महिलावाद–संवाद शृङ्खला ४ ।
महिलावाद–संवाद शृङ्खला किन ?
विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आमरूपमा नकारात्मक दृष्टिले नै हेरिन्छ ।
यसै सन्दर्भमा ‘सन्धान’ को ‘महिलावाद–संवाद शृङ्खला’ मा महिलावाद भनेको के हो ? कसका लागि हो ? महिलावादको आवश्यकता र महत्त्व के छ ? महिलावादी को हुन् वा को होइनन् ? नेपालमा महिलावाद र महिलावादी आन्दोलन कुन रूपमा आरम्भ भयो ? कहाँ आइपुग्यो ? जस्ता प्रश्नको जवाफ हामी महिलावाद र महिलावादी मुद्दासँग जोडिएर काम गर्दै आएका व्यक्तिहरूसँग खोज्ने गर्छौं ।
यही क्रममा यस पटक युवा अभियन्ता गौरी नेपालीसँग गरिएको कुराकानी ल्याएका छौँ । झापामा जन्मिनुभएकी नेपाली करिब एक दशकदेखि सामाजिक मुद्दामा काम गर्दै आउनुभएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको लागि काम गरिरहनुभएकी उहाँ हरेक व्यक्तिले आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्छ, अरूको हस्तक्षेप हुनुहुन्न भन्ने अवधारणामा क्रियाशील युवा अभियन्ता हुनुहुन्छ । उहाँसँग महिलावाद, महिलावादी अभ्यास, नेपालको महिलावादी आन्दोलन र महिलावादी आन्दोलनभित्र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मुद्दालगायतका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ, अभियन्ता गौरी नेपालीसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको संवादमा आधारित सहलेखन :
तपाईंको विचारमा महिलावाद भनेको के हो ?
मैले बुझेको महिलावाद भनेको लैङ्गिक विभेदविरुद्ध एउटा आन्दोलन, एउटा विचार, एउटा अभियान वा अवधारणा हो । यसले लैङ्गिक समानता र समताका लागि कार्य गर्दछ । साथै, यसले विविध यौन विशेषता तथा यौन अभिमुखीकरण भएका महिलालगायत सम्पूर्ण महिलाको आत्मसम्मान र स्वतन्त्रता, प्रतिनिधित्व र पहुँच आदिलाई केन्द्रमा राखेर हेर्ने, मनन गर्ने गर्दछ । सामाजिक संरचनामा एउटा लैङ्गिक अवस्थाको आधिपत्य रहेको छ । त्यसलाई हटाएर समता कायम गरौँ भनेर काम गर्नु नै महिलावाद हो भन्ने मलाई लाग्छ । कालखण्डअनुसार यसका विविध हाँगाबिँगा पनि विकसित भइरहेका छन् र हुँदै पनि जाने छन् । पछिल्लो समय महिलाभित्रको विविधता र पहिचानका सवालहरू जोडिएर ‘क्वयेर फेमिनिज्म’, ‘मल्टी इथ्निक फेमिनिज्म’, ‘मल्टी कल्चरल फेमिनिज्म’, ‘मल्टी रेसियल फेमिनिज्म’ आदि अवधारणा विकसित भइरहेको देखिन्छ ।
महिला मात्रै महिलावादी हुनुपर्छ वा हुनेछन् भन्ने हुँदै होइन । पुरुषहरू पनि महिलावादी हुन सक्छन् । अन्य लैङ्गिक अवस्थाका व्यक्ति पनि महिलावादी हुन सक्छन् र हुनु पनि पर्छ । समाजमा लैङ्गिक समानता कायम गर्ने हो भने सबै जना नै महिलावादी हुनुपर्छ ।
महिलावादले कसका लागि काम गर्छ ?
यसले महिलाको लागि मात्र काम गर्छ भन्ने अधिकांशको बुझाइ छ तर त्यो गलत हो । महिलावादले त पुरुषको लागि पनि काम गर्छ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि पनि काम गर्छ । त्यसैले प्रयोग गर्ने शब्द महिलावाद भए पनि यसले समग्रमा लैङ्गिक समानताको लागि काम गर्छ । लैङ्गिक समानता भनेको महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूह सबैका लागि हो ।
तर, तपाईंले भनेको जस्तै बुझाइ त सबैको छैन नि ?
हो, समाजका केही समूहमा अझै पनि महिलावादप्रति र ‘महिलावादी’ व्यक्तिप्रति सकारात्मक दृष्टिकोण रहेको पाइँदैन । महिलावादको अभियान चलाउने व्यक्ति वा समूह महिला मात्रै हुन् वा हुनुपर्छ भन्ने आमधारणा अहिलेसम्म पनि देखिन्छ, जुन गलत हो । विश्वमै हेर्ने हो भने र नेपालमै पनि धेरै पुरुषहरू महिलावादी अभियानमा सहभागी भएका, महिलावादी कुराहरू गर्ने, महिलाको अधिकारको लागि काम गर्ने गरेको देखिन्छ । त्यसैले महिला मात्रै महिलावादी हुनुपर्छ वा हुनेछन् भन्ने हुँदै होइन । पुरुषहरू पनि महिलावादी हुन सक्छन् । अन्य लैङ्गिक अवस्थाका व्यक्ति पनि महिलावादी हुन सक्छन् र हुनु पनि पर्छ । समाजमा लैङ्गिक समानता कायम गर्ने हो भने सबै जना नै महिलावादी हुनुपर्छ ।
हामी आफू आफ्नो दैनिक जीवनमा कत्तिको महिलावादी भएका छौँ वा समानताको अभ्यास गरिरहेका छौँ त भनेर धेरै बहस गर्नु जरुरी छ ।
सहरी परिवेशमा त यो विचारधारालाई धेरैले स्वीकार गर्दै आएको हो कि जस्तो लाग्छ । अझ सामाजिक अभियानमा लागेका व्यक्तिहरूमध्ये कतिपयमा चाहिँ महिलावादी बन्ने लहड पनि देखिन्छ । पुरुषहरूले पनि म महिलावादी हुँ भन्ने अभिव्यक्ति दिन्छन् । म महिलावादी हुँ, यसमा म गर्व गर्छु, म पितृसत्ताको विरोधी हुँ भन्ने अभिव्यक्ति दिन्छन् । यस्तो सुनिरहँदा नेपालको महिलावादी आन्दोलनले यो महिलावादी अवधारणालाई निकै अगाडि पुर्याइसकेको रहेछ जस्तो पनि लाग्छ ।
तर, यसमा पर्याप्त काम भएको छैन । ‘म महिलावादी हुँ’ भन्न जति सजिलो छ, व्यवहारमा देखाउन धेरै गाह्रो छ । लामो समयदेखिको अभ्यास गर्दै आएको मूल्य, मान्यता, सोच, व्यवहार, हुर्काइ, बढाइलाई एकै चोटि परिवर्तन गर्न सकिँदैन । कहीँ न कहीँ, अनायासै पनि लैङ्गिक विभेद गर्ने खालका शब्दहरू प्रयोग हुन सक्छन् । व्यवहारमा विभेद देखिन सक्छ । त्यसैले आफूलाई महिलावादी हुँ भन्नेहरूको सङ्ख्या बढे पनि व्यावहारिक जीवनमा गरिएको अभ्यासमा चाहिँ फेरिएको देखिँदैन । हामी आफू आफ्नो दैनिक जीवनमा कत्तिको महिलावादी भएका छौँ वा समानताको अभ्यास गरिरहेका छौँ त भनेर धेरै बहस गर्नु जरुरी छ ।
विशेष गरेर सामाजिक न्यायमा विश्वास गर्छु र महिलावादी हुँ भन्ने पुरुषहरूले आफूमा कस्तो परिवर्तन ल्याए ? महिलावादी हुँदाखेरिको सङ्घर्ष, परम्परागत मूल्य मान्यतालाई तोडेर कसरी महिलावादी भए भन्ने खालका सङ्घर्षका कथाहरू बाहिर आउनुपर्छ । यसमा छलफल धेरै हुनु जरुरी छ जस्तो लाग्छ ।
जति पनि छलफल भएको छ, सहरमा केन्द्रित छ । पढेलेखेका र विचारधारा बुझ्ने र बौद्धिक, दार्शनिक भन्न रुचाउनेहरूका बिचमा मात्रै देखिएको छ । गाउँमा जाने हो भने महिलावादको सवाल पुरुषले उठाउने भनेको त छँँदै छैन नै जस्तो लाग्छ । फेरि अधिकांश जनसङ्ख्या गाउँमै बस्छन् । त्यसैले यसमा मेरो बुझाइ चाहिँ काम भएको छैन भन्ने नै हो ।
महिलावाद शब्ददेखि डराउने अवस्था किन आयो भनेर गहिरो विश्लेषण गर्ने हो भने समाधान त्यहीँ भेट्न सकिन्छ । महिलावाद के हो र के होइन भनेर आममानिसलाई बुझाउन जरुरी छ । हरेक घरमा आफ्ना बच्चाहरूलाई लैङ्गिक समानताका व्यवहार र सोचाइ अभिभावकले सिकाउन जरुरी छ र आफैँले पनि पालना गर्नु जरुरी छ । विद्यालयलगायत सिक्ने सिकाउने सम्पूर्ण औपचारिक अनौपचारिक स्थानहरूमा ‘महिलावाद’ बारे सिकाउने र पढाउने गर्नुपर्छ ।
भनेको महिलावाद भन्ने शब्ददेखि नै बहस हुन जरुरी छ ?
हो । महिलावाद शब्द, यसले बोक्ने अर्थ, महिलावाद के हो ? के होइन ? भन्ने कुरामा पनि आआफ्नो धारणा पाइन्छ । कन्फ्युजन छ, धेरैलाई । त्यसैले यसमा धेरैभन्दा धेरै बहस हुनुपर्छ; लेखिने, पढिने अवस्था सिर्जना गर्नुपर्छ ।
तपाईंले महिलावाद के हो, के होइन भनिरहँदा महिलावाद के चाहिँ होइन त ?
सबभन्दा पहिला भन्नुपर्दा, महिलावाद पुरुषविरोधी अवधारणा होइन तर यो पितृसत्ताविरोधी चाहिँ हो । दोस्रो, महिलावाद भनेको समाज भाँड्ने विचार होइन, समाज भाँड्ने कार्य पनि होइन । महिलावादीहरूमाथि एउटा ट्याग पनि लागेको छ, उनीहरूले त परिवारको कुरा बाहिर ल्याउँछन् । उनीहरू असहनशील हुन्छन्, परिवार बिगार्छन् आदि इत्यादि भन्ने सोचाइ छ । बुझाइ छ ।
तेस्रो, महिलावाद भनेको महिलाहरूले मात्रै बोकेर हिँड्नुपर्ने विषय होइन । यो महिलावादप्रति सबैले विश्वास राख्नुपर्ने र सबै महिलावादी हुनुपर्ने विषय हो । समग्रमा महिलावाद महिलाको मात्रै विषय होइन भन्ने सबभन्दा पहिला बुझ्नै पर्छ ।
महिलावाद, नारीवाद अथवा फेमिनिज्मलाई कतिपय व्यक्तिहरूले म यो भन्छु, यसकारण यो भन्नुपर्छ पनि भन्नुहुन्छ, तपाईं के शब्द प्रयोग गर्नुहुन्छ ?
मेरो व्यक्तिगत विचारमा नेपालको सन्दर्भमा महिला र नारी भन्ने दुई शब्दले बुझाउने अर्थमा खासै भिन्नता छैन । सबैले बुझ्नुपर्ने फेमिनिज्मको बारेमै हो । यसको जे अर्थ लगाए पनि मूल मर्म के हो भन्ने नै मुख्य हुन्छ । शब्दको प्रयोगमा त्यत्ति धेरै अल्झिरहनुपर्छ जस्तो लाग्दैन । महिलावाद, नारीवाद वा फेमिनिज्मको मर्म के हो भन्ने बुझेर काम गर्नुपर्छ जस्तो लाग्छ ।
कहिलेकाहीँ म पनि पूर्ण रूपमा महिलावादी बनिसकेको छैन भन्ने आभास हुन्छ । यसैले म महिलावादी बन्ने प्रयासमा छु भन्न रुचाउँछु ।
तपाईं आफूलाई महिलावादी भन्न रुचाउनु हुन्छ कि हुन्न ?
म आफूलाई महिलावादी भन्न रुचाउँछु । तर, आफ्नो व्यवहारतर्फ फर्केर हेर्दा म पूर्ण रूपमा महिलावादी बन्न सकेँ त भन्ने प्रश्न पनि आफैँलाई गर्छु । कतिपय सवालमा दैनिक क्रियाकलापहरू गर्दा, छलफलहरू चलाउँदा नजानिँदो हिसाबले स्टेरियो टाइप्सका कुराहरू आइरहेको पाउँछु । यो अहिलेसम्मको मेरो हुर्काइ, मैले समाजमा देखेको र सिकेको कुराले भएको हो । यसरी सोच्नु हुँदैन भन्ने पनि थाहा हुन्छ तर पनि त्यही नआउनुपर्ने कुरा आइदिन्छ । त्यसैले कहिलेकाहीँ म पनि पूर्ण रूपमा महिलावादी बनिसकेको छैन भन्ने आभास हुन्छ । यसैले म महिलावादी बन्ने प्रयासमा छु भन्न रुचाउँछु ।
गलत भन्ने थाहा हुँदाहुँदै पनि आफैँबाट गलत अभ्यासहरू हुँदो रहेछ भन्नुभयो, केही उदाहरण बताइदिनु हुन्छ कि ?
विशेषतः घरायसी कामहरूमा बराबरी ढङ्गले सहभागी हुनुपर्छ भन्ने हो । म घरमा गएको बेला दाइभाउजूलाई छोरा र छोरीबिचमा विभेद नगर्नु भनेर सिकाइरहेको हुन्छु तर कहिलेकाहीँ चिया पकाउन भन्नुपर्यो भने बहिनी (भदै) लाई भन्ने रहेछु । जब कि भाइ (भदा) पनि चिया पकाउन सक्ने उमेरको छ । मैले बहिनीलाई भनेको बेला भाइ मोबाइल वा टेलिभिजन हेरेर बसेको हुन्छ । मैले चिया पकाउने काम किन भाइलाई भनिनँ भनेर पछि आफैँ सोच्छु । यो हरेक घरमा हुने अभ्यास हो । धेरैलाई यस्तो कुरा सानो लाग्ला तर गहिरिएर सोच्दा यसले ठुलो अर्थ राख्छ । व्यावहारिक जीवनमा फर्कियो भने हाम्रो पुरानै सोचले काम गरिरहेको हुने रहेछ ।
तपाईंले अहिलेसम्म कुरा गर्दा पितृसत्ता, पितृसत्तात्मक सोचले लैङ्गिक समानता र हाम्रो व्यवहारमा असर पारेको छ भन्नुभयो । पितृसत्ता भनेको चाहिँ के हो ?
पितृसत्ता भनेको शक्तिको केन्द्रमा पुरुष रहेर शक्ति सञ्चालन पुरुषले नै गर्ने हो । पुरुषले पुरुषकेन्द्रित नै नीतिनियम बनाउने, वर्चस्वमा पुरुष नै रहने, पुरुषको पक्षपोषण हुने दृष्टिकोणबाट मात्रै सोच्ने, पुरुषको अनुकूलतामा शक्ति सञ्चालन गर्ने र पूरै संरचनामा पुरुषकै हस्तक्षेप रहने अवस्था हो । यो एक विभेदमूलक अवधारणा, सोच, व्यवहार र अभ्यास हो । र, यसले महिला, पुरुष र अन्य लैङ्गिक अवस्थाका व्यक्तिहरू सबैलाई असर पारेको हुन्छ । सामाजिक असमानता कायम गर्न यसले ठुलो भूमिका खेल्दै आएको छ ।
मलाई परिवारले ज्ञानी, असल छोरीको संज्ञा त दियो तर छोरीहरूलाई नियन्त्रण गरेर दिइने यस किसिमको संज्ञा छोरीका लागि घातक हुने रहेछ ।
पितृसत्ताले एक व्यक्तिको जीवनमा कसरी असर गर्छ ? तपाईंको जीवनमा परेका अप्ठ्याराहरू पनि केही छन् कि ?
पितृसत्ताले यो समाजमा हुर्किने सबैलाई कुनै न कुनै किसिमको कठिनाइ दिएकै हुन्छ, असर गरेकै हुन्छ । पितृसत्ताले थोपरेको मूल्य मान्यताअनुसार चल्दा घरमा हरेक छोरीलाई ‘छोरीको रूपमा’ र छोरालाई ‘छोराको रूपमा’ हुर्काइन्छ । यो धेरैलाई सामान्य जस्तै लाग्छ । खासमा त छोरा वा छोरीभन्दा पनि मान्छे बनाएर हुर्काउनुपर्ने हो नि ! मेरो कुरा गर्ने हो भने मलाई पढाउन त पढाइयो तर ‘छोरीको रूप’ मा हुर्काइयो । जतिबेला म स्कुल जान्थेँ, त्यतिबेला मेरो छरछिमेकीका कोही पनि छोरी पढ्न जाँदैनथे । यसरी हेर्दा पढ्न पाउनु मेरो लागि अवसर त हो तर अरू कुरामा फरक थियो । तिमीले यो गर वा यो नगर भनेर सिधै नभने पनि अप्रत्यक्ष व्यवहारहरूले ममा धेरै असर पारिरहेको रहेछ । प्रत्यक्ष तवरले घरबाट बाहिर निस्कनु हुँदैन भनेर कसैले मलाई भनेन तर म घरमै बस्थेँ । गाउँमा त्यही अभ्यास थियो । म जस्ता छोरीहरू घरमै सीमित हुन्थे । म ठुलो हुँदासम्म पनि जन्मस्थान छोडेर जिल्लाको अन्य ठाउँमा एक्लै बाहिर जाँदिनथेँ । एक्लै जानसक्छु भन्ने आत्मविश्वास नै आउँदैनथ्यो । जबसम्म हामी नयाँ ठाउँ जाँदैनौँ, नयाँ साथीसर्कल बनाउँदैनौँ, नयाँ मान्छेसँग बोल्दैनौँ, तबसम्म सिकाइको तह स्वतः नियन्त्रित हुँदो रहेछ । हाम्रा सिकाइ, बुझाइ, जिन्दगीप्रतिको धारणा, अवधारणा सबै कुरा नियन्त्रित हुँदा रहेछन् । छिट्टै हुनुपर्ने मानसिक विकासको प्रक्रियामा पनि नियन्त्रण हुँदो रहेछ । मेरा दाइहरू काठमाडौँ आउनेजाने गर्नुहुन्थ्यो । मलाई परिवारले ज्ञानी, असल छोरीको संज्ञा त दियो तर छोरीहरूलाई नियन्त्रण गरेर दिइने यस किसिमको संज्ञा छोरीका लागि घातक हुने रहेछ ।
महिलालाई के सुहाउँछ र के सुहाउँदैन भन्ने आमबुझाइ पितृसत्ताले नै परिभाषित गरिदियो । यस्तो यस्तो भयो भने केटी मान्छे सुन्दर हुन्छ भन्ने कुरालाई नै समाजले अघि सार्दै आयो ।
अहिले तपाईं काठमाडौँ बसेर सामाजिक अभियानमा क्रियाशील हुनुहुन्छ । त्यस्ता नियन्त्रणजन्य अप्ठ्याराहरू अहिले पनि आइपरेका छन् कि ?
आजकाल परिवारभन्दा टाढा काठमाडौंँमा बसेकाले पारिवारिक कुराबाट कुनै पनि किसिमको नियन्त्रण छैन । स्वतन्त्र जीवन बाँचिरहेको छु । समाजले गर्ने प्रश्न चाहिँ अहिले पनि आइरहेको हुन्छ । हरेक व्यक्तिगत कुरामा प्रश्न गर्छ, यो समाज । यसमा केही तीता भोगाइहरू छन् । मैले सन् २०१४ तिर कपाल काटेर छोटो बनाएको थिएँ । म त्यतिबेला काठमाडौँमा एक्लै बस्थेँ । म कपडा पनि ‘टु इन वान’ खालको लगाउँथे । घर जाँदाको घटना सम्झन्छु । गाडीबाट ओर्लेर घरसम्म हिँडेर जाँदा बाटोमा सबैले हेर्ने अनि कपाल किन काटेको ? सुहाएन । केटाको जस्तो कपाल किन बनाएको ? केटी जस्तो भएन, रुखो भयो । यस्ता प्रश्न र प्रतिक्रिया धेरैबाट आयो । घरसम्म पुग्दा जति भेटिए, सबैले सोधे ।
घरमा परिवारका सदस्यहरूले पनि किन कपाल काटेको ? यो त राम्रो देखिएन भने । ममीले चाहिँ अब नकाट्नु भन्नुभयो । यो सुनेपछि मैले ममी र आफ्नो परिवारलाई त ‘कन्भिन्स’ गरेँ तर समाजका सबैलाई चाहिँ बुझाइरहन सकिँदो रहेन छ । अहिले पनि मैले कपाल काटिरहेकै छु । अहिले पनि सुहाएन, राम्रो देखिएन है भन्ने कुरा चाहिँ घरमा जाँदा भइरहेकै छ । कपाल काट्ने वा पाल्ने, कस्तो कपडा लगाउने वा नलगाउने भन्ने पनि प्रश्न आइरहन्छ । यस्तै लगाउनुपर्छ, यस्तै हुनुपर्छ भन्ने कुरा समाजले निर्देशित गर्छ र गर्न खोज्छ । नियन्त्रण र थोपरिएको विचार छ, त्यसले कतिपय सवालमा चाहिँ अप्ठ्यारो पार्दो रहेछ । कहाँनिर अप्ठ्यारो पार्दो रहेछ भने, मैले गर्न त गरेँ, मैले चाहेको जस्तो जिन्दगी बाँच्न त बाँचे, कपाल काट्ने इच्छा थियो, कपाल काटेँ तर कति सोधिरहन्छन् भन्ने लागेर एक किसिमको पे्रसर, टर्चर अनुभव हुँदो रहेछ ।
एउटै कुरा धेरै पटक सुनिरहँदा त मानसिक स्वास्थ्यमा पनि असर गर्छ नि ! अलि पछिल्लो समयको अनुभव चाहिँ यो हो । कपाल काटेको ६–७ वर्ष भयो तर कपाल काटेको सुहाएन भन्ने प्रश्न चाहिँ घर जाँदा अहिले पनि आउँछ । महिलालाई के सुहाउँछ र के सुहाउँदैन भन्ने आमबुझाइ पितृसत्ताले नै परिभाषित गरिदियो । यस्तो यस्तो भयो भने केटी मान्छे सुन्दर हुन्छ भन्ने कुरालाई नै समाजले अघि सार्दै आयो ।
अर्को कुरा, विवाह किन नगरेको भन्ने प्रश्न पनि धेरै आउँछ । उमेर गइसक्यो, बिहे गर्न ढिला भइसक्यो भनिन्छ । म सोच्छु, ढिला भइसक्यो भनेको कस्तो हो ? गएको स्थानीय चुनावमा भोट दिन जाँदा भेट भएका अधिकांशकोे प्रश्न चाहिँ किन बिहे नगरेको अझै ? भन्ने नै थियो ।
विवाह गर्ने कुरा पनि आमरूपमा सोच्ने भनेको महिलाले पुरुषसँग र पुरुषले महिलासँग भन्ने नै छ । महिलाले महिलासँग र पुरुषले पुरुषसँग विवाह गर्ने भन्ने कुरा त धेरैले सोच्नै सकेका छैनन् । यसरी हेर्दा महिलाले आफ्नो जिन्दगी पनि स्वतन्त्र ढङ्गले जिउन नपाएको अवस्था छ, जुन पितृसत्ताको कारणले हो ।
पितृसत्ताको मारमा महिलाहरू मात्र छन् कि पुरुष पनि परेका छन् ?
पितृसत्ताको मारमा महिला मात्रै होइन, पुरुषहरू पनि परिरहेकै छन् । पुरुष भनेपछि यस्तै हुनुपर्छ भनेर समाजले लगाइदिएको ट्यागले पुरुषहरूलाई पनि प्रेसर छ । पुरुष भएपछि घर धान्ने जिम्मेवारी लिनुपर्छ, कमाउनै पर्छ । भएभरको आर्थिक भार पुरुषले नै सम्हाल्नुपर्छ भन्ने पे्रसर बोकेर हिँड्न त पक्कै सजिलो छैन । तर, आमपुरुषहरू यसविरुद्ध बोल्दैनन् । आर्थिक भारकै कुरा गर्ने हो भने त्यसलाई उनीहरूले ठुलो भारको रूपमा नलिएको हुन सक्छ अथवा अधिकांश अधिकार उपभोग गर्न पाएकै छन्, जन्मेदेखि नै निर्णायक भूमिकामा छन्, निर्णायक जिन्दगी जिउन पाएकै छन्, स्वतन्त्र छँदै छन्, त्यही भएर नबोलेका होलान् । अर्को कुरा, त्यो जिम्मेवारीको पनि लामो अभ्यास भइसकेकाले महसुस नहुँदा त्यो गौण लागेको हुन सक्छ । त्यसैले पितृसत्ताको मारमा पुरुषहरू पनि पर्छन् ।
हामीलाई चाहिएको परिवर्तन त बोली र भाषणभन्दा व्यवहार र अभ्यासमा हो । त्यसैले पहिला आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । साथै, सामाजिक न्यायमा विश्वास गर्ने सम्पूर्ण व्यक्तिहरू पितृसत्ताको विरुद्धमा लाग्नुपर्छ । पितृसत्ता भनेको नारीवाद वा महिलावादको सबैभन्दा ठुलो शत्रु हो । त्यही शत्रुविरुद्ध लड्नु छ ।
पितृसत्ताले महिला र पुरुष दुवैलाई असर गर्छ भने यसविरुद्ध कसरी र कसले लड्ने ? व्यक्तिको भूमिका के हुन सक्छ ?
पितृसत्ताविरुद्ध लड्ने भनेको पहिला आफैँसँग लड्ने हो । आफ्नो विचार, आफ्नो सोच, आफ्नो व्यवहार परिवर्तनको लागि आफैँले आफैँसँग लड्ने हो । कसको भूमिका के रहने भन्दा पनि मुख्य केन्द्रमा आफूलाई राख्ने र सामाजिक न्यायको सिद्धान्तलाई ध्यान दिने, म मान्छे हुँ भने अर्को पनि मान्छे हो । मलाई के के कुरामा चित्त बुझ्दैन ? मलाई के के गरेको ठिक लाग्दैन ? मलाई के के कुरामा स्वतन्त्र छोड्दिएको ठिक लाग्छ ? आफैँलाई हेरेर सोच्ने हो भने पनि एउटा मानवले के चाहन्छ भन्ने कुरा थाहा हुन्छ नि ! त्यसैले आफूले आफूलाई नियालेर आफूलाई चाहिने कुराहरू दोस्रो व्यक्तिलाई पनि चाहिन्छ, नियन्त्रण गर्नु हुँदैन भनेर खुला दिमागले आत्ममनन् गर्नुपर्यो । त्यो मनन गरिसकेपछि, स्वीकार गरिसकेपछि त व्यवहारमा पनि बिस्तारै आइहाल्छ । त्यसैले आत्मसङ्घर्ष नै मुख्य कुरा हो जस्तो लाग्छ ।
परिवारको भूमिका चाहिँ, बुबा आमाहरूले पनि आफूले आफूलाई परिवर्तन गराउन खोज्ने, बच्चाहरूका अगाडि लैङ्गिक समानताका सवालहरूमा भूमिका खेल्ने, परम्परागत भूमिकाहरू तोड्ने अभ्यास गर्ने हो । जस्तै, भान्सा बुबा र दाजुभाइले सम्हाल्ने, बाहिरको काम आमा र दिदीबहिनीले गर्ने । परम्परागत रूपमा चलिआएको यस्तो अभ्यासलाई परिवर्तन गर्ने, जुन कुरा सानो बच्चाले देख्छन् र त्यही सिक्दै जान्छन् ।
दोस्रो, सिकाउनुपर्छ । सानासाना कुराहरूमा छलफल गर्नुपर्छ । पहिलो शिक्षक आमाबुबा नै भएकाले घरबाटै धेरै कुरा सिकाउनुपर्छ । ठुलाले गरेको अभ्यास देखेर सानाले सिक्दै ठुलो हुने हो । त्यसो भयो भने थाहै नपाई अभ्यास गर्न थालिसकेका हुन्छन् । हामीलाई चाहिएको परिवर्तन त बोली र भाषणभन्दा व्यवहार र अभ्यासमा हो । त्यसैले पहिला आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । साथै, सामाजिक न्यायमा विश्वास गर्ने सम्पूर्ण व्यक्तिहरू पितृसत्ताको विरुद्धमा लाग्नुपर्छ । पितृसत्ता भनेको नारीवाद वा महिलावादको सबैभन्दा ठुलो शत्रु हो । त्यही शत्रुविरुद्ध लड्नु छ ।
अहिलेसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाहेक अरूले यो मुद्दा उठान गर्ने आँट गरेका छैनन् । मान्छेलाई मान्छेको दर्जामा हेर्न र सोच्न हिच्किचाउने समुदायको चरित्रविरुद्ध काम गर्ने उत्साहले मलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अभियानमा काम गर्न पे्ररित गरेको हो । काम गर्न थालेपछि छोड्न मन लागेन ।
तपाईंले कहिलेदेखि र कसरी सामाजिक न्यायको अभियानमा काम गर्न थाल्नुभयो ?
सक्रिय भएर लागेको सन् २०१३ देखि हो । त्यहाँभन्दा अगाडि म अन्य सामाजिक सवालहरूमा चासो राख्ने र सामान्य सहभागिता जनाउने गर्थें तर सक्रिय थिइनँ । काठमाडौँ आइसकेपछि पढाइ सकियो अनि सक्रिय हुन थालेँ ।
समाजमा सामाजिक विभेद छ । म पनि त्यो विभेदमा परेको छु । मलाई गाह्रो छ । म जस्तै अरूलाई पनि गाह्रो छ भन्ने अनुभव ११–१२ कक्षामा पढ्दादेखि हुन थालेको हो । त्यतिबेला म गाउँमै थिएँ । त्यतिबेलैदेखि यस्ता सवालहरूमा चासो दिने, समाज बुझ्ने प्रयास गर्न थालेँ । गाउँमा मेरो ममीको पुस्ता प्रायः अशिक्षित थियो । उनीहरूलाई अशिक्षित भएकोमा निकै ह्युमिलेसन फील हुँदो रहेछ । त्यो देखेर ममीपुस्तालाई आफ्नै घरमा बोलाएर प्रौढ शिक्षा दिन थालेँ । पढाउन थालेँ ।
प्रौढ शिक्षाले गर्दा पहिला जस्तो ल्याप्चे लगाउनु परेन । यसमा गर्व महसुस गरेको पाएँ । यस्तै कामबाट सुरु भएको हो । पछि काठमाडौँ आइसकेपछि अलि सक्रिय ढङ्गले यस्तै ‘इस्यू’ मा काम गरिरहेको छु । अहिले मैले काम गर्दै आएको संस्था लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको महासंघ नेपाल हो । यहाँ म एड्भोकेसी अफिसरको रूपमा कार्यरत छु । पछिल्लो समय मेरो सक्रियता लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको मुद्दा उठानमै छ ।
कसरी यो मुद्दातिर काम गर्न लाग्नुभयो ?
अहिलेसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाहेक अरूले यो मुद्दा उठान गर्ने आँट गरेका छैनन् । यही समुदायका अधिकारकर्मीले मात्र आफ्नो समुदायका लागि आवाज उठाइरहेका छन् । यसर्थ मान्छेलाई मान्छेको दर्जामा हेर्न र सोच्न हिच्किचाउने समुदायको चरित्रविरुद्ध काम गर्ने उत्साहले मलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अभियानमा काम गर्न प्रेरित गरेको हो । काम गर्न थालेपछि छोड्न मन लागेन ।
यौनिकता र लैङ्गिकताका सवालमा ज्ञान हासिल गर्नु र आफ्नो बुझाइलाई बृहत् बनाउनु मेरो पहिलेदेखिको रुचि हो । यसैले पनि म यस अभियानसँग जोडिन पुगेँ र अहिलेसम्म लागिरहेको छु ।
हरेक कानुन महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सबैका लागि मैत्रीपूर्ण हुनुपर्ने हो तर अहिलेसम्म पुरुषलाई केन्द्रमा राखेर कानुन बनिरहेको छ । त्यसपछि महिलाको कुरा मात्रै आउँछ ।
नेपालको संविधान २०७२ मा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार राखिएको छ । अदालतहरूले पनि यो समुदायका विभिन्न मुद्दाका पक्षमा फैसला गरेका छन् । संवैधानिक, कानुनी अधिकार पूर्ण छ ?
संविधान र कानुनले केही हदसम्म व्यवस्था गरेको छ तर पूर्ण छ भन्ने अवस्था छैन । नहुनुभन्दा त भएको छ तर यतिले पुग्दैन । संविधानमै लेखिएको भएर दक्षिण एसियामै कानुनी प्रावधान राम्रो छ भन्ने त हुन्छ तर यो चाहिँ देखाउने दाँत मात्रै हो जस्तो लाग्छ । पहिला संविधानसभामा यही समुदायबाट सुनिलबाबु पन्त नभएको भए संविधानमा त्यति कुरा पनि हुँदैनथ्यो होला । त्यसैले सहभागिता कति महत्त्वपूर्ण हुने रहेछ भन्ने एउटा उदाहरण हो यो ।
पहिलो संविधानसभाको निर्वाचनपछि यो समुदायका केही सवालहरूमा छलफल भयो । संविधानमै लेखिनुपर्छ भनेर आवाजहरू उठ्न थाले । पछिल्लो संविधानसभामा चाहिँ यो समुदायबाट कसैको पनि प्रतिनिधित्व भएन । त्यसले गर्दा पहिलो संविधानसभामा जति छलफल भएको थियो, दोस्रो संविधानसभामा भएन । पहिलाकै सवालहरू संविधानमा राख्न पनि बाहिरबाट यही समुदायले धेरै दबाब दिनुपर्यो । सुनिलबाबु पन्त हुँदा जति छलफल भएको थियो, दोस्रो संविधानसभाका सदस्यहरूले यो विषय उठाउने गरी छलफल गरेको पाइएन । त्यसैले पहिला नै छलफल भएका केही कुराहरू आउँदा पनि संविधानमा यो समुदायको बारेमा लेखियो भन्ने चाहिँ भएको छ ।
पितृसत्ताले विपरीतलिङ्गीवाद (Heteronormativity) लाई स्थापित गरेको छ । यसर्थ विपरीत लिङ्गप्रति यौनिक झुकाव भएका व्यक्ति मात्र सामान्य हुन् वा उनीहरू मात्र मान्छे हुन् भन्ने मान्यताको स्थापनाले समलिङ्गी (Homosexual) व्यक्तिहरूले आममानिस जस्तो भएर जिउन मुस्किल रहेको छ ।
संविधानमा भएका कुराहरू ऐन, कानुन, नीति नियममा कत्तिको आएका छन् ?
छैन । स्पष्ट कानुनहरू बन्नुपर्ने हो तर बनाइएको छैन । संविधानमा मात्रै लेखिएको कुरा कार्यान्वयन हुने होइन । नयाँ कानुनहरू बनाउँदा राखिनुपर्ने विषय नराखिँदा अप्ठ्यारो भएको छ । जस्तै, पहिचानसहितको नागरिकताको कुरा संविधानमा लेखिएको छ । सर्वोच्च अदालतले पनि विभिन्न फैसलाहरू गरिदिएको छ, निर्देशनहरू दिएको छ तर नागरिकता लिन अहिले पनि समस्या छ । सर्वोच्चको फैसला र निर्देशन मात्रै कार्यान्वयन हुने हो भने पनि धेरै समस्या समाधान हुन्थ्यो तर भएको छैन । पदमा बस्नेहरूको आफ्नै ढङ्गको बुझाइ र व्याख्या गराइले गर्दा भएका कानुन, सर्वोच्चका निर्देशन र फैसला कार्यान्वयन भइरहेका छैनन् । कार्यान्वयनको अवस्था मनलाग्दी ढङ्गको छ । यसले गर्दा यो समुदायका व्यक्तिहरूले एकदमै कठिनाइ भोग्नु परिरहेको छ ।
हरेक कानुन महिला, पुरुष र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सबैका लागि मैत्रीपूर्ण हुनुपर्ने हो तर अहिलेसम्म पुरुषलाई केन्द्रमा राखेर कानुन बनिरहेको छ । त्यसपछि महिलाको कुरा मात्रै आउँछ । अरूले अलिअलि बोल्न थालेका छन् । त्यो बोल्नेले पनि सहभागिताको कुरा मात्रै गरेको देखिन्छ ।
ब्राह्मणवादी पितृसत्तात्मक विपरीतलिङ्गीवादसँगको लडाइँ, सङ्घर्ष वा प्रतिरोध नै ‘दलित क्वयेर महिला’ हरूको साझा मुक्तिको वैचारिक बाटो हो । यसले जातीय, लैङ्गिक र यौनिक झुकावका दृष्टिले समानताको खोजी गर्दछ ।
तपाईं त दलित समुदायको पनि हुनुहुन्छ । दलित समुदायभित्र पनि महिला र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले दोहरो, तेहरोभन्दा पनि बढी तहको विभेद भोगिरहनु परेको छ । कस्ता कस्ता विभेदहरू छन् ?
नेपाललगायत जातव्यवस्था भएका दक्षिण एसियाली मुलुकहरूमा दलित हुनु भनेको पीडादायी कुरा हो । त्यसमाथि महिला हुनु र महिला पनि विपरीत यौनिकता (Hetrosexual) भएका महिला नहुनु, ट्रान्सजेन्डर हुनु वा इन्टरसेक्स हुनुले जातीयता, लैङ्गिकता र यौनिकताका हिसाबले थप सीमान्तकृतपना थपिदिएको छ । विभिन्न तहगत समस्याले ‘दलित क्वयेर महिला’ लाई समाजको शक्तिसम्बन्धमा सबैभन्दा पिँधमा धकेलिदिएको छ ।
पितृसत्ताले विपरीतलिङ्गीवाद (Heteronormativity) लाई स्थापित गरेको छ । यसर्थ विपरीत लिङ्गप्रति यौनिक झुकाव भएका व्यक्ति मात्र सामान्य हुन् वा उनीहरू मात्र मान्छे हुन् भन्ने मान्यताको स्थापनाले समलिङ्गी (Homosexual) व्यक्तिहरूले आममानिस जस्तो भएर जिउन मुस्किल रहेको छ ।
‘दलित क्वयेर महिला’ का लागि आफ्नो पहिचान वा यौनिकता अभिव्यक्त गर्ने स्वतन्त्रता छैन । यो पहिचानलाई समाजले घृणित नजरले हेर्ने हुँदा आफ्नो पहिचान अदृश्य राख्न बाध्य हुनुपर्ने अवस्था छ । प्रायशः आफ्नो पहिचान खुलाएमा रोजगारीबाट बहिष्कार, साथीत्वबाट बहिष्कार, सेवा तथा अवसरबाट बहिष्कारको सिकार हुनुपर्दछ । साथै, कतिपयको नागरिकता, शैक्षिक जस्ता प्रमाणपत्रमा गलत नाम तथा लैङ्गिक अवस्था उल्लेख भएको हुन्छ । यसले सेवा लिने हरेक ठाउँमा आफ्ना निजी कुराहरू पटकपटक दोहोर्याउनुपर्ने हुन्छ । यो पनि एक किसिमको टर्चर हो ।
विपरीत यौनिकता भएका व्यक्तिले सहजै प्रेम अभिव्यक्त गर्न पाउँछन् तर समलिङ्गीहरूले प्रेम गर्न र विवाह गर्न पाउँदैनन् । विवाह गर्ने, सन्तान ग्रहण गर्ने तथा परिवार निर्माण गरी पारिवारिक सुरक्षा अनुभूत गर्ने कुरामा राज्यले विवाहको कानुन निर्माण नगरिदिएर, समाजले समलिङ्गी विवाह अर्थात् वैवाहिक समानतालाई स्वीकारोक्ति नदिएर विभेद गरेको छ ।
‘दलित क्वयेर महिला’ ले व्यक्तिगत, पारिवारिक तथा सामाजिक हुँदै राज्य तहबाट समेत विभेद भोगिरहेका छन् । दलित जातको भएबापत हुने समस्या, महिला भएबापत हुने समस्या र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्दाको समस्या अलगअलग छन् ।
ब्राह्मणवादी पितृसत्तात्मक विपरीतलिङ्गीवादसँगको लडाइँ, सङ्घर्ष वा प्रतिरोध नै ‘दलित क्वयेर महिला’ हरूको साझा मुक्तिको वैचारिक बाटो हो । यसले जातीय, लैङ्गिक र यौनिक झुकावका दृष्टिले समानताको खोजी गर्दछ ।
महिलाभित्रको जात, धर्म, क्षेत्र त भइहाल्यो, लेस्बियन महिला, बायोसेक्स्युल महिला, ट्रान्सजेन्डर महिला, इन्टरसेक्स महिलाहरूको सवाल के हो र उनीहरूसँगै कसरी काम गर्ने र उनीहरूको सवाललाई कसरी उठाउने भनेर काम गर्नु जरुरी छ ।
नेपालको महिलावादी आन्दोलनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई कत्तिको उठाएको छ अथवा अब महिलावादी आन्दोलनले उठाउनुपर्ने मुद्दाहरू के के देख्नुहुन्छ ?
अहिलेसम्मको महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मा मात्र सीमित छ । किनभने महिला आन्दोलनका अगुवा वा महिलावादीहरूलाई पनि यो समुदायको मुद्दाको बारेमा थाहा छैन । बुझ्न पनि खोजेका छैनन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियानले पनि आफ्ना सवाललाईं मूलधारको महिलावादसँग जोड्न सकेको छैन ।
महिलावादी आन्दोलनले यो समुदायको सवाललाई उठान गर्दा कानुन निर्माणदेखि नै लाग्नुपर्छ । पितृसत्ताविरुद्धको महिलावादी आन्दोलन हो । त्यो आन्दोलनभित्र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सवाल मिहिन रूपमा बुझेर आत्मसात् गरेर लाग्नुपर्छ । महिलावादले पुरानो सामाजिक संरचना, सोचविरुद्ध काम गर्ने हो र अहिलेसम्म रहिआएको ‘जेन्डर रोल’ भत्काउने गरी लाग्नुपर्छ ।
यो समुदायको मुद्दालाई छोडेर विपरीतलिङ्गी महिलाको मुद्दा मात्र बोकेर वास्तविक महिलावादी हुन सकिँदैन । त्यसैले महिलाभित्रको इन्टरसेक्स्नालिटीलाई बुझ्ने प्रयास गर्नुपर्छ । महिलाभित्रको जात, धर्म, क्षेत्र त भइहाल्यो, लेस्बियन महिला, बायोसेक्स्युल महिला, ट्रान्सजेन्डर महिला, इन्टरसेक्स महिलाहरूको सवाल के हो र उनीहरूसँगै कसरी काम गर्ने र उनीहरूको सवाललाई कसरी उठाउने भनेर काम गर्नु जरुरी छ ।
विशेषतः महिलावादी आन्दोलनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आत्मनिर्णयको आधारमा नागरिकतालगायतको परिचयपत्र वा पहिचानको सवाल, वैवाहिक समानताको सवाल, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू निर्माण, विविध यौनिक झुकाव भएका व्यक्तिको आत्मसम्मान जस्ता सवालहरूलाई उठाउने गर्नुपर्छ । पितृसत्ताले सिर्जना गरेको जातीय विभेद, लैङ्गिक विभेद, यौनिक झुकावमा आधारित विभेदका साथै विपरीतलिङ्गीवाद (Heteronormativity) विरुद्ध पनि महिलावादी आन्दोलन सक्रिय हुनुपर्छ ।
प्रकाशन मिति २०७८ असार १५ गते बुधवार