उमिशा पाण्डे (उमेश) पारलैङ्गिक महिला हुनुहुन्छ । २०३३ सालमा जन्मिएकी उहाँ त्यतिबेला ‘पुरुष’ हुनुहुन्थ्यो । १४–१५ वर्षको उमेरमा उहाँले आफूलाई लैङ्गिक दृष्टिकोणले अरूभन्दा भिन्न भएको महसुस गर्न थाल्नुभयो । उहाँ केटाप्रति नै आकर्षित हुनुहुन्थ्यो । उहाँभित्र म केटा भएर किन केटाप्रति नै आकर्षित हुन्छु भन्ने प्रश्न आउँथ्यो । ऐनामा हेरेर ‘म के हुँ त ?’ भनेर मनमनै आफैँसँग बारम्बार प्रश्न गर्नुहुन्थ्यो ।
नेपालमा वि.सं. पचासको दशकमा अहिले जस्तो लैङ्गिकताका विभिन्न आयामहरूलाई पहिचान गर्न सजिलो थिएन । लैङ्गिकताबारे बुझाउने कुनै सङ्घसंस्था पनि थिएनन् । अहिलेको तुलनामा त्यतिबेला सूचना प्रविधिमा पहुँच पनि खासै थिएन । त्यसैले आफूबारे आफैँसँग प्रश्न गर्नु र अनुत्तरित रहनुबाहेक उहाँसँग विकल्प नै भएन ।
नील हिरा समाज (ब्लु डाइमण्ड सोसायटी) २०५८ सालमा स्थापना भएपछि मात्र उमिशाले आफू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएको थाहा पाउनुभयो ।
उमिशा केटीको पहिरन लगाउन मन पराउनुहुन्थ्यो । विद्यालयमा कार्यक्रम हुँदा उहाँ केटीकै पहिरनमा नाच्ने गर्नुहुन्थ्यो । साथीहरूले पनि ‘तिमी त हामीलाई केटा जस्तो लाग्दैन, केटी जस्तै लाग्छ’ भनेको उहाँ सम्झनुहुन्छ । केही साथीको नराम्रो व्यवहारका कारण उहाँले एसएलसी परीक्षा नै दिनुभएन । उहाँको बुबा शिक्षित भएका कारण घर, परिवारमा भने उहाँलाई अप्ठेरो भएन । उहाँको बुबा उहाँलाई ‘तँ केटी नै हुन्छेस्’ भन्नुहुन्थ्यो ।
पेसागत कामको सिलसिलामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएकै कारण विभिन्न खालका अपमान र हिंसा खेप्नुपरेको दुःखद अनुभव छ ।
नील हिरा समाज (ब्लु डाइमण्ड सोसायटी) २०५८ सालमा स्थापना भएपछि मात्र उमिशाले आफू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएको थाहा पाउनुभयो । यो समाजको लक्ष्य यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसको हकअधिकारका क्षेत्रमा काम गर्ने भएकाले उहाँ पनि सो संस्थामा आबद्ध भएर हकअधिकारका क्षेत्रमा बोल्न थाल्नुभयो । नील हिरा समाजका संस्थापकहरूमध्येका एक उमिशा हाल उपाध्यक्ष हुनुहुन्छ ।
उमिशा व्यावसायिक रूपमा २२ वर्षदेखि ‘मेकअप आर्टिस्ट’ हुनुहुन्छ । पेसागत कामको सिलसिलामा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएकै कारण विभिन्न खालका अपमान र हिंसा खेप्नुपरेको दुःखद अनुभव उहाँसँग छ ।
दुई दशकभन्दा अघिदेखि आफ्नो व्यवसायसँगै अधिकार र पहिचानको अभियानमा सक्रिय उमिशासँग मूलतः उहाँको जीवनभोगाइ, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएकै कारण आफूमाथि आइपरेका चुनौतीलाई पार लगाउँदै अघि बढिरहन कसरी सम्भव भइरहेको छ भन्ने प्रश्नले समेट्ने विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीका साथ समीक्षा गाहाले गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश:
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका थप कथाहरू
- नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन
- म बाबु, म आमा
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
- सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)
सन्धान, प्रकाशन मिति : २०८० साउन १ गते, साेमवार