Home Opinion लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश

805
0

‘क्वयेर’ शब्द अङ्ग्रेजी भाषाबाट आएको हो । २०औँ शताब्दीसम्म अङ्ग्रेजी भाषा बोल्ने समाजमा यो शब्दलाई अपशब्द मानेर प्रयोग गरिन्थ्यो । समाजको कथित सामान्य लैङ्गिक र/वा यौनिक पहिचानको दायराभन्दा बाहिरका मानिसहरूलाई यो अपशब्दको प्रयोग गरिने गरिन्थ्यो । २०औँ शताब्दीको अन्त्यमा भएको क्रान्तिले यो शब्दको पुनर्दाबी (रिक्लेम) गर्‍यो । हामीलाई यो शब्द प्रयोग गरी अपमानित तुल्याउने गरिएको छ, अब हामी यही शब्दलाई प्रयोग गरी यसलाई सामान्यकृत बनाउँछौँ भन्ने विद्रोहबाट यो शब्दको प्रयोग हुन थाल्यो । त्यही विद्रोहको फलस्वरूप २१औँ शताब्दीमा आएर सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता भएका व्यक्तिहरूलाई जनाउन क्वयेर एक छाता शब्दका रूपमा प्रयोग गरिन्छ ।

क्वयेर शब्दको इतिहास विद्रोहसँग जोडिएको हुनाले यसलाई विद्रोहको सङ्केतका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता भएका व्यक्ति भन्नाले यौन अभिमुखीकरणको आधारमा विपरीत लैङ्गिकताका व्यक्तिहरूतर्फ आकर्षित हुने विषमयौनिक व्यक्तिबाहेक उस्तै लैङ्गिकताका व्यक्तिहरूतर्फ आकर्षित हुने समयौनिक व्यक्ति, दुबै लैङ्गिकताका व्यक्तिहरूतर्फ आकर्षित हुने द्वियौनिक व्यक्ति, सबै लैङ्गिकताका व्यक्तिहरूतर्फ आकर्षित हुने सर्वयौनिक व्यक्ति, कुनै यौनाकर्षण महसुस नहुने अयौनिक व्यक्तिलगायत पर्दछन् । त्यस्तै लैङ्गिक पहिचानका आधारमा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता अनुरूपकै लैङ्गिक अन्तरबोधन हुने त्याचलैङ्गिक व्यक्तिबाहेक जन्मँदा इङ्गित गरिएको लैङ्गिकता विपरीतको लैङ्गिक अन्तरबोधन हुने पारलैङ्गिक व्यक्ति तथा महिला र पुरुषबाहेकको लैङ्गिकताका गैर–द्वयसाङ्खिक व्यक्तिहरू पर्नाका साथै यौन विशेषताका आधारमा पुलिङ्गी र स्त्रीलिङ्गी शारीरिक भेदबाहेकका विविध शारीरिक भेद हुने अन्तरलिङ्गी व्यक्तिहरू पर्छन् । नेपालको सन्दर्भमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्ने शब्दावलीको प्रयोग पनि गरिएको पाइन्छ । यो शब्दावली नेपालको संविधान, २०७२ धारा १८(३) को अपवादात्मक वाक्य तथा धारा ४२ (१) मा पनि उल्लेख भएको छ ।

इस्वी संवत् २१औँ शताब्दीको सुरुवातदेखि नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलन सुरु भएको मानिन्छ । त्यस हिसाबले यस आन्दोलनले दुई दशक पार गरिसकेको अवस्था छ । आन्दोलनले दुई दशक पार गर्दा दोस्रो पुस्ताको ऊर्जा पनि थपिएको छ । यही दोस्रो पुस्ताको पहललाई दोस्रो छाल अर्थात् ‘सेकेन्ड वेभ’ आन्दोलन भन्ने गरिएको छ ।

कालखण्ड र संस्थागत पहल

हुन त दोस्रो छालको आन्दोलन कहिले र कसरी सुरु भयो भन्ने विषयमा निश्चित किटानी गर्न गाह्रो छ । तथापि पहिलो पुस्ताको आन्दोलनको क्रमबद्धताबाट पृथक अभियानको सुरुवातलाई दोस्रो छालको समय गणना गर्न सकिन्छ ।

पहिलो छालको आन्दोलनमा ‘समलिङ्गी तेस्रोलिङ्गी’ भन्ने शब्दावली बढी प्रयोग हुने गर्थ्यो । सोही अनुरूप उक्त जनसङ्ख्या नै बढी दृश्यक र मूलधारमा रहेको देखिन्छ । सन् २०१६ मा अन्तरलिङ्गी व्यक्तिहरूको पहिलो संस्था गठन भयो । सन् २०१७ मा उक्त संस्था ‘क्याम्पेन फर चेन्ज’ दर्ता भयो । अन्तरलिङ्गी व्यक्तिहरूकै नेतृत्वमा स्थापित तथा सञ्चालित यो संस्था हालसम्म एक मात्र त्यस्तो संस्था हो । यस अगावै अन्तरलिङ्गी व्यक्तिहरूको नेतृत्व देखिँदैनथ्यो । सन् २०१८ मा क्वयेर युथ ग्रु्प फुक्का समूहको सुरुवात भयो र सन् २०२० मा संस्थाका रूपमा दर्ता भयो । यस संस्थाको मुख्य नेतृत्वमा पारलैङ्गिक तथा गैर–द्वयसाङ्खिक व्यक्तिहरू छन् । यसै समयमा ‘क्वयेर राइट्स् कलेक्टिभ’ नामक फुक्का सञ्जाल तथा समर्थन समूह पनि गठन भएको थियो । यसरी क्रमशः पारलैङ्गिक महिला तथा पारलैङ्गिक पुरुषको फुक्का समूह ‘ट्रान्स राइट्स् कलेक्टिभ’, सन् २०२० ताका अयौनिक व्यक्तिहरूको समूह ‘नेपाली एसेक्सुअल’, गैर–द्वयसाङ्खिक व्यक्तिहरूको समूह ‘नन्–बाइनेरी कलेक्टिभ’, पारलैङ्गिक पुरुषहरूको सङ्गठन ‘युनिटी फर चेन्ज’ लगायत समूहहरूको विकास भयो ।

यी संगठनहरूमा प्रमुखतः युवा पुस्ताको नेतृत्व देखिन थाल्यो । क्वयेर छाताभित्र पहिले नेतृत्वमा नदेखिएका समूहहरू दृश्यक हुन थालेको देखिन्छ । यसरी क्वयेर छाताभित्रको विविध पहिचान भएका समूहहरूले आ–आफ्नै सङ्गठनहरू स्थापना गर्दै गएको कुरा उल्लेख्य छ ।

प्रविधिको भूमिका

दुई दशकयता नेपालमा प्रविधिको प्रयोग व्यापक भएसँगै युवा पुस्ता प्रविधिमय हुनु स्वाभाविकै रह्यो । दोस्रो छालका अधिकांश समूहहरू परम्परागत सङ्गठनीय संरचनाबाहिर रही सामाजिक सञ्जाल मार्फत स्वतःस्फूर्त गठन भएको पनि देखिन्छ । यसताका सामाजिक सञ्जालमा विभिन्न समूहहरू बने । तीमध्ये केही संस्थाका रूपमा आए, केही फुक्का सञ्जालका रूपमा रहे भने केही सामाजिक सञ्जालको समूहका रूपमा अघि बढे । दोस्रो छालको आन्दोलनमा समूहको प्रकृतिमा पनि विविधता देखिन्छ । यसले परम्परागत साङ्गठनिक संरचनाबाट टाढा रहन चाहेको कुरालाई पनि प्रस्ट्याउँछ भने त्यस्ता साङ्गठनिक संरचनामा नरहेरै पनि आन्दोलनमा योगदान गर्ने सम्भावनालाई पनि स्पष्ट पारिदिएको छ ।

अन्तरसम्बन्धीय मान्यताको विकास

दोस्रो छालको आन्दोलनमा विविधता तथा अन्तरसम्बन्ध (इन्टरसेक्सनालिटी) को अवधारणाले पनि प्रमुख स्थान पाएको देखिन्छ । क्वयेर आन्दोलनभित्र पनि विविधताको सवाल उठान हुँदै गयो । ‘समलिङ्गी तेस्रोलिङ्गी’ भन्ने मुख्य केन्द्रमा रहँदा दोस्रो छालको आन्दोलनमा अझै विविधतायुक्त समूहहरू सङ्गठित हुनाका साथै यस आन्दोलनमा पनि जात, जातीयता, क्षेत्रीयता, भाषा, अपाङ्गतालगायतका सवालहरू उठान हुँदै आएको छ ।

साङ्केतिक भाषामा क्वयेर विषयवस्तुलाई कसरी प्रस्तुत गर्ने, नेपालका विभिन्न मातृभाषामा शब्दचयन तथा सामग्री लेखन गर्ने, ब्रेल लिपिमा सामग्री प्रकाशन गर्नेलगायत विषयहरूले यस आन्दोलनमा प्रवेश पाएको देखिन्छ ।

भाषा र शब्दभण्डारको विकास

मलाई स्मरण छ, सन् २०१६ ताका मैले खस–नेपाली भाषामा आफ्नो लैङ्गिक पहिचान व्याख्या गर्न उपयुक्त शब्द पाएको थिइनँ । अङ्ग्रेजी भाषाको ‘ट्रान्सजेन्डर’ शब्दलाई खस–नेपालीमा तेस्रोलिङ्गी भन्ने अभ्यास थियो । तर, मैले आफूलाई तेस्रोलिङ्गी भन्न चाहिनँ किनभने मेरो लैङ्गिकता महिला हो । ट्रान्सजेन्डर महिला भएकै कारणले महिला होइन र तेस्रोलिङ्गी हो भन्ने भाष्यलाई मैले स्विकार्न चाहिनँ र मानिनँ । यसैले खोजनिती गरेर ‘पारलिङ्गी’ शब्द प्रयोग गरेको थिएँ । सन् २०१८ मा आएर म जस्तै विचार राख्ने थुप्रै ट्रान्सजेन्डर युवाको जमघट भयो । त्यति बेला यही ‘पारलिङ्गी’ शब्दलाई अघि सारेँ । ‘लिङ्गी’ शब्दको आशय ‘सेक्स’ भन्ने लाग्ने र ‘जेन्डर’ भएको कारणले ‘लैङ्गिक’ भन्न सकिने सुझावलाई सबैले पारित गरे । त्यसपछि डिसेम्बर १७ तारिखमा क्वयेर युथ ग्रुपबाट ‘पारलैङ्गिक’ शब्द चलाउने घोषणा भयो । पारलैङ्गिक भन्ने शब्द चलनचल्तीमा आएपछि हामी जस्ता ट्रान्सजेन्डर महिला पुरुषहरूलाई आफ्नो लैङ्गिकताबारे व्याख्या गर्न सहज भयो र आफू महिला पुरुष हुँदाहुँदै तेस्रोलिङ्गी भन्ने व्याख्या गरिरहन नपर्ने पनि भयो ।

त्यसैगरी महिला र पुरुषको वर्गमा नअटाउने लैङ्गिक पहिचान भएका व्यक्तिहरूले पनि ‘तेस्रोलिङ्गी’ शब्दमाथि प्रश्न उठाउन थाले । पहिलो को ? दोस्रो को ? र, हामी किन तेस्रो ? यस्ता प्रश्न सिर्जित संवादबाट गैर–द्वयसाङ्खिक (नन्–बाइनेरी) शब्द चलाउन सुरु भएको हो । तथापि कसैले आफूलाई तेस्रोलिङ्गी नै भनेर पहिचान गर्न इच्छाएमा त्यसको पनि सम्मान हुनुपर्ने मान्यता स्थापित भएको पाइन्छ ।

दोस्रो छालको आन्दोलनमा शब्दभण्डारको पनि उत्तिकै विकास भएको पाइन्छ । समसामयिक युगको आवश्यकताअनुसार थुप्रै नयाँ शब्दहरूले नेपाली भाषाको शब्दकोशमा प्रवेश पाएका छन् । यसअघि समलिङ्गी, तेस्रोलिङ्गी, यौन अभिमुखीकरण, लैङ्गिक पहिचान जस्ता केही शब्द मात्र प्रयोगमा आउन सकेका थिए । दोस्रो छालको आन्दोलनले थुप्रै पहिचानयुक्त शब्द र पदावलीहरूका साथै पारिभाषिक पदावलीहरूको पनि विकास गरेको छ । त्याचलैङ्गिक समीभाव (सिस्–नर्मेटिभिटी), भेददृश्यी (क्लकिङ), अन्तरण (ट्रान्जिशन), लैङ्गिक दुस्बोधन (मिसजेन्डर) जस्ता थुप्रै शब्दहरू विकसित हुँदै आएका छन् । यस प्रकारको शाब्दिक विकासले त्यस शब्दले बोकेको अवधारणालाई पनि अघि सार्न मद्दत पुर्‍याएको छ । यस्ता नवनिर्माणहरूले भाष्य परशरण (न्यारेटिभ सिफ्टिङ) मा पनि टेवा पुर्‍याएको छ ।

दोस्रो छालमा उठान भएको एक महत्त्वपूर्ण विषय ‘दृष्टिकोण’ (गेज्) को पनि थियो । यस अगावै दृष्टिकोणहरूबारे खासै चर्चा हुन्नथ्यो । त्यसबेलाका प्रायः साहित्यमा ‘समलिङ्गी तेस्रोलिङ्गी’ बारे व्याख्या हुँदा त्याचलैङ्गिक–विषमयौनिक दृष्टिकोण (सिस्–हेट्–गेज्) कै आधारमा लेखिएको पाइन्थ्यो । यस प्रकारको व्याख्यालाई विभेदको पुनरुत्पादन भनी त्याचलैङ्गिक–विषमयौनिक दृष्टिकोण तोड्नुपर्ने र त्यसका लागि क्वयेर सर्जक स्वयंले लेख्नु महत्त्वपूर्ण हुने अवधारणा उठान भएको पाइन्छ । उदाहरणका लागि, फरकलिङ्गी जस्ता शब्दहरू कुनै निश्चित लैङ्गिकताका व्यक्तिलाई भिराइँदा कुनै लैङ्गिकता ‘सामान्य’ अनि त्यसबाहेकका ‘फरक’ भन्ने विभेदकारी मान्यता भएको भन्ने आलोचना सुरु भयो । पारलैङ्गिक व्यक्तिहरूलाई ‘महिलाबाट पुरुष भएका’ वा ‘पुरुषबाट महिला भएका’ भन्ने व्याख्याले त्याचलैङ्गिक व्यक्तिहरूको वास्तविकतालाई मात्र सर्वमान्य गरी पारलैङ्गिक व्यक्तिहरूको वास्तविकतालाई इन्कार र अन्यकरण गरिएको भन्ने भाष्य उठान हुन थाल्यो ।

दिवस र ‘प्राइड परेड’ का कुरा

दोस्रो छालको आन्दोलनले विभिन्न दिवस मनाउने कार्य सुरु गरेको पाइन्छ । यसअघि सापारु (गाईजात्रा) पर्वमा एउटा र्‍याली गरिन्थ्यो । यो र्‍याली ‘प्राइड परेड’ हो कि होइन भन्नेमा एकमत छैन । कतिपय व्यक्तिहरूले गाईजात्रालाई प्राइड परेड भन्ने गरेको पाइन्छ भने कतिपय व्यक्तिहरूले गाईजात्रा पर्व नै मनाएका हौँ, कुनै छुट्टै उत्सव होइन भन्ने गरेको पाइन्छ । सन् २०१९ मा छुट्टै प्राइड परेडको आयोजना भयो । खस–नेपाली भाषामा ‘गौरव यात्रा’ शब्द चलाइयो । उक्त सालदेखि जुन महिनाको दोस्रो शनिबारका दिन गौरव यात्रा आयोजनालाई निरन्तरता दिइयो । त्यसैगरी अन्तर्राष्ट्रिय महिला दिवसका दिन क्वयेर महिला गौरव यात्रा (क्वयेर विमेन प्राइड), आदिवासी जनजाति दिवसका दिन क्वयेर आदिवासी गौरव यात्रा (क्वयेर इन्डिजिनश प्राइड) र डिसेम्बर १७ पछिको शनिबारका दिन पारलैङ्गिक गौरव यात्रा (ट्रान्स प्राइड) मनाइन थालिएको छ ।

त्यसैगरी, पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस (मार्च ३१) तथा पारलैङ्गिक स्मृति दिवस (नोभेम्बर २०) पनि सन् २०१९ देखि नेपालमा मनाउन थालिएको हो । सन् २०१७ देखि अन्तरलिङ्गी जनचेतना दिवस (अक्टोबर २६) र सन् २०२१ देखि अन्तर्राष्ट्रिय अयौनिक दिवस (अप्रिल ६) मनाउन सुरु भएको पाइन्छ । मे १७ तारिखमा मनाइने दिवस दोस्रो छालअघि नै मनाइएको पाइन्छ । यसलाई समद्वेषिता (होमोफोबिया) विरुद्धको दिवस भन्दै क्रमशः यसमा द्विद्वेषिता (बाइफोबिया) तथा पारद्वेषिता (ट्रान्सफोबिया) थप गर्दै दोस्रो छालको आन्दोलनमा समग्र क्वयेर छाता समेट्दै क्वयेरद्वेषिता विरुद्धको दिवसका रूपमा मनाइन थालियो ।

कानुनी अधिकारमा पहल

कानुनी अधिकारका सम्बन्धमा नेपालमा सन् २००७ ताका महिला र पुरुषबाहेक तेस्रोलिङ्गी उल्लेख गरी नागरिकता प्रमाणपत्र जारी गर्न नेपाल सरकारलाई सर्वोच्च अदालतले आदेश गरेको थियो । सन् २०२१ मा ‘अन्य’ उल्लेख गरी नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी गृह मन्त्रालयले निर्देशिका बनायो ।

सन् २०१७ सम्म सर्वोच्च अदालतले क्वयेर व्यक्तिहरूको पाँच वटा रिट निवेदनमा फैसला गरेको पाइन्छ । २०६४ सालमा सुनिलबाबु पन्तसमेतको रिट निवेदनमा तेस्रोलिङ्गी पहिचान दिएको, समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन अध्ययन गर्न तथा विभेदकारी कानुन संशोधन गर्न आदेश गरिएको थियो । २०६९ सालमा रजनी शाहीसमेतको रिट निवेदनमा जुनसुकै लैङ्गिकताका दुई बालिग व्यक्तिहरू सँगै बस्न पाउने भनी आदेश गरिएको थियो । २०७० सालमा डिलु बुदुजाको रिट निवेदनमा तेस्रोलिङ्गी पहिचानसहितको राहदानी जारी गर्न आदेश भएको थियो । २०७३ सालमा आनिक राना मगरसमेतको रिट निवेदनमा लैङ्गिक पहिचानमा व्यक्तिको आत्मनिर्णयको अधिकार हुने भनी आदेश गरिएको थियो । २०७४ सालमा सुमन पन्तको रिट निवेदनमा समलैङ्गिक विवाह गरेका नेपाली नागरिकको विदेशी नागरिक दम्पतीलाई गैरपर्यटकीय प्रवेशाज्ञा दिन आदेश गरिएको थियो ।

सर्वोच्चमा लैङ्गिक पहिचानका मुद्दा

सन् २०२१ देखि सर्वोच्च अदालतमा विशेषतः लैङ्गिक पहिचानसँग सरोकार राख्ने रिट निवेदनले प्रवेश पाउन थालेको छ । हाल लैङ्गिक पहिचानसम्बन्धी चार वटा रिट निवेदनहरू विचाराधीन छन् । लैङ्गिक पहिचान अनुसार मतदाता परिचयपत्र हुनुपर्ने मागदाबीसहित हालेको रिट नं. ०७७–WO–१२४४ को पक्षमा अन्तरिम आदेश जारी भएको छ । सर्वाेच्चले २०७८ फागुन ९ मा दिएको आदेशमा निवेदकले सम्मानपूर्वक तवरले मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई अन्तरिम आदेश गरेको छ ।

यस्तै, लैङ्गिक पहिचान अनुसार खोप कार्ड पाउनुपर्ने मागदाबीसहितको रिट नं. ०७८–WO–०८४७ मा पनि सर्वाेच्चले उत्प्रेषणको आदेश दिएको छ । २०७८ फागुन १५ मा भएको आदेशमा रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई महिलाकै लैङ्गिक पहिचानसहितको खोपकार्डको व्यवस्था मिलाउन भनिएको छ ।

यसैगरी, मैले नै हालेको अर्काे रिटमा पनि माग बमोजिम आदेश भएको छ । लैङ्गिक पहिचान अनुसार राहदानी पाउनुपर्ने मागदाबीसहितको रिट नं. ०७८–WO–०९९९ मा निवेदक (रुक्शना कपाली) लाई निजको मागबमोजिम निजको लैङ्गिक पहिचान ‘महिला’ भन्ने जनाई राहदानी लिनबाट वञ्चित गर्नु मनासिब नदेखिएकाले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजको लैङ्गिक पहिचान ‘महिला’ जनिएको राहदानी प्राप्त गर्नबाट वञ्चित नगर्नु नगराउनु, निजलाई महिलाको रूपमा पहिचान उल्लेख गर्ने कार्य गर्नबाट नरोक्नु, नरोकाउनु भनी प्रत्यर्थीका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।

नेपालको मौजुदा कानुनी व्यवस्थामा संशोधन गरी व्यक्तिको परिचयपत्र र प्रमाणपत्रमा लैङ्गिक पहिचान कायम गर्न नाम तथा लैङ्गिक विवरण संशोधन गर्न सक्ने प्रावधान समावेश हुनुपर्ने मागदाबीसहितको रिट नं. ०७७–WO–०६९५, लैङ्गिक पहिचान प्राप्त गर्नका लागि लिङ्ग परिवर्तन शल्यक्रिया गर्नुपर्ने सर्त बदर हुनुपर्ने मागदाबीसहितको रिट नं. ०७८–WO–०६१३, नागरिकता प्रमाणपत्रमा लिङ्ग (सेक्स) को महललाई लैङ्गिकता (जेन्डर) को महलले प्रतिस्थापन गरिनुपर्ने मागदाबीसहितको रिट नं. ०७८–WO–०६१४ तथा लैङ्गिक पहिचान अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको शैक्षिक प्रमाणपत्र संशोधन हुनुपर्ने मागदाबीसहितको रिट नं. ०७८–WO–१००२ हाल विचाराधीन छ ।

त्यसैगरी मैले आफ्नो लैङ्गिक पहिचानकै कारणले विश्वविद्यालयमा रजिष्ट्रेशन नपाएको लगायतका विषयमा आफ्नो हकका लागि रिट नं. ०७७–WO–०९७३ दायर गरेको छु । त्यसका साथै जनगणनामा यस विषयको सही ढङ्गले समावेशिता हुनुपर्ने मागदाबीसहितका रिट नं. ०७७–WO–१२४३, कानुन संकायको शैक्षिक कार्यक्रमको पाठ्यक्रममा समयौनिकतालाई अप्राकृतिक भनेर उल्लेख गरिएकोलाई बदर माग गरिएको रिट नं. ०७८–WO–०३७५ तथा महिला (त्यसमा पनि त्याचलैङ्गिक महिला) लाई जबर्जस्ती करणीमा परेमा कानुनी उपचारको व्यवस्था गरेको र अरू लैङ्गिकताका व्यक्तिलाई नगरेको सम्बन्धमा रिट नं. ०७८–WO–०९०० हाल विचाराधीन अवस्थामा छन् ।

लेखक रुक्शना कपाली ‘क्वयेर युथ ग्रुप’ को संस्थापक हुनुहुन्छ । यसमा प्रयुक्त विचार लेखकका निजी हुन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

प्रकाशन मिति : २०७९ असार ८, बुधवार ।


Previous articleद्वन्द्वकालका यौनहिंसा पीडितलाई प्राथमिकतामा राखेर काम गर्ने पीडितमैत्री आयोग हुनुपर्छ  –डा. माधवी भट्ट (भिडियो सहित)
Next articleविकेन्द्रीकरण गरे मात्र सम्भव छ, फोहोरमैलाको दिगो व्यवस्थापन –विष्णु थकाली (भिडियोसहित)