कालापहाडका भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष

Share this :

– सविता बुढा

रातको ३ बजे । २०८० सालको पुस महिना । भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथको गौरीकुण्डमाथि आकाश अझै कालो मसीजस्तै थियो । ताराहरू सायद चिसोले गर्दा आकाशमा कतै लुकेका थिए । सायद तल धर्तीको दुःख देखेर तिनले आफ्नो चमक लुकाएका थिए । त्यो दुःख नेपाली महिला श्रमिकहरूले एक दशकभन्दा बढी समयदेखि निरन्तर भोग्दै आएका थिए ।

धर्तीमा मन्दाकिनी नदीको अविरल गर्जनले निस्तब्धतालाई चिर्दै थियो । मानौँ पहाडको छातीभित्रबाट कुनै आदिम आवाज निस्किरहेको हो । त्यो एक यस्तो आवाज जुन युगौँदेखिको पीडा र सङ्घर्षको साक्षी थियो । त्यही गर्जनसँगै मिसिएर आएको चिसो सिरेटोले जङ्गलको छेउमा लहरै टाँगिएका अस्थायी त्रिपालका छाप्राहरूको प्वालबाट भित्र छिरेर सुतिरहेका शरीरहरूलाई काँडाले झैँ घोचिरहेको थियो ।

एउटा निलो त्रिपालभित्र नेपालको बझाङ जिल्ला, छबिसपाथिभेरा वडा नम्बर ७ खोरी गाउँकी २६ वर्षीया धना बोहराको निद्रा टुट्यो । निद्रा टुटेको होइन, चिसोले जबरजस्ती उहाँलाई ब्युँझाइदिएको थियो । माथिबाट तपतप चुहिएको शीतले उहाँको पुरानो, पातलो ओढ्ने निथ्रुक्क भिजेको थियो । चिसो पानीको थोपा जब उहाँको गालामा खस्यो, तब उहाँको जिउ नै सिरिङ्ग भयो । उहाँको अर्ध–निद्राको अवस्था पनि भङ्ग भयो ।

छेउमा कोक्रोमा बेरिएझैँ निदाइरहेका अरू महिलाहरूको निद्रा नबिथोलियोस् भनेर धनाले सास रोकेर केहीबेर आफूलाई सम्हाल्नुभयो । चिसोले मात्र होइन, उहाँको मन एउटा यादले चस्किएको थियो- एउटा यस्तो याद जसले उहाँको वर्तमानको हरेक चिसो रातलाई अझै चिसो बनाइदिने गरेको थियो ।

आँखा चिम्लँदा पनि दुई वर्षअघिका ती दिन धनाको अगाडि नाचिरहेका थिए । त्यतिबेला उहाँका २३ वर्षे श्रीमान् उमेश बोहरा ज्युँदै हुनुहुन्थ्यो । उहाँ रक्सी पिउनुहुन्थ्यो । सुरुसुरुमा उहाँको रक्सीमा अलिकति माया पनि मिसिएको हुन्थ्यो । दिनभरि जता हराए पनि घर आउँदा कहिलेकाहीँ छोराछोरीलाई कहिले चाउचाउ त कहिले बिस्कुटका साना पोका ल्याइदिनुहुन्थ्यो ।

साँझमा आँगनको डिलमा बसेर मीठा कुरा गर्ने बानी थियो । “धना, यसपालि त पैसा कमाएर घरको ऋण सबै तिर्छु, अब म रक्सी खान्नँ,” उहाँ भन्नुहुन्थ्यो । श्रीमान्‌काे त्यही एउटा वाक्यले धनाको दिनभरिको थकान र मनभरिको दुःख सबै हराउँथ्यो । तर ती दिनहरू धेरै टिक्न सकेनन् । रक्सीले बिस्तारै मायालाई निल्यो, विवेकलाई निल्यो र अन्ततः श्रीमान्‌लाई नै निल्यो ।

काममा जान छाडेका श्रीमान्‌का मुखबाट धनामाथि छाडा गालीका फोहोरा छुट्न थाले । पछिल्ला दिनहरूमा त रक्सी उहाँको नसामा होइन, रगतमै बगिरहेको थियो । २०७४ माघ ७ गतेको त्यो अँध्यारो रात, रक्सीले कलेजो खाइसकेपछि धनाका श्रीमान्‌ले सधैँका लागि आँखा चिम्लिनुभएछ । त्यो रात पनि रक्सीले मातेर आँगनमै लडिरहनुभएको थियो ।

सधैँ झैँ रडाको गर्ने होला भनेर धनाले उठाउन खोज्नु भएन । बिहान उठ्दा पो चाल पाउनभयो, श्रीमान्‌काे शरीर त हिउँजस्तै चिसो भइसकेको रहेछ र राति नै सधैँका लागि यो संसार छाडिसक्नुभएको रहेछ भनेर । श्रीमान्‌काे परमधामसँगै यता धर्तीमा धनाको सौभाग्य, खुसी र भविष्यको सपना लुटियो ।

लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमै धनाको जीवनले अप्रत्याशित मोड लियो । दुई सन्तानको जिम्मेवारी उहाँको एकल काँधमा आयो । अभावको पहाडले उहाँलाई चारैतिरबाट नराम्रोसँग थिच्यो । घरको वास्तविकता र जिम्मेवारीबोधले हिर्कायो । दुई छाक खान र एकसरो लुगा लगाउन पनि मुस्किल पर्ने अवस्था आउन थाल्यो ।

वरपरका अरू महिलालाई जस्तै त्यसले धनालाई पनि ‘कालापहाड’ सम्म डोर्‍याएको थियो । आफ्नो गाउँठाउँमा बसेर गुजाराका लागि काम पाउने अवस्था थिएन । यसैले एक वर्षको दुधे छोरालाई सासूको जिम्मा लगाएर गौरीकुण्ड पुग्नुपर्दाको पीडाले उहाँको छाती भतभती पोल्थ्यो । सानै उमेरमा बुवा गुमाएकी उहाँ आमाको एकल सहारामा हुर्कनुभएको थियो ।

दैनन्दिन अभाव र चरम गरिबीको पीडा खेप्दै भए पनि कक्षा ५ सम्म धनाले पढ्नुभयो । त्यसपछिको पढाइका लागि खर्च गर्ने पैसा आमासँग थिएन । हरेक रात, जब उहाँ यो चिसो त्रिपालभित्र पल्टिनुहुन्थ्यो, तब उहाँलाई आफ्नो बाल्यकाल र छोराको यादले सँगसँगै सताउँथ्यो ।

यादहरूको दलदलबाट आफूलाई बाहिर निकाल्दै धनाले हतारहतार भिजेको लुगा निचोर्नुभयो । त्रिपालको एउटा कुनामा राखेको प्लास्टिकको झोलाबाट अघिल्लो दिनको बासी रोटी र प्लास्टिकको बोतलमा भरेको पानी निकाल्नुभयो । आफ्नो हँसिया, नाम्लो र डोरी कम्मरमा अड्याउनुभयो । त्यतिन्जेलसम्म सँगै सुतेका साथीहरू पनि उहाँजस्तै घाँस काट्न जानका लागि तयार भइसकेका थिए ।

‘कालापहाड’ भौगोलिकरूपमा घनघोर जङ्गल, भीरपाखा र सुनसान बिरानो ठाउँ हो । सस्तो तर कठोर श्रम गर्न जाने एउटा प्रतीक पनि हो ।

धना त्रिपालबाट बाहिर निस्किनुभयो । बाहिर अरू त्रिपालबाट पनि महिलाहरूका छाया एकपछि अर्को गर्दै निस्किन थाले । उहाँहरूबिच कुनै संवाद थिएन, टर्चलाइटको मधुरो प्रकाशले देखाइरहेको बाटो हिँड्दै जानुभयो । त्यो मौनतामा सबैको मनको लक्ष्य साझा थियो- चार-पाँच घण्टाको कहालीलाग्दो भीर चढेर दिनभरि कुनै पनि बेला मृत्युको मुखमा पर्न सक्ने गरी झुन्डिएर घाँस काट्नु र दुई–चार पैसा कमाएर घरपरिवारको गर्जो धान्नु ।

‘यहाँबाट हिँड्दा अँध्यारै हुन्छ, भीरको फेदमा पुग्दा बल्ल फाट्फुट्ट उज्यालो हुन्छ,’ धनाले कसैलाई सुनाए झैँ गरी आफैँसँग भन्नुभयो । यो अत्यन्त बाध्यात्मक प्रकृतिको दैनिक यात्रा थियो । त्यहाँ हरेक पाइलामा मृत्युसँग जम्काभेट हुने खतरा रहन्थ्यो । त्यहाँ हरेक मुठ्ठी घाँसको मूल्य हुन्थ्यो । त्यहाँ हरेक भारी घाँसको मूल्य हुन्थ्यो र त्यो मूल्य जीवनभन्दा महँगो पर्ने जोखिमसँग पलपल भिडेपछि मात्रै प्राप्त हुन्थ्यो ।

कालापहाडतिरको यात्रा र अस्थायी बस्ती

कालापहाड भौगोलिकरूपमा घनघोर जङ्गल, भीरपाखा र सुनसान बिरानो ठाउँ हो । यो नेपालीहरूले जतिसुकै अपमान र अवमूल्यन सहनुपरे पनि रोजगारीका जान बाध्य हुँदै आएको एउटा श्रम गन्तव्य पनि हो । ‘कालापहाड’ सस्तो तर कठोर श्रम गर्न जाने एउटा प्रतीक पनि हो । बझाङका स्थानीय व्यक्तिका अनुसार, त्यहाँ गई श्रमिकको रूपमा काम गर्ने नेपालीहरू लुटिने, डाका लाग्ने, चोरिने र हदैसम्मको दुःख पाउने खतरा हुन्छ तर पनि त्यसलाई सामान्य नै मानिन्छ ।

बझाङका अधिकांश मानिसका लागि यो पुर्खादेखि चलिआएको बाध्यतापूर्ण श्रम गन्तव्य हो, जुन अहिलेसम्म पनि जारी छ । पछिल्लो १२ वर्षयता भने महिलाहरू पनि घाँस काट्ने सस्तो श्रमिकका रूपमा त्यहाँ आवतजावत गर्दै आएका छन् । गाउँघरमा सुन्नमा आएका पछिल्ला घटनालाई केलाउँदा कालापहाडमा बर्सेनि कयौँ नेपाली महिलाले एक छाक खानैका लागि सस्तो श्रममा पनि आफ्नो ज्यानको बाजी लगाएको देखिन्छ ।

बझाङबासीले गौरीकुण्डसम्मको करिब एक हजार किलोमिटरको कठिन यात्रा तय गर्ने गर्छन् । यो यात्रा दुरीसँगभन्दा पनि आफ्नो गाउँघर, परिवार, पहिचान र स्वाभिमान छोडेर परदेशमा ‘नेपाली मजदुर’ बन्नुको अथाह पीडासँग बढी जोडिएको छ । मानिसहरू गाउँबाट हिँड्ने दिन तिनका घरमा सानोतिनो शोकजस्तै छाउने गरेको धनाले सानैदेखि देख्दै आउनुभयो । पछि उहाँले पनि त्यसरी नै त्यही बाटो लिनुपर्‍यो ।

घरबाट निस्कने बेला छोराछोरीलाई अँगालो हालेर ‘नरोऊ है बा, म छिट्टै पैसा लिएर आउँछु । तिमीहरूलाई नयाँ लुगा र कापी ल्याइदिन्छु । हजुरआमाले भनेको मान्नू’ भन्दै गर्दा धनाको बोली अवरुद्ध भएको थियो । आँसु खस्न खोज्दा जबरजस्ती रोकेको उहाँले सम्झनुभयो । छोराछोरीको मलिन अनुहारमा हेरेर श्रमका लागि परदेशतिर पाइला सार्नुजस्तो कठिन घडी एउटी आमाका लागि अरू कुनै हुँदैन ।

धनाले पनि त्यस्तो घडी भोग्नुभयो । उहाँसँगै गाउँबाट हिँडेका सयौँ महिलाको विवशता एउटै थियो । नजाऊँ भने खानलाउनै नपुग्ने, जाऊँ भने घरपरिवार र नाबालिग सन्तान छोडेर जाँदा गहिरो घाउमा नुनचुक दले झैँ पीडा हुने । यात्रा नथाल्दैदेखिको विवशता, यात्रामा हुने अपमान, आशङ्का, अनिश्चय, गन्तव्यमा पुगेपछि पनि ठगिने र मृत्युसँग हरेक दिन जुध्नुपर्ने डर, पीडा र कष्टको बयान गर्न सकिँदैन ।

घरबाट निस्केपछि सुरु भयो, धनाको चार दिनसम्मको कष्टकर बस यात्रा । बझाङबाट महेन्द्रनगर हुँदै बनबसाको सीमामा पुग्दा अरूले जस्तै उहाँले अर्को अपमान सहनुपरेको थियो । भारतीय सुरक्षाकर्मीहरूले उहाँहरूलाई मान्छे कम र शङ्कास्पद वस्तु बढी ठानेका थिए । उहाँहरूका झोला फालिए, कागजपत्रमा केरकार भए । उहाँहरूलाई हेर्ने दृष्टिकोणमा घृणा र उपेक्षा भाव थियो । उनीहरूका लागि यात्रारत महिलाहरू केवल सस्तो श्रमको अर्को खेप थिए ।

घरबाट निस्केको एक दिनमा बनबसा पुगेका धनाहरूले त्रिपाल खरिद गर्नुभयो । त्यो उहाँहरूको लागि पाँच–छ महिनाको लागि गौरीकुण्डमा बस्नुपर्ने घर थियो र त्यो बनबसाबाटै लैजानुपर्ने थियो । त्यसपछि गौरीकुण्डको लागि तीन दिनको बसयात्रा सुरु भयो । सिटभन्दा दोब्बर मान्छे कोचिए । बसको छतमा सामान र मान्छे बराबरी जस्तै भएर बसे ।

केदारनाथको घाँसेभीर कुनै सामान्य पहाड होइन । त्यो मृत्युको खेलमैदान जस्तो छ, जहाँ हरेक दिन बझाङका महिलाहरूले आफ्नो जीवन दाउमा लगाउँदै आए ।

धुलो, धुवाँ र सयौँ शरीरबाट निस्किएको पसिनाको गन्धले बसभित्र सास फेर्न पनि गाह्रो भयो । हरेक घुम्तीमा बसको ढोकाबाट बाहिर हेर्दा घर छुट्दै गएको र भविष्य अँध्यारो बन्दै गएको महसुस गर्दै धनाहरू अघि बढ्नुभयो । बाटोभरि उहाँहरूको मनमा आशा र डरको दोभान चल्यो । यस्तैमा कसैले ‘यसपालि त राम्रो कमाइ होला’ भनेको सुनियो भने कसैले ‘ठेकेदार असल परोस्, गएको सालको जस्तो फटाहा नहोस्’ भनेको पनि सुनियो ।

सबैको मनको कुनामा कालापहाड नाम गरेको भीरको अथाह डर लुकेको थियो, जसले हरेक वर्ष कसै न कसैलाई निल्दै र चपाउँदै आइरहेको थियो । यस्तैमा रात पर्न थाल्यो । बस अब गौरीकुण्ड पुग्ने बेला भयो । त्यहाँ पुग्दा रात परिसकेको थियो । यसैले गौरीकुण्डको पहिलो रात धनाहरू एउटा सस्तो होटलको चिसो कोठाको भुईंमा बस्नुभयो । चिसो र थकानले चुर शरीरले आराम पायो तर निद्रा परेन । धनाले सोच्नुभयो– यसपालि कमाइ कस्तो हुने हो ? घाँस राम्रो पाइयोस् ! घरमा छोरा र उसको हजुरआमालाई बिसन्चो नहोस् !

भोलिपल्ट बिहानै धनाहरू आफ्नो अस्थायी घर बनाउन जङ्गलतिर लाग्नुभयो । निलो त्रिपाल जङ्गलको फेदमा रहेको सानो चौरमा टाँस्नुभयो । धनाले जस्तै सँगै गएका अरू महिलाहरूले पनि लहरै आ–आफ्ना त्रिपाल टाँस्नुभयो । पहाडको काखमा ती त्रिपालहरूकै एउटा यस्तो बस्ती बन्यो, जहाँ सस्तो श्रम बेचेर घरको चुलो बाल्ने नेपालको विकट गाउँका महिलाका आ–आफ्ना घर थिए । त्यहाँबाट धनाहरू सिजनभर भीरमा घाँस काट्न गएर साँझ त्यहीँ फर्किने गर्नुहुन्थ्यो ।

घाँसेभीरमा दपेटिएको श्रम र मृत्युको ताण्डव

केदारनाथको घाँसेभीर कुनै सामान्य पहाड होइन । त्यो मृत्युको खेलमैदान जस्तो छ, जहाँ हरेक दिन बझाङका महिलाहरूले आफ्नो जीवन दाउमा लगाउँदै आए । ओसिलो चट्टान, झ्याउ लागेका चिप्ला ढुङ्गा र बेलाबेला माथिबाट खस्ने पहिरो । चिसो हावाले शरीर कमाउने, डर र मिहिनेतको पसिनाले लुगा भिज्ने । तल हेर्दा आँखाले ठम्याउन नसक्ने गहिरो खोँच । धनाले पछिल्लो पटक बझाङ आएको बेला भन्नुभयो, “भीर यस्तो थियो, त्यहाँ हुँदा सपना हो कि विपना हो जस्तो लाग्थ्यो ।”

कालापहाडमा घाँस काट्न गएर फर्किएका महिलाहरूले बताएअनुसार, एक पाइला चिप्लिएको भए जीवनको अन्त्य निश्चित हुन्थ्यो । त्यो सम्झँदा पनि आङै सिरिङ्ग हुन्छ । त्यसैले त्यहाँ गएर तल हेर्नुको सट्टा माथि हेरेर घाँस काटियो । त्यहाँ रोजीरोटीको माध्यम बनेर झुन्डिएको घाँसमा कुनै बेला कालले बास गर्न पनि सक्थ्यो ।

कालले २०८२ जेठको एउटा दिन १९ वर्षीया अनिशा बुढालाई त्यही भीरबाट लग्यो । बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ लेकगाउँकी उहाँ पहिलो पटक आमासँग केदारनाथ जानुभएको थियो । स्थानीयहरूका अनुसार, स्नातक पढ्ने र आफ्नो परिवारलाई गरिबीबाट मुक्त गर्ने चाहना लिएर त्यहाँ गएकी अनिशालाई आमाले ‘छोरी, धेरै माथि नजा, चिप्लो छ, लडिन्छ’ भन्दै हुनुहुन्थ्यो तर घाँस काट्न हतार गरी अलि माथि चढ्न खोज्दा टेकेको ढुङ्गा अचानक हल्लिएर चिप्लिनुभएछ ।

‘आमा !’ भन्दै भीरबाट खस्दै गर्दा खिरुदेवी बुढाले एक पलका लागि छोरी अनिशाको हात समात्न त भ्याउनुभयो, तर ओसिलो चट्टानमा अडिएकी आमाको हात पनि चिप्लियो । त्यसपछि त्यो चिच्याहट तल गहिरो खोँचमा बिलायो । आमा पनि चिच्याउँदै भीरबाट तल झर्नुभयो । त्यहाँ अनिशालाई घोप्टो परेको, टाउको फुटेर रगतको आहाल बनेको र ज्यान गुमिसकेको अवस्थामा देखियो ।

घटना भएको बेला त्यहाँ घाँस काट्ने महिलाहरूका लागि एकछिन त संसारको चक्र रोकिए जस्तै भयो । चारैतिर सन्नाटा छायो । छोरीको क्षतविक्षत शवलाई त्यहाँबाट बोकेर गाउँ फर्काउने अवस्था आमाको रहेन । साथीहरूको सहयोगमा त्यही भीरको खोँचमा अनिशालाई अन्तिम बिदाइ गरियो । मानसिक बिमारी श्रीमान्‌काे उपचार र छोराछोरीको भविष्यका लागि एउटी छोरी लिएर कालापहाडको भीरमा पुग्नुभएकी खिरुदेवी अन्ततः खिन्न मन र रित्तो हात घर फर्किनुपर्‍यो ।

अर्को बज्रपात पनि २०८२ जेठमै भयो । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ खोरीकी पटुदेवी बोहराकी १६ वर्षीया छोरी करिना बोहोराले पनि भीरबाट घाँस काट्ने क्रममा ज्यान गुमाउनुभयो । उहाँ कक्षा ९ मा खोरीकै सूर्योदय आधारभूत विद्यालयमा पढ्नुहुन्थ्यो । पाँच वर्षअघि बुवाको निधन भयो । त्यसयता जेठी छोरी करिनाले आमालाई हरतरहले काममा सघाउँदै आउनुभयो । घरको खेतीपातीदेखि केदारनाथको घाँस काट्ने कामसम्म गर्नुभएको थियो ।

घाँसेभीरमा श्रम गर्न जाँदा अकाल मृत्युको मुखमा पर्ने कहालीलाग्दो घटनाको सिलसिला वर्षौंदेखि त्यहाँ चलिरहेको छ, जहाँ गरिबी र विवशताले महिलाहरू बढी नै थिचिएका छन् ।

मोतीविन्दुको समस्या भएकी पटुदेवीको एउटा आँखाले राम्ररी नदेखे पनि चार छोराछोरीको पालनपोषणका लागि उहाँ कालापहाडको भीरमा घाँस काट्न जाने गर्नुहुन्थ्यो । कहिलेकाहीँ करिनाका आमाछोरी दुबै जना केदारनाथ पुग्नुहुन्थ्यो । एक आँखाले दिन नसकेको उज्यालो पटुदेवीलाई करिनाले नै दिनुभएको थियो । उहाँ एक भाइ र दुई बहिनीको सहारा पनि बन्नुभएको थियो । उहाँलाई त्यही घाँसेभीरले निल्यो ।

केदारनाथको भीरमा ज्यान गुमाएका अनिशा र करिनाको घटना न पहिलो थियो, न अन्तिम नै । २०८० वैशाखमा घरको आर्थिक बोझले थिचिएकी १८ वर्षीया हर्कला बुढाले पनि त्यही भीरमा आफ्नो जीवन गुमाउनुभयो । छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ६ लेकगाउँकी उहाँको सपना पनि परिवारलाई सुख दिने नै थियो । हर्कलाको घटना हुनुभन्दा पाँच दिनअघि दुर्गाथली गाउँपालिका वडा नम्बर ५ चुम्लाकी ४० वर्षीया रुसाना जप्रेलले घाँस काट्ने क्रममा नै यही भीरबाट खसेर ज्यान गुमाउनुभयो । दुःखको कुरा, तीन वर्षअघि उहाँकी दिदी, छबिसपाथिभेरा वडा नम्बर ६ लेकगाउँकी ४४ वर्षीया राजुदेवी बुढाको पनि यही भीरबाट खसेर ज्यान गएको थियो ।

रहर नभई बाध्यतामा महिला

घाँसेभीरमा श्रम गर्न जाँदा अकाल मृत्युको मुखमा पर्ने कहालीलाग्दो घटनाको सिलसिला वर्षौंदेखि त्यहाँ चलिरहेको छ, जहाँ गरिबी र विवशताले महिलाहरू बढी नै थिचिएका छन् । घरमा पुरुषको कमाइले मात्र घरको चुलो बल्न छाड्यो । कतिपय पुरुषहरू रक्सी र जाँडमा डुबेर परिवारप्रति पूर्णरूपमा गैरजिम्मेवार पनि बने । फलस्वरूप, घरको चुलोचौका र मेलापातमा सीमित हुने महिलाहरू आफ्नो सिउँदोको परिवार र छोराछोरीको भोक मेटाउन आफैँ कालापहाड पस्न बाध्य भए ।

कालापहाडको श्रम नेपाली महिलाहरूको रहर होइन, बाध्यता र विवशताको सबैभन्दा क्रूर रूप हो । यसैले बझाङका अधिकांश महिलाहरूका लागि केदारनाथको भीरमा गएर घाँस काट्नु रहर नभई बाध्यता भएको राजुदेवीकी माइली दिदी कोशी बुढाको धारणा थियो । उहाँका अनुसार, छोराछोरीको पढाइ, चाडपर्वको खर्च र घरको सामान्य गुजारा चलाउन महिला तथा किशोरीहरू आफ्नो ज्यान जोखिममा राख्न विवश हुने गरेका छन् ।

“अधिकांश पुरुषहरू मदिरामा डुब्छन् र परिवारप्रति गैरजिम्मेवार बन्छन्,” कोशीले भन्नुभयो, “घर चलाउने सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा आउँछ । देखासिकी र फलानोले लाखौँ कमायो भन्ने हल्लाले पनि महिलाहरूलाई आफ्नो खेतबारी छोडेर यो खतरनाक काममा लाग्न उक्साएको छ ।” एक पटक लडेर घाइते भएकाहरू पनि बाँकी जीवनका लागि खर्च जुटाउन पुनः त्यहाँ नगई घर पाउँदैनन् ।

गौरीकुण्ड पुगेका महिलाहरू दिनभरि घाँसेभीरमा मृत्युसँग लडेर फर्किएपछि रातमा बास बस्ने भनेको जङ्गलबिचमा क्रमशः लहरै टाँगिएका निलो त्रिपालमुनि नै हो

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ लेकगाउँकी ३६ वर्षीया धनादेवी बुढा पाँच वर्षअघि कालापहाडकै भीरबाट खसेर पनि बाँच्न सफल हुनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ खसेपछि बाँच्ने आशा नै हुँदैन, म त भाग्यले बाँचेँ ।” टाउको, हात र खुट्टामा गहिरो चोट लाग्यो । उपचारमा लाखौँ खर्च भयो । कहिल्यै नबिर्सिने गरी खत बस्यो । उहाँको ज्यान त बच्यो तर शरीर अशक्त बन्यो । विडम्बना ! त्यही अशक्त शरीर लिएर भए पनि उहाँ थप दुई पटक कालापहाडको त्यही भीरमा जान बाध्य हुनुभयो ।

उपचारका लागि लाखौँ रकम खर्च भयो । स्थानीय निकायले पनि एक पैसा सहयोग गरेन । “भोट माग्न घरदैलोमा आउँछन्, दुःख पर्दा कोही हुँदैन, हाम्रो पीडा दुःख बाउबाजेको पालादेखि यसै हो, कहिले पो दिन आउँथे र,” धनादेवीले भन्नुभयो । उहाँका श्रीमान् शिक्षक हुनुहुन्छ । “मनमा एउटै कुरा थियो, श्रीमान्‌काे कमाइले मात्रै पुग्दैन, त्यही भएर अशक्त भए पनि घाँस काट्न त्यही भीरमा पुग्छु, छोराछोरीलाई पढाइरहेकी छु,” उहाँले भन्नुभयो । उहाँको भनाइले पनि परदेशको विकट भीरमा घाँस काट्दै ज्यानको खतरासँग खेल्ने महिलाहरूको चरम बाध्यतालाई प्रस्ट पार्छ ।

त्रिपालमुनिको मर्म र श्रमको शोषण

गौरीकुण्ड पुगेका महिलाहरू दिनभरि घाँसेभीरमा मृत्युसँग लडेर फर्किएपछि रातमा बास बस्ने भनेको जङ्गलबिचमा क्रमशः लहरै टाँगिएका निलो त्रिपालमुनि नै हो । त्यहाँ न शौचालय, न शुद्ध पिउने पानीको व्यवस्था, न कुनै सुरक्षा छ । शौचका लागि अँध्यारो जङ्गलमा जानुपर्दा जङ्गली जनावर र कहिलेकाहीँ डाकाहरूको पनि डर हुन्छ । महिनावारी भएका बेला समेत गरी महिनामा बढीमा दुई पटक मात्र नुहाउन सकिन्छ ।

पानी पर्दा त्रिपालभित्रै भल पस्ने हुँदा रातभरि चिसो भुइँमा भिजेरै बस्नुपर्छ । त्यस्तोमा महिनावारी हुँदाको पीडा त झन् कहालीलाग्दो हुने नै भयो । यो पीडा १० वर्षअघि त्यहाँ गएका हुन् कि अहिले उतै भएकाहरू हुन्, सबै महिलाले भोग्दै आएको अवस्था एउटै हो । केही फेरिएको छैन ।

“न्यानो कपडा हुँदैन, नुहाउने ठाउँ छैन, फोहोर कपडा कहाँ धुनु, कहाँ सुकाउनु ? शरीर दुख्छ, पेट दुख्छ, एक दिन काममा नगए पाँच सय रुपैयाँ जान्छ,” जलुदेवीले खोरीमा फर्किपछिको एक साँझ आफ्नो पीडा पोख्नुभयो । उहाँको यो भनाइले त्यहाँ श्रम गर्न जाने सबै महिलाको दैनिक सङ्घर्षभित्रको मार्मिक पक्षको चित्रण गर्छ ।

साँझ परेपछि सबैजना आ–आफ्नो त्रिपालभित्र जम्मा हुने, कुनै दिन अलिकति सुकेको दाउरा भेटिए, सानो आगो बालेर वरिपरि बस्ने चलन हुन्छ । आगोको न्यानोभन्दा बढी एकअर्काको दुःख साटेर न्यानो महसुस गरिन्छ । कसैले ‘आज ठेकेदारले फेरि पैसा दिएन, भोलि दिन्छु भन्छ’ भनेर गुनासो गर्ने, कसैले ‘घरमा छोरी बिरामी छे रे, फोन आएको थियो । पैसा पठाउन नपाएर मन पोलिरहेको छ’ भनेर सुँक्कसुँक्क रुने पनि गर्नुहुन्छ ।

त्रिपालमुनि सपरिवार बस्ने महिला पनि छन् । छविसपाथीभेरा गाउँपालिका वडा नम्बर ६ उवागोडकी ४५ वर्षीया पार्वती बुढाले केदारनाथमा घाँस काटेर परिवार पाल्न थालेको पाँच वर्ष पूरा भयो । उहाँ ५० वर्षका श्रीमान् र छोराछोरीसँगै बस्न थाल्नुभयो । उहाँका छ छोरीहरूमध्ये तीन छोरीको बिहे भएपछि १४, १५ र १६ वर्षका तीन छोरी र सात वर्ष र नौ वर्षका दुई छोरा उहाँसँगै थिए । श्रीमान्‌ले पाएसम्म केदारनाथ जाने दर्शनार्थीहरूको भारी बोक्ने, नपाए पार्वतीसँगै घाँस काट्न जानुहुन्थ्यो ।

पछिल्लो समय पार्वती १९ वर्षकी माइली छोरीतिरकी एक वर्षकी नातिनीलाई काखमा च्यापेर घाँस काट्न जाने गर्नुहुन्थ्यो । त्यतिबेला उहाँले छोरी मात्रै हुँदा समाजले हेप्छ, वंश चल्दैन भन्छन् भनेर छ छोरीपछि दुई छोरालाई जन्माएको कुरा गर्दै ‘अहिले यिनकै पेट भर्न यो भीरमा झुन्डिनुपरेको छ’ भन्ने गर्नुहुन्थ्यो । उहाँको कुरामा श्रमप्रतिको गर्वभन्दा बढी महिला हुनु र छोराको पर्खाइमा छोरीछोरी जन्माउनुपर्दाको पीडा र विवशता झल्किन्थ्यो ।

दिनभरि ज्यान जोखिममा राखेर एक भारी घाँस काटेबापत पाँच सयदेखि एक हजारसम्म भारतीय रुपैयाँ पाइन्थ्यो । त्यो रकम पाउन पनि ठेकेदारको आदेश कुर्नुपर्थ्याे । कहिलेकाहीँ त ठेकेदारहरूले महिनौँसम्म पनि दिँदैनथे । कतिपय त रकम नदिई भाग्थे पनि । त्यही पैसा पाउनका लागि त्यहाँ महिनौँ कुर्नुपर्ने अवस्था पनि थियो ।

पुरुषहरूले पाएसम्म भारी बोक्ने भएकाले धेरैजसो नेपाली महिलाहरू घाँस काट्ने काममा लागे । महिलालाई ठेकेदारले पनि हेप्न पायो । काम गरेको पैसा माग्न गयो भने पनि ‘कामबाटै निकालिदिन्छु, अर्कोलाई काममा राख्छौँ, यहाँ काम गर्न नआउनू’ भन्ने ठेकेदारको हेपाइका विरुद्ध महिलाहरूले उजुरी गर्न जाने ठाउँ पनि छैन । महिलाहरूको लागि न कुनै बिमा छ, न त कुनै श्रम सुरक्षाको प्रत्याभूति नै । कोही भीरबाट लडेर मर्‍यो भने पनि ठेकेदारलाई मतलब हुँदैन । उल्टै ‘यी नेपाली मरे, ठीकै भयो । काम गर्न नजान्ने किन यहाँ आउनुपर्‍यो ?’ भन्ने गर्छन् । अत्यन्त विवश अवस्थाका सस्तो मजदुर महिलाको जीवनको बारेमा आफ्नै देशले त बुझ्न खोज्दैन भने परदेशमा तिनको के मूल्य हुन्थ्यो र ?

गाउँघरै रित्तिए पनि राज्य उदासीन

महिलाहरू गाउँघरै रित्तिने गरी परदेशमा गएर जोखिमपूर्ण श्रम गर्न बाध्य हुँदै गर्दा नेपाल सरकार भने बेखबरजस्तै पाइयो । बझाङको छबिसपाथिभेरा र दुर्गाथलीका गाउँहरूमा मकै, कोदो र जौ फल्ने बारीहरू बाँझै हुन थालेको केही वर्ष भयो । आलु, पिँडालुको उब्जनीले मात्रै यहाँका मान्छेको गुजारा चल्न छाड्यो । पशुपालन घटेपछि मल पाइएन, सिँचाइको अभाव सदावहार रह्यो ।

बढ्दै गएको परिवारको मुखमा माड लगाउन परम्परागत मौलिक खेतीपातीले मात्र सकिएन । घरको उब्जनीले मुस्किलले दुई महिना खान पुग्ने भएपछि १० महिना के गरी बाँच्ने ? दुई दशकअघिसम्म जेनतेन गुजारा चल्ने हुँदा महिलाहरू परदेशमा त्यस्तो जोखिमपूर्ण काममा जाँदैनथे । केदारनाथमा भारी बोक्न पनि पुरुषहरू मात्रै जान्थे, जसलाई ‘कालापहाड पस्ने’ भनिन्थ्यो ।

भारतले खच्चड लगाएपछि कालापहाडमा भारी र दर्शनार्थी बोक्ने नेपाली पुरुष मजदुरहरूको काम धरापमा पर्न थाल्यो । खच्चडमा भारी र दर्शनार्थी बोक्ने काम हुन थाल्यो । त्यही खच्चडका लागि आवश्यक पर्ने घाँस नेपाली पुरुष मजदुरहरूले काट्न थाले । पुरुषहरूले घाँस काट्न थालेको हल्ला छबिसपाथिभेरा र दुर्गाथली गाउँपालिकाका सबै गाउँमा फैलियो । त्यसपछि महिलाहरूले सोचे– घाँस त हामी पनि काट्न सकिहाल्छौँ ।

पछिल्लो एक दशकयता कालापहाडमा घाँस काट्ने श्रमिकको चित्र पुरुषभन्दा पनि महिलामा बदलिँदै आयो । पहिला पुरुष मात्र चढ्ने कालापहाडमा नेपाली महिलाहरू चढ्न थाले र पछि त ढपक्कै ढाक्न पनि थाले ।

पछिल्लो एक दशकयता कालापहाडमा घाँस काट्ने श्रमिकको चित्र पुरुषभन्दा पनि महिलामा बदलिँदै आयो । पहिला पुरुष मात्र चढ्ने कालापहाडमा नेपाली महिलाहरू चढ्न थाले र पछि त ढपक्कै ढाक्न पनि थाले । कालापहाडमा श्रम गर्न जाने महिलाको अवस्थाबारे स्थानीय सरकार, स्थानीय नेताहरू राम्रोसँग जानकार भएर पनि उदासीन रहन चाहेको बुझियो । घाँस काट्न कालापहाड जाने नेपाली महिलाबारे खोजी पस्दा नेपालका कुनै पनि सरकारी, गैरसरकारी संस्थाले न कुनै जानकारी दिनसके न त कुनै तथ्याङ्क नै ।

सुदूरपश्चिम प्रदेश सरकारमा पनि यसबारे जानकारी भएको पाइएन । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा काम गर्नेहरूको खासै तथ्याङ्क नहुने र त्यसैमाथि घाँस काट्नेहरूको त झनै जानकारी नहुने बताउनुभयो । उहाँका अनुसार, युवा लक्षित र महिला लक्षित थुप्रै कार्यक्रमहरू गरिरहेको भए पनि कतिपय महिला भारतमा काम गर्न जान्छन्, यो राष्ट्रिय समस्या हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, बझाङमा महिलाहरूको सङ्ख्या एक लाख ६१५ रहेको छ । यसमा १४ वर्षसम्मकालाई हटाउने हो भने ६७ हजार ८३ हुन आउँछ । बझाङका १२ वटै स्थानीय तहका महिलाहरूको पेसा केदारनाथ गएर घाँस काट्नु बनेको छ भन्ने भनाइ विश्वास गर्न गाह्रो भए पनि, यस क्षेत्रबाट ठुलो सङ्ख्यामा महिलाहरू जोखिमपूर्ण यात्रामा निस्कने गरेको यथार्थ गाउँघरमा लुकेको छैन ।

घाँस काट्न जानेको यकिन तथ्याङ्क कहीँ पनि छैन, तर सबैभन्दा बढी छबिसपाथिभेरा र दुर्गाथली गाउँपालिकाबाट महिलाहरू यो जोखिमपूर्ण यात्रामा निस्किने गरेको तथ्य त्यहाँको स्थलगत अध्ययन र अवलोकनबाट थाहा भयो । उसो त अन्य जिल्लाका मान्छेहरू पनि केदारनाथ पुग्ने गरेका कुरा त्यहाँ गएका महिलाहरूले देखेको बताए । यसमा जाजरकोट, कालीकोट, अछाम, बाजुरा लगायतका जिल्ला पर्दछन् ।

जनताको सबैभन्दा नजिक भनिएको स्थानीय सरकारसमेत महिलाहरूको यो जोखिमपूर्ण श्रम रोजगारजन्य पीडाप्रति अझैसम्म बेखबर रहेको पाइयो । “स्थानीय सरकारले सडक बनायो होला, त्यही सडकबाट हाम्रा छोरीबेटीहरू मर्नका लागि भारत गइरहेका छन् भन्ने देख्दैन,” दुर्गाथली गाउँपालिकाकी स्थानीय तुलसी जप्रेलले भन्नुभयो, “गाउँ किन रित्तिँदैछ भन्नेतिर कसैको ध्यान छैन ।”

महिलाहरू कालापहाड गएर कमाएको रकमले कसैको परिवार खर्च चलेको र कसैले घर बनाएको बताउँदै तुलसीले प्रश्न पनि उठाउनुभयो, “तर, सधैँ यसरी जोखिम मोलेर, अर्काको देशमा अपमान र तिरस्कार सहेर आफूहरूले कहिलेसम्म काम गर्ने ?” उहाँको प्रश्नले यो विषयमा राज्यले ध्यान दिन जरुरी छ भन्ने स्पष्ट पार्छ ।

छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउनेका अनुसार, गाउँमा घरखर्च चलाउन महिलाहरू भारत जाने गर्छन् । नजाऊ भन्न सकिने अवस्था छैन । गाउँपालिकामा घाँस काट्न जानेहरूको तथ्याङ्क पनि छैन । कहिलेकाहीँ केही सहयोग भने गरिन्छ ।

पहिले श्रमका लागि पुरुषहरू मात्रै कालापहाड जान्थे भने विगत १२ वर्ष यतादेखि महिलाहरू पनि जाने गरेका छन् । यससम्बन्धी कुनै सरकारी र गैरसरकारी तथ्याङ्क भने राख्ने गरेको भेटिँदैन ।

धनादेवीले घाइते हुँदा उपचार खर्चका लागि स्थानीय पालिकामा निवेदन दिनुभयो तर उहाँलाई एक कार्यालयबाट अर्को र अर्कोबाट फेरि तेस्रोमा पठाइयो । “सबैले आश्वासनको पोको थमाए, कसैले एक रुपैयाँ सहयोग गरेनन्,” उहाँले भन्नुभयो, “पालिकाले जनताको जीवनरक्षा गर्ने कुनै ठोस योजना बनाएको छैन ।”

स्थानीयहरूको भनाइ अनुसार, पहिले श्रमका लागि पुरुषहरू मात्रै कालापहाड जान्थे भने विगत १२ वर्ष यतादेखि महिलाहरू पनि जाने गरेका छन् । यससम्बन्धी कुनै सरकारी र गैरसरकारी तथ्याङ्क भने राख्ने गरेको भेटिँदैन । पुस्तौँअघिदेखि केदारनाथको यो अँध्यारो पहाडमा के कति नेपाली पुगे र के कति आर्जन गरे भन्ने कुराको हिसाबकिताब छैन ।

छबिसपाथिभेरा गाउँपालिकामा २३ हजार ७११ र दुर्गाथली गाउँपालिकामा १६ हजार आठ सय जनसङ्ख्या छ । यसमध्ये आधा जनसङ्ख्या महिलाको छ । छबिसपाथिभेरा वडा नम्बर ७ का शिक्षक गोकुल बोहराका अनुसार यति थोरै जनसङ्ख्यालाई स्वदेशमा रोजगार दिए अकाल मृत्युको मुखबाट बचाउन सम्भव हुन्छ । विडम्बना, स्थानीय सरकार, जो जनताको सबैभन्दा नजिकको अभिभावक मानिन्छ, यस्ता गम्भीर समस्याप्रति उदासीन देखियो । महिलाहरूको दुःख, पीडा, बाध्यता र विवशताका बारेमा प्रदेशले सङ्घ सरकारलाई बुझाउनै बाँकी रहेको बुझियो ।

अधुरो हाँसो र अनिश्चित भविष्य

केदारनाथमा प्रायः वैशाखदेखि कात्तिकसम्म घाँस काट्ने सिजन हुन्छ । कात्तिकको अन्तिमतिर हिउँ पर्ने सङ्केत देखिन थाल्छ । कहिलेकाहीँ पुससम्म बसे पनि हिउँ पर्न थालेपछि छ महिनाको दुःख र पीडालाई झोलामा पोको पारेर महिलाहरूको घर फर्कने क्रम सुरु हुन्छ । धना पनि एक पटक ५० हजार र अर्को पटक आधा तोला सुन किनेर घर फर्किनुभएको थियो ।

छ महिना आफ्नो जीवन दाउमा लगाएर कमाइ गरी घर फर्केपछि चाडपर्वको रौनक सुरु हुन्छ । दशैँ, तिहार र गाउँका मेलापर्वमा महिलाहरू चिटिक्क परेर हिँडेको देखिन्छ । छोराछोरीलाई नयाँ लुगा किनिदिने, मीठो मसिनो पकाएर खुवाउने हैसियत हुन्छ । उहाँहरूको हाँसो र पहिरनले छ महिनासम्म परदेशको भीरमा बगाएको रगत र पसिनाको मार्मिक कथालाई एकछिनका लागि छोपिदिन्छ ।

चाडबाडमा देखिएको हाँसो त बाहिरी खोल मात्र हो । त्यसभित्र अर्को सिजनमा फेरि त्यही भीरमा फर्कनुपर्ने डर लुकेको हुन्छ । छबिसपाथिभेराकै रीता बोहराका अनुसार, महिलाहरूको यो कहालीलाग्दो जीवनको कथा बझाङको सदरमुकाम र काठमाडौँको सिंहदरबारसम्म कहिल्यै पुग्दैन । श्रम गर्ने महिलाको सङ्घर्षबारे सम्बन्धित निकाय पूर्णरूपमा मौन छ । राज्यको नजरमा अझै पनि ती महिलाहरू पर्न सकेका छैनन् ।

रीताले भन्नुभयो, “जबसम्म राज्यले आफ्ना नागरिकको श्रम तथा रोजगार गन्तव्यको व्यवस्थापनप्रति जिम्मेवारी बोध गर्दैन र गाउँमै रोजगारी र सुरक्षाको प्रत्याभूति पनि गर्दैन, तबसम्म यो चक्र चलिरहने छ ।” जलुदेवीको आशय पनि यस्तै थियो– राज्यले देशमा रोजगारीको व्यवस्था नगरे हरेक सिजनमा नयाँ महिला र किशोरीहरू भीरमा अस्ताइरहने छन् । हरेक बिहान हजारौँ महिलाहरू त्यही अँध्यारो, चिसो त्रिपालबाट उठेर, त्यही कहालीलाग्दो भीरतिर लागिरहने छन् ।

भीरतिरको एउटा यस्तो यात्रामा, जसको अन्त्य कहाँ र कसरी हुन्छ, सरोकारवाला कसैलाई खासै केही थाहा छैन । महिलाहरूको यो मौन आपत्कालप्रति राज्य कहिलेसम्म उदासीन रहने होला ? यो प्रश्नको जवाफमा मुख्यमन्त्री कमलबहादुरको भनाइ थियो– यो समस्या गम्भीर छ । यसको दीर्घकालीन समाधानका लागि राज्यस्तरबाटै एकीकृत प्रयासको खाँचो छ ।

स्थानीय महिलाले परदेशमा गएर भोग्दै आएका समस्याको गहिराइलाई बेलैमा बुझ्न र राज्यस्तरबाटै एकीकृत प्रयास गरी समाधानका उपाय खोज्न अति नै जरुरी छ । यो काम नहुँदासम्म हजारौँ नेपाली महिलाहरूको श्रम रोजगारीको कठोर गन्तव्य यही भीर नै भइरहने छ । बेलैमा राज्यको आँखामा पर्न नसकेर नेपाली महिलाले भोग्नुपरेको एउटा दुःखद् कथाको रूपमा कहिल्यै नमेटिने गरी यो प्रसङ्ग इतिहासको पानामा पनि अङ्कित भइरहने छ ।

‘कालापहाडको भीरमा महिलाहरूको श्रम र जीवन सङ्घर्ष’ शीर्षकको यो स्टोरी ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत सविता बुढाले तयार गर्नुभएको हो ।

प्रकाशन मिति : २०८२ मंसिर २४ गते, बिहिवार

सन्धान फेलोसिप २०२५ का थप स्टोरीहरू

Share this :