Home Insight फुटबलमा महिला : बराबरी गर्न नसकेकोमा गल्ती महसुस भइरहन्छ

फुटबलमा महिला : बराबरी गर्न नसकेकोमा गल्ती महसुस भइरहन्छ

123
0
फुटबल इतिहासमा महिला । जसमा नेपालका महिलाहरुले पहिलो पटक दशरथ रंगशालामा फुटबल प्रतियोगिता खेल्ने तयारी गर्दैछन् । रंगशालाको प्यारापिट दर्शकले भरिएको छ । महिला फुटबलको इतिहास बिषयमा अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापासँग भिडियो कुराकानी गरिएको कारण उनको फोटो साइडमा क्रिम कलरको कोट लगाएको राखिएको छ ।
तस्विर साैजन्यः नेपाल ओलम्पिक संग्रहालय

– गणेश थापा, पूर्व अध्यक्ष, एन्फा

नेपालमा साफ महिला च्याम्पियनसिप फुटबल भइरहेको छ । यो दक्षिण एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिताअन्तर्गतको महिला फुटबल प्रतियोगिता हो । यसमा २०८१ कात्तिक ११ गते आइतबार नेपाल र भारतबिच भएको सेमिफाइनल खेलको निर्धारित समयमा एक–एक गोलले बराबर भएपछि भएको ‘पेनाल्टी शूटआउट’ मा ४–२ ले विजय हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो । सेमिफाइनल खेल हुँदा काठमाडौँस्थित दशरथ रङ्गशाला भरिभराउ थियो । कतिपय पुराना खेलप्रेमीले चार दशकअघि भएको महिलाहरूको मैत्रीपूर्ण फुटबलमा रङ्गशाला भरिभराउ भएको पनि स्मरण गरे ।

नेपालमा फुटबल खेलको विकास र प्रवर्धनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले काम गर्दै आएको छ । २००८ साल (सन् १९५१) मा स्थापना भएको एन्फाअन्तर्गत महिला फुटबल संघ रहेको छ । फुटबलका अग्रजहरूको भनाइमा १९८० को दशकदेखि नै नेपाली महिलाले फुटबल खेल्न थालेका थिए । राष्ट्रिय टोलीको पहिलो कप्तान रमा सिंहले २०३९ देखि २०४४ सालसम्म कप्तानको भूमिका निर्वाह गर्नुभयो । एन्फाले दशरथ रङ्गशालामा महिला टिमहरूबिच प्रतिस्पर्धा गराएर राष्ट्रिय टिम बनाएको थियो । त्यो समय एन्फाका अध्यक्ष रहेका पूर्वमन्त्री कमल थापाको पहलमा राष्ट्रिय टिम गठन भएको थियो । सोही टिमले २०४३ साल (१४ डिसेम्बर सन् १९८६) मा हङकङमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनायो । त्यति बेलासम्म विभिन्न जिल्लामा महिला फुटबल टोली गठन भइसकेका थिए । साथै, देशभित्र फुटबल खेलका प्रतियोगिताहरू हुन थालिसकेका थिए । राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विभिन्न अञ्चलबाट टिमको नेतृत्व गर्नेदेखि सहभागी महिलाहरूको खोजबिन हुनै बाँकी छ ।

महिला साफ च्याम्पियनशिपको पहिलो प्रतियोगिता सन् २०१० देखि सन् २०२२ सम्म उपाधि जितेका, उपविजेता भएका र आयोजक राष्ट्रको नाम चार्ट बक्समा राखिएको छ । 
जसमा पहिलो साफ महिला च्याम्पियनसिप २०१०
स्थान: बङ्गलादेश
विजेता : भारत
उपविजेता : नेपाल 

दोस्रो साफ महिला च्याम्पियनसिप २०१२
स्थान : श्रीलङ्का
विजेता : भारत
उपविजेता : नेपाल 

तेस्रो साफ महिला च्याम्पियनसिप २०१४
स्थान : पाकिस्तान
विजेता : भारत
उपविजेता : नेपाल 

चौथो साफ महिला च्याम्पियनसिप २०१६
स्थान : भारत
विजेता : भारत
उपविजेता : बङ्गलादेश

पाँचौ साफ महिला च्याम्पियनसिप २०१९
स्थान : नेपाल (विराटनगर)
विजेता : भारत
उपविजेता : नेपाल 

छौठौं साफ महिला च्याम्पियनसिप २०२२
स्थान: काठमाडौँ, नेपाल
विजेता: बङ्गलादेश
उपविजेता: नेपाल 

लेखिएको छ ।

मेची अञ्चल टिमको नेतृत्व गर्दै २०४३ सालको प्रतियोगितामा सहभागी विमला पौडेलले २०३८/३९ साललाई नेपालमा महिला फुटबलको प्रतियोगिता सुरु भएको मान्न सकिने बताउनुभयो । २०७९ भदौ ६ मा ‘सन्धान’ अनलाइनमा प्रकाशित/प्रसारित अन्तर्वार्तामा उहाँले महिला फुटबल टिम पहिला बनेको तर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षमा गणेश थापा आएपछि महिला फुटबललाई माथि उठाउने काम भएको बताउनुभएको थियो । अन्तर्वार्तामा उहाँले भन्नुभएको थियो– “उहाँ (गणेश थापा) आएपछि आर्मी, पुलिस र एपीएफमा कुरा गरेर विभागीय टिममा महिला खेलाडीलाई राख्ने काम भयो, खेलेर पनि बाँच्न सकिन्छ, पढ्न सकिन्छ भन्ने आधार त्यसबाट तयार भयो ।” त्यसै आधारमा टेकेर आफूहरूले एन्फामा महिला विभाग गठन हुनुपर्छ भनेर दबाब दिएको, त्यसपछि मात्र महिला फुटबल संघ गठन भएको र संघको गठन भएपछि फुटबलमा महिलाहरूलाई खेल्ने वातावरण केही सकारात्मक हुँदै गएकोे उहाँको भनाइ थियो ।

चार दशकअघिदेखि नै फुटबल खेल्न चाहने महिलाहरूका लागि एन्फाले के–कसरी सहयोग गर्‍यो र कसरी सहजीकरण गर्‍यो त भन्ने विषयमा ‘सन्धान’ ले एक वर्षअघि नै एन्फाका पूर्व अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्ष गणेश थापासँग सोधीखोजी गरेको थियो । २०५२ सालमा एन्फाको अध्यक्ष भएर चार कार्यकाल निरन्तर एन्फाको नेतृत्वमा रहेका उहाँसँग २०८० साउनमा भेटेर कुराकानी गरिएको थियो । उहाँले आफू नेतृत्वमा रहँदा महिला फुटबललाई अगाडि बढाउन खेलाडी र रेफ्रीलाई तलब, महिला फुटबल संघ गठनलगायतको लागि पहल गरे पनि त्यति बेला ‘जति सक्थेँ, त्यति नगरेको’ भनी आफैँले स्वीकार गर्नुभयो । उहाँको भनाइ थियो, “अहिले मलाई के लाग्छ भने आफूले महिला फुटबलमा जतिसुकै राम्रो गरे पनि बराबरी गर्न नसकेकोमा गल्ती महसुस भइरहन्छ । त्यसो गर्नु मेरो नियत थिएन । घरमा त्यही संस्कारमा हुर्किएका कारण पनि मबाट त्यस्तो व्यवहार भयो । मबाट भएका त्यस्ता कमीकमजोरी महसुस गर्दै अहिले मैले गर्ने ठाउँमा गर्दै र बोल्दै आएको छु ।” अहिले महिला फुटबल खेलको इतिहासलाई तेस्रो चरणमा आइपुगेको ठान्ने उहाँले महिलाहरूका सबै खेललाई हेर्दै आएको पनि बताउनुभयो । उहाँको दृष्टिमा महिलाहरूले राम्रो खेल्ने गरेका छन् । अहिले नेपालमा साफ महिला च्याम्पियनसिप भइरहेको र महिला फुटबल टिमले इतिहास रच्ने हिसाबले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगिसकेको छ । आज २०८१ कात्तिक १४ गते बुधबार साँझ उपाधिका लागि नेपालले बङ्गलादेशसँग फाइनल प्रतिस्पर्धा गर्दैछ । यसै सन्दर्भलाई ध्यानमा राखेर उहाँसँगको कुराकानीलाई नेपालको फुटबल खेलमा महिलाको प्रवेश, खेलाडी महिलाका चुनौतीका साथै राज्य र एन्फाको दायित्वलगायत विषयमा केन्द्रित गरियो । प्रस्तुत छ, एन्फाका पूर्व अध्यक्ष गणेश थापासँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटीलक्ष्मी बस्नेतले गरेको कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ कात्तिक १४ गते, बुधवार


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here