बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा पनि सुरुमा सोझो रुख नै काटिन्छ । नेपाली वर्णमाला ‘ज्ञ’ मा अन्त्य हुन्छ । म ज्ञानु हुँ । म चाहिँ अन्त्यबाट सुरु हुन्छु ।
आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा कहिले म आफूलाई निभेको आगोका रूपमा पाउँछु । कहिले सोझो रुखका रूपमा पाउँछु । मानिसहरूले मलाई ‘तपाईंको थर के हो ?’ भनेर प्रायजसो सोध्छन् । जवाफमा म भन्छु– मलाई चिन्न ‘ज्ञानु’ भन्ने नाम मात्रैले पुग्दैन र ? पिपल भनेपछि त्यसको थर भन्नुपर्छ ? गङ्गा भनेपछि उनको थर भन्नुपर्छ ? आकाशको के थर हुन्छ ? धर्तीको थर के हुन्छ ? नाम भन्नु त पहिचान रहेछ । ज्ञानुको ‘ज्ञ’ मात्रै भइदिएको भए पनि तपाईंहरूले मलाई चिन्नुहुन्थ्यो । मान्छेले चिन्ने भनेको मान्छेलाई हो । उसको पौरखलाई हो ।
कुनै बेला म प्रिय थिएँ । त्यति बेला बलेको थिएँ । कतार पुगेर छ वर्ष काम गरेँ । खाडीको दुःख कसलाई भनौँ ? जो त्यहाँ गएर काम गरेका हुन्छन् तिनले बुझ्छन् । त्यसरी कमाएको पैसा समेत ल्याएर परिवारमा बाँडेको थिएँ । विदेशको कमाइ रहँदासम्म सबैको प्रिय नै भएँ । मसँग पैसा सकिँदै गयो, नजिक भएकाहरू टाढिए । अहिले लाग्छ, छ वर्षको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर अघि बढेको भए आज मेरो हातमा टेम्पोको स्टेरिङ हुँदैन थियो होला !
जीवनमा पढेको कुराले धेरै दिन्छ तर परेको कुरा अति नै महत्त्वपूर्ण हुन्छ । परेर वा भोगेर पाएको ज्ञान ठुलो हुन्छ । त्यसले जीवन बदल्ने सूत्र सिकाउँछ । त्यो सूत्र प्रयोग गर्ने समय आफूसँग रहन्छ रहँदैन, त्यो भने बेग्लै कुरा हो ।
हो, मैले गल्ती त गरेँ । कमाइ हुँदा बुद्धि पुर्याएको भए अहिले यस्तो हुने थिएन । प्रत्येक मान्छेको जीवनमा एक पटक मौका आउँछ । त्यो मौकाको सदुपयोग गर्न सक्यो भने बाँकी जीवन सहज हुन्छ । मौकाको दुरुपयोग गर्दा त्यसको मूल्य जीवनभर चुकाउनुपर्ने पनि हुँदो रहेछ ।
जीवनमा पढेको कुराले धेरै दिन्छ तर परेको कुरा अति नै महत्त्वपूर्ण हुन्छ । परेर वा भोगेर पाएको ज्ञान ठुलो हुन्छ । त्यसले जीवन बदल्ने सूत्र सिकाउँछ । त्यो सूत्र प्रयोग गर्ने समय आफूसँग रहन्छ रहँदैन, त्यो भने बेग्लै कुरा हो ।
कतारको मरुभूमिको के कुरा गर्नु ? त्यो मरुस्थल ! मरुस्थल उजाड हुन्छ । निरस हुन्छ । निर्जन हुन्छ । मुस्किलले कुनै जीवन खेल्छ त्यहाँ । त्यस्तो ठाउँमा पनि पैसा र पौरख खन्याएर फूल फुलाएका छन् । त्यो फूल फुलाउन गर्नुपर्ने मिहिनेतमा ध्यान गएको भए !? मरुस्थलको सङ्गत गरेका बेला मन पनि अलिकति त्यही मरुस्थल जस्तो भइदिएको भए !? मेरो के नै बिग्रिन्थ्यो होला र ? बिग्रिइसकेपछि यस्तो सोच्तैछु म– नेपाली त हो । कमलो मन । चाँडै अरूको विश्वासमा पर्ने । आफूसँग भएको बाँड्न मन लाग्ने । कमाएको पैसा पनि यही मनले सिध्यायो । अहिले साथमा पैसा त छैन तर धन्न हातमा स्टेयरिङ छ ।
अहिले ४० पुगेँ । ‘ट्रान्सम्यान’ हुँ । वीरेन्द्रनगरका सडकमा मेरो टेम्पो गुड्छ । कहिले यो चोक, कहिले अर्को चोक । यात्रुभन्दा बढी टेम्पो छन् । टेम्पो चलाएर हुने आम्दानीले जीवन धान्न मुस्किल परेको छ । म जस्तै गरी टेम्पो चलाउने अरू धेरैको यो साझा समस्या हो । सात वर्षदेखि ट्याम्पो जिन्दगी गुडिरहेको छ । यसले मलाई मर्न दिएको छैन । यसले मेरो कुनै सपना पूरा गरेको पनि छैन ।
एक मनले भन्छ– यो टेम्पोसँगको नाता चटक्कै तोड्ने बेला भयो । अर्को मनले भन्छ– नाता पनि अब को कोसँग मात्रै तोड्ने होला ? जीवनमा धेरै मानिसहरू नजिक भए अनि टाढिए । आफन्त नै टाढा छन् भने बाँकी को नै नजिक हुन्छन् र ? मान्छेसँगको नाता त दिगो रहँदो रहेनछ भने यो जाबो टिनको डब्बासँगको नाताको के कुरा गर्नु ?
बिहान एक पटक छ बजेपछि बेलुकी अर्को पटक छ नबज्दासम्म मेरो ट्याम्पो वीरेन्द्रनगरका सडकमा गुड्छ । यो हरदम गुडि चाहिँ रहँदैन । सूर्य उदाएदेखि नअस्ताएसम्म म र मेरो ट्याम्पो सडकमै हुन्छौँ, साथमै हुन्छौँ । सूर्यको घुमाइमा मेरो कमाइ जोडिन्छ । सूर्यदेव प्रकट भएपछि मेरो दिनचर्या सुरु हुन्छ । काम सुरु हुन्छ । सूर्यास्त भएपछि मेरो काममा पनि विराम लाग्छ ।
सात वर्षदेखि यसै गरी अनवरत चलिरहेको छ मेरो जीवन । ट्याम्पो चल्दा जीवन चल्छ । जीवन चल्नु मात्रैले पनि जीवनको सार्थकता हुँदैन । अलिकति दौडियोस् भन्ने कामना सबैको हुन्छ । यो दौडिने प्रयासमा हामी सबै छौँ । बाँकी पनि सबै छन् ।
वीरेन्द्रनगरमा मैले ट्याम्पो चलाएको यतिका वर्ष भयो । यसले मेरो यौनिकता र मेरो यौनिकताले यो काममा खास समस्या कहिले पनि पारेन । अरू धेरै साथीहरूले भोगेको पीडा र समस्याबारे मैले थाहा पाएको छु, बुझेको छु, सुनेको छु । तर, मेरो हकमा केही भिन्न अनुभव छ ।
दौडकै क्रममा भेटिएका मानिसहरूले ‘तपाईंको थर के हो ?’ भनेर सोध्छन् । म तिनलाई उही कुरा भन्छु– मलाई चिन्न ज्ञानु भन्ने नाम मात्रैले पुग्दैन र ? पिपल भनेपछि त्यसको थर भन्नुपर्छ ? गङ्गा भनेपछि उनको थर भन्नुपर्छ ? आकाशको के थर हुन्छ ? घर्तीको थर के हुन्छ ? ज्ञानुको ‘ज्ञ’ मात्रै भइदिएको भए पनि तपाईंहरूले मलाई मान्छे भनेर चिन्नुहुन्थ्यो । मान्छेले मान्छेलाई चिन्ने भनेको नामले नै हो । उसको पौरखले पनि हो ।
सडकमा गाडी, साइकल, मोटरसाइकल, ट्रक, बस सबै चलिरहेका छन् । तिनमा सवार मानिसहरू पनि आ–आफ्नो कामधन्दामै लागेका हुन्छन् । सबैको यो दौड़, यो हस्याङफस्याङ आयसँग जोडिएको छ । पैसासँग जोडिएको छ । पैसाकै लागि त मानिसहरू यति साह्रो मरिमेटेर भागदौड गरिरहेका छन् ।
एउटा अनौठो के छ भने, वीरेन्द्रनगरमा मैले ट्याम्पो चलाएको यतिका वर्ष भयो । यसले मेरो यौनिकता र मेरो यौनिकताले यो काममा खास समस्या कहिले पनि पारेन । अरू धेरै साथीहरूले भोगेको पीडा र समस्याबारे मैले थाहा पाएको छु, बुझेको छु, सुनेको छु । तर, मेरो हकमा केही भिन्न अनुभव छ । यस्तो किन भयो होला ? मैले कहिलेकाहीँ मनन गर्दा के पाउँछु भने म आफ्नो काम र लक्ष्यमा ध्यान दिन्छु । बाँकी दुनियाँमा कसले के भन्छन्, त्यो मेरो सरोकारमा पर्दैन ।
कसैले मलाई अपशब्द बोल्यो भने पनि मलाई पोल्दैन । कसैले नराम्रो केही भन्यो भने पनि मैले त्यो कुरा स्वीकार नै गरिनँ र लिँदै लिइनँ भने मलाई के हुन्छ ? केही पनि हुँदैन । सायद यस्तै केही भएर हो कि मलाई अरूका अपशब्दले पोल्न नसकेको ।
मेरो पार्टनर ‘लेस्बियन’ हुन् । उनी र म बिचको सहयात्रा केही वर्षदेखि अनवरत छ । हामी बिच वीरेन्द्रनगरको कमाइले खासै केही दिएन भन्ने छलफल पनि हुन्छ । तर, अब कहाँ जाने त ? बसिआएको ठाउँ छाड्न अलि गाह्रो हुन्छ । ‘बसिरहे लेउ लाग्छ, हिँडे छेउ लाग्छ’ भन्ने भनाइलाई सम्झने गर्छौं ।
एक जना कुन चाहिँ विद्वान्ले हो भनेका थिए रे, ‘कुनै राज्यले आफ्ना नागरिकको सुरक्षा गर्न सक्दैन भने त्यो राज्य छाडिदिन पर्छ ।’ अरू सुरक्षाको भन्दा पनि अहिले त आर्थिक सुरक्षाकै कुरा प्रधान बनेर आएको छ । यो सहरले हामी दुईको आर्थिक सुरक्षा गर्न सक्दैन भने हामी किन बसौँ यहाँ ? यहाँबाट नेपालगन्ज एक सय किलोमिटर टाढा छ ।
नेपालगन्जबाट पनि अगाडि दक्षिणतिर गयो भने भारत पुगिन्छ । कतार नै पुगेर फर्केको मान्छेका लागि भारत आकर्षक गन्तव्य भने होइन । नेपालमै काम गर्ने भएपछि कतिपयले काठमाडौँतिर जाने कि भन्ने पनि योजना बनाउँछन् । हामी चाहिँ नेपालगन्जतिर जाने कि भन्ने सोच्दै छौँ ।
मान्छे जतिसुकै शक्तिशाली होस् वा जतिसुकै कमजोर किन नहोस्, बाआमा बाँचुन्जेल शक्तिशालीलाई पनि बाले केही भन्नुहुन्छ कि ? आमाको मन दुख्ला कि ? भन्ने मनमा पर्दो रहेछ । कमजोर छ भने उसलाई ‘बाआमा हुनुहुन्छ नि’ भन्ने ढाडस हुँदो रहेछ । जब आफूलाई जन्म दिने बाआमा दुवैले सधैँका लागि यो संसार छाडेर जान्छन्, त्यो बेला साँच्चै एक्लो अनुभव हुन्छ । अब म मात्र छु भन्ने हुँदो रहेछ । मान्छेको कठोर सङ्घर्ष त्यही बिन्दुबाट सुरु हुन्छ ।
बाआमा हुँदासम्म मेरा लागि एक खालको परिवेश थियो । उहाँहरू नरहेपछि अर्कै भयो । यहीँ वीरेन्द्रनगरमा ऐलानी जग्गामा हाम्रो बसोबास थियो । बस्नका लागि ऐलानी नै भए पनि मैले मेरो भाग खोजेँ । दाजुभाइले त यो कुरामा खासै विमति राखेनन् तर उनीहरूका श्रीमतीहरूसँग चाहिँ कचिङ्गल भयो । वैधानिक जमिन भएको भए मालपोत र नापी कार्यालय धाउन पर्थ्याे । औँठाछाप लगाएर अंश लिन गाह्रै पर्थ्याे । ऐलानी भएको हुँदा जग्गा बार लगाएर ‘यहाँदेखि मेरो’ भन्दा पुग्यो । अहिले त्यही गरेको छु । आफ्नो भागको जमिनमा बसोबास गरिरहेका छौँ ।
(‘सन्धान सहकार्य’ अन्तर्गत हामीले विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूबाट प्रकाशित प्रसारित महिलाका जीवनकथालाई साभार गरी प्रकाशन प्रसारण गर्दै आएका छौँ । यसै क्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा काम गर्दै आएको संस्था मितिनी नेपालद्वारा प्रकाशित ‘सधैँ सँगै : विविधतामा एकता’ पुस्तिकामा समेटिएको यो कथा प्रस्तुत गरेका छौँ । ज्ञानुको लेखनमा रहेको ‘मेरो पेशा, मेरो सङ्घर्ष’ शीर्षकको यस कथालाई सामान्य सम्पादनसहित साभार गरिएको छ ।)
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका थप कथाहरू
- पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान
- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे
- नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
- सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)
सन्धान, प्रकाशन मिति २०८० पुस १९ गते बिहिबार