Home Opinion सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)

सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)

846
0

सन्दर्भ : संसदीय निर्वाचन २०७९

सर्लाही क्षेत्र नम्बर २ मा पर्ने अगर्वा चोकैमा कात्तिक १७ गते बिहीबार दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म तीन वटा गाडीबाट मानिसहरू पालै–पालो ओर्लिए । अन्तिममा ओर्लनुभयो ‘राधा मौसी’ ।

४० जना जति मानिस चुनावी चिह्नसहितको झन्डा र पर्चा बोकेर उहाँलाई कुरिरहेका देखिए । आउनेबित्तिकै चोकका पसलेसँग प्रदेश सभा निर्वाचनका लागि नेपाल जनता पार्टीलाई मत दिन आग्रह गर्दै राधा भित्री गाउँतिर पस्नुभयो । उहाँको चुनावी प्रचार र घरदैलोमा सहभागी सबैजसो महिला थिए । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका केही व्यक्तिहरू पनि थिए । तराई–मधेसको सन्दर्भमा यो निकै दुर्लभ दृश्य थियो । राधाभन्दा केही बेरअघि मात्र सोही क्षेत्रमा घरदैलोमा आउनुभएका राजेन्द्र महतोको टोलीमा पुरुष मात्रै थिए ।

राधा मौसी अहिले नेपाल जनता पार्टीबाट मधेश प्रदेशको प्रदेश सभा सदस्यका लागि सर्लाही क्षेत्र नम्बर २ (ख) बाट निर्वाचनमा उठिरहनुभएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र पारलैङ्गिक महिला भनेर लैङ्गिक पहिचान गराउने उहाँको वास्तविक नाम महेन्द्र साह तेली हो । उहाँ यस क्षेत्रमा राधा मौसीका नामले परिचित हुनुहुन्छ । महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि पनि काम गर्ने उहाँ समाजसेवीका रूपमा पनि चिनिनु हुन्छ ।

प्रदेश सभा सदस्यका उम्मेदवार राधा मौसी यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । उहाँका चुनावी अभियान र एजेन्डा तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको भएकै कारण भोग्नुपरेका अनुभव फरक छन् । यसै सन्दर्भमा प्रस्तुत छ, राधा मौसीसँग ‘सन्धान’ ले गरेकाे कुराकानी :

तपाईं आफूलाई के भनेर परिचय गराउन चाहनु हुन्छ ?

मेरोे नाम ‘महिन्द्र’ साह तेली हो । घर रौतहट जिल्ला वडा नम्बर ९ करौनियानया । म ६० वर्ष पुगेँ । ४० वर्षदेखि सर्लाहीमा बस्दै आएको छु । यहाँ बस्न थालेदेखि नै नगरका मान्छेको सेवा गर्दै आएको हुँ ।

तपाईं अहिले ६० वर्षको हुनुभएछ । आफ्नो बाल्यकालको स्मरण गर्दिनुस् न !

मेरो बाल्यकाल दुःखमा बित्यो । म १३/१४ वर्षको हुँदा घरबाट निस्किएको हुँ । मलाई घरकाले सधैँ हेला गरे । त्यो भएर मलाई जन्म दिने आमाबुबा र परिवारसँग मेरो कुनै लेनादेना छैन । मेरो आफ्नै जिन्दगी छ । अब म त्यो घरमा पनि जान्नँ । म घरबाट गन्जी र कट्टु मात्र लाएर निस्केको थिएँ । अरू त मलाई घरको बारेमा धेरै कुरा याद छैन । काम गर्नका लागि मैले केही जानेको पनि थिइनँ । मैले भारतमा पुगेर ‘किन्नर’ हरूसँग भेटेँ र नाचगान गर्न थालेँ । कुनै न कुनै पेसा त मैले अपनाउनु नै पर्ने बाध्यता थियो ।

पढ्नुभएको छ कि छैन ?

मैले ६ कक्षासम्म पढेँ । स्कुलमा साथीहरू र शिक्षकको व्यवहारसमेत राम्रो हुँदैनथ्यो । त्यसैले पढाइ छोड्नुपर्ने अवस्था आयो र मेरो जीवन नाचगानमै बित्यो ।

तपाईंले आफ्नो फरक लैङ्गिक पहिचानबारे कहिले थाहा पाउनुभयो ? कसरी थाहा पाउनुभयो ?

फरक मलाई के लाग्यो भने मलाई मेकअप गरूँगरूँ हुन्थ्यो । सारी लाउँ भन्ने लाग्थ्यो । केटीको लुगा लगाउन मन लाग्थ्यो । अनि फेरि केटीका अङ्ग जुन हुन्छन्, त्यो हुँदैनथ्यो ।

तपाईं आफूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्ति भनेर पनि चिनाउनु हुन्छ । यो समुदायको भएकै कारण घरपरिवारबाहेक अन्यत्र भोगेका नमिठा अनुभव छन् ?

म जहाँ जन्मिएँ, त्यहाँ नराम्रो दृष्टिले हेरे । जुन पेटबाट जन्मिएँ, जन्माउनेले नै चिनेन । परिवारले हेरेन । भारतमा चाहिँ मलाई त्यस्तो भएन । मलंगवामा पनि मलाई सबैले इज्जतले हेरे ।

राधा नाम कसरी पाउनुभयो ?

म भारतको हिमाचल प्रदेश पुगेको थिएँ । चिन्तपूर्णी माताको मन्दिरमा ‘किन्नर’ ले दिएको नाम हो यो । म राधा मौसीकै नामले चिनिन चाहन्छु । पछि रौतहटमा बस्न थालेपछि मैले रौतहटबाटै नागरिकता बनाएँ । मेरो नागरिकताको लिङ्गमा छोरा (पुरुष) नै छ । त्यतिबेला अहिले जस्तो अन्य भनेर नागरिकता दिइँदैनथ्यो ।

तपाईं नामसँगै ‘मौसी’ भनेर चिनिनु हुन्छ । मौसी भनेको के हो ?

मैथिली, भोजपुरी, बज्जिका, अवधि वा हिन्दी भाषामा मौसी भनेको सानिमा भन्ने बुझिन्छ ।

तपाईंले समाजसेवा गर्दै आउनुभएको थियो, राजनीतिमा किन लाग्न थाल्नुभयो ?

यहाँको दुर्दशाले गर्दा मलाई राजनीतिमा आउन मन लागेको हो । यहाँका सडक, स्वास्थ्य, नाला आदिको समस्या देखेर मलाई लाग्यो, म राजनीतिमा जाउँ र विकासका कामहरू गरुँ ।

अहिलेसम्म मलंगवामा लामखुट्टेको औषधि पनि छर्किएको छैन । त्यसैले यहाँका जनताको दुःख देखेर मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ । मलाई सरकारी धनको कुनै लोभ छैन । काम र नाम चाहिएको हो । त्यसका लागि मत चाहिएको छ ।

भोट माग्न के कस्ता माध्यमबाट चुनावी अभियान गरिरहनुभएको छ ?

म अहिले घरदैलो अभियान गर्दैछु । त्यसबाहेक पर्चा पम्प्लेट छापिएका छन् । र्‍याली सभा गरेको छैनँ ।

तपाईंसँग घरदैलो कार्यक्रममा धेरै महिलाहरू हिँडिरहेको देखियो नि ?

हो, मैले उहाँहरूका बच्चाहरूलाई आशीर्वाद दिएको छु । त्यो आशिष्को गुण तिर्न पनि महिलाहरूले मलाई साथ दिइरहनुभएको छ । महिलाहरूसँगै मेरो कुरा मिल्छ । मैले उहाँहरूसँग धेरै समय बिताएको छु । त्यसैले म चुनावमा उठेपछि उहाँहरू खुसी भएर मसँगै हिँडिरहनुभएको छ । साथ पाइरहेको छु ।

आमजनता र तपाईंको समुदायका लागि तपाईंका एजेन्डाहरू के के छन् ?

मेरो मुख्य एजेन्डा सडक, नाला, समुदायका नागरिकको स्वास्थ्य नै हो । त्यसका साथै हाम्रो समुदायको हकका लागि पनि काम गर्नु छ । हामीलाई हेला हुनु भएन । सडकमा ‘मौगमेहरा’ भन्छन् । हामी पनि त तपाईंहरू जस्तै आमाकै पेटबाट जन्मेका मानिस हौँ । त्यसैले पनि सबै नागरिकलाई समान रूपमा सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ ।

घरदैलोमा गएर मत माग्न कत्तिको सजिलो हुने रहेछ ?

गाह्रो छ तर म घरघरै घुमेर हात जोड्छु । म काम गर्छु, मलाई जिताएर अवसर दिनुस् भन्छु । म जजमानी पनि गर्छु । जजमानीका लागि मानिसहरूले घरमा शुभ कार्य हुँदा बोलाउँछन्, आशीर्वाद लिन्छन् र केही दान गरेर पठाउँछन् । मेरा जजमानहरू धेरै छन् र उनीहरूले भोट पनि दिन्छन् । उनीहरूले मात्रै पत्याए भने पनि जित्न धेरै सजिलो हुन्छ । मलाई म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको भएकै कारणले भने गाह्रो छैन । महिला वा पुरुष जो भए पनि मान्छे हो, सबैको बराबर हकअधिकार छ र हुनुपर्छ । त्यसैले मैले घरदैलो कार्यक्रम गर्दा धेरैले मत दिने बताउनुभएको छ ।

तपाईंले यसअघि पनि निर्वाचन लडिसक्नुभयो । त्यो बेलाको अनुभव कस्तो थियो ?

म यसअघि २०७४ सालको स्थानीय चुनावमा मेयरमा उठेँ । त्यही वर्ष भएको प्रदेश सभाको निर्वाचनमा पनि उठेँ । मेयरमा त केही भोटले हारेँ । प्रदेश सभा निर्वाचनका बेला मेरो २५ लाख भारु पर्ने गाडी जलाइदिए । प्रहरीमा निवेदन दिएँ तर केही सुनुवाइ भएन । रातिको डेढ बजेतिर मेरो गाडी जलाइएको थियो । म सबैलाई आवश्यक परेको सहयोग गर्छु, सबैलाई आशीर्वाद दिन्छु । तर, खै कसले मेरो गाडीमा आगो लगायो ? अझै थाहा पाउन सकेको छैनँ ।

त्यस्तै अर्को अप्ठ्यारो मतदाता नामावलीमा पर्‍यो । मेरो नाम यहाँ मलंगवाको मतदाता नामावलीमा पहिलेदेखि थियो । २०७९ को चुनावमा मेयरमा उठ्नुअघि मेरो मतदाता नामावली सर्लाहीकै हरिपूर्वा–९ मा पठाइदिएछन् । नेताहरूको कर्तुतले मेरो नाम त्यहाँ पठाइएको रहेछ । मेरो लोकप्रियतादेखि उनीहरू डराएका थिए । नत्र यहाँ भएको नाम कसरी त्यहाँ पुग्छ ? मैले निर्वाचन कार्यालय र सिडिओलाई पनि भनेँ । तर, उम्मेदवारी दिन ढिला भइसकेको थियो । म उठ्न नपाएर छट्पटाएर बसेँँ ।

चुनावको आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

म यसअघि स्वतन्त्र उठेको थिएँ । अहिले पार्टीबाट टिकट पाएको हुँ । जसले पैसा टन्न कमाएका छन् उनीहरूले बोरा खोलेर मासुभातको भोज गर्दैछन् । मैले त्यस्तो केही गरेको छैनँ । मैले अहिलेसम्म सामाजिक काम गरेर कमाएको भनेको सबैको आशीर्वाद हो । त्यो भएर आर्थिक खर्च मैले गरेको छैनँ । जसले चुनावमा पैसा खर्च गर्छ, त्यो व्यक्तिले पदमा पुगेपछि चुनावी खर्च उठाउँछ । म त्यस्तो गर्दिनँ ।

समाजसेवीको अनुभवमा भन्नुपर्दा राजनीति भनेको के हो रहेछ ?

मेरो बुझाइमा राजनीति सबैभन्दा खराब हो । तर, मान्छेको बाध्यता र हामीलाई गर्ने अवहेलना देखेर म उम्मेदवार बनेँ ।

पार्टीबाट टिकट पाउन सङ्घर्ष गर्नुपर्‍यो कि परेन ?

मैले केही सङ्घर्ष गर्नुपरेन । पार्टीले मेरो लोकप्रियता हेरेर टिकट दिएको हो भन्ने लाग्छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्ति भनेर चिनिएकै कारणले चाहिँ चुनावी अभियानमा केही फरक अनुभव छ ?

मलाई चुनावी अभियानमा अहिलेसम्म कसैले फरक व्यवहार गरेको छैन । म हिँड्दा कहिल्यै कसैले जिस्क्याएका छैैनन् । मलाई जन्माउने घर र ठाउँका बाहेक अरू सबैले मलाई इज्जत दिएका छन् । किनकि मैले कसैलाई कहिल्यै रुवाएको छैनँ । सधैँ आशीर्वाद दिएँ । मलाई विश्वास छ, मलाई मेरा जजमानले जिताउने छन् ।

राजनीतिमा त प्रतिस्पर्धी हुन्छन् । चुनावी प्रतिस्पर्धीहरूसँग तपाईंको कस्तो सम्बन्ध छ ?

यो क्षेत्रबाट प्रदेश सभामा १८ उम्मेदवार छन् । घरदैलो कार्यक्रमतिर भेट हुँदा मलाई देखे भने मुख फेरेर नबोली जान्छन् । म पनि सोच्छु, उनीहरूले बोलाएनन् भने म किन बोलाउँ ? मलाई नचिनेका होइनन् । यहाँका बच्चा बच्चाले समेत मलाई चिन्छन् । जो मेरा प्रतिस्पर्धी हुन्, उनीहरू पनि मेरा जजमान नै हुन् । उनीहरूको घरको नुन मैले कुनै न कुनै समयमा खाएको छु । र, उनीहरूलाई आशीर्वाद दिएको छु । जुन दिन मैले जित्छु, मलाई देख्दा मुन्टो बटार्नेहरूले जवाफ पाउने छन् ।

राजनीतिमा आउन चाहने अथवा आएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई के भन्न चाहनु हुन्छ ?

सबै जना बाहिर आउनुपर्छ, आफ्नो हकका लागि बोल्नुपर्छ । हामी धर्तीमा केही लिएर आएका छैनौँ र केही लिएर जाने पनि होइन । त्यसैले हामीले सबै मिलेर केही गर्नुपर्छ । जसरी म उठेँ, अरूहरू पनि उठून् । उम्मेदवारी दिने हक मलाई पनि छ भनेर सोचेर अगाडि बढून् । आगामी चुनावहरूमा अझ धेरै उम्मेदवार बनून् र जितून् ।

राधा मैसीकाे अन्तर्वार्ता हेर्नुहाेस्

याे पाेडकाष्ट पनि सुन्नुहाेस्

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा – शिल्पा चौधरी

एसिड आक्रमणका पीडितहरूको अधिकार मेरो एजेन्डा– विन्दवासिनी कंसाकार

सन्धान, प्रकाशन मिति २०७९ कात्तिक २९ गते मंगलवार


Previous articleएसिड आक्रमणका पीडितहरूको अधिकार मेरो एजेन्डा– विन्दवासिनी कंसाकार (अडियो सहित)
Next articleबल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट