– धनबहादुर कुसुन्डा, दाङ, (अध्यक्ष, नेपाल कुसुन्डा विकास समाज)
पचास वर्षअघिको तुलनामा अहिले कुसुन्डा जातिको आधारभूत जीवनशैली फेरिएको छ । उनीहरूको बसोबास गाउँमा हुनथालेसँगै सामाजिकीकरण प्रक्रियामा नयाँपन आउन थाल्यो । पछिल्लो समय उनीहरूको जातीय पहिचान भने सङ्क्रमणको चपेटामा परेको अनुभव गर्न थालिएको छ । यो लोपोन्मुख जातिमा सूचीकृत हुन पुगेको छ ।
कुसुन्डा जाति नेपालका लोपोन्मुख १० जातिमध्येको एक हो । कुसुन्डाहरू पहिले जस्तो जङ्गलमा बस्ने र फिरन्ते जीवन बिताउने गर्दैनन् । विभिन्न जिल्लामा छरिएरै भए पनि अहिले सबै कुसुन्डाहरूको बसोबास गाउँमै रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भए अनुसार, कुसुन्डा जातिको बसोबास दाङ, सल्यान, प्युठान, रोल्पा, गोरखा, तनहुँ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र सुर्खेत जिल्लामा रहेको छ ।
५० वर्षअघिसम्म कुसुन्डाहरू जङ्गलमै बस्ने, जङ्गलमा पाइने गिठ्ठा, भ्याकुर, कन्दमूल, तरुल खोजेर खाने, जीवजन्तुको सिकार पनि गर्ने र फिरन्ते जीवन बिताउने गर्थे । खानेकुराको खोजीमा जङ्गल जङ्गल घुम्दै हिँड्ने उनीहरूको चलन थियो ।
दाङबासी कुसुन्डा अगुवा तथा नेपाल कुसुन्डा विकास समाज केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार, २०२९/३० सालतिर कुसुन्डाहरू गाउँ पसेर जता मिल्छ त्यतै बस्न थालेका हुन् । जङ्गलमा डुलेर गुजारा चल्न नसक्ने अवस्था आएको र आफ्नो सम्पत्ति पनि नभएको हुनाले गाउँमा जता मिल्छ त्यतै बस्न थालेको उहाँ बताउनुहुन्छ । राष्ट्रिय जनगणना २०७८ मा कुसुन्डा जातिको सङ्ख्या २५३ रहेको छ । अध्यक्ष धनबहादुरको अनुमानमा भने कुसुन्डाहरूको जनसङ्ख्या दुईसयभन्दा कम नै छ ।
समाजशास्त्रका जानकारका अनुसार, ५० वर्षअघिसम्म कुसुन्डाहरू जङ्गलमै बस्ने, जङ्गलमा पाइने गिठ्ठा, भ्याकुर, कन्दमूल, तरुल खोजेर खाने, जीवजन्तुको सिकार पनि गर्ने र फिरन्ते जीवन बिताउने गर्थे । खानेकुराको खोजीमा जङ्गल जङ्गल घुम्दै हिँड्ने उनीहरूको चलन थियो । आफू रहेको जङ्गलमा खानेकुरा र आयआर्जनका स्रोतहरू पाउन छाडेपछि उनीहरू सपरिवार अर्को जङ्गलमा बसाइँसराइ गर्थे । कुसुन्डा परिवारमा पुरुष र महिलाले के कसो गर्ने भनी कामको बाँडफाँट गरिएको हुन्थ्यो । पुरुषहरू सिकार गर्न जान्थे । सिकार ल्याएपछि परिवारका सबैले खान्थे । सिकार धेरै ल्याएको बेला त्यसलाई गाउँघरमा लगेर अन्नसँग साट्ने काम भने महिलाको हुन्थ्यो । जङ्गलमै भए पनि कुसुन्डा महिलाहरू आफैँले सिकार भने गर्दैनथे । खाँचो परेका बेला गाउँघरतिर गएर अन्नपात आदि मागेर ल्याउने काम भने गर्थे । यो कुरा अहिले आधा शताब्दीभन्दा पहिलेको इतिहास भइसकेको छ ।
अहिलेसम्म नेपालको कुनै पनि सरकारी सेवामा कुसुन्डा जातिका कोही पनि पुगेका छैनन् ।
अहिले विभिन्न जिल्लामा छरिएर रहेका कुसुन्डाहरूको एकीकृत बस्ती नभएकाले जातीय पहिचान हराउँदै गएको बुझिएको छ । बस्तीमा मिसिएपछि कुसुन्डाहरूको बिहेबारी अन्य जातिका व्यक्तिहरूसँग हुन थाल्यो । यसले गर्दा कुसुन्डा भाषा, संस्कृति, भेषभूषा तथा जातीय पहिचान सङ्क्रमणको सङ्कटमा पर्न थाल्यो र क्रमशः हराउँदै गयो । यसरी आफूहरू लोपोन्मुख अवस्थामा पुगिसकेको थाहा पाएपछि भने कुसुन्डा अगुवाहरूले पहिचान संरक्षणको विषयलाई महत्त्व दिएका छन् । उनीहरूले यसलाई चुनौतीको रूपमा पनि बुझ्न थालेका छन् । कुसुन्डा भाषाका जानकार नहुँदा नयाँ पुस्तालाई आफ्नो मातृभाषा सिकाउन सकिएको छैन । “अहिले कुसुन्डा भाषालाई जीवन्त राख्ने चुनौती छ,” धनबहादुर भन्नुहुन्छ ।
कुसुन्डाहरूले लगाउने जातीय पोशाक र गरगहना पनि लोप भैसकेको उहाँ बताउनुहुन्छ । त्यति मात्र होइन, अहिलेसम्म नेपालको कुनै पनि सरकारी सेवामा कुसुन्डा जातिका कोही पनि पुगेका छैनन् । यस्ता कुरामा उहाँको चासो र चिन्ता देखिन्छ । धनबहादुर भन्नुहुन्छ, “कमजोर आर्थिक अवस्थाका कारण हामी शिक्षामा पछिपछाडि छौँ । महिलाहरू झन् पछाडि छन् ।”
कुसुन्डा समाजमा हिजोआज पछिल्लो पिँढीले पढ्नुपर्छ भन्ने चेतना आएको र आर्थिक अवस्थाले भ्याएसम्म कुसुन्डाहरूले आफ्ना छोराछोरीलाई पढ्नका लागि विद्यालय पठाउन थालेका छन् ।
जीवनशैली परिवर्तनको सन्दर्भमा अध्यक्ष धनबहादुरको निष्कर्ष छ, “परिवर्तन भनेको जङ्गलबाट गाउँ पस्नु मात्रै भएको छ ।” उहाँको विचारमा गाउँ पसेर बस्न थालेको ५० वर्ष भइसक्दा पनि कुसुन्डाहरू अरूका अगाडि बोल्न र आफ्नो कुरा राख्न सक्दैनन्, हिच्किचाउँछन् । अशिक्षाकै कारण यस्तो हिचकिचाहट भएको उहाँको ठम्याइ छ । यसैले पनि कुसुन्डा समाजमा हिजोआज पछिल्लो पिँढीले पढ्नुपर्छ भन्ने चेतना आएको र आर्थिक अवस्थाले भ्याएसम्म कुसुन्डाहरूले आफ्ना छोराछोरीलाई पढ्नका लागि विद्यालय पठाउने गरेको उहाँ बताउनुहुन्छ । यतिले मात्रै त कसैलाई पनि पुग्दैन । यसैले सरकारले पनि कुसुन्डा जातिको एउटै एकीकृत नमुना बस्ती बनाइदिए छरिएर बसेका कुसुन्डाहरू एक हुने र भाषा, संस्कृति तथा जातीय पहिचान बचाउन सकिने कुरा धनबहादुर उठाउनुहुन्छ ।
‘सन्धान’ ले देशभित्र लोपोन्मुख जातिको बसोबास रहेका विभिन्न ठाउँमा पुगेर उनीहरूकोे अवस्था, जीवनभोगाइ र अनुभवलाई सङ्कलन गरी अभिलेखन गर्दै आएको छ । यसै क्रममा २०८० कात्तिकमा दाङको घोराही उपमहानगरपालिकास्थित कुसुन्डा जातिको बसोबास भएको ठाउँमा सन्धान टोली पुगेको थियो । त्यही बेला कुसुन्डा जातिको अवस्था, पुर्ख्यौली पेसा, जातीय पहिचानका साथै कुसुन्डा जातिमा आएको परिवर्तनसँग सम्बन्धित विषयमा धनबहादुरसँग कुराकानी भयो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट समीक्षा गाहाले नेपाल कुसुन्डा विकास समाज केन्द्रीय समितिका अध्यक्ष धनबहादुर कुसुन्डासँग गर्नुभएको अडियो कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेस्
- आफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
- हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
- छोरीछोरा दुवैलाई अंश दिन्छु भनेर उबेलै बोलेँ र दिएँ –दुइजे हायु
- एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)
- हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
- वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट
- सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)
- बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)
- मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)
सन्धान प्रकाशन मिति : २०८० मंसिर ७ गते, बिहिबार