नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवल नगरपालिकाकी प्रमुख विमला अर्याल लुम्बिनी प्रदेशको ३६ वटा नगर तथा उपमहानगर पालिका मध्येकी एक मात्र नगर प्रमुख (मेयर) महिला हुनुहुन्छ । पहिलो पटक असफल भए पनि दोस्रो पटकको उम्मेदवारीमा उहाँ मेयर बन्न सफल हुनुभयो । उहाँ विगतदेखिको आफ्नो सङ्घर्ष, बलिदान र संवैधानिक व्यवस्थाका कारण आफू नेतृत्वमा आउन सफल र सम्भव भएको ठान्नुहुन्छ । महिलालाई सहानुभूति होइन अवसर दिनुपर्ने र अवसर पाउँदा पुरुषले भन्दा बढी राम्रो काम र नेतृत्व महिलाले गर्न सक्ने उहाँको बुझाइ छ । उहाँको अनुभवमा परिवारले साथ दिए पनि पार्टीमा पुरुषको दबदबा हुने, महिलाले चुनावमा खर्च गर्न सक्दैनन् भन्दै पार्टीले टिकट दिन गाह्रो मान्ने जस्ता समस्या छन् ।
आफू नगरपालिका प्रमुख भइसकेपछि पनि महिला भएकै कारण काम गर्न निकै चुनौती रहेको, पुरुषवादी चिन्तनले महिलालाई प्रमुख पदमा पचाउन नसकेको, नेतृत्वमा महिला जति आउनुपर्ने हो त्यति आउन नसकेको भन्ने उहाँलाई लाग्छ । त्यति हुँदाहुँदै पनि निडर र सरल मिजासका साथ आफूले समाजवादी मोडेलको नेतृत्व शैली अङ्गीकार गर्दै स्थानीय निकायको प्रमुखको भूमिका निर्वाह गरिरहेको उहाँ बताउनु हुन्छ ।
मेयर विमलाले ५४ वर्षको हुँदासम्म सामाजिक तथा राजनीतिक क्षेत्रमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएको छ । मेयरको कार्यभार सम्हालिरहेकी विमलालाई पत्रकार सम्झना विकले हालै सुनवल नगरपालिका कार्यालयमा भेट्नुभएको थियो । भेटमा मेयरसँग उहाँको राजनीतिक यात्रा, सामाजिक पृष्ठभूमि, नेतृत्व गर्दाका अनुभव, चुनौती र सङ्घर्षबारे प्रश्न गरियो । प्राप्त जवाफका आधारमा प्रस्तुत छ, ‘सन्धान’ का लागि सुनवल नगरपालिकाका मेयर विमला अर्यालसँग सम्झना विकले गर्नुभएको कुराकानी ।
तपाईंलाई राजनीतिमा लाग्न केले प्रेरित गर्यो ? प्रेरणाको पृष्ठभूमि सङ्क्षेपमा बताइदिनुहोस् न !
मेरो जन्म २०२६ साल मंसिरमा स्याङ्जा जिल्लाको साबिक मालुङ्गा गाविसमा भएको हो । २०२९ सालमा हाम्रो परिवार स्याङ्जाबाट नवलपरासीको सुनवल-१० खरीबारीमा बसाइँ सरेर आयो । त्यतिबेला म चार वर्षको थिएँ । पाँच सन्तानमध्ये म जेठो सन्तान भएकाले जिम्मेवारीका हिसाबले सुरुदेखि नै संवेदनशील थिएँ । बुबाले कम्युनिस्ट विचारधारा मान्नुहुन्थ्यो । घरमा कम्युनिस्ट नेताको आइजाइ भइरहन्थ्यो । कम्युनिस्ट नेता जीवराज आश्रित हाम्रो घरमा सेल्टर बनाएर बस्नुभएको थियो । उहाँ हाम्रो घरमा बस्दा अध्ययन गर्ने र बुबासँग खेतमा (गएर) जोत्नु पनि हुन्थ्यो ।
बाल्यकालदेखि नै बुबासँग हिँड्ने भएको हुँदा राजनीतिबारे बुझ्न सजिलो भयो । बुबाको सङ्गत र घरको वातावरणले मलाई राजनीतिमा लाग्न प्रेरित गर्यो ।
बुबाले मलाई साँस्कृतिक कार्यक्रममा लिएर जानुहुन्थ्यो । ‘गंगालालको चिता’ नाटक देखाउँदा बुबा हिरासतमा पनि पर्नुभएको थियो । बुबासँगै म पनि देशमा पञ्चायती व्यवस्था हुँदाहुँदै पनि जमिनदारको विरुद्ध, सुकुम्बासी समस्याको विरुद्धका गीत गाउने, नाच्ने, अन्यायविरुद्ध विपन्नको पक्षमा आवाज उठाउने गर्दथेँ । मेरो बाल्यकाल क्रान्तिकारी वातावरणमा बित्यो ।
जब म जान्ने भएँ, त्यही बेलादेखि नै राजनीतिमा संलग्न थिएँ भने पनि हुन्छ । विवाह नहुँदै मैले साँस्कृतिक नाटकको नेतृत्व गर्ने गर्थें । सन्देशमूलक नाटक, गीत लेख्ने गर्दथेँ । बाल्यकालदेखि नै बुबासँग हिँड्ने भएको हुँदा राजनीतिबारे बुझ्न सजिलो भयो । बुबाको सङ्गत र घरको वातावरणले मलाई राजनीतिमा लाग्न प्रेरित गर्यो ।
औपचारिक रूपमा पार्टी राजनीतिमा कहिलेदेखि लाग्नुभयो र पहिलेको तुलनामा अहिलेको राजनीति कस्तो लागिरहेको छ ?
औपचारिक रूपमा २०४३ सालमा नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला संघको कमिटी सदस्यबाट मेरो राजनीतिक जीवन सुरु भएको थियो । नेकपा एमाले पार्टी सङ्गठनमा सङ्गठित हुँदै वडा, नगर, इलाका कमिटी हुँदै अहिले पार्टीको केन्द्रीय सदस्य छु । पहिले पार्टीमा विभिन्न चरण पार गर्नुपर्थ्यो । अहिले त्यस्तो छैन । पार्टी सदस्यता लिन पनि धेरै सङ्घर्ष गर्नुपर्थ्यो । पार्टी कामको मूल्याङ्कन गर्ने अवधि पनि राखिन्थ्यो । त्यसपछि मात्रै अगाडि बढ्न पाइन्थ्यो । निरन्तरको प्रयास, धैर्य र मेहनतकै कारण आज मेयरको कुर्सीमा छु ।
तपाईं मेयरको कुर्सीमा पुगेको १७ महिना भएको बेला नगरपालिका कार्यालयमै हाम्रो भेट भएको छ । यस अवधिमा आफूले गरेका चुनावी प्रतिबद्धतालाई कत्तिको पूरा गर्दै हुनुहुन्छ ?
निर्वाचनअघि मैले गरेका प्रतिबद्धता केही पूरा भएका छन् । हालसम्म मेरो नेतृत्वमा नगरवासीलाई पाँच हजार लिटरसम्म पानी निःशुल्क वितरण गरिएको छ, जसमा १३ सय घरपरिवारले पानी निःशुल्क खाएका छन् । विपन्न परिवारलाई (खानेपानीको) धारा जडान, परासीमा रहेको डा. विनोद नीता कँडेल आँखा अस्पतालसँगको सहकार्यमा आर्थिक वर्ष २०७९/८० मा १८० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया, १३ वटा वडामा जनतालाई फोटोकपी गर्न समस्या नहोस् भनी फोटोकपी मेसिन वितरण तथा सहजकर्ताको उपलब्धता छ भने खरको छानामुक्त अभियान अन्तर्गत ५० घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । तीन विपन्न परिवारलाई घर बनाइदिएको छ ।
सबैभन्दा पहिले ‘मान्छे सकारात्मक हुनुपर्छ । सहज र सरल हुनुपर्छ । जनताले चाहेको बेलामा हरबखत जनप्रतिनिधि उपलब्ध हुनुपर्छ’ भन्ने मान्यता स्थापना भएको छ ।
हिजो महिलाको क्षेत्रमा (सामाजिक) काम गर्दा धेरै दिदीबहिनीले ‘पढ्न पाइएन, सानैमा बिहे भयो, पढ्न पाए हुन्थ्यो’ भन्ने गुनासो गर्नुहुन्थ्यो । उहाँहरूलाई नै मध्यनजर गर्दै सुनवल–३ मा लुम्बिनी समता महिला विद्यालयको स्थापना भएको छ । त्यसमा १५० जना महिला अध्ययनरत छन् । महिला उद्यम केन्द्र छ, सिप भएका महिला दिदीबहिनीहरूलाई व्यावसायिक बनाउने र सिप नभएकाहरूलाई सिटिभिटीसँग समन्वय गरेर तालिम दिने गरेका छौँ । गर्भवती महिलालाई जिरो होम डेलिभरी सेवा, ज्येष्ठ नागरिक, विपन्न, असहायलाई निःशुल्क एम्बुलेन्स सेवा, महिलासँग मेयर कार्यक्रम, मेयर छात्रवृत्ति कार्यक्रम, किसानलाई सिँचाइका लागि बोरिङ, आन्तरिक पर्यटनको लागि धार्मिक स्थलको मर्मत सम्भार, होमस्टे तालिम, संस्कार र संस्कृति जगेर्नाको लागि गुरुकुल र मदरसा स्थापना गरेका छौँ ।
विपन्न आवास कार्यक्रम अनुसार एक वर्षमा कम्तीमा पनि १० वटा घर बनाएर अपाङ्गता भएका, असहाय, ज्येष्ठ नागरिकलाई दिने योजना छ । हिंसापीडित महिलालाई बस्ने महिला सेफ हाउस बन्दै छ । बाँकी प्रतिबद्धतालाई बिस्तारै पूरा गर्दैछु । यस्तो हुनमा एक त नगरपालिकासँग बजेट कम छ । दोस्रो, केन्द्र र प्रदेश सरकारबाट जति सहयोग हुनुपर्ने हो त्यो मिल्न सकेको छैन । त्यसैले हाम्रो अवस्थाले गर्न सक्ने जति काम गरेका छौँ ।
तपाईंको कामले समाजमा के परिवर्तन ल्यायो जस्तो लाग्छ नि ?
सबैभन्दा पहिले ‘मान्छे सकारात्मक हुनुपर्छ । सहज र सरल हुनुपर्छ । जनताले चाहेको बेलामा हरबखत जनप्रतिनिधि उपलब्ध हुनुपर्छ’ भन्ने मान्यता स्थापना भएको छ । म जुनसुकै समयमा पनि जनताका लागि उपलब्ध हुन्छु । महिलाहरू आमा, बुहारी, छोरी मात्र नभएर नेता, मेयर पनि बन्न सक्छन् । स्थानीय सरकार महिलाले पनि चलाउन सक्छन् भन्ने हो । (मलाई लाग्छ), महिलाले गरेको काम शुद्ध, पारदर्शी र मितव्ययी हुन्छ । अवसर पाए महिलाले नेतृत्व हाँक्न सक्छन् भन्ने नजिर बनेको छ । हिजोसम्म सपनामा पनि लेख्ने पढ्ने गरेको नदेख्ने ‘दिदीबहिनी’ विद्यालय जान पाउनुभएको छ । उहाँहरू लेख्न पढ्न सक्ने हुनुभएको छ । हिजो सिँचाइ (सुविधा) नभएर खेर गएको जमिनमा सिँचाइको व्यवस्था (भएका) ले एकै किसानले १२ क्विन्टलसम्म मकै फलाउन सक्नुभएको छ । महिला विकास केन्द्रको स्थापनाले महिलाहरू स्वरोजगार हुँदै जानुभएको छ ।
काम गर्नेको खुट्टा तान्ने, असफल बनाउन खोज्ने, असहयोग गर्ने, होच्याउनेहरू जहाँ पनि हुन्छन् । ती कुराको मैले सामना पनि गरिरहेको छु । तर यसलाई मैले ‘बादलमा चाँदीको घेरा हुन्छ’ भनेर लिने गरेको छु ।
म मितव्ययी भएर काम गर्छु, चाहे मेरो घर होस् या कार्यालय । महालेखा परीक्षक (को कार्यालय) ले केही समयअघि हाम्रो पालिकाको निरीक्षण गरेको थियो । महालेखाले विगतको जनप्रतिनिधिभन्दा मेरो कार्यकालमा बेरुजु कम भएको रिपोर्ट निकालेको थियो । आफूले नराम्रो गर्न भएन, मलाई जनताको साथ छ । मेरो जिम्मेवारी इमान्दार भएर (निर्वाह) गर्दै आएकी छु ।
त्यसो त पितृसत्तामक समाजले महिलालाई सधैँ सहायक बनाउने मान्यता राख्दछ, यस्तो चिन्तन राख्ने समाजमा तपाईंलाई नगर प्रमुख भएर काम गर्न कत्तिको सहज छ ?
मलाई काम गर्न सहज छैन । थुप्रै स्वार्थ समूह छन् । राजाको छोरा राजा नै हुनुपर्छ भन्ने समूह पनि छन् । थुप्रै व्यापारिक समूह, तस्कर, राजनीतिक आवरणमा धन्दा गर्नेहरूले मलाई ‘प्रेसर’ दिन्छन् । ‘हाजिर गरे तलब, काम गर्नुपरे थप भत्ता’ भन्ने कर्मचारी प्रशासन नेपालमा छ । ‘छिटो जनतालाई सेवा सुविधा दिऊँ’ भन्ने (कर्मचारी) कम छन् । थोरै कर्मचारी राम्रा पनि छन् । बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै चुनौतीसँगै अवसर पनि हुन्छ । मैले अवसर पाएको छु काम गर्नलाई । काम गर्दा सहकर्मीले होच्याउने पनि गर्छन् । ती कुराको मैले सामना पनि गरेको छु । खुट्टा तान्ने, असफल बनाउन खोज्ने जहाँ पनि हुन्छन् ।
खुट्टा तान्नेहरूका कारण तपाईंले कुनै प्रकारको डर, गालीगलौज र धम्कीको अनुभव गर्नुभएको छ कि ?
मलाई कसैले केही भन्छ कि भन्ने डर छैन । मलाई मेरो परिवारको सँगै जनताको पूर्ण साथ छ । जनताको माया र विश्वासले मैले गठबन्धनका उम्मेदवारलाई तीन हजार २१८ मतले पछि पार्दै चुनाव जितेँ । त्यो (पटक) मेरो दोस्रो उम्मेदवारी थियो । (पहिलो पटक) २०७४ सालको स्थानीय तहको चुनावमा म २५० मतले उपविजेता बनेको थिएँ । (गालीगलौजको सन्दर्भमा) अहिले त प्रत्यक्ष भेट पनि हुन पर्दैन, सामाजिक सञ्जाल सबैको हातहातमा छ । सामाजिक सञ्जालमा गालीगलौज त भइहाल्छ । राष्ट्रपति, प्रधानमन्त्रीलाई त छोड्दैनन् । धम्की पनि दिन्छन् । ‘तपाईंलाई विशेष अदालतमा लगेर निलम्बन गर्छौं’ भन्ने पनि छन् । म यो मेयरको कुर्सीमा बसेको पुरुषहरूलाई पचेको छैन । नगर उपप्रमुखबाटै मलाई सहयोग छैन । एउटै पार्टीको भएर पनि के गर्नु ? पुरुषवादी चिन्तनले डेरा गरेपछि यस्तै हो ।
त्यसो भए महिलाका लागि स्थानीय तहको नेतृत्व गर्न बढी नै कठिन हुने रहेछ हो ?
कठिन छैन तर अराजक तत्त्वहरूले कठिन बनाउन खोज्ने, विभिन्न किसिमका अफवाह फैलाउने गर्छन् । यहाँ त बाटो बनाउँदा पनि मुद्दा हालिन्छ, राजनीतिक मुद्दा बनाइन्छ । मैले बाटो बनाउँदा, खोलाको राजस्व नगरपालिकामा ल्याउनुपर्छ भनेर ठेक्का प्रणालीमा ठेक्का लगाउँदा मुद्दा खेप्नुपरेको छ ।
महिला मेयर भएको स्विकार्न नै गाह्रो मान्ने समाज छ । आफूले राम्रोसँग काम गर्छु भन्दा पनि निहुँ खोज्ने गर्छन् । मलाई नगरपालिका उपप्रमुख र केही कर्मचारीबाटै सहयोग छैन, अरूको त के (कुरा) गर्नु ? तर पनि, मैले जनताका अगाडि गरेको प्रतिबद्धता पूरा गर्नु मेरो दायित्व हो । कठिन नमानी मेरो लागि अवसर मानेकी छु ।
नगर प्रमुखका रूपमा स्थानीय जनप्रतिनिधि बन्ने अवसर पाएपछि तपाईंले कस्तो खालको नेतृत्व शैली अपनाउँदै आउनुभएको छ ?
मैले समाजवादी मोडेलको (नेतृत्व) शैली अपनाएको छु । शासक नभएर सेवकको रूपमा रहन्छु । जुनसुकै बेलामा पनि जनताको फोन उठाउँछु, भेट्छु, सबैसँग घुलमिल हुन्छु । सुशासनलाई नै जोड दिने हो । विगतमा ‘मेयरलाई भेट्न ज्यादै कठिन’ भन्ने सुनेको थिएँ । मेरो कार्यकालमा जनता सहजै मेरो अफिसमा आउन सक्नुहुन्छ । उहाँहरूको कुरा मैले प्रत्यक्ष सुन्ने गरेकी छु । म एकदमै सरल र सादगी जिन्दगी बाँच्ने मानिस हुँ । सबैको भावनालाई कदर गर्दै आफ्नो जिम्मेवारी निभाउँछु । यही नै मेरो (नेतृत्व) शैली हो ।
नेपालको परिवेशमा स्थानीय सरकारको प्रमुखको भूमिकामा एक जना महिला निर्वाचित भएर नेतृत्व गर्नु भनेको के रहेछ जस्तो लाग्छ तपाईंलाई ?
सामाजिक रहनसहन, काम गर्ने तौरतरिकाहरू पितृसत्तामक सोचको आधारमा चल्छन् । हरेक ठाउँमा प्रमुख भनेको पुरुष नै हुनुपर्छ भन्ने (सोचाइ) छ । (सामान्यतः) प्रमुख, सभापति, अध्यक्ष भनेपछि लोग्नेमानिस हुन् भन्ने धारणा छ । संविधानले गरेको व्यवस्था अनुसार हरेक स्थानीय तहमा प्रमुख तथा उपप्रमुखमा महिला हुनुपर्ने बाध्यकारी व्यवस्था छ । यसअन्तर्गत प्रमुख महिला भएको छ भने ‘प्रमुख होइन होला’ भन्ने चिन्तन छ । यस्तो साँघुरो (सोचले) जकडिएको समाजमा एउटा महिलाले लुम्बिनी प्रदेशमा दोस्रो पटकको प्रयासमा विजयी भएर एक मात्र महिला मेयर भएर पालिका हाँक्ने (काम) चुनौतीपूर्ण हो । महिलाहरूले विगतमा गर्न नपाएको ठाउँमा बसेर काम गर्न जनताले (मलाई) दिएको ठुलो अवसर मान्छु ।
अहिले मेयरको रूपमा काम गर्ने अवसर पाउनुभएको तपाईंले मेयर हुनुभन्दा पहिले के काम गर्नुहुन्थ्यो नि ?
म अहिले जुन पदमा छु, त्यसमा म यत्तिकै फुत्त टेकेर आएकी होइन । पार्टीमा लामो सङ्घर्ष गरेकी छु । मैले सामाजिक क्षेत्रमा काम गर्न थालेको चार दशक भयो । सानैदेखि सामाजिक विभेद, अन्याय, असमानताका विरुद्ध आवाज उठाउँदै आएकी भएर मैले यही क्षेत्रमा रहेर काम गरेँ । सुनवल खानेपानी संस्थानमा पाँच कार्यकाल सचिव भएर काम गरेँ । क्याम्पस कमिटी, विद्यालय व्यवस्थापन समिति, २०६० सालमा मध्यस्थकर्ताको तालिम लिएर तत्कालीन सुनवल गाविस (तत्कालीन गाउँ विकास समिति) मा मध्यस्थकर्ताको काम पनि गरेँ । भूमि आयोगको जिल्ला अध्यक्ष भएर पाँच महिना काम गरेँ ।
मेरो (हकमा) श्रीमान्ले (र मैले) ‘दुवै जना सामाजिक क्षेत्रमा पनि लागेर हुँदैन एक जना मात्र लाग्ने, एक जनाले घर हेर्ने’ भन्ने सल्लाह गर्यौँ। (घर) सल्लाहले नै म राजनीतिमा सक्रिय भएर लागेँ ।
अन्तरपार्टी महिला सञ्जालको जिल्ला अध्यक्ष भएर महिला हिंसाको विरुद्ध ‘दिदीबहिनी’ को मुद्दामा धेरै काम गरेको छु । जब कुनै ‘दिदीबहिनी’ माथि अत्याचार हुन्थ्यो, उहाँहरू अन्यायमा पर्नुहुन्थ्यो अनि ‘विमला दिदी, मलाई न्याय चाहियो’ भनेर सम्झिनुहुन्थ्यो । त्यस्तै, महिलाको मुद्दामा जुनसुकै राजनीतिक दलका मान्छेले पनि मलाई सम्पर्क गर्नुहुन्थ्यो । (म मेयर हुनुभन्दा पहिले) घरेलु हिंसामा परेका, अत्याचारमा परेका ‘दिदीबहिनी’ का लागि म रातबिरात पनि हिँडेकी छु । दिनरात नभनी सामाजिक काम गर्दै आएकी छु ।
यसरी लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिक क्षेत्रमा स्थान बनाउँदा महिला हुनाको विभेदलाई कत्तिको झेल्नुपर्यो तपाईंले ?
निकै चुनौतीपूर्ण छ (महिलालाई) सुरु सुरुमा त मान्छेले पत्याउन नै गाह्रो ! मैले खानेपानी संस्थानमा काम गर्दा ‘सानी सानी केटी छ, कसरी काम गर्ली र ?’ भनेर भन्थे । खानेपानी वितरणका कुरा गर्दा खानेपानी दिने हो कि नदिने भनी (महिलालाई) हेर्ने दृष्टिकोण पनि फरक थियो । त्यही कुरा पुरुषले बोले पत्याउने समाज छ (हाम्रो), महिलाले गर्दा ‘के हो के’ भन्ने ! त्यो खालको परिस्थिति थियो । महिलालाई विश्वास गर्न गाह्रो मान्छन्, हाम्रो जस्तो पितृसत्तामक समाजमा ।
महिला सहभागितामा अहिले धेरै रूपान्तरण आएको छ तर पनि निर्णायक तहमा (पार्टी) नेतृत्व तहमा अझै पनि हामी कमजोर अवस्थामा छौँ । मैले भन्नै पर्छ, पार्टीमा पुरुषकै दबदबा छ ।
राजनीति गर्न पुरुषलाई भन्दा महिलालाई केही कठिन छ । सम्पत्तिमा महिलाको स्वामित्व छैन । हामी (महिला) लाई दोस्रो दर्जामा राखिन्छ । घरबाट बाहिर निस्कन ठुलो सङ्घर्ष गर्नुपर्छ । महिलालाई हेर्ने दृष्टिकोणमा राम्रोसँग परिवर्तन आउन सकेको छैन । (सामाजिक र राजनीतिक क्षेत्रमा) खुट्टा तान्न कुनै उपाय नलागे चरित्रमाथि औँला उठाउने गरिन्छ । धेरै महिलालाई केही गर्न सकिएन भने चरित्रमा दोष लगाउने गरिन्छ । मेरा धेरै महिला साथी यसको सिकार पनि हुनुभएको छ । रह्यो मेरो कुरा, मेरो चरित्रमाथि अहिलेसम्म कसैले पनि औँला उठाउन सकेका छैनन् ।
विवाहपछिको तपाईंको पारिवारिक, सामाजिक र राजनीतिक अनुभव के कस्तो रह्यो नि ?
घरपरिवार, इष्टमित्र, आफन्त सबैको जिम्मेवारी यो समाजले महिलालाई जिम्मा लगाइदिएको छ । पुरुषलाई भन्दा (विवाहित) महिलालाई दोहोरो तेहोरो कामको जिम्मेवारी छ । मेरो विवाह २०४१ सालमा भएको थियो । मैले एसएलसी र कक्षा १२ सम्मको अध्ययन विवाहपछि गरेकी हुँ । तर, श्रीमान्काे सफलतामा श्रीमतीले त्याग गर्नुपर्छ । त्यस्तै, श्रीमतीको सफलतामा पनि श्रीमान्ले त्याग गर्नुपर्ने हुन्छ । मेरो (हकमा) श्रीमान्ले (र मैले) ‘दुवै जना सामाजिक क्षेत्रमा पनि लागेर हुँदैन एक जना मात्र लाग्ने, एक जनाले घर हेर्ने’ भन्ने सल्लाह गर्यौँ। (घर) सल्लाहले नै म राजनीतिमा सक्रिय भएर लागेँ ।
महिलाले पुरुष उम्मेदवारसँग चुनावमा प्रतिस्पर्धा गर्न एकदमै गाह्रो छ । एउटा त समाजले हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न बाँकी नै छ ।
अहिलेको परिस्थितिमा श्रीमान्काे सहयोग हुँदैनथ्यो भने म यो स्थानमा आउने थिइनँ र सफलता पनि हासिल गर्न सक्दैनथेँ । पहिले महिलाहरूलाई राजनीतिमा आउन असहज परिस्थिति सिर्जना भए पनि आजभोलि यी कुराहरू (केही हदसम्म) व्यवस्थित भएर परिवर्तन हुँदै छन् । (प्रतिनिधित्वका सम्बन्धमा भएको संवैधानिक व्यवस्थाले गर्दा पनि) राजनीतिमा धेरै महिलाको सहभागिता बढ्दै छ ।
राजनीतिक पार्टीमा सहभागी भएर लामो समय बिताए पनि महिलाहरू किन पार्टी नेतृत्वमा आउन सक्दैनन् ? पार्टीले महिलालाई विश्वास गर्न नसकेर हो ?
समाजमा धेरै खालका चुनौती छन् । चुनौतीहरूको सामना त छँदैछ । टिकट पाउनै कठिन छ । चुनाव खर्च जुटाउन गाह्रो छ । आर्थिक अवस्था पनि महत्त्वपूर्ण हिस्सा हो । यसले समस्यामा पार्छ । कार्यकर्तालाई भोको पेट हिँडाउन मिलेन । महिलालाई चुनाव लड्न आर्थिक अभाव हुन्छ नै । मलाई पनि कहिल्यै नपरेको समस्या चुनाव लड्दा पर्यो । महिला पुरुष एउटै पदमा, एकै ठाउँमा (चुनाव) लड्दा पुरुषले महिलाले भन्दा जति पनि बढी खर्च गर्न सक्छ । महिलाले पुरुष उम्मेदवारसँग चुनावमा प्रतिस्पर्धा गर्न एकदमै गाह्रो छ । एउटा त समाजले हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न बाँकी नै छ ।
पार्टीमा पनि महिलाहरूलाई उठाएर जित्न सक्दैनन् कि खर्च गर्न सक्दैनन्, यो खालको अन्तरसङ्घर्ष हुन्छ । महिला सहभागितामा अहिले धेरै रूपान्तरण आएको छ तर पनि निर्णायक तहमा (पार्टी) नेतृत्व तहमा अझै पनि हामी कमजोर अवस्थामा छौँ । अर्काे कुरा, महिलाहरूले पनि पार्टीमा अन्तरसङ्घर्ष गरेर टिकट लिनुपर्छ । पार्टीमा पनि जोडदार माग उठाउनु पर्छ भन्ने कम छन् । मैले भन्नै पर्छ, पार्टीमा पुरुषकै दबदबा छ । संवैधानिक व्यवस्था नभएको भए आज म (नगरपालिकाको) मेयर पनि बन्ने थिइनँ ।
के कस्तो भइदिए महिलालाई मेयर भएर राम्रो काम गर्न सहज हुने थियो भन्ने लाग्छ ?
महिलाहरू मितव्ययी हुन्छन् । (यसैले) महिला, महिला मात्र चुनाव लडाउने क्षेत्र भएको भए राम्रो हुने थियो जस्तो लाग्छ । (नगरपालिकामा) कर्मचारी शाखा चलायमान हुन गाह्रो छ । हिजोको परिस्थितिमा जसरी काम हुने गर्दथ्यो, त्यसलाई परिवर्तन गर्न अलि गाह्रो हुने रहेछ । मैले मध्यस्थकर्ता भएर काम गरेको हुनाले म सबैसँग सरल बन्न खोज्छु तर सबै ठाउँमा यो नमिल्दो हुने रहेछ । प्रशासक भएर काम गर्नुपर्ने रहेछ । नगरपालिकासँग बजेट कम हुने भएकाले सबैलाई चित्त बुझाउन गाह्रो छ । स्थानीय सरकारलाई केन्द्र र प्रदेश सरकारबाट जस्तो सहयोग, सहकार्य हुनुपर्ने हो, विडम्बना ! त्यस्तो हुन सकेको छैन । यी सबै कुरा सन्तुलनमा आउन सके मैले अझै राम्रो काम गर्न सक्थेँ ।
अन्त्यमा के भन्नुहुन्छ ?
महिला हो भनेर सहानुभूतिको आवश्यकता छैन । (महिलाले) पुरुष सरह र त्योभन्दा बढी पनि काम गरेका छन् र गर्न सक्छन् । मलाई सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, सक्नुहुँदैन भने असहयोग पनि नगर्नुहोस् । जनताको चाहना र भावनानुसारका कार्यक्रमलाई अवरोध हुने कुरालाई स्विकार्न सकिँदैन । (मलाई) जनताले जिम्मा दिएका हुन् । त्यो जिम्मा निष्पक्ष ढङ्गले पूरा गरेरै छाड्छु । पार्टीभित्र गुट, उपगुट छ, महिलालाई टिकट पाउनै मुस्किल छ । यी सबै कुराको अन्त्य गर्दै महिलालाई नेतृत्व (मा पुग्ने र काम गर्ने अवसर) दिनुपर्छ । म दावाका साथ भन्न सक्छु, राजनीतिक र सामाजिक क्षेत्रमा पुरुषले भन्दा बढी राम्रो काम महिलाले गरेका छन् ।
जनप्रतिनिधिसँग सम्बन्धित थप स्टोरीहरू
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
- नीति तथा कार्यक्रमहरूलाई महिलाको आँखाले हेर्नेछु – रेखा शर्मा
- राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)
- महँगो राजनीतिले महिलालाई अप्ठ्यारो पारिरहेको छ (भिडियो सहित) – विभा ठाकुर
- एसएलसी पास गर्ने पहिलो रोल्पाली महिला (भिडियाेसहित)
- केही भएन महिनावारी नबार्दा (भिडियो सहित)
- अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक
सन्धान प्रकाशन मिति : २०८० कार्तिक २० गते, साेमबार