Home Stories आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

आफ्नै बलबुतामा पुर्ख्यौली पेसा गर्ने छोरी

440
0

– पार्वती वादी

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ नयाँबस्तीमा पार्वती वादीको घर छ । १७ वर्ष अघिदेखि मादल बनाउँदै आउनुभएकी पार्वती अहिले त्यही घरमै मादल बनाउने पेसा गर्नुहुन्छ । पछिल्लो समय उहाँले चाहना गर्नेहरूको घरमा गएर मादल बनाउन सिकाउने काम पनि गर्दै आउनुभएको छ ।

वादी समुदायको पुर्ख्यौली पेसा नै मादल बनाउने र माछा मार्ने हो । यो काम वादी पुरुषले आफ्ना छोरालाई सिकाउँथे र सानैदेखि सिप सिक्ने मौका पाएका अधिकांश पुरुषहरू नै यस पेसामा लागेका हुन्थे । वादी महिलाहरूलाई भने घरायसी कामका साथै बालबच्चाको स्याहारसुसारमा सीमित हुनुपर्ने अवस्था थियो । यसैले मादल बनाउने काममा पुरुषहरू बढी सहभागी हुन्थे ।

समाज रूपान्तरणको प्रक्रियासँगै वादीहरूलाई पुर्ख्यौली पेसाका भरमा मात्रै जीवन धान्न र परिवारको खर्च जुटाउन कठिन हुँदै आयो । अहिले मादल बनाउने र माछा मार्ने पेसा ओझेलमा मात्रै होइन, लगभग हराउँदै पनि गइसकेको छ । वादी समुदायका मानिसहरू अरू विभिन्न पेसामा लागिरहेका छन् । छनोटको विकल्पका कोणबाट हेर्दा यसलाई उनीहरूको पेसाको दायरा फराकिलो भएको मान्न पनि सकिएला तर महिलाको दृष्टिकोणबाट यथार्थ त्यस्तो मात्रै देखिँदैन ।

केही दशकयता रोजगारीको उपयुक्त विकल्प नभेटिसकेपछि कर्मशील वादी महिलाले आफैँ मादल बनाउने पेसा छनोट गरी गुजारा चलाएको पाइन्छ । परम्परागत रूपमा पुरुषको मानिएको ‘पुर्ख्यौली पेसा’ लाई वादी महिलाले आफ्नै मिहिनेत र बलबुताको भरमा स्तरीय तरिकाले चलाइरहेको पनि भेटिन्छ । यसरी पुर्ख्यौली पेसा अपनाउन पुगेकी पार्वती एकातिर मादलको बजारीकरण र अर्कातिर लैङ्गिक भेदभावको समस्यासँग लगातार जुध्दै हुुनुहुन्छ । उहाँले अहिले बजारीकरणको अभावका साथै लैङ्गिक भेदभावले नै वादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको रहेछ भन्ने बुझ्न पनि थाल्नुभएको छ । पार्वतीका अनुसार, बजारमा अन्य विभिन्न कच्चा पदार्थबाट बनाइएका, कमसल खालका सस्ता मादलहरू जताततै पाइन थालेपछि आफूहरूले बनाएको मादल बिक्री हुन गाह्रो भइरहेको छ । केही दशकयता परम्परागत ज्ञान, सिप र साधनबाट बनाइएका बलिया सामान बजारमा बिक्री नै नहुने समस्या आफूहरूले भोगिरहेको उहाँको भनाइ छ ।

त्यसमाथि ‘महिलाहरूले बनाएको मादल कस्तो पो होला र ?’ भन्ने प्रतिस्पर्धी पुरुष र ग्राहकी मानसिकताले पार्वतीलाई चिन्ता थपेको छ । घरमै बसेर मादल बनाउने पुर्ख्यौली पेसा थामिरहेकी उहाँले महिला भएकै कारण आफू रोजीरोटीका अवसरको दृष्टिले पनि केही समय किनारामा परेको अनुभव गर्नुपर्‍यो । महिलामाथिको हेपाहा व्यवहार र टिप्पणी सहेरै भए पनि गुणस्तरीय मादल बनाउनमा तल्लीन पार्वतीलाई समयले भने साथ दियो । पछिल्लो समय मादल बनाउने प्रशिक्षकको खोजीमा रहेको प्रदेश सरकारको आँखामा उहाँ देखापर्नुभयो । आफूलाई खाँचो पर्दा सिप सिकाउने कोही नभेटेकी उहाँले प्रदेश सरकारबाट वादी युवाको समूहलाई मादल बनाउन सिकाउने काम पनि पाउनुुभयो । छोटो समय भए पनि प्रशिक्षकको भूमिकामा रहेपछि आफूमा रहेको सिप समुदायमा हस्तान्तरण गर्नुपर्ने रहेछ भन्ने भावना पनि उहाँमा जागेको छ ।

महिला भएर पनि मादल बनाउने पुर्ख्यौली पेसा अपनाइरहेकी पार्वतीको व्यक्तिगत र व्यावसायिक अनुभव समग्रमा कस्तो छ त ? साथै, वर्तमान चुनौती र अवसरबारे उहाँको धारणा के छ ? यिनै मूल प्रश्नका साथ केही समयअघि ‘सन्धान’ का तर्फबाट समीक्षा गाहा उहाँको घरमै पुग्नुभयो र उहाँसँग कुराकानी गर्नुभयो । प्रस्तुत छ, मादल निर्माणकर्मी तथा प्रशिक्षक पार्वती वादीको जवाफमा आधारित स्वकथनको सम्पादित अंश :

मेरो जन्म २०३३ सालमा दाङमै भएको हो । झन्डै साढे चार दशकअघि, त्यो पनि वादी समुदायमा छोरीलाई पढाउने भन्ने नै थिएन । गुजारा चलाउनै कठिन थियो । त्यसको बाबजुद पनि मैले सेन्टर माध्यमिक विद्यालय तुलसीपुरमा कक्षा ३ सम्म पढ्ने अवसर पाएँ । तर, आर्थिक अभावले गर्दा कक्षा ३ भन्दा बढी पढ्न पाइनँ ।

मेरो इच्छा पढ्ने र भलिबल खेलाडी बन्ने थियो । १३ वर्षको उमेरसम्म भलिबल खेल्थेँ । त्यतिबेला केटीहरूले भलिबल खेल्न हुँदैन भन्थे । त्यो भएर (म जस्ता) केटीकेटीको टिम हुँदैनथ्यो । म केटाहरूकै टिममा बसेर खेल्थेँ । खेल्नका लागि गन्जी र कट्टु (जर्सी) लगाउनुपथ्र्यो । ऊ बेलाको समाजमा (मानिसहरूले) फलानाकी छोरी ‘गन्जी र कट्टु लगाउँछे, केटाहरूसँग खेल्न जान्छे, केटा मान्छेसँग हिँड्छे’ भनेर कुरा काट्थे ।

म आठ वर्षको हुँदा (मेरी) आमा बित्नुभयो । बुबासँगै हुर्किएँ । मलाई अलिअलि याद छ । गाउँमा मादल बनाइदिएबापत अनाज (गहुँ, मकै, धान) दिने चलन थियो । ऊ बेलामा पैसाको कारोबार हुँदैनथ्यो । पैसा कम हुने भएर पनि होला जस्तो लाग्छ । अहिले (पैसा लिएर) घरघरमा मादल किन्न आउँछन् । त्यो बेला मादल बनाउने आफ्नो–आफ्नो एरिया हुन्थ्यो । एक जनाको (भागमा) एक–दुई गाउँ हुन्थ्यो । (एकआपसमा) चिनारु जस्ता बनाएका हुन्थे । सुरुदेखि जोसँग मादल बनायो, (पछिसम्म) उसैसँग मात्रै मादल बनाउने चलन हुन्थ्यो । मादल बनाउन गाउँगाउँ जाने (पनि) गरिन्थ्यो ।

चाडबाड आउन लागेपछि आफ्नो एरियाको गाउँमै बसेर काम (सक्ने) सकाउने गरिन्थ्यो । १०–१५ दिन नै गाउँमा बस्थ्यौँ । दसैँको दुई–तीन दिनअघि मात्र (आआफ्नो) घर फर्कने चलन थियो । (यो) बुवाको पालामा (भएको कुरा हो) । बुबासँग म पनि हिँड्थेँ । (उहाँसँग) हिँडे पनि पछिसम्म मादल नै बनाउँछु भन्ने सोच (ममा) भएन । त्यसैले (बुबासँगै हिँडेँ मात्र, उहाँले गरेको काम मैले पनि) सिक्नुपर्छ भनेर सिकिनँ ।

ठेक्कामा घर बनाउने भएँ

ठुलो हुँदै जाँदा बुवाको भन्दा फरक कामतिर लागेँ । अहिले सम्झिँदा लाग्छ, मैले छोरी भएर (जन्मेको हुनाले) पनि मादल बनाउन नसिकेको रहेछु । (यो पुर्ख्यौली काम मलाई सिकाउनै नखोजिएको पनि रहेछ ।) किनभने ऊ बेलामा वादी समुदायमा ‘पुरुषहरूले मात्र मादल बनाउने हो’ भन्ने थियो । महिला (भएर) घर–व्यवहार गर्नुपर्छ भन्ने नै हुन्थ्यो । म भने अलि फरक सोचको (महिला) थिएँ ।

आफूले पनि काम गर्नुपर्छ, पैसा कमाउनुपर्छ भन्ने सोचले १८ वर्षको उमेरदेखि अरूको घर बनाउने ठाउँमा (मैले) ‘लेबर’ काम गर्न थालेँ । (ज्याला मजदुरी गर्न थालेँ ।) लेबर (मजदुर) बाट मिस्त्रीको काम हुँदै, ठेक्कामा लिएर घर बनाउने काम पनि गरेँ । मानिसहरूले मेरो कामलाई मन पराएपछि केही समय घर बनाउने काम गरेँ । (मैले त्यो) काम पनि पाइरहेँ ।

लेबर काम गर्दा दिनभरि घाम, पानी नभनेर माटो, ढुङ्गा, इँटासँग काम गर्नुपथ्र्यो । झन्डै दुई दशक यस्तै काम गरेपछि उमेर बढ्दै जाँदा (शरीर) कमजोर भएर काम गर्न गाह्रो हुन थाल्यो । त्यही भएर त्यो (ठेक्कामा घर बनाउने) काम छोडेँ ।

छोरा जन्माएपछि एक्लै सङ्घर्ष

परिवारले २४ वर्षमा (मेरो) बिहे गर्दिए । तर, श्रीमान्‌सँगको (मेरो) सम्बन्ध लामो समय अगाडि बढ्न सकेन । एउटा छोरा जन्मियो तर बिहे गरेको केही समयदेखि एक्लै बस्नुपर्ने अवस्था आयो । आफैँ सङ्घर्ष गरेर छोरा हुर्काएँ, बढाएँ, पढाएँ । त्यो एक्लो समयमा मलाई साथ दिने एउटा साथी थिई । उसकै सहयोगमा म यहाँसम्म आएँ । कहिले साथीले बच्चा हेर्दिने, कहिले आफैँ बोकेर पनि काममा जाने । (यस्तो) गर्दै दुवै जना साथी र म मिलेर बाबु हुर्कायौँ । एउटा बिहे राम्रो नभएपछि अर्को बिहे गर्न मन लागेन र गरिनँ । म अहिले पनि एक्लो जीवन बिताइरहेको छु ।

अनि मादलमा गयो मन

एक्लो भएपछि आफैँले नगर्दासम्म खाने अन्न पनि हुँदैनथ्यो । त्यही भएर लेबर काम गर्नुभन्दा बुवाहरूको पेसा सुरु गर्ने सोच (ममा) आयो । (मैले पुख्यौली पेसा) सुरु गर्ने सोचे पनि मादल बनाउन त सिकेको थिइनँ । गाउँघरमा जान्नेलाई सिकाइदिन भन्दा कसैले सिकाउन मानेनन् । अनि पहिले बुवाहरूले बनाएको देखेको थिएँ, त्यही सम्झिँदै बनाउन थालेँ ।

सुरुसुरुमा मादल बनाउँदा तीन पटकसम्म बिग्रियो तर हरेस खाइनँ । (बिग्रिए पनि बनाउँदै गएँ) बनाउँदै जाँदा मादल बन्न थाल्यो । पहिलो पटक मादल बनाउँदा मेरो मन औधी खुसी भयो । ‘म पनि मादल बनाउन सक्ने भएँ’ भन्ने लाग्यो । (मैले) सिक्न खोज्दा नसिकाउनेहरूलाई सम्झिएँ । र ‘अब म पनि तिमीहरू बराबर काम गर्न सक्छु’ भन्ने आँट पनि आयो ।

पहिलो पटक बनाएको मादल दुई हजार पाँचसय रुपैयाँमा बेचेँ । आफ्नै काम गर्दा सजिलो पनि हुने रहेछ । (घरमै) आरामले काम गर्ने । बिसन्चो हुँदा आराम गर्न पनि पाइयो । ‘आज गर्दिनँ’ अथवा ‘एकछिन मात्रै गर्छु’ भन्दा पनि भयो ।

घरको काम सकेर गर्दा पनि एउटा मादल बनाउन तीन दिन जति लाग्छ । छ महिना मादल बनाउने अनि सिजन लागेपछि बेच्ने हो । मादल बिक्रीको लागि सिजन हुन्छ । सिजन भनेको तीज, दसैँ, तिहार हो । माघी पर्व भएकाले माघ महिनामा पनि धेरै बिक्री हुन्छ ।

कच्चा पदार्थ अभाव

मादल बनाउन चाहिने सामानहरू (जुटाउन) पहिले धेरै हिँडेर गाउँगाउँ पुग्नुपथ्र्यो । गाउँगाउँमा बुढो बाख्राको छाला काटेर राखेको हुन्थ्यो । त्यहाँ गएर किनेर ल्याउनुपथ्र्याे । अनि गोटी हाल्ने ढुङ्गा पहाड गाउँतिर गएर लिएर आउँथेँ । पहिले एक दिनभरि पैदल हिँडेर (कच्चा सामान) बोकेर ल्याउँथेँ । तर, अहिले (त्यस्तो गर्नु पर्दैन ।) कारखानामा गएर मेसिनले पेलेको छाला ल्याउँछु । अहिले मोटरबाटोको सुविधा छ, अटो लिएर गएपछि तीन, चार घण्टामै (गोटी हाल्ने ढुङ्गा पनि) लिएर आइन्छ । त्यसरी ल्याएको ढुङ्गा पिसेर मसिनो बनाउँछौँ ।

अहिले अवस्था फरक हुँदैछ । अब बिस्तारै (यो) पेसा सङ्कटमा पर्ने जस्तो देखिन्छ । मादल बनाउनका लागि आवश्यक रैथाने सामानहरू पनि पाउन कठिन छ । मादलको बाहिरपट्टि बाँध्ने (डोरीलाई) लरा भन्छौँ । (डोरी जस्तै बाँध्नका लागि प्रयोग गरिने मादलको तनालाई लरा भन्छौँ ।) त्यो लरा गोरुको छालाबाट बनाएको बलियो हुन्थ्यो । तर, अचेल गोरुहरू काट्न छाडेकाले (त्यस्तो लरा) पाइन छाड्यो । अब बिस्तारै बजारको डोरीकै लरा बनाउनुपर्ने अवस्था छ । छाला जस्तो डोरी बलियो र टिकाउ हुँदैन । अनि बजारमा कमसल खालका मादल सस्तो मूल्यमा पाइन्छ । हाम्रो मादल महँगो मान्छन् ग्राहकले ।

पुरुष मानसिकताले अझै पिर्दैछ

(दाङमा) हाम्रो वादी टोल नै छ । यहाँ धेरैले मादल बनाउँछन् । मादल किन्नेहरू पहिला पुरुषहरूले बनाएको खोज्छन् । त्यहाँ पाएनन् भने मात्रै मेरोमा (किन्न) आउँछन् । एक–दुई पटक लगेकाहरू चाहिँ (पछि पनि मादल किन्नुपर्‍यो भने) सिधै मेरोमै आउँछन् ।

अरू मादल बनाउनेहरूसँग नयाँ ग्राहक पनि आउँछन् तर मेरोमा त्यस्तो हुँदैन । पहिलेदेखि मसँग मादल किन्नेहरू मात्रै आउने हो । किनकि, महिलाले राम्रो मादल बनाउन सक्दैनन् भन्ने मानसिकता छ ।

(मैले) मादल बनाउन थालेको १७ वर्ष भयो । अझै पनि ‘महिलाले बनाएको मादल कस्तो हुन्छ’ भन्छन् । ‘मादल बनाउने पुरुषले हो, महिलाले पनि मादल बनाउन जान्दछन् र ?’ भन्छन् । यो अविश्वास अचेल पनि छ । किन्नका लागि बाहिरका कोही ग्राहक आएर सोधे भने पनि देखाइ दिनुको सट्टा ‘महिलाले बनाउने हो, कस्तो बनाउली ?’ भन्दिने रहेछन् । धेरै त ग्राहकको मानसिकता पनि त्यस्तै पाएको छु ।

मैले बनाएको मादल घरमै किन्न आउनेलाई पनि बेच्छु । पसलहरूमा लगेर पनि बेच्ने गर्छु । तर, चुनौती छ, मैले बनाएको पनि राम्रो हुन्छ भनेर थप बुझाउनुपर्छ । जुन महिला भएकै कारण विश्वास नगरेको हो जस्तो लाग्छ । समाजले अहिलेसम्म पनि काम (को गुणस्तर हेर्न) भन्दा पनि ‘महिलाले गरेको काम’ भनेर विश्वास नगर्दा दुःख लाग्छ । त्यसैले समाजका मानिसहरूको सोच परिवर्तन हुनुपर्छ ।

सिजनमा बेच्न पूर्वतयारी

सिजनको बेला भए पसलहरूले थोरै भए पनि (मादल बेच्न) राख्छन् । यो (२०८० सालको) तिहारका लागि भनेर ९८ वटा मादल तयार गरेर राखेको छु । त्यो मादल बनाउन एक लाख रुपैयाँ लगानी भयो । (लगानीमा मैले लगाएको) समय (र) मेहनत त जोडेकै छैन । अहिले यी सबै मादल बेच्न पाएँ भने दुई लाख ५० हजार रुपैयाँ (आउँछ । यति) को मादल (मसँग तयारी अवस्थामा) छ । घरमा (मलाई) सघाउने मानिस भएको भए यो मादल बनाउन (मेरो) समय कम लाग्थ्यो । तर, सघाउने कोही नभएकाले ठ्याक्कै छ महिना लाग्यो (मलाई यी मादल) बनाउन ।

तिहारमा यो मादल धेरै बिक्री हुन्छ । (अब) पाँच–छ वटा मादल बनाउन बाँकी छ । ती बाँकी (मादलको बिक्री) माघीमा हुन्छ । विगत सात–आठ वर्षदेखि सिजनमा मात्र मादल बिक्री हुन्छ, (हुँदै आएको छ) । पहिले त बाह्रै महिना बिक्री हुन्थ्यो ।

एउटा मादल बनाउन लगानी एक हजार रुपैयाँसम्म लाग्छ । मादलको तीन हजारदेखि १५ हजारसम्मको मूल्य हुन्छ । ठुलो मादल, सोरठी नाच्ने मादललाई महङ्गो पर्छ । बनाउन पनि धेरै समय लाग्छ ।

यो (२०८० सालको) दसैँमा ४० हजार रुपैयाँको मादल बेचेँ । पाँच वटा घरबाटै बेचेँ भने अरू पसलमा लगेर बेचेँ । बजारमा लैजाँदा पनि महिलाले बनाएको भन्ने थाहा पाएपछि लिन मन गर्दैनन् । त्यसैले बनाउनुभन्दा पनि बनाएको मादलको बजारीकरण गर्न चुनौती छ ।

बजारे मादल र साउन्ड सिस्टमको प्रभाव

बजारमा पाइने मादलहरूको बिगबिगीले हाम्रो मादलको बजारीकरणमा प्रभाव पारेको छ । बजारमा कम मूल्यमा मादल पाइन्छ, जुन कमसल खालको भए पनि धेरै ग्राहकले सामान (को गुणस्तर) नहेरी कम मूल्य भनेर किन्छन् । त्यस्तै, आधुनिक साउन्ड सिस्टमले मादलको बिक्री कम हुँदै गएको छ । अचेल मादलको प्रयोग एकदमै कम हुँदै गयो । अहिले चाडबाडको बेला साउन्ड सिस्टमकै प्रयोग गरेर नाच्ने गाउने गर्छन् ।

सात–आठ वर्ष पहिलेसम्म चाडबाडको बेलामा त मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो । चाडबाड आउने तीन–चार महिना अघिबाट मादल बनाउन थाल्नुपथ्र्यो । त्यतिबेला चाडबाडको नै छुट्टै रौनक थियो । अहिले अवस्था त्यस्तो छैन ।

पहिलेतिर ‘गाउँमा बनाएको मादल बलियो र टिकाउ हुन्छ’ भन्ने सोचाइ थियो । अचेल त बजारकै मादल किन्यो, एक पटकको चाडबाडमा बजायो, फाल्दियो गर्छन् । सामान चिन्ने हो भने हामीले बनाएको मादल बाचुन्जेल काम लाग्छ, बलियो हुन्छ ।

प्रशिक्षण र सिप हस्तान्तरण

एक जना पत्रकारले अन्तरवार्ता लिनुभएको थियो । त्यही देखेर मलाई लुम्बिनी प्रदेश सरकारले सम्पर्क गरेर ‘वादी समुदायका अरूलाई पनि सिकाउनू’ भनेपछि सिकाएँ । ३० जनाको समूहलाई दुई महिनासम्म तालिम दिएँ । तर, मादल बनाउने सिप सिक्नका लागि त्यो अवधि कम भयो ।

अर्को कुरा, वादी समुदायको पुर्ख्यौली पेसा भए पनि तालिम लिने युवाहरूमा (मादल बनाउने सिप सिक्नतिर) त्यत्ति चासो नभएको पाएँ । मादल बनाउने (काम) सिक्न चारदेखि छ महिना लाग्छ । त्यो पनि नियमित र ध्यान दिएर लाग्यो भने मात्रै (जानिन्छ) । त्यो ३० जनाको समूहलाई अब एक पटक फेरि तालिम दिन पाए (हुन्थ्यो । त्यसपछि बल्ल सहभागीले) पूरै जान्नुहुन्थ्यो ।

तालिममा महिलाहरू पनि (सहभागी) थिए । उनीहरूले अझै सिक्न पाए र बनाएर बेच्न थाल्ने हो भने उनीहरूको आर्थिक सशक्तीकरण हुन्थ्यो । (ती महिलाहरू) आत्मनिर्भर हुन्थे । वादी महिलाहरू प्रायः घर–व्यवहारमै व्यस्त हुन्छन् । त्यो भएर सिक्न चाहनेलाई (उनीहरूको) घरमै गएर पनि सिकाउने गरेको छु । मैले जानेको सिप हस्तान्तरण गर्नुपर्छ भन्ने पनि लाग्छ ।

सन्धान प्रकाशन मिति : २०८० कार्तिक २७ गतेसाेमवार


Previous articleगाउँमै छैनन् राहत सामग्री बोकेर पुर्‍याइदिने युवा
Next articleमहिला आन्दोलनमा पुरुष : सहयोगी कि सहयात्री ?