चोरी विवाहमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइ

Share this :

– सुशीला तामाङ

चोरी विवाहको प्रचलनमा बाँधिएका तामाङ महिलाका जीवनभोगाइहरू अभिलिखित भइसकेका छैनन् । समुदायमा छरिएर रहेका जल्दाबल्दा तर ओझेलमै पारिएका महिलाका वैवाहिक प्रसङ्गसँगै सुरु भएका जीवनका तीतामीठा अनुभवहरूसँगै जल्दाबल्दा केही प्रश्नहरू पनि जोडिएका हुन्छन् । तिनको जवाफ खोज्दै जाने लक्ष्यका साथ चोरी विवाहको सिकार हुन पुगेका विशेष गरी काभ्रेपलाञ्चोक जिल्लाका केही महिलाको अलिखित तर जीवन्त कथाको सारलाई यस आलेखमा समेट्ने प्रयास गरिएको छ ।

नेपालको तेस्रो ठुलो आदिवासी जनजाति समुदायभित्र पर्ने तामाङ जातिको कुल जनसङ्ख्या राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ लाख ३९ हजार ८६६ रहेको छ । यो देशको कुल जनसङ्ख्याको ५.६२ प्रतिशत हो । जनगणनाअनुसार, तामाड महिलाको जनसङ्ख्या आठ लाख ३९ हजार १०३ रहेको छ । तामाङ समुदायको बसोबासको बाहुल्य रहेका काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक जस्ता जिल्लामा विसंको २०२० देखि २०३० को दशकसम्म चोरी विवाह अत्यधिक प्रचलनमा रहेको थियो । त्यसपछि विसंको २०४० देखि बिस्तारै हराउँदै गएर २०५० को दशकको मध्यतिरसम्म मात्र चोरी विवाहको संस्कार प्रचलनमा रहेको मानिन्छ । यद्यपि, प्रस्तुत आलेखको सामग्री सङ्कलनका क्रममा खोजी पस्दा काभ्रेपलाञ्चोकको तामाङ समुदायमा २०६० को दशकको आधाआधीसम्म नै चोरी विवाह प्रचलनमा रहेको पाइयो ।

तामाङ समुदायमा चोरी विवाहका अतिरिक्त कामखाने विवाह, मागी विवाह, प्रेम विवाह, जारी विवाह, विधवा विवाह, अन्तरजातीय विवाह, पेटकाटी विवाह जस्ता विवाहका विभिन्न प्रकारहरू प्रचलनमा रहेको पाइन्छ । चोरी विवाहलाई तामाङ समुदायले संस्कारकै रूपमा लिएको पनि पाइन्छ । यसलाई तानेर लैजाने (डुइसी बोर्बा) विवाहका रूपमा पनि चिनिन्छ ।

केही लेखक तथा अध्येताहरूले चोरी विवाहको परम्परागत परिभाषाभन्दा अलिकति माथि उठेर यसलाई महिलाको राजी वा बिराजी अवस्थाको अर्थात् महिलाका लागि स्वीकार्य कि अस्वीकार्य भन्ने पाटोमा विश्लेषण पनि गरेका छन् । तिनमा केटाले तानेर घरमा भित्र््याएकी महिला बिराजी भएमा अर्थात् महिलाले अस्वीकार गरेमा स–सम्मान फिर्ता गर्ने प्रचलन रहेको भन्ने पनि छ । तर, व्यवहारमा लैङ्गिक दृष्टिकोणबाट महिलाको स्वेच्छा र अधिकार पक्षलाई कतिपय घटनामा बेवास्ता गरिएको पनि पाइयो ।

विभिन्न परिबन्दमा पारी तानेरै घरभित्र हुलिएका महिलाहरू श्रीमती, भाउजू, बुहारी आदि नाताले चिनिन थाल्छन् । पछि उनीहरू आमा पनि हुन्छन् । त्यस्ता महिलाले केटाको गाउँमा सँगसँगै मेलापात गर्दा, घाँस दाउरा गर्न जाँदाआउँदा आफूलाई जस्तै गरी तानेर ल्याइएका अरू महिलालाई पनि भेट्ने र अग्रज महिलाका कुरा सुन्ने गर्थे । आपसमा मन मिल्दै गएपछि आफ्ना मनका कुरा पनि सुनाउन पाउँथे । चोरी विवाहमा परेपछि महिलाले आपसमा सुनाएका ती कथाका विषयमा प्रायः उनीहरूका टुटेका सपना, छुटेका रहर र मेटिएका स्कुल जाने पाइलाहरू रहेका हुन्थे ।

महिलाहरूको व्यक्तिगत कथा र सतर्कतामा राजी र बिराजीको छनोटभन्दा पनि सामाजिक नियम र पारिवारिक बन्धनका डोरीहरूले आफूलाई बेस्सरी कसिएको बताउँथे । लेख्नेपढ्ने उमेरमा इच्छाविपरीत एक्कासि कसैको श्रीमती, कसैको भाउजू र बुहारी भएर केटाको घरमा रहनुपर्दा ती महिलाको मनस्थिति कत्तिको द्वन्द्वमा फस्न पुग्यो होला ? महिलाको स्वीकार्यता र अस्वीकार्यता बुझ्ने काममा परिवार र समाजको भूमिका कस्तो रह्यो होला ? के महिलाले पनि चोरी विवाहलाई संस्कारकै रूपमा सजिलै स्वीकार गर्न सके होलान् त ? आलेखमा यिनै प्रश्नलाई लिएर चोरी विवाहको सन्दर्भमा महिलाको दृष्टिकोणबाट हेर्न खोजिएको छ ।

अभिलेखीकरण भएका कागजातहरूमा महिलाका अनुभव र अनुभूतिलाई ओझेल पार्दै चोरी विवाहलाई संस्कारकै रूपमा सतही ढङ्गबाट परिभाषित गरिएको पाइन्छ । त्यसैले इच्छाविपरीत जबर्जस्ती तानिएको घरमा भित्रिएर लाचार अवस्थामा अरूको श्रीमती, भाउजू, बुहारी भएका र पछि आमासमेत बनेर त्यही घरमा जिन्दगी काटिरहेका महिलाका जीवनभोगाइलाई खोजेर यहाँ प्रस्तुत गरिएको छ ।

परिबन्दमा परेपछि जसले चोरी विवाह स्वीकार गरे

विभिन्न परिस्थितिमा विसंको २०३० देखि २०६० को दशकसम्ममा जबर्जस्ती तानेर केटाको घरमा भित्रिएर चोरी विवाहलाई संस्कारका रूपमा स्वीकार गरी पारिवारिक जीवन अगाडि बढाएका महिलाहरूसँग विभिन्न चरणमा प्रत्यक्ष भेटेर कुराकानी गरिएको थियो । त्यसमध्ये यहाँ मीना लामा, डोल्मारानी तामाङ, तारा तामाङ, रोस्मिता तामाङ र शर्मिला तामाङका भोगाइ र अनुभूतिलाई उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । यी चोरी विवाहमा परेका महिलाका प्रतिनिधि कथा पनि हुन् । उहाँहरूको भनाइमा चोरी विवाहको समय, अवस्था, प्रक्रिया, प्रभावका साथै सो काममा मुख्यतः कसको भूमिका बलवान् रह्यो भन्ने कुरा पनि देखिने र बुझिने गरी नै आएका छन् ।

सपना जस्तो पो लाग्यो, म त छक्कै परेँ : मीना लामा

भोजपुर फालिकोट साम्पाङ मजुवामा २०१६ सालमा मेरो जन्म भयो । राणाशासनको बेला जङ्गलमा गएका तामाङ, शेर्पाका राम्रा तरुनीहरूलाई चउरमा बस्दा पनि माथिबाट चीलजस्तो आएर छानी छानी टिपेर लैजान्थे रे ! त्यतिबेला ठिटाहरूले तानेर लैजाला भन्ने पीर त छँदैथियो, दरबारमा लैजाला भन्ने पनि अर्को डर थियो रे ! मेरो आमालाई चाहिँ बाजेबजूले छोप्दाछोप्दा सानै उमेरमा बिहे गरेर जोगाउनुभएछ ।

हलेसी बजार भर्न जाँदा खोलापारिको केटामान्छेले खोलावारिको र खोलावारिकोले पारिको केटीमान्छेलाई तान्ने चलन नै थियो रे ! राम्री देखेपछि सानै केटी होस् या बच्चाकै आमा होस्, जे भए पनि चिलले कुखुरा तानेर लगेको जस्तो गरी लगिहाल्ने रे ! मैले थाहा पाउँदासम्ममा हाम्रो साम्पाङ मजुवामा चाहिँ बाहिरका मान्छे आएर तान्ने चलन थिएन । आफ्नै गाउँमा जोगिएर के गर्नु ? पछि अरूको ठाउँमा बसाइँ सरेर गएको । त्यहाँ गएपछि मैले पनि उही चोरी बिहे नै गर्नुपर्‍यो ।

मेरो पनि २०३१ सालमा धादिङको केटासँग चोरी बिहे भयो । बुबाहरू धरानमा बसाइँ सर्नुभएपछि आसु (सानीआमा) को घरमा जाँदा मेरो जबर्जस्ती नै बिहे भयो ।

मेरो पनि २०३१ सालमा धादिङको केटासँग चोरी बिहे भयो । बुबाहरू धरानमा बसाइँ सर्नुभएपछि आसु (सानीआमा) को घरमा जाँदा मेरो जबर्जस्ती नै बिहे भयो । सानीमाको धरान धनकुटा रोडमा होटेल थियो । त्यतिबेला मेरो श्रीमान् हुने केटा चाहिँ त्यो रोड बनाउने ठेकेदार हुनुहुँदो रहेछ । सानीमाको होटलमा आउजाउ गर्दा उहाँले मलाई देख्नुभएको रहेछ । मेरो दाजु ठेकेदार नै भएकाले घरमा पनि कहिलेकाहीँ साथीको रूपमा उहाँलाई ल्याउनुहुन्थ्यो । त्यसरी देखे पनि खासै कुराकानी त भएको थिएन ।

केटा सोझो र इमान्दार भएर दाजुले पनि मन पराउनुभएको रहेछ । आमाबुबालाई सोध्दा केटा टाढा कहाँ कहाँको भनेर मारिहाल्ला भनेर मेरो चोरी बिहे गरिदिने योजना बनाउनुभएछ । सानीमाको होटेलका लागि चाहिने रक्सी आमाले गाउँतिरबाट ठेक्का लिएर ल्याएर घरमा राख्नुहुन्थ्यो । एक दिन त्यसरी रक्सी लिनलाई आउँदा सानीमाले आफूलाई सञ्चो छैन भनी मलाई रक्सी बोकाएर लान खोज्नुभयो र यो कुरा आमालाई भन्नुभयो ।

रक्सी धेरै पनि थिएन । पाँच पाँच लिटरका दुइटा जर्किन थिए । अरू बेला त उहाँले तीन चार वटा जर्किन पनि आफैँ बोकेर जानुहुन्थ्यो । त्यो दिन आमाले पठाउन नमाने पनि भोलि बिहानै पठाइदिन्छु भनेर सानीमाले मलाई सँगै लिएर जानुभयो । साउनको दिनमा पानी पनि झमझम नै परिरहेको थियो । दाँत दुखिरहेको र बेलुका खाना खाइसकेकोले म त सुतिसकेकी थिएँ । सानीमाले पेट दुखेको बहाना गरेर मलाई ट्वाइलेट जाऊँ भन्नुभयो । त्यसपछि हामी सानीमाछोरी नै टर्च बोकेर बाहिर निस्क्यौँ ।

ट्वाइलेट जाने भनेर मलाई लिएर हिँडेको मान्छे त, ठेकेदारको डेरातिर पो लैजानुभयो । म घुम ओढेर टुसुक्क बसिरहेकी थिएँ । उहाँले मलाई तर्साउँछ भनेर पो डर देखाउनुभयो । गएर ढोकामा उभिइरहेँ । केही छिनपछि बल्ल बल्ल सानीमा उठ्नुभयो र मलाई हुत्ताएर खाटमा थच्याक्कै बसाएर उहाँ त फुत्त निस्केर जानुभयो । उहाँ नबोलिकन खुइँका खुइँ हिँड्नुभयो । आमालाई भन्छु भनेर म रातभरी कराएँ । केटाले रातभरी नै बोल्दा नि बोलेन, छोड्दा पनि छोडेन ।

त्यतिबेलासम्म मलाई मेरो बिहे गर्न लागेको भनेर थाहा पत्तो थिएन । त्यतिकै रात बित्यो । बिहानै उठ्नेबित्तिकै सानीमाको पसलमा नै गएँ । ‘अर्काको घरमा रातभरि बसेर आउने । तँलाई लाज नभएको । अब आमाले मार्नुहुन्छ । फेरि फर्केर गयो भने रातभर केटासँग रात बिताएर आयो भनेर मान्छेले नराम्रो भन्छन्’ भनेर बेस्सरी गाली गरेर आफ्नो घर जानै दिनु भएन । मलाई त सपना जस्तो पो लाग्यो । १४ वर्षको मान्छे, न पढेलेखेको छ, न बाहिर संसार बुझेको छ म त छक्कै परेँ ।

सानीमाले त अब यहीसँग बस्नुपर्छ भनेर फेरि त्यहीँ लगेर राखिदिनुभयो । एक हप्तासम्म त्यतिकै त्यहीँ बसेँ । घर फर्केर गएँ भने बाउआमाले कुटेर मार्नुहुन्छ भन्ने डर पनि भयो । दुई तीन दिनपछि चोरको स्वर लानलाई सानीमाले नै व्यवस्था मिलाउनुपर्छ भनेर दाइ कुरा गर्न आउनुभएको रहेछ । चोरको स्वर लाने भनेको चोरी विवाह गरेको बेला केटाको तिरबाट गर्ने एउटा चलन हो । पछि पो दाजुलाई पनि सबै थाहा रहेको कुरा सानीमाले भन्नुभयो ।

एक हप्ता त मलाई तनाव भयो । रोडमा विभिन्न खालको मान्छे हुन्थे । सबै मान्छे र रमिता हेरेर दिनभरि बस्थेँ । उहाँले जे भनेको त्यही खान दिनुहुन्थ्यो, लगाउन दिनुहुन्थ्यो । बुहारी जस्तो भएर बस्नै परेन । एक हप्ता पछाडि सानीमाले चोरको स्वरका लागि सबै व्यवस्था गर्नुभयो । सानी केटी चोरेर लैजानेलाई समाएर कारबाही गर्नुपर्छ भनेर पुलिसहरू घर छेउमै कुरेर बसेका रहेछन् । त्यहाँ केटाको बोल्ने मान्छे कोही थिएनन् ।

पुलिसले केटालाई थुन्ने नै भएपछि आफैँलाई माया लाग्यो । पुलिसहरूले सोध्न थाले । त्यसपछि मैले केटालाई जोगाउन ‘होइन, म आफ्नै खुसीले राजी भएर गएकी हुँ’ भनेँ । मैले त्यति नभनेको भए मारामारमा केटालाई कुटेरै मार्थे होला । नभए पुलिसले समाउँथे होला । त्यहाँ मारामार भएको देखेपछि मलाई डर लाग्यो । मैले सानीमाको नाम लिएको भए उहाँलाई पनि पुलिसले समाउँथे । हुन त आमाबाउले सानीमालाई नै दोष दिनुभयो । तैपनि सानीमाले गल्ती स्विकार्नु भएन । मेरो आमाका दिदीबहिनीको छ महिनासम्म बोलचाल भएन ।

मैले आफ्नै खुसीले गएको भनेपछि झन् सानीमा नै माथि पर्नुभयो । आमालाई १२० रुपैयाँ पैसा र बाख्रा अनि बाउलाई सगुन राखेर चोरको स्वर बुझायौँ । बिहे गरेको झन्डै आठ वर्षपछि मात्र म डेढ वर्षकी छोरी बोकेर धादिङको घरमा गएँ । घरमा भित्रिएपछि मात्र मलाई बिहे गरेको महसुस भयो । ‘उहाँ (श्रीमान्) ले त सधैँ माया गर्नुभयो । २०६४ सालमा सडक दुर्घटनामा परेपछि उहाँले सधैँका लागि छोडेर जानुभयो ।

अरूले हात हालिसकेको ज्यान भन्ने भयो : डोल्मारानी तामाङ

मेरो जन्म २०१४ सालमा काभ्रेपलाञ्चोक जिल्लाको चिसापानी भन्ने ठाउँमा भयो । २०४२ सालतिरको माघ महिनामा मलाई जबर्जस्ती तानेर राखे । २०२९ सालको फागुनमा राम्रैसँग मेरो पहिलो बिहे भएको थियो । १० वर्षसम्म ‘जायजन्म’ केही नभएपछि माइती आएर बसेँ । उता श्रीमान्‌ले छोडपत्र गरेर अर्को बिहे गरिसकेका थिए ।

म माइतीमा बसेको दुई–तीन वर्ष नै हुन लागेको थियो । माइती गाउँकै अर्को कुटुम्ब केटाले मन पराएर आफ्नो बुबा लिएर मलाई माग्न आए । मेरो बुबाले दिनु भएन । मलाई पनि अर्को बिहे गर्ने मन थिएन । केटाले बिहे गरौँ भनेर फकायो पनि तर पनि मानिनँ । त्यसपछि केटाले तानेर लैजाने बन्दोबस्त गरेछन् । केटाको बहिनीले खर काट्नलाई खेताला बोलाएकी थिइन् । खर काटेर सकेपछि खाजा खानलाई घरै जाऊँ भनिन् । निकै कर गरेपछि म खाजा खानलाई घरमा गएँ । खाजा खाइवरी सबैजनासँग म पनि घर फर्कन लागेँ ।

केटाकी बहिनीले अर्को घरमा फोटो देखाउने बहानामा मलाई फेरि उतै पुर्‍याइन् । उनले निकै आलटाल गरी घर जानलाई नदिने जस्तो देखिएपछि मलाई शङ्का लाग्यो । त्यसपछि म जसोतसो बाहिर फुत्त निस्केर घरतिर जानलाई ओरालोतिर दौडिएँ । ओरालोमा त केटाले च्याप्पै मेरो हातमा समाइहाल्यो । त्यसपछि अर्को पनि आएर लछारपछार गर्दै उसैको घरतिर पो लैजान थाल्यो । रुँदै दुबैलाई पन्छाएर फुत्किन मात्र के खोजेकी थिएँ, फेरि अर्को केटा आएर समाइहाल्यो ।

पछि बाउआमा के भयो भनेर सोध्न त आउनुभयो नि ! अब अरूले हात हालिसकेको ज्यान माइतीमा कसरी फर्केर जाऊँ भन्ने भयो । एक दिन, एक महिना, एक वर्ष हुँदै जिन्दगी यही घरमा बित्यो ।

तीनजना मिलेर मलाई केटाको घरमा पुर्‍याएर टीका लगाएर भित्र्याइहाले । त्यही छिमेकमा मेरी बहिनीको घर थियो । आफ्नो इज्जतमाथि दाग लागेको ठानेर म रुँदै बसेँ । बहिनी आएर उनीहरूसँग कराउँदै उनैको घरमा मलाई लगेर राखिन् । भोेलिपल्ट बिहान बाउआमाकै घर जान्छु भनेर निस्केकी थिएँ, फेरि केटा मलाई लिन टुप्लुक्कै आइपुगेछ । नहाल्नु हात हालिहाल्यो भन्ने भयो । दुई चार दिन नभए दुई चार महिना बस्नू, त्यसपछि आफूलाई मनपर्ने कुनै मान्छे भेटे उतै बिहे गर्न बहिनीले भनिन् । त्यसपछि लुरुलुरु उसैको पछि लागेँ ।

पछि बाउआमा के भयो भनेर सोध्न त आउनुभयो नि ! अब अरूले हात हालिसकेको ज्यान माइतीमा कसरी फर्केर जाऊँ भन्ने भयो । एक दिन, एक महिना, एक वर्ष हुँदै जिन्दगी यही घरमा बित्यो । यता आएर दुई छोरी जन्मेका थिए । एउटीलाई भगवान्‌ले लगे । अर्कीले आफ्नै घरजम गरी बसेकी छन् । उनले पनि सधैँका लागि छोडेर गइसके । अहिले एक्लै छु । बाँचुन्जेल त गरिखानु परिहाल्यो ।

श्रीमतीको भूमिका निभाउन निकै समय लाग्यो : तारा तामाङ

काभ्रेपलाञ्चोक जिल्लाको डाँडाखर्क भन्ने ठाउँमा २०३४ सालमा मेरो जन्म भयो । २०४९ सालको भदौ महिनामा म दिदीको घरबाट हिँडेर घर फर्कंदै थिएँ । हिँडेर घर पुग्न एक डेढ घण्टाको बाटो थियो । त्यो दिन तीन/चार बजे घर फर्किन भनेर दिदीले अलिकति परसम्म पुर्‍याउन आउनुभएको थियो ।

दिदीको घरबाट निस्केको केहीबेरमै ठुलो पानी पर्‍यो । त्यसपछि हामी नजिकैको फुपूको घरमा बस्यौँ । बस्दै गर्दा त्यहाँ एकपछि अर्को गर्दै केटामान्छेहरू जम्मा हुन थाले । फुपूलाई शङ्का लागेपछि तुरुन्त मलाई घरमा लगेर राख्न दिदीलाई भन्नुभयो । त्यतिबेला साँझ छ/सात नै बजेको थियो होला । हामी दुई दिदीबहिनी निस्केर घरतिर छिटो छिटो लाग्यौँ । अलिकति पर खोल्सामा सबैले बाटो छेकेर बसेका रहेछन् । मलाई केटाले हात हालेपछि भिडले घिसार्दै लगेर केटाको घरमा भित्र्याए । दिदीकै देवर पर्नेले मलाई जबर्जस्ती तानेर उसको घरमा भित्र्यायो ।

दिदी आफ्नै घरमा जानुभएछ । रुँदै त्यो रात बित्यो । भोलिपल्ट अर्को घरको सासू पर्नेसँग मेरो कुरा भयो । उहाँलाई पनि त्यसरी नै आफ्नै फुपूको छोराले तानेर ल्याएको रहेछ । आफ्नो कुरा सम्झँदै उहाँले मलाई घर गरी खान सम्झाइबुझाइ गर्नुभयो । पर्सिपल्ट मलाई खोज्दै आमा आउनुभयो । त्यतिबेलासम्ममा छिमेकीहरू र घरकै मान्छेहरूले मलाई ‘माइतीपक्ष आउँदा ‘राजी’ भन्नुपर्छ, त्यसो नभने आमाले मार्नुहुन्छ’ भनेर फकाइसकेका थिए ।

मैले आमालाई देख्नेबित्तिकै रुँदै सबै कुरा भनेर सँगै घर फर्कन्छु भनेँ । ‘अब अरूको घरमा बास बसिसक्यौ, त्यसो भनेर हुँदैन’ भनेर आमाले उल्टै मलाई सम्झाएर पो जानुभो । बुबाले त मलाई घरमै ल्याउनू भन्नुभएको थियो रे ! आमाले मलाई त्यहीँ छोडेर जानुभयो । त्यतिबेला दिदीको घरमा जाँदा केटाले मलाई देखेको रहेछ । माइती पक्षका सबैले दिदीलाई दोष दिए । हुन पनि त्यतिबेला दिदी सँगसँगै आएर मलाई कुटुम्बको घरमा बास बस्न नदिएको भए पनि घर जान पाइन्थ्यो होला !

भोलिपल्ट दिदीले पनि देवर पर्नेको घरमा आएर मलाई कुटुम्बको घरमा बास बसिसकेपछि आफ्नो घरमा फिर्ता जानुहुन्न भन्नुभयो । सानो उमेरमा मैले त्यसरी जबर्जस्तीमा परी बिहे गर्नुपर्‍यो । लोग्ने, घरपरिवार केही थाहा नभएको बेला बुहारी बन्न मलाई झन् गाह्रो भयो । घरका मान्छे सबैको स्वभाव नै कडा थियो । त्यतिबेला अहिलेको जमानाजस्तो पुलिस केस गर्ने भन्ने चलन पनि त्यति थिएन । केस हाल्न चाहिँ पाइन्थ्यो क्यारे ! बुबाले त नाबालिकालाई यस्तो व्यवहार गर्नेहरूलाई केस गर्ने भन्नुभएको थियो रे !

तानेपछि केटा पक्षले घरबाट माइतीलाई छोरी यहाँ पुग्यो भनेर ठेगान र चोरीको सगुन लैजानुपर्ने हो, तर लगेनन् । वर्षा मासमा हामी सबै गोठमै बसेका थियौँ । एकदिन गोठमै भएको बेला श्रीमान्‌ले भैँसी चराउन जाँदा लडायो । भैँसी लडेर मरेपछि दोष मेरै थाप्लोमा आयो । त्यसपछि दिदीकोमा पुगेँ । दिदीले घरै पो जाऊ भन्नुभयो । केही उपाय नलागेपछि भिरबाट हाम फालेर मर्छु भनेर हिँडेँ । दिदीले समातेर लगेर फेरि घरै पुराउनुभयो । नौ महिनासम्म त्यही झेलेर बसेँ ।

अन्तिममा माइतीले सहारा दिए दिन्छन्, नत्र जहाँ पुग्छ, त्यही जान्छु भनेर घरबाट निस्केँ । माइती घरको नजिकै पुगेर काकीको घरमा पसेँ । काकीले आमालाई खबर गर्नुभयो । आमाले पनि फेरि फकाएर मलाई घरतिरै फर्काउनुभयो । जहाँ गए पनि आखिरमा सबैले मलाई त्यही तानेर भित्राएको घर नै फर्काइदिन्थे । जस्तो दुःख परे पनि माइती र कुलको इज्जत जोगाएर बस्नुपर्छ भनेर नै सबैले सम्झाए । मलाई घरमै फर्काए ।

माइतीमा फर्किएपछिका दिनहरूमा मलाई खान, बस्न त दुःख भएन तर अर्काले ‘हात हालिसकेको नासो’मा फेरि अरूको नजर पर्ला भन्ने कुरा उठ्यो । त्यसपछि आमाबुबाले जात्रा, मेला, पर्व, आफन्त कसैकोमा जान दिनु भएन ।

फर्केर आएपछि पनि घरमा दुःख कम भएन । भिरबाट भैँसी लडाएपछि श्रीमान् पनि घर छोडेर इन्डियातिर भाग्नुभएछ । त्यसपछि म झिनो आशा लिएर फेरि पनि माइतीकै शरणमा पर्न गएँ । पहिले काकीकै घरमा पुगेँ । त्यतिबेला बुबाको मायाले जितेको हुनाले आमाले पनि दाजुभाइलाई पानीको सगुन राखेर मलाई माइतीमा भित्र्याउनुभयो । त्यसपछि माइतीमा तीन वर्ष बसेँ ।

माइतीमा फर्किएपछिका दिनहरूमा मलाई खान, बस्न त दुःख भएन तर अर्काले हात हालिसकेको नासोमा फेरि अरूको नजर पर्ला भन्ने कुरा उठ्यो । आमाबुबालाई अर्को डर थपियो । आमाले मलाई कतै जात्रा, मेला, पर्व, आफन्त कसैकोमा जान दिनु भएन । माइती बस्दा धेरैले अर्को बिहे गर्नलाई फकाए । मलाई न त घर जान मन थियो, न त अर्को बिहे गर्न नै । म यत्तिकै माइतीमै जीवन काट्छु भन्ने थियो ।

तीन वर्षपछि श्रीमान् इन्डियाबाट घर फर्किनुभएछ । एउटा कुखुरा र एक सोली रोटी र रक्सीको सगुन बनाएर मलाई लिन आउनुभयो । माइतीघरकै दिदीहरूको म त्यहाँ हुँदाहुँदै बिहे भयो । उनीहरूको जीवन बिहेपछि सामान्य भएको देखेपछि आखिरमा ‘बुढाबुढीको सम्बन्ध त चाहिने रहेछ’ भन्ने मैले महसुस गरेकी थिएँ । त्यसपछि म उहाँसँग घरमा त गएँ तर श्रीमती बनेर भूमिका निभाउन मलाई निकै समय लाग्यो ।

जेठो छोरालाई गर्भमा बोकेर म फेरि माइतीमै फर्कें । यता घरबाट उहाँले मेरो बच्चा केही भयो भने राम्रो हुनेछैन भन्ने खबरहरू पठाउन थाल्नुभयो । बच्चालाई केही भयो भने माइतीलाई दोष आउने डरले मैले घरै फर्कने निधो गरेँ । आमाले मलाई घरमै पुर्‍याउन लिएर जानुभयो । घर गएको केही दिनमै साउन महिनामा म २० वर्षकी हुँदा जेठो छोरोको जन्म भयो । त्यसको केही वर्षपछि कान्छो छोरा जन्मियो । ऊ पनि हुर्कंदै गयो । उहाँले पनि परिवारलाई माया गर्न थाल्नुभयो । छोराहरू आफैँ गरेर खाने भए । अहिले सबै राम्रैै छ ।

आफ्नै बिहे भन्ने अत्तोपत्तो थिएन : रोस्मिता तामाङ

मेरो जन्म काभ्रेपलाञ्चोक जिल्लाको तेमालमा पर्ने च्युखा भन्ने ठाउँमा भएको हो । २०४७ सालमा जन्मिएको मैले पछि आफैँलाई स्याहारेर आफ्नो लागि के गर्ने भनेर सोच्न नसक्ने उमेरमा अरूको घर स्याहारेकी थिएँ । बिहे गर्ने बेलामा भर्खरै त आठ कक्षामा पढ्दै थिएँ । मेरो मामाघरमै ठुलो बुबाको छोरीको घर हो । मामाको छोरी मेरो दिदी भयो । २०६३ साल माघ महिनामा त्यही दिदीकै छोराको छेवर (व्रतबन्ध) थियो । यसैले म दिदीको घर गएकी थिएँ ।

छेवर सकेको भोलिपल्ट नै सबै जना कोही गाउँ र कोही काठमाडौँतिर फर्के । मामाघर निकै पछि आएकोले मलाई केही दिन बसेर जान मामाका छोरी, मेरा दिदीहरूले भन्नुभयो । एक जना दिदी नजिकै बजारमा बस्नुहुन्थ्यो । म उतै दिदीसँगै गएर बसेँ । म उता बजार गएपछि यता अर्को मामाको छोराले मलाई तानेर राख्ने योजना बनाइसकेको रहेछ । मामाको छोराले मलाई मन पराएको थियो, तर बिहे नै गर्ने भनेर भनेको थिएन । ऊ १८/१९ वर्षको मात्र थियो । बिहे गर्ने उमेर नै भएको थिएन ।

म बजार आएको दिन नै दिउँसो एक जना मामाकी छोरी आउनुभयो । राति खाना खाएपछि दिउँसो आएकी दिदीले ट्वाइलेट बस्न अलिपर जाऊँ भन्नुभयो । त्यो दिन दिदीकोमा ट्वाइलेट पनि जाम भएको थियो । निकै पर पुगेपछि दिदीले उहाँको केटालाई फोन गर्न अलि परै जाऊँ भन्नुभयो । अलिपर पुगेपछि एउटा गाडी रोकिराखेको देखेँ । गाडीमा टन्नै मान्छे थिए । गाडीनजिकै पुग्नेबित्तिकै त मलाई दुईचार जनाले घिसारेर गाडीमा हुलिहाले र गाडीलाई घुमाएर जङ्गलको बाटोतिर लगे ।

मार्न लागेको हो कि भनेर डराएर म रोएँ । गाडी घर नजिकैको बाटामा पुर्‍याएपछि सबैले ‘ल्यायो, बेहुली ल्यायो’ पो भन्न थाले । त्यो गाडी त कतै जन्ती गएर आएको पो रहेछ भन्ने भयो । आफ्नै बिहे भएको होला भन्ने अत्तोपत्तो थिएन । मलाई गाडीबाट झारेर त फेरि घिसारेर मामाको घरमा पुर्‍याए । मामामाइजूले टीकाटालो गर्न थालेपछि पो बल्ल मलाई तानेर बिहे गर्न ल्याएको रहेछ भन्ने भयो । म झन् रोएँ ।

अब फर्केर गए माइतीको इज्जत जान्छ भनेर सबैले फकाउन थाले । भोलिपल्ट बिहानै उठेर ठुलोबुबाको छोरीको घरमा पुगेँ । दिदीले पनि त्यहीँ पो बस्नुपर्छ भन्नुभयो । निकै दिनसम्म त्यहाँबाट भाग्नलाई खोजेँ । अलि दिन बितेपछि अब फर्केर जाँदा दाइहरू र आमाले मलाई मार्नुहुन्छ भन्ने लाग्यो । केही दिनपछि आमा मलाई भेट्न आउनुभएको थियो । छोरीको घरजम यतै भयोे, माइतीको बाटो टुटेन भनेर पो माइजूहरूले आमालाई सम्झाउनुभयो । आमाले पनि मलाई घर गरी बस भनेर जानुभयो ।

मलाई त्यसरी बिहे गरेको बेला पुलिसलाई रिपोर्ट गरेको भए सबै मामाखलक जेलमा कोचिनुपर्थ्यो । आफ्नै माइती र ससुराली खलक भएर बाउआमाले पनि केही गर्नु भएन । मेरी छोरी पनि हुर्कंदै छिन् । कतै छोरीलाई पनि त्यसै गरी कसैले झुक्याएर लैजाला भन्ने पीर हुन्छ ।

स्कुलमा परीक्षा आउन लागेको थियो । पढ्नलाई उता जान त मन लागेको थियो, यताबाट पठाएनन् । आखिर अब मैले यहीँ बस्नैपर्ने रहेछ भन्ने लाग्यो र मन बुझाएर बसेँ । सासूससुराले एक वर्षपछि नै घर चलाउने जिम्मेवारी सुम्पिदिनुभयो । छोरी पनि जन्मियो । हामी दुबैजना सानै भए पनि घरव्यवहार काँधमा आएपछि सम्हाल्न निकै गाह्रो भयो । घर चलाउन भए पनि श्रीमान् विदेश जानुभयो । उहाँ त अहिले पनि विदेशमै हुनुहुन्छ ।

मलाई त्यसरी बिहे गरेको बेला पुलिसलाई रिपोर्ट मात्र गरेको भए सबै मामाखलक जेलमा कोचिनुपर्थ्यो । आफ्नै माइती र ससुराली खलक भएर बाउआमाले केही गर्नु भएन । मेरी छोरी पनि हुर्कंदै छिन् । कतै छोरीलाई पनि त्यसै गरी कसैले झुक्याएर लैजाला भन्ने पीर हुन्छ । छोरीलाई आफ्नै बिहेको कथा भनेर सम्झाउने गरेकी छु ।

अपहरणभन्दा पनि चलन मानियो : शर्मिला तामाङ

काभ्रेपलाञ्चोक जिल्लाको चिसापानी भन्ने ठाउँमा २०४५ सालमा मेरो जन्म भयो । २०६४ सालको वैशाख महिनामा मलाई फिल्मतिर जस्तै दुईचार जना आएर च्याप्प पछाडिबाट समातेर गाडीमा कोचेर लगि त हाले । मलाई बचाउन त कोही आएनन् ।

ठुलो बुबाको छोरी र म दोलालघाट बजार गएका थियौँ । त्यतिबेला आमा मामाघर जानुभएको थियो । बुबा काठमाडौंमा नै बस्नुुहुन्थ्यो । बजारभन्दा अलिकति पर एउटा मन्दिर थियो । मन्दिरमा दर्शन गर्ने निहुले सँगै जानुभएको दिदीले मलाई बजारदेखि अलि परै पुर्‍याउनुभयो । हिँड्दै गर्दा उहाँ मलाई अगाडि लगाएर पछाडि बस्नुभएछ । एक्कासि केटाहरूको हुल आएर मलाई च्याप्पै समातेर घिसार्न थाले । मैले दिदीलाई कराएर गुहार माग्दा उहाँ त परै पो नसुनेको जस्तो गरी बस्नुभयो ।

कसैले रुमालले मेरो मुख थुनिदियो र गाडी बेतोडले गुड्यो । केही घण्टापछि गाडी रोकियो । ठुलो कम्पाउन्ड, वरिपरि पुलिसहरू थिए । अहिले आएर पो थाहा भयो, त्यो डिल्लीबजारको कारागार रहेछ । मलाई घिसार्ने समूहमा मैले मेरी दिदीको देवरलाई पनि देखेँ । उनैसँग बिहे गर्न भनेर पो मलाई घिसारेर ल्याएका रहेछन् । उनको दाइ पुलिस रहेछन् । त्यही कारागारभित्र दाइ बसेको ठाउँमा नै मलाई त्यसरी पुर्‍याएछन् ।

दिदीको देवर दिदीसँगै हाम्रो गाउँमा आउँदा मलाई देखेर मन पराएका रहेछन् । फेरि उनलाई चाहिँ जसले मलाई बजारसम्म पुर्‍याउनुभयो, उनै दिदीले मन पराएकी रहेछिन् । दुबैबिच बिहेसम्मको कुरा चलेको रहेछ । पछि मलाई देखेपछि केटाको ध्यान मपट्टि गएछ । दिदीको केटा मैले खोस्न लाग्यो भन्ने भान दिदीलाई भएपछि मेरो इज्जतमाथि दाग लगाइदिन उहाँले बदलास्वरूप केटालाई जबर्जस्ती तानेर लैजान सल्लाह दिनुभएको रहेछ । त्यो कुरा मलाई केटाले नै घर भित्र्याएको केही महिनापछि नै भनेका थिए ।

मलाई त्यसरी घिसारेर लगेको बेला आमाबुबाले छोरीको अपहरण भएको भन्दा पनि गाउँठाउँको चलन मान्नुभयो । मेरी पनि छोरी हुर्कंदै छिन् । छोरीलाई कसैले त्यसरी जबर्जस्ती गरे भने म त तिनलाई जेलमा कोचिदिन्छु । त्यो हिम्मत ममा पलाएको छ ।

डिल्लीबजारमा पुर्‍याएपछि मलाई तीन दिनसम्म थुनियो । पिसाब फेर्न जाँदासमेत मान्छे सँगसँगै आउँथे । नौ दिनको दिनमा केटाले मलाई घरमा पुर्‍याए । घरमा पुर्‍याएपछि सबैले अब माइती फर्केर जानु हुँदैन भनेर डर देखाए । एक त माइती खोज्न नआउनु, अर्कोतिर त्यसरी डर देखाउँदा म आत्तिएँ । पूरै एक वर्षपछि मात्र माइतीमा रीतभाँत फुकाउने काम भयो । अहिले छोरा कलेज जाने भयो । छोरी पनि १३ वर्षकी भइन् । अरूले देख्दा राम्रै देख्छन्, तर मेरो मन उज्यालो अझै भएको छैन ।

खासमा आफ्नैहरूले नै मलाई त्यसरी फसाए । सानै भएकीले घर गरेर त के खानु्, हात हालेर इज्जतमा दाग लगाइदिनुपर्छ भन्ने दिदीको मनमा रहेछ । ती सबै कुरा सुनेपछि मैले उनीहरूको इखमा पनि घर गरेर खाइरहेको छु । मन पराएरै घिसारेर ल्याए पनि श्रीमान्‌बाट पाउनुपर्ने माया र साथ खासै छैन । माइतीमा दुःख बिसाउँ भने आमाबुबाले रोजेर दिनुभएको होइन ।

मलाई त्यसरी घिसारेर लगेको बेला पुलिसलाई रिपोर्ट गरेर माइती पुगेको भए, उनीहरूलाई कारबाही हुन्थ्यो । तर, मेरा आमाबुबाले त्यसलाई छोरीको अपहरण भएको भन्दा पनि गाउँठाउँको चलन मान्नुभयो । यसैले माइतीकै इज्जत राखेर बसेकी छु । मेरी पनि छोरी हुर्कंदै छिन् । छोरीलाई कसैले त्यसरी जबर्जस्ती गरे भने तिनलाई जेलमा कोचिदिन्छु । त्यो हिम्मत ममा पलाएको छ ।

चोरी विवाह र परम्परा

केटी पक्षको इच्छाविना नै जबर्जस्ती गरिने विवाहलाई चोरी विवाहको रूपमा लिइने गरेको पाइन्छ । २०७४ साउन ७ गते नागरिक अनलाइनमा प्रकाशित रोशन दाहालको लेख ‘विवाहको उत्पत्ति, प्रकार र परिवर्तन’ मा हिन्दु धर्मशास्त्रले मानेको विवाहका प्रकारलाई उल्लेख गर्दै कन्याको इच्छाविपरीत जबर्जस्ती गरिने विवाहलाई राक्षसी विवाह भनिएको छ । लेख अनुसार, जबर्जस्ती विवाह गरेपछि कन्यालाई फिर्ता लगिँदैन र अपहरण गरेकै पुरुषलाई कन्यापक्षले स्वीकार गर्छ ।

‘नेपाल लघु विश्वकोश’ अनुसार, विवाह अगाडि नै केटाले केटीलाई हरण गरेर वा भगाएर लैजाने चलन नै चोरी विवाह हो । केटी एक्लै भएका बेला हाटबजार, मेलापात वा कुनै ठाउँमा मौका पारी हातपात गरी आफूसँग जान बाध्य पारिन्छ । यो प्रथा विशेषगरी राई, लिम्बू, तामाङ, शेर्पा, धिमाल, गुरुङ आदि विभिन्न समुदायमा प्रचलित छ ।

लेखक एवं तामाङ संस्कृति अध्येता तथा अनुसन्धाता रवीन्द्र तामाङको पुस्तक ‘तामाङ रिमठिम : तामाङ संस्कारहरूको सङ्क्षिप्त अध्ययन’ मा चोरी विवाहको व्याख्या यसरी गरिएको छ : ‘केटी पक्षले मन नपराइकन केटा पक्षले मन पराएपछि मेलापात, हाटबजार, जात्रा वा बाटोमा हिँड्दाहिँड्दै जबर्जस्ती बल प्रयोग गरेर तानेर लैजाने विवाह नै चोरी विवाह हो ।’ रवीन्द्रका अनुसार, केटीले तीन दिनसम्म स्वीकार नगरे स–सम्मान फर्काउने गरिन्छ । तीन दिनसम्म राजी बनाउन केटा पक्षले केटीलाई लुकाएर राख्ने गर्छन् ।

साथै, तीन दिनको अवधिमा माइती लिन आएमा र केटीले बिराजी भनेमा माइतीपक्षले खोसेर लैजाने गरिन्छ । केटीले स्वीकार गरेमा तपाईंकी छोरी फलानोकहाँ छ भनेर केटा पक्षले ठेगानको सगुन लैजान्छ र केटीपट्टिकोले अनुमति दिएपछि केटी माइतीमा जान पाउँछिन् । यसका लागि माइतीमा चोरको स्वर सगुन राखेर चारदाम गरी विवाहको रीत पूरा गरिन्छ । केटापक्षबाट सगुन लिएर माइती पक्षलाई बुझाउने कामलाई चारदाम गर्ने भनिन्छ ।

अर्का लेखक तथा सङ्कलक मोहन गोलेको पुस्तक ‘तामाङ मौलिक संस्कृति’ मा चोरी विवाहबारे यस्तो उल्लेख छ : अभिभावकको स्वीकृतिविना केटाले केटीलाई मन पराएर गरिने विवाहलाई नै चोरी विवाह भनिन्छ । यो विवाहमा केटीपक्षले केटापक्षबाट बुझाएको चोरको स्वर सगुन समातेपछि मात्र विवाह प्रक्रिया अघि बढ्छ । यदि स्वीकार नगरेमा वर्षौ वर्षसम्म पनि केटी माइती जान सक्दैन ।

सोही पुस्तकमा उल्लेख भए अनुसार, चोरको स्वरमा माइतीलाई एउटा मरेको कुखुरा, एक सोली रोटी र रक्सी बुझाइन्छ । चारदामका लागि भने एक माना चामल, चारदाम पैसा, बत्ती, दुईवटा भाले (एउटा मरेको र अर्को जिउँदो बासेको भाले), एक पोङ (माटोको भाँडो) रक्सी, दुई बिसा रोटी, नुन, तेल, मसाला, धुपौरो, खुकुरी बेहुला पक्षले बेहुली पक्षको घरमा लिएर जानुपर्छ । पछिल्लो समयमा चारदाममा परेवाको जोडी पनि बेहुलाबेहुलीले उडाउन थालेका छन् ।

केटी पक्षको सहमति र इच्छाविपरीत बलपूर्वक तानेर गरिने विवाहलाई विश्वमा जबर्जस्ती विवाह (फोर्स्ड म्यारिज) का रूपमा हेरेको पाइन्छ । त्यसमा शारीरिक हिंसादेखि सूक्ष्म मानसिक दबाबसमेत दिएर केटीलाई विवाह बन्धन कायम गर्न बाध्य पारिन्छ ।

केटी पक्षको सहमति र इच्छाविपरीत बलपूर्वक तानेर गरिने विवाहलाई विश्वमा जबर्जस्ती विवाह (फोर्स्ड म्यारिज) का रूपमा हेरेको पाइन्छ । त्यसमा शारीरिक हिंसादेखि सूक्ष्म मानसिक दबाबसमेत दिएर केटीलाई विवाह बन्धन कायम गर्न बाध्य पारिन्छ । लेखक एवं सम्पादक निकोले मुर्फीले ‘सिपिडी अनलाइन कलेज’ मा प्रकाशित आफ्नो लेख ‘अन्डरस्टान्डिङ द रुट एन्ड इम्पिकेसन्ज अफ फोर्स्ड म्यारिज’ बारे राखेको धारणामा जबर्जस्ती विवाह त्यस्तो विवाह हो, जसमा एक वा दुबै व्यक्तिको इच्छाविरुद्ध प्रायः धम्की, जबर्जस्ती वा हिंसाको माध्यमबाट विवाह गरिन्छ ।

तामाङलगायत आदिवासी जनजातिहरूमा प्रचलित चोरी विवाहमा पनि सोही खालको प्रकृति देखिन्छ । यस आधारमा चोरी विवाहलाई फोर्स्ड म्यारिजका रूपमा लिन सकिने देखिन्छ । त्यसो त केटीले स्वीकृति नदिएसम्म विवाह हुँदैन भनेर पनि ‘नेपाल लघु विश्वकोश’ मा उल्लेख गरिएको छ । यस अनुसार, मागी विवाहभन्दा चोरी विवाह फाप्छ भन्ने परम्परागत विश्वासकै कारण केटीले भागेको अभिनय गर्छन् ।

मानवशास्त्री मुक्तसिंह तामाङको विचारमा पनि ‘केटा पक्ष र केटी पक्षको थर, शीलस्वभाव, शारीरिक, आर्थिक तथा सामाजिक अवस्था, कुल, कुटुम्बेली साइनो हेरेर मात्र केटीलाई तानिन्छ । यसमा अन्याय जस्तो सुनिए पनि दासदासी बनाउन जबर्जस्ती अपहरण गरेको जस्तो होइन ।’ तामाङ समुदायमा पनि केटीको मञ्जुरीपछि केटाले तानेको जस्तो अभिनय गर्छन् भन्ने भनाइ अत्यन्तै प्रचलित छ । तथापि, आलेखका लागि खोजी गरिएका र सुनिएका पात्रहरूको भोगाइसँग त्यो भनाइ कतै पनि मेल खाएको देखिएन ।

चोरी विवाहमा परेका प्रतिनिधि महिलाहरू मीना, डोल्मारानी, तारा, रोस्मिता, शर्मिला कसैले पनि न त अभिनय नै गर्नुभयो, न त केटालाई तान्नका लागि मञ्जुरी नै दिनुभएको थियो । यद्यपि, सामाजिक नियम, माइतीको इज्जत र प्रतिष्ठालाई लिएर कर, बल र छलमा परिसकेपछि उहाँहरूले पनि यस खालको विवाहलाई संस्कारकै रूपमा स्वीकार गर्नुभयो र आआफ्नो दाम्पत्य जीवनलाई जसरी भए पनि अघि बढाउनुको विकल्प देख्नु भएन, देखे पनि वैकल्पिक बाटो रोज्नु भएन ।

कानुनले निषेध गरेको अवस्था

चोरी विवाहलाई कानुनले निषेध गरेको हुनाले यस्तो खालको विवाह अहिले कसैले गर्दैनन् । पुर्खाहरूको पालामा बेहुलाले हात हालेपछि जन्तीहरूले पनि कसैले खोस्न नसक्ने गरी बोकेर भागी केटीको बेमञ्जुरीमा जस्तोसुकै अनुनय विनय गरे पनि घरमा लगेर कर्म चलाई विवाह गर्छन् भनेर लोकप्रिय सुनुवारले आफ्नो पुस्तक ‘किराँत कोइँच सुनवार : मुल्केम मुक्दुम’ मा उल्लेख गर्नुभएको पाइन्छ । अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने चोरी विवाह गैरकानुनी हो ।

मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १६ मा उमेर पुगेका महिला तथा पुरुषलाई स्वतन्त्र तथा पूर्ण मञ्जुरीमा मात्र विवाह सम्पन्न गरिनेछ भनेर उल्लेख गरिएको छ । बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ मा पनि विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकारका रूपमा उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा ३८ को उपधारा (३) मा पनि महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरिएको छ । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडितले कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको समेत संवैधानिक व्यवस्था छ ।

साथै, मुलुकी अपराध संहिताको दफा १७१ मा मञ्जुरीविना कसैले विवाह गरेमा दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । दफा १७३ बमोजिम विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था छ ।

पुनर्विचार र पुनर्मूल्याङ्कनको माग

आजको कानुनलाई हेर्दा त चोरी विवाहलाई सरासर महिलाको अधिकार, महिलाको आफ्नो परिचयको सवालमाथिको पनि हस्तक्षेप भएको देखिने तर्क लेखक तथा समालोचक कुमारी लामाको छ । उहाँको विचारमा तामाङ समुदायमा प्रचलित चोरी विवाह जस्ता सांस्कृतिक चालचलनहरूलाई इतिहासका रूपमा नयाँ पुस्तालाई प्रस्तुत गर्दै गर्दा यसका नकारात्मक पाटालाई पनि देखाउन जरुरी छ ।

तामाङ संस्कृतिका अनुसन्धाता खोजराज गोलेका अनुसार, महिला अधिकार र स्वतन्त्रताको कुरा गौण भएकै कारण अज्ञानतावश चोरी विवाह गरियो । अहिलेको परिवेश र समयमा हेर्ने हो भने कुनै पनि केटीलाई पूर्वसूचना नभइकन अकस्मात कतै, कुनै पर्व अथवा जात्राबाट तानेर लानु भनेको त त्यसलाई संस्कृतिको एउटा पाटो थियो भने पनि अब पुनर्विचार र पुनर्मूल्याङ्कन गर्नुपर्छ ।

‘चोरी विवाहमा बाँधिएका तामाङ महिलाको जीवनभोगाइ’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत सुशीला तामाङले तयार गर्नुभएको हो ।

प्रकाशन मिति : २०८२ पुष १७ गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :

2 Responses

  1. Janksrmulak lekh rachha. Maoile ni mero asyangki chhorilai bhagaera nai bihe gareko hu. Tara bhagaunu aghi duwai ekarkama purapur manjur ra ketipakcheka abhibhawaklai purna jankari thiuo. Chori ra bhagi duwai thiyo hamro bibaha. Tars jabarjasti kahile garnuhunna. Kasaiko ghsmanda tofnu majak udaunu badala linu ek pata holan tara kanun arka patama baliya pakchha chha. Aba samaya anusar nai chalnuparchha.