Home Insight ‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का

‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का

615
0

‘ऐतिहासिक फोटो कथा शृङ्खला’

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘ऐतिहासिक फोटो कथा’ शृङ्खला प्रस्तुत गर्ने गरिरहेका छौँ। यो शृङ्खलाको उद्देश्य सामाजिक तथा राजनीतिक परिवर्तनका लागि विगतमा महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनः स्मरण गराउनु हो ।

यसै अन्तर्गत हामीले यस पटक संगीता खड्काको एउटा तस्बिरलाई लिएका छौँ । उहाँ हाल न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनुहुन्छ । २०५२ सालमा सुरु भएको करिब एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा सञ्चारकर्मी भएर योगदान गर्ने व्यक्ति हुनुहुन्छ, उहाँ । त्यसबेला उहाँ सहितको टिमले जङ्गलबाट रेडियो सञ्चालन गरेर सूचना र समाचार आदानप्रदान गर्थ्यो । त्यही बेलाको एउटा फोटोलाई लिएर हामीले कुराकानी गरेका छौँ । प्रस्तुत छ, उहाँसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानी :

यो फोटोको बारेमा बताइदिनुस् न ?

यो फोटो २०६१ सालमा रेडियोमार्फत समाचार रिपोर्टिङको क्रममा खिचिएको हो । जनयुद्धताका हामीले एफएम ब्यान्डमा रेडियो चलाएका थियौँ । यो शाही शासनको बेला २०६० साल भदौ ३० गतेदेखि भूमिगत रूपमै प्रसारण गर्ने गरी पहिला रेडियो जनआवाजको नाममा थियो । पछि कात्तिकबाट ‘रेडियो जनगणतन्त्र नेपाल’ नामबाट प्रसारण सुरु भयो । यो रेडियो नेपालभरि पाँच ठाउँबाट त्यो बेलाको विकास क्षेत्रअनुसार हरेक विकास क्षेत्रमा प्रसारण गरिएको थियो । रेडियोको नाम एउटै थियो । मैले चाहिँ मध्यमाञ्चल विकास क्षेत्रका लागि काभ्रे जिल्लाको माथि महाभारतको लेकबाट प्रसारण हुने रेडियोमा जिम्मेवार पदमै रहेर काम गरेको हुँ ।

फोटोमा केही लेख्दै गरेको देखिन्छ, के लेख्दै हुनुहुन्थ्यो, याद छ ?

कुनै घटनाक्रमको समाचार बनाएको हो । त्यसैलाई समाचारको रूपमा सेटबाट अन्यत्र जानकारी दिइएको हो । यही विषयको समाचार हो भन्ने चाहिँ याद छैन ।

यो फोटो कसले खिच्नुभएको हो ?

हामी तीन/चार जना साथीहरू थियौँ । त्यही समयमा कसले खिच्नुभयो नाम नै त अहिले याद भएन । अन्य क्षेत्रका ट्रान्समिटरहरू चलाउँदै गरेका फोटाहरू पनि छन् । हाम्रो रेडियो काठमाडौँका विभिन्न ठाउँमा पनि सुनिन्थ्यो । हामीले पहिलो प्रसारण सुरु गर्नेबित्तिकै हेलिकप्टर आयो । त्यो थाहा पाएर एन्टेनालाई भुईंमा राखेर स्याउलाहरूले छोप्यौँ । पहिलो पटक साँझ ७ बजे प्रसारण गरिएको थियो । त्यो एक घण्टाको प्रसारण थियो । त्यो दिन बुधबार थियो ।

हामी बिहान हिँडेर साँझ पुग्थ्यौँ र प्रविधिहरू मिलाएर प्रसारण गथ्र्यौं । हाम्रो प्रसारण विभिन्न ठाउँमा सुनिएको रिपोर्ट आयो । हेलिकप्टर आइरहन्थ्यो । माथि हेलिकप्टर उडिरहने हामी तल अँध्यारोमै जङ्गलमा लुक्दै हिँड्ने गर्थ्यौं । सेना जतिबेला नि आउन सक्ने, भिडन्त हुनसक्ने भएकाले रेडियोका सामग्रीहरू एक्सपोज नहोस् भनेर धेरै फोटो खिच्दैनथ्यौँ । यत्तिको त खिचौँ, कुनै बेला काम लाग्ला भनेर खिचेको अहिले स्मरणयोग्य भएको छ ।

त्यतिबेला रेडियो कहाँबाट कसरी प्रसारण गरिन्थ्यो ?

हामीले प्रसारण गर्ने भनेको काभ्रेको महाभारत लेकबाट हो । त्यतिबेला प्रविधि चलाउनु अहिले जस्तो सजिलो थिएन । हाम्रो रेडियोको टावर त्यति ठुलो हुँदैनथ्यो । प्रसारण गर्ने बेला टावर राख्ने र अरू बेला फेरि बोकेर आफू जहाँ बास बस्थ्यौँ, त्यहीँ लगेर राख्थ्यौँ । प्रसारण गर्ने ठाउँ धेरै अग्लो भएकाले अन्य सिग्नल र थप टावरहरू आवश्यक पर्दैनथ्यो । जमिनको उचाइले नै टावरको रूपमा काम गर्दथ्यो । त्यो फोटोमा देखिएको मैले चलाइरहेको वाकीटकीले १२ किलोमिटर वरपरसम्मको नेटवर्क टिप्थ्यो । कुनै ४० किलोमिटर क्षमताको सेट पनि हुन्थ्यो, त्यसले १०/१५ वटा जिल्लासम्म सञ्चार सम्पर्कको काम गर्थ्यो । हामीले तीन हजार मिटरको हाराहारीबाट रेडियो प्रसारण गर्थ्यौं । अझ शाही शासनको बेला भएर मोबाइलहरू पनि चल्दैनथ्यो । झन् गाह्रो हुन्थ्यो ।

तपार्ईंहरू बास पनि त्यही जङ्गलमै बस्नु हुन्थ्यो ?

रेडियो प्रसारणको सुरुवाती अवस्थामा हामी अलि तल्लो क्षेत्रमा बस्थ्यौँ । रेडियोको टावर अग्लो ठाउँमा लग्नुपर्ने भएकाले ७/८ घण्टा हिँडेर गएर समाचार तथा सूचना दिन्थ्यौँ । अनि फेरि बास बस्ने ठाउँमा तल झर्थ्यौं । सधैँ त्यसो गर्दा सुरक्षाको दृष्टिले र दौडधुप पनि धेरै भएकाले पछि टावरकै छेउछाउमा बस्न थाल्यौँ । टेन्ट बनाएर बास बस्थ्यौँ । त्यहीँ खाने, बस्ने हुन्थ्यो र त्यहीँबाट रेडियो प्रसारण गर्थ्यौं ।

तपाईंहरूको रेडियोबाट कस्ता विषयवस्तु तथा सूचनाको प्रसारण हुन्थ्यो ?

हामीले कभर गर्ने भनेको विभिन्न जिल्लामा भएका माओवादी र राज्य पक्षबिचको भिडन्त, विभिन्न ठाउँमा भएका माओवादी जनसरकार र जनसरकारका गतिविधिहरू हुन्थे । जस्तै; रक्सीविरोधी अभियान, जुवातास अन्त्यका कुरादेखि राजनीतिक र सामाजिक विषयका कुराहरू हुन्थे । त्यही विषयहरूलाई रिपोर्ट बनाएर रिपोर्टर आफैँले आफ्नै स्वरमा रेकर्ड गरेर पठाएको पनि हुन्थ्यो र हामीले नै सम्पर्क गरेर सूचना टिपेर समाचार बनाएर पनि प्रसारण गर्थ्यौं । स्टुडियोमा ८/१० जना हुन्थ्यौँ र प्रत्येक जिल्लामा रिपोर्टर हुन्थे । जनमुक्ति सेनाको बटालियन र ब्रिगेड स्थलहरूमा पनि समाचार पठाउने रिपोर्टरहरू हुन्थे ।

यो रेडियोमा काम गर्नुभन्दा पहिले तपाईं के गर्नु हुन्थ्यो ?

पहिले म काठमाडौँबाटै प्रकाशित हुने ‘जनादेश’ साप्ताहिक पत्रिकामा काम गर्थें । त्यतिबेला गिरफ्तारीमा परेर एक वर्ष जेल बस्नुपर्‍यो । जेलबाट निस्केपछि पुनः पुनः पक्राउ पर्ने सम्भावना थियो । काठमाडौँमा बसेर पक्राउ पर्नुभन्दा रेडियो चलाउँ भनेर उता गएको थिएँ ।

हामीले चलाउँदै गरेको रेडियो दुई वर्ष सञ्चालन भैसकेपछि नेपाली सेनाले ठुलाठुला ट्रान्समिटर राखेर जाम गरिदियो । हामीले ९५.१ मेगाहर्जमा प्रसारण गर्थ्यौं । त्यही मेगाहर्जमा बढी पावरको ट्रान्समिटर राख्दिएपछि हामीले बजाएको नसुनिने भयो । प्राविधिकहरूसँग कुरा गरेर कहिले ९६ त कहिले ९७ मेगाहर्जमा पनि प्रसारण गर्थ्यौं । केही दिनपछि त्यसमा पनि अवरोध पुर्‍याउँथे । आन्तरिक सेटबाट अर्कै मेगाहर्जमा बज्छ भनेर जानकारी पनि दिने गर्थ्यौं । यस्तै किसिमले एक महिना जति सेनासँग रेडियोको मेगाहर्जमा लडाइँ जस्तै चल्यो ।

सबै ठाउँमा यस्तै भयो कि ?

पहिले हाम्रोमा गर्‍यो । २०६१ साल फागुन ७ गते पहिलो पटक हाम्रो फ्रिक्वेन्सी जाम गरेको थियो । त्यसको १०/१५ दिनपछि अन्य ठाउँमा पनि फ्रिक्वेन्सी जाम भयो भन्ने थाहा पायौँ । त्यस्तो हुँदै गएपछि करिब दुई वर्षपछि रेडियो प्रसारण नै बन्द भयो । रेडियो प्रसारण बन्द भएपछि म गण्डक क्षेत्रमा बसेर ‘जनादेश’ का लागि रिपोर्टिङ गर्न थालेँ ।

यो फोटो देख्दा के कुराको याद आउँछ ?

धेरै कुराको याद हुन्छ । उमेरको हिसाबले पनि त्यतिबेला म २० वर्ष जतिको थिएँ । त्यस्तो बेला अनकन्टार जङ्गलमा टेन्ट हालेर बस्नुपर्ने । टेन्ट पनि बलियो हुँदैनथ्यो । जङ्गली जनावरकै पनि कुनै पनि बेला आक्रमण हुन सक्थ्यो । त्यसका बाबजुद पनि आफ्नो ड्युटी पूरा गर्नुपर्छ भनेर लाग्यौँ । देश र जनताको परिवर्तनका लागि चलेको आन्दोलनमा हाम्रो पनि योगदान हुनुपर्छ भनेर गरिएको हो । ज्यानको सुरक्षा थिएन । जेनेरेटर, टावरहरू बोकेर हिँड्नुपर्थ्यो । एक किसिमले भन्दा त्यो दुःखकष्ट र ज्यानकै बाजी राखेको अवस्था हो तर त्यस्तो अनुभव हुँदैनथ्यो । यस्ता फोटाहरू देख्दा आफूप्रति गर्व महसुस हुन्छ ।

ती कामहरू परिवर्तनका लागि गरिएको भन्नुभयो नि, त्यतिबेला सोचेको परिवर्तन अहिले भएको महसुस हुन्छ ?

जुन उद्देश्य लिएर हिँडियो, सय प्रतिशत नै परिवर्तन भएको त छैन । परिवर्तनको प्रक्रिया निरन्तर छ । राजनीतिक हिसाबले परिवर्तनहरू धेरै भए । गणतन्त्र स्थापना भयो । त्यतिबेला मान्छेले गणतन्त्रको कल्पना पनि गर्न सक्दैनथे । हामीले त रेडियोको नाम नै ‘रेडियो जनगणतन्त्र नेपाल’ भनेर राखेका थियौँ । त्यो भनेको हामी पुग्ने ठाउँ यसरी बनाउँदैछौँ भन्ने थियो । जे सोचेर हिजो फरक फरक सेक्टरबाट सपनाहरू देखिएको थियो, त्यो सपना पूरा भइसकेको छैन ।

खासगरी व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन भएको छैन तर निरन्तर हुँदै जान्छ भन्ने लाग्छ । फेरि परिवर्तनका लागि आफू मात्र कारक भइँदैन । लडाइँ भनेको माओवादीले पूर्ण रूपमा जितेको वा अर्को पक्षले हारेको भन्ने थिएन । अहिलेसम्म भएका परिवर्तनहरू सम्झौताबाट अघि बढ्दै जाँदा भएका राजनीतिक परिवर्तन हुन्, जुन नेपालका लागि ऐतिहासिक परिवर्तन हो । राजनीतिक परिवर्तन सँगसँगै अब जनताको अवस्था परिवर्तनतिर पनि जानुपर्छ । राजनीतिक रूपमा भएका परिवर्तनलाई संस्थागत गर्दै सामाजिक, सांस्कृतिक, आर्थिक परिवर्तनका लागि व्यावहारिक रूपमा जनताको दैनिक जीवनमा देखिने परिवर्तनका लागि निरन्तर अघि बढ्नुपर्छ ।

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ असाेज १२ गते, बुधवार