Home Stories महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)

महिलाहरूले चलाएको सहकारी बन्यो जिल्लाकै उत्कृष्ट (भिडियो सहित)

312
0

अप्नाकुमारी श्रेष्ठ

नेपालमा कतिपय महिलाहरू समूहमा आबद्ध हुँदै सहकारी चलाएर आत्मनिर्भर पनि बन्ने गरेका छन् । रामेछाप बजार र आसपासका गाउँका महिलाहरूले पनि यसै गरेको पाइन्छ । उनीहरूले २०५७ सालमा समूह गठन गरेर निश्चित रकम बचत पनि गर्ने निर्णय गरे । उतिबेला आम्दानीको स्रोत नभए पनि समूहमा आबद्ध भएर महिलाहरूले बचत गर्न थालेका रहेछन् । उनीहरूका अनुसार, सुरुमा मासिक ५ रुपैयाँका दरले बचत गर्न थालेको हो । यसबारे अप्नाकुमारी श्रेष्ठ यसरी सम्झनुहुन्छ, “मासिक बचतका लागि नगद नै दिनुपर्छ भन्ने गरेनौँ, आफूले उत्पादन गरेको दाल, चामल, पिठो, गेडागुडी जस्ता कृषि उत्पादनहरू लिएर त्यसको हिसाब गरेर पनि बचत गरिदिन्थ्यौँ । कोही ५० रुपैयाँ बचत गर्न एकमाना मास लिएर आउनुहुन्थ्यो ।”

अप्नाकुमारीका अनुसार, पछि संस्थालाई विधिवत रूपबाट चलाउनुपर्छ भन्ने सोचाइ आयो । यसैले २०६२ सालमा ५३ जना महिलाहरू मिलेर ‘समाज सेवा बचत तथा ऋण सहकारी’ नामक संस्था दर्ता गरियोे । अप्नाकुमारी दुई पटकसम्म समाज सेवा सहकारीको अध्यक्ष भइसक्नुभएको छ । अहिले व्यवस्थापकको भूमिका सम्हालिरहेकी उहाँ सो सहकारीमा करिब छ सय जना महिला सदस्य रहेको जानकारी दिनुहुन्छ ।

हिजोआज संस्थाको सामाजिक कामसँगै आर्थिक गतिविधि र वार्षिक कारोबार पनि बढ्दै गएको देखिन्छ । व्यवस्थापक अप्नाकुमारीका अनुसार, आर्थिक वर्ष २०७८–७९ मा सहकारीले एक करोड ४६ लाख रुपैयाँको कारोबार गरेको थियो । त्यसअघि २०७६ सालमा बागमती प्रदेशले रामेछाप जिल्लामा रहेका २६ वटा सहकारीमध्ये उत्कृष्ट भनेर समाज सेवा सहकारी संस्थालाई दुई लाख रुपियाँ पुरस्कार दिएको बताउँदै उहाँ भन्नुहुन्छ, “पुरस्कार पाएपछि सहकारीका सदस्य तथा सञ्चालकहरू काम गर्न झन् उत्साहित भएका छन् ।”

त्यसो त सुरुवाती दिनमा घरमै भएको उत्पादन पनि बिक्री गरेर आम्दानी हुने देखेपछि महिलाहरूले कृषि उत्पादन अझ राम्रोसँग गर्न थालेको बुझाइ पनि अप्नाकुमारीको छ । उहाँका अनुसार, ती उत्पादनको बजारका लागि सहजीकरण गर्न २०७८ साउनमा रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा कोसेली घर सुरु गरियो । कोसेली घर सञ्चालन गर्नका लागि सहकारीलाई रामेछाप नगरपालिकाले दुई लाख रुपैयाँ अनुदान दिएको पनि उहाँ बताउनुहुन्छ । कोसेली घरमा कृषि उत्पादनका साथै बाँस, निगालाबाट बनेका सामान, मुढा, दुना, टपरी लगायतका सामान राखिएको देखिन्छ । व्यवस्थापकको भनाइमा ती सामानहरू समाज सेवा सहकारीका सदस्यहरूबाटै सङ्कलन गरिएका हुन् ।

समाज सेवा सहकारीले महिलाहरूलाई आर्थिक सँगसँगै महिला अधिकार प्राप्ति र महिला हिंसाका विरुद्ध आवाज उठाउन सचेत गराउँदै आएको बताइन्छ । सहकारीले किशोरी र बाल समूह गठन गरी समाजमा परिचालन समेत गरेको देखिन्छ । सहकारी व्यवस्थापनले दिएको जानकारी अनुसार, किशोरी समूहमा १२ देखि १८ वर्ष उमेरका करिब दुई सय जना र बाल समूहमा करिब सय जना आबद्ध छन् । यी समूहले बालबालिका र किशोरीहरूको अधिकारका साथै किशोरी अवस्थामा आइपर्नसक्ने विभिन्न खालका समस्या समाधान गरिरहेका छन् । व्यवस्थापक अप्नाकुमारीको भनाइबाट पनि यस्तै बुझिन्छ ।

‘सन्धान टोली’ केही महिनाअघि रामेछाप जिल्लाको रामेछाप नगरपालिका पुगेको बेला व्यवस्थापक अप्नाकुमारीसँग भेट भयो । उहाँसँग समाज सेवा सहकारीले गर्दै आएको काम, समूहमा बचत गरी आयआर्जनका क्रियाकलापमा लागेपछि महिलाहरूमा आएको परिवर्तन र कोसेली घरबाट स्थानीय महिलालाई पुगेको फाइदा लगायतका विषयमा कुराकानी भएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यलक्ष्मी बस्नेतले समाज सेवा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष तथा व्यवस्थापक अप्नाकुमारी श्रेष्ठसँग गर्नुभएको कुराकानीको सम्पादित भिडियो अंश :


रामेछापका थप कथाहरू पनि पढ्नुहाेला
छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु
पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार
हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

सन्धान प्रकाशन मिति : २०८० कार्तिक २२ गतेबुधबार

Previous articleमहिलालाई मेयर स्विकार्न नै गाह्रो मान्ने समाज छ – विमला अर्याल
Next articleजाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला