करियर, परिवार र जागिरलाई सन्तुलनमा राख्न खोज्दै

Share this :

‘युवाको जीवनभोगाइ’ शृङ्खला ३

समाजसेवा, नेतृत्व, महिला सशक्तीकरण र मगर समुदायको पहिचान जोगाउन निरन्तर सक्रिय ३३ वर्षीया अमिसा सुनारी पछिल्लो समय श्रीमान्‌सँगै रहेर केही वर्ष वैदेशिक रोजगारी गर्ने र सम्मानजनक आर्थिक हैसियतका साथ सपरिवार स्वदेश फर्किने उद्देश्यका साथ कतार पुग्नुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ५ को ओम शान्ति चोकमा स्थायी बसोबास भएकी अमिसाको जन्म देशमा प्रजातन्त्र पुनर्बहाली भएपछिको सुरुआती वर्षतिर भएको थियो । उहाँको जन्मस्थान सोही जिल्लामा पर्ने बुलिङ्टार गाउँपालिका वडा नम्बर १ को ढाँडबेसी हो ।

अमिसाको पारिवारिक परिवेशमा धेरै छोरी सन्तान र सामान्य आर्थिक अवस्था भएको मगर समुदायको विरासत देखिन आउँछ । उहाँको विचारमा आठौँ छोरी भएर जन्मिए पनि नवौँ र दसौँ क्रममा भाइहरू जन्मिएकाले त्यसको जस पाएर बाल्यकाल रमाइलै गरी बित्यो ।

आफ्नो क्षेत्रको मगर समुदायका छोरीहरूमा पढाइलेखाइ पनि राम्रो गर्दै उहाँले स्नातकसम्मको अध्ययन गरी विभिन्न संस्थामा काम पनि गर्नुभयो । कामका सिलसिलामा आफ्नो रुचि तथा क्षमतालाई चिन्ने र सिपलाई तिखार्ने मौकाको मिहिनेतपूर्वक उपयोग पनि गर्नुभयो । उहाँले मगर समुदायको भाषिक संरक्षणका लागि लिपिमा योगदान पनि गर्नुभयो ।

विवाह भएको पाँच वर्षपछिको परिवेशले भने उहाँलाई परिवार योजनाको दायित्वबोधसँगै श्रम स्वीकृतिका साथ विदेशको भूमिमा पुर्‍यायो । यता स्वकथन तयार गरिँदै गर्दा विदेशमा रहेकी उहाँलाई उहाँकै रुचि, क्षमता, सिप र अवस्थाले के कस्तो काम जुराउँछ थाहा छैन तर पनि स्वदेशमा रहँदा समाजका विविध क्षेत्र र समुदायमा गरेका कामबाट आफूलाई स्थापित गराइसक्नुभएको छ ।

अमिसाको जीवन उहाँले सँगै बिताएको तीनपुस्ते पारिवारिक सदस्यकै बिचमा पनि एउटा फरक तर प्रेरक खालको कथा हो । यसमा परिवारबाटै प्राप्त संस्कार, सोच, शिक्षाको अवसरसँगै समुदाय र समाजको बृहत् दायराबाट प्राप्त ज्ञान, सिप, आफ्नै रुचि र क्षमताले उहाँलाई फरक बनाए । उहाँको भोगाइ, सङ्घर्ष, सपना र सफलताको सूत्रमा समाजसेवा, नेतृत्व, महिला सशक्तीकरण र मगर समुदायको पहिचानका सन्दर्भहरू उनिएर आउँछन् ।

विवाह भएको पाँच वर्षसम्म स्वदेशमै निरन्तर सक्रिय अमिसाको जीवनयात्रामा बाल्यकालदेखि वर्तमानसम्म परिवारबाट पाएको प्रेरणा, शिक्षाको अवसर, पेसागत अनुभव, नेतृत्व विकास, परिवार र समाजप्रतिको जिम्मेवारी, महिला समानता, भविष्यका लक्ष्य र योजनाका सन्दर्भमा उहाँका भनाइ र भोगाइ उल्लेखनीय छन् ।

‘सन्धान’ ले राष्ट्रिय युवा दिवस २०८३ र अन्तर्राष्ट्रिय युवा दिवस सन् २०२६ को सन्दर्भ पारेर तीन हप्ताअघि ‘युवाको जीवनभोगाइ’ शृङ्खला सुरु गरेको थियो । यसमा २० देखि ४० वर्षको उमेर समूहभित्रका यस्ता युवालाई समेटिएको छ, जसको जीवनकथामा स्वचिन्तन र नेतृत्व गुणसहित ‘भिन्न परिवेश, साझा आकांक्षा’ को प्रतिविम्बलाई पनि भेट्न सकिन्छ ।

अमिसाको जीवनभोगाइ पनि एउटा यस्तो प्रतिनिधि भोगाइ हो, जसमा नेपाली मगर समुदायका शिक्षित युवा महिलाको साझा सन्दर्भ, पहिचान, सपना, विचार, परिवेशसँगै समयको बदलिँदो चित्र समेटिएको छ । यसमा एक जना शिक्षित र कामकाजी युवा महिलाले विवाहपछि आमरूपमा अपेक्षा गरिने गरिएको विशिष्ट जैविक योगदानका लागि गर्नुपर्ने व्यक्तिगत सम्झौता र पारिवारिक व्यवस्थापनको पाटो पनि उजागर भएको छ ।

अमिसाले २०८३ बैशाख ३० गते नेपालगन्जको होटल डायमण्डमा सुरु भएको तीनदिने स्वचिन्तन र नेतृत्वसम्बन्धी कार्यक्रममा सहभागी भएर नवलपुर, बर्दिया र सुर्खेतमा रही सामाजिक न्यायका लागि नेतृत्व गरिरहेका युवाका साथ आफ्नो जीवनभोगाइ र दृष्टिकोणलाई साझा गर्नुभएको थियो ।

द स्टोरी किचेनको आयोजनामा भएको सो कार्यक्रमको अवलोकनसहित ‘सन्धान’ सहकर्मी सरिता पौडेलले सामग्री सङ्कलन गर्दै सहभागीहरूसँग थप कुराकानी गर्नुभएको थियो । सोही आधारमा ‘सन्धान समूह’ ले अमिसाको जीवनकथा लेखन र सम्पादन गरेको हो । यस क्रममा तथ्यजाँचका लागि उहाँसँग अनलाइन माध्यमबाट पनि सम्पर्क गरिएको थियो ।

विभिन्न परिवेशबाट गुज्रिँदै आए पनि सुख, शान्ति, समृद्धि, विकास, समताजस्ता साझा मानवीय आकांक्षाका लागि समर्पित समकालीन युवाका विषयमा अंशमै भए पनि तथ्यपरक सामग्री तयार होस् र विभिन्न कोणबाट पछि पारिएका समुदायका युवा महिलाको योगदान इतिहासमा यत्तिकै हराएर नजावस् भन्ने उद्देश्यले यो कथा तयार गरिएको हो ।

‘युवाको जीवनभोगाइ’ शृङ्खला ३ मा प्रस्तुत छ, अमिसा सुनारीको स्वकथन ।

मेरो नाम अमिसा सुनारी हो । मेरो जन्म विसं २०४९ साल चैत १४ गते नवलपुर जिल्लाको बुलिङ्टार गाउँपालिका–१, ढाँडबेसीमा भएको हो । चलनचल्तीमा जिल्लाको नाम ‘नवलपुर’ नै भन्ने गरिन्छ । हाल मेरो स्थायी बसोबास गैँडाकोट नगरपालिका–५, ओम शान्ति चोकमा रहेको छ । मैले स्नातक तहसम्म अध्ययन गरेकी छु ।

मेरो पढाइ बुलिङ्टारकै विद्यालयबाट सुरु भएको थियो । मैले बुलिङटार गाउँपालिका वडा नम्बर १ मा रहेको श्री छत्तिसादेवी माध्यमिक विद्यालयमा पढेँ । त्यसपछि चितवन जिल्लाको नारायणी इङ्लिस पब्लिक हायर सेकेन्डरी स्कुलमा ‘प्लस टु’ पढेको हो । हाल यो विद्यालयको नाम नारायणी इङ्लिस पब्लिक स्कुल भएको छ । त्यहाँ पढ्दा मैले गैँडाकोटस्थित भेडाबारीमा कोठा भाडामा लिएर बसेकी थिएँ ।

नयाँ–नयाँ ठाउँहरूको अवलोकन गर्न, विभिन्न व्यक्तिहरूसँग संवाद गर्न तथा समाजसँग घुलमिल भएर सिक्न र सिकाउनमा मलाई विशेष रुचि छ । यसबारे अरू कुरा पछि क्षमता र सिपसँग जोडेर पनि गर्नेछु ।

मेरो पारिवारिक आर्थिक अवस्था त्यति बलियो थिएन, सामान्य नै थियो तर पनि मेरो बाल्यकाल रमाइलोसँग बित्यो । हाम्रो परिवार ठुलो थियो । तीन पुस्ता सँगै थियौँ । हाम्री हजुरआमा, हाम्रा आमाबुवा र हाम्रो पुस्तामा हामी १० सन्तान भयौँ । मेरा सात जना दिदीहरू, म र दुई जना भाइहरू एउटै परिवारमा हुर्किएका थियौँ ।

हामी आठ दिदीबहिनीका दुई भाइहरू मपछि जन्मिएका थिए । हाम्रो समाजमा छोराको चाहना कसलाई हुँदैन र ? हाम्रो आमाबुवाका दुई छोरा मपछि जन्मिएका हुनाले त्यसको अलिकति फाइदा मैले पनि पाएँ । परिवारमा सबैले मलाई ‘अमूल्य’ भनेर माया गर्नुहुन्छ ।

म हुर्किएको समाज मिलनसार, एकअर्काको दुःख–सुखमा साथ दिने र सहकार्य गरेर अघि बढ्ने स्वभावको थियो । आर्थिक अवस्था भने समाजभरिका कुनै परिवारको पनि त्यति धेरै मजबुत थिएन । बाल्यकालमा मलाई अभावको अनुभूति भने खासै भएन । परिवारले सकेसम्म सबै आवश्यकता पूरा गर्न प्रयास गरेको थियो ।

हाम्रो गाउँमा एसएलसीसम्म गरेका महिलाहरू पनि थिएनन् । छोरीमान्छेले अध्ययन गर्ने चलन नै थिएन । मेरो सोच भने सानैदेखि केही फरक र आत्मविश्वासी प्रकृतिको थियो । स्कुल मात्र होइन, कलेजमा पनि पढेर केही गर्छु, जागिर वा व्यवसायमार्फत आफ्नो पहिचान बनाउँछु भन्ने दृढ अठोट मभित्र थियो । मैले छत्तिसादेवी माध्यमिक विद्यालयबाट २०६५ सालमा एसएलसी दिएँ र दोस्रो श्रेणीमा उत्तीर्ण गरेँ ।

मैले पढेको विद्यालयमा महिलामध्ये एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने पहिलो विद्यार्थी बन्न म सफल भएकी थिएँ । अहिले सम्झँदा पनि त्यो मेरो जीवनको अत्यन्तै गर्वको क्षण हो भन्ने लाग्छ । त्यतिबेला उत्कृष्ट विद्यार्थी भनेर उद्योगपति विनोद चौधरीले मलाई सम्मान गर्नुभएको थियो ।

म जनजाति समुदायबाट, विकट गाउँको यस्तो परिवेशमा हुर्किएकी छोरीमान्छे हुँ, जहाँ शिक्षाको अवसर सीमित थियो । मेरा छ जना दिदीहरूले खासै पढ्न पाउनुभएन । ७, ८ र ९ कक्षा पढ्दा नै उहाँहरूको बिहे भयो र पढाइ छोेड्नुपर्‍यो । मभन्दा माथिको एक जना दिदीले मात्र ‘प्लस टु’ पास गर्नुभयो ।

छोरीमान्छेको पढाइमा जोड नदिने परिवेशमा पनि मेरो बुवा शेरबहादुर सुनारीले सधैँ मेरो पढाइ र राम्रो भविष्यका लागि साथ, सहयोग र हौसला दिनुभयो । मैले ‘प्लस टु’ पास गरेपछि काठमाडौँको गौशालामा रहेको नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्टबाट स्नातक अध्ययन पूरा गरेको हो ।

सजिलो पक्कै थिएन तर बुवाले मलाई सधैँ भन्नुहुन्थ्यो– तिमी आँट गर, म पूरा गर्छु । उहाँको त्यही विश्वास, प्रेरणा र आड–आधारले मलाई स्नातक तहसम्म अध्ययन पूरा गर्न सम्भव भएको हो । मेरो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने दुई व्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ । बुवाको प्रेरणा र हौसलाले मलाई कठिन परिस्थितिमा पनि अगाडि बढ्न सिकायो ।

मेरो जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने अर्को व्यक्ति मेरो भाइ इन्जिनियर दिपेन्द्र सुनारी हो । उमेरले मभन्दा सानो त हुने नै भयो तर पनि उसको सोच अलि परिपक्व छ । कुनै पनि विषयलाई सन्तुलित रूपमा हेर्ने र सकारात्मक समाधान खोज्ने उसको बानी छ । त्यसले मलाई सधैँ सकारात्मक रहन प्रेरित गर्छ ।

हाम्रो बुवाको जीवन नै समाजसेवामा समर्पित थियो । उहाँले समाजका लागि निरन्तर काम गरिरहेको देख्दा मभित्र पनि समाजका लागि केही गर्नुपर्ने रहेछ भन्ने भावना जागृत भयो । मलाई लाग्थ्यो- बुवाले नपढेरै यति गर्नुभएको छ भने म त पढेलेखेकी व्यक्ति हुँ, अझ धेरै गर्न सक्छु । त्यही भएर अहिले म मगर भाषाको लिपि स्थापित गर्ने अभियानमा सक्रियरूपमा लागिरहेकी छु ।

मेरो विवाह भएको पाँच वर्ष भइसकेको छ । जीवनको यस चरणमा करियर, परिवार र जागिरलाई एकसाथ अघि बढाएकी छु । यी तीनै कुरालाई सन्तुलनमा राखेर अघि बढ्न सजिलो भने छैन । कहिलेकाहीँ निकै चुनौतीपूर्ण भएको पनि अनुभव हुन्छ । चुनौतीलाई व्यवस्थापन गर्दै जानुपर्छ ।

अहिले मलाई लाग्छ, जीवनका विभिन्न आवश्यकता र जिम्मेवारीहरू स्पष्टसँग बुझ्न थालेपछि हामीलाई अभावको अनुभूति अझ बढी हुन्छ । यही उमेरमा कमाउनुपर्ने, परिवारलाई व्यवस्थित गर्नुपर्ने र सन्तानको चाहना पूरा गर्नुपर्ने जिम्मेवारीहरू छन् । यी सबै जिम्मेवारी पूरा गर्ने आशा र लक्ष्य बोकेर म अहिले कतारमा छु ।

दुई हप्ता भयो कतार आएको । म अहिले कामको खोजीमै छु । म ‘वर्किङ भिसा’ मै आएकी हुँ तर अहिलेसम्म काम पाएकी छैन । काम खोज्दै छौँ । यहाँ सेल्स गर्ल, क्यासियर, होस्टलगायतका कामहरू पाइन्छन् । यिनै काममा सीमित हुनुपर्छ भन्ने छैन ।

अब बेबी प्लान पनि होला भन्ने आशा छ । त्यसैले आफ्नो अवस्थाको पनि ख्याल गर्नुपर्छ । यहाँ आफूले गर्न सक्ने र चित्तबुझ्दो काम पाएँ भने गर्न तयार छु । आफूले गर्न सक्ने र सहज हुने काम पाएँ भने गर्न चाहन्छु ।

मेरो विश्वास छ- मिहिनेतले घरको आर्थिक अवस्थामा पनि सुधार हुनेछ र पारिवारिक चाहनाहरू पनि पूरा हुँदै जानेछन् । म आफूलाई अबको पाँच बर्षमा राम्रो आर्थिक हैसियत भएको सुखी परिवारका साथ रहेको देख्न चाहन्छु । स्वदेशमै काखमा बच्चासहित परिवारका साथमा रहेर आफूलाई एउटा सफल व्यवसायी वा जागिरे जीवनमा रमाउँदै गरेको व्यक्तिका रूपमा देख्न चाहन्छु ।

श्रीमान् र मैले श्रम स्वीकृति लिएर कतार आएको हो । श्रीमान्‌ले विगत १० वर्षदेखि यहीँ काम गर्दै आउनुभएको हुनाले म पनि आएकी हुँ । उहाँले रेस्टुरेन्टमा सेफको काम गर्नुहुन्छ । कुनै पनि काम सजिलो कहाँ हुन्छ र ? त्यसमाथि रेस्टुरेन्टको काम त सधैँ व्यस्त हुनुपर्ने हुन्छ । यहाँको गर्मीको के कुरा गर्नु र ? यस्तो गर्मी ठाउँमा किचनभित्रको काम गर्नुपर्ने भएकाले झन् गाह्रो हुन्छ ।

श्रीमान्‌ले भावनात्मक र आर्थिक दुवै रूपमा सधैँ मलाई साथ दिनुभएको छ । अहिलेको समयमा विदेशको भूमिमा मलाई सबैभन्दा ठुलो साथ दिने व्यक्ति उहाँ नै हुनुहुन्छ । कुनै नयाँ योजना र विचारमा निर्णय लिनुपर्दा सल्लाहका लागि भाइसँग पनि निरन्तर छलफल गर्ने गर्छु ।

विदेशमा रहेर यसरी रोजगारी, रोजगारीको खोजी र परिवारको योजना बनाइरहेको बेला मात्र होइन, जीवनमा कहिलेकाहीँ कुनै पनि बेला मन धेरै अशान्त पनि हुने गर्छ । खुसी र दुःख जस्ता दुई विपरीत भावना एकैपटक महसुस हुने, शरीर गलेर हल्का चक्कर लाग्ने वा बेहोस भएजस्तो अनुभव हुने अवस्था मलाई पनि आएको छ । त्यस्तो बेला म नुहाएर आफूलाई शान्त बनाउने प्रयास गर्छु ।

मन शान्त बनाउनलाई नुहाउँदै गरेको समयमा बुवाले दिनुभएको एउटा अमूल्य शिक्षा सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो– सुखमा नमात्तिनू, दुःखमा नआत्तिनू । उहाँको यही शिक्षाले मलाई हरेक परिस्थितिमा संयमित रहन मद्दत गरेको छ । त्यसबाहेक विभिन्न सङ्घ–संस्थासँग आबद्ध हुँदै जाँदा पछिल्लो समयमा मैले आफ्ना भावना र परिस्थितिलाई अझ राम्रोसँग व्यवस्थापन गर्न पनि सिकेँ ।

नेपालमा मैले सुरुमा गिल्ट ट्राभल एन्ड टुर्समा टिकेटिङ अफिसरका रूपमा चार वर्ष काम गरेकी थिएँ । विवाह भएपछि एआइएम्एस् अब्रोड एडुकेसनमा तीन महिना कन्सल्टेन्सीको काम गरेँ । त्यसपछि द हिमालयन इन्नोभेटिव सोसाइटीमा चेन्ज एजेन्ट तथा प्रोग्राम अफिसरका रूपमा दुई वर्ष काम गरेँ ।

पार्टटाइममा त्यसपछि पनि समाजलाई सहयोग पुग्ने विभिन्न काम तथा तालिमहरूमा संलग्न हुँदै आएँ । गत वर्ष मगर समुदायको भाषा र लिपिसम्बन्धी तालिम लिएँ । त्यसपछि प्रशिक्षकका रूपमा मगर ढुट र अक्खा लिपि पढाउने काम गरेँ । गैँडाकोटका वडा नम्बर १, २, ४, ११ र १४ मा करिब एक हप्तादेखि १० दिनसम्म प्रशिक्षण दिने अवसर पाएकी थिएँ ।

श्रीमान् विदेशमा काम गर्ने भएकाले म पनि अहिले यतै कामको खोजीमा आएकी हुँ । देशबाहिर नयाँ ठाउँको घुमघाम पनि हुने नै भयो । घुमघामसँगै मेरा अरू रुचि पनि छन् । तिनलाई क्षमता र सिप चाहिन्छ । ममा भएका क्षमता र सिपमध्ये नेतृत्व गर्नु, नृत्य गर्नु, समूह व्यवस्थापन गर्नु, रमाइलो वातावरण सिर्जना गर्नु तथा स्वादिष्ट खाना पकाउनु प्रमुख हुन् । यी सबै क्षमता र सिपहरूले मलाई निरन्तर अगाडि बढ्न प्रेरणा पनि दिएका छन् ।

मलाई लाग्छ, नेतृत्व गर्न, समाजमा सक्रिय भूमिका निर्वाह गर्न र अरूभन्दा फरक तथा सकारात्मक काम गर्नमा मेरो विशेष रुचि छ । पेसागत रूपमा हिमाली नवीन समाज नामक गैरसरकारी संस्थामा कार्यरत रहँदा मेरो नेतृत्वमा करिब १६ जनाको समूह थियो । त्यसलाई मैले सही ढङ्गले व्यवस्थापन गरेको थिएँ ।

नेतृत्व गर्दै गर्दा सामूहिक भावनाका साथै सबैको सहभागितालाई ध्यान दिएँ । समूहका सदस्यहरूबिच कामको उचित बाँडफाँड गर्ने, सबैलाई उनीहरूको जिम्मेवारीअनुसार परिचालन गर्ने र राम्रो परिणाम हासिल गर्ने प्रयास गथ्र्यौं । त्यतिबेला सहकर्मीहरूले पनि मेरो नेतृत्व क्षमता राम्रो रहेको प्रतिक्रिया दिनुहुन्थ्यो ।

काम गर्ने क्रममा चुनौतीहरू पनि आए । मेरो विचारमा मुख्य चुनौती भनेको कतिपय व्यक्तिहरूले सुरुमा कुरा नसुन्नु र परिवर्तनलाई सहजरूपमा स्वीकार नगर्नु थियो । त्यस्तो बेला चुनौती खडा गर्नेहरूसँग धैर्यपूर्वक संवाद गरेर, कुरो बुझेर र बुझाएर अघि बढेँ । त्यसरी नै धेरै चुनौतीहरू समाधान गर्न सफल पनि भएँ ।

अहिले पनि मेरो समुदायको मुख्य समस्या भनेको राज्यका प्रभावशाली तहसम्म सहज पहुँच नहुनु हो । मलाई लाग्छ, यही कारण हाम्रो देशका धेरै समुदाय आफ्ना अधिकार र अवसरबाट पछि परेका छन् । राज्यबाट नागरिकले पाउने सामान्य सेवासुविधाबारे पनि थाहा नपाएर टाढा हुन पुगेका छन् । यसले एक खालको विभेदको पनि सिर्जना गरिरहेको छ ।

मैले सधैँ सबै मानिस समान हुनुपर्छ, महिलाहरू कुनै पनि अवसरबाट पछि पर्नु हुँदैन र सचेतनाको अभावका कारण कुनै पनि महिलाले एउटा नागरिकको रूपमा राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हुनु हुँदैन भन्ने सोचलाई आफ्नो उद्देश्य पनि बनाएकी छु । यही उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छु ।

मेरो अनुभवमा अहिले हाम्रो देशमा विभिन्न तहको राजनीतिक नेतृत्वमा रहेर काम गर्नका लागि महिलाहरूका लागि पहिलेभन्दा केही अवसरहरू बढेका छन् । विभिन्न क्षेत्रमा काम गरिरहेका कतिपय महिलाहरूले नेतृत्वमा पुग्ने अवसर पाउन थालेका छन् । यद्यपि समानता हासिल गर्न अझै धेरै काम गर्न बाँकी छ ।

महिला नेतृत्वको अवसरको यो सुरुआत मात्र हो । यसलाई अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक छ भन्ने विचारमा मेरो विश्वास छ । अहिलेसम्म कतिपय स्थानमा नेतृत्वको अवसर पाएका भए पनि महिलाहरू चुनौतीबाट मुक्त छैनन् । उनीहरू धेरैतिरबाट घेरिएका अवस्थामा पनि छन् ।

हाम्रो गैँडाकोट पालिकाकै कुरा गर्ने हो भने पनि नेतृत्वमा रहेका महिलाका चुनौतीहरू कम छैनन् । विशेषगरी जेन–जी आन्दोलनपछिको परिवेशमा सरकारी निकायमा कार्यरत व्यक्तिहरूले कुनै पनि निर्णय गर्दा र कार्यक्रम अघि बढाउँदा धेरै पटक सोच्नुपर्ने अवस्था सिर्जना भएको मैले बुझेकी छु ।

बिचैमा चुनाव भएर केन्द्रमा सरकार परिवर्तन भइसकेको छ । यसै कारण पनि स्थानीय तहमा कतिपय राम्रा काम भइरहे पनि तिनले अपेक्षित परिणाम प्राप्त गर्न कठिनाइ भइरहेको जस्तो पनि छ । मलाई लाग्छ, हाम्रो नगरपालिकामा युवाका लागि अझै पर्याप्त कार्यक्रम छैनन् । उनीहरूको क्षमता र आकांक्षाअनुसारका अवसरहरू सिर्जना गरिएका छैनन् ।

आजका युवामा राम्रो सोच, क्षमता र काम गर्ने ऊर्जा छ । उनीहरू आफ्नो श्रमअनुसार उचित अवसर र प्रतिफलको अपेक्षा राख्छन् । गाउँठाउँमै गुणस्तरीय शिक्षा, स्थानीय स्तरमै रोजगारी, उद्यमशीलता र सिप विकासका अवसरहरू सिर्जना गर्ने हो भने धेरै युवाले देश विकासमा योगदान गर्न सक्नेछन् । उनीहरू विदेश जानुभन्दा आफ्नै देशमा बसेर केही गर्न उत्साहित पनि हुनेछन् ।

अहिले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले स्थानीय सरकारसँग सहकार्य गर्दै रोजगारी, सिप विकास र उद्यमशीलताका क्षेत्रमा काम गर्न चाहिरहेका छन् । यस्तो अवसरलाई स्थानीय सरकारले खुला मनले स्वीकार गरी सहकार्य गर्न सके त्यसबाट सही र प्रभावकारी परिणाम प्राप्त हुन सक्छ भन्नेमा मेरो विश्वास छ ।

मैले नीति निर्माण गर्ने, नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएँ भने मेरो पहिलो प्राथमिकता दक्ष र योग्य युवाको सही परिचालन र व्यवस्थापन हुने थियो । उनीहरूलाई रोजगारी र नवप्रवर्तनको अवसर खुला गर्ने थिएँ, सुशासनको अनुभूति गर्न सक्ने अवस्था पनि सिर्जना गर्ने थिएँ ।

युवा मात्र होइन, कुनै पनि व्यक्तिले पहुँच र शक्तिका आधारमा होइन, आफ्नै क्षमता, योग्यता, ज्ञान, सिप र अनुभवका आधारमा अवसर पाउनुपर्छ भनेर नीति बनाउने थिएँ । युवालाई लक्ष्य गरेर विभिन्न कार्यक्रमहरू ल्याउने थिएँ । उनीहरूको सिप, अनुभव र क्षमताअनुसार रोजगारी, तालिम तथा उद्यमशीलताको अवसर उपलब्ध हुने वातावरण बनाउने थिएँ । युवालाई स्वदेशमै सम्मानजनक भविष्य निर्माण गर्न सहयोग गर्नु नै मेरो प्रमुख उद्देश्य रहने थियो ।

प्रकाशन मिति : २०८३ भदाै १० गते, बुधवार

युवाको जीवनभोगाइका शृङ्खलाहरू

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *