थ्यो । यस बारेमा म गहिरिएर सोच्थेँ ।

यो कुराले मलाई दोधारमा पारेको थियो । मलाई विद्यालयमा पनि साथीहरूले ‘तिमी त कस्तो केटी जस्तो’ भन्न थाले । साथीहरूले मलाई किन यस्तो भन्छन् जस्तो लाग्थ्यो, मन पनि दुख्थ्यो । साथीहरूको कुरा बिझ्न पनि थाल्यो । ती कुराले मलाई बिझायो । पढ्न जान मन लागेन । त्यही भएर १२ कक्षासम्म मात्र पढेँ । त्यसभन्दा बढी पढ्न मन लागेन, अनि छोडेँ ।

आफू पारलैङ्गिक महिला भएको थाहा पाए पनि यो कुरा मैले कसैलाई सुनाउने आँट गर्न सकिनँ । न परिवार, न साथीसँगी, न अरू कोही । मैले कसैलाई पनि सुनाउने आँट गरिनँ । त्यति बेला घरपरिवार र समाजले आफूलाई तिरस्कार गर्ला भन्ने डर थियो ।

पढाइ छोडेपछि खाली बसिरहन मनले मानेन अनि जागिर सुरु गरेँ । त्यो स्कुलकै जस्तो नियति कार्यस्थलमा समेत दोहोरिन थाल्यो । काम गरेको केही समयमै त्यहाँ पनि मलाई ‘कस्तो केटी जस्तो’ भन्न थाले । त्यतिन्जेलसम्म पनि मलाई भने आफ्नो लैङ्गिकताका बारेमा थाहा थिएन । अरूका कुरा सुनेर आफ्नो मन दुखाउनु र दिनदिनै त्यही कुरा सोच्नु बाहेक मसँग कुनै विकल्प थिएन । सोचाइमा झन् धेरै डुब्न थालेँ । म के हुँ भन्ने कुरा कसलाई सोधेर थाहा पाउने ? कसरी आफ्नो लैङ्गिकताको पहिचान गर्ने ? यस बारे मैले केही भेउ पनि पाइनँ ।

म आफ्नो लैङ्गिकताका बारेमा अनभिज्ञ नै थिएँ । अलमलमै समय बित्दै थियो । तर, ३० वर्षको उमेरमा घरपरिवार र आफन्तको करकापमा मैले बिहे गरेँ । मेरो बिहे टिकेन । हाम्रो ‘डिभोर्स’ भयो । त्यसो किन भयो भन्ने कारण अहिले बुझ्दै छु । हामी अलग भएकै साल मलाई आफ्नो लैङ्गिकताबारे बोध भयो । ब्लु डायमन्ड सोसाइटी बारे बुझेपछि मैले आफ्नो लैङ्गिकता बारे थाहा पाएको हुँ । म त पारलैङ्गिक महिला रहेछु ।

अहिलेको समाज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिप्रति केही सकारात्मक भएको छ । आजकाल डेरा गरिबसेको ठाउँमा पनि राम्रो बोली र व्यवहार छ । समाजको सोचमा केही सकारात्मक परिवर्तन भए पनि पूरै रूपमा भएको छैन ।

आफू पारलैङ्गिक महिला भएको थाहा पाए पनि यो कुरा मैले कसैलाई सुनाउने आँट गर्न सकिनँ । न परिवार, न साथीसँगी, न अरू कोही । मैले कसैलाई पनि सुनाउने आँट गरिनँ । त्यति बेला घरपरिवार र समाजले आफूलाई तिरस्कार गर्ला भन्ने डर थियो । यस्तैमा एक दिन ठमेलमा ब्लु डायमन्ड सोसाइटीको कार्यक्रममा सहभागी हुँदा एउटा टिभीमा मैले आफ्नो लैङ्गिकताका बारेमा अन्तरवार्ता दिएँ ।

अन्तरवार्ता प्रसारण भएपछि घरपरिवार, आफन्त र समाज सबैलाई म को रहेछु भन्ने थाहा भयो । अनि त्यसपछि सुरु भयो, ममाथि परिवार, आफन्त र समाजको तिरस्कार । आफन्तहरूले मसँग बोल्न छोड्नुभयो । टोलछिमेकमा रहेकाहरूले पनि राम्रोसँग बोल्न छाड्नुभयो । कार्यक्रम, विवाह पार्टीमा मलाई बोलाउन छोडियो । मसँग हेपेर बोल्ने अनि मलाई हेरेर हाँस्ने जस्तो गर्न थालियो । लेनदेन गर्न पनि छाडियो । घरमा पानीको समस्या थियो । मलाई इनारको पानी पनि कसैले दिएन, किनेरै चलाएँ । एक किसिमले समाजबाट बहिष्कृत जस्तै भएँ ।

आजसम्म पनि लगभग त्यस्तै अवस्थामा छु । कहिलेकाहीँ आफन्तहरूले बिहेको पार्टीमा बोलाउन त बोलाउँछन् तर मलाई मन नभइनभई बोलाए जस्तो महसुस हुन्छ । किनभने, अरू बेला हाम्रो सम्बन्ध छैन । बोलचाल पनि हुँदैन । म बिरामी हुँदा पनि आफन्तहरूको साथ पाउँदिनँ । मलाई जे भए पनि आफन्तहरूलाई कुनै प्रकारको मतलब हुँदैन । उनीहरू मेरो मतलब गर्दैनन् । अरूले मतलब नगरे पनि आफू जे हुँ त्यही भएर बाँच्न पाएकोमा खुसी लाग्छ । यसरी आफूले आफूलाई बुझेर आफ्नो खुसीले जिउन पाउनु ठुलो कुरा हो । पहिले यो समुदायका मानिस भन्ने चिनेपछि आफ्नै घरमा बसेकालाई पनि गाह्रो थियो ।

पहिले कतिपय व्यक्तिले आफ्नो लैङ्गिकता बारे थाहा नपाएरै जीवन गुजार्नुभयो । थाहा पाएकाले पनि समाजको तिरस्कार र अपहेलनाको डरका कारण कसैलाई भन्ने आँट गर्नु भएन । अहिलेका पिँढी मिडियामा आएर खुलेर बोलिरहेको देख्न पाइन्छ ।

अहिलेको समाज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिप्रति केही सकारात्मक भएको छ । आजकाल डेरा गरिबसेको ठाउँमा पनि राम्रो बोली र व्यवहार छ । समाजको सोचमा केही सकारात्मक परिवर्तन भए पनि पूरै रूपमा भएको छैन । मेरो आशय मानिसले समान व्यवहार गरून् भन्ने हो । मानिसले मानिसलाई समान रूपमा बुझून् भन्ने पनि हो । मेरो अनुभवमा सबैभन्दा महत्त्वपूर्ण त आफ्नो लैङ्गिकता अनुरूपको जीवन बाँच्न पाउनु हो । यसैले बुझेका व्यक्तिले समान मानवीय व्यवहार गरून् भन्ने अपेक्षा राखिँदो रहेछ । मेरो अपेक्षा पनि त्यही छ ।

मैले सन् २००६ देखि ब्लु डायमन्ड सोसाइटीमा जोडिएर पार्टटाइम काम गर्ने अवसर पाएँ । त्यति बेला आफू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्छु भन्ने मलाई थाहा थियो । तर, पनि आफ्नो लैङ्गिकता थाहा पाउनुअघि नै म यस समुदायका विभिन्न कार्यक्रममा सहभागी हुन थालेको थिएँ । सुरुमा हामीले फिल्डमा गएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र आफ्नो लैङ्गिक पहिचानका बारेमा कुरा बुझाउँथ्यौँ । त्यस्तै, मानवअधिकारका कुरा र एचआइभी एड्स सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्थ्यौं । घरमा खुल्न नसक्नुभएका व्यक्तिहरूलाई फिल्डमा भेट्ने गर्थ्यौं । उहाँहरूलाई सहज होस् भनेर ‘ड्रप–इन–सेन्टर’ को पनि व्यवस्था गरिएको थियो । उहाँहरू सेन्टरमा आएर मेकअप गर्न, दुःखसुख सेयर गर्न, बास बस्न, बाहिर निस्कनका लागि कपडा बदल्न पनि सक्नुहुन्थ्यो । ड्रप–इन–सेन्टरमा आउनेहरूलाई हामीले सहयोग गर्ने गर्थ्यौं ।

म फिल्डमा दिनहुँ जान्थेँ । हप्तामा एक पटक बैठक बस्थ्यो । हप्ताभरि फिल्डमा भएगरेका कामको रिपोर्ट बनाएर मैले बैठकमा बुझाउने गर्थें । यसरी तीन–चार महिना काम गरेपछि मैले ‘फुल टाइम’ काम गर्न थालेँ । त्यसको केही समयपछि ललितपुर जिल्लाको फिल्ड सुपरभाइजरको रूपमा पनि काम गरेँ । सन् २०११ देखि अहिलेसम्म पनि मैले ब्लु डायमन्ड सोसाइटीमा काम गरिरहेको छु । अहिले म कार्यक्रम संयोजकका रूपमा कार्यरत छु ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानताको विषय नारा र भाषणमा मात्र सीमित छ । यो समुदाय धेरै कुरामा विभेदमा परेको छ । यस समुदायका व्यक्तिले समानतामा बाँच्न पाएका छैनन् । सबैभन्दा पहिले सामाजिक तिरस्कारको डर छ ।

मेरो अनुभव र दृष्टिकोणमा पछिल्ला पिँढीमा परिवर्तन देखिँदै छ । यस समुदायका युवाले आफ्नो पहिचान अनुसार चिनिएर घर र समाजमा बाँच्नलाई अघि सरेर आवाज उठाउँदै हुनुहुन्छ । आफ्नो हकहित र अधिकारका लागि बोल्नुपर्छ भन्ने चेतना अहिलेका युवा पुस्तामा जागृत भएको देखिन्छ । म त्यसलाई सकारात्मक परिवर्तन भन्न रुचाउँछु ।

पहिले कतिपय व्यक्तिले आफ्नो लैङ्गिकता बारे थाहा नपाएरै जीवन गुजार्नुभयो । थाहा पाएकाले पनि समाजको तिरस्कार र अपहेलनाको डरका कारण कसैलाई भन्ने आँट गर्नु भएन । अहिलेका पिँढी मिडियामा आएर खुलेर बोलिरहेको देख्न पाइन्छ । साथै, नयाँ पिँढीका युवाले घर, परिवार र समाजलाई बुझाउन खोज्दै छन् । हिजोआज कतिपय अभिभावक पनि यस बारेमा सकारात्मक देखिन थाल्नुभएको छ ।

पछिल्लो समय अभिभावकहरू पनि कार्यक्रममा सहभागी हुने, आफ्नो सन्तानको हक अधिकारका बारेमा बोल्ने गरेको फाट्टफुट्ट देखिन्छ । आफ्नो सन्तानप्रति गर्व गर्दै तिमी जे हौ त्यही अनुसार खुलेर अघि बढ भन्दै प्रोत्साहन गर्ने अभिभावकहरू पनि भेटिनुहुन्छ । केही हदसम्म सकारात्मक हुनसक्ने माहोल बनेको छ । परिवार र समाज परिवर्तन हुँदै छ ।

यौनरोग र सङ्क्रमणको जोखिम हुने काम अनि घरपरिवार र समाजले नस्विकारेका कारण मानसिक स्वास्थ्य समस्याबाट गुज्रिइरहेकाको सङ्ख्या पनि यस समुदायमा ठुलो छ । कति डिप्रेसनबाट गुज्रिएका छन् । कतिले आत्महत्या गरिरहेका छन् ।

यद्यपि यो परिवर्तन सबैमा त आइसकेको छैन । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको समानताको विषय नारा र भाषणमा मात्र सीमित छ । यो समुदाय धेरै कुरामा विभेदमा परेको छ । यस समुदायका व्यक्तिले समानतामा बाँच्न पाएका छैनन् । सबैभन्दा पहिले सामाजिक तिरस्कारको डर छ । यही डरले समाजमा खुल्न सक्ने वातावरण पनि दिएको छैन । खुलिसकेका व्यक्तिलाई समाजमा सहज भएर बाँच्न धेरै गाह्रो छ । यही अवस्थाले गर्दा यो समुदायको ठुलो हिस्सा शिक्षा र स्वास्थ्य जस्ता मौलिक अधिकारबाट अझै पनि वञ्चित हुन पुगेको छ ।

स्वास्थ्य र रोजगारीको कुरा गर्ने हो भने यस समुदायमा यौनरोग र एचआइभी सङ्क्रमितको सङ्ख्या ठुलो छ । एक त रोजगारीका विभिन्न क्षेत्रमा जान नपाउने, गएमा पनि विभेद र अपमानजनक व्यवहार हुने भएकाले काम नै छोड्न बाध्य हुनुपर्छ । ठुलो सङ्ख्यामा बेरोजगार हुँदा उनीहरू आयआर्जनकै लागि ‘यौनपेसा’ मा लाग्न बाध्य छन् । यस्तो हुँदा यौनरोगबाट पीडित/सङ्क्रमित हुनुपरेको छ । यसैले उनीहरूका लागि स्वास्थ्य सेवा उपलब्ध हुनुपर्छ भन्ने माग पनि हामीले पहिलेदेखि नै सरकारसँग राख्दै आएका छौँ ।

यौनरोग र सङ्क्रमणको जोखिम हुने काम अनि घरपरिवार र समाजले नस्विकारेका कारण मानसिक स्वास्थ्य समस्याबाट गुज्रिइरहेकाको सङ्ख्या पनि यस समुदायमा ठुलो छ । कति डिप्रेसनबाट गुज्रिएका छन् । कतिले आत्महत्या गरिरहेका छन् । लाग्छ, मनोविमर्शकर्ता र सहजकर्ता भइदिए उनीहरू मानसिक स्वास्थ्य समस्या र डिप्रेसनको अवस्थामा पुग्नु पर्दैनथ्यो ।

मैले अहिलेसम्मको जीवन बाँचिरहँदा यही बुझेँ कि समाज परिवर्तनका लागि सहज छैन तर असम्भव पनि छैन । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ । यसले गर्दा नयाँ पिँढीका लागि पनि सहज वातावरण बन्छ ।

मेरो विचारमा अध्ययनका लागि छात्रवृत्ति र उच्च शिक्षा अध्ययनका लागि कोटा भए सबैलाई पढ्ने अवसर मिल्थ्यो । अर्को कुरा, राज्यले त्यो व्यवस्था गरिदियो भने यस समुदायका लागि राज्यले दिएको सम्मान हुन्थ्यो । राज्यले सम्मान दिएको देखेपछि परिवार, आफन्त र समाजले पनि फरक दृष्टिकोणले हेरेर अपमान गर्दैनथ्यो । त्यसैले राज्यले शिक्षाका साथै रोजगारीका क्षेत्रमा पनि विशेष व्यवस्था गर्नुपर्छ भने स्वास्थ्य सेवा पनि सहज र सुलभ बनाउनुपर्छ भन्ने हाम्रो माग छ ।

मैले अहिलेसम्मको जीवन बाँचिरहँदा यही बुझेँ कि समाज परिवर्तनका लागि सहज छैन तर असम्भव पनि छैन । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ । यसले गर्दा नयाँ पिँढीका लागि पनि सहज वातावरण बन्छ । मैले आफ्नो लैङ्गिकताका बारेमा बाहिर नखुलेको भए आज म पनि यो अवस्था र पोजिसनमा हुने थिइनँ ।

म खुलेँ, बोलेँ । त्यही भएर वास्तविक लैङ्गिक पहिचान अनुसार चिनिएर यस क्षेत्रमा जुन सहजतामा काम गरिरहेको छु, त्यही सहजतामा अरूले पनि काम गर्न पाउनुपर्छ भन्ने लाग्छ । विगतका असहज कुरालाई बिर्सिंदै आफ्नो लैङ्गिक पहिचानका साथ अधिकारका क्षेत्रमा काम गरेर आत्मनिर्भर भई बाँच्न पाएको छु । यसमा म गर्व महसुस गर्छु । त्यसैले यस समुदायका सबै साथीलाई तिरस्कार र घृणाबाट नडराई आफू अगाडि बढ्न अनुरोध गर्छु । यसरी अघि बढेमा सकारात्मक परिवर्तन सम्भव छ । राज्यसँगै समाजले पनि बिस्तारै कुरा बुझ्दै छ ।

प्रकाशन मिति : २०८० फागुन २३ गते, बुधवार

यो पनि पढ्नुहोला


Previous articleपहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी
Next articleपक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे