मभित्र पनि त्यस्तो केही त पक्कै थियो

Share this :

‘युवाको जीवनभोगाइ’ शृङ्खला २

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १३ खल्टागुरा टोल निवासी ३५ वर्षीय अटो व्यवसायी नविन गैरापिपली देशमा प्रजातन्त्र पुनर्बहाली भएपछि जन्मिएको पहिलो पुस्ताको युवा हुनुहुन्छ । उहाँको जन्म साबिक रामघाट गाविस वडा नम्बर ६ तालाबेली टोलमा भएको थियो । उहाँ चार वर्षको हुँदा सपरिवार उहाँका आमाबुवा तालाबेलीबाट खल्टागुरा सर्नुभयो ।

नविनले स्थानीय परिवेशमा एउटा दलित र अतिगरिब परिवारमा हुर्किनुपर्दाको जातीयसँगै वर्गीय विभेद, अपमान र अभावको परिवेशलाई बाल्यकालदेखि नै भोग्नुभयो । “दलित र गरिब परिवारको सदस्य भएर हुर्कन, पढ्न, अघि बढ्न कतिसम्म फरक अवस्थालाई झेल्नुपर्छ, त्यो कुराको गहिरो अनुभव मसँग छ,” उहाँको भनाइ थियो । रिजाल थरका पुर्खाको जात खसालिएका कारण उहाँले गैरापिपली थर पाउनुभएको रहेछ ।

गाउँमा त्यतिबेला बाँच्नका लागि खानेकुरा, लत्ताकपडा आदिको अभावै अभाव रहेको थियो र पानी लिन जाँदा जातकै आधारमा उहाँलाई अपमान गरिन्थ्यो । “पछि आफू ठुलो हुँदै गइयो र अलिकति आफूले कमाउन सक्ने भएपछि बल्ल अलि सहज हुँदै गएको हो,” उहाँले भन्नुभयो ।

डाक्टर बन्ने सपना पूरा गर्ने उपाय नदेखेपछि १२ कक्षाको पढाइ यसै छाडेर २० वर्ष पनि नहुँदै रोजगारीका लागि नविन विदेश जानुभयो । मलेसिया उहाँको एक मात्र गन्तव्य देश थियो । त्यहाँ पनि पहिलो पटक त उहाँलाई खासै सहज भएन । बेहोस हुने गरी पनि काम गर्नुपर्‍यो । बिरामी परेर कोठामा बिनापैसा एक्लै बस्नुपर्दा काटेको कहर, चिन्ता, पारिवारिक विखण्डनजन्य पीडा र आर्थिक सङ्कटजस्ता चुनौतीले उहाँलाई नराम्ररी घेरे ।

बुवाले घरमा हातमुख जोर्ने व्यवस्था मिलाउन भारत गएर काम गर्ने गरेको देख्दै हुर्किएका नविनको भित्री आकांक्षा केही समय विदेशमा काम गरी घरको आर्थिक अवस्था उठाएर आफ्नै गाउँठाउँको विकास र समतामूलक समाज रूपान्तरणमा योगदान गर्ने थियो ।

उक्त आकांक्षा र परिवेशका बिचमा भने निकै गहिरो संरचनागत खाडल थियो । स्थानीयदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश सहज नहुँदानहुँदै पनि जीवनलाई आफ्नै सुझबुझ, संयम, सिप, ज्ञान, विवेक र बलबुताले सफलताको कथामा रूपान्तरण गर्न उहाँ सफल हुनुभयो ।

नविनसँग सवारी साधन चलाउने र काठको काम गर्ने सिप थियो । विदेशमा काम गर्दा बोल्नुपर्ने भाषा सिक्नुभयो । उहाँका अनुसार, जुत्ता बनाउने मेसिन चलाउने र जुत्तामा गम लगाउने काम पनि गर्नुभयो । विदेशमा दुई पटक गरी तीन वर्ष काम गर्दा सालाखाला आठ लाख रुपियाँ कमाइ भएको थियो तर पहिलो पटक स्वदेश फर्किएर विभिन्न व्यवसाय गर्दा लाखौँ रुपैयाँ ऋण लाग्यो ।

कपडा पसल र मासु बेच्ने काम गर्दा असफलता हात परेको सन्दर्भमा नविनले भन्नुभयो, “मर्नुपर्छ कि जस्तो लाग्ने अवस्था पनि आयो । तर, फेरि पनि आफूले आफूलाई सम्हालेर उभिएँ ।” पहिलो श्रीमतीले छोडे पनि पछिल्लो श्रीमतीबाट निकै राम्रो साथ पाउनुभयो । परिवारको जिम्मेवारी र भविष्यको आशाले उहाँलाई फेरि पनि मलेसिया पुर्‍यायो ।

“विदेश गएँ, श्रम गरेँ, कमाएँ, ऋण तिरेँ र फर्किएर नयाँ व्यवसायको सुरुवात गरेँ,” स्वचिन्तन र नेतृत्वका बारेमा जानकार नविनले भन्नुभयो । पछिल्लो समय आफू ‘अटो व्यवसाय’ मा लागेको र त्यसले जीवनलाई धेरै हदसम्म सहज बनाएको उहाँको भनाइ थियो ।

नविनको जीवनभोगाइ अतिनिम्न आर्थिक अवस्थाका दलित समुदायको कुनै एक पुरुषको व्यक्तिगत कथा मात्र होइन, यो नेपाली समाजमा दलितको पहिचान भएकाहरूले इतिहासको निकै लामो समयदेखि आमरूपमा भोग्दै आउनुपरेका संरचनागत विभेद, पारिवारिक विखण्डन, सामाजिक विसङ्गति, अव्यवस्था र अविकासको वास्तविक तथ्य पनि हो ।

वास्तवमा एउटा सफल व्यक्ति बन्न कुनै पनि व्यक्तिले दुःख, कष्ट, अभाव, अन्याय, विभेद, अपमान, पारिवारिक विखण्डन, भय आदि भोग्नैपर्छ र कुनै न कुनै बेला उसको मनोबल पनि गिरेर शून्यतिरै पुगेको हुनुपर्छ भन्ने चाहिँ होइन । अबका दिनमा कसैले पनि यस प्रकारको अवस्थाबाट गुज्रनु नपरोस् भन्ने हाम्रो चाहना हो ।

‘सन्धान’ ले राष्ट्रिय युवा दिवस २०८३ र अन्तर्राष्ट्रिय युवा दिवस सन् २०२६ को उपलक्ष्यमा ‘युवाको जीवनभोगाइ’ शृङ्खला सुरु गरेको त यहाँलाई थाहै छ । यसमा २० देखि ४० वर्षको उमेर समूहभित्रका यस्ता युवालाई समेटिएको छ, जसको जीवनकथामा स्वचिन्तन र नेतृत्व गुणसहित ‘भिन्न परिवेश, साझा आकांक्षा’ को प्रतिविम्बलाई पनि भेट्न सकिन्छ ।

नविन गैरापिपलीले २०८३ बैशाख ३० गते नेपालगन्जको होटल डाइमन्डमा सुरु भएको तीनदिने स्वचिन्तन र नेतृत्वसम्बन्धी कार्यक्रममा सहभागी भएर नवलपुर, बर्दिया र सुर्खेतमा रही सामाजिक न्यायका लागि नेतृत्व गरिरहेका युवाका साथ आफ्नो जीवनभोगाइ र दृष्टिकोणलाई साझा गर्नुभएको थियो ।

द स्टोरी किचेनको आयोजनामा भएको सो कार्यक्रमको अवलोकनसहित ‘सन्धान’ सहकर्मी सरिता पौडेलले सामग्री सङ्कलन गर्ने क्रममा सहभागीहरूसँग थप कुराकानी गर्नुभएको थियो । सोही आधारमा ‘सन्धान समूह’ ले नविनको जीवनकथा लेखन र सम्पादन गरेको हो । यस क्रममा तथ्यजाँचका लागि उहाँसँग टेलिफोनबाट पनि सम्पर्क गरिएको थियो ।

विभिन्न परिवेशबाट गुज्रिँदै आए पनि सुख, शान्ति, समृद्धि, विकास, समताजस्ता साझा आकांक्षाका लागि समर्पित समकालीन युवाका विषयमा अंशमै भए पनि तथ्यपरक सामग्री तयार होस् र इतिहासमा विभिन्न कोणबाट पछि पारिएका समुदायका युवाको योगदान यत्तिकै हराएर नजावस् भन्ने उद्देश्यले यो कथा तयार गरिएको हो ।

‘युवाको जीवनभोगाइ’ शृङ्खला २ मा प्रस्तुत छ, नविन गैरापिपलीको स्वकथन ।

मेरो नाम नविन गैरापिपली हो । मेरो जन्म २०४७ साल मङ्सिर १० गते भएको हो । नागरिकतामा भने जन्ममिति २०४८ जेठ १० गते भएको छ । जन्मस्थान सुर्खेतको हालको भेरीगंगा नगरपालिकाको तालाबेली टोल हो । म चार वर्षको हुँदादेखि हामी तीन दाजुभाइ र बैनी भेरीगंगा नगरपालिका वडा नम्बर १३, खल्टागुरा टोलमा बस्दै आएका छौँ ।

मेरो बुवाको नाम बीरबल सार्की र मम्मीको नाम चन्द्रकला सार्की हो । बोलीचालीमा आमालाई मम्मी भन्छौँ हामी । हाम्रा आमाबुवाका हामी तीनभाइमध्ये म कान्छो छोरा हुँ । ममुनी एक बहिनी छ । दलित र गरिब परिवारको सदस्य भएर हुर्कन, पढ्न, अघि बढ्न कतिसम्म फरक अवस्थालाई झेल्नुपर्छ, त्यो कुराको गहिरो अनुभव मसँग छ ।

गरिब परिवार भएकाले मेरो बाल्यकाल अलि जटिल थियो । अरू बालबालिकाले जस्तै निश्चिन्त भएर खेल्ने अवसर कमै पाइन्थ्यो । बुवा धेरैजसो कमाउन भारततिर जानुहुन्थ्यो । घरमा हामी आमासँग बस्थ्यौँ । आमालाई घरका काममा हामी छोराछोरीले सघाउनुपर्ने हुन्थ्यो । बिहान उठ्नेबित्तिकै हामीलाई आज कसले के के गर्ने भनेर घरका कामको जिम्मेवारी बाँडिन्थ्यो ।

घरको काम सकेपछि मात्रै विद्यालय जान पाइन्थ्यो । भारत गएको पाँच–छ महिनामा एक पटक बुवा घर फर्किनुहुन्थ्यो । बुवा घर फर्किने दिन हाम्रो लागि खुसीको दिन हुन्थ्यो । केही दिन हामीसँग बसेर उहाँ फेरि उतै फर्किनुहुन्थ्यो । बुवाले घर छोडेर कामको खोजीमा भारततिर जाने दिन चाहिँ हाम्रा लागि दुःखको दिन बन्थ्यो ।

हाम्रो गाउँमा खानेपानीको ठुलो समस्या थियो । सानै उमेरदेखि हामीले बोतल र भाँडाकुँडा बोकेर कुवामा गई त्यहाँबाट पानी भरेर ल्याउनुपर्थ्याे । घरबाट यस्तै १५–२० मिनेटको दुरीमा एउटा कुवा थियो । गाउँका लगभग डेढ सय घरका मान्छेहरूले पानी खाने कुवा त्यही एउटा हो । हामीलाई पानीको अभावको दुःख मात्रै थिएन, त्यहाँ पानी लिन जाँदा झेल्नुपर्ने जातीय विभेदको पीडा पनि थियो ।

दलित भएकै कारण हामीलाई कुवामा भएको धारो छुन दिँदैनथे । पानी भर्न आउने अरू जातका मान्छेका भाँडा छुन दिइँदैनथ्यो । छोइएला कि भनेर आफैँ तर्कने गरिन्थ्यो । त्यसो नगरे अरूले सचेत गराई हामीलाई तर्काउने वातावरण थियो । आफैँ पानी भर्न पाइँदैनथ्यो । हाम्रो भाँडा पनि अरूले भरेर छेउमा सारिदिन्थे । त्यसपछि मात्रै पानी बोकेर घर ल्याउनुपर्ने अवस्था थियो ।

हामीलाई अरूले कहिल्यै पनि सहजरूपमा पानी भर्न दिँदैनथे । उपल्ला जातका मानिसले हाम्रा बोतल र भाँडाकुँडामा पानी भरेर ‘ल हे फलाना लगेर जा’ भनेर भन्थे । त्यस्तो बोली र व्यवहारले हामीलाई एक त दलित, त्यसमा पनि गरिब भएकै कारणले हेपिएको महसुस हुन्थ्यो । त्यतिबेला गाउँका ठुला मान्छेहरूले हामीलाई हेप्ने, हान्ने, पिट्ने पनि हुन्थ्यो । त्यसका विरुद्ध बोल्न सक्ने अवस्था थिएन ।

बाल्यकालमा त्यतिबेलाको जातीय विभेदले गर्दा मनभित्र अपमान, पीडा र असहायपनको अनुभूति हुन्थ्यो । घरमा आमालाई भन्दा उहाँले पनि ‘जे भए पनि सहनुपर्छ’ भनेर हामीलाई भन्नुहुन्थ्यो । त्यतिबेलाको समाजको नीति नियम, मूल्यमान्यता, चालचलन सबै कुरा नै त्यस्तै त्यस्तै खालका थिए । यसैले आमाले त्यही वातावरणमा जोगिएर रहन र सहन पर्छ भनेर सिकाउनुहुन्थ्यो ।

समाजको संरचना नै त्यतिबेला त्यस्तो थियो भनौँ न ! जहाँ जायज कुरामा प्रतिवाद गर्ने साहस पनि सबैसँग हुँदैनथ्यो । त्यसलाई धेरैतिरबाट रोक्ने, छेक्ने प्रयास हुन्थ्यो । त्यस्तो देखेर, भोगेर, सहेर हुर्किएको मान्छे हो म । अहिले भने त्यस्तो छैन । सहज भएको छ, हामी आफैँ कुवामा गएर आफ्ना लागि आफैँले धाराबाट पानी भर्न पाइन्छ ।

पहिलेको कुरा सम्झिँदा मैले अहिले भन्नैपर्छ, त्यतिबेला हामीलाई बाँच्नका लागि नभइनहुने हरेक कुरा जुटाउनमा पनि असहज थियो । खानेकुराहरूमा त्यस्तै गाह्रो थियो । कुनै नयाँ कपडाहरू किन्नुपर्‍यो भने पनि एक–दुई वर्ष नै कुर्नुपर्थ्याे । घरमा, परिवारमा अभावै अभाव थियो । पछि आफू ठुलो हुँदै गइयो र अलिकति आफूले कमाउन सक्ने भएपछि बल्ल अलि सहज हुँदै गएको हो ।

मेरो बाल्यकाल दुःखदायी थियो । धेरैजसो समय दुःख, अभाव र विभेदको अनुभव गरेरै बित्यो । बाल्यकालमा मैले सबैभन्दा धेरै अभावको अनुभव खानपानको कुरामा गरेँ । घरमा आफूहरूलाई वर्षभरि खान पुग्ने अन्न हुँदैनथ्यो । अलिअलि भएको अन्न सकिएपछि डाला र बाटा बोकेर गाउँघरमा पैँचो लिन जानुपर्थ्याे । त्यसरी पैँचो लिन जाने दिनहरू अहिले पनि मेरो सम्झनामा ताजा छन् ।

चामल लिएर घरमा आइपुग्दा र भात पाक्दा हुने खुसीलाई म अहिले शब्दमा व्यक्त गर्नै सक्दिनँ । त्यो खुसीको अनुभव निकै व्यापक छ, गहिराइ र उँचाइमा एकैपटक पुगेर सन्तुष्ट भएजस्तो पनि लाग्छ । नभइनहुने वस्तुकै सख्त अभावले नै सायद सानैदेखि मलाई जीवनको अस्तित्व, महत्त्व र मर्म बुझ्न सिकायो । जीवनलाई अघि बढाउन पाइला पाइलामा मिहिनेत गर्नुपर्छ, कहिल्यै हरेस खानु हुँदैन भन्ने पनि त्यही अभावले सिकायो जस्तो लाग्छ ।

बाहिर त्यो तहसम्मको अभाव थियो तर मलाई लाग्छ आफूभित्र पनि त्यस्तो केही त पक्कै थियो, जसले मलाई अभावसँग जुध्न र अघि बढ्न सघायो । सानैदेखि मेरो सपना धेरै पढ्ने र समाजका लागि केही गर्ने लक्ष्यसँग जोडिएको थियो । एक समय डाक्टर बन्ने सपना पनि देखेको थिएँ । एसएलसी पास गरेको क्षण मेरो जीवनको सबैभन्दा खुसीको पल थियो । तर, त्यो खुसी धेरै लामो समय टिक्न पाएन ।

उच्चशिक्षा लिन वा कलेज पढ्न गाउँघर छाडेर बाहिर जानुपर्ने भयो । अघि पनि भनेँ, मेरो घरपरिवारको आर्थिक अवस्था एकदम कमजोर थियो । मैले चाहेर पनि पढाइलाई निरन्तरता दिन सक्ने आर्थिक अवस्था थिएन । यस्तो कुरा बुझ्दै गर्दा म कक्षा १२ मा पढ्दै पनि थिएँ । आफूमाथि परिवारको जिम्मेवारी थपिँदै गएको अनुभव भयो ।

अन्ततः पढाइलाई बिचमै छोडेर मैले विदेसिनुपर्‍यो । किशोरावस्थामा घर, परिवार र डाक्टर बन्ने सपना यसै छोडेर रोजगारीका लागि परदेसिनु मेरा लागि सजिलो थिएन । मनभित्र धेरै डर, दुःख र अन्योलको आँधी मडारिइरहेको थियो । पहिलो पटक परदेश जाँदा आफूलाई निकै कमजोर महसुस भएको थियो ।

निकै कमजोर महसुस भएको त्यो बेला मेरा वरिपरि मलाई चित्तबुझ्दो गरी सम्झाउने कोही थिएन । त्यत्तिकै हार मानेर पछि हट्न पनि मन लागेन । त्यस्तो बेला आफूले आफैँलाई सम्झाएँ- होइन, म बलियो बन्नुपर्छ । यो भाव मेरा लागि एउटा आशाको दियोजस्तो थियो, त्यसलाई जोगाउँदै अघि बढ्न थालेँ ।

म १९ वर्षको उमेरमा मलेसिया पुगेको थिएँ । एकाएक फरक ठाउँ, फरक हावापानी, नौलो रहनसहन र विदेशी श्रमिकको पहिचान । मैले भोगेको त्यहाँको जीवन निकै कठिन थियो । सुरुवाती दिनहरूमा १२ घण्टासम्म उभिएरै काम गर्नुपर्थ्याे । अत्यधिक कामका कारण म एकपटक बेहोस समेत हुन पुगेछु । बेहोस हुने गरी बिरामी हुँदा पनि आरामको सुविधा थिएन ।

काम नगरे तलब काटिन्थ्यो । परदेशमा बिरामी भएर बिनासुविधा एक्लै रहनुपर्दा मेरो अवस्था कस्तो भयो होला ? जस्तो पनि भोगेको छु मैले । कहिलेकाहीँ घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले मन भरिन्थ्यो । पछाडि फर्किएर आफूले आफैँलाई हेर्दा अहिले मलाई लाग्छ, त्यो समय नै मेरो जीवनको सबैभन्दा कठिन समय थियो ।

पहिलो पटक विदेशबाट तीन वर्षमा सालाखाला आठ लाख पैसा कमाएर फर्किएपछि मैले विभिन्न व्यवसाय सुरु गरेँ । कपडा पसल चलाएँ । कुखुराको मासु बेच्ने काम पनि गरेँ तर सफलता सजिलै आएन । एक समय साढे चार–पाँच लाख रुपैयाँसम्म ऋणमा डुबेको थिएँ । त्यतिबेला लगभग जीवनदेखि नै हार खाएको अनुभूति पनि भयो । मर्नुपर्छ कि जस्तो लाग्ने अवस्था पनि आयो । तर, फेरि पनि आफूले आफूलाई सम्हालेर उभिएँ ।

परिवारको जिम्मेवारी र भविष्यको आशाले मलाई हार मान्न र हरेस खाएर बर्बादीको बाटो समात्न दिएन । म फेरि पनि विदेश गएँ, श्रम गरेँ, कमाएँ, ऋण तिरेँ र फर्किएर नयाँ व्यवसायको सुरुवात गरेँ । अहिले अटो व्यवसायमा संलग्न छु । यो व्यवसायले मेरो जीवनलाई धेरै हदसम्म सहज बनाएको छ ।

मेरो जीवनको पहिलो भगवान् मेरा आमाबुवा हुनुहुन्छ । उहाँहरूको माया, साथ र अथक सङ्घर्षकै कारण मैले जीवनमा पहिलो पाइला चाल्न सिकेँ ।

जब मनभित्र उकुसमुकुस हुन्छ, म धेरै बोल्दिनँ । कसैसँग पनि नबोली मौन भएर बस्छु । आँखा बन्द गरेर सकारात्मक कुराहरू सोच्ने प्रयास गर्छु । ‘यो किन भयो होला ?’ भनेर आफैँलाई प्रश्न गर्छु र त्यसको समाधानतर्फ सोच्न थाल्छु । समाज, परिवार र आफ्ना जिम्मेवारीहरू सम्झन्छु । त्यसपछि मनलाई धैर्य गर्न सिकाउँछु । मलाई लाग्छ, समय नै सबैभन्दा बलवान् रहेछ । कठिन समय स्थायी हुँदैन, धैर्य गरेर अघि बढ्न सक्नुपर्छ ।

दुःखमा मलाई साथ र हौसला दिने मेरो श्रीमती लक्ष्मी खड्का गैरापिपली हुनुहुन्छ । गैरापिपली भन्ने थर हो हाम्रो । हाम्रा पुर्खाहरू सबै ब्राह्मणहरू हुनुहुन्थ्यो । हाम्रो जिजुबाजेले सार्कीको छोरीसँग बिहे गर्नुभएछ । दलितको छोरी बिहे गरेको भनेर जिजुबाजेलाई जातबाट निकालिएछ । त्यसपछि हाम्रो जात झरेको रे !

जातको बारेमा मलाई थाहा भएको कुरा के हो भने हाम्रा अरू नातेदार अहिले पनि सबै ब्राह्मण नै हुनुहुन्छ । हामी भने दलित भयौँ । हाम्रो गोत्र त पहिले जे थियो अहिले पनि त्यही छ, थर गैरापिपली र जात सार्की भयो । हाम्रा बाजे त पहिला रिजाल थरको हुनुहुन्थ्यो रे ! पछि नागरिकतामै जिजुबाजेकै जस्तो गरी उहाँलाई पनि थर र जात फेर्न लगाइएछ अनि सार्की लेखाइएछ ।

नागरिकतामा त्यसरी सार्की लेखाइएपछि बुवाको थर पनि सार्की भयो । त्यसपछि हाम्रो पालामा सार्कीभित्रको थर गैरापिपली भएको कारणले हामीले यो थर राख्न पाइने भइयो र गैरापिपली राखेका हौँ ।

मेरो श्रीमतीले मलाई जीवनलाई नयाँ ढङ्गले हेर्न सिकाउनुभएको हो । वास्तवमा मेरो वैवाहिक जीवनमा निकै पीडादायी अध्याय पनि छ । पहिलो विवाह मैले १८ वर्षको उमेरमा गरेको थिएँ । त्यसको एक वर्षपछि म विदेशमा बिरामी भएर सङ्घर्ष गरिरहेका बेला मेरी पहिलो श्रीमतीले मलाई छोडेर हिँड्नुभएछ । हाम्रो दुई वर्षको छोरा थियो । उसको समेत परवाह नगरी श्रीमती अर्कैसित लाग्नुभएछ ।

पहिलो श्रीमतीले छोरा र मलाई छोडेको त्यो घटना मेरो जीवनको सबैभन्दा गहिरो घाउ हो । आज पनि त्यो घटना सम्झँदा मन भावुक हुन्छ । विदेशबाट फर्किएपछि मेरो जीवनमा नयाँ साथी आउनुभयो, जसले मलाई निराशाबाट बाहिर पनि निकाल्नुभयो । उहाँकै साथले मैले फेरि बाँच्ने, सङ्घर्ष गर्ने र अगाडि बढ्ने शक्ति पाएँ ।

म ब्राह्मण मूलको भए पनि दलित समुदायमा खसालिएको एउटा परिवारमा जन्मिएको व्यक्ति हुँ । मेरो दोस्रो बिहे क्षेत्रीको छोरीसँग भयो । अघि पनि भनेँ, मैले जातीय विभेद भोगेको छु । पानी भर्न नदिएको, गरिब भएकै कारण विद्यालयमा अपमानित भएको, व्यवसाय गर्दा समेत अस्वीकार गरिएको अनुभव मसँग छन् । तर, मैले आफ्नो जातीय पहिचानलाई कहिल्यै कमजोरी मानेको छैन ।

बरु जातीय पहिचानलाई सिप, श्रम र आत्मसम्मानको प्रतीकका रूपमा हेर्छु । जुत्ता बनाउने सिपका आधारमा जीवन धान्ने हाम्रो समुदायको इतिहास गौरवपूर्ण छ । मलाई लाग्छ, यो कुनै कमजोरी होइन, बरु बौद्धिक र सिर्जनात्मक क्षमताको उदाहरण हो । मैले विदेशमा जुत्ता बनाउने मेसिन चलाएको छु, जुत्तामा गम लगाउने काम पनि गरेको छु । मेरा फरक अनुभवहरूले मलाई सामाजिक क्षेत्रमा सक्रिय पनि बनाए ।

युवावस्थादेखि नै जातीय विभेदविरुद्ध सडक नाटक, जनचेतनामूलक अभियान र विभिन्न सामाजिक गतिविधिमा सहभागी भएको थिएँ । त्यसरी सहभागी हुँदै गर्दा मैले महसुस गरेँ कि आफूले भोगेको पीडा अरूले भोग्न नपरोस् ! विभेदजन्य व्यवहार र त्यसको पीडा हटाउनका लागि हाम्रो पनि भूमिका हुनुपर्छ । हामीमा समाजप्रतिको जिम्मेवारी हुन्छ भन्ने पनि मलाई लाग्छ ।

आज म विश्वास गर्छु कि समाज परिवर्तनका लागि कुनै पनि पहिचान र पृष्ठभूमिको युवाले चुनौतीसँग हार खाएर भाग्नु हुँदैन । समाजले थोपरेको सङ्घर्षलाई सशक्त ढङ्गले स्विकार्दै त्यसलाई बदल्नु पनि पर्छ । आफ्नो सिप, क्षमता र आत्मविश्वासमा भरोसा गर्नुपर्छ । दलित, महिला, आदिवासी, जनजाति तथा सीमान्तकृत समुदायका युवालाई अवसर, सिपमूलक तालिम र आर्थिक सहयोग आवश्यक छ । तालिम दिएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा उतार्न सक्ने वातावरण पनि बनाइनुपर्छ ।

म आगामी पाँच वर्षमा आफूलाई अझ जिम्मेवार सामाजिक नेतृत्वको भूमिकामा सक्रिय देख्न चाहन्छु । समाजमा पछाडि परेकाहरूका लागि केही गर्न सकूँ, अन्यायविरुद्ध बोल्न सकूँ र विभिन्न पृष्ठभूमिका युवालाई भेदभावरहित परिवार र समाज निर्माणमा प्रेरणा दिन सकूँ भन्ने मेरो चाहना छ ।

आज मैले सानो उमेरको नविनलाई भेट्न पाएँ भने उसलाई यसो भन्थेँ– दुःखसँग नडराऊ । समयले सबै कुरा सिकाउँछ । समस्यासँग डराएर नभाग, त्यसको समाधान खोज्दै अघि बढ । गलत बाटो नसमात । सपना देख, लक्ष्य राख, निरन्तर मिहिनेत गर, एक दिन तिमीले आफ्नो बाटो आफैँ बनाउनेछौ ।

मेरो जीवनलाई एक वाक्यमा भन्नुपर्दा म भन्छु– जीवन एउटा स्वर्ण अवसर भएकाले त्यसलाई सही मार्गमा चलायमान बनाउनु हरेक व्यक्तिको आफ्नै जिम्मेवारी हो ।

म नयाँ कुरा सिक्न र सोही अनुसार काम गर्न रुचाउने व्यक्ति हुँ । खाना पकाउन राम्रो लाग्छ । ड्राइभिङ गर्छु, गीत गाउँछु, पौडी खेल्न मन पर्छ । साथै, समस्यामा परेका मानिसहरूलाई सहयोग र उद्धार गर्न पाउँदा मलाई अझ सन्तुष्टि मिल्छ ।

आज ३५ वर्षको वास्तविक उमेरमा आफूले आफ्नो जीवनलाई फर्केर हेर्दा लाग्छ-अभाव, सङ्घर्ष आदिले मलाई कमजोर होइन, अझ मिहिनेती, कुशल, जिम्मेवार र बलियो बनाएका रहेछन् । दुःख, पीडा, धोका र निराशाजस्ता क्षणहरू त मलाई जीवन बुझ्न र सिकाउनका लागि पो आएका रहेछन् ।

प्रकाशन मिति : २०८३ भदाै ३ गते, बुधवार

युवाको जीवनभोगाइका शृङ्खलाहरू

Share this :

Leave a Reply

Your email address will not be published. Required fields are marked *