Home Insight आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

466
0

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका

झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।

वि.सं. २०५० मा बिहे गरेर हालको त्रिपुरासुन्दरीमा आएपछि ‘कहालीलाग्दो जिन्दगी सुरु भएको’ बताउने गीता त्यसपछि समाज परिवर्तनको कामतिर लाग्नुभयो । त्यही कामले नै अहिले आफूलाई स्थानीय जनप्रतिनिधि बनाएको उहाँ ठान्नुहुन्छ । गीता भन्नुहुन्छ, “श्रीमान्काे परिवार नेपाली कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवार रहेछ ।” त्यसको नकारात्मक असर उहाँको रोजगारीमा परेछ र राजनीतिक प्रतिशोधका कारण उहाँले पाएको जागिर पनि गुमाउनुभएछ । भन्नुहुन्छ, “मलाई पनि कांग्रेसको बुहारी भनेर, खोजेर, पाएको जागिर पनि गुमाउनुपरेको थियो ।”

त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्मका बस्तीमा थामी जातिको बाहुल्य रहेको पालिकाको तथ्याङ्क छ । थामीहरूको बसोबास रहेको ठाउँकै गीता विगतका घटना सम्झिँदै समग्रमा भन्नुहुन्छ, “आफ्नो वरिपरिका विपन्न थामी समुदायको आर्थिक अवस्था एकदमै नाजुक थियो । बच्चा बिरामी भयो भनेर उपचारका लागि ऋण माग्दा पनि नपाएको देखेपछि आफू समुदायको लागि केही गर्छु भनेर लागेँ ।” उहाँले स्थानीय थामी महिलाहरूको समूह बनाउनुभयो र नियमित बचत गराउने काम थाल्नुभयो । उहाँका अनुसार, २०६२–२०६३ सालतिर थामी समुदायका महिलाहरूको समूह बनाएर मासिक १० रुपैयाँका दरले बचत गराउन सुरु गरियो ।

सिन्धुपाल्चोककाे पिस्करमा मुढा बनाउँदै हर्कमाया थामी । तस्बिरः सन्धान

अहिले थामीहरूको आर्थिक तथा सामाजिक स्थितिमा निकै परिवर्तन आएको गीताको विश्लेषण छ । उहाँ भन्नुहुन्छ, “थामी समुदायका दिदीबहिनी अचेल वर्षको १२–१३ लाख रुपैयाँको कारोबार गर्नुहुन्छ । यसरी हेर्दा समुदायमा धेरै परिवर्तन भएको छ तर पुगेको छैन ।”

गीता गाउँपालिका उपाध्यक्ष हुनुभएको करिब डेढ वर्ष भयो । यस अवधिमा उहाँले काम गर्दा थुप्रै चुनौतीहरू सामना गर्नुभएको रहेछ । उहाँ भन्नुहुन्छ, “महत्त्वपूर्ण र धेरै जिम्मेवारी उपाध्यक्ष वा उपप्रमुखहरूको छ तर आर्थिक अधिकारविनाको अधिकारले काम गर्न नसकिने रहेछ ।”

सन्धान टोलीले हालै मात्र पिस्करस्थित त्रिपुरासुन्दरी गाउँपालिकाकै कार्यालयमा पुगेर गीतासँग कुराकानी गरेको थियो । कुराकानी थामी समुदायमा परिवर्तन ल्याउन उहाँले गरेका काम, त्यसबाट समुदायमा आएको परिवर्तन र गाउँपालिका उपाध्यक्ष भएपछिका अनुभव र प्राथमिकतामा केन्द्रित थियो । प्रस्तुत छ, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष गीता नेपाल सँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटीलक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित भिडियो अंश :

सन्धान प्रकाशन मिति : २०८० मंसिर १३ गते, बुधबार

याे पनि पढ्नुहाेला


Previous articleहिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)
Next articleबाँचेपछि नाच्न पाउँछु भनेर ‘खुट्टा’ काट्ने निर्णय गरेँ (भिडियो सहित)