Home Opinion उपप्रमुख हुँदा ७५ प्रतिशत घरमा पुगेर कुरा सुनेको छु –ताराकुमारी काजी महतो,...

उपप्रमुख हुँदा ७५ प्रतिशत घरमा पुगेर कुरा सुनेको छु –ताराकुमारी काजी महतो, नगरप्रमुख, माडी

639
0

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’

वैशाख ३० गते भएको ‘स्थानीय तह निर्वाचन २०७९’ को मतपरिणाम आइरहेको छ । निर्वाचनबाट २३ जना महिला गाउँपालिका वा नगरपालिकाका प्रमुख पदमा निर्वाचित भएका छन् । नवनिर्वाचित पालिका प्रमुख महिलाहरूलाई बधाई तथा शुभकामनासहित उहाँहरूसँग ‘सन्धान’ ले सुरु गरेको संवाद जारी छ ।

निर्वाचित पालिका प्रमुखहरूमध्ये एक हुनुहुन्छ, नेकपा एमालेका ताराकुमारी काजी महतो । २०४७ सालमा विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेको बताउनु हुने महतो चितवनको माडी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको छ । प्रस्तुत छ, नगरप्रमुख महतोसँग पालिकाको समग्र योजना र महिला सवालका कार्यक्रमका बारेमा ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश :

तपाईं पाँच वर्ष उपमेयर भएर काम गर्नुभयो, अहिले नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । अब प्रमुख भएर पाँच वर्षका लागि गर्ने कामको योजना के छ ?

माडी एउटा विकासोन्मुख नगरपालिका भएकाले यहाँ विकास निर्माणका कामलाई पहिलो प्राथमिकता दिएर दिगो विकासको लक्ष्यमा पुग्ने खालका कामहरू गर्नुपर्ने छ ।

अर्को कुरा, यहाँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलहरू छन् । ती क्षेत्रको माध्यमबाट पालिकाको आर्थिक समृद्धितिर जोड्नुपर्ने छ । यहाँ राष्ट्रिय निकुञ्ज छ । सामुदायिक वन पनि छ । यसैले वन्यजन्तुले दिएका दुःख, समस्याको समाधान पनि गर्नुपर्ने छ । निकुञ्ज र सामुदायिक वनसँग समन्वय गरी त्यसको सदुपयोग गर्नेबारे योजना बनाएर काम गर्छु ।

त्यसका साथै, नगर क्षेत्रको स्वास्थ्य, शिक्षालाई गुणस्तरीय र प्राविधिक शिक्षासँग जोड्ने छु । पालिकामा एउटा मात्रै अस्पताल छ । सबै वडामा आधारभूत नगर क्लिनिकहरू छन् । तिनलाई व्यवस्थित गर्न जरुरी छ । यस्ता खालका धेरै कामहरू मेरा प्रतिबद्धतामा छन् । ती कामलाई क्रमबद्ध रूपमा अगाडि बढाउने छु । साथै, यहाँका समसामायिक समस्या र गर्दै जाँदा आउने कामलाई पनि सम्बोधन गर्ने गरी काम गर्छु ।

म उपमेयर भएर देखेको महिला सवालमा गर्नुपर्ने कामको पनि सूची लामो छ । हिजो मैले उपप्रमुख भएर काम गर्दा माडीमा केके समस्या छन् र केके गर्नुपर्छ भनेर बुझेँ । महिलाहरूको अवस्था र समस्या अझ धेरै बुझेको छु ।

माडी नगरपालिकाका महिलाहरूको अवस्था कस्तो रहेको बुझ्नुभएको छ ?

मुख्य कुरा अहिलेसम्म महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर छैनन् । आर्थिक रूपमा आत्मनिर्भर नभएपछि महिलाहरू राजनीतिक, सामाजिकदेखि घरेलु हिंसामा परिरहनु हुन्छ । यहाँ पनि घरेलु हिंसाका घटना धेरै हुने गरेका छन् । महिलाहरू त्यसविरुद्ध बोल्न सक्नुहुन्न । त्यसैले महिलाको आर्थिक सशक्तीकरणमा काम गर्नुपर्ने छ ।

भारतसँग नाका जोडिएकाले यो नगरपालिकामा वैवाहिक अङ्गीकृत नागरिकता लिनका लागि कागजातहरू नपुगेर समस्यामा परिरहनुभएका दिदीबहिनीहरू पनि हुनुहुन्छ । यस नगरपालिका क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले निकुञ्जका कतिपय सैनिकबाट प्रभावित महिलाहरू पनि हुनुहुन्छ । उहाँहरूबाट जन्मिएका बच्चाको जन्मदर्ता र नागरिकताका समस्या पनि छ । महिला सवालसँग जोडिएका धेरै खालका समस्या भएकाले यसको समाधानका लागि पनि योजनाबद्ध रूपमा काम गर्छु ।

नगरपालिकालाई महिलामैत्री बनाउने तपाईंको योजना र प्राथमिकता केके छन् ?

प्रमुख कुरा नगरपालिकाको सम्पूर्ण विकासका काम र त्यसको योजना बनाउने प्रक्रियादेखि नै महिला सहभागिता गराउन मेरो पहल हुनेछ ।

हिंसापीडित महिलाहरूलाई राख्नका लागि आवास गृह बनाएका छौँ, अब छिट्टै सञ्चालनमा ल्याउँछु । हिंसापीडितलाई आर्थिक सहयोग गर्न कोष स्थापना गरिसकेको छु । यो भारतसँग जोडिएको क्षेत्र भएकाले यहाँबाट धेरै महिला र बालबालिका बेचबिखनमा पनि पर्ने गरेका छन् । यसैले यहाँ भएको एक मात्र बसपार्कमा हेल्प डेस्क स्थापना गरिएको छ । यसलाई अझै व्यवस्थित गर्नु र निरन्तरता दिनु जरुरी छ ।

विशेष गरेर यहाँ बोटे, थारू, आदिवासी जनजातिलगायत मिश्रित जातजाति र समुदायको बसोबास छ । हिजो वन पैदावारमा आश्रित रहनेले अहिले त्यसलाई सदुपयोग गर्न नपाउँदा दुःख पनि पाउनुभएको छ । त्यस्ता समुदायसँग मिलेर उहाँहरूको सिपलाई पालिकाले कसरी प्रवद्र्धन गर्ने र उहाँहरूको जीविकोपार्जनलाई सहज बनाउनु पनि मेरो प्राथमिकता हुनेछ ।

पालिकामा एउटा कोसेली घर स्थापना भइसकेको छ । महिला उद्यमीहरूले उत्पादन गरेका सामानहरू सङ्कलन र बिक्री गर्दै बजारमा सप्लाई गर्ने मोडेलमा त्यो कोसेली घरलाई चलाउन खोजेको छु । महिला उद्यमीहरूलाई उत्पादित सामग्री बेच्न बजार खोज्ने झन्झट नहोस् भनेर कोसेली घर स्थापना गरिएको हो । नगरवासी र नगरलाई आत्मनिर्भर हुनका लागि आधुनिक कृषि प्रणालीतिर लैजाने गरी काम गर्छु ।

तपाईंको पार्टीबाट उम्मेदवार रहेका धेरै वडाध्यक्ष र उपमेयर पराजित हुँदा पनि तपाईं निर्वाचित हुनुभयो । पहिला उपमेयर हुँदा के त्यस्तो काम गर्नुभएको थियो जसका कारण माडीवासीले तपाईंलाई नगरप्रमुखमा चुने ?

तस्बिरहरु महताेकाे सामाजिक संजाल

मैले उपप्रमुख भएर पाँच वर्षमा गरेको कामकै कारण माडीवासीले अब प्रमुखको रूपमा हेर्न चाहनुभयो जस्तो मलाई लाग्छ । उपप्रमुख हुँदा म जनताको घरघरमा पुग्थेँ । उहाँहरूका दुःखसुखमा सहभागी हुन्थेँ । कोभिडका बेलामा सङ्क्रमितको घरघरमा डाक्टर, स्वास्थ्यकर्मी लिएर म आफैँ गएको थिएँ ।

उपप्रमुखले गर्ने अर्को महत्त्वपूर्ण काम योजना र कामहरूको अनुगमन हो । काम सकेसम्म कसरी राम्रो हुन्छ भनेर म आफैँ पुगेर अनुगमन गरेको हुन्थेँ । न्यायिक समितिलगायत मेरा विभिन्न जिम्मेवारी पूरा गर्ने क्रममा माडी नगरपालिकामा भएका घरपरिवारमध्ये करिब ७५ प्रतिशत घरमा पुगेको छु । जसको घरमै पुग्न सकिनँ, त्यो टोलसमुदायमा पुगेँ र उहाँहरूको कुरा सुनेँ । कसको के भनाइ छ, के समस्या छ बुझेँ । गर्न सकेको काम पहिले गरियो भने त्यो भेटघाटले अब के गर्नुपर्छ भन्नेमा पनि स्पष्ट छु ।

प्रकाशन मिति : २०७९ जेठ ११, बुधवार ।


Previous articleबलात्कारविरुद्धको उजुरीमा हदम्याद अनुचित
Next articleपालिका प्रमुखमा करिब साढे तीन प्रतिशत महिला निर्वाचित