घुम्टो र चुप्पीको सकसमा महिला

Share this :

– मनिका झा

महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–१०, मधवा गाउँका रमाकान्त झाको घरबाहिरको दरबज्जामा हाँसो, ठट्टा र गफसफ दिनभरि चल्छ । विशेषगरी गाउँसमाज, घरपरिवार र कृषि तथा व्यापारका कुराका लागि उहाँको दरबज्जामा सधैँ चहलपहल रहन्छ तर दरबज्जामा बसेका पाहुनाहरूलाई चियानास्ता दिन पर्‍यो भने घरभित्रकी बुहारी दरबज्जामा जान मिल्दैन । घरको भान्सामा बनाइएको चियानास्ता पुरुष सदस्यको माध्यमबाट मात्रै दरबज्जामा पुग्छ ।

रमाकान्तको घरबाहिरको दरबज्जा एउटा उदाहरण हो, जसले पितृसत्ता र पराधीनताले मधेसमा महिलाहरूका लागि बनाइएको छुट्टै संसारलाई दर्साउँछ । एउटा त्यस्तो संसार जहाँ बाहिरबाट हेर्दा सबथोक ठिकैजस्तो देखिन्छ तर भित्रभित्रै समस्याबाट ग्रसित हुन्छ ।

मधेसी महिला ती महिला हुन्, जो मधेसमै जन्मिए, जसले विवाह गरेर मधेसमै घरजम गरे, जसले मधेसीको संस्कृति संस्कार र परम्परालाई अँगाले । नेपाली नागरिकता प्राप्त गरे । मधेशी आयोगद्वारा प्रकाशित ‘नेपालमा मधेशी समुदायको वस्तुस्थिति विवरण’ अनुसार, नेपालमा मधेसी समुदायको उपस्थिति नेपालभरि नै फैलिएको भए पनि सबैभन्दा बाक्लो उपस्थिति मधेश प्रदेश तथा समग्र तराई–मधेश क्षेत्रमा रहेको छ ।

काठमाडौँ उपत्यका, सिन्धुली, मकवानपुर, सुर्खेत, उदयपुर र कास्कीमा पनि मधेशी समुदायको बसोवास छ । मधेशी आयोगको मधेशी समुदायअन्तर्गतका जातहरूको पछिल्लो सूचीअनुसार र राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा मधेसी समुदायको जनसङ्ख्या ७२ लाख ७४ हजार ८८ रहेको छ । यो भनेको नेपालको कुल जनसङ्ख्याको २४.९ प्रतिशत रहेको पनि ‘नेपालमा मधेशी समुदायको वस्तुस्थिति विवरण’ उल्लेख छ । मधेसी समुदायका महिलाहरू ३५ लाखको हाराहारीमा रहेको पनि उक्त तथ्याङ्कले देखाउँछ ।

मधेसमा प्रायजसो ग्रामीण भेगमा घर निर्माण गर्दा दुई वटा ‘आँगन’ राख्ने चलन छ । एउटा घरभित्रै खुल्ने र अर्को ‘दरबज्जा’ वा दलान । भित्री आँगनमा छोरी, बुहारी वा घरका महिला सदस्यहरूको पहुँच भए पनि बाहिरको दरबज्जा, दुरा वा दलानमा महिला सदस्य बस्नुलाई राम्रो मानिँदैन ।

मधेसमा प्रायजसो ग्रामीण भेगमा घर निर्माण गर्दा दुई वटा ‘आँगन’ राख्ने चलन छ । एउटा घरभित्रै भित्र खुल्ने आँगन र अर्को ‘दरबज्जा’ वा दलान । दरबज्जा घरबाहिर हुन्छ । यसरी बनाइएका दुबै आँगन हेर्दा सामान्य लागे पनि यसमा महिलाको उपस्थिति असामान्य हुन्छ । एउटै घरमा भएका आँगनमा समेत महिलाहरूको उपस्थितिलाई वर्जित गरिएको हुन्छ ।

भित्री आँगनमा छोरी, बुहारी वा घरका महिला सदस्यहरूको पहुँच भए पनि बाहिरको दरबज्जा, दुरा वा दलानमा महिला सदस्य बस्नुलाई राम्रो मानिँदैन । त्यहाँ बस्ने अधिकार पुरुष सदस्यहरूलाई मात्र हुन्छ । महिलाले त्यहाँ जानै पर्‍यो भने साँझको अँध्यारो कुर्नुपर्छ र कोही पुरुष नभएको मौका हेर्नुपर्छ । यस खालको बाध्यताले आफ्नै घरभित्र पनि नियम र दायरा बाँधिएका मधेसी समाजमा महिलाहरू अन्य समाजमा भन्दा बढी शोषित र पीडित छन् ।

समयको परिवर्तनसँगै केही घरका आँगनहरू फेरिए पनि नियमहरूमा खासै परिवर्तन आएको छैन । समग्रमा हेर्दा, मधेसका महिलाहरू संस्कृति र संस्कारको सम्पूर्ण भारबाट दबाइएका छन् । त्यहाँ एकातर्फ घुम्टोलाई संस्कारको रूप दिएर महिलालाई मुख छोप्न बाध्य पारिएको हुन्छ भने अर्कोतर्फ महिलालाई घरमा जरुरी सवालमा समेत निर्णयको अधिकार दिइएको हुँदैन ।

मध्यकालीन निरङ्कुश समाजमा शासकको कुदृष्टिबाट छोरीचेलीलाई बचाएर राख्न मुख छोप्ने घुम्टोको चलन चलाइयो तर त्यही घुम्टोलाई अर्को कालखण्डमा संस्कृति र स्वाभिमानको संज्ञा दिएर महिलाहरूको स्वतन्त्रता खोस्ने साधन बनाइयो । समयको विकासक्रमसँगै सामाजिक परिवेशमा परिवर्तन आवश्यक हुन्छ तर मधेस पुरानै ढर्रा र मानसिकतामा अहिलेसम्म बाँचिराख्दा समाजमा महिलाहरूको निर्णयले खासै स्थान पाउनसकेको छैन ।

त्रिभुवन विश्वविद्यालयको इतिहास विषयका उप–प्राध्यापक हिरालाल कर्णको बुझाइमा कुनै समयमा सामाजिक र मानवीय आवश्यकताको आधारमा विकसित संस्कृति समाज विकासको क्रमसँगै ‘अपडेट’ गरिएन भने अर्को कालखण्डमा विकृतिको रूपमा देखिन थाल्छ । जस्तो; घुम्टो वा पर्दाप्रथा । मध्यकालीन निरङ्कुश समाजमा शासकको कुदृष्टिबाट छोरीचेलीहरूलाई बचाएर राख्न मुख छोपेर राख्ने पर्दाप्रथा एक्काइसौं शताब्दीमा समेत जीवन्त रहनु र यसलाई महिलाहरूको स्वतन्त्रता हरणकै लागि प्रयोग गरिनु विकृति हो ।

महिलाको अस्तित्व नै उसको घरपरिवारका पुरुष सदस्यहरूमाथि निर्भर रहने र स्वतन्त्र भएर बाँच्न सक्ने कल्पनासमेत महिलाले गर्न नहुने खालको कडा मानसिकता र मनस्थिति अहिले पनि मधेसी समाजमा व्याप्त छ ।

हुनत मधेसमा अपनाइएका थुप्रै प्रथा र परम्पराका आधारहरू निकै बलिया छन् । घरकै जेठा पुरुष सदस्यहरूले छोरी बुहारीमाथि कुनै प्रकारको गलत नियत नराखून् भन्ने उद्देश्यका साथ जेठाजु, ससुराबुबासँग समदुरी कायम गर्ने नियम बनाइएको थियो तर त्यो नियमलाई पाप र पुण्यसँग जोडेर त्यहाँ पनि महिलालाई प्रताडना गर्ने बाटोको खोजी भयो ।

महिनावारी भएको बेला शारीरिक असहजतालाई ध्यान दिएर छुट्टै बस्ने वा घरको कामकाजमा सक्रिय नहुने व्यवस्था मिलाइयो तर त्यसलाई पनि नकारात्मक दिशामा ‘परिमार्जित’ गरेर महिनावारीलाई ठुलो अपराधको संज्ञा दिएर महिलाहरूसँग अपराधीझैँ व्यवहार गर्न थालियो । यावत् थुप्रै मान्यताहरू यस्ता छन्, जसले महिलाहरूलाई अहिलेको शताब्दीमा समेत पराधीन बनाउनेबाहेक केही हुनसकेको छैन ।

महिलाको अस्तित्व नै उसको घरपरिवारका पुरुष सदस्यहरूमाथि निर्भर रहने र स्वतन्त्र भएर बाँच्न सक्ने कल्पनासमेत महिलाले गर्न नहुने खालको कडा मानसिकता र मनस्थिति अहिले पनि मधेसी समाजमा व्याप्त छ ।

मधेसमा दबिएका, हेपिएका र हिंसा भोगिरहेका महिलाको कल्पना गर्दा प्रायजसो दलित समुदाय वा पछाडि पारिएका समुदायका महिलाहरूको छवि अगाडि आउँछ । तर, यथार्थमा उच्च जातिको भनिने सम्भ्रान्त वर्गका महिलाहरू पनि त्यत्तिकै पीडा र दमनमा छन् । इज्जत, मानसम्मान र परम्पराको नाममा घरभित्रै हिंसा, अपमान, विभेद र प्रताडना भोग्दै आएका तथाकथित उच्चवर्गका महिलाहरूले न त खुलेर बोल्नसकेका छन्, न त विरोध नै गर्नसकेका छन् ।

प्राचीन समयमा नारीहरू पनि पुरुषसरह नै स्वतन्त्र थिए । अधिकारसम्पन्न थिए । पुरुषझैँ तिनीहरूले पनि शिक्षादीक्षा आर्जन गर्न, वैदिक मन्त्रोच्चारण गर्न र ऋचाहरूको रचना गर्न सक्थे । गार्गी र मैत्रेयी यसका उदाहरण हुन् । विदुषी गार्गी र मैत्रेयीले शुक्ल यजुर्वेदको रचना गर्न ऋचाहरूको रचना गरी महर्षी याज्ञवल्क्यलाई दिएको सहयोग यसको उदाहरण हो । मिथिलाका राजा जनककी विदुषी छोरी सीता । अरू पनि थुप्रै उदाहरणीय महिलाहरू भेटिन्छन् ।

विगतमा यस्ता थुप्रै विद्वान् र विदुषी भए जसले परिवार मात्रै नभई समाज र देशकै लागि महत्त्वपूर्ण योगदान दिए । तर, समयको परिवर्तनसँगै महिलाहरू झनै स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी हुनुको साटो विभिन्न संस्कार र संस्कृतिको नाममा उनीहरूलाई पराधीन र बेचारा बनाइए । नेपाली समाज मात्र अपवाद रहने कुरो भएन । यसमा पनि मधेसी महिलाहरू हिंसा, अपमान, विभेद र प्रताडनाका बढी नै सिकार भएका छन् । घुम्टो र चुप्पीको संरचनागत सकस झेलेका प्रतिनिधि पात्रहरूको भोगाइले पनि यसलाई झल्काउँछ ।

बुहारी भएपछि अरूसँग बोल्नै नपाइने : जीवनदेवी झा, गृहिणी

रौतहट जिल्ला, दुर्गा भगवती गाउँपालिका—२, भलोहियाकी जीवनदेवी झा गृहिणी हुनुहुन्छ । २०२४ सालमा जन्मेकी जीवनदेवीको विवाह १४ वर्षको उमेरमा नै भयो ।

भारतको बिहार राज्य, नालंदा जिल्लाको तेल्हाडा गाउँ जन्मथलो रहेको बताउने जीवनदेवीका अनुसार, उहाँको परिवारमा छोरीहरूलाई पढाउने चलन नै थिएन । छोरी भएर जन्मेपछि ऊ अर्काको घरको सम्पत्ति हो, त्यसैले उसको बानीबेहोरा राम्रो र असल हुनुपर्छ भन्ने मानिन्थ्यो । उहाँले भन्नुभयो, “१४ वर्षको उमेरमा बिहे भयो । बिहे भएर घर आउँदा कसैसँग बोल्न नपाउने । सासू र आफ्ना नन्द, जेठानी र घरका महिला सदस्यहरूसँग बोले पनि पुरुषहरूसँग बोल्न, कुराकानी गर्न वर्जित थियो ।”

जीवनदेवीका अनुसार, घर साँघुरो थियो । घरको आँगनमा समेत सबै जना बसेको बेला बुहारी निस्कन नपाउने नियम थियो । दिसापिसाब गर्न खेत जानुपर्थ्यो । घरमा शौचालय थिएन । खेत जाने नियम पनि निकै कडा । बिहान चारैबजे सूर्यको किरण फुट्नुअगावै घरका सासू र नन्दको निगरानीमा बुहारीहरू ‘मैदान’ दिसा बस्न खेतका लागि निस्कनुपर्ने र बिहानीको चहलपहल हुनुभन्दा पहिल्यै घर फर्किनुपर्ने हुन्थ्यो । त्यसपछि एकैपटक राति सात बजेतिर अँध्यारो भएपछि दिसा गर्न जानुपर्ने । त्यसअघि दिसा लाग्यो भने पनि दबाएर, सहेर बस्नुपर्ने ।

घरमा माटोको चुल्हो हुन्थ्यो । परिवार संयुक्त हुन्थ्यो त्यतिबेला । जीवनदेवीको परिवारमा १५ जनाभन्दा बढी सदस्य थिए । सबैका लागि खाना पकाउने जिम्मेवारी बुहारीको हुन्थ्यो । खाना पकाउँदा पनि घुम्टोमै बस्नुपर्थ्यो । साडीमा बेरिएर लामो घुम्टो गरी कसैले जिउ हात नदेखोस् त्यसको खयाल गरेर खाना पकाउन पर्थ्यो । गर्मीको बेला पूरा शरीर पसिनाले लथपथ हुन्थ्यो तर घुम्टो अलिकति पनि माथि गर्ने बुहारीको हिम्मत हुँदैनथ्यो । चुल्हो आँगनछेउमा नै हुन्थ्यो र घरका सबै सदस्य आँगनमा बसेर खान्थे ।

“हामीलाई बजार जाने छुट थिएन । सालमा दशैँको मेला हेर्न वा कुनै विशेष कामले एक–दुई पटक हामी बजार जान्थ्यौँ । त्यो पनि साँझपख वा रात पर्न थालेपछि । घरका सदस्यहरूको विशेष निगरानी हुन्थ्यो त्यहाँ पनि । कसैसँग बुहारीले बोलेको थाहा पायो भने घरमा ताण्डव नै मच्चिन्थ्यो,” जीवनदेवीले विगत खोतल्नुभयो ।

जीवनदेवीका अनुसार, उहाँले आजसम्म आफ्ना जेठानहरूको नाम उच्चारणसमेत गर्नुभएको छैन । उहाँलाई गाउँघरको पूजाआजा र सांस्कृतिक समारोहमा भजन गाउन निकै मन पर्छ । भक्तिगीतहरूमा पनि जेठानको नाम कुनै भगवान्को नामसँग जुध्न गयो भने उहाँ त्यो गीतमा भगवान् नाम फेरेर मात्रै गाउनुहुन्छ । जस्तो; ‘होइहि सोइ जो राम रचि राखा…’ गाउँदा उहाँ ‘होइहि सोइ जो श्याम रचि राखा…’ गाउनुहुन्छ किनभने ‘राम’ उहाँको जेठानको नाम हो ।

घरबाट निस्कनकै लागि सङ्घर्ष गर्नुपर्‍यो : रोहिणी झा, सह-प्राध्यापक

मधेस प्रदेशको राजधानी जनकपुरकी रोहिणी झा पेसाले शिक्षक हुनुहुन्छ । सह–प्राध्यापक रोहिणी महोत्तरी जिल्लाको जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसमा कार्यरत हुनुहुन्छ । रोहिणीका अनुसार, २०३३ सालमा १६ वर्षको उमेरमा उहाँको विवाह भयो । उहाँका श्रीमान् वेदानन्द झा अलि क्रान्तिकारी पर्नुभएछ । त्यसैले दाइजो लिनेदिने काम भएन । तर, त्यसको परिणाम भने उहाँले विवाहलगत्तै भोग्नुभयो । बाबुआमाले दाइजो नदिनु उहाँका लागि अपमान र गालीको कारण बन्यो ।

पतिको घर आएदेखि नै उहाँले ‘यसलाई त केही दिएकै छैन’ भन्ने अपमानजनक वचन सुन्न पर्‍यो । उहाँले भन्नुभयो— घरका सबै सदस्यहरू आफूभन्दा जेठादेखि आफूभन्दा कान्छासम्मले विभिन्न विषयमा अपमानित गरिराख्दासमेत बुहारीले जवाफ फर्काउन पाउँदैनथे । पतिको घरको एक कोठा नै उहाँको पूरा संसार हुन्थ्यो । यतिसम्म कि बारीमा रहेको शौचालय जानुपर्‍यो भने पनि नन्दहरू सँगसँगै जानुपर्थ्यो । अर्काको मुख देख्नै नहुने । कसैसँग बोल्नै नहुने ।

रोहिणीका अनुसार, भन्नाका लागि पढेलेखेका पण्डित र विद्वान्हरूको घर भनिए पनि महिलाको हकमा जति दबाएर राख्न सक्यो त्यति नै सम्मानित भनाउनेहरू थिए । “बाल्यकालदेखि नै छोरी मान्छेले पुरुषहरूसँग कुरा गर्नु हुँदैन । बोल्दा मधुरो स्वर गरेर बोल्नुपर्छ । हाँस्दा स्यानो आवाजमा हाँस्नुपर्छ । बढी चकचक गर्नु हुँदैन । पढ्नु हुँदैन । पढेर गर्छन् के ? आखिर बनाउने रोटी न हो जस्ता कुराहरू सुन्दै हुर्केकी थिएँ,” उहाँले भन्नुभयो ।

रोहिणीलाई लाग्थ्यो पढाइ मात्रै एउटा यस्तो औजार हो जसले सबै खालका अपमान, तिरस्कार र विभेदलाई चिर्न सक्छ । रोहिणी भन्नुहुन्छ- मेरो नाम मेरै नामले चिनियोस् न कि मेरा बुबा, दाइ, भाइ वा श्रीमान्‌काे नामले भन्ने चाहना सुरुदेखि नै थियो । मेरो हजुरआमाले सानो छँदा मलाई ‘छोरीहरू पनि छोरासरह पढाइलेखाइ गरेर आफ्नो खुट्टामा उभिए भने अर्काको अधीनमा बस्नु पर्दैन’ भन्नुहुन्थ्यो । हजुरआमाले कहिल्यै विद्यालयको मुख देख्नुभएको थिएन तर पनि रामायणका सबै चौपाई उहाँलाई कण्ठ थियो । सोही संस्कारले रोहिणीलाई पढाइप्रति आकर्षित गर्‍यो ।

विवाहअघि रोहिणीले एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ पढाइलाई अगाडि बढाउन चाहनुहुन्थ्यो । तर, सासू, नन्द, जेठानीहरू कोहीले पढाइ नगरेको घरमा आफूले पढ्न चाहन्छु भनेर प्रस्ताव राख्नु नै गाह्रो थियो । महिलाहरूको कमाइ खान हुँदैन भन्ने सोचले ग्रसित घरमा महिलाले लेखपढ गरी जागिरे बन्ने सपना देख्नुसमेत अपराध थियो ।

सासू र ससुराबुबासँग निकै अनुनय विनयपछि उहाँले पढ्ने छुट पाउनुभयो । बिहेउपरान्त पनि निरन्तर पढाइ गर्दै गएपछि २०३९ सालमा उहाँले भारतको मिथिला विश्वविद्यालयबाट मनोविज्ञान विषयमा स्नातकोत्तर गर्नुभयो । पहिलो सन्तानलाई गर्भमा राखेर स्नातकोत्तरको परीक्षा दिन जाँदा उहाँलाई सजिलो थिएन । स्नातकोत्तरको परीक्षा दिएको एक महिनापछि नै उहाँले छोरी जन्माउनुभयो ।

मधेसमा छोरीलाई सन्तान स्विकारे पनि वंश बढाउन छोरा नै चाहिन्छ भन्ने मान्यता कायमै छ । छोरी मात्रै सन्तान भएकी महिलालाई कुनै पनि सन्तान जन्माउन नसकेकी महिलालाई जस्तो व्यवहार गरिन्छ । दोस्रो सन्तानको जन्म २०४६ सालमा भयो । दोस्रो सन्तान पनि छोरी नै भएपछि रोहिणीमाथि छोरा पाउनका लागि दबाब दिन थालियो । निर्णय सहज थिएन तर उहाँले अर्को बच्चा नजन्माउने निर्णय गर्नुभयो ।

अहिलेभन्दा ३७ वर्षअघिको माहोल झनै फरक थियो । रोहिणीले भन्नुभयो, “गाउँबाट नजिककै सहरको कलेजमा पढाउन जाँदा दुई जना कामदार अघिपछि लगाइन्थ्यो । कलेजसम्म जाँदा र आउँदा उनीहरूले ममाथि निगरानी राख्थे । त्यो समय निकै असहज थियो । गाउँको सिमानामा पस्नेबित्तिकै घुम्टो हाल्नुपर्थ्यो ।

आफ्नो निर्णयले उहाँ घरपरिवारबाट तिरस्कृत हुन थाल्नुभयो । उहाँका श्रीमान् वेदानन्द झा भन्नुहुन्छ, “मलाई त छोराका लागि अर्को बिहे गर्नुपर्छ भन्नसमेतको दबाब आएको थियो ।” तर, उहाँले पनि दुई छोरीहरू नै आफ्नो लागि पर्याप्त रहेको र उनीहरूलाई राम्रो शिक्षादीक्षा दियो भने छोराले भन्दा राम्रो गरेर देखाउने सोचका साथ रोहिणीको निर्णयको समर्थन गर्नुभयो ।

मधेसमा बुहारी पढेलेखेकी नै भए पनि घरबाहिर निस्कँदा विभिन्न सामाजिक बन्देजहरू व्यापक रूपमा झेल्नुपर्ने हुन्छ । अहिलेभन्दा ३७ वर्षअघिको माहोल झनै फरक थियो । रोहिणीले भन्नुभयो, “गाउँबाट नजिककै सहरको कलेजमा पढाउन जाँदा दुई जना कामदार अघिपछि लगाइन्थ्यो । कलेजसम्म जाँदा र आउँदा उनीहरूले ममाथि निगरानी राख्थे । त्यो समय निकै असहज थियो । गाउँको सिमानामा पस्नेबित्तिकै घुम्टो लिनुपर्थ्यो । सहर गएको बेला कसैले विनाघुम्टो हेरिहाल्यो भने घरमा कुरा लगाउने र ‘तेरो बुहारी बिग्रियो’ भन्नेसमेतका लाञ्छना आउँथ्यो ।”

पढेलेखेर अरूलाई शिक्षित बनाउने अभिभारा सम्हाले पनि आफ्नो घरपरिवारका शिक्षित सदस्यहरूलाई समेत सामान्य अधिकारका कुरा बताउन निकै गाह्रो भएको थियो । वर्षौंदेखि जरा गाडेको पितृसत्तालाई महिलाको स्वर न त मन पर्छ, न त उनीहरू सुन्न चाहन्छन् ।

श्रीमान्‌काे घरमै मर्नू तर विरोध नगर्नू : चाँदनी झा, पत्रकार

बरु श्रीमान्‌काे घरमै मर्नू तर विरोध नगर्नू । जतिसुकै गाली गरे पनि सहेर बस्नू । तिमी छोरी मान्छे छौ । अरूको कुरा सुन्नू । श्रीमान् नै संसार हुन् । उनले जे गर्छन् तिम्रो भलोका लागि नै गर्छन् । त्यसैले उनलाई भगवान् मान्नू ।

चाँदनीले आमा, दिदी र हजुरआमाहरूबाट सानो उमेरदेखि नै यिनै कुरालाई निकै ‘महत्त्वपूर्ण’ हुन् जस्तो गरी सुन्दै र सिक्दै आउनुभयो । २०४८ सालमा महोत्तरी जिल्लाको साबिक खुटापिप्राडी गाविस (हालको लोहरपट्टी नगरपालिकास्थित खुट्टापिपराडी) मा जन्मेकी उहाँ हाल धनुषा जिल्लाको जनकपुरमा बस्नुहुन्छ ।

चाँदनी पेसाले पत्रकार हुनुहुन्छ । सात वर्षदेखि पत्रकारिता पेसामा लागेकी उहाँले हजुरआमा, आमा तथा फुपूहरूलाई कहिल्यै पनि अन्य पुरुषहरूसँग बोलेको समेत देख्नु भएन । उहाँका अनुसार, उहाँको घरमा बाहिरिया पुरुषहरूको प्रवेश थिएन । परिवारका महिलाहरू बाहिर जाने, मेलापातमा घुम्ने वा छरछिमेकीकोमा जानेसमेत चलन थिएन । सुरुदेखि नै ‘पुरुषहरूका अगाडि बोल्नु हुँदैन’, ‘उनीहरूको निर्णय मान्नुपर्छ’ भन्ने खालको कथित संस्कार दिइएको थियो ।

विसं २०६४ मा १६ वर्षकी हुँदा उहाँको बिहे भयो । त्यतिखेर बिहे के हो भन्नेसमेत उहाँलाई थाहा थिएन । तर, कसैको अगाडि बोल्नु हुँदैन भन्ने कुराले भने उहाँको दिमागमा दरोसँग जरा गाडेको थियो । घर आउँदा दाइजोका केही सामानहरू कम भएको रहेछ । त्यसपछि त उहाँको नाम नै रह्यो, ‘बैइमनमा के बेटी’ (बेइमानको छोरी) । बुहारीभन्दा पनि मधेसमा ‘घरको काम गर्ने नोकरानी’ बिहे गरेर ल्याउने गरिन्थ्यो । उमेर जतिसुकै कम भए पनि ऊ सबै काममा परिपक्व हुनुपर्ने ।

“घरमा शौचालय थिएन । बिहान सूर्योदयभन्दा पहिला र बेलुका सूर्य अस्त भएपछि सबै सुतिसकेपछि मात्रै हामी शौच गर्न जान पाउँथ्यौं । शौच दबाउन थालेपछि मैले थुप्रै रोगहरू पाल्नु पर्‍यो,” चाँदनीले तत्कालीन परिस्थितिको खुलासा गर्दै भन्नुभयो, “घरमा कोही आए भने बोल्न नपाउने कडा बन्देज थियो । एक पटक आफूभन्दा निकै कान्छो नातामा नन्द पर्ने छिमेकीसँग मैले उनको भलाकुसारी सोधिहालेँ । मेरो सासूले हेर्नुभयो र राति मेरो श्रीमान्‌लाई ‘तेरो श्रीमती सबैसँग बोल्न थालिछे, हाम्रो इज्जतको ख्याल छैन उसलाई’ भनेर कुरा लगाउनुभयो । यति सुन्नु के थियो मलाई मरणासन्न हुने गरी कुटपिट गरियो ।”

चाँदनीका अनुसार, उहाँको श्रीमान्‌का लागि झापड हान्नु, फोहोर र अश्लील गाली दिनु र तिरस्कृत गर्नु सामान्य कुरा झैँ थियो । १७ वर्षको उमेरमा उहाँले छोरीलाई जन्म दिँदा आफतको पहाड नै खस्यो । छोरी जन्माउने बुहारी ‘कुलक्छिनी’ हुन्छे भन्ने भ्रामक मान्यता छ । त्यसैले घरबाट कसैले हेरेनन् । बाध्य भएर उहाँले छोरीलाई लिएर माइत बस्नुपर्‍यो ।

माइतमा पनि उहाँमाथि नै दोष लगाइयो । “यसैले घर सम्हाल्न सकिन होला’, ‘सहेर बसिन होला,’ ‘मानसम्मानको ख्याल गरिन होला’ इत्यादि, इत्यादि आरोप उहाँमाथि लगाइयो । निकै अपमानित भएर पनि उहाँ पटक पटक घर गइराख्नुभयो । “२२ वर्षको उमेरमा अर्को सन्तानको रूपमा छोरा पाएँ तर श्रीमान्‌ले सबैको अगाडि नै ‘यो छोरा मेरो होइन’ भन्नुभयो । त्यसपछि मेरो हिम्मतले जवाफ दियो । मैले सम्बन्धलाई समाप्त पार्ने निधो गरेँ,” उहाँले भन्नुभयो ।

चाँदनीका लागि त्यसपछिका दिनहरू झन् पीडादायी भए । “श्रीमान्‌सँग छुट्टिएर बस्ने महिलालाई मधेसमा न त घरले स्विकार्छ न त समाजले नै । श्रीमान् जस्तोसुकै भए पनि, उसले जतिसुकै दुःख दिए पनि उसैसँग बस्नुपर्ने र जीवन बिताउनुपर्ने मान्यता छ यहाँ,” आफूमाथि भएको समाजको कठोर रवैयाका बारेमा उहाँले भन्नुभयो, “मैले त्यो मानिनँ र तलाक लिएर छुट्टिएँ । तर, तलाक भएकी महिलालाई समाजले अशुभ, चरित्रहीन, कुलक्षिण जस्ता थुप्रै अलङ्कारहरू भिराउँदा रहेछन् ।”

जे जस्ता लाञ्छना सुन्नु र दुर्व्यवहारहरू भोग्नुपरे पनि चाँदनी आफ्नो निर्णयमा अडिग रहनुभयो । उहाँको अनुभवपूर्ण ठम्याइ छ, “हाम्रो मधेसी समाजले घुम्टोभित्रै महिला निस्सासिएर मरोस् भन्ने सोच राख्छ । तर, घुम्टो छोडेर आफ्नो सम्मानका साथ बाँच्न खोज्नेलाई तिरस्कार, अपमान र घृणा सहन बाध्य बनाइन्छ ।”

महिलाको अस्तित्व : आशीर्वाद, गीत, सङ्गीतमा समेत अस्वीकार

मधेसमा अविवाहित छोरीहरूले आफूभन्दा ज्येष्ठ जनलाई ढोग्दा आशीर्वाद दिइन्छ– ‘निक घरबर हुए’ (राम्रो घर र श्रीमान् पाउनू) । यसैगरी विवाहित छोरीबुहारीलाई आशीर्वाद दिनुपर्‍यो भने भनिन्छ– ‘सदा सोहागवती रहू, पुत्रवती रहू, माँगे, कोखे जुरायल रहू’ (सधैँ विवाहित रहनू, छोरा पाउनू, सिन्दुर सजिरहोस्, बच्चा पाइराख्नू) । यी आशीर्वादहरूमा कहिँ पनि छोरी, बुहारी वा महिलालाई तिमी आफ्नो विवेकका साथ स्वतन्त्रताले बाँच्नू, तिम्रो करिअर बनाउनू वा तिमी ठुलो मान्छे बन्नू भनेर भनिँदैन ।

मधेसमा यस्ता थुप्रै पर्व, व्रत, त्यौहार र उत्सवहरू मनाइन्छन् जसलाई मनाउने त महिलाहरू हुन्छन् तर ती पुरुषका लागि राम्रो होस् भनेर मनाइन्छन् । मधेसमा गाइने सुख र उल्लासका गीतहरूमा समेत महिलाको अस्तित्वलाई अस्वीकार गरिएको हुन्छ ।

महिलाको जन्म बिहे गर्न, गृहस्थी जमाउन र बालबच्चा जन्माउनकै लागि भएको भन्ने कुरा मधेसमा दिइने आशीर्वादहरूले समेत प्रस्ट्याउँछ । आशीर्वाद मात्रै कहाँ ? यहाँ त गीत सङ्गीतमा समेत महिलाहरूले कुनै आशिष र शुभकामना पाउँदैनन् । तिनमा सबै आशिष र सबै खालका शुभकामनाका पात्र पुरुषहरूलाई मात्रै बनाइएको हुन्छ ।

मधेसमा यस्ता थुप्रै पर्व, व्रत, त्यौहार र उत्सवहरू मनाइन्छन् जसलाई मनाउने त महिलाहरू हुन्छन् तर ती पुरुषका लागि राम्रो होस् भनेर मनाइन्छन् । मधेसमा गाइने सुख र उल्लासका गीतहरूमा समेत महिलाको अस्तित्वलाई अस्वीकार गरिएको हुन्छ । जस्तो–
‘मागैछि हम वरदान हे छठिमैया,
अपना लेल माँगब सिरके सिन्दुरबा,
अपना ला माँगब गोदीके बालकबा,
नैहराला माँगब भाइ भतिजा,
ससुराला माँगब देवर भैसुर’

मैथिली भाषामा रचिएको यस गीतको अर्थ हो– हे छठ माता ! म तपाईंसँग वरदान माग्न चाहन्छु, म आफ्नो लागि शिरको सिन्दूर माग्छु र काखमा बालक माग्छु, माइतका लागि भाइ र भतिजा माग्छु र ससुरालीको लागि देवर र जेठान माग्छु ।

छठ व्रतका बेला मधेसमा सुनिने अधिकांश गीतहरूमा छोरी सन्तानको चर्चा कहिँ कतै गरिएको पाइँदैन । हुन त व्रत बस्नेहरू महिला नै हुन्छन् तर उनीहरूले घरका पुरुषहरूको भलो, दीर्घायु, प्रगति र पुरुष सन्तानको जन्मकै लागि मात्रै अनुनय विनय गर्छन् । मधेसमा छोरा जन्मिँदा सोहर र खेलौना (खुसहालीका गीत) गाउने गरिन्छ । तर, छोरी जन्मिँदा ती गीतहरू गाइँदैनन् ।

‘भैया घरमे ललनमा भेलै, कँगनामा माँग चलु गे दाई ।’ मैथिली भाषामा रचिएको यस गीतको अर्थ हो— दाइको घरमा छोरा भयो, कँगना लिन जाम है छोरीचेलीहरू ! यस्ता गीत दिदीबहिनीले छोराछोरी जन्माएको अवसरमा दाजुभाइले पनि त्यसरी नै खुसी भएर गाउन सक्ने गरी बन्न र गाउन सक्थे तर त्यस्तो पाइँदैन ।

“महिलाहरूलाई अगाडि बढ्नै नदिन थुपै्र व्यवस्थाहरू गरिएका छन् । संस्कार र संस्कृतिको पर्खालले महिलालाई छेकेर राखिएको छ । त्यो पर्खाल भत्काउन अझै थुप्रै वर्ष लाग्नेछ मधेसमा,” लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेतृ तथा मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले भन्न्नुभयो, “महिलाका लागि बनाइएका नियमका जन्जिरहरू सहजै उखेलेर फाल्न सकिँदैन तर परिवर्तन बिस्तारै हुन्छ ।”

पछिल्लो अवस्था

राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा पाँच वर्ष र सोभन्दा माथिको उमेरका जनसङ्ख्याको साक्षरता दर ७६.२ प्रतिशत छ । मधेस प्रदेशमा यो दर ६३.५ प्रतिशत छ । ७२.५ प्रतिशत पुरुष साक्षर छन् भने महिलाहरू ५४.७ प्रतिशत मात्र साक्षर छन् । अपाङ्गता भएका व्यक्तिहरूको बिचमा पनि महिला र पुरुषहरूको साक्षरता दरमा ठुलो भिन्नता देखिन्छ । महिलाहरूको साक्षरता केवल ३१.२ प्रतिशत छ जबकि अपाङ्गता भएका पुरुषहरूको साक्षरतादर ५०.६ प्रतिशत रहेको छ ।

राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार, मधेस प्रदेशमा जम्मा परिवार सङ्ख्याको १२ प्रतिशत परिवारमा मात्र महिलाको नाममा घर र जग्गा दुबै रहेको देखिएको छ । मधेस प्रदेशमा मातृमृत्यु दर नेपालको सरदर (प्रति एक लाखमा एक जना) भन्दा बढी प्रति एक लाखमा १४० जना रहेको छ ।

मधेस सरकारले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ कार्यान्वयनमा ल्यायो भने राष्ट्रियरूपमा पनि विभिन्न कानुनी प्रावधानहरू राखिए । ती प्रावधानसँगै महिला सशक्तीकरणका क्षेत्रमा काम गर्न सहयोग पुग्ने आशा गरियो । त्यसैगरी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवद्र्धनका लागि “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि, २०७८” ल्याइयो । यद्यपि, भ्रष्टाचार तथा अनियमितताका विभिन्न घटनाले गर्दा यो अभियान कार्यक्रम बन्द जस्तै हुन गयो ।

अबको बाटो

राष्ट्रिय योजना अयोगकी पूर्व सदस्य उषा झाको भनाइमा मधेसमा महिला विकासको लागि महिला सशक्तीकरणको अवधारणामा परिमार्जन आवश्यक छ । “एकबद्ध गाउँको सोच, जहाँ सबै जना शिक्षित र सुरक्षित होस् र व्यक्ति, परिवार, समाज र गाउँको बिचमा सम्मानसहितको सुमधुर सम्बन्धको विकास होस्,” उहाँले भन्नुभयो ।

उषाका अनुसार, अब महिला मात्र होइन अभिमुखीकरण र जागरणमा परिवारको सहभागिता आवश्यक छ र सबैले सबैको कर्तव्य तथा जिम्मेवारी बुझ्ने र त्यसअनुसार अर्कोलाई सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सोचको विकासको आवश्यकता छ ।

मधेसमा महिलाहरू शैक्षिक र आर्थिकरूपमा सशक्त हुनु नै अबको बाटो रहेको रन्जु कुमारी ठाकुरले बताउनुभयो । २०८२ भदौ २७ गते विघटित प्रतिनिधिसभाका सदस्य रहेकी रन्जुले भन्नुभयो, “मधेसमा महिलाहरू राजनीतिक रूपमा, सामाजिक रूपमा र विभिन्न क्षेत्रहरूमा थोरबहुत सशक्त भएका छन् तर पनि घरपरिवारकै असहयोग, समाजमा महिलाको अस्तित्वलाई नै अस्वीकार गर्ने प्रवृत्तिले गर्दा समस्या आएको हो ।” यसको उपाय महिलाको शिक्षा अभिवृद्धि गर्नु मात्रै रहेको उहाँको भनाइ थियो ।

‘घुम्टो र चुप्पीको सकसमा महिला’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत मनिका झाले तयार गर्नुभएको हो ।

प्रकाशन मिति : २०८२ चैत्र १२ गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :