Home Opinion समतावादी प्रश्नको घेरामा लैङ्गिकता र धर्म

समतावादी प्रश्नको घेरामा लैङ्गिकता र धर्म

707
0

लैङ्गिकता र धर्म समतावादी प्रश्नको घेरामा पर्न थालेका छन् । सामाजिक लिङ्ग धेरैजसो धार्मिक आदेशहरूको केन्द्रविन्दु भएकाले पनि यस्तो हुन गएको हो । धर्महरूले लैङ्गिक सम्बन्धहरूमा महत्त्वपूर्ण प्रभाव पार्दछन् । विश्वव्यापी रूपमा पितृसत्तात्मक सम्बन्ध धेरैजसो धर्महरूमा केन्द्रित हुन्छ । यो विश्वव्यापी सिद्धान्त नभए पनि नारीवादी मनोविज्ञानको व्यापक चासोभित्र पर्दछ । समतावादी कोणबाट लिङ्ग र धर्मको अध्ययन आजको विश्वमा अपरिहार्य भइसकेको छ ।

केही धार्मिक मान्यताले महिलाहरूलाई सहयोग पुर्‍याउँछन् र सम्मानमा जोड दिन्छन् भने केहीले पुरुष नेतृत्वलाई प्राथमिकता दिएका हुन्छन् । तिनले कतै न कतै अप्रत्यक्ष्य रूपमा महिलाहरूलाई नैतिक पहिचान र आध्यात्मिक स्थानहरू प्रदान गरेका पनि हुन्छन् । हिन्दु धर्ममा महिलालाई एकातिर देवीको संज्ञा दिइएको छ भने अर्कोतिर पवित्रता र अपवित्रताको कसीले पनि बाँधिदिएको छ । यसको अभ्यास महिलाहरूले आज पर्यन्त गर्दै आइरहेका छन् ।

अधिकांश धर्मलाई उच्च वर्ग तथा उच्च जातिका पुरुषले बनाए, परिभाषित गरे र त्यसमाथि नियन्त्रण राखे । पुरुषहरूले धर्मशास्त्रमै नैतिकता, नीतिशास्त्र, व्यवहार र कानुनको परिभाषा पनि गरे ।

प्रसिद्ध नारीवादी अभियन्ता कमला भसिनले आफ्ना जेन्डरसम्बन्धी पुस्तकहरूमा उल्लेख गरे अनुुसार अधिकांश आधुनिक धर्म पितृसत्तात्मक छ । धर्मका विषयलाई समाजमा जे भइरहेको छ त्यो सब ईश्वरको इच्छाले भएको छ भने जसरी प्रस्तुत गरिएको हुन्छ ।

अधिकांश धर्मलाई उच्च वर्ग तथा उच्च जातिका पुरुषले बनाए, परिभाषित गरे र त्यसमाथि नियन्त्रण राखे । पुरुषहरूले धर्मशास्त्रमै नैतिकता, नीतिशास्त्र, व्यवहार र कानुनको परिभाषा पनि गरे । धर्मशास्त्रमा महिला र पुरुषका काम, कर्तव्य र अधिकारको तय गरियो । महिला र पुरुषबिचको सम्बन्ध तय गरियो । धर्मको वर्तमान संस्थागत रूप निर्माण गर्नुभन्दा पहिले स्त्री शक्तिलाई ठुलो मान्यता दिइएको थियो । त्यो मान्यतालाई बिस्तारै कमजोर बनाउँदै लगियो । आलङ्कारिक अर्थमा मात्रै स्त्री शक्तिको साख सीमित रह्यो । धर्म र संस्कृतिको पासो लगाएर व्यवहारमा स्त्रीहरूलाई अवलाकरण गर्दै लगियो । लगभग अधिकांश धर्म र संस्कृतिमा महिलालाई पुरुषभन्दा तल्लो स्तरको, अपवित्र र पापसँग जोडिएको पाइन्छ । दक्षिण एसियामा प्रचलित धर्म र संस्कृतिमा पनि लैङ्गिक विभेदको यो सामाजिक रूप भेटिन्छ । यसलाई मिथकहरूमा टड्कारो गरी घुसाइएको छ ।

महिलासँग सम्बन्धित केही हिन्दु मिथकहरू

ऋषि पञ्चमी

यो पर्व तीजको व्रतपछि मनाउने गरिन्छ । यसको उद्देश्य महिलाहरूको महिनावारीसँग जोडेर परिकल्पना गरिएको पवित्रता र अपवित्रता नै हो । महिलाहरूले ब्राह्मणमार्फत शास्त्र पढाएरै बितेको वर्ष महिनावारी हुँदा कतै पाप पो गरियो कि भनेर पापमोचनका लागि पूजाआजा गर्छन् । शास्त्रमा महिनावारीका तीन दिनलाई तीन खालका नाम दिएर महिलालाई पापी र अपवित्र करार गरिएको पाइन्छ । शास्त्रमा पहिलो दिन ब्रह्मघातिनी, दोस्रो दिन चाण्डालिनी, तेस्रो दिन धोबिनी हुने उल्लेख गरेको पाइन्छ । चौथो दिनमा नुवाइ धुवाइ गरी ऋषिको नाममा व्रत बसीवरी पूजाआजा गरेपछि मात्र महिला शुद्ध हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसै कारण हिन्दु सम्प्रदायका महिलाहरूले महिनावारी हुँदा आफू परसरेको भनी चार दिन अछुत जस्तै बनेर अलग्ग रही बिताउँछन् । दैनिक गर्नुपर्ने अत्यावश्यक कर्मबाट पनि आफूलाई एक्ल्याएर ‘आइसोलेटेड’ राख्छन् । खाना पकाउन समेत पाउँदैनन् र खानाको लागि अरूको भर पर्छन् । कसै कसैले त घरमा बस्न पनि पाउँदैनन् । छाउगोठ र गुफामा असुरक्षित भएर समेत बस्नुपर्छ । महिनावारी भएका बेला कथंकदाचित पवित्र मानिएका चिजवस्तु अनि पुरुषलाई छोइएको रहेछ भने त्यसको प्रायश्चित गर्नका लागि ऋषि पञ्चमीको वार्षिक पूजामा सहभागी हुन्छन् ।

ऋषि पञ्चमी पूजाको सार नै ऋषि अर्थात् पुरुषको पूजाआजा हो । यसको अन्तर्यमा महिनावारी हुने भएकाले महिला अपवित्र हुन्छन् तर महिनावारी नहुने भएकाले पुरुष पवित्र हुने कुरा रहेको छ । यति मात्र होइन, महिनावारीमा महिलाले पुरुषलाई छुनु नहुने, छोएमा पाप लाग्ने र त्यसको प्रायश्चित गर्नुपर्ने मान्यतालाई ऋषि पञ्चमीमा लगेर संस्कारका रूपमा जोडिएको छ । छोरीमान्छेलाई रजस्वला भएदेखि नै अथवा नावालिग अवस्थामै यो संस्कारसँग विधिवत् साक्षात्कार गराउँदै हुर्काइएको हुन्छ । बालिग भएर बुद्धि विवेकले काम गर्ने उमेरमा पुग्दा कतिपय महिलाले मनले नखाए पनि ‘नानीदेखि लागेको बानी’ भनेर ऋषि पञ्चमीको पूजामा सहभागिता जनाइरहेका हुन्छन् । महिनावारीको प्राकृतिक चक्र र प्रजनन स्वास्थ्यको विशिष्ट वैज्ञानिक तथ्यलाई ओझेलमा पार्ने गरी पितृसत्ताले महिलामाथि थोपरेको शास्त्रीय, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक दाउपेचलाई पछिल्लो पुस्ताले अप्राकृतिक लैङ्गिक विभेदका रूपमा बुझिसकेको छ ।

अहिले दसैँको नौरथामा भाकल गरेर देवीका मन्दिरमा बोका, कुखुरा, राँगा, हाँस काटेर देवीलाई रगत चढाउने गरेको पाइन्छ । यसले दिने सन्देश नकारात्मक पनि पाइन्छ ।

दसैँ र दुर्गा पूजा

शास्त्रीय कथनअनुसार, शुम्भ र निशुम्भ नामका असुरका सेवक रक्तबीजलाई भगवान् शिवले नै उनीहरूको तपस्याबाट प्रभावित भई जुन स्थानमा रक्तबीजको रगतको कण खस्दथ्यो त्यहाँ अर्को रक्तबीज उत्पत्ति हुनेछ भनेर वरदान दिएका थिए । त्यो वरदान भनेको रक्तबीजलाई कसैले मार्न नसक्ने वरदान थियो । यिनै असुरले देवलोकलाई आतङ्कित बनाइराखेका बेला देवताहरूको आग्रहमा दुर्गा माताले चण्डिकाको सहायता लिएर रक्तबीजको संहार गरेकी थिइन् । देवकालका महिषासुर, धूम्र विलोचन, शुम्भ, निशुम्भ जस्ता कैयौँ दैत्यको वध गरेकी थिइन् भन्ने मिथक छ । यसले महिलाको शक्तिलाई सबैभन्दा माथिल्लो स्तरको देखाएको छ ।

कथामा रक्तबीजले आराधना गरी भगवान् शिवलाई खुसी बनाएकाले कुनै शत्रुले परास्त गर्न नसक्ने आशीर्वाद पाएको भन्ने पनि छ । यसले के देखाउँछ भने, उतिबेलैदेखि जतिसुकै खराब वा खराब उद्देश्य लिएको व्यक्ति भए पनि चाकरी गर्ने, भक्तिगान गर्ने हो भने ठुलाबडाबाट आशीर्वाद पाइरहन सकिन्छ । यो कुरा आजका नेता, कर्मचारी र कार्यकर्तामा पनि यदाकदा देखिन्छ ।

देवी दुगालाई शक्तिकी प्रतीक त देखाइएको नै छ । जब देवी दुर्गाले रक्तबीजका अङ्गभङ्ग हुने गरी संहार गर्थिन् तब भुइँमा खसेको रगतको थोपाबाट अर्को रक्तबीज जन्मिहाल्थ्यो । जब दुर्गाले रक्तबीजलाई प्रहार गर्थिन् तब उसको रगत भुइँमा खस्न नदिई माता चण्डिकाले मुख आँ गरेर निलिदिने गरेपछि बल्ल रक्तबीजको समूल नष्ट भएको भन्ने छ । अहिले भाकल गरेर देवीका मन्दिरमा बोका, कुखुरा, राँगा, हाँस काटेर देवीलाई रगत चढाउने गरेको पाइन्छ । यसले दिने सन्देश नकारात्मक पनि पाइन्छ । प्रश्न उठ्छ, कतै ती जनावरलाई राक्षसको प्रतीक मानिएको र देवीलाई हिंस्रक अर्थमा पनि देखाउन खोजिएको त होइन ? यसले प्रकारान्तरले महिलाको आवेगलाई नियन्त्रण गर्न खोजेको त छैन ? उता दुर्गाको वाहन सिंहलाई समेत जङ्गलको राजा मानिएको छ । यता देवीको निर्भीकतालाई महिलाहरू पनि निडर हुनुपर्छ भन्ने अर्थमा लिइनुपर्ने हो तर व्यवहारमा अवस्था फरक छ ।

कुनै महिला आवेगमा आएको देखेमा ‘देवी चढेको’ पनि भनिन्छ । यो टिप्पणीमा सकारात्मक भाव भेटिँदैन । शास्त्रहरूमा महिलाका विद्वता, अध्ययनशीलता, कर्मशीलता, राजनीतिक चेतना र संलग्नता आदिका बारेमा खासै केही लेखिएका छैनन् । पितृसत्तात्मक दृष्टिकोणले जालझेल र युद्धको कारकका रूपमा, राजमहलका रसिला र पेचिला कहानीमा, देवताको ध्यान र भक्ति गर्ने, घरपरिवारको निःसर्त सेवा गर्ने, पुरुष वंशवृक्षलाई निरन्तरता दिन पुत्र प्राप्ति गरिदिने ममतामयी पात्रका रूपमा सीमित महिलाको योगदान र महिमागानका कथा बुनिएका छन् ।

यदाकदा दुर्गाका शक्तिका महिमाले नारी शक्तिलाई पुजिन्छ भन्ने त गरिन्छ, तर यो ओठेभक्ति र देखावटी कथन मात्र हो । यसले महिलामाथि समाजले थोपरेको लैङ्गिक विभेदलाई क्षतिपूर्ति त के सान्त्वनासम्म पनि दिन सकेको पाइँदैन ।

कतिपय धार्मिक, सांस्कृतिक र पौराणिक ग्रन्थहरू पुरुषवादी समाजका कल्पनाशीलताका उपज हुन् । तिनले स्तुतिको परिकल्पना गर्दा महिलाप्रतिको अवधारणालाई एकपक्षीय रूपमा वर्णन गरेका हुन सक्छन् । यस्तो नगरेको भए हेलेन केलरले भने जस्तै ‘एक पिँढीको पाखण्ड अर्को पिँढीको परम्परा’ बन्न जाने थिएन । महिलाको वास्तविक जीवनमा शक्तिको पहिचान, सम्मान र समानताको वातावरण निर्माण गर्नु आवश्यक छ । यसो गर्न सके मात्र देवी भगवतीको पूजाको पनि सार्थकता रहन्छ ।

माघ महात्म्य अनि स्वस्थानी पूजा

स्वस्थानी कथा पुस्तकमा गोमा पात्रको जन्म र विवाह अनि उनको जीवनमा आएका सङ्कटबारे उल्लेख गरिएको छ । मूलकथाको सार यस्तो छ, गोमा शिवभक्त ब्राह्मण र उनकी पत्नीकी छोरी हुन् । उनका आमाबाबुले सिद्धि गणेशको पूजा गरेर गरिबीबाट छुटकारा त पाउँछन् तर सन्तान पाउँदैनन् । सम्पति त भयो तर सन्तान छैन भनेर फेरि ती ब्राह्मण दम्पतीले सिद्धि गणेशलाई याचना गरेपछि गाईको गोबरबाट गोमाको जन्म भएको भनिएको छ । गोमालाई अत्यन्त सुन्दर र चम्किलो मुहार भएकी सुन्दरीको रूपमा चित्रित गरिएको छ ।

गोमा हुर्कंदै थिइन् । एकदिन गोमालाई घरमै बसी पूजा गर्ने अक्षता केलाउने काम लगाएर उनका आमाबाबु गङ्गास्नान गर्न जान्छन् । यस्तैमा महादेव भिक्षुकको रूप लिएर गोमाको घर जान्छन् । भिक्षा दिन ढिलाइ गरेको भनेर भिक्षुकरूपी महादेवले गोमालाई सात वर्षकी हुँदा सत्तरी वर्षको बुढोसँग विवाह होस्, अनेक थरीका दुःख कष्ट आइपरोस् र मातापिताको पनि चाँडै नै मृत्यु होस् भनेर श्राप दिएका हुन्छन् ।

गोमाका आमाबाबुले छोरी ६ वर्षको भएदेखि नै वर खोज्न थाल्छन् तर फेला पार्न सक्दैनन् । कन्यादान गर्न पाइएन भन्दै तड्पिएर गोमाका आमाबाबुले यसको भाग्यमा नै यस्तै लेखेको रहेछ भन्दै ७० वर्षीय शिवशर्मा नामक ब्राह्मणलाई छोरीको जिम्मा लगाउने निर्णय गर्छन् । कलिली छोरीलाई अन्जान र वृद्धावस्थामा पुगिसकेका व्यक्तिलाई सुम्पिनुपरेकोमा गोमाका आमाबाबु अलापविलाप गर्छन् । विस्तारै सम्हालिएर लेखान्त र श्रापका कुरालाई त मान्नैपर्छ भनी चित्त पनि बुझाउँछन् । गोमा बालिका नै भए पनि समझदार रहेकी र भिक्षा माग्नेलाई विलम्ब नगरी भिक्षा दिनुपर्छ भन्ने कुरालाई महसुस गर्दै उनी गल्ती गरेकाले सजाय भोग्न तयार भएको पनि कथामा देखाइएको छ ।

गोमा गर्भवती भएपछि उनका बृद्ध श्रीमान्‌लाई धन कमाउनुपर्ने कुराको बोध हुन्छ । परदेश गएर जोगी बनी माग्छु र केही कमाएर ल्याउँछु, आफ्नो ख्याल गर्नु भन्दै गोमालाई भन्छन् र घर छोड्छन् ।

स्वस्थानी कथाभित्र पात्रहरूलाई छल गर्ने, श्राप दिने र आफ्नो भक्ति गर्न लगाउने अनि पुनः वरदान दिने कुराहरू नै धेरै देखिन्छन् । स्वस्थानी कथाले समाजमा पितृसत्ताको अभ्यास चरम रूपमा थियो भन्ने कुराको पनि सङ्केत गर्दछ ।

परदेशमा फल टिप्न जाँदा गोमाको लोग्नेको रुखबाट लडेर मृत्यु हुन्छ । यी सब कुरा गोमालाई थाहा नै हुँदैन । उनी आफैँ पनि भिक्षा माग्दै दैनिक गुजारा गरिरहेकी हुन्छिन् । सङ्घर्षपूर्ण जीवन यात्रा तय गर्दै उनले राज लक्षणले युक्त छोरो जन्माउँछिन् । एक्लै छोरो हुर्काउने क्रममा उनले अर्काको मेलापर्म, ढिकीजाँतो, धागो कात्नेलगायतका काम गर्दै छोरो नवराजलाई प्रदान गर्नुपर्ने अभिभावकत्व सबै प्रदान गर्छिन् । छोरा पनि ज्ञानी बनेर आमाको पदचिह्नमा हिँड्छन् । नवराजलाई साथीहरूले तिम्रो बाबु खोइ भनेर प्रश्न गर्न थाल्छन् । विनाबाबुको छोरो भन्दै औँला ठड्याउन थाल्छन् । त्यसपछि आमासँग कुरा गरी नवराज बाबुको खोजीमा निस्कन्छन् । उनले बाबुको मृत्यु भइसकेको खबर पाउँछन् । गोमाले गरेको श्री स्वस्थानीको व्रत र तपले आमाछोराको जीवन समृद्ध बन्छ ।

स्वस्थानी कथाभित्रै विष्णुले छल गरेर जालन्धरकी पत्नी वृन्दाको सतीत्व हरण गरेको अर्को उपकथा पनि छ । जालन्धर पार्वतीलाई छल्न कैलाश पुग्छन् । त्यही आवेगमा बदलास्वरूप वृन्दाको सतीत्व डगाउन महादेवले विष्णुलाई सल्लाह दिन्छन् । महादेव आफ्नी पत्नीप्रति दुराशय राख्ने जालन्धरलाई मात्रै सजाय दिएर नपुगेर विष्णुलाई वृन्दाको सतीत्व हरण गर्न अह्राउँछन् । जसरी हुन्छ छल गरेर जोगी बनेर भए पनि विष्णुले वृन्दाको सतीत्व लुटेरै छोड्छन् । त्यसपछि वृन्दाले विष्णुलाई श्राप दिन्छिन् । वृन्दाको श्राप पाएर विष्णुले स्वर्गबाट पृथ्वीमा झर्नुपरेको छ । श्रापित विष्णु पृथ्वीमा तुलसी, पिपल, शालिग्राम, कुश भएर रहेको भन्दै यी वनस्पतिलाई हिन्दु संस्कारमा प्रचलनमा ल्याइन्छ । आयुर्वेदमा यी वनस्पतिमा आयुर्वेदीय गुण रहेको पनि मानिन्छ । श्रापित नै भए पनि विष्णुलाई पूजनीय भगवान् नै मानिन्छ ।

स्वस्थानी कथाभित्र पात्रहरूलाई छल गर्ने, श्राप दिने र आफ्नो भक्ति गर्न लगाउने अनि पुनः वरदान दिने कुराहरू नै धेरै देखिन्छन् । स्वस्थानी कथाले समाजमा पितृसत्ताको अभ्यास चरम रूपमा थियो भन्ने कुराको पनि सङ्केत गर्दछ । यहाँ एक पुरुषले महिला पात्रलाई आफ्नो कल्पनामा भएका सम्पूर्ण चिन्तन प्रस्तुत गरेको प्रष्टै देखिन्छ । यस्ता चिन्तनहरू अव्यावहारिक र अप्राकृतिक पनि छन् ।

स्वस्थानी जस्ता कथाहरूबाट प्रभावित भएर व्यवहारमा समेत लागु गरिएका प्रमुख प्रचलनहरूमा ‘कन्यादान’ पनि एक हो । हालसम्म पनि विवाहको प्रमुख विधिमा कन्यादान पर्दछ । छोरीको कन्यादान गरेपछि बल्ल माइती पक्षले एउटा ठुलो पुण्यको काम गरेको मानिन्छ । कन्यादान भइसकेकी छोरीले पतिको परिवार या पति नै पनि जस्तोसुकै अनमेल, असमझदार, अन्यायी भए पनि सहनुपर्छ भन्ने उक्तिलाई त गोमा र शिव शर्माको बिहेको परिघटनाले पनि पुष्टि गर्दछ । गाँजा भाङ खाएर लट्ठ परेर बस्ने महादेवसँग सतीदेवीको बिहे भएको र त्यसलाई आफ्नो भाग्य भन्दै सहश्र स्वीकार गरेका उदाहरणले नारीले जीवनमा त्याग गर्नुपर्ने कुरालाई स्विकार्छ र सिकाउँछ ।

ब्रह्मा, विष्णु र शिव चाहिँ आफैँ उत्पति भएका कथा छन् । यस्ता कथाले कमला भसिनले भने झैँ सिधै यो एक कल्पनाशील पुरुषले लेखेको कथा भएको जनाउँछन् । कथामा स्त्री जातिलाई भोग्या, पराधीन र पुरुषको कल्पनामा लिन हुनुपर्र्ने व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । यस्ता असमान कुराको विरुद्धमा उठाइएका विवेकसम्मत आवाजलाई पितृसत्ताका पृष्ठपोषकहरूले धर्मविरुद्ध भनेर समेत दबाउँदै आएको पाइन्छ । बुझ्नुपर्ने कुरा के छ भने धार्मिक साहित्यमा भएका यस्ता भेदभावपूर्ण कथनहरूबारे प्रश्न उठाउनु धर्मको विपरीत जानु होइन ।

वर्तमान समयमा त झन् असमान शक्ति सम्बन्धहरूबारे धार्मिक, सांस्कृतिक, पौराणिक साहित्यमा कथा नै लेखिएका रहेछन् भने पनि मानवता र समन्यायका कोणबाट प्रश्न उठाउनै पर्छ । लैङ्गिक समानताका कोणबाट त्यस्ता कथाको अन्तर्वस्तुको चिरफार हुनै पर्छ । धर्म संस्कृतिलाई युगानुकूल पुस्तान्तरण गर्न पनि सम्बन्धित पक्षले ती कथाहरूलाई लैङ्गिक समानताका कोणबाट सकारात्मक बनाउन सक्नुपर्छ । यसमा महिला आफैँ पनि लैङ्गिक विभेदप्रति चनाखो हुँदै समतामुखी सोचका साथ व्यवहारतिर रूपान्तरित हुन सक्नुपर्छ । यसका लागि लैङ्गिकता र धर्मबारे व्यापक रूपमा गहिरो अध्ययन, चिन्तन, विश्लेषण र बहसको खाँचो छ ।

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ असाेज १५ गते, शनिवार