Home Elaborations ‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया...

‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया तामाङ

1061
0

‘फोटो कथा’ शृङ्खला

हामीले सन्धान वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सन्धान वेब पोर्टलमार्फत सार्वजनिक गर्नु हो । यस शृङ्खलाअन्तर्गत आज त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष हुनुभएकी भीममाया तामाङको फोटोको कथा प्रस्तुत गर्दैछौँ ।

करिब चौबिस वर्ष (२०५५ साल) देखि कैलालीको घोडाघोडी नगरपालिकाकाे त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएकी भीममाया तामाङ दोस्रो पटक २०७९ बैशाख ४ गते निर्वाचित हुनुभयो । निर्वाचित भएपछि उहाँले हरियो स्याउलाको माला लगाउनुभयो । सामान्यतया फूलको माला लगाउने अभ्यास रहे पनि उहाँले अनुहारमा रातै अबिरसँग गलामा स्याउलाको माला लगाउनुभएको छ । उहाँको माला र यो फोटोका बारेमा ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले गर्नुभएको कुराकानी :

तस्विरहरू सौजन्य : त्रिवेणी सामुदायिक वन उपभोक्ता समिति

तपाईंले लगाउनुभएको हरियो मालाको बारेमा बताइदिनुस् न ?

यो माला सामुदायिक वनकै उपभोक्ता तथा मेरो साइनोले ठूलीआमा पर्ने धनसरा बोगटी र पार्वती बोहराले जङ्गलमै बनाउनुभएको रहेछ । धागोमा बनाएको पनि होइन, जङ्गलमै पाइने लहरा र स्याउलाको प्रयोग गरेर माला बनाउनुभएको हो । यस त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिले सुरुवातदेखि नै यस्तो बेलामा स्याउलाकै माला लगाउँदै आएको छ । म २०५५ सालमा अध्यक्ष हुँदा पनि स्याउलाकै माला लगाइदिनुभएको थियो ।

तपाईंहरूले किन स्याउलाको माला बनाउने/लगाउने गर्नुभएको ?

हामी वनजङ्गल जोगाउने कार्यमा लागेका मानिसहरू हौँ । जङ्गलकै स्याउलाबाट माला लगाउनुपर्छ भन्ने पहिलेदेखिकै मान्यता हो । देख्दा पनि हरियो राम्रो देखिन्छ । फूलको माला अन्य ठाउँ, अरू कार्यक्रमहरूमा पनि लगाइन्छ तर हामी चाहिँ जङ्गलमै काम गर्ने भएकाले आफैँले संरक्षण गर्ने स्याउलाको माला लगाउनुपर्छ भन्ने हाम्रो मान्यता र अभ्यास रहिआएको छ ।

यो फोटो त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिकै सचिव रमा पौड्यालले खिच्नुभएको थियो । हाम्रो समितिको उपाध्यक्षमा उमा साउद, कोषाध्यक्षमा सितापतिकुमारी चौधरी, सचिवमा रमा पौड्याल हुनुहुन्छ ।

तपाईं सामुदायिक वनको जिम्मेवारीमा कहिलेदेखि लाग्नुभयो ?

म २०५५ सालदेखि लागेकी हुँ । त्यति बेला म तीन महिनाकी सुत्केरी थिएँ । त्यही बेला मलाई त्रिवेणी महिला सामुदायिक वनको अध्यक्षको जिम्मेवारी दिनुभयो । गाउँका अग्रज आमाहरूले हामी बुुढी भयौँ, हामीले गर्न सकेनौँ, तँसँग क्षमता छ, वनजङ्गलहरू जोगाएर राख् भनेर अध्यक्ष बनाउनुभयो र सामुदायिक वनको क्षेत्रमा काम गर्न सुरु गरेँ ।

सामुदायिक वन क्षेत्रमा काम गर्दा कस्तो लाग्छ ?

कुनै पनि संघसंस्थामा काम नगरेको मलाई सुरुसुरुमा दुईचार जना मानिसका अगाडि बोल्न पनि डर लाग्थ्यो तर गर्दै सिक्दै गएँ । २०५५ सालदेखि निरन्तर अहिलेसम्म यस सामुदायिक वनको अध्यक्ष म नै छु । २०६६/६७ सालभन्दा अगाडि ‘त्रिवेणी महिला सामुदायिक वन उपभोक्ता समिति’ थियो । पछि महिला मात्रको नभई समावेशी बनाउने भन्ने निर्णय गरेर ‘त्रिवेणी सामुदायिक वन उपभोक्ता समिति’ बन्यो । पुरुषहरू पनि समितिमा बस्न पाइने भए तापनि अहिलेसम्म पुरुषहरू आएका छैनन्, महिलाहरूले नै नेतृत्व गरिरहेका छौँ ।

२०७८ साल चैत्रमा मेरो कार्यकाल सकियो । त्यसपछि नयाँ कार्यसमिति चयन गर्नुपर्ने भयो । उपभोक्ताहरूको सल्लाह, सुझावका आधारमा हाम्रो पहिलेकै पदाधिकारी टिम नै सर्वसम्मत रूपमा चयन भएको हो ।

२०५५ सालदेखि निरन्तर सामुदायिक काम गर्दा कस्तो लागेको छ ?

जुनसुकै क्षेत्रमा पनि मेहनत गरेर लागेपछि मात्र त्यसको माया लाग्नेरहेछ, महत्व थाहा हुँदोरहेछ । मलाई वनजङ्गलको पनि आफ्नो सन्तान जत्तिकै माया लाग्छ । वनजङ्गलमा भएका बिरुवा हुर्काउने, बचाइराख्ने काम गर्छौँ । पहिले जङ्गल नहुँदा बाढीपहिरो जाने, गाउँमा खोला पस्ने समस्या थियो । तर, अहिले त्यस्तो समस्या छैन । हावापानी पनि स्वच्छ छ । त्यसैले पनि वन जङ्गलको स्याहार गर्नुपर्छ भन्ने लाग्छ र गर्दै आएका पनि छौँ ।

सन्धान, प्रकाशन मिति २०७९ बैशाख ८ गते बिहिवार