Home Elaborations “यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

“यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ हो ।” -सागर श्रेष्ठ

1689
0
sagar-shrestha-featured-photo

‘ऐतिहासिक कथा शृंखला’ 

हामीले सन्धान वेबपोर्टलमा ‘ऐतिहासिक कथा’ शृंखला शुरु गरेका छौँ । यो शृंखलाको उद्देश्य परिवर्तनका लागि विगतमा महिलाहरुले गरेका प्रयास, आन्दोलन र उनीहरुको योगदानलाई सन्धान वेब पोर्टलमार्फत पुनःस्मरण गराउनु र अहिले त्यो विषय कहाँ पुग्यो भनेर समीक्षा वा फलोअप गर्नु हो ।

यहि अन्तर्गत हामीले सन्धानमा ८ मार्च २०२२ (२०७८ फागुन २४ गते) २०६४ सालमा वादी समुदायको आन्दोलनको नेतृत्व गर्नुभएकी उमा वादी सिंहदरबारको मूल गेटमा चढेको तस्विर र उहाँसँगको कुराकानी प्रकाशन गरेका थियौँ । आज हामीले सोही तस्विर खिच्ने फोटो पत्रकार सागर श्रेष्ठलाई त्यो फोटो र आन्दोलनबारे सोधेका छौँ । प्रस्तुत छ, उहाँसँग सन्धानका लागि मुकुन्द बोगटीले गर्नुभएको कुराकानी:

सिंहदरबारको गेटमा चढेको उमा वादीको तस्विर खिच्दाको क्षण सम्झिदिनुस् न ।

मैले वि.सं.२०५४ सालदेखि फोटो पत्रकारिता गर्दै आएको थिएँ ।२०६४ सालमा पश्चिमका वादी समुदायका महिलाहरु आफ्नो हक अधिकारका लागि  काठमाडौँमा आन्दोलन गर्न आउँदैछन् भन्ने जानकारी पाएँ । त्यसबेला म आइएनएस (इण्डिपेन्डेन्ट न्यूज सर्भिस) मा फोटो पत्रकारको रुपमा कार्यरत थिएँ । हेमबहादुर विष्टले संचालन गर्नुभएको यो एजेन्सीले नेपालका विभिन्न संचार माध्यमहरुलाई समाचार र तस्विरहरु उपलब्ध गराउने गर्थ्याे । 

वादी महिलाहरुको पेशाका कारण त्यतिखेर उहाँहरुप्रति समाजकाे अलग्गै किसिमको सोचाइ थियो । समाजको यो दृष्टिकोण र उनीहरुमा उठेको आन्दोलन एक पत्रकारका लागि ‘महत्वपूर्ण’ समाचार हुन्छ भन्ने महसुस भयो । उहाँहरु आन्दोलन गर्न २०६४ साल साउन महिनामा काठमाडौँ आएर पशुपतिको वनकालीस्थित धर्मशालामा बस्नुभएको थियाे । मैले आन्दोलनको अघिल्लो दिनदेखि नै उहाँहरुलाई पच्छ्याउन थाले । मैले उहाँहरुको विभिन्न गतिविधिलाई फोटोमार्फत सम्प्रेषण गरिरहेँ । अरु ‘मूलधार’ का मिडियाहरुले खासै कभरेज गरेका थिएनन् । तर मैले खिचेको याे तस्विर धेरै संचारमाध्यमले प्रकाशित गरे । 

वादी समुदायका महिलाहरुले गरेकाे याे आन्दोलन तपाईंलाई  कस्तो लाग्यो ? 

यो तस्विरले वादी समुदायको आन्दोलनलाई प्रतिबिम्बित गरिरहन्छ । साथसाथै महिला आन्दोलनकै लागि पनि यो ऐतिहासिक तस्विर हो । दैनिक आन्दोलन हुँदा पनि वादी महिलाहरुको मागलाई सिंहदरबार भित्र बसेको सरकारले पनि सुनिरहेको थिएन । दैनिक उहाँहरु सिंहदरबारको गेटबाट भित्र जान खोज्ने र प्रहरीले रोक्ने हुन्थ्यो । आन्दोलन लम्बिँदै जाँदा एकदिन वादी महिलाहरुले पेटीकोट लगाएर आन्दोलन गर्ने घोषणा गर्नुभयो । पत्रकारको लागि यो आन्दोलन अति नै नौलो थियो । पेटीकोट लगाएर गर्ने आन्दोलन अहिले त चर्चाको विषय हुन्छ भने त्यो समय झन् अर्कै थियो । कतिले उहाँहरुको यो आन्दोलनलाई ‘यौनकर्मी’ को आन्दोलनसमेत भन्थे । 

पेटीकोट लगाएर आन्दोलनको नेतृत्व गर्नुभएकी उमा वादी आफ्ना सहयोगीहरु साथ सिंहदरबार पस्ने क्रममा प्रहरीले ठेलेर गेट बन्द गर्याे । आक्रोशमा उहाँ गेटमा चढेर जाने मनसाय राखेर होला, माथितिर चढ्नुभयो । त्यसपछि अरु आन्दोलनकारीहरु पनि चढ्न थाले, पुलिसले अरुलाई ओराल्ने क्रममा उहाँको पालो पछि पर्याे । यो बिचमा उहाँ गेटको माथि भएकै बेला नारासमेत लगाउन थाल्नुभयो । यो दृष्य फोटो पत्रकारले खोजेको दृष्य थियो । त्यो क्षण छोटो भएपनि मैले २०/२५ वटा फोटो खिच्न भ्याएँ । भोलिपल्ट धेरै मिडियामा यो फोटो प्रकाशित भयो । 

दैनिक जसो आन्दोलनमा भेट हुने क्रममा उहाँहरुसँग चिनजान भइसकेको थिए । आन्दोलन सकेर घर फर्किने बेलामा उमाजीले आन्दोलनका तस्विरहरु दिनु भनेर आग्रह गर्नुभयो । मैले सिडीमा हालेर दिएँ । उहाँहरु आन्दोलनको सम्झना बोकेर घर फर्किनुभयो । त्यसैले यो तस्विर वादी महिलाको आन्दोलनको ‘प्रतीक’ पनि हो ।


Previous article“यो फोटो मेरो र वादी समुदायकै लागि लडाइँको इतिहास हो ।”-उमा वादी
Next articleराजनीतिक आन्दोलनले बिर्सिएको एउटा नामः मिठाईदेबी विश्वकर्मा