Home Video परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन

परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन

762
0

– मनिका झा, नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष

मनिका झा झन्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्ने उहाँ हाल काठमाडौँबाट प्रकाशित हुने ‘अन्नपूर्ण पोस्ट’ दैनिकको मधेस प्रदेश ब्यूरो प्रमुख हुनुहुन्छ । उहाँ २०७७ चैतमा भएको निर्वाचनबाट नेपाल पत्रकार महासङ्घ, धनुषा जिल्ला अध्यक्ष पनि हुनुहुन्छ ।

आफ्नो लेखन महिलावादी दृष्टिकोणको रहेको बताउने मनिका परिवर्तनका सम्बन्धमा भन्नुहुन्छ, “१५–१६ वर्षअघि लेखेकै कतिपय विषय अहिलेसम्म पनि लेखिरहन पर्दा महिलाका लागि यो समाज परिवर्तन नै भएन भन्ने लाग्छ ।” तर अहिले स्वतन्त्रताका साथ ठुलाठुला मोटरसाइकल चलाएर हिँड्ने, जिन्स लगाएर हिँड्ने छोरी/महिलालाई समाजले प्रश्न उठाउन नसक्ने पनि उहाँको विश्लेषण छ । आफू परिवर्तित भएर समाजलाई पनि परिवर्तन गर्छु भनेर अगाडि बढेका महिलाहरूका सन्दर्भमा उहाँ भन्नुहुन्छ, “त्यस्तालाई समाजले रोक्न सक्दैन तर महिलाको स्तर र अवस्थामा परिवर्तन होस् भन्ने चाहिँ यो समाज चाहँदैन ।”

समाजले चाहेर भन्दा पनि रोक्न नसकेकै कारण आफू अगाडि बढेको बताउँदै उहाँ भन्नुहुन्छ, “म नेपाल पत्रकार महासङ्घको धनुषा अध्यक्ष हुन्छु भनेर चुनाव लडेँ र जितेँ ।” उहाँका अनुसार, यो एउटा ठुलो परिवर्तनको उदाहरण हो । त्यसो त आफूसँगै पत्रकारिता सुरु गरेका महिलाहरू अहिले पत्रकारितामा नभएको कुरालाई पनि उहाँ नजरअन्दाज गर्न सक्नुहुन्न । आफ्ना बारेमा उहाँको भनाइ छ, “मैले चाहेँ र अगाडि बढिरहेँ ।” चाहना र निरन्तरको प्रयत्न नभए टिक्न गाह्रो हुन्छ पत्रकारितामा । पेसागत समाज पनि महिलामैत्री भइसकेको छैन । यसैले परिवर्तनका सन्दर्भमा उहाँ द्विविधामा देखिनुहुन्छ र प्रश्न गर्नुहुन्छ, “यहाँ म अध्यक्ष भएँ भनेर समाज परिवर्तन भयो भन्ने कि महिलालाई पत्रकारितामा टिक्न समाजले सहयोग गरेको छैन भन्ने ?”

महासङ्घको जिल्ला अध्यक्ष हुनका लागि चुनाव लड्दा उहाँले पेसागत समाजलाई फरक ढङ्गले चिन्नुभयो । पत्रकारिताका नाममा राजनीति गर्नेहरूका कारण नमिठो अनुभव पनि गर्नुभयो । “महासङ्घको पोलिटिक्स थेग्न धेरै गाह्रो छ,” उहाँ पत्रकारितामा पार्टी राजनीति घुसेकाले पेसागत नेतृत्व गर्न चाहने महिलालाई झनै चुनौती थपिएको ठान्नुहुन्छ । “तपाईं पार्टी पोलिटिक्स थेग्न सक्नुहुन्छ तर महासङ्घको चुनावमा साम, दाम, दण्ड, भेद सबै अपनाउनुपर्ने रहेछ ।”

‘सन्धान’ टोली जनकपुर गएको बेला २०७९ साउनमा उहाँसँग तराई मधेसमा महिला मुद्दा, मिडियाले महिला सवाललाई दिएको प्राथमिकताका साथै महासङ्घको अध्यक्ष हुने क्रममा उहाँमाथि आइपरेका चुनौती लगायतका विषयमा कुराकानी गरेको थियो ।

अहिले नेपाल पत्रकार महासङ्घले केन्द्रदेखि नै निर्देशिका जारी गरेर पत्रकार शुद्धीकरण अभियान सञ्चालन गरिरहेको छ । मनिकाले त्यतिबेला नै आफ्नो शाखामा भएका सदस्यहरूको शुद्धीकरण पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । प्रस्तुत छ, मनिका झासँग सन्धानका तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको भिडियो कुराकानीको सम्पादित अंश :

भिडियो कुराकानी हेर्नुहोस्

याे पनि पढ्नुहाेला

सन्धान, प्रकाशन मिति : २०८० जेठ ३० गते, मंगलवार


Previous articleकर्णाली विशेष : टाढिँदै छ बालिका बलात्कारमा न्यायको पहुँच
Next articleआँखाले हैन, चेतनाले संसार देख्ने नीरा