लैङ्गिक अध्ययन विषयकको प्राज्ञिक इतिहास खासै लामो छैन । जेन पिल्चर र इमेल्डा व्हेलहानले ‘फिफ्टी की कन्सेप्ट्स इन जेन्डर स्टडिज’ मा यो सन् १९६० को दशकको अन्त्यतिर सुरु भएको र महिलावादी आन्दोलनको दोस्रो लहरसँगै यसको विकासको क्रम अझ फराकिलो भएको उल्लेख गर्नुभएको छ ।
दोस्रो लहरले सुरुआती दिनहरूमा महिला र पुरुषबिचको लैङ्गिक असमानताको विरोध गर्यो । यसले बिस्तारै आफ्नो चासो वा खोजीलाई ज्ञानको उत्पादन गर्ने शैक्षिक संस्थाहरूमा महिलालाई, उनीहरूको पहिचान र अनुभव मात्र होइन, उनीहरूको इच्छालाई पनि बहिष्कार (Exclude) गरिन्छ वा पन्छाइन्छ भत्रे कुरामा बढी ध्यान केन्द्रित गरेको पाइन्छ । पिल्चर र व्हेलहानको विचारमा सन् १९७० को दशकअघि सामाजिक विज्ञान/शास्त्र/सङ्काय, त्यसमा पनि विशेषगरी समाजशास्त्रले लैङ्गिक पहिचानको, लैङ्गिक भूमिकाको र लैङ्गिक भिन्नताहरूको बारेमा खासै चासो राखेको पाइँदैन । किनकि यी विषयहरू पढ्ने, बुुझ्ने र यसबारे विचार विमर्श गर्ने र चासो राख्नेहरू पुरुषहरू मात्र हुन्थे । यसको परिणामस्वरूप अध्ययन अध्यापन गर्ने/गराउने विषयहरू पनि तत्कालीन समाजमा विद्यमान पुरुषहरूले महत्त्व राख्ने वा उनीहरूले महत्त्वपूर्ण मानेका विषयहरू मात्र हुन्थे । जस्तो; ज्यालादारी वा पैसा आउने कामहरू, राजनीति, अर्थनीति, विकास आदि ।
पिल्चर र व्हेलहानको भनाइमा सन् १९७० को दशकअघिसम्म पनि राजनीति, अर्थनीति, विकास आदि विषयहरूमा महिलाहरू लगभग अदृश्य नै थिए । त्यसबेलाको समाजशास्त्रलाई लैङ्गिक दृष्टिले हेर्दा लगभग लैङ्गिक दृष्टिविहीनताको समाजशास्त्र (Gender-blind sociology) मान्न सकिन्थ्यो । महिलाहरूलाई पत्नी र आमाको रूपमा परम्परागत भूमिकामा मात्र चर्चा परिचर्चा गरिन्थ्यो । महिला र पुरुषहरूका बिचमा भएका विभेद वा असमानताका विषयहरू/मुद्दाहरूलाई त्यसबेलाको समाजशास्त्रले चिन्दैनथ्यो । यो विधाले त्यस्ता विभेद र असमानताहरूलाई पनि सम्बोधन गरिनु पर्छ भन्ने महसुस नै गर्न सकेको थिएन ।
शैक्षिक क्षेत्रमा महिलाहरूका विषय, अनुभव, ज्ञान र इच्छालाई समेट्नुपर्छ भन्ने महसुस गर्न थालियो । त्यसले विश्वस्तरमा महिला विषयक अध्ययन कार्यक्रमलाई शैक्षिक कार्यक्रममा समाहित गरायो ।
शैक्षिक क्षेत्रमा सुरुआती दिनहरूमा महिलाका विषय वा मुद्दाहरूलाई आफूभन्दा पहिलेका पुरुष समाजशास्त्रीहरूले गरेका भुल वा पूर्वाग्रहको रूपमा स्वीकार गरेको पाइने पनि पिल्चर र व्हेलहानले उल्लेख गर्नुभएको छ । तर, तत्कालीन समाजशास्त्रीहरूले महिलाहरूलाई, उनीहरूको विषय र मुद्दाहरूलाई ज्ञानको रिक्तता वा खाली ठाउँलाई भर्ने विषय जस्तो गरेर लिए । खाली ठाउँ भर्ने प्रयोजनका लागि महिलाहरूलाई भटाभटी समावेश गरियो वा महिलाको कोटा पुर्याउने काम गर्न थालियो । यसरी महिलाहरूको कोटा भर्ने कामको चौतर्फी विरोध हुन थाल्यो । यद्यपि उक्त ‘खाली ठाउँ भर्ने’ कामको थालनी मात्रले पनि महिलाहरूका लागि महत्त्वपूर्ण हुनसक्ने क्षेत्रहरूतर्फ पुरुष समाजशास्त्रीहरूको ध्यान बिस्तारै खिच्न थाल्यो । ती क्षेत्रहरू पैसा आउने कामहरू, घरायसी कामहरू, मातृत्व र महिलामाथि हुने पुरुष हिंसा आदि हुन् । पुरुष समाजशास्त्रीहरूको ध्यानाकर्षण ती कुरामा हुन थालेको बेला त्यसलाई थप ऊर्जा दिने काम फ्रान्सेली लेखिका तथा दार्शनिक सिमोन द बुआले “द सेकेन्ड सेक्स”मा गरेको बेलायती समाजवादी महिलावादी सिद्धान्तकार तथा इतिहासकार शीइला रोबोथमले ‘वुमेन्स कन्सिअस्नेस्, म्यान्स वल्र्ड’ कृतिमा उल्लेख गर्नुभएको छ । रोबोथमले त्यस समयमा बुआका केही फरक किसिमका अभिव्यक्तिहरूले समाजमा बलियो ठाउँ पाउँदै गएको उल्लेख गर्नुभएको छ । ती अभिव्यक्तिहरू कोही जन्मँदै महिला वा पुरुष हुँदैन, बरु उसलाई महिला वा पुरुष बनाइन्छ जस्ता कथनहरू हुन् ।
समयको बहाउसँगै अथवा मागसँगै शैक्षिक क्षेत्रमा महिलाहरूको विषय वा महिलाहरूको उपस्थिति एकदमै कम छ वा नगण्य छ भन्ने वस्तुस्थितिको भान गरायो । शैक्षिक क्षेत्रमा महिलाहरूका विषय, अनुभव, ज्ञान र इच्छालाई समेट्नुपर्छ भन्ने महसुस गर्न थालियो । त्यसले विश्वस्तरमा महिला विषयक अध्ययन कार्यक्रमलाई शैक्षिक कार्यक्रममा समाहित गरायो ।
नेपालमा लैङ्गिक अध्ययन ‘जेन्डर’ अध्ययनको थालनी
नेपालको सन्दर्भमा लैङ्गिक अध्ययन ‘जेन्डर’ विषयमा अध्ययनको थालनी काठमाडौँस्थित पद्मकन्या बहुमुखी क्याम्पसबाट भएको हो । गृह विज्ञान केन्द्रीय विभाग पद्मकन्या बहुमुखी क्याम्पसले छोरी, बुहारी र श्रीमतीहरूलाई घरभित्रको काममा अझ निपुण र आधुनिक बनाउन गृह विज्ञानको अध्ययन अध्यापन गथ्र्यो । प्रायः परिवारहरूले पनि आधुनिक बनाउन घरका महिला सदस्यहरूलाई पठाउँथ्यो । यही क्याम्पसले महिला तथा लैङ्गिक अध्ययनको क्षेत्रमा अगुवाइ गर्यो । मीरा मिश्रले प्राज्ञिक संसारमा लैङ्गिक सङ्कथनको प्रवेश कसरी भयो भन्नेसम्बन्धी अन्वेषणात्मक कार्यपत्र ‘एन एक्सप्लोरेसन अन द इन्टरजेक्सन अफ जेन्डर डिस्कोर्स इन आकाडेमिया’ मा नेपालको प्राज्ञिक क्षेत्रमा लैङ्गिक बहसलाई प्रवेश गराउनामा त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को गृह विज्ञान केन्द्रीय विभाग अगुवा रहेको उल्लेख गर्नुभएको छ । विभाग सन् १९९३ मा पद्मकन्या बहुमुखी क्याम्पसको पाठ्यक्रममा ‘जेन्डर’ लाई समावेश गराउन र पद्मकन्यामा नै सन् १९९६ बाट एक वर्षे विषयको रूपमा महिला अध्ययन (वुमेन्स स्टडिज) कार्यक्रम सञ्चालन गर्न सफल भयो । यसका लागि लामै लबिङ, पैरवी र गृहकार्य भएको थियो । क्याम्पसले यो विषयको महिला सशक्तीकरण र महिला मुक्तिको क्षेत्रमा अपरिहार्य कार्य गर्दै आएको छ, जुन अहिले पनि निरन्तर चलिरहेको छ ।
गृह विज्ञान तथा महिला अध्ययन केन्द्रीय विभागले सन् २००९ मा लैङ्गिक अध्ययन विषयको एम.ए. तहको अध्ययन अध्यापन सुरु गर्यो । यो विषय अहिले वर्षको हिसाबले १३औँ वर्षमा र विद्यार्थी भर्नाको हिसाबले १२औँ समूहमा चलिरहेको छ ।
समयको अन्तरालमा महिला तथा लैङ्गिक अध्ययनका लागि पद्मकन्या बहुमुखी क्याम्पसमा सञ्चालित कार्यक्रम मात्र पूर्ण र पर्याप्त नभएको महसुस गर्न थालियो । महिला विषयक अध्ययन कार्यक्रमको अपार सफलतापछि त्यस विषयमा संलग्न प्राज्ञिक व्यक्तित्वहरूले महिला विषयक अध्ययन कार्यक्रम महिला छात्राहरूमा सीमित भएको अनुभव गरे । कारण, पद्मकन्यामा पुरुषहरूले अध्ययन गर्न नपाउने प्रावधान छ । उता, महिला, पुरुष तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत, समयको विभिन्न कालखण्डमा विभिन्न कारणले पछाडि पारिएका सबैले सहज रूपले एउटै छानोमुनि बसेर चिन्तन गर्नुपर्ने आवश्यकता पनि महसुस गरिन थाल्यो । समाजलाई बुझ्न र राष्ट्रको नीति, नियम, कानुनहरूलाई लैङ्गिक दृष्टिकोणबाट हेर्न, विश्लेषण गर्न, एक–अर्काका समस्याहरूलाई साटासाट गर्न मात्र होइन, ती समस्याहरूको समाधान पनि आफैँ खोज्न एउटा साझा थलोको रूपमा छुट्टै विषयको अध्ययन अध्यापन हुनुपर्छ भन्ने पनि गम्भीर रूपमा नै महसुस गर्न थालियो । फलस्वरुप गृह विज्ञान तथा महिला अध्ययन केन्द्रीय विभागले सन् २००९ मा लैङ्गिक अध्ययन विषयको एम.ए. तहको अध्ययन अध्यापन सुरु ग¥यो । यो विषय अहिले वर्षको हिसाबले १३औँ वर्षमा र विद्यार्थी भर्नाको हिसाबले १२औँ समूहमा चलिरहेको छ । लैङ्गिक अध्ययन विषयको महत्त्वलाई स्वीकार गर्दै सन् १९१८ मा यस विषयमा विद्यावारिधिको अध्ययन अध्यापन सुरु भयो भने सन् २०२१ मा विभिन्न आङ्गिक तथा निजी क्याम्पसहरूमा चारवर्षे बि.ए. को अध्ययन अध्यापन पनि सुरु भयो ।
महिला विषयक अध्ययनले संसारलाई महिलाको दृष्टिकोणबाट हेर्दछ र महिलाहरूलाई केन्द्रमा राख्दछ ।
लैङ्गिक अध्ययनले पुरुषहरूलाई विशेषाधिकार प्राप्त व्यक्ति ठान्ने सोच, मानसिकता, व्यवस्था वा नीति जे जति छ ती सबैप्रति गम्भीर प्रश्न गर्छ । यसको प्रमुख विशेषता वा आकर्षण भनेकै यही हो । के साँच्चै पुरुषहरू विशेषाधिकार प्राप्त छन् ? के पुरुषहरू शासक मात्र हुन् ? वा उनीहरू पनि समानताको रिले दौडका सहयात्री मात्रै हुन् ? पितृसत्ता भनेको एउटा पद्धति हो वा पुरुष नै हो ? यसले यस्ता यावत् प्रश्नहरूलार्ई पुष्टि गर्ने मौका दिन्छ ।
लैङ्गिक अध्ययनको यो यात्राले त्यसपछिका वर्षहरूमा थप गति लिन थाल्यो । महिला विषयक विधामा (महिलाको क्षेत्रमा) समाहित आफ्नो सम्पूर्ण जीवन नै यसैमा लगाएका प्राज्ञिक महिलाहरूले शिक्षण विधाहरूमा सिद्वान्तहरू निर्माण गर्दा, धारणाहरू निर्माण गर्दा, अनुसन्धान गर्दा महिलाहरूलाई खासै ध्यान नदिइएको तथ्यहरू औँल्याउन थाले । उदाहरणका लागि, महिलाहरूको घरभित्रको कामलाई किन देशको “कुल गार्हस्थ्य उत्पादनमा” (GDP) मा गणना गरिँदैन भन्दै प्रश्न गर्न थाले । महिला विषयक अध्ययनले संसारलाई महिलाको दृष्टिकोणबाट हेर्दछ र महिलाहरूलाई केन्द्रमा राख्दछ । समयक्रममा प्राज्ञिक महिलाहरूलाई यो समाज, यसभित्रका विविधता, यसभित्रका पितृसत्तात्मक विचारधारा र सोचबाट प्रभावित शिक्षण पद्घतिको बारेमा महिलाहरूलाई मात्र जानकारी दिएर र उनीहरूलाई मात्र सशक्त बनाएर पुग्दैन भन्ने महसुस हुन थाल्यो । महिलाहरूको विषयमा तथा महिलाविरोधी हिंसाका विषयमा पुरुषहरूको भूमिका अपरिहार्य रहेको अनुभव गरियो । र, पितृसत्तालाई चुनौती दिन र यसको प्रभावलाई कमजोर बनाउन पुरुष सहयात्रीको साथको उच्च मूल्याङ्कन गर्दै शैक्षिक क्षेत्रमा एउटा छुट्टै विषयको रूपमा लैङ्गिक अध्ययन (Gender Studies) विषय वा दृष्टिकोणको जन्म भयो । यो विषय संसारका विभिन्न मुलुकहरूमा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।
लैङ्गिक अध्ययनको सबैभन्दा महत्त्वपूर्ण पक्ष यो विषय स्वभावतः राजनैतिक हुनु हो । किनकि यसले समाजमा विद्यमान शक्ति संरचनाबारे प्रश्न गर्दछ । त्यति मात्र होइन, यो विषयले विद्यमान शक्ति किन र कसरी भिन्न भिन्न मानिसहरूमा भिन्न भिन्न तरिकाले बाँडफाँट हुन्छ भनेर प्रश्न गर्छ । यो विषयले शक्ति कोसँग छ ? उक्त शक्ति कसमाथि प्रयोग गरिन्छ ? भनेर प्रश्न, प्रतिप्रश्न गर्न सिकाउँछ । शक्तिको प्रयोग कस्तो अवस्थामा गरिन्छ ? यो शक्ति कस्तो छ ? तर, कस्तो हुनुपर्दथ्यो भनेर पनि सिकाउँछ । यो अध्ययनले शक्तिलाई चुनौती दिन पनि सकिन्छ र दिनुपर्दछ भन्ने धारणा पनि बोकेको छ । तर, माथि उठान गरिएका प्रश्नहरूको उत्तर खोज्ने प्रक्रिया, सिद्घान्त र तरिका भने सामाजिक संरचना र सामाजिक प्रक्रिया अनुसार फरक फरक हुन्छ र हुनुपर्छ भन्ने यसको मान्यता रहेको छ ।
पठनपाठन र चुनौती
समावेशीकरण र अन्तरविविधताको मर्म अनुरूप विभिन्न जातजाति, लिङ्ग, लैङ्गिकता, भाषा, उमेर समूह, भौगोलिक अवस्था र संस्कृतिका महिला, पुरुष र लैङ्गिक अल्पसङ्ख्यकहरू सबैका लागि लैङ्गिक अध्ययन विषयको उच्चशिक्षा खुला छ । लैङ्गिक अध्ययन विषयक उच्चशिक्षा प्राप्त गरेका व्यक्तिहरूले एउटै छानोमुनि बसेर विषयकेन्द्रित अनुसन्धानका निष्कर्षहरू, शिक्षण विधि र अभ्यास (पेडागोजी), शैक्षिक छलफल र बहसका आधारमा पितृसत्तालाई लैङ्गिक दृष्टिकोणबाट छानबिन गर्ने गर्दछन् । साथै, उनीहरूले पितृसत्ताको नकारात्मक असरहरूबाट बच्ने उपायहरू पत्ता लगाउने ‘प्लाटफर्म’ प्राप्त गर्ने छन् भन्ने परिकल्पना गर्दछ ।
लैङ्गिक अध्ययन विषयको दृष्टिकोण (Vision) : यसले लैङ्गिक अध्ययनमा उच्चशिक्षा हासिल गरेकाहरू लैङ्गिक समानता उन्मुख, न्यायोचित समाजको निर्माणका लागि शैक्षिक, व्यक्तिगत र व्यावसायिक तवरबाट लागिपर्ने छन् भने दृष्टिकोण बोकेको छ ।
लैङ्गिक अध्ययन विषयको मिसन/ध्येय (Mission) : लैङ्गिक अध्ययनमा उच्चशिक्षा हासिल गरेका व्यक्तिहरूलाई वैचारिक र सैद्धान्तिक ज्ञानको आधारमा सुसज्जित बनाउनु अध्ययनको ध्येय हो । सैद्धान्तिक ज्ञानका साथै अधिकारमा आधारित दृष्टिकोणयुक्त लैङ्गिक र विकासको अनुभवको आधारमा प्राज्ञिक अनुभव र विश्लेषणात्मक सिपहरू निर्माण गर्नु पनि यसको ध्येय हो ।
लैङ्गिक अध्ययन विषयको लक्ष्य (Goal) : लैङ्गिक ‘लेन्स’ को माध्यमबाट सिद्धान्त, अनुसन्धानका औजारहरू, समालोचनात्मक शिक्षण विधि र अभ्यास जस्ता शैक्षिक हतियारद्वारा सुसज्जित त्यस्ता योद्घाहरू उत्पादन गर्नु हो, जो लैङ्गिक समानता, लैङ्गिक न्याय र मानव अधिकारका लागि युध्दरत रहने छन् ।
तर, यी ध्येयहरू सहजै पूरा हुने, लक्ष्यहरू सहजै हासिल हुने स्थिति छैन । विभिन्न बाधा तथा अड्चनहरू छन् । विभागीय पूर्णता नपाउनु, भौतिक पूर्वाधारको अभाव हुनु, वित्तीय अभाव हुनु आदि चुनौती छन् ।
त्रि.वि. सेवा आयोग उत्तीर्ण गरी विभागमा कार्यरत स्थायी जनशक्तिमा एक जना प्राध्यापक र एक जना उप–प्राध्यापक छन् । स्थायी शिक्षकहरूले पनि आन्तरिक स्रोतबाट तलबभत्ता खाई काम गर्नुपर्ने अवस्था छ ।
विभागीय पूर्णता नपाउनु : सन् २००९ (२०६४–२०६५ साल) मा कार्यक्रमको रूपमा सुरु भएको लैङ्गिक अध्ययनले २०७६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विभागीय मान्यता प्राप्त गर्यो । यसले व्यवहारमा भने विभागीय मान्यता पाउनसकेको देखिँदैन । विश्वविद्यालयका अन्य निकायहरूले कार्यक्रमकै रूपमा व्यवहार गरिरहेको अवस्था छ । आवश्यक जनशक्तिको व्यवस्था हुनसकेको छैन । विभागका लागि २०७२/७३ मा उप–प्राध्यापकको स्थायी दरबन्दीका लागि त्रि.वि. सेवा आयोगबाट विज्ञापन आह्वान भएको थियो । त्यसपछि कुनै पनि पदका लागि विज्ञापन प्रकाशन भएको छैन । त्रि.वि. सेवा आयोग उत्तीर्ण गरी विभागमा कार्यरत स्थायी जनशक्तिमा एक जना प्राध्यापक र एक जना उप–प्राध्यापक छन् । स्थायी शिक्षकहरूले पनि आन्तरिक स्रोतबाट तलबभत्ता खाई काम गर्नुपर्ने अवस्था छ । फलस्वरूप पठनपाठन, समितिहरूको गठन तथा शोध प्रस्तावनाको प्रतिरक्षा र शोधकार्य सुपरिवेक्षण जस्ता अपरिहार्य काममा समेत अन्य क्याम्पसका प्राध्यापक/विषय विज्ञहरूसँग सहयोगका लागि हारगुहार गर्न परिरहेको छ । सम्बन्धित प्राध्यापक/विषय विज्ञहरूले आ–आफ्नो विभागको कामको जिम्मेवारी निर्वाह गरी लैङ्गिक अध्ययन विभागको काममा योगदान गर्नुपर्ने अवस्था छ । यसले गर्दा विभागका कतिपय नियमित काममा ढिलासुस्ती हुने र गुणस्तरमा नै सम्झौता गर्नुपर्ने अवस्था छ । त्रि.वि. ले कार्यक्रमहरूका लागि स्थायी लेखा प्रमुख दिन नसक्दा एक जना लेखा प्रमुखले तीन–चार वटा विभाग हेर्नुपर्ने अवस्था छ । परिणामस्वरूप लेखासम्बन्धी कामहरूमा ढिलासुस्ती भई कार्य सम्पादनमा एकदमै असजिलो स्थिति सिर्जना भइरहेको छ । कामको ढिलासुस्तीमा विभागीय प्रमुख जवाफदेही हुनुपर्छ तर सम्बन्धित निकायले अनुगमन गर्ने वा कामको बारेमा जानकारी लिने प्रक्रियाको विकास हुनसकेको छैन । अर्कोतर्फ त्रि.वि. सेवा आयोगबाट स्थायी दरबन्दीका लागि विज्ञापन नगरिँदा सन् २००९ देखि सन् २०१९ सम्ममा लैङ्गिक अध्ययन विभागबाट स्नातकोत्तर उत्तीर्ण गरेकाहरूमा मात्र होइन, उक्त विषय लिएर अध्ययन गर्न चाहनेहरूमा पनि नैराश्य छाएको अवस्था छ । विज्ञापन नगरिँदा सिर्जना भएको जनशक्तिको अभाव विभागका लागि प्रमुख चुनौतीको रूपमा रहेको छ ।
हालसम्म पनि विभागको आफ्नै भवन छैन । विभागको आफ्नै भवन निर्माणमा सघाउन तयार हातहरू छन् तर जग्गामा कुरा अड्किएको छ ।
भौतिक पूर्वाधारको चुनौती : हालसम्म पनि विभागको आफ्नै भवन छैन । अन्य क्याम्पस वा विभागसँग मिलेर मासिक घरभाडा तिर्दै अध्ययन अध्यापनको काम गर्दै आएको छ । सुरुका केही वर्ष शिक्षा विभागको एम्.फिल्. विभागसँग डिल्लीबजारमा, त्यसपछि भीमसेनगोलाको अर्किड कलेजमा हुँदै अहिले जन प्रशासन क्याम्पस बल्खुमा बिहानीको सत्रमा कक्षाहरू सञ्चालन गर्दै आएको छ । विभागले पाठ्यक्रमको प्रकृति र बनौट अनुरूप पठनपाठनका अलावा विभिन्न कार्यशाला तथा, छलफल कार्यक्रम गर्ने, विद्यार्थी वा शोधार्थीहरूलाई अतिरिक्त समयमा कक्षा कोठा र ‘पियर रिभ्यु’, शोधपत्र निर्माणलगायत पुस्तकालयमा बसेर पढ्न इच्छुक विद्यार्थी वा अन्य व्यक्तिहरूका लागि स्थान उपलब्ध गराउनुपर्ने हो तर त्यसो गर्न सकिरहेको छैन ।
अपराह्नको समयमा सम्बन्धित विभाग वा कलेजकै पठनपाठन र परीक्षाहरू सञ्चालन हुने हुँदा लैङ्गिक अध्ययनका लागि स्थान उपलब्ध नहुनु स्वाभाविक हो । भवन निर्माणमा सघाउन तयार हातहरू छन् तर जग्गामा कुरा अड्किएको छ । जग्गाका लागि प्रस्ताव गरिँदा त्रि.वि.ले आफ्नो जग्गा सबै बाँडिसकेको र आफूसँग बाँड्ने जग्गा नभएको हुँदा उपलब्ध गराउन नसकिने जवाफ दिने गरेको छ । भवनकै अभावले विभागले गर्न सकिने थुप्रै काम गर्न सकिरहेको छैन । अन्य स्थानबाट कार्यक्रम गरौँ न भन्ने प्रस्तावलाई पनि अस्वीकार गर्नुपरेको तीतो भोगाइ छ । समग्रमा गुणस्तरमै सम्झौता गर्नुपर्ने चुनौती रहेको छ ।
वित्तीय चुनौती : माथि नै उठान गरिसकियो, विभागका स्थायी दुई जना शिक्षकले पनि आन्तरिक स्रोतबाट मासिक तलब भत्ता खानुपर्ने अवस्था छ । त्यति मात्र होइन, लेखा प्रमुख, कार्यालय सहायक र प्रशासकीय कर्मचारीलगायत आंशिक शिक्षकहरू सबैलाई आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने स्थिति छ । एकातिर विभागको सम्पूर्ण खर्च विद्यार्थीहरूबाट उठाउनुपर्ने अवस्था छ भने अर्कोतिर त्रि.वि. डीन कार्यालयकै कार्यविधि अनुरूप मासिक शुल्क लगाउँदा पनि अन्य आङ्गिक क्याम्पसहरूको भन्दा महँगो पर्न गएको छ । त्रि.वि. बाट वित्तीय सहयोग उपलब्ध हुने हो भने शुल्क रकमलाई सर्वसुलभ बनाई धेरैभन्दा धेरै विद्यार्थीहरूलाई पठनपाठनको सुविधा दिन सकिन्छ । मिहिनेती तथा जेहेनदार, पिछडिएका तथा अल्पसङ्ख्यक विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न सकिन्छ । विद्यार्थी तथा लैङ्गिक क्षेत्रमा काम गर्ने समुदायका अनुभवी तथा विज्ञ व्यक्तिहरूलाई विभिन्न विषयमा लेख, निबन्ध, शोधप्रस्ताव लेख्न प्रेरित गर्न सकिन्छ ।
यो विषयप्रति त्रि.वि. पदाधिकारीहरूको उदासीनताले जानी नजानी पितृसत्तात्मक एजेन्सीको भूमिका निर्वाह गरे जस्तो पनि अनुभूति गराइरहेको छ ।
अन्त्यमा, अहिलेको सन्दर्भमा अत्यन्तै सान्दर्भिक, धेरै विद्यार्थी तथा नीति, नियम, कानुन निर्माताहरूद्वारा रुचाइएको लैङ्गिक अध्ययन विषयको पठनपाठनलाई सहज र गुणस्तरीय बनाउन जरुरी छ । विभागले सामना गर्दै आइरहेका चुनौतीहरूको निराकणका लागि त्रि.वि. ले सकारात्मक भूमिका निर्वाह गर्न र आवश्यक सहयोग उपलब्ध गराउन ढिलाइ गर्न नहुने स्थिति छ । सहयोग प्राप्त नहुनाका पछाडि सम्बन्धित निकायहरूको यो विषयप्रतिको शैक्षिक डर हो कि ? यो विषयलाई अघि बढ्न नदिने पितृसत्तात्मक सोच पो हाबी भएको हो कि ? यो विषयप्रति त्रि.वि. पदाधिकारीहरूको उदासीनताले जानी नजानी पितृसत्तात्मक एजेन्सीको भूमिका निर्वाह गरे जस्तो पनि अनुभूति गराइरहेको छ । विद्यार्थीहरूलाई अन्याय र विभेदको विरुद्घमा आवाज उठाउन सिकाउने यो विषय र विभागले किन आफैँ त्रि.वि. भित्र सीमान्तकृत भएर, विभेद झेलेर बस्नु परेको हो भन्ने विद्यार्थीहरूको प्रश्नमा विभाग मौन रहँदै आएको अवस्था छ ।
लैङ्गिक अध्ययन वर्तमान विश्वका महत्त्वपूर्ण विषयहरूमध्ये एक हो । विश्वका विश्वविद्यालयहरूमा लैङ्गिक अध्ययन विषयको पठनपाठन बढ्दो छ । त्रि.वि. का सम्बन्धित विभागहरूको सकारात्मक सहयोगबाट यो विषयलाई अझ व्यापक गर्न, सबै सामु पुर्याउन, विद्यार्थी आदानप्रदानलगायत अन्य राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको माध्यमबाट त्रि.वि. कै गरिमालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउन यो विषय प्रभावकारी हुन सक्छ । ज्ञान उत्पादनको क्षेत्रमा यो विषयले न्यायोचित, आलोचनात्मक र विश्लेषणात्मक हुन, समावेशी तथा न्यायोचित समाज निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न र शैक्षिक क्षेत्रका विभिन्न आयामहरूमा प्रभावकारी योगदान पुर्याउन सक्छ ।
(लेखक लैङ्गिक अध्ययन विभाग, त्रि.वि.का उप प्राध्यापक तथा पूर्व विभागीय प्रमुख हुनुहुन्छ ।)
याे पनि पढ्नुहाेला
- नीति तथा कार्यक्रमहरूलाई महिलाको आँखाले हेर्नेछु – रेखा शर्मा
- विद्यालय नियममा हुनै भएन ‘जेन्डर वायस’
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश
- “स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकता देखिन्छ ।” – सुसन मास्के
- लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम
- महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर
- आफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)
- लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी
सन्धान, प्रकाशन मिति २०७९ माघ १८ गते बुधवार
Great work mam. It is a great reference for the awareness, exploration and development of gender issues as well as a clear picture which shows the position of our department and associats. Lets hope that we will reach at the top soon with our mission vission and goal.
Comments are closed.