Home Photo Feature ‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

347
0

पुस्तक विमोचन

‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको खोजी र लेखनका विधि र पद्धतिलाई इतिहास पत्रकारितासँग पनि जोड्ने प्रयास गरेको छ ।

पुस्तकमा महिला आन्दोलनका विविध पक्षका साथै कर्णाली र लुम्बिनी प्रदेशमा बलात्कार घटनाका पीडित नाबालिकाको अवस्था र न्याय पाउनमा भइरहेको सङ्घर्षलगायत विभिन्न विषयका २२ वटा आलेख छन् ।

सन् २०२२ र २०२३ को ‘सन्धान फेलोसिप’ मा खोजमूलक आलेख तयार पार्नका लागि विभिन्न मिडियाका पत्रकार, मिडिया तथा प्राज्ञिक संस्थाका अनुसन्धानकर्मी तथा लेखकहरू आबद्ध थिए । दुई समूहका २९ जनामध्ये २१ जनाका २२ वटा आलेख ‘सन्धान’ मा प्रकाशित/प्रसारित पनि हुँदै आएका थिए । द स्टोरी किचेनले तिनै आलेखलाई सामान्य परिमार्जन गरिसकेपछि त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन विभागसँग सहकार्य गरी सन्धान सङ्ग्रहको पहिलो शृङ्खलाको रूपमा पुस्तक प्रकाशन गरेको हो ।

सोही पुस्तकको विमोचन राष्ट्रिय महिला आयोगको काठमाडौँस्थित सभाहलमा २०८१ साउन १५ मङ्गलवार आयोजित एक कार्यक्रममा भयो । आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, पूर्वमन्त्री हिसिला यमी, लैङ्गिक अध्ययन विभागका प्रमुख डा. सुदिप सिंह नकर्मी र द स्टोरी किचेनका अध्यक्ष जया लुईंटेलका साथै २१ जना फेलो लेखक/पत्रकारहरूद्वारा संयुक्त रूपमा सो पुस्तकको विमोचन गरिएको थियो ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमलाकुमारी पराजुलीले देशमा राजनीतिक परिवर्तन भए पनि सामाजिक परिवर्तन हुन अझै बाँकी रहेको बताउनुभयो । सामाजिक परिवर्तन र पितृसत्तात्मक सोचमा परिवर्तन ल्याउन समय लाग्ने र त्यसका लागि महिला आन्दोलन सशक्त हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री हिसिला यमीले महिला आन्दोलनको विभिन्न विषयमा लेख्नु महत्त्वपूर्ण भएको तर महिलाको आर्थिक सशक्तीकरणको विषय पुस्तकमा छुटेको टिप्पणी गर्दै आगामी दिनमा नछुटाउन सुझाव दिनुभयो ।

लैङ्गिक अध्ययन विभागका प्रमुख डा. सुदिप सिंह नकर्मीले महिलाद्वारा महिलाकै इतिहासको खोजी गरी तयार गरिएको यो पुस्तक नेपालको सामाजिक र राजनीतिक आन्दोलनभित्रको ‘इन्टरसेक्सनल अप्रोच’ बाट आएको हुनाले पुस्तक प्रकाशनमा विभागले सहकार्य गरेको बताउँदै अनुसन्धान गरी तयार भएका आलेखको सङ्ग्रहका रूपमा रहेको यो पुस्तक प्राज्ञिक प्रयोजनमा आउनसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालय, लैङ्गिक अध्ययन विभागका साथै अन्य विश्वविद्यालय र विभिन्न सङ्काय तथा आमपाठकका लागि पनि पुस्तक सङ्ग्रहणीय र पठनीय भएको बताउनुभयो ।

लैङ्गिक अध्ययन विभागका पूर्वप्रमुख तथा प्रा.डा. बिन्दु पोखरेलले महिलावादी दृष्टिकोणबाट ज्ञान उत्पादन जरुरी भएको र त्यसका लागि परम्परागत अनुसन्धान विधि नै त्रुटिपूर्ण र अपूर्ण रहेको बताउँदै भन्नुभयो, “यथास्थितिका अनुसन्धान विधिको दायराभन्दा महिलाको वास्तविक संसार फरक छ । त्यसैले यथास्थितिका विधिहरू प्रयोग भएमा महिलाका वास्तविक ज्ञान र भोगाइ नआउने भएकाले त्यस्ता विधिलाई महिलाको दृष्टिकोणबाट परिमार्जन र परिष्कार गर्नुपर्छ ।”

प्रा.डा. बिन्दुले पुस्तकमा मिश्रित विधिको प्रयोग भएको र महिलाको हकमा त्यो उपयुक्त पनि रहेको विचार व्यक्त गर्नुभयो । उहाँले परम्परागत अनुसन्धान विधिहरू पुरुषले पुरुषकै अनुभवलाई लिनको लागि बनाइएकाले त्यतिले मात्र महिलावादी अनुसन्धानलाई नपुग्ने भएकाले यस कुरामा अनुसन्धानकर्ता तथा लेखकहरूलाई सुविचारित तरिकाले अघि बढ्न सुझाव दिनुभयो । उहाँले ज्ञान उत्पादन गरेर पनि त्यसको वितरणमा ध्यान नदिने प्राज्ञिक जगत्लाई पनि समाजसँग जोडिनका लागि आमसञ्चारको शैली आवश्यक पर्ने भएकाले मिडिया कर्मबाट उत्पादित र सञ्चारित ज्ञानप्रति सहकार्यात्मक भाव राख्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा समाजशास्त्री डा. मीना पौडेलले अहिले पनि पितृसत्ताहरू जताततै रहेको भन्दै पशुपतिको कोटिहोमदेखि सिंहदरबार केन्द्रित पितृसत्ताका विरुद्ध लड्न सचेत आममहिलाहरू सशक्त भएरै लाग्नुपर्ने बताउनुभयो । पुस्तकले महिलावादी दृष्टिकोणबाट नेपाली महिला आन्दोलनको विविधताको इतिहास उत्खनन गर्ने कामको सुरुवात गरेको भन्दै उहाँले अहिलेसम्म लेखिएका इतिहासहरू आममहिलाको भोगाइका दृष्टिले अयथार्थ र अपूर्ण रहेको पनि बताउनुभयो ।

उहाँको विचारमा महिलाका इतिहास कमै लेखिने हुँदा अबको दुई तीन पुस्तापछिकाले नेपालको महिला आन्दोलनको यथार्थ इतिहास थाहै नपाउने अवस्थालाई चिर्न पनि महिला आन्दोलनको इतिहास लेखिनु जरुरी छ । यही प्रसङ्गलाई जोड्दै उहाँले भन्नुभयो, “यो पुस्तक महिला आन्दोलनको इतिहासको दस्ताबेजीकरणमा एउटा सुविचारित कदम हो ।”

कार्यक्रममा द स्टोरी किचेनका सह–संस्थापक तथा कोषाध्यक्ष राजन पराजुलीले ‘सन्धान फेलोसिप’ मार्फत अनुसन्धानकर्मी, विद्यावारिधि गरिरहेका ‘स्कलर’ र पत्रकार महिलाहरूले लेखेका आलेखको प्रस्तुतिमा प्राज्ञिक र पत्रकारिता दुवै क्षेत्रलाई संयोजन गर्ने प्रयास गरिएको बताउनुभयो । पुस्तकमा राजनीतिक, सामाजिक र व्यक्तिगत सबै खालका अनुभवसँगै महिला आन्दोलनभित्रका पनि विविध आन्दोलनमा महिलाहरूको सहभागिता र योगदानसँगै जीवनभोगाइका ऐतिहासिक तथ्यहरूसमेत रहेको बताउँदै पुस्तक पढेर सुझाव दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षतापछि धन्यवाद दिने क्रममा द स्टोरी किचेनका सह–संस्थापक तथा अध्यक्ष जया लुईंटेलले पुस्तकमा प्रकाशित आलेखहरूमा महिलाका विषय, विचार, अनुभव र तथ्यहरू समेटिएको बताउनुभयो । उहाँले विश्वविद्यालयका विभिन्न सङ्कायमा यसप्रकारको पुस्तक उपलब्ध हुनुपर्ने भएकाले प्रकाशनका लागि लैङ्गिक अध्ययन विभागसँग सहकार्य गरिएको बताउनुभयो । महिलावादी अनुसन्धान पद्धतिहरूमा परिमार्जन गर्नुपर्ने अनुभव भइरहेको प्रसङ्गतिर औँल्याउँदै उहाँले भन्नुभयो, “नेपाली माटो र जनजीवन सुहाउँदो महिलावादी सिद्धान्त र अनुसन्धान पद्धति बनाउन हामी आफैँले प्रयास गरेका छौँ ।” कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै उहाँले पुस्तक पढेर रचनात्मक सुझाव दिन पनि आग्रह गर्नुभयो ।

पुस्तक विमोचनपछि आलेख लेखक तथा पत्रकारहरूले ‘सन्धान फेलोसिप’ मा काम गर्ने क्रममा आफूहरूले नयाँ कुरा सिकेको र अझै थप ज्ञान र सिपको अपेक्षा गरेको बताए ।

झन्डै साढे चार सय पृष्ठको पुस्तकमा इतिहास पत्रकारितातिरको यात्रामा आधारित सम्पादकीयका साथै लैङ्गिक अध्ययन विभागका पूर्वप्रमुख प्रा.डा. बिन्दु पोखरेल र समाजशास्त्री डा. मीना पौडेलको समीक्षात्मक आलेख रहेको छ ।

पुस्तकमा रहेका आलेखहरूको विषयसूची यसप्रकार छ :

प्रकाशन मिति : २०८१ साउन १६ गते, बुधवार