यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू अहिले आआफ्नो समूहमा भए पनि खुल्न थालेका छन् । उनीहरूमध्ये कतिपयले त आफ्ना मनका कुरा र वैयक्तिक घटनाहरूलाई छद्म तरिकाले सार्वजनिक गर्न पनि थालेका छन् । यसको पछाडि धेरैको चेतना र प्रयासको आधारभूमि खडा भएको पाइन्छ ।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान खुलाएर बाँच्न पाउने अधिकारको लागि आन्दोलित हुनथालेको तीन दशक नाघिसकेको छ । यद्यपि नेपालमा २२ वर्षअघि मात्र यस समुदायका मानिसको पहिचान र अधिकारको क्षेत्रमा काम गर्ने उद्देश्यका साथ संस्था स्थापना हुन सक्यो । २०५८ असोजमा स्थापित नील हिरा समाज (ब्लु डायमण्ड सोसायटी) नामक संस्था विधिवत् दर्ता भएपछि यस समुदायका केही मानिसहरू खुलेर बाहिर आउने वातावरण बन्न थाल्यो । परिवार र समाजको लहलहैमा बिहाबारी गरेका र सन्तान जन्माएका व्यक्तिहरूले पनि आफूभित्रको फरक व्यक्तित्वलाई समूहमा राख्ने अवसर पाए । आफ्नो वास्तविक पहिचान थाहा पाउने मौका पनि पाए ।
फलतः लैङ्गिक पहिचानको आयाम र दायरा फराकिलो पनि हुँदै गयो । सन् २००५ (२०६१–६२ साल) मा मितिनी नेपाल नामक संस्था पनि स्थापना गरियो । त्यसपछि यस समुदायका मानिसले आफ्नो यौनिकताका बारेमा बुझ्ने र लैङ्गिक पहिचान गर्ने थप वातावरण पाए । उनीहरूलाई आपसमा आफ्नो खास पहिचान खुलाउन केही सहज पनि हुँदै गयो । अहिले समाजमा पचासको हाराहारी उमेरका केही यस्ता पारलैङ्गिक व्यक्ति पनि भेटिन्छन्, जसले आफ्नो वास्तविक पहिचान लुकाएरै बसिरहेका छन् ।
कतिपय पारलैङ्गिक व्यक्तिहरू किशोर अवस्थामै आफू खुल्न नसकेको र परिवार, आफन्त र समाजको परिबन्दमा परेर बिहाबारी गरी सामान्य जस्तै देखिएर फरक अनुभूतिका साथ जीवन गुजार्दै आएको बताउँछन् । आधाउधी उमेर ढल्किइसकेका दुई जना यस्तै पारलैङ्गिक व्यक्तिहरूले ‘सन्धान’ सँग हालै आआफ्नो भोगाइ र सोचाइ बताउनुभएको थियो । उहाँहरू अहिले विशेषतः श्रीमती र सन्तानको जीवनमा नकारात्मक असर पर्नसक्ने डरका कारण आफ्नो लैङ्गिकता लुकाएर बस्नु नै उचित हुने निष्कर्षमा पुग्नुभएको रहेछ । यद्यपि बिहे गर्नुअघि नै परिवारमा आफू खुल्न नसकेकामा उहाँहरूलाई पछुतो लाग्ने गरेको छ । यस्तै भावभूमिमा प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले दुई जना पारलैङ्गिक व्यक्तिहरूसँग छुट्टाछुट्टै भेटेर गर्नुभएको कुराकानीमा आधारित स्वकथनहरू :
स्वकथन १ : छोराछोरीलाई थाहा छ तर …
मेरो घर पूर्व हो । म भौतिक रूपमा केटाको रूपमा जन्मिएको रहेछु । पछि मेरो मन, तन सबै केटीको जस्तो भयो । ५० वर्षअघि भए पनि मैले केही समय स्कुल जाने अवसर पाएको थिएँ । तीन कक्षासम्म पढेँ । गरिबीका कारण अरू पढ्न पाइनँ ।
मेरो उमेर बढ्दै जाँदा लगभग २१ वर्षको हुँदादेखि मलाई केटाहरू मनपर्न थाल्यो । म आफू केटा हो तर किन केटा नै मन पर्छ भन्ने आफैँलाई लाग्न थालेको थियो । यो कुराले मलाई अचम्ममा पाथ्र्यो । मलाई जस्तै अरू केटाहरूलाई पनि हुन्छ कि हुँदैन होला भनेर सोच्थेँ । यस्तो कुरा कसैलाई सुनाउन भने सकिनँ, के भन्लान् भन्ने लागेर सुनाइनँ ।
छोरी जन्मिँदा म २५ वर्षको थिएँ । त्यतिबेला मैले आफ्नो लैङ्गिकताबारे थाहा पाएँ । म त पारलैङ्गिक महिला रहेछु ! यौनिक तथा लैङ्गिक समुदायका साथीसँग भेट भएपछि यो कुरा थाहा पाएको हुँ ।
मेरा केटासाथीहरूको केटीसाथी (गर्लफ्रेन्ड) थिए । मलाई भने केटीहरूप्रति कुनै प्रकारको आकर्षण थिएन । पछि सबैले गिज्याउन थालेपछि साथीले नै खोजी दिएको एक जना केटीलाई भगाएर (बिहे गरे सरह) पूर्व झापाबाट काठमाडौँ आएँ । उनलाई कसरी लिएर आएँ, किन लिएर आएँ ? मलाई सपना जस्तो लाग्न थाल्यो । लिएर आएपछि पश्चातापले छटपटाउन थालेँ । बिहे गरेर ल्याए पनि उनी (केटी) प्रति भावनात्मक र शारीरिक रूपमा म नजिक हुन सकिनँ ।
तीन महिनासम्म हामी छुट्टाछुट्टै बिस्तरामा सुत्याैँ । त्यसपछि कहिलेकाहीँ शारीरिक सम्बन्ध भयो । तर, मनमनै आफैँलाई प्रश्न गरिरहेँ, म को हुँ र किन यस्तो हुन्छ ? यस्तो प्रश्नले मेरो मन खाइरहन्थ्यो । मेरो मनको यस्तै दुविधाका बिचमा हाम्रो छोरी जन्मिई ।
छोरी जन्मिँदा म २५ वर्षको थिएँ । त्यतिबेला मैले आफ्नो लैङ्गिकताबारे थाहा पाएँ । म त पारलैङ्गिक महिला रहेछु ! यौनिक तथा लैङ्गिक समुदायका साथीसँग भेट भएपछि यो कुरा थाहा पाएको हुँ । मलाई अहिलेसम्म पनि पछुतो भइरहन्छ, आफूलाई बल्ल चिनेँ भनेर । तर, यो कुरा मैले कसलाई सुनाउने ? म यस्तो हुँ भनेर कसलाई भन्ने ? आफू भित्रभित्रै तनाव हुन्छ । यस्तो तनाव जिन्दगीभर नै भइरहने भयो ।
अहिले ५५ वर्ष भएँ, आधा उमेर कटिसक्यो । पहिला नबुझेर आफ्नो पहिचान खुलाउन सकिनँ । अहिले छोराछोरीको इज्जतका लागि भनेर बाहिर खुल्न सकेको छैन । कहिलेकाहीँ त मेरो लैङ्गिक पहिचान यो हो भनेर भनौँ कि जस्तो पनि लाग्छ । तर, फेरि त्यसो गर्न सक्दिनँ ।
घरमा श्रीमती छिन्, अर्को पनि सन्तान जन्मियो । हाम्रा दुई छोराछोरी छन् । तर, केटाप्रतिको मेरो आकर्षण घटेन । अहिले पनि आकर्षित हुन्छु । कहिलेकाहीँ बिहे गर्नुअघि थाहा भएको भए पारिवारिक अवस्था अर्कै हुन्थ्यो भन्ने लाग्छ । कहिलेकाहीँ लैङ्गिकता थाहा नहुँदै बिहे गरेर ठिक भयो भन्ने पनि लाग्छ । श्रीमती र छोराछोरीको लागि बाँचिरहेको छु ।
अहिले ५५ वर्ष भएँ, आधा उमेर कटिसक्यो । पहिला नबुझेर आफ्नो पहिचान खुलाउन सकिनँ । अहिले छोराछोरीको इज्जतका लागि भनेर बाहिर खुल्न सकेको छैन । कहिलेकाहीँ त मेरो लैङ्गिक पहिचान यो हो भनेर भनौँ कि जस्तो पनि लाग्छ । तर, फेरि त्यसो गर्न सक्दिनँ । म जे हुँ त्यो खुलेर देखाउन सक्दिनँ । आफू जे होइन, त्यो भएर बाँच्न भने धेरै गाह्रो हुँदो रहेछ । मेरो भित्री मन, इच्छा, चाहना, रहर सबै महिलाको जस्तो छ तर बाहिर पुरुषको स्वरूप देखाउनुपर्ने बाध्यतामा छु ।
अहिलेसम्म पनि श्रीमतीलाई पनि मेरो भित्री पहिचानका बारेमा थाहा छैन । मेरा छोराछोरीलाई भने बुवा यस समुदायमा पर्नुहुन्छ भन्ने थाहा छ । अहिले धेरै मानिस खुलेर आएका छन् । मेरा छोराछोरीले सामाजिक सञ्जालबाट पनि थाहा पाए । तर, बुबा जे भए पनि बाहिर देखिएर नहिँडिदिए हुन्थ्यो भन्ने मेरा बच्चाहरूको चाहना छ ।
म अहिले पनि काठमाडौँमै छु । यहीँ ज्याला मजदुरी गर्छु । केही गरी मेरो लैङ्गिक पहिचान अरूले थाहा पाए भने घृणा गर्छन् । यही कामबाट पनि निकालिने हुँ कि भन्ने डर पनि लाग्छ । मलाई मनमा लाग्छ, म त आफ्नो लागि नभएर समाजको लागि बाँचेको रहेछु । समाजको अगाडि मैले कसैको श्रीमान्काे रूपमा त कसैको बुबाको रूपमा देखिनुपर्छ । म बनेर बाँच्दा मलाई त अब केही नहोला तर मेरो श्रीमतीलाई असर गर्छ । अरूले उनलाई ‘तेरो बुढा हिजडा, छक्का हो’ भन्लान् । छोराछोरीलाई पनि अरूले त्यसै भन्लान् भनेर मभित्रको महिला मनलाई मैले बाहिर देखाएको छैनँ । यसरी बाहिरी आवरण पुरुषको र भित्री मन, तन महिलाको लिएर बाँच्नु भनेको पनि मर्नु सरह रहेछ ।
अहिलेसम्म पनि श्रीमतीलाई पनि मेरो भित्री पहिचानका बारेमा थाहा छैन । मेरा छोराछोरीलाई भने बुवा यस समुदायमा पर्नुहुन्छ भन्ने थाहा छ । अहिले धेरै मानिस खुलेर आएका छन् । मेरा छोराछोरीले सामाजिक सञ्जालबाट पनि थाहा पाए । तर, बुबा जे भए पनि बाहिर देखिएर नहिँडिदिए हुन्थ्यो भन्ने मेरा बच्चाहरूको चाहना छ । कुनै बेला घरपरिवार र समाजको डर थियो । अहिले भने सन्तानको चाहनाले गर्दा खुलेर आउने रहर पनि मार्दै लगेको छु । अहिले आफ्नोभन्दा बढी बच्चाहरूको लागि सोच्छु ।
कहिलेकाहीँ नील हिरा समाजको कार्यक्रममा जाने गरेको छु । कार्यक्रममा महिलाको पोसाक पनि लगाएको थिएँ । एकचोटि पोखरामा महिला भएर नाच्नुपर्ने थियो । त्यहाँ गुन्युचोली लगाएको थिएँ । केटीको पहिरनमा हिँड्ने रहर मनभित्र अझै कति छ कति !
स्वकथन २ : अरूले पनि बुझ्दिए हुन्थ्यो ’नि भन्ने लाग्छ
मेरो जन्म काठमाडौँमा भयो । म जन्मँदा घरमा छोरा जन्मियो भनेर खुसियाली भएछ । मेरो भौतिक रूप छोराको भए पनि म एक पारलैङ्गिक महिला हुँ । तर, बाहिरी मान्छेका लागि म अहिले पनि पुरुष नै हुँ । मेरो लैङ्गिक वास्तविकता भने फरक छ । मेरो लैङ्गिकताको सत्यता मलाई मात्र थाहा छ । मैले कसैलाई खुलेर भन्न सकेको छैन ।
मलाई १६/१७ वर्षको उमेरदेखि ‘म किन अरू केटाहरूभन्दा भिन्न छु’ भन्ने महसुस हुन थाल्यो । ‘म केटा हुँ तर मलाई केटा नै किन मनपर्छ ?’ भन्ने प्रश्न मनमा आउन थाल्यो । मेरो बाहिरी आवरण छोरा भए पनि ‘म किन छोरीमान्छे जस्तो छु ?’ भन्ने प्रश्नले त्यतिबेला अलमलमा परेँ । तर, २० वर्षको उमेरसम्म पनि मलाई ‘म छोरा मान्छे नै हुँ’ भन्ने लाग्थ्यो ।
आफू पारलैङ्गिक समुदायको हो भन्ने थाहा पाएपछि मैले बिहे नगर्ने भनेर बसेको थिएँ । तर, घरपरिवारको करकापमा बिहे गर्नुपर्यो । २०५० सालमा मेरो बिहे भयो । त्यतिबेला ‘म यस्तो हो, बिहे गर्दिनँ’ भनेर घरपरिवारका कसैसँग पनि भन्न आँट आएन ।
घरको कमजोर आर्थिक अवस्थाका कारण मैले पढाइ पनि छोड्नुपर्यो । एउटा कम्पनीमा काम गर्दै थिएँ । यस्तैमा सुनिलबाबु पन्तसँग भेट भयो । त्यसपछि मात्र ‘म पारलैङ्गिक महिला रहेछु, म यस समुदाय (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय) मा पर्ने रहेछु,’ भन्ने थाहा पाएँ । त्यसपछि आफ्नै समुदायका साथीहरूसँग भेटघाटका लागि जाने गर्न थालेँ । कहिलेकाहीँ समुदायका कार्यक्रमहरूमा पनि जान थालेँ ।
आफू पारलैङ्गिक समुदायको हो भन्ने थाहा पाएपछि मैले बिहे नगर्ने भनेर बसेको थिएँ । तर, घरपरिवारको करकापमा बिहे गर्नुपर्यो । २०५० सालमा मेरो बिहे भयो । त्यतिबेला ‘म यस्तो हो, बिहे गर्दिनँ’ भनेर घरपरिवारका कसैसँग पनि भन्न आँट आएन । आजभन्दा करिब ३० वर्षअघिको मेरो यस्तो कुरा कसले बुझ्थे र ? त्यतिबेला मलाई यस्तो लाग्थ्यो ।
अर्को कुरा, परिवारका लागि त म छोरा नै थिएँ । उहाँहरूले छोरा नै जन्माउनुभएको हो भन्ने पनि एकमनमा लाग्थ्यो । बिहे गरेपछि मेरा दुई सन्तान छोरा र छोरी पनि जन्मिए । तर पनि आफूभित्रको फरक लैङ्गिक सत्यताले दिनहुँजसो धेरै कुरा सोच्न बाध्य हुन्थेँ । बिहे गरेको करिब १५ वर्षपछि भने म एक्लै बस्न थालेँ आत्मशान्तिका लागि !
अहिले मेरो उमेरले ५० वर्ष काट्यो । यही एउटा जीवन पनि आफू भएर बाँच्न नपाएको पीडाले छटपटाउँछु । हामी जस्तो यौनिक अल्पसङ्यक र पारलैङ्गिक समुदायका लागि समाजमा बाँच्न धेरै गाह्रो छ । आफू के हुँ, त्यो कसैलाई भन्न नमिल्ने । आफू आफ्नो लागिभन्दा पनि बढी घर, परिवार र समाजका लागि बाँच्नुपर्ने । प्रायः अर्काकै लागि सोच्नुपर्ने हुँदो रहेछ । कहिलेकाहीँ त हामीलाई पनि घर, परिवार र समाजले बुझ्दिए हुन्थ्यो ’नि भन्ने लाग्छ ।
म आफू मनले केटी हुँदाहुँदै पनि परिवार र समाजको डरले केटीसँगै बिहे गरेँ । यस्तो करकापको जिन्दगी बाँच्न धेरै गाह्रो हुँदो रहेछ ।
अहिलेसम्म हाम्रो समाजले मान्छे जन्मने भनेको पुरुष वा महिला मात्रै हो भन्ने सोच्छ । शारीरिक रूपमा पुरुष जन्मिए पनि उसको भावनात्मक, मनोवैज्ञानिक र संवेगात्मक रूप अलग हुन सक्छ । ऊ महिला पनि हुन सक्छ भन्ने सोच्दैन । मानिसको भावना महिला र पुरुषभन्दा फरक फरक पनि हुन्छ भन्ने कुरालाई पाप गरे जसरी हेर्छ । शरीर एक, आत्मा अर्को भएर जन्मनु हाम्रो दोष होइन नि !
मेरो जीवनमा धेरै बाधा अवरोधहरू आए । मैले आफ्नो जीवनलाई फिल्मको कथाको रूपमा भोगिरहेको छु जस्तो लाग्छ । म आफू मनले केटी हुँदाहुँदै पनि परिवार र समाजको डरले केटीसँगै बिहे गरेँ । यस्तो करकापको जिन्दगी बाँच्न धेरै गाह्रो हुँदो रहेछ ।
समाजले भन्दा पनि पहिला घरपरिवारले नै हाम्रो भावना बुझ्यो, पहिचान स्वीकार गर्यो भने सबै समस्या समाधान हुन्छ । हामी पहिले परिवारका लागि हौँ, त्यसपछि समाजका लागि हौँ । कहिलेकाहीँ आफ्नो लैङ्गिकताबारे मैले पहिले नै भनेर म महिलाकै भेषमा हिँड्नुपर्ने रहेछ भन्ने लाग्छ ।
मैले आफ्नो जीवनलाई पहिला आमाबुबाका लागि बाँचेँ । अहिले छोराछोरीका लागि बाँच्नुपरेको छ । मैले आफ्नो लैङ्गिकता खुलाएँ भने त्यसको असर मेरो परिवारलाई पर्छ । फलानोको छोरो, बाउ, श्रीमान् यस्तो भनेर उनीहरूको टाउकोमा आउँछ । त्यसैले आफ्नो सही पहिचान खुलाउने आँट गर्न सकेको छैनँ ।
हामी जस्तो आफ्नै पहिचान खुलाउन नसक्नेहरूका लागि र हामी पहिचान सहित अगाडि आयौँ भने यस समुदायका मानिसका लागि काम गर्ने सङ्घ संस्थाहरूले आर्थिक उपार्जनको पनि व्यवस्था गरिदिए हुन्थ्यो ।
म आर्थिक रूपमा बलियो भएको भए आफ्नो लैङ्गिकताबारे खुलेर भन्न सक्थेँ भन्ने लाग्छ । तर, आर्थिक अवस्था कमजोर छ । यस्तो भएपछि काम गरेर खानुपर्यो । म यस्तो हुँ भन्यो भने भोलि काम गर्ने ठाउँमा अपहेलना खेप्नुपर्छ । कामबाटै निकालिनुपर्ने पनि हुनसक्छ । त्यसैले लाग्छ, आर्थिक रूपमा सक्षम हुनु भनेको आत्मबल बढ्नु पनि हो रहेछ ।
म मात्रै होइन, यस समुदायका कति मानिस बाहिर आउन नसक्नु, नखुल्नुको मुख्य कारण आर्थिक हो भन्ने मलाई लाग्छ । त्यसैले हामी जस्तो आफ्नै पहिचान खुलाउन नसक्नेहरूका लागि र हामी पहिचान सहित अगाडि आयौँ भने यस समुदायका मानिसका लागि काम गर्ने सङ्घ संस्थाहरूले आर्थिक उपार्जनको पनि व्यवस्था गरिदिए हुन्थ्यो । आफूसँग पैसा भए कसैले दबाउन सक्दैन ।
घर, परिवार, समाजले गर्ने घृणाले मानिसलाई झन् कमजोर बनाउँछ । त्यसैले पहिचान लुकाएर आफ्नो जिन्दगीमा आफूले चाहेको स्वतन्त्रता नभए पनि, कसैको रोकछेक नहुने गरी अचेल एक्लै बस्दै आएको छु । उमेर हुँदा मनको इच्छा अनुसार खुलेर हिँड्ने रहर थियो, सकिनँ । अब त रहर पनि छैन ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका थप कथाहरू
- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे
- नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन
- म बाबु, म आमा
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
- सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)
सन्धान, प्रकाशन मिति : २०८० कार्तिक १ गते, बुधवार