Home Stories “परिवर्तन गरे त हुने रहेछ नि”-टीका नगरकोटी, जुम्ला

“परिवर्तन गरे त हुने रहेछ नि”-टीका नगरकोटी, जुम्ला

1348
0
tika-nagarkoti-featured-image

कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लाकी महिला अधिकारकर्मी हुनुहुन्छ, टीका नगरकोटी । करिब डेढ दशकदेखि सामाजिक परिवर्तन र महिला अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी नगरकोटी १०/१५ वर्षमा जुम्लाका महिलाहरू सशक्त भएको बताउनु हुन्छ । महिलाहरूले सधैँ कपाल छोपेर हिँड्नुपर्ने चलन हटेको छ, बजार गएर आफ्नो लागि आफैँ सामान किन्न पाउँछन्, होटेलमा चियाखाजा खान सक्छन् । जुम्लाका महिलाको जीवनमा आएका परिवर्तनका यस्ता सूची नगरकोटीसँग धेरै नै छन् । प्रस्तुत छ, समाजमा भएको परिवर्तन, महिलाहरूमा बढेको आत्मबललगायत विषयमा टीका नगरकोटीको भोगाइ र अनुभव :

म महिला अधिकार मञ्च जुम्लाको अध्यक्ष भएर महिला अधिकारका क्षेत्रमा काम गरिरहेको छु । २०६५ सालमा मञ्च गठन भएको हो । ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको अधिकारको लागि काम गर्न कमिटी गठन गरिएको थियो । यहाँ शिक्षामा, राजनीतिमा आफ्नो अधिकारमा बोल्न नसक्ने महिलाहरू थिए र अझै छन् । आफू कुटाइ खाएर पनि सहेर बस्ने महिलाहरू मात्रै थिए त्यतिबेला । तर अहिले पढ्न थाले, राजनीतिमा लागे, आफूमाथि भएको हिंसाविरुद्ध बोल्न थाले । मञ्चमार्फत महिलामाथि भएको हिंसाविरुद्ध बोल्ने, महिलाहरूलाई आफूमाथि भएको हिंसाविरुद्ध बोल्न सिकाउने र महिलाहरूलाई सशक्त बनाउने गरी काम गर्दै आइरहेका छौँ ।

म आफैँ पनि घरेलु हिंसापीडित हो । व्यक्तिगतरूपमा मैले काम गर्न पनि एकदम गाह्रो भयो । जुम्लाको भौगोलिक विकटता र परापूर्वदेखि चलिआएको रुढीवादी परम्परा र पितृसत्तात्मक सोचले सामाजिक परिवर्तनका लागि काम र परिवर्तन गर्न एकदम गाह्रो छ ।

यहाँ सबैभन्दा ठुलो समस्या ‘छाउपडी’ प्रथा हो । पहिले बहुविवाह, जारी प्रथा पनि त्यस्तै थियो । जारी प्रथा एक जना महिलालाई दुई/तीन लाख रुपैयाँमा बेच्ने चलन हो । जारी लिने भनेर सक्दो पैसा लिन्छन् । पहिलेको श्रीमान छोडेका महिलाहरू अर्कोसँग बिहे गरे भने त्यो महिलाको नयाँ श्रीमानलाई पहिलेको श्रीमानले आफ्नो श्रीमती लगेको भनेर पैसा वा जग्गाजमिन लिने पुरानो ‘कुप्रथा’ हो । पहिले बिहे गरेको घरमा विभिन्न कारणले बस्न नसकेपछि महिलाहरूले घर छोडेर अर्को बिहे गरे भने जारी भनेर पैसा, धन लिने चलन हुन्छ । पहिलाको श्रीमान धनी छ, पछिको गरिब छ भने पनि जति भन्यो, त्यति नै घरखेत बेचेर पनि जारी तिर्नुपर्छ । 

खोसेर, भगाएर लगेकाले मात्र जारी तिर्ने होइन, कोही महिलाले हिंसा सहन नसकेर पनि घर छोड्छन् र घर छोडेको केही वर्षपछि अर्कोसँग बिहे गरे भने पनि खोजेर जारी तिराउने र तिर्ने चलन हुन्छ । जारीमा पहिलेको पतिले जति माग्यो, त्यति नै दिनुपर्छ भन्ने चलन छ । त्यही भएर गरिब भए त घरखेत नै बेचेर पनि तिर्छन् । यो त एक जना महिलालाई एउटाले किन्ने र अर्कोले बेच्ने जस्तो भयो । यही जारी प्रथाविरुद्ध यो महिलालाई किनबेच गरेको हो, यो चलन ठिक छैन भनेर धेरै जनचेतनाका कार्यक्रमहरू गर्यै । यो पाँच-छ वर्षअगाडिसम्म धेरै थियो । हिजोआज पनि कताकता त सुनिन्छ । एकदुई वटा घटना त एकडेढ वर्षअगाडि प्रहरीमै पुगेको थियो । प्रहरीमा आएर पनि पैसाकै लेनदेन भएर कागज गरेर निस्केको घटना मैले नै देखेको थिएँ । 

महिलाहरूले दोस्रो विवाह त अरू जिल्लाहरूमा पनि गर्थे । गाउँघरका महिलाहरू हिंसा कुटपिट भएपछि त घर छोडेर हिँड्थे र अर्को बिहे गर्थे तर उनीहरूको निर्णय त्यहाँ नहुने, मेरो श्रीमती किन लगिस् भनेर जति लाख माग्यो, त्यति नयाँ श्रीमानले तिर्नुपर्थ्यो । तर अचेल चाहिँ निकै घटिसक्यो । 

छाउपडी प्रथा

महिनावारी भएको बेला घरभन्दा बाहिर छुट्टै ठाउँमा सानो घर अथवा गोठमा बस्नुपर्थ्यो । यसलाई छाउपडी बस्ने भनिन्छ । म आफैँ पनि छाउपडी गोठमा बस्थेँ । ननुहाएसम्म खान पनि हुँदैन भन्ने थियो । दुध दही पनि खान दिइँदैनथ्यो । यो प्रथाबाट सबै महिला प्रताडित थिए तर अहिले धेरैले बुझिसके । यो त हुनैपर्ने र बच्चा हुनका लागि महिलाको शरीर विकास भएको हो भन्ने बुझे । त्यो बेला कतिपय महिलाहरू पनि नुहाइधुवाइ, सरसफाइ गर्दैनथे । घरमा बस्नु हुँदैन भनेर गोठमा राखे, काम पनि झन् गाह्रोगाह्रो गर्न लगाउँथे । नजिक बस्नु हुँदैन भनेर वनजङ्गलमा घाँसदाउराको भारी लिन पठाउँथे । अहिले महिलाहरू स्वयंले पनि आफ्नो सरसफाइ गर्नुपर्छ भनेर बुझे । परिवारले पनि यस्तोबेला गाह्रो काम लगाउन हुँदैन, आराम चाहिन्छ बरु पोषिलो खानेकुरा खुवाउनुपर्छ भन्ने बुझ्न थालेका छन् । छाउगोठमा बस्नेहरू घर फर्किसके । 

पहिले यहाँ बालविवाह पनि एकदमै हुने ठाउँ हो । अहिले बालविवाह गर्नु हुँदैन भन्ने सबैले थाहा पाइसकेका छन् । म आफैँले पनि १४ वर्षमा बिहे गरेर १५ वर्षमा बच्चा जन्माएँ । बालविवाहले हुने सबैखालका असरहरूबारे मञ्चले विभिन्न सङ्घसंस्थासँग मिलेर जनचेतना जगाउने, सडक नाटकहरू गर्ने गर्यौँ ।

यस्ता कुचलनहरू बिस्तारै हट्दै गएका छन् । २०६९–७० सालसम्म पनि म छाउगोठमा बस्थेँ । बस्न हुन्न भन्ने थाहा भइसकेपछि पनि देवीदेवता लाग्छ भन्ने मनको डरले गर्दा पनि बसेँ । महिला अधिकार मञ्चमा संलग्न भएपछि विभिन्न तालिमहरू लिएँ, अरूलाई तालिम दिन्थेँ । म त छाउपडी मान्दिनँ भनेर पनि कति ठाउँमा भनेँ । तर देवीदेवताको डरले आफू चाहिँ लुकीलुकी छाउपडी बस्न जान्थेँ । 

हामी आफू पहिला चेन्ज नभई अरूलाई चेन्ज गर्न सकिँदैन भन्ने थाहा हुँदाहुँदै पनि गोठ छोड्न गाह्रो भयो । आफैँ चेन्ज हुन पनि त्यत्रो वर्ष लाग्ने रहेछ । चारपाँच वर्षपछि छाउगोठ जान छोडेर घरमा त आइयो फेरि खाटमा सुत्न हुँदैन भन्थे । एउटा गुन्द्री मात्र ओछ्याएर भुईंमा सुत्थेँ । अचेल त त्यस्तो छैन । अचेल त सासूले पनि महिनावारी भएको नभने पनि हुन्छ भन्नुहुन्छ । 

महिनावारी भएको बेलामा दुध दही खायो भने गाई बौलाउँछ भनेर हेर्न पनि दिँदैनथे तर अचेल सबैले खान्छन् । न महिलाहरूलाई केही भएको छ, न गाई नै बौलाएको छ । सब अन्धविश्वासको कुरा रहेछ, देवीदेवता लाग्ने भन्ने पनि भनाइ मात्र रहेछ भन्ने दिदीबहिनी धेरैले बुझ्न थालेका छन् । आखिरमा परिवर्तन गरे त हुने रहेछ नि भन्नुहुन्छ ।

बालविवाह र विभेद

मेरो २०५४ सालमा प्रेमविवाह भएको हो । म कक्षा ७ मा पढ्थेँ । पे्रमविवाह गरेको भएर माइतीले पनि सपोर्ट गरेनन् । म पनि माइती जाने आँट गर्नै सक्दिनथेँ । श्रीमानको पनि कमाइ थिएन, दुवै जना पढ्दै थियौँ । सासूले घरव्यवहार मिलाउन यो तिमीहरूको जिम्मा भनेर केके किनेर ल्याउन भन्नुहुन्थ्यो तर हामीसँग त्यो सामान ल्याउने पैसा नै हुँदैनथ्यो । कमाउन पनि कहाँ जानु ? एकदमै तनाव हुन्थ्यो । जेठाजु, जेठानीहरू परिपक्व भएर बिहे गरेको । उहाँहरू आफैँ कमाउने, ल्याउने र खाने । हामी भने दुवै जना विद्यार्थी । 

घरपरिवार आफन्तले पनि भागेर बिहे गरेको, दाइजो पनि नल्याएको, बाबुआमा पनि कस्तो छोरीलाई केही दिन नसक्ने भन्थे । यस्तो कुरा न आमाबुबासँग गएर भन्न सक्थेँ । त्यस्तो हुँदा त किन बिहे गरेछु भन्ने मात्रै लाग्थ्यो । स्कुल जान्छु भन्दा पनि पढ्नुपर्नेले किन बिहे गर्नु भन्नुहुन्थ्यो । त्यसो भन्दा मलाई रुनबाहेक केही आउँदैनथ्यो । 

म साढे दुई वर्ष जतिको हुँदा आमाले छोडेर जानुभएको रे । आमाले किन घर छोडेको होला भन्ने लाग्थ्यो तर ठुलो हुँदै जाँदा बुझेँ, घरमा हजुरआमा–हजुरबुबाले राम्रो नगर्ने, बुबाको माया पनि नपाएर छोड्नुभएको रहेछ । अहिले बुबाले पनि बुबाआमाको कुरा सुनेर श्रीमतीलाई नराम्रो गरेछु, चाहिनेभन्दा बढी कुरा सुन्यो भने पनि जिन्दगी बिग्रिने रहेछ भन्ने महसुस गर्नुहुन्छ । मलाई पनि सानोमा केही गर्न नसकेको भनेर अहिले चाहिँ बुबाले सपोर्ट गर्नुहुन्छ । 

घरका मान्छेले जे भने पनि स्कुल चाहिँ गइरहेँ । कोही साथीहरूले कापी दिन्थे, कसैले कलम दिन्थे । बिहे गरेपछि त झन् जागिर खानका लागि भए पनि कम्तीमा एसएलसी त पास गर्नुपर्छ भन्ने लाग्यो । त्यतिबेला एसएलसी पास गरेपछि शिक्षकको जागिर पाइन्थ्यो । त्यही भएर पनि घरमा भनाइ खाए पनि स्कुल जान्थेँ, साथीहरूकै सरसहयोगबाट पढेँ । कहिलेकाहीँ त स्कुल पढ्दै केही तालिम, सिप सिक्ने ठाउँ भए पनि सिकेर केही गर्थें, पैसा कमाउथेँ भन्ने लाग्थ्यो तर २२–२५ वर्षअगाडि त्यस्तो के हुन्थ्यो र ?

नागरिकताको उस्तै समस्या । महिलालाई नागरिकता किन चाहियो भन्थे । म ९ कक्षामा हुँदा नागरिकता लिन गएको । तिमीलाई नागरिकता किन चाहियो ? कि जागिर खाने हो र ? जागिर खाने भइसक्यौ भनेर उडाउने गरी भन्थे । कहीँ कार्यक्रममा जान, तालिम लिन पनि नागरिकता नै चाहिने तर महिलालाई नागरिकता पाउन धेरै समस्या हुन्थ्यो । 

अभावको कुरा गर्ने हो भने २५ रुपैयाँ सहकारीमा जम्मा गर्ने पैसा पनि थिएन । चिनेजानेका दिदीबहिनीहरूले एकपटक एउटा संस्थामा आबद्ध गराउनुभएको थियो । त्यही संस्थामा आबद्ध महिलाहरू मिलेर एउटा बचत तथा ऋण सहकारी खोलौँ भन्नुभयो र खोल्नु पनि भयो । त्यो संस्थाको नाम कान्जिरोवा महिला बचत तथा ऋण सहकारी संस्था हो । त्यसमा आबद्ध भएर २५ रुपैयाँबाट केही महिनापछि ५० रुपैयाँ मासिक जम्मा गर्नुपर्थ्यो ।  तर मसँग त्यति पैसा सधैँ हुँदैनथ्यो । कहिलेकाहीँ म दिन्थेँ, कहिले उहाँहरूले नै मिलेर तिरिदिनुभयो । केही महिनापछि चाहिँ मलाई त्यहीँको पैसा चलाएर केही व्यापार गर भन्नुभयो । मैले दाँतेओखर किनेर ल्याउने र बेच्ने गर्न थालेँ । त्यसरी अलिअलि पैसा कमाउन थालेपछि आश लाग्यो ।

 यो सहकारी विभिन्न वडाका महिलाहरू भएर खोलिएको थियो । योभन्दा अगाडि टोलछिमेककै दिदीबहिनी मिलेर खोलेको सहकारीमा पनि म सदस्य थिएँ । तीनचार महिनासम्म तिरेँ तर त्यसपछि तिर्न पनि सकिनँ र तिम्ले पैसा तिर्न सकेनौ भनेर मेरो जम्मा भएको ६५० रुपैयाँ निकालेर मलाई फिर्ता गरेर संस्थाबाटै निष्कासन गर्दिनुभयो । आफूले त्यो पैसा तिर्न नसकेको पीडाले होला, अचेल समूह, सहकारीतिर कुनै महिना कोही दिदीबहिनी आउनु भएन अथवा कसैलाई पैसा दिन गाह्रो भयो भने म हाल्दिन्छु र भएको बेलामा दिनू भन्छु ।

पछिपछि स्याउहरू पनि त्यसै गरी बेच्थेँ । गाउँका दिदीहरूले आठदश रुपैयाँमा एक किलो दिनु हुन्थ्यो । मैले दानाको चारपाँच रुपैयाँमा बेच्थेँ । त्यही पैसाले आफैँ कापीकलम किन्न, स्कुलमा फर्महरू भर्न सक्ने भएँ । बिस्तारै महिनाको २५ रुपैयाँ सहकारीमा जम्मा गर्न पनि सक्ने भएँ । कान्जिरोवा महिला बचत तथा ऋण सहकारी समूहमा आबद्ध भएको दुई वर्ष जतिपछि दुई हजार ८५० रुपैयाँ ऋण निकालेर खुद्रापसल सुरु गरेँ । त्यसपछि अलिअलि कमाउन थालेपछि मलाई सहयोग नगर्नेहरूले अलि राम्रो व्यवहार गर्न थाले । अहिले त सबैले राम्रो गर्छन् । मैले एकदमै दुःख र मेहनत गरेँ । सङ्घसंस्थामा आबद्ध भएर आफ्नो र महिलाहरूको अधिकारको कुरा तथा ज्ञानगुनका कुरा जान्दै गएँ । 

महिलाको लागि काम गरेँ 

महिलालाई श्रीमानले कुटपिट गर्ने घटनाहरू धेरै हुन्थे । कुटपिट गरेको कुरा कसैलाई भन्यो भने वा प्रहरीमा उजुरी गर्यो भने त फेरि भरे घरमा बस्न दिँदैन भन्ने महिलाहरूको सोचाइ हुन्थ्यो । श्रीमानविरुद्ध बोल्यो भने कहाँ गएर बास बस्ने भनेर पनि कुटाइ खाएरै बस्थे महिलाहरू । त्यस्तै महिलाहरूलाई महिलाको अधिकार केके छ भनेर सिकाउन थालेँ । कानुनको ढोकासम्म पुग्नुपर्छ भनेर धेरै सिकाएँ । प्रहरी बोलाएर घरमै ल्याउँछु भनेर पनि महिलाहरू बोल्नुपर्छ भन्ने शिक्षा दिएँ । अहिले त धेरै महिलाहरूले श्रीमानले कुटपिट, हिंसा गरे भने पुलिस घरमै बोलाउँछु भन्न थाल्नुभएको छ । मलाई किन कुटेको भनेर प्रश्न गर्न थाल्नुभएको छ । सधैँको कुटाइ खानेहरू पनि सहेर नबस्ने अदालत गएर छोडपत्र गर्छु, तिम्रो कुटाइ खाएर बस्दिनँ भन्न थाल्नुभएको छ । महिलाहरू यति बोल्ने भएपछि त पुरुषहरू पनि हच्किँदा रहेछन् । अचेल त्यसरी श्रीमानको कुटाइ खाने महिलाहरू कम हुनुहुन्छ । कुटपिट भइहाले पनि प्रहरीलाई भन्ने अनि हामीलाई भन्ने हुनुभएको छ । अरूअरू ठाउँका महिलाहरूलाई देखेर कर्णालीका महिलाहरूको अवस्था हेर्दा महिलाहरूले यति भन्न सक्नु ठुलो कुरा हो, महिलाहरूमा धेरै परिवर्तन आएको छ । 

म राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रीय सदस्य भएर पनि काम गरेँ । यसै क्रममा म जस्तै नेपालभरिका धेरै दिदीबहिनीहरूसँग भेट भयो । मैले अरू धेरै जिल्लाहरूमा भ्रमण गर्ने अवसर पनि पाएँ । महिला अधिकारको विषयमा धेरै तालिमहरू लिएँ । यसमध्ये दक्षिण एसियाली महिलाहरूको संजाल संगतले दिएको ‘लैङ्गिकता र मानव अधिकार’ सम्बन्धी तालिम मेरो लागि धेरै महत्त्वपूर्ण भयो । जुम्लादेखि भारतको हिमाञ्चलमा गएर मैले यो तालिम लिएको थिएँ । प्रसिद्ध महिला अधिकारकर्मी कमला भासिनले यो तालिम दिनुभएको थियो । 

पढाइ र जागिर

मैले १२ कक्षा पास गरेको छु । त्योभन्दा बढी क्याम्पस पढ्न चाहिँ विभिन्न कारणले सकिनँ । त्यतिबेला म गर्भवती पनि थिएँ । घरव्यवहार सम्हाल्नु त थियो नै, मलाई गणित विषय लाग्यो । झन् चिन्ता भयो । चिन्ताले मात्र हुँदैन भनेर जसोतसो फेरि पढेँ र पूरक परीक्षा दिएर पास भएँ तर तत्कालै क्याम्पस पढ्न पाइनँ । दुईतीन वर्षपछि ११ कक्षामा भर्ना भएँ र १२ कक्षा पास गरेको छु । घरको आर्थिक अवस्था नाजुक थियो । जग्गा जमिन थिएन, बिहान बेलुका नै किनेर खानुपर्ने भएकाले पढ्ने खर्च निकाल्न पनि कठिन थियो । जसोतसो बिए (स्नातक तह) पनि पढ्ने भनेर भर्ना भएँ तर एकदुई वटा ब्याक पेपर बाँकी थियो, परीक्षा दिन नपाएर स्नातक तह सकिएको छैन ।

मैले आर्यआर्जनको लागि केही वर्षअघि दुई हजार जतिको लगानीमा पसल खोलेको थिएँ । त्यही पसललाई बढाउँदै लगेर अहिले त्यही व्यापार नै आम्दानीको स्रोत बनेको छ । मलाई हिँड्ने खर्च पुगेको छ । म अधिकारकर्मीको रूपमा काम गरिरहेको छु । दिदीबहिनीहरूले केही समस्यापरे फोन गरिहाल्नुहुन्छ । धेरै विश्वास गर्नुहुन्छ । कतिपय घटना प्रहरीकहाँ नजानेखालको भए हामी दुईचार जना गएर परामर्श दिएर सम्झाइबुझाइ गरेर मिलाउँछौँ । बालविवाह, बहुविवाह, जबरजस्ती करणी जस्ता अदालत नै जानुपर्ने घटना भए प्रहरीलाई खबर गर्छौं र प्रहरीकहाँ पठाइदिन्छौँ । 

नागरिकता नपाएर बसेका महिलाहरूलाई नागरिकताको लागि पहल गर्छु । हाम्रोतिर पुरुषहरूमा एउटा भ्रम छ, नागरिकता दियो भने महिलाहरू हिँडिहाल्छन् । प्रशासनले पनि किन चाहियो नागरिकता भनेर सोधीखोजी गथ्र्यो । नागरिकता बल्लबल्ल बनाइदिए पनि महिलाको नाममा केही पनि सम्पत्ति दिँदैनन् । सम्पत्ति महिलाको नाममा राख्यो भने, महिलाले सम्पत्ति नै लिएर जान्छ भन्ने सोचाइ धेरै हुन्थ्यो । 

हामीले केही बुझेका पुरुषहरूलाई श्रीमतीको नाममा पनि केही जग्गा जमिन राख्दिनुस्, त्यति नगरे पनि संयुक्त नाममा राख्नुस् भन्दै आयौँ । अहिले केही नभए पनि हाम्रै पहलमा १५–२० जना महिलाहरूले श्रीमानको नाममा भएको लालपुर्जामा आफ्नो पनि नाम राखेर ‘श्रीमान श्रीमतीको संयुक्त लालपुर्जा’ बनाएका छन् । मैले पनि आफैँले जग्गा किनेर आफ्नै नाममा पास गरेर लालपुर्जा लिएको छु । यो सबै भएको सङ्घसंस्थामा लागेरै हो । 

अहिले त ग्रामीण क्षेत्रका महिलाहरू पनि सक्षम भएका छन् । पहिलेपहिले महिलाले पढ्ने भन्ने हुँदैहुँदैनथ्यो । तर अचेल पाको उमेरका दिदीहरूले पनि नाम लेख्न त जान्नुपर्ने रहेछ भनेर सिक्न खोज्नुहुन्छ । वडामा, पालिकामा गएर प्रौढ कक्षाको माग गर्नुहुन्छ । 

कहालीलाग्दो विगत

विगत सम्झिँदा त कहाली लाग्छ । म आज यस्तो हुन्छु भन्ने त सपनामा पनि लाग्दैनथ्यो । आफैँ भागेर बिहे गरेको, घरपरिवारले तनाव दिएको, माइतीमा भन्न नसक्ने, पढ्न जाँदा कापीकलम पनि साथीहरूले दिने दिनहरू सम्झँदा त अहिले सपना जस्तै लाग्छ । धेरै तनावमा बिताएँ । घरपरिवारको कति कुरा त भन्नै नमिल्नेखालको पनि छ । आफू त्यस्तो अवस्थाबाट आएर पनि आफू जस्तै दुःखी पीडित दिदीबहिनीहरूको लागि सहयोग गर्न पाउँदा, धेरैले विश्वास गरेर आफ्नो समस्या बताउँदा र उहाँहरूलाई सहयोग गर्न पाउँदा एकदमै खुसी लाग्छ । शब्दमा भनेरै सकिँदैन त्यो खुसी त । मलाई कति दिदीबहिनीहरूले डोर्याउँदै यहाँसम्म ल्याउनुभयो । उहाँहरूको साथसहयोग त झन् बिर्सिनै सक्दिनँ । उहाँहरूले तिमी गर्न सक्छौ, गर्नुपर्छ, जान्नुपर्छ भन्दै यहाँसम्म ल्याउनुभयो । अहिले त जुन संस्थामा पनि तपाईं बस्नुपर्छ भन्नुहुन्छ । मञ्चमा आबद्ध भइसकेपछि पनि मञ्चलाई सहयोग गर्ने संस्था प्रेरणा नेपाल र एक्सन एडले सचिवालय गठन गरेर तालिमहरू दिनेदेखि अधिकारका धेरै कुराहरू सिकाएको हो । मलाई र धेरै महिला दिदीबहिनीहरूलाई लागेको चाहिँ हामी घरबाट बाहिर ननिस्केसम्म महिलाहरूको विकास हुँदो रहेनछ भन्ने हो । 

म अहिले जुन ठाउँमा पुगेको छु, श्रीमानको सहयोगले म अगाडि बढ्न सकेको हुँ । पहिला परिवारका सदस्यहरूबाट विभिन्न पीडा पाइरहँदा पनि श्रीमानको साथ पाएको थिएँ । त्यसपछि घरबाहिरको संस्थाको काममा लागेपछि पनि तिमी जानुपर्ने ठाउँमा जाउ भन्नुहुन्छ । मलाई त कहिले राती फोन आउँछ, कहिले खाना पकाउँदापकाउँदै फोन आउँछ, कति कुटाइ खाएर रुँदै फोन गर्ने दिदीबहिनीहरू हुनुहुन्छ । त्यस्तोबेला तिमी गइहाल भन्नुहुन्छ र यहाँसम्म आउन धेरै सहज भएको हो । सहयोग नपाएको भए के हुन्थेँ, संस्थाकै काम गरे पनि यति सजिलै हुन्थ्यो कि हुँदैनथ्यो तर अहिले मलाई घरको काम भनेर कुनै रोकावट छैन । 

कहिले कहाँ, कहिले कहाँ, कहिले कोसँग हिँड्नुपर्छ । त्यस्तोबेलामा श्रीमानले शङ्का गरिदिने, कोसँग हिँडेको, कहाँ गएको भन्ने जस्ता प्रश्न आयो भने त कि घर छोड्नुपर्छ कि काम । सङ्घसंस्था छोड्नुपर्थ्यो नि तर मलाई चाहिँ श्रीमानले सहयोगले नै सजिलो भइरहेको छ काम गर्न । आफ्नो श्रीमानको त तारिफ गरेको जस्तो हुन्छ तर भान्साको काम, कपडा धुने काम सबै गर्नुहुन्छ । कतिले त अहिले पनि घरभित्रको कामलाई ‘महिलाले गर्ने काम’ गरेको भनेर जिस्क्याउँदै ‘जोइटिङ्ग्रे’ भन्छन् । 

म जिल्लाबाहिर पनि जानुपर्ने हुन्छ, जान्छु । तर कतिले ‘श्रीमतीलाई कस्तो जहाँ जान पनि दिएको’, ‘श्रीमतीलाई धेरै फ्रिडम दिनुहुँदैन’ भन्छन् भनेर मलाई सुनाउनुहुन्छ । समाजले त मेरो श्रीमान र उहाँले जसरी श्रीमतीलाई साथ दिने श्रीमानहरुलाई हौसला दिने हो भने पनि महिलाहरू धेरै अगाडि बढिसक्थे तर घरभित्रको, भान्साको काम गर्नु, लुगा धुने काम भनेको बुहारी वा श्रीमतीको मात्र हो भन्ने चलन यतातिर अझै छ । मेरो श्रीमान चाहिँ फरक हुनुहुन्छ । अहिले पनि म एकछिन पसलमा बस्छु तर को महिलाको कहाँबाट फोन आउँछ, ल तिमी जाऊ, म पसलमा बस्छु भन्नुहुन्छ । आफ्नो पहिचान आफैँ काम गरेर बनाउनुपर्छ भन्नुहुन्छ । घरव्यवहारदेखि हरेक काममा सँगै साथ पाइरहेको छु । त्यही भएर अरू महिला दिदीबहिनीहरूको लागि काम गर्न पाएको छु । 

अचेल कपाल ढाक्नुपर्दैन

अहिले म जिल्लास्तरीय महिला अधिकार मञ्चको अध्यक्ष छु । अध्यक्ष भएको पहिलोपटक २०६५ सालमा हो । तर अहिले पनि आफैँ अध्यक्षभन्दा कहिले त अलि अप्ठ्यारो पनि लाग्छ । मैले त हाम्रो संस्थाको दिदीबहिनीहरूलाई अध्यक्ष हुन कतिपटक भनेको पनि छु ।  तर सबैले मलाई नै अध्यक्ष बनाइरहनुभएको छ । मैले नै धेरै समय दिन सक्छु भनेर तपाईं नै हुनुपर्छ भन्नुहुन्छ । त्यो भएर १३ वर्षदेखि म नै अध्यक्ष छु । समय पनि मेरो पसलको काम छोडेर पनि संस्थाकै लागि दिन्छु । फुर्सदमा मात्रै घर र पसलको काम गर्छु । श्रीमानको पनि जागिर छैन, त्यही पसल हो । अहिले चाहिँ भाँडापसल हो । २०५६ सालमा समूहबाट ऋण लिएर सानोतिनो व्यवसाय थालेको । त्यसैबाट अहिलेको व्यवसाय, छोराहरू पढाउने खर्च, घरखर्च, मेरो हिँडडुलको खर्च, मोबाइलको खर्च सबै पुगिरहेको छ । सानो टुक्रा जग्गा पनि किनेका छौँ । 

पहिला कति जागिर खोजेँ, खोजेँ । कहीँ पर्खाल, भित्ता, बिजुलीको पोलदेखि कुनै पत्रिका, रेडियो, जहाँ विज्ञापनको सूचना देखे, सुने पनि सर्टिफिकेट फोटोकपी गरेर फर्म भरेर बुझाइहाल्थेँ । आवेदन दिँदा नभएको बेला पनि सय रुपैयाँ, डेढसय, दुईसय त कति सकेँ, सकेँ । जहिले पनि सर्टलिस्टमा नाम हुन्थ्यो, तर अन्तर्वार्तामा फाल्दिहाल्थे । अन्तरवार्तापछि कहिले नाम निकाल्छ भनेर पर्खिन्थेँ तर मेरो कहीँ पनि नामै ननिस्किने । मेरो ‘नसीब’ मा जागिर रहेनछ भनेर चित्त बुझाएको छु । अहिले व्यवसाय, सामाजिक काममै समय बितिरहेको छ ।

यति गरिरहँदा समाज पूरै परिवर्तन भएको छ भन्न त मिल्दैन तर धेरै भएको छ जस्तो लाग्छ । छाउपडी प्रथा गलत हो, यस्तो अन्धविश्वास छोड्नुपर्छ भन्ने भएको छ । बहुविवाह, बालविवाहमा कमी भएको छ । जारी प्रथा पनि लगभग हटिसक्यो । छोरीलाई पनि पढाउनुपर्छ भन्ने भएको छ । महिलाहरूले घरभित्रको काम मात्रै गर्नुपर्छ, बाहिर हिँड्न हुँदैन भन्ने थियो, त्यो सोचाइ हट्दैछ ।

पहिले कोही केटी/महिलाहरूले कुर्ता, पाइन्ट लगायो भने पनि टोलटोलमा कुरा काट्थे । विवाह गरेका महिलाहरूले ससुरा र जेठाजुको अगाडि कपाल देखाउनु हुँदैनथ्यो । जतिसुकै अप्ठ्यारो भए पनि केही न केही कपडाले टाउको छोपेको छोपेकै गर्नुपर्थ्यो । अहिले कपाल नछोप्दा पनि केही भन्दैनन् । नुहायो, कपाल कोरेर राम्रो पारेँ भन्ने लाग्छ तर देखाएर हिँड्न नपाइने छोप्नै पर्थ्यो । त्यस्तो गर्नुपर्दा सारै नराम्रो लाग्थ्यो । तर अहिले त नराम्रो काम गर्नेले पो टाउको लुकाएर, शिर निहुर्याएर हिँड्ने हो भन्ने बुझिसके । कसैले कुरा काटे महिलाहरू आफैँ जवाफ दिन सक्छन् । 

अर्को कुरा, पहिले त महिलाहरू आफूलाई चाहिने चुरापोते, टीका किन्न पनि जान हुँदैन भन्ने थियो । आफूलाई चाहिने कपडा पनि बजार जानेहरूलाई ल्याइदिन भन्ने, महिलाहरू कहाँ बजार जानु भन्ने हुन्थ्यो । केही कामले बाहिर हिँड्दा जति भोक लागे पनि होटलतिर पसेर खाजा नखाई भोकै घर पुग्थे । आजकल भोक लागे होटलतिर पसेर चिया खाजा खान्छन् । आफूलाई चाहिने सामान किन्न आफैँ बजार जान्छन् । शिरको कपाल नछोपी हिँड्छन् । हाम्रोतिर त यो नै ठुलो परिवर्तन हो भन्ने लाग्छ ।

जोखिममा अधिकारकर्मी

अधिकारको क्षेत्रमा काम गर्ने महिलाहरूलाई एकदमै जोखिम हुन्छ । ज्यानको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ र परिचयपत्र भए हुन्थ्यो जस्तो लाग्छ । महिलामाथि कहीँ घटना भए हामी जानुपर्छ तर घरबाट निस्किँदा फेरि फर्किन्छौँ कि फर्किंदैनौँ भन्ने अवस्थामा काम गर्नुपर्छ । महिला दिदीबहिनीलाई परेको घटनामा प्रहरीभन्दा हामीलाई पहिला खबर आउँछ । खबर आउनेबित्तिकै नजान्छौँ । घटनास्थल कस्तो छ, अपराधको अवस्था कस्तो हुन्छ, हामीमाथि नै आक्रमण पनि हुन सक्छ । त्यसैले महिला अधिकारकर्मीहरू एकदमै जोखिममा हुन्छौँ । त्यो घटनालाई प्रहरीसम्म नपुर्याउनु है भनेर नेता, सांसदहरूको फोन आउँछ । कसैले त्यो घटना प्रहरीमा पुग्यो भने राम्रो हुँदैन भनेर धम्की दिँदै फोन गर्छन् ।  मेरो अहिलेसम्मको अनुभवमा पीडित र पीडित पक्षभन्दा पीडक र उनीहरूका वरिपरिका नै ठुला हुने रहेछन् । 

महिला अधिकारकर्मीहरूले त खासमा राज्यलाई सघाइरहेका छन् नि । त्यसैले कम्तीमा पनि महिला अधिकारकर्मी भनेर एउटा परिचयपत्र मात्रै दिए पनि अलिकति सुरक्षित छु भन्ने लाग्थ्यो । हाम्रो ज्यान सधैँ जोखिममा हुन्छ । त्यसैले बिमा गरिदिए हुन्थ्यो, कामको सिलसिलामा घाइते भए वा चोटपटक लागे निःशुल्क उपचारको व्यवस्था होस् भनेर पनि तीन वटै तहको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । 


Previous article“स्त्री र पुरुषबिच श्रम विभाजनको आवश्यकता देखिन्छ ।” – सुसन मास्के
Next article५७ वर्ष अघिको प्रगतिशील बिहे -सुशीला भट्ट