पहिचानका लागि पहिला परिवारसँगै लड्नुपर्छ – लक्ष्मी घलान

Share this :

महिलावाद संवाद शृङ्खला १७

लक्ष्मी घलान लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, त्यसमा पनि समलिङ्गी महिलाहरूको अधिकार र न्यायका लागि झन्डै तीन दशकदेखि काम गरिरहनुभएको छ । सन् २००२ मा उहाँ र मेरी बज्राचार्य मिलेर ‘मितिनी सपोर्ट ग्रुप’ सुरु गर्नुभएको थियो । त्यही समूहलाई उहाँहरूले सन् २००५ मा ‘मितिनी नेपाल’ नामक गैरसरकारी संस्थाको रूपमा दर्ता गर्नुभयो । नेपालको पहिलो समलिङ्गी जोडी लक्ष्मी र मेरी भएको कुरा मितिनी नेपालको वेवसाइटमा उल्लेख छ ।

अधिकारको क्षेत्रमा लक्ष्मीले अन्तरपुस्ता महिलावादी मञ्चको संयोजक भएर पनि काम गर्नुभयो । नेपालको महिलावादी आन्दोलनमा सक्रिय उहाँ महिलाभित्रको पनि समलिङ्गी महिलाहरूको सामाजिक, आर्थिक र न्यायिक अधिकारको आन्दोलनमा अढाइ दशकदेखि निरन्तर सक्रिय देखिनुहुन्छ । उहाँसँग यिनै विषयको सेरोफेरोमा ‘सन्धान सहकार्य’ अन्तर्गत ‘महिलावाद संवाद शृङ्खला’ का लागि लक्ष्मी बस्नेतले २०८२ असारमा कुराकानी गर्नुभएको थियो ।

प्रस्तुत छ, सोही कुराकानीका आधारमा लक्ष्मी घलानसँग थप सहकार्यको लागि लामो समयको प्रतीक्षा गरी ‘सन्धान सम्पादन समूह’ ले तयार गरेको अन्तरक्रियात्मक संवाद :

तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? पृष्ठभूमिसहित बताइदिनुहुन्छ कि ?

म जन्मिँदा ‘भजाइना’ (योनी) लिएर जन्मेको व्यक्ति हुँ । हुर्कदैँ, बढ्ँदै जाँदा परिवार, समाज र राज्यले चाहेको व्यक्ति (महिला) भन्दा फरक व्यक्ति भएर निस्केँ । महिलावादी के हो ? को हो ? भन्ने थाहा नपाई म महिलामाथि भएका अन्याय अत्याचारका विरुद्ध बोल्न थालेको थिएँ । त्यो बेला म को हुँ र मेरो अधिकार के हो भन्ने पनि थाहा थिएन तर यत्ति थाहा थियो कि म भजाइना लिएर जन्मेको महिला हुँ । तर, किशोरावस्थामा पुग्दै गर्दा मलाई म जस्तै केटी मनपर्ने हुन थाल्यो । म पुरुष त होइन, किन महिलाप्रति आकर्षित हुन्छु भन्ने कुरा मनमा खुल्दुली हुन्थ्यो । बुझ्ने, बुझाउने कोही थिएन । सोध्ने र भन्दिने पनि कोही थिएन ।

मेरो आफ्नो परिवारमा झमेला थियो । बुवाले आमाप्रति गरेको व्यवहार, एक खालको पीडा दिने, दुःख दिने र त्यो व्यक्ति देखिरहँदा पुरुषहरू यस्ता हुँदा रहेछन् भन्ने सोच सानैदेखि मनमा पर्‍यो । घरभित्रकै द्वन्द्वको कारणले म एक प्रकारको द्वन्द्वकारी जस्तो भएँ । बुवाप्रति हेर्ने मेरो दृष्टिकोण र सोच नै फरक भयो । बुबाको व्यवहारले गर्दा सबै ‘पुरुष यस्तै हुन्छन्’ भन्ने लाग्थ्यो । पछि आफ्नो स्कुलको साथीसर्कलसँग घुलमिल हुँदै जाँदा परिवारको एक जना व्यक्ति खराब हुँदैमा सबै पुरुष खराब हुँदारहेनछन् भन्ने बुझ्न थालेँ ।

म ठुलो हुँदै जाँदा घरमा आमामाथि भएको व्यवहार, उहाँमाथि थिचोमिचो मात्रै होइन, कुटपिट गरेको देख्दा त्यसो नगर्नू भनेर बोल्न थालेँ । यसरी आमामाथिको दुर्व्यवहार देख्दै बोल्दै ठुलो हुँदै जाँदा आफ्नै पहिचान र यौनिकताको कारणले मेरो द्वन्द्व परिवारबाटै सुरु भयो । आफू जस्तै अर्को मानवलाई घृणा र हेला गर्नु हुन्न, कुटपिट गर्नु हुन्न, यदि कसैले त्यस्तो गरेको देखेमा मानवताको नाताले मानवीय धर्म निभाउनुपर्छ, त्यसका लागि बोल्नुपर्छ भन्ने लाग्थ्यो र बोल्थेँ ।

अहिले आफ्नै बाल्यकाललाई सम्झिँदा लाग्छ, सबैभन्दा पहिला घरमै बुबाको अनपेक्षित व्यवहारविरुद्ध बोलेँ, आमाको अधिकारको लागि बोलेँ । त्यसपछि मलाई फरक व्यवहार गर्ने अन्यप्रति बोलेँ । काठमाडौँ आएर अलि पछि थाहा भयो, म त्यसरी बोल्नु पनि महिलावादी हुनु हो रहेछ ।

तपाईंले आफू महिलावादी रहेछु भन्ने थाहा पाएको कहिलेतिर हो ? अनि, तपाईंको विचारमा ‘महिलावाद’ भनेको के हो ?

म १८ वर्षको हुँदा सन् २००२ मा काठमाडाैँ छिरेको हुँ । काठमाडौँ आएपछि धेरै सङ्घर्ष गर्नुपर्‍यो । आफ्नै समुदायका साथीभाइ भेट भए तर आफ्नै समुदायभित्र पनि सङ्घर्ष गर्नुपर्‍यो । त्यो समयमा मलाई समलिङ्गी महिला (लेस्बियन) भनेर पहिचान गरियो । लेस्बियन भनेको जन्मिदा महिला हो र उसको यौनिक आकर्षण पनि महिलाप्रति नै हुने हो भन्ने आधारमा मलाई अरू साथीहरूले ‘तिमी लेस्बियन हो’ भन्थे । म आफैँले पनि आफूलाई बुझ्दैँ गएँ, अनि भन्न थालेँ–‘म लेस्बियन हो ।’

मेरो यौनिकताको कारणले गर्दा होला तर म लेस्बियनले भन्दा पनि म मानव भएर अरुको अधिकारको लागि काम गर्छु र त्यसको साथसाथै, म आफ्नै अधिकारको लागि लडिरहेको छु भन्ने कुरा आफूले बुझ्दै आएँ । काठमाडाैँ आएको २/३ वर्षपछि त्यतिबेलाका चर्चित सपना प्रधान मल्ल, डा. रेणु अधिकारी, टेवाकी रीता थापा जस्ता व्यक्तिहरूसँग भेट्ने मौका पाएँ । उहाँहरूलाई भेट्दा साहै राम्रो व्यक्तिहरू हुनुहुँदोरहेछ भन्ने लाग्यो । उहाँहरूले हाम्रो अधिकारको लागि बोलिरहनुभएको छ । उहाँहरू जस्तो व्यक्तिहरूलाई हामीले मान्नुपर्छ, उहाँहरूबाट केही सिक्नुपर्छ भन्ने सोच आयो । उहाँहरू सँगसँगै महिला आन्दोलनमा अगुवाई गर्ने अन्य धेरै दिदीबहिनीहरूसँग जोडिन पुगेँ । उहाँहरूको भावनात्मक संंवादहरू सुन्दै उहाँहरूसँग गहिरो सम्बन्ध बिस्तार गर्न पाएँ । आन्दोलनमा सँगसँगै हिडेँ । उहाँहरूले अधिकारमुखी भएर बोलिरहँदा समुदायकै हकको कुराहरू गरिरहँदा, दिदीबहिनीहरूको हकको कुराहरू गरिरहँदा, पछाडि परेका सीमान्तकृत वर्गको कुरा गरिरहँदा मलाई लाग्यो कि महिलावादी भनेको यस्तो हुनेरहेछन्, जसले एउटा बोल्न नसक्ने निमुखाको आवाज बोल्दिन्छन्, आवाजविहीनको आवाज बनिदिन्छन् । असक्त व्यक्तिहरूको साथमा आउने व्यक्ति महिलावादी रहेछन् । अरूका लागि बोल्ने व्यक्ति महिलावादी रहेछन् भन्ने लाग्न थाल्यो । मैले पनि आफ्नो लागि मात्रै नबोलेर अरू धेरैका हकअधिकारका लागि बोल्दै आएँ । त्यसरी बोल्दै गर्दा मैले आफूलाई ‘म महिलावादी हुँ’ भन्न थालेँ ।

आफ्नै बुवाले आमालाई गरेको व्यवहार देखेर विद्रोही भएँ भन्नुभयो, त्यसबारे अलि स्पष्ट पनि पारिदिनुहुन्छ कि ?

मेरो बुवा नेपाल प्रहरीसँग सम्बन्धित हुनुहुन्छ । उहाँको रिस कडा थियो । श्रीमतीलाई श्रीमती वा एउटा मान्छे होइन कि गधाको रूपमा हेर्ने, जति काम गरे पनि नदेख्ने । बुबामा मायाको भाव मैले कहिले पनि देखिनँ । श्रीमान् श्रीमतीबिच माया, स्नेह जुन हुन्छ, त्यो कहिल्यै देखिनँ ।

म अहिले आफ्नो पार्टनरसँग बस्छु । हामी एक अर्कालाई इज्जत, सम्मान र माया गछौँ । तर मैले मेरो परिवारभित्र यस्तो कहिल्यै देख्न पाएको थिइनँ । सानैमा आमाले धेरै कष्टकर दिनहरू भोग्नुभएको देखेँ । घरभित्रको कामदेखि छोराछोरी हुर्काउने र गाईवस्तु स्याहार्ने काम सबै आमाले नै गर्नुहुन्थ्यो । घरमा आमाले गर्ने ती कामहरूमा कहिल्यै साथ नदिने र गरेको कामलाई गर्‍यो भनेर पनि नभन्ने, जस नदिने बुवाको व्यवहारले गर्दा यस्तो पनि मान्छे हुने रहेछन् जस्तो मलाई लाग्थ्यो ।

जब आमाले केही वचन फर्काउनु हुन्थ्यो, बुवाले कुटपिट गरिहाल्ने र जे भेट्यो त्यसैले हान्ने । त्यो देख्दा मलाई एकदम नै नराम्रो लाग्थ्यो । त्यतिबेला मैले छेक्न सक्ने अवस्था पनि थिएन, केही गर्न मेरो बलले भ्याउँदैनथ्यो । तर पनि मैले गुहार मागेर आमालाई जोगाउँँथे । बुवाको दुर्व्यवहारप्रति विद्रोह गर्थें । नसके पनि कहिलेकाहीँ बुबालाई पिट्ने गर्थें, हरप्रयासले आमालाई बचाउन कोसिस गर्थें ।

मैले देखेको र बुझेको बुवाको रहर छोरा पाउने थियो । म भएँ, ममुनिको एक जना बहिनी बितेको हो, अर्को बहिनी छ । हामी तीन दिदीबहिनी भएपछि दुई जना भाइ जन्मिए । छोरा जन्मेपछि बुबाको व्यवहार अलि राम्रो भएको थियो । आफन्तहरू आउने आमालाई तेल लाइदिने, मीठोमीठो खुवाउने । बुवाको पनि मुहारमा खुशी देखिन थाल्यो । आमालाई गर्ने व्यवहार पनि अलि राम्रो हुन थालेको थियो तर केही समयपछि फेरि उस्तै ।

छोरी जन्मेकै आधारमा हुने विभेदपूर्ण पारिवारिक परिवेशले मलाई अचम्म र नौलो लागेको थियो । जन्मिएका छोरी र छोराबिच पनि उस्तै फरक । छोरी जन्माएका आमा र छोरा जन्माएका आमाबिच फरक । जन्मिसकेपछि छोरा र छोरीबिच पनि फरक । अहिले केही कम भए पनि यो अवस्था कायमै छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रै पनि समलिङ्गी महिलाहरू अरूबाट हिंसामा पर्छन् भनिन्छ नि, हो ?

हो, मेरै पनि अनुभव छ । हामीले आफ्नै समुदायभित्र समलिङ्गी महिलाहरूको मुद्दा उठाइहँदा आफ्नै समुदायभित्रबाटै कति हिंसाहरू खेप्नुपर्‍यो तर पनि बोल्नुपर्छ भन्ने मलाई लाग्थ्यो र बोलिरहेँ । पीडाहरू खेप्नुपर्‍यो र त्यो पीडाहरूका बिच पनि मैले आफूलाई चाहिँ किन अगाडि प्रस्तुत नगर्ने त भन्ने सोच आयो । दिदीबहिनीहरूसँग भेटिरहँदा, उहाँहरूसँग कुरा गरिरहँदा र उहाँहरूसँग आन्दोलनमा हिँडिरहँदा लाग्यो, आफ्नो अधिकारको लागि एउटा नारीवादी, एउटा आन्दोलन बोकेर उहाँहरू हिँडिरहनुभएको छ । त्यसैले उहाँहरूसँग ब्यानर बोकेर हामी पनि माइतीघर मण्डलामा गएका छौँ । आफ्नो समुदायभित्रका महिलाको अधिकारको लागि हामीले पनि आन्दोलन गरिरहेका छौँ ।

हामीले अरू दिदीबहिनीहरूको अधिकारको लागि पनि आन्दोलन गर्‍यौँ । दलित समुदायको सवालहरूमा अभियान नै चल्यो । दलित अधिकारको लागि दिदीबहिनीहरू अगाडि आइरहनुभयो । त्यसको साथसाथै, अपाङ्ग भएका व्यक्तिहरूको अधिकारको लागि आ–आफ्नो क्षेत्रबाट महिलाहरू आइरहनुभयो ।

अर्को चाहिँ एलजिबिटिआई समुदायको अधिकारको लागि हामी अगाडि आइरहँदा सबैका सवालहरू हामीले एउटै थलोमा उठाइरहेका छौँ तर पहिले हामी विभाजित भएर गइरहेका थियौँ । विभिन्न क्षेत्रमा यो मेरो मुद्दा, यो तेरो मुद्दा, यो महिलावादी मुद्दा भनिरहँदा कतै रीता थापा जस्ता दिदीबहिनीहरू पनि हुनुहुन्छ, जसले आफैँले समलिङ्गी महिलाहरूको मुद्दा उठाइरहनुभएको छ । अर्को हुनुहुन्छ, सुनिला भन्ने । उहाँ श्रीलङ्काको महिलावादी हुनुहुन्थ्यो, अहिले बितिसक्नुभयो । दक्षिण एसियाकी चर्चित भारतकी महिलावादी कमला भासिन पनि हुनुहुन्थ्यो, उहाँ पनि बितिसक्नुभयो । उहाँहरू जस्तो व्यक्तिलाई भेट्न पाउँदा र उहाँहरूको विचार सुन्दा मलाई यस्तो पो हो महिलावादी व्यक्ति, महिलावादी सोच भएकी व्यक्ति भन्ने लाग्थ्यो । त्यसैले मेरो विचारमा जसले पछाडि पारिएको वर्ग तथा समुदायको सवाल उठाउँछन्, ती महिलावादी हुन् ।

अहिले मलाई लाग्छ, म महिलावादी हुँ भनिरहँदा, म आफूलाई मानववादी र एलजिबिटिआइवादी पनि भन्न रुचाउँछु किनभने म आफ्नो व्यक्तिगत मुद्दा सँगैसँगै हाम्रो समुदायको मुद्दा पनि उठाएर हिँडिरहेको छु । त्यसक्रममा हाम्रो एउटा ‘अन्तरपुस्ता महिलावादी मञ्च’ छ, म त्यसको स्टेरिङ कमिटीको संयोजक भएको छु । यो लुज फोरम हो ।

कतिपय अवस्थामा जब समलिङ्गी महिलाको कुरा आउँछ, हाम्रो समुदायलाई महिलाहरूले नै महिला नठानिदिँदा दुःख लाग्छ । राज्यकै संयन्त्रहरूले महिला अधिकारको लागि आवाज उठाइरहेको, काम गरिरहेको बेला, महिलाको कानुन बनिरहँदा, महिलाकै लागि बनाइएका कानुनहरूले अझै पनि एलजिबिटिआई समुदायको भित्र समलिङ्गी महिला, बाइसेक्स्युअल महिलाहरूको सवालमा बोलेको पाईंदैन । प्रजनन स्वास्थ्यको कुरामा उनीहरू पनि मानव हो, बच्चा जन्माउने अधिकार, स्वतन्त्रसँग बाँच्न पाउने अधिकारको कुरा नउठाउँदा र स्किप गरिदिँदा हामी कहाँ छौ ? यो कस्तो महिलावाद हो ? कस्तो नारीवाद हो ? यी प्रश्नहरू मनमा आइरहन्छ ।

नेपालमा भइरहेको महिलावादी आन्दोलनलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

पहिलाको तुलनामा हेर्ने हो भने एकदम फरक पाएको छु । हाम्रै समुदायको दृष्टिकोणबाट हेर्ने हो भने पनि हामीले धेरै परिवर्तन भएको पाएका छौँ । तर, परिवर्तन भएको भनिरहँदा सीमान्तकृत तथा अन्य कमजोर जाति तथा समुदाय, दलित, अपाङ्ग र आदिवासी जनजातिको सवालको कुरा थियो । आज एलजिबिटिआईको विषय छ । यस्ता जाति तथा समूह तथा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको शोषण अन्त्य गर्ने जस्ता थुप्रै मुद्दाहरूलाई हाम्रो महिलावादी आन्दालनले छोडेको हो कि भन्ने महसुस हुन्छ ।

महिलावादी आन्दोलन भइरहेको छ, हामी लडिरहेका पनि छाैँ तर त्यो आन्दोलन कति समावेशी छ र त्यसले कति समावेशी मुद्दा उठान गर्न सकेको छ भन्ने प्रश्न छ । अझै पनि विशिष्ट भएर हाम्रो आन्दोलनलाई मुद्दागतरूपमा लिइदिइएको भए आज हामी अधिकारविहीन भएर अधिकार मागिरहेका हुँदैनथ्यौँ कि भन्ने मलाई लाग्छ ।

हाम्रो समुदायको एउटा महत्वपूर्ण मुद्दा ‘वैवाहिक समानता’ हो । आफ्नो पार्टनर रोज्ने अधिकार त कानुनले उमेर पुगेपछि त्यो व्यक्तिलाई दिएको हुन्छ, व्यक्तिको जोडीलाई कानुनी मान्यता दिने काम राज्यको हो । हामी यसलाई मूल मुद्दा बनाएर हिँडिरहेका छौँ तर मूलधारको महिला आन्दोलनले यो मुद्दालाई गम्भीरतापूर्वक लिएको छैन, अपनत्व महसुस गरेको छैन । यसरी हाम्रो प्राथमिक मुद्दा छुटिरहँदा हाम्रो महिलावादी आन्दोलन कता छ, हाम्रो आन्दोलनको अगुवाइ गर्ने र साथ दिने दिदीबहिनी कता हुनुहुन्छ भन्ने प्रश्न मेरो मनमा उठ्छ ।

म महिलावादी हो भनेर हिँडिरहदा, आफ्नो मुद्दा उठाइरहँदा, एउटा नारीवादीको ठूलो सञ्जालमा बस्दा, त्यो सञ्जालले पर्याप्तरूपमा ठाउँहरू दिँदा, आफ्नो मुद्दासँगसँगै हाम्रो समुदायको मुद्दा पनि उहाँहरूले छुटाउनु भएन भन्ने लाग्छ । हाम्रो नेतृत्वसँगै सवाललाई पनि उहाँहरू सबैले सँगसँगै लिएर जाँदा बल्ल खुसी हुन सकिन्छ । हुन त हिजोको दिनमा उहाँहरू जस्तो व्यक्ति नभेटिएको भए आज यो अन्तरपुस्ता महिलावादी मञ्चको नेतृत्वमा पनि हुने थिइनँ होला ।

सबैले उठाएकै कारण अहिले एलजिबिटिआई समुदायको सवाल राष्ट्रियस्तर मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा पनि उठिरहेको छ । हाम्रो मुद्दामा सबैले साथ दिनुभएको छ । त्यसका लागि सम्बन्धित सबैलाई धन्यवाद भन्छु । अझ पनि हामीले थुप्रै सवालहरू उठाउन बाँकी छ । कोसिसहरू जारी पनि छ । यस्तो बेला महिला आन्दोलन भने दुई/तीन मुख भएर गइरहेको छ । एउटै मुख भएर जाने हो भने हामीले हाम्रो अधिकार प्राप्त गरिसक्थ्यौँ होला भन्ने लाग्छ । त्यसैले अधिकारको कुरामा हामी एकैमुख हुनुपर्छ । महिला आन्दोलनले हाम्रा मुद्दाहरूलाई मसिनोसँग पहिचान गरी उठाउँदै जानुपर्छ ।

अन्तरपुस्ता महिलावादी मञ्चले महिला तथा महिलाभित्रको विविधता एवं समलिङ्गी महिलाहहरूको मुद्दा कसरी उठान गरिरहेको छ ?

अन्तरपुस्ता महिलावादी मञ्चले विभिन्न राजनीतिक दलका व्यक्तिहरूदेखि ग्रामीणस्तरमा काम गर्ने समुदायका अधिकारकर्मी, स्थानीयदेखि केन्द्रीयस्तरसम्मको राजनीतिमा रहेका नेता महिलाहरूलाई पनि समेटेर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने काम गरिरहेको छ । ‘अनुपम यात्रा’ भनेर जिल्ला जिल्लामा हामी पनि पुग्ने र जिल्लाका महिलाहरू स्वतःस्फूर्त सहभागी भएर छलफल, र्‍याली, जुलुस गर्ने काम हुन्छ । समानता र न्यायको लागि लडिरहेका दिदीबहिनीहरूका कुरा हामी प्रत्येक आइतबार सुन्छौँ । उहाँहरूले त्यसमा आफ्नो सवाल राख्नुहुन्छ ।

एकदम विकट ठाउँका महिलाहरूको सवाल पनि सुन्न र सुनाउनका लागि भर्चुअल माध्यमबाट छलफलहरू चलाउने काम पनि नियमित भइरहेको छ । जुन छलफलमा कम्तीमा पनि एकसयदेखि डेढसय जनाको सहभागिता रहन्छ । यसमा कसैले पनि तँ यस्तोउस्तो भन्ने अवस्था छैन । बरु कतिले हाम्रो कुरा उठाउन अहिलेलाई पुग्यो, नउठाइदिनू, अर्को समुदायको सवाल उठाऔँ भन्नुहुन्छ ।

मुगु, हुम्ला, जुम्ला, जाजरकोट जस्ता जिल्लामा हामी हत्तपत्त पुग्न सक्दैनौँ र उहाँहरूलाई पनि यहाँ काठमाडौँमा बोलाउन सक्दैनौँ । त्यो ठाउँका दिदीबहिनीलाई भर्चुअल माध्यमबाट जोडिएर आफ्नो कुरा राख्ने, बोल्ने र अन्तरक्रिया गर्ने अवसर जुटाइरहेका छौँ । त्यही भएर मलाई खुसी लाग्छ । त्यो हाम्रो खुला छलफल गर्ने ठाउँ हो र त्यो हाम्रो आफ्नै थलो हो भन्ने महसुस हुन्छ ।

एलजिबिटिआईले मात्र नभएर दलित समुदायको व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू र अन्य व्यक्तिहरूले पनि त्यहाँ ठाउँ पाउनुभएको छ । मलाई कहिले त के बाहुन, के क्षेत्री उहाँहरू पनि अल्पसङ्ख्यकमा पो पर्नुभयो कि भन्ने पनि लाग्छ । हामी साथीसाथीबिच कुरा हुन्छ र कतिपय सवाल हुन्छ । हाम्रो यौनिकता र लिङ्ग पहिचानको कारणले हामी अल्पसङ्ख्यकमा पक्कै परेको हौँला तर उहाँहरूले सवाल उठाइरहनुको साथसाथै काम पनि गरिरहनुभएको छ । उहाँहरू हामीसँगसँगै हिँडिरहनुभएको छ ।

तपाईंले नेतृत्व गरिरहनुभएको मितिनी नेपालको स्थापना र त्यसले अहिले गरिरहेको कामको बारेमा अलि विस्तृतमा बताइदिनुस् न !

मेरी बज्राचार्यसँग लक्ष्मी घलान

मितिनी नेपाल म र मेरी बज्राचार्यको पहलमा सुरु भएको हो । हाम्रो पुरानो प्रचलनमा मितमितिनी लगाउने र ‘दुःख पायो भने मितकोमा जानू’ भन्ने भनाइ छ । हामीले पनि हाम्रो मुद्दा उठानको लागि एउटा ठाउँ बनाउनुपर्छ, दुःखसुखको कुरा गर्ने सुरक्षित ठाउँ बनाउने हो कि भनेर छलफल गर्दा बनाउने भन्ने भयो । मितमितिनी लगाएर दुःखसुखको साथी बनाउने भन्ने परम्परागत अर्थमा नै हामीले मितिनी नेपालको स्थापना गरेका हौँ । त्यसरी संस्थाको नामकरण गर्यौं र मितिनीको अर्थ पनि त्यसरी नै लगायाैँ ।

‘मितिनी’ भन्नाले मन मिल्ने साथी जस्तो भयो । कति कुराहरू आत्मादेखि आउने कुराहरू कति ठाउँहरूमा सेयर गर्न नसक्दा आफ्नो मितिनीलाई सेयर गर्ने भन्ने कुरा भयो । सन् २००२ मा हामीले ‘मितिनी सपोर्ट ग्रुप’ भनेर सुरु गरेका थिर्यौँ । त्यही समूहलाई सन् २००५ मा गैरसरकारी संस्थाको रूपमा दर्ता गरिएको हो । यसको मुख्य उद्देश्य समलिङ्गी महिला, द्विलिङ्गी महिला (ट्रान्सजेण्डर वुमन) अनि ट्रान्सजेन्डर व्यक्तिहरूको अधिकार प्रत्याभूत गर्न, उनीहरूको सम्मानजनक जीवन बिताउन पाउने हक र आफ्नो अधिकार प्राप्तिको लागि काम गर्ने हो । मुख्य उद्देश्य भनेको नै त्यही हो ।

मुख्य उद्देश्यसँगसगै काम गर्दै जाने क्रममा धेरै कुराहरू थपिँदै पनि गएको छ । समयसँगै कतिपय उद्देश्यहरूलाई परिवर्तन गर्नुपर्ने पनि भयो । सुरुमा हामीबिच विवाहका लागि कानुनीरूपमा जानुपर्छ भन्ने सवाल खासै उठेको थिएन । एउटा पार्टनर भयो भने जीवन त्यसरी नै जान्छ भन्ने लाग्थ्यो तर पछि व्यवहारमा त्यसले मात्रै पुग्दोरहेनछ भन्ने अनुभव भयो । हामीलाई परिवारले दुःख दिँदा, समाजले दुःख दिँदा, राज्यले समेत जोडीका रूपमा पाउनुपर्ने अधिकार नदिएको भोगाइले सिकाइ पनि भयो । त्यसपछि आफ्नो आधारभूत अधिकार माग्दामाग्दै अधिकारमुखी भयो यो संस्था ।

अधिकार मागिरहँदा समलिङ्गी महिला जो बिसाैँ वर्षदेखि पार्टनरसँगै बस्दै आएको छ तर समलिङ्गी महिला भएकै कारण उनलाई आमाबुवाले नागरिकता बनाइदिनुभएको छैन । नागरिकता बनाइदिनुभयो भने पनि ‘तँ केटासँग बिहे गर’ भन्ने जस्ता सर्तहरू राख्ने गरेको पाइन्छ । अर्को भनेको पैतृक सम्पत्ति प्राप्त गर्ने एउटा मुद्दा भयो । त्योभन्दा बढी आफ्नो पार्टनरसँगको साझेदारी सम्पत्तिको कुरा हुन्छ । यही मुद्दालाई दिएर वैवाहिक समानतालाई लिएर हाम्रो कानुनी लडाईं पनि भयो । अहिले हामीले मानसिक स्वास्थ्यका साथै आर्थिक सशक्तीकरणका र आयआर्जनका लागि क्षमता अभिवृद्धिमा पनि काम गरिरहेका छाैँ ।

काम गर्ने क्षेत्र अहिले काठमाडौँ उपत्यका र बागमती प्रदेशका साथै, कोशी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू हुन् । यी ठाउँमा हामीले आफ्ना ‘स्टाफ’ नै राखेर काम गरिरहेका छौँ । सुदूरपश्चिम र मधेस प्रदेशमा पनि हाम्रा ‘फोकल पर्सन’ हरू हुनुहुन्छ । २०/२१ वर्षदेखि काम गर्दै यहाँसम्म आइपुग्दा ‘मितिनी नेपाल’ ले धेरै फड्को मारिसकेको छ ।

एजजिबिटिआई समुदायका व्यक्तिहरूलाई आर्थिकरूपमा सशक्त बनाउनका लागि के कस्ता काम गरिरहनुभएको छ र के गर्नुपर्ने जस्तो लाग्छ ?

एलजिबिटिआई समुदायका प्रायजसो व्यक्तिले आफ्नो परिवारको साथसहयोग नै पाएका हुँदैनन् । त्यसैले आर्थिक सशक्तीकरणका कार्यक्रम पनि हाम्रो प्रमुख प्राथमिकताको क्षेत्र हो । मितिनी नेपालबाट हामीले एलजिबिटिआई समुदायभित्रका पनि समलिङ्गी महिलासँग बढी काम गर्छौं । त्यसैले समलिङ्गी महिलाहरूलाई सबैभन्दा पहिला आत्मनिर्भर हुने गरी आयआर्जन तथा क्षमता अभिवृद्धिका सम्बन्धी सिपमूलक तालिमहरू दिन्छौँ । यसमा हामीले ज्वेलरी बनाउने तालिम दिएका छौँ । धुपबत्ती र मैनबत्ती बनाउने तालिम दियौँ । लोडसेडिङ हुन छाडेपछि हामीले मैनबत्तीको तालिम दिन छोड्यौँ ।

प्राइड कलरको प्रयोग गरेर विभिन्न सामान बनाउने, जुन हाम्रै समुदायले बढी प्रयोग गरिरहेका हुन्छन् । यस्तो सामान बनाउने तालिम पनि दियौँ । त्यसैगरी, ब्युटीपार्लर तथा कफी बनाउने सम्बन्धी बारिष्टाको तालिम दिन्छौँ र तालिमसँगै काम सुरु गर्नका लागि केही पैसा ‘सिड मनी’ का रूपमा दिन्छौँ । उहाँहरूले पछि कमाएर त्यो रकम फिर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, क्षमता अभिवृद्धिअन्तर्गत बोल्ने कला, कम्प्युटर, अङ्ग्रेजी भाषा बोल्ने सम्बन्धी तालिम पनि दिएका छौँ । अङ्ग्रेजी जान्नैपर्ने जस्तो अवस्था भइसकेको हुनाले हामीले भाषा कक्षा पनि चलाउँदै आएका छौँ ।

समुदायभित्र ‘एलजिबिटिआइक्युप्लस’ जस्ता फरक फरक लैङ्गिक पहिचानका व्यक्ति हुन्छन्, मितिनी नेपालले अलि बढी कुन समुदायको लागि र त्यसमा पनि के कस्ता विषयमा काम गर्ने गरेको छ ?

सुरुका दिनहरूमा समलिङ्गी महिला (लेस्बियन), उभयलिङ्गी/द्वीलिङ्गी (बाइसेक्स्युअल) र तेस्रोलिङ्गी महिला (ट्रान्सजेन्डर महिला) गरी ‘एलबिटी’ मा मात्रै काम गर्थ्याैं तर अहिले संस्थाको विधान संशोधन गरेर ‘एलजिबिटिक्युआई’ सबै समूहका लागि काम गर्न थालेका छौँ ।

कतिपयलाई कानुनी परामर्शको आवश्यकता हुन्छ, त्यसमा सहयोग गछाैँ । मनोपरामर्श सेवा चाहियो भने त्यो पनि दिन्छौँ । मानसिक स्वास्थ्य समस्या परेकालाई त्यसमा सहयोग गर्छौं । स्वास्थ्य उपचार सेवा अति आवश्यक पर्नेलाई केही प्रतिशत सहयोग गछौँ । केही अस्पतालहरूसँग पनि स्वास्थ्य सेवामा सहजता र छुटको लागि काम गरिरहेका छौँ । यसरी काम गर्न हामीसँग ‘फुलटाइम स्टाफ’ र ‘पेड भोलेन्टियर’ हरू हुनुहुन्छ ।

मितिनी नेपाल सुरु गर्नुअघि आफ्नै समुदायबाट पनि अप्ठ्यारो पारिएको भन्ने कुरा आएको थियो, त्यसबारे केही भन्न चाहनुुहुन्छ कि ?

काठमाडौँ आएपछि सरुसुरुमा ‘गे’ साथीहरूसँग मेरो भेट भएको थियो । त्यहीँ हुँदाहुँदै म र केही साथीहरू भएर ‘मितिनी सपोर्ट u’ सुरु गरियो । त्यसले गे साथीहरूको मनमा चिसो पस्यो होला तर गे र ट्रान्स महिलाहरू मात्र भइरहँदा हामीले लेस्बियन, बाइसेक्सुअलहरूको सवाल कहाँ छ भनेका थियौँ । अलि सङ्कुचित सोच भएकालाई हाम्रो त्यो प्रयासले नराम्रो लागेको पनि होला । तर, हामीले हाम्रा सवाललाई उठाउन छाडेनौँ । निरन्तर महिलावाद र महिलावादी मुद्दा उठाइरहँदा हामीले हाम्रो मुद्दा यो हो, हाम्रो पहिचान यो हो भन्न सकेका छौँ ।

मितिनी सपोर्ट ग्रुपमार्फत् काम गर्दै जाँदा अझ सशक्त भएर सङ्गठित रूपमै आफ्ना सवाल उठाउने आवश्यकता महसुस भयो । यसैले सन् २००५ मा ‘मितिनी नेपाल’ नाम राखेर त्यसलाई गैरसरकारी संस्थाको रूपमा दर्ता गर्‍यौँ । हामीले यो संस्था सुरु गरेको पनि उहाँहरूलाई राम्रो लागेन । त्यसपछि त्यो ठाउँबाट अलग भएर यही संस्थामार्फत् काम गरिरहेका छौँ ।

मलाई अहिले गर्व लाग्छ । हिजोको दिनमा हामीले गरेको कामलाई नबुझ्ने गे साथीहरू अहिले हामीसँगै जोडिएर काम गर्दै हुनुहुन्छ । हामीले सँगसँगै काम गर्दै आएका छौँ । यसबिचमा हामीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र पनि फरक फरक यौनिक पहिचान भएका समूहहरू छन् र सबैको मुद्दा फरक फरक छ भन्ने बुझाउन सकेका छौँ ।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको आवाज उठ्न थालेयता तीन दशक नाघिसक्यो, यो समुदायको अधिकारलाई संविधानको मौलिक हकका रूपमा लेखियो, कानुनहरू पनि बनिरहेका छन्, कार्यान्वयनको अवस्था कस्तो छ ?

संविधान देशको मूल कानुन हो । पहिले त संविधानमै लेखिएपछि हुन्छ भन्ने लाग्थ्यो तर त्यो कुरा यत्तिकै व्यवहारमा आउँदो रहेनछ । कानुन बनिरहँदा र लेखिरहँदा पनि महिला र पुरुषको कुरा मात्रै आउने एलजिबिटिआईको कुरा नआउने रहेछ । अर्को कुरा, कानुन बन्नु र कार्यान्वयन हुनु फरक कुरा रहेछ । कानुनमा लेखिँदैमा नहुने रहेछ । त्यसलाई व्यवहारमा उपयोग गर्न कठिन हुने रहेछ ।

कार्यान्वयन पक्ष फितलो र कार्यान्वयन गर्ने निकायको यस समुदायको बारेमा कम बुझाइ र नकारात्मक सोच देखियो । यस्तो भएका कारण लेखिएका अधिकारबाट हामीले वञ्चित हुनुुपरेको छ । अझ रिट नै हाल्न सर्वोच्च अदालत पुग्नु परिरहेको छ । अदालत र राज्यको ढोका ढकढक्याइरहनुपरेको छ । हामीले मानिस भएर बाँच्नका लागि पाउनैपर्ने कुरा पनि अदालत गएर किस्ता किस्तामा मागिरहनुपर्ने कानुन छ हाम्रो, कस्तो कानुन, कस्तो संविधान हो यो ?

हामीलाई लैङ्गिक पहिचानअनुसार नागरिकता, पासपोर्ट प्रशासनले सजिलै दिँदैन, अदालतको आदेश लिन रिट हाल्न जानुपर्छ । आफूले ‘लाइफ पार्टनर’ रोज्यो, महिला र पुरुषको बिहे दर्ता गरे जसरी हाम्रो दर्ता गरिँदैन । वैवाहिक जीवन भनेको त एउटै हुन्छ, चाहे त्यो केटा र केटीका बिचको होस् वा केटी–केटी वा केटा–केटाका बिचको होस् । व्यक्तिले मन पराएर बिहे गर्नु नै ठूलो कुरा हो तर कानुनले उमेर पुगेको माने पनि हामीजस्ता व्यक्तिलाई आफ्नो इच्छाले जोडी बनाएर बाँच्न दिँदैन राज्यले । ‘अस्थायी अभिलेख’ रहने गरी विवाह दर्ता गरिदिनू भनेर वडालाई भने पनि साथीहरू त्यहाँ गएर बिहे गर्नै हिच्किचाउँछन् । अस्थायी अभिलेख भनेको कहिलेसम्मको हो र के हो भन्ने अन्योल छ ।

‘वैवाहिक सम्बन्ध’ सँगै सन्तानको कुरा आउँछ । आमरूपमा छोरा र छोरी भनिन्छ । हामीले हाम्रो समुदायभित्र छोरा वा छोरी भन्नुको सट्टा ‘सन्तान’ भन्ने अभ्यास गर्छौं । बुवा र आमाभन्दा पनि ‘अभिभावक’ भनेर सम्बोधन गराैँ । धर्मपुत्र र धर्मपुत्रीभन्दा पनि ‘धर्म सन्तान’ भन्ने गरिन्छ । यसरी शब्द, भाषादेखि नै परिवर्तन गर्नुपर्छ भनेर हामीले थुप्रै कानुनका दफाहरू केलाएर सरकारलाई बुझाएका छौँ । सबै खालका जोडीको वैवाहिक सम्बन्धलाई महिला र पुरुषको बिहे सरहकै कानुन हुनुपर्ने, नागरिकतामा नाम परिवर्तनमा सहजता हुनुपर्ने लगायतका विषयमा थुप्रै मुद्दाहरू हालेका छौँ ।

हामी आफ्नो पहिचान, अधिकार र सम्मानपूर्वक र लैङ्गिकरूपमा तटस्थ भाषाको लागि सर्वोच्च अदालतसम्म पुगे पनि समाजमा विभेद कायमै छ । मुद्दामामिलामा ढिलासुस्ती नै धेरै हुने रहेछ । अदालतले फैसला गर्न एकदम समय लिइरहेको छ, हाम्रा मुद्दाहरूलाई पर पर जाने गरी पेसी सारिरहेको छ । कानुनीरूपमा वैवाहिक सम्बन्धबारे स्पष्ट नहुँदा जो सम्बन्धमा पार्टनरको रूपमा वा बिहे नै गरेर बसिरहनुभएको छ, उहाँहरू पनि अन्यौलमा हुनुहुन्छ । कतिपय जोडी त एक वर्ष, दुई वर्ष, पाँच वर्ष, दश वर्ष सँगै बस्नुहुन्छ अनि छुट्टिनुहुन्छ । छुट्टिएपछि फेरि पारिवारिक बाध्यताले अरू नै केटा वा केटीसँग बिहे गरेर बच्चा जन्माएर बसेकाहरू पनि हुनुहुन्छ ।

कतिपय जोडी अदालत पुग्नुहुन्छ, त्यस्तो अवस्थामा विपक्षी वकिलहरूले यो सम्बन्ध अस्थायी हुन्छ, सँधै टिक्दैन भनेर व्याख्या गर्दिनुहुन्छ । उहाँहरूलाई हाम्रो प्रश्न– वैवाहिक सम्बन्ध त विपरीत लिङ्गी महिला र पुरुषको पनि सबैको जिन्दगीभर टिक्छ भन्ने छ र ? सम्बन्धविच्छेदको घटना त बढिरहेको छ । हाम्रै समुदायका जोडीको सम्बन्ध टुट्दा किन ठुलो कुरा बनाउने ? परिवारले पनि जबरजस्ती विवाह गराइदिनै खोज्छ । परिवारले जन्मिँदाको लिङ्गको आधारमा बिहे गरिदिन खोज्छ तर यौनिक मन, भावना र हाम्रो इच्छा बुझ्न खोज्दैन । के यो कुरा बुझ्नु पर्दैन ?

हाम्रो समस्या परिवारले मात्रै होइन, राज्यले पनि बुझिदिएन । न्यायलयमा जाँदा ढिलो, अपूरो र फितलो आदेश आउँछ । त्यही अनुसारको नजिर बन्दै गएको मानिन्छ, त्यसै अनुसारका कमजोर कानुन बनाइन्छन् । कानुनको समेत साथ नपाउँदा कति धेरै साथीहरूले त आत्महत्या पनि गर्नुभएको छ । कानुनीरूपमा सँगै बस्न नपाउँदा ३०/३५ वर्ष सँगै बसेर पनि छुट्टिएका जोडीहरू थुप्रै छन् ।

तपाईंको विचारमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको भावना बुझ्नका लागि विशेष गरी परिवार र समाजले के गर्नुपर्छ ?

लैङ्गिक पहिचानको हिसाबले यौनिकताको भावना आ–आफ्नो हुन्छ । यौनिकताप्रतिको व्यक्तिको झुकाव पनि फरक फरक हुन्छ । परिवार र समाजले कसरी बुझ्नुपर्यो भने विवाह गर्दा पुरुष र महिलाबिच मात्र होइन, व्यक्ति व्यक्तिबिच हुन्छ । यसैले एकले अर्कालाई मन पराएको पार्टनरसँगको सम्बन्धलाई विवाहको मान्यता दिनुपर्छ । मेरो कुरा गर्ने हो भने म र मेरो पार्टनर सँगै बस्छौँ । हामीसँगै बसेको तीन दशक हुन लाग्यो तर हाम्रो बिहे दर्ता भएको छैन ।

हाम्रो बिहे दर्ता कहिले हुने त ? म भजाइना लिएर जन्मेको छोरी भएकै आधारमा परिवारले केटासँग बिहे गरोस् भन्ने चाहन्थ्यो । तर मलाई त केटा मनै पर्दैन, म जस्तै अर्को केटीप्रति म आकर्षित हुन्छु । त्यसैले ‘ए, यस्तो पनि हुन्छ है !’ भनेर सबैले बुझ्नुपर्छ । हाम्रो यसखालको भावना र चाहनालाई सामान्य व्यक्तिको भावना र चाहना जस्तै हो र यो वैयक्तिक स्वतन्त्रता हो भनेर परिवार र समाजले बुझ्नुपर्छ ।

हाम्रो यौनिकताको पहिचान अरूले गरिदिने होइन, हामी नै गर्छौं र सोही अनुसारको कानुन बनाउने, परिमार्जन गर्ने र कार्यान्वयन गर्ने काम चाहिँ राज्यको हो । ट्रान्सजेन्डरको हकमा हेर्ने हो भने ट्रान्समहिलाहरू पुरुषप्रति नै आकर्षित भइरहेका हुन्छन् । उनीहरूको हकमा पति र पत्नीकै सम्बन्ध हुन सक्ला, त्यही नै न्यायपूर्ण पनि होला । तर, समलिङ्गी महिला, गे पुरुषहरूको सवालमा त्यस्तो हुँदैन ।

समलिङ्गी महिला, गे पुरुषहरूको सम्बन्ध फरक हुन्छ । त्यसैले पुरुष पति र महिला पत्नी हुनु मात्रै ‘वैवाहिक सम्बन्ध’ हो भनेर हामी मान्दैनौँ । यसखालको कानुनी व्यवस्थामा पनि संशोधन गरिनुपर्छ भन्ने हाम्रो माग हो । समलिङ्गी दुई जना महिलाले विवाह गर्दा यौनिकताको सन्दर्भमा दुई पार्टनरले कसले कस्तो भूमिका गर्ने भन्ने हुन्छ । यस्ता कुरा भनेको उमेर पुगेका दुई जना वयस्क व्यक्तिहरूको आन्तरिक वा ‘प्राइभेट’ कुरा हो । यसलाई कोही पनि व्यक्ति, परिवार, समाज र राज्यले त्यही रूपमा बुझ्नुपर्छ ।

कुनै एक व्यक्तिले आफ्नो लैङ्गिक पहिचान, यौनिकताको भावना र झुकावका सम्बन्धमा कहिले र कसरी थाहा पाउन सक्छ ?

आफ्नो लैङ्गिक पहिचान, यौनिकताको भावना र झुकाव भन्ने कुरा कुनै पनि व्यक्तिले आफैँ महसुस गर्ने कुरा हो । मेरो कुरा गर्ने हो भने मैले १३ वर्षको उमेरमा थाहा पाएँ । प्रायजसोले यस्तै १३ या १४ वर्षमा टिनएज सुरु भएदेखि महसुस गर्न थाल्छन् । त्यसपछि थाहा पाउँछन् । यो भनेको एउटा महिला र पुरुष एकअर्काबिच आकर्षित हुन्छन्, त्यही कुरा नै हो । यस्तो महसुस कसैलाई ढिलो र कसैलाई चाँडो हुन सक्छ । यो भनेको किशोरकिशोरी उमेरमा हुने यौनिक झुकाव र भावनाको कुरा हो ।

कतिले १८ या १९ वर्षमा आफूले थाहा पाएको भन्नुहुन्छ । केही गे साथीहरू फेमिनाइन प्रकृतिका हुन्छन् । कोही समलिङ्गी महिला पनि मास्कुलिन प्रकृतिका हुन सक्छन् । कसैले आफूलाई चिन्दैनन्, आफ्नो यौनिकताको पहिचान नगर्न पनि सक्छन् । त्यस्तो अवस्थामा भए पनि परिवारले जबरजस्ती विवाह गराइदिन्छन् । त्यसैमा जीवन अघि बढाउँछन् तर बिहेपछि यौनको आनन्द लिन सक्दैनन् ।

यौन सम्बन्ध भएपछि सन्तान त जन्माउन सक्छन् तर पछि हुँदै गएपछि यौन पार्टनरसँग उनीहरूको कुरा मिल्दैन । म उसको लागि र ऊ मेरो लागि ‘लायक’ होेइनौँ भन्ने बुझ्छन् तर खुलस्त भनेर सम्बन्ध टुङ्ग्याउन सक्दैनन् । त्यसो गर्न नसक्दा आत्महत्याका घटना पनि भइरहेका छन् । यस्ता घटनाको अध्ययन गरेर आत्महत्याको कारणसम्म प्रहरी प्रशासन पुग्ने गरेको पाइँदैन । हामी एलजिबिटिआईको सवालमै काम गर्ने सङ्घसंस्थाहरूले पनि यसरी मिहीनरूपमा अध्ययन अनुसन्धान गर्न सकेको अवस्था छैन ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारको लागि आवाज उठ्दै गर्दा, धेरै मन मिल्ने जोडीहरू ‘पार्टनर’ को रूपमा बस्दा उनीहरूबिच पनि हिंसाका घटना हुने गरेको भन्ने कुरा थुप्रै आउँछ नि ?

हामीले इन्टिमेट पार्टनर (घनिष्ट सम्बन्ध) मा हुने हिंसाको बारेमा एक अध्ययन गरेका थियौँ । त्यसबारेमा समयसमयमा कार्यक्रम पनि गर्छौं । त्यतिबेला हिंसाका कुराहरू निस्किन्छन् । ट्रान्समेन र समलिङ्गी दिदीबहिनी पार्टनरको रूपमा सँगै बस्ने गर्नुहुन्छ । ट्रान्समेनले केटाको भूमिका निभाएको हुन्छ, हेट्रोजेनियस (पुरुष र महिला) मा जस्तो व्यवहार हुन्छ । त्यहाँ दिदीबहिनीले आफ्नो ट्रान्समेन पार्टनरलाई श्रीमान् मानेको हुनुहुन्छ । त्यहाँ हिंसा हुन सक्छ । विपरीत लिङ्गीबिचको वैवाहिक सम्बन्धमा ट्रान्समेनले श्रीमान्‌ले  जस्तो बानीव्यवहार देखाउँँदा श्रीमती मानिएको पार्टनर हिंसामा परिरहेको अवस्था छ ।

हिंसालाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सोच हो । हामीले समलिङ्गी विवाह (सेम सेक्स म्यारिज) लाई राम्रो मान्छौँ भने यस प्रकारको समलिङ्गी सम्बन्धलाई सम्मान पनि गर्नुपर्‍यो नि ! तँ यो घरको मालिक र तँ त्यस्तो भन्न थाल्यो भने मेरो बुवाको जस्तै व्यवहार भयो भने हिंसा हुने हो । त्यस्तो हिंसात्मक सम्बन्धलाई अघि बढाउनुभन्दा तोड्नुपर्छ भन्ने मलाई लाग्छ ।

समलिङ्गी महिला भएकै कारणले कति भेदभाव झेल्नुपर्छ । अरूलाई आँखा लगाउने, जिस्काउने हो भने वा त्यो मानिसको स्वभाव होला तर त्यसो गरो भने पार्टनरसँगको सम्बन्ध टुट्छ । सम्बन्ध नटिक्नुको कारण पनि यो हो । हाम्रो सवाल हामीले बोलेको भए यो मुद्दा बाहिर निस्किने थिएन । मिडियाले उठाएर ल्याएको हो यहाँसम्म यो मुद्दा । यसलाई रोक्न पनि मिडियाको ठुलो हात हुन्छ । मिडियाकर्मीले मुद्दालाई राम्रोसँग मूल मुद्दा बनाएर सार्वजनिक क्षेत्रमा लिएर जान सक्नुहुन्छ ।

हामीले परिवारदेखि समाजसम्मलाई कसरी सम्झाउनुपर्छ ?

हामी अरूको परिवारलाई सम्झाउन सक्छौँ । आफ्नो परिवारभित्र चाहिँ गडेको मैदाली काँडा जस्तो बिजाउने ! उहाँहरूले गर्ने व्यवहारले गर्दा परिवारबाट टाढा बस्नुपर्ने । सम्झाइरहँदा परिवारका केही सदस्यहरूले बुझ्नुहुन्छ तर हाम्रो समुदायका अधिकांश व्यक्तिका लागि हाम्रो परिवार नै फलाम नै हो । बुझाउन धेरै गाह्रो छ किनभने म पनि आफ्नो परिवारसँग लडेर आएको हुँ । अरू पनि धेरैको कुरा सुन्छु कि मेरो बुवा र आमा यस्तो र उस्तो भनेको ।

मितिनी नेपालले परिवारसँग काम गरिरहँदा, समलैङ्गिकता विरोध दिवस (होमोफोबिया डे) मनाइरहँदा, त्यस्तो परिवार जसले आफ्नो छोराछोरी यस समुदायको व्यक्ति हुनुहुन्छ र आफ्नो छोराछोरीलाई स्वीकार गर्नुभएको छ भने उहाँहरूलाई सम्मान गर्ने गरेका छाैँ । त्यस्तो कार्यक्रम गरिरहँदा धेरै प्रभाव भइरहेको छ तर अझै पनि हेर्ने हो भने सकारात्मक परिवर्तन हुन बाँकी छ ।

परिवारको व्यक्तिले अझै पनि आफ्नो सन्तान जो यस समुदायको व्यक्ति हुनुहुन्छ, उहाँलाई यहाँ घरमा नबस, बाहिर काम गरेर पढ र उतै बस, तिमी यस्तो नगर, इज्जतको कुरा हुन्छ भन्ने गरेको सुनिन्छ । हामीसँग यस्तो कुरा सेयर गरिरहँदा उहाँहरूबाट छोराछोरीलाई धेरै धम्की आउँछ । ‘थ्रेट’ महसुस गरेर उहाँहरूले सहयोगको लागि भन्दै हामीलाई इमेल पनि पठाउनुहुन्छ । यो अढाइ दशक जतिको दौरानमा समाजमा धेरै परिवर्तन आइसकेको छ तर पूरा परिवर्तन भइसकेको छैन । अझै परिवर्तन आउन बाँकी नै छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दामा नेपालको महिलावादी आन्दोलनले कसरी आवाज उठाउनुपर्छ ?

जुन आन्दोलन हामीले बोकेर हिँडिरहेका छाैँ, त्यसले हाम्रा मुद्दाहरूलाई सबभन्दा पहिला अपनत्व महसुस गरेर बोक्न सक्नुपर्छ । आआफ्नो मुद्दा बोकेर महिलावादी आन्दोलन गरिरहनुभएकाहरूले एलजिबिटिआई समुदायका महिलाहरूका सवाललाई पनि बुझेर समावेश गर्नुपर्‍यो । अर्को महत्त्वपूर्ण कुरा, हाम्रा सवालहरूलाई राजनीतिक दलहरूले पनि ‘पोलिटिकल इस्यु’ को रूपमा लिएका छैनन्, राजनीतिक मुद्दाको रूपमा लिएका छैनन् । दलहरूले आआफ्नो विधान र घोषणापत्रमा हाम्रा सवाललाई पनि प्राथमिकताका साथ राख्ने, समस्या बुझ्ने र समाधानका लागि छलफल गर्ने गर्नुपर्छ ।

हामीले भोग्दै आएको र उठाइरहेको मुद्दालाई राजनीतिक एजेन्डामा नपारिँदा हाम्रो आवाज कमजोर भएको र मुद्दाहरू फितला भएका हुन् भन्ने लाग्छ । देश परिवर्तन गर्छु भनेर राजनीति गर्ने, जनमत लिने अनि गठबन्धन गरेर भए पनि सत्तामा नै बस्नेहरूले चाहेमा गर्न नसक्ने कुरा छैन । उनीहरूले सङ्कुचित सोच राखेर हुँदैन । हामीलाई कानुनी अधिकार दिइयो भने यिनले सबै जनालाई समलिङ्गी बनाउँछन् कि भन्ने गलत सोच धेरैमा पाइन्छ, त्यो सोच हटाउनुपर्छ ।

अधिकारको सन्दर्भमा नेपाल विश्वमै धेरै उदारवादी छ भनेर पनि भन्ने तर व्यवहारमा चाहिँ कुरा नबुझ्नेहरू धेरै हुनुहुन्छ । बुझ्ने व्यक्तिहरू पनि हुँदै नभएको त होइन । हाम्रा कुरा बुझ्ने र हामीलाई साथ दिने व्यक्ति पनि राजनीतिमा भएकै कारणले हाम्रा कुरा संविधानमा पनि लेखियो । अहिले पहिले जस्तो छैन, केही हदसम्म भए पनि हाम्रो आवाज सुनिन्छ । न्यायालयले पनि हाम्रो पक्षमा फैसलाहरू नगरेको होइन, गरेको छ तर जति हुनुपर्ने हो त्यति भएको छैन । अझै हुन बाँकी छ । यसैले अझै पनि यो समुदायको सवाललाई भारिलो र बोझिलो रूपमा कसैले पनि नलिदिनुस् भन्ने मेरो आग्रह छ ।

प्रकाशन मिति : २०८३ साउन ३१ गते, आइतवार

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *